मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अध्यात्म जान्न “म” लाई चिन्नुहोस्।

वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ। किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्दछ। तपाइले गर्ने प्यार तपाइको निजी अधिकार हो। तपाइले प्यार गर्नु हुन्छ भन्दैमा अर्काले पनि तपाइलाइ प्यार गर्नु पर्छ भन्ने मान्यता कपट पूर्ण हो। किनकि अर्को व्यक्तिले कसलाई प्यार गर्ने वा नफरत गर्ने त्यो उसको नितान्त निजी विषय हो। कसैलाई प्यार गर्नु तपाइको कर्म हो। तपाइले प्यारको बदलामा प्यार पाउनु भयो वा घृणा नै पाउनु भयो भने पनि त्यो तपाइकै कर्मको फल हो।

 

कुनै पनि कर्म वा लगानी बिना अथवा थोरै लगानी वाट धेरै प्रतिफल पाउने घटनालाई भाग्यमानी सम्झने मान्यता वैदिक मान्यता होइन। तपाई घरमा लोग्ने-स्वास्नी हुनुहुन्छ र घरको निर्णयमा तपाइको ५०% चल्छ भने तपाईँ सत प्रतिशत आफ्नो अधिकारको उपयोग गरिरहनु भएको छ। ५० भन्दा माथि जति तपाइको चल्छ, त्यो तपाइको बलमिचाइँ रहेको शास्त्रीय मान्यता छ।

 

जब तपाइँ कुनै कर्म गर्नु हुन्छ र त्यो बापत फल वा प्रतिफल प्राप्त गर्नु हुन्छ भने तपाईँ वास्तवमै भाग्यमानी मानिस हो। यो व्यवहारिक यथार्थता हो। यति सानो सामान्य कुरा नबुझेर आज हामी हाम्रै परिवार लाई आफ्नो परिवार आफ्नो रहेको अनुभूति दिन सकिरहेका छैनौ। आफ्नो निवास लाई आफ्नो मन बस्ने आरामदायी  घर बनाउन सकिरहेको छैनौ। हामी आफ्नै घरमा बिरानो भनेर सामाजिक सञ्जालमा आफन्त खोज्न आफ्ना भड्किएको आत्मा सहित उपस्थित हुन्छौ।

 

आफ्नै घरका हाम्रा र राम्रा मोतीहरूसँग बोलचाल नै बन्द गरी बसेका छौ। सामाजिक सञ्जालमा दसौँ हजार साथी बनाएर कसले लाइक गर्ला, कसले कमेन्ट गर्ला भन्दै जोखना हेरेर जीवन कटाई रहन्छौ। प्रवासी जीवन आफैमा अत्यधिक कष्टकर चरम सम्झौताको जीवन हो। आफ्नो भएको कमाएको साथी भाइ, समाज, प्रतिष्ठा र विश्वसनीयता सबैलाई तिलाञ्जली दिएर घर्केको उमेरमा राम्रो मेसो पाई नसकेको     विदेशी परिवेशमा ग्राउन्ड जिरो वाट जीवनको पुनः सुरुवात गर्न पर्दा आइपर्ने संवेदनशील परिस्थितिको मुकाबिला गर्न वैदिक अध्यात्मको सहारा अत्यन्त प्रभावकारी बनेको भुक्त भोगीहरूले बताएको मैले निकै धेरै सुनेको छु। मेरो भोगाइ पनि त्यस्तै रहयो।

 

वैदिक संस्कृत शब्द आत्मनलाई मानिसहरू आत्मा भनेर अनुवाद गरिदिन्छन। आत्मन सम्बन्धको ज्ञान तथा विज्ञान लाइ समेत अध्यात्म, आध्यात्मिकता वा स्पिरचुयालिटि भनेर अनुवाद गरिदिएको भेटिन्छ। यो अनुवाद कत्तिको सही हो, त्यो आफैमा विवादास्पद छ। आज पनि धेरै मानिसहरू यो तथ्य बाट अनभिज्ञ छन् कि ऋग्वेद भित्र आत्माको कुनै पनि अवधारणा अघि सारिएको छैन। ऋग्वेदका पदहरू  पञ्च-महाभूत, पञ्च-कर्मेन्द्रिय  (हात, खुट्टा, मुख, गुद्वार र प्रजनन अङ्ग), पञ्च- ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला), इन्द्र र मनको चर्चा छ। पञ्च-महाभूतले प्रकृतिका मुख्य पाँच शकल तत्त्व अग्नि (आगो), पृथ्वी, वायु (हावा), आकाश (ईथर) र जल (पानी) लाई जनाउँदछ। मन, बुद्धि, चित्त र अहंकारलाइ भने अंतःकरण भनिन्छ।

 

जीव विज्ञानको आँखा वाट मानव शरीरलाई नजिक बाट नियाल्दा नियमित बाँच्न जरुरी हुने तापमान तथा अन्य ऊर्जालाई अग्नि वा आगो शब्दले अभिव्यक्त गर्दछ। विभिन्न पदार्थ वाट संयोजित शरीरको आकार दिने तत्त्व पृथ्वी तत्त्व हो। पृथ्वी तत्त्वमा अनगिन्ती तत्त्वहरू समावेश हुन्छन। सास फेर्न चाहिने हावा बायु तत्त्व हो। तरलता दिने तत्त्व जल वा पानी तत्त्व मानिन्छ। खाली स्थान जहाँ यी चार तत्त्वहरू आफै अटाउँछन् र आपसमा मिलेर काम गर्ने स्थान उपलब्ध हुन्छ त्यो आकाश वा इथर हो।

 

वैदिक चलन अनुसार पञ्च-महाभूत भनेर चिनिने पाँच तत्त्वहरूको मानव जीवनमा रहेको महत्त्वलाई मनन गरी सम्मान स्वरूप देवी वा देवको प्रतीकको रूपमा पूजा गरिन्छ। पूजा गर्नुको अर्थ उनीहरूले आफूलाई लगाएको गुनको प्रशंसा गर्नु हो। उनीहरूको देनले आफ्नो जीवनमा आएको सहजता बापत उनीहरू प्रति धन्य बन्नु हो। आफ्नो जीवनलाई सहज पुर्‍याउनेहरू सँग आफ्ना अन्य दुखका कुराहरू समेत थुपार्ने वा अन्य माग राखी यो लेउ वा उ देऊ भनी पुकार्नु वैदिक मान्यताको पूजा हुनै सक्दैन। त्यो पूजाको नामको विकृति हुन जान्छ।

 

जीवनमा आफूले प्राप्त गर्ने हरेक फलको पछाडि आफ्नो संस्कार र कर्मको देन हुन्छ। न कि पूजाआजाको। वैदिक मान्यतामा पूजाआजा कुनै फल प्राप्त गर्न अथवा आफ्ना अभावको पूर्तिका लागि गरिने कार्य होइन। त्यसको विपरीत आफू सँग जे छ त्यसको महत्त्व महसुस गर्न र त्यसबापत आफैलाई धन्य सम्झन आयोजना गरिने औपचारिक शुभ कार्य हो। पञ्च-महाभूत अन्तर्गतको हरेक तत्त्वको प्राकृतिक संरचना तथा हाम्रो शरीरमा उनीहरूको देनको प्रकृति अनुरूप अग्नि र वायुलाई  देव (पुलिङ्ग) मानिन्छ। जल र पृथ्वीलाई देवी (स्त्री-लिङ्ग) ठानिन्छ। आकाश (ईथर) भने नेगेटिभ वा पोजेटिभ दुवै गुण नभएको न्युट्रल तेस्रो लिङ्गी अर्थात् आदिम शक्ति शिव-पार्वती।

 

तपाई वाल्मीकि रामायण वा व्यासको महाभारत गौर गरी हेर्नुहोस्। सतहीमा नरही गहिरिनुस्। त्यहाँ देवी र देव जस्ता शब्दहरू आज हामीले अङ्ग्रेजीमा महोदया र महोदय भन्न प्रयोग गर्ने मिस वा म्याडम वा सर जस्तै विशेषणको रूपमा उपयोग भएको महसुस गर्नु हुने छ। सारमा देवी र देव जस्ता शब्दहरू कुनै पनि सन्दर्भमा ईश्वर वा ईश्वरको प्रतिनिधि वा सर्वोच्च शक्ति सङ्केत गर्न प्रयोग भएको पाउनु हुने छैन।

 

मानौँ तपाई कुनै काम गर्ने गर्नु हुन्छ। त्यो काम वाट तपाई र तपाइका नजिकका आफ्ना र प्रियतमहरूको जीवन सहज बनेको छ। तपाइको जीवन सहज बनेको तपाईँ समेत विश्वास गर्नु हुन्छ। उक्त कामलाई तपाई अत्यन्त माया समेत गर्नु हुन्छ। उक्त परिस्थिति बिच तपाइले नियमित पुरा गर्ने तपाइको काम पूजा कर्म हो। जुन बिन्दुमा तपाइको काम पूजा कर्ममा परिवर्तन हुन्छ, त्यो बिन्दु वाट त्यो काम फगत कामको रूपमा नरहेर तपाइको सोखमा परिवर्तित बनिसकेको हुन्छ। तपाइको सोख पुरा गर्न तपाइले पुरा गर्नु पर्ने तपाइको जिम्मेवारी लाई तपाइको धर्म भनिन्छ। धर्म भनेको कुनै व्यक्ति वा समुदाय वा विचार समूहको अमुक पथ होइन, आफ्नो जिम्मेवारीलाई हरेक क्षण पुरा गर्ने प्रतिबद्धतामा कायम रहनु हो भन्ने विचारले सुसज्जित हुनु अध्यात्म हो।

 

वैदिक ग्रन्थहरूले शरीरको  इन्द्रियहरूको सञ्चालकको रूपमा केन्द्रीय भूमिकामा रहेको सेन्ट्रल नर्वस सिस्टम वा केन्द्रिय मस्तिष्क प्रणालीलाई इन्द्रदेवको रूपमा उल्लेख गरेका छन्। पञ्च-महाभूतहरू लाई आफ्नो नियन्त्रणमा लिएर शरीरका विशिष्ट कार्यहरू सम्पन्न गर्ने जिम्मेवारी प्राप्त इन्द्रदेव लाई  देव (देवी र देव) हरुको पनि देवको संज्ञा दिन देवाधिदेव भनिने गर्दछ।

 

हाम्रो “मन” के हो भन्ने चर्चा भने यजुर्वेद र उपनिषदमा भेटिन्छ। शरीरमा सास वा प्राण रहनु लाई शरीर जिउँदो रहेको वा शरीरमा जीवन रहेको सङ्केतको रूपमा लिइन्छ। जति बेला व्यक्ति गहिरो निद्रामा पर्दछ तर सपना देखेको हुँदैन त्यो अवस्था लाई सुषुप्त अवस्था भनिन्छ। सुषुप्त अवस्थामा मानिस जीवित रहेको हुन्छ। उसको आफ्नै शरीरमा रहेको मस्तिष्क भने प्रभावहीन रहेर दिमागको अनुपस्थिति रहेको अनुभूति दिन्छ। निन्द्रा वाट बिउँझँदा आफू भुसुक्कै निदाएको अनुभूति गरी सुषुप्त अवस्था वाट आफू गुज्रेको जानकारी दिमागलाई प्राप्त हुन्छ। त्यो चिज वा शक्ति केन्द्र जुन दिमाग सँग मिलेर काम गर्दछ तर दिमाग भन्दा फरक देखिन्छ त्यसलाई “मन” भनिन्छ।

 

शरीरमा भएका सबै कुरा हुँदा हुँदै एउटा बिन्दुमा शरीर मृत हुन्छ। मृत्युको बिन्दु भन्दा केही क्षण अघि शरीरमा के थियो र शरीर जीवित रहयो ? र पछि के कुरा शरीरले गुमायो र शरीर उस्तै रहदा पनि मृत्यु वरण गर्नु पर्‍यो ? त्यो अर्को अचम्मको विषय छ। गहिरिएर विश्लेषण गर्दा तपाइलाई यो महसुस हुन्छ कि जुन चिज लाई तपाई आफू भनेर चिनाउनु हुन्छ त्यो तपाइको पञ्च-महाभूत निर्मित शरीर भन्दा फरक छ। त्यो मस्तिष्क वा मन समेत होइन। शरीरमा सास रहनु लाई प्राण रहनु भनिने हुँदा शरीर जिउँदो रहदा शरीरमा रहने प्राण अर्कै फरक चिज वा शक्ति केन्द्र रहेको अनुभूति हुन्छ। त्यो अनुभूति गरिएको फरक चिज वा शक्ति केन्द्र लाई वैदिक मान्यतामा आत्मा भन्ने गरिन्छ।

 

हामी देख्दछौ कि यो संसारमा कोही पनि अजम्मरी छैन। सबैको शरीर एक दिन मृत हुने र प्रकृतिमै विलीन भएर नष्ट हुने गर्दछ। ती सबै यथार्थहरुको समीक्षा गर्दा आत्मा भनिएको जिनिस नै यथार्थमा हामीले आफूले आफूलाई “म” भनी सङ्केत गर्ने चिज हो भन्ने अनुभूति हुन जान्छ। त्यो अजीवको “म” भन्ने जिनिस बारे ज्ञान लिने प्रक्रिया लाई आत्मा बोध (ज्ञान) भनिन्छ।

 

वैदिक संस्कृत शब्द अध्यात्म दुई ​​फरक शब्दहरू बाट बनेको ठानिन्छ। अध्ययन वा शिक्षा लिनु र आत्मन वा आफ्नो साँचो रूपको पहिचान गर्नु। चुरो अर्थमा बताउँदा उल्लेखित “म” भन्ने अजीवको जिनिस बारेको साँचो रूपको पहिचान वा जानकारी उपलब्ध गराउने ज्ञान तथा विज्ञान नै वैदिक मान्यताको अध्यात्म हो।

 

वैदिक मान्यतामा पुरुषार्थ प्राप्ति लाई जीवनको मुख्य उद्देश्य मानिन्छ। जब जीवनका चार उद्देश्यहरू प्राप्त हुन्छ तब पुरुषार्थ प्राप्ति भएको ठानिन्छ। पुरुषार्थ प्राप्ति अन्तर्गत निर्धारित चार उद्देश्यहरू धर्म, कर्म, अर्थ र मोक्ष हुन्। निर्धारित चार उद्देश्यहरूले जीवनभर उच्च नैतिक आचरणमा रहन र स्वधर्ममा रहेर आफ्नो कर्म सम्पन्न गर्ने अतुलनिय आत्मबल उपलब्ध गराउँदछ।

 

समय र परिस्थिति अनुरूप आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा आफ्नो अन्तर आत्माले नैतिक रूपमा सही ठहर्‍याएको कर्ममा सहभागी हुने कार्य व्यवहारिक धर्म कार्य हो। कर्म एक संस्कृत शब्द हो। त्यसले प्रेम, इच्छा र आनन्द प्राप्तिको सोख प्राप्तिको लागि गरिने गतिबिधिहरु लाई जनाउँदछ।

 

नैतिक बन्धनमा बाँधिएर आफ्नो इच्छा र आनन्द प्राप्तिको सोख पुरा गर्ने कार्य कर्म हो। वैदिक मान्यतामा यौन पहेली व्यक्तिको प्रकृति प्रदत्त स्वतन्त्र र नैसर्गिक अधिकार हो। यौन कर्म अनिवार्य रूपमा हिंसा विहीन हुनु पर्दछ। संलग्न व्यक्तिको आपसी इच्छा, चाहना र सहमतिमा यौन संसर्ग गरिनु पर्ने वैदिक मान्यताको आधारभूत अनिवार्यता हो। यौनलाई मानिसको काम-इच्छा र आनन्द प्राप्तिको सोख पूर्ति गर्ने साधनको अलावा प्रकृति द्वारा निर्देशित आफ्नो सन्ततिको वीज सुचारु गर्ने जिम्मेवारी पुरा गर्न बच्चाहरू जन्माउन समयोचित उपयोगमा ल्याउनु पर्ने विषयको रूपमा लिने गरिन्छ।

 

जीवनको महत्त्वपूर्ण लक्ष मोक्ष प्राप्ति लाई ठानिन्छ। मोक्ष प्राप्तिको प्रयासहरूलाई साकार गर्न मानिस लाई भौतिक धन सम्पत्तिहरूको आवश्यकता पर्दछ। नैतिक धर्ममा रहेर जीवनको नियमित गुजारा गर्न आफ्नै खुट्टामा आफै उभिनु व्यवहारिक अनिवार्यता हो। तसर्थ जीवनमा नैतिक सीमामा रहेर आफ्नो जीवनका जरुरतहरू पूर्ति गर्न पर्याप्त धन प्राप्ति अनिवार्य ठानिन्छ। नैतिक जीवन जिउनको लागि पर्याप्त धन प्राप्ति अनिवार्य रहेको अवस्थामा धन प्राप्ति लाई आफ्नो जीवन सञ्चालन गर्ने जरुरत हुने माध्यमको रूपमा लिनु पर्ने तर धन प्राप्ति जीवनको उद्देश्य सँगै जोडिएको भने हुन नहुने वैदिक मान्यता छ।

 

मोक्ष लाई जीवनको परम लक्ष्य भनिन्छ। यसको अर्थ मुक्ति पाउनु भन्ने लाग्दछ। लामो जीवनकालमा जीवन जिउने चक्र अनुरूप धर्म, कर्म, अर्थ जस्ता उद्देश्यहरू पूर्ति गर्दै-गर्दा वा गरिसक्दा सक्रिय सांसारिक जीवन वाट उन्मुक्ति अथवा रिटायरमेन्ट लिएर जीवनको अन्तिम वर्षहरूमा आफ्नो क्षमता र हैसियत अनुकूल आफूलाई आत्मसन्तुष्टि दिने प्रकृतिको धर्म-कर्म-उपकार वा संन्यास लिने आदि जस्ता कार्यहरू मोक्ष कार्य अन्तर्गत राख्न सकिन्छ।

 

सांसारिक भौतिक बन्धनहरू वाट आफूलाई मुक्त गर्दै आफ्ना विगतहरू आफैले पुनरावलोकन गर्ने, गल्ती कमजोरी आदि देखिएमा त्यस बापतको क्षतिपूर्तिको लागि प्रयास गर्ने, भएका गल्तीमा क्षमा माग्ने, जीवन र जगत लाई बुझ्ने र सकेको सामाजिक सहयोग गर्ने, समय आए हाँसी-खुसी सांसारिक जीवन वाट बिदा लिन मानसिक रुपमा तैयार रहने कार्य आफ्नो शरीर जीवित रहँदाका मोक्ष अन्तर्गतका गतिबिधिहरु हुन।

 

सात्त्विक दिनचर्यामा रहने, इच्छुक व्यक्तिलाई आफूसँग भएका ज्ञानहरू बाड्ने, आफ्नो कारणले अर्काको जीवनमा खुसी दिन प्रयत्न गर्ने, आफ्ना कारण कुनै प्रकारको हिंसा हुन नदिने, आफ्नो कारणले अर्कालाई दुःख हुन नदिने र सत्-धर्ममा हाँसी-खुसी भएर रहने जस्ता कुराहरू पनि मोक्ष अन्तर्गत समेत पर्दछ।

 

जीवनलाई सात्त्विक मार्ग मार्फत खुसी र सुविधा पूर्ण बनाउने कार्यलाई कर्म मानिन्छ। मोक्षको अर्थ आफ्नो अन्तर-आत्माको माध्यम बाट आफू र आफ्नो अस्तित्वको कारक लाई देख्नु हो। मानिस सँग उसको आत्मा ऊ संगै रहुन्जेल मात्र मानिस जीवित रहन्छ। हरेक मानिसको कर्मको साक्षीको रूपमा हुने उसको आत्माको जानकारीमा हुने कर्महरू सात्त्विक वनाएर मात्र आत्माले मुक्ति पाउने विश्वास गरिन्छ। वैदिक मान्यतामा आत्माले पटक पटक जन्मने र मर्ने जीवनको चक्र वाट गुज्रन नपर्ने अवसरको प्राप्ति लाई मुक्तिको प्राप्ति भनिएको छ।

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा)

लेख साभार: नेपाल टच, क्यानाडा।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: