मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

शिक्षा, दीक्षा र विद्या !! शिक्षा मन्त्रालय कि विद्यामन्त्रालय ?

शिक्षालय कि विद्यालय : शिक्षा मन्त्रालय कि विद्यामन्त्रालय ?

नारायण घिमिरे

शिक्षा, दीक्षा र विद्या वाट हाम्रोमा शिक्षालय, दीक्षालय र विद्यालयहरू खोलिएको छ। अस्तित्वमा छन्।  तिनीहरूलाई किन फरक फरक रूपमा शिक्षालय, दीक्षा लय र विद्यालय भन्नु पर्‍यो? के तिनले आफ्नो उद्देश्य पुरा गरेका छन् त?  यो प्रश्न हाम्रो समाजमा खासै उठेको देखिएन। चुरो उद्देश्य अनुरूप नामको सार भएका यस्ता संरचनाको स्थापनाको सार उद्देश्य अनुरूप सञ्चालन गर्न नभएर त्यस्ता संरचनालाई आफ्नो निजी लाभ प्राप्तिको साध्य बनाउन हाम्रा बडा हाकिमहरू उद्धत बनिदिँदा ती संस्थाहरू काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिरको यात्रामा रहेको महसुस हुने गर्दछ।

 

श्रीमद्भगवद्‌गीताको शब्दावली पृष्ठ अनुसार शिक्षा शब्दले “अध्यापन” लाई जनाउने गर्दछ। शिक्षाको शाब्दिक अर्थ उत्तर दिन सक्षम गर्नु भन्ने समेत लाग्दछ। संस्कृतमा लेखिएका ऋचाहरूमा शिक्षा शब्दको अर्थ ” पश्य मे हयसंयाने शिक्षां केशवनन्दन (३.१९.५)” र “शिक्षाविशेषलघुहस्ततया निमेषात्  ऋग्वेद (९.६३)”  लेखेर सिक्ने, अध्ययन गर्ने र  ज्ञानको अधिग्रहण (अर्थात् प्राप्ति) लाई शिक्षा भनिएको छ। पाण्डवः परि-चक्राम शिक्षया रणशिक्षया (१५.३७) भनेर शिक्षालाई चाहेको जे पनि गर्न सक्ने इच्छा, विजयी हुने इच्छाको अर्थमा समेत लिइएको छ। काव्यज्ञशिक्षयाऽभ्यासः (के.पी.१) तथा अभूच्च नम्रः प्रणिपात-शिक्षया (ऋग्वेद ३.२५; एम ४.९.) अनुसार शिक्षण, अध्यापन र तालिम लाई शिक्षा भनिएको छ। व्यवहारिक समग्रतामा वेदको सूचना वेदमा जसरी भनिएको छ र जे अर्थ दिन्छ त्यही अर्थ दिने गरी त्यो सूचना पुस्तान्तरण गर्न जरुरी भएको मानव संसाधनको विकास गर्न स्थापित संस्थाको रूपमा शिक्षालयहरूको अवधारणा स्थापित भएको देखिन्छ।

 

हाम्रो परम्परागत रूपमा युवा विद्यार्थीहरूलाई संस्कृत भाषाको सही उच्चारण गर्न सिकाउने, वर्णमाला सिकाउने, स्वर-सन्धि (युफोनिक जस्तै: देव+आलय:=देवालय:) संयोजनका नियमहरू, विभिन्न वाणी ध्वनिहरू विशेषताहरू र विशिष्टताहरू सिकाउने कार्य सम्पादन हुने स्थानलाई शिक्षालय भन्ने गरिन्थ्यो। विभिन्न वाणी र ध्वनिहरूको मुखले गरिने उच्चारणको, उचित स्थानमा दिनुपर्ने अधिक वा कम बल लगायतको कला सिकेर वैदिक ग्रन्थहरूमा रहेको सामान्यतया सबै ज्ञानहरूको धारा प्रवाह रूपमा सही उच्चारण गरी पुस्तौँ पुस्ता ती ज्ञानको प्रवाहलाई निरन्तरता दिन शिक्षालयहरू स्थापना गरिए।

 

तसर्थ हाम्रा शिक्षालयहरूको उद्देश्य हाम्रा परम्परागत ज्ञान कण्ठस्थ गरी कुनै हेरफेर नगरी नयाँ पुस्ता सँग पुर्‍याउनु नै थियो। जुन कार्य पछि लेख्ने, अडियो भिजुयल आदि वाट समेत कायम गर्न सम्भव बन्यो।

 

शिक्षालयहरूमा प्राप्त गरिने ज्ञान कसैलाई एउटा गोपी कृष्णको भन्ने सुगाले “नारायणले कल्पनालाई बिहे गर्‍यो” भने जस्तो घोकिएका ऋचाहरूको अर्थ र मर्म नबुझी समाजमा सूचना हस्तान्तरणको विधि सम्पन्न गर्ने हदको हुन् सक्दथ्यो। कसैको हकमा भने घोकिएका उक्त ऋचाहरूको अर्थ र मर्म समेतको अर्थ राख्दथ्यो। उनीहरू समाजमा “नारायणले कल्पनालाई बिहे गरे” भने सन्देश मौखिक रूपमा स्पष्ट सम्प्रेषण गर्दै गर्दा आफू भित्र भने त्यस सन्देशको मर्म समेत अनुभूति गर्ने क्षमताको राख्ने गर्दथे।

 

एक हुलाकीको रूपमा सन्देश एक पुस्ता वाट अर्को पुस्तामा जस्ताको तस्तै पुर्याउदै गर्दा उनीहरू नारायण र कल्पना आफ्नो आफ्नो निजी दुःख-सु:ख उक्त पुण्य कार्य मार्फत सामूहिक दुःख-सु:ख मान्ने प्रतिबद्धतामा पुगे भन्ने बुझ्दथे। उनीहरूको स्वैच्छिक आत्म मिलनको सत्कर्म ली-बाबुको सुखद जन्ममा मात्र सीमित हुने छैन, यसले लोभलाग्दो पारिवारिक जीवनको स्थापनाको सुखद क्षण तथा वंशको परम्पराको नियमितता कायम गर्ने धर्म समेत पुरा गर्ने छ भन्ने सम्मको मर्म बुझ्ने र अनुभूति गर्ने क्षमता राख्दथे।

 

व्यक्तिको क्षमता अनुरूप सूचना सञ्चार गर्ने व्यक्तिको पक्षमा त्यसले दिने प्रभाव जस्तो सुकै रहोस् त्यसलाई गौण ठान्दै शिक्षालयको चुरो उद्देश्य व्यक्तिलाई वेदका सूचनाहरू कम्तिमा बिना तोडमोड समाजमा सञ्चार गर्ने एक हुलाकीको रूपमा तैयारी गर्नुमा सीमित रहन्थ्यो।

 

ऋचाका गहिरो अर्थ बुझोस् नबुझोस् त्यसमा खासै विभेद नगरी एक व्यक्ति जति धेरै क्षेत्र र पक्ष वारेका त्यस्ता सूचनाहरू वेदमा जे लेखिएको हो त्यही स्पष्ट रूपमा समाजमा वा अर्को प्रशिक्षार्थीलाई सञ्चार गर्न सक्ने बन्दछ त्यसैको आधारमा उनीहरूलाई विभिन्न उपाधिले विभूषित गरिन्थ्यो।

 

जसरी एउटा सिलिन्डरमा कति लिटर पानी अट्दछ त्यसैका आधारमा यति एमएल र लिटर पानी अट्ने भन्दै ग्रयाजुएटेड भएको सिलिन्डरलाई ग्रयाजुएटेड  सिलिन्डर भनिन्छ त्यसरी नै शिक्षालयमा  शिक्षा प्राप्त एउटा प्रशिक्षार्थीले उसले समाजमा कति सूचना सम्प्रेषण गर्ने क्षमता राख्दछ त्यसैको आधारमा उसको योग्यता मापन गरी प्रमाणीकरण (ग्र्याजुएसन प्रमाणपत्र दिने) गरिन्थ्यो।जसलाई दीक्षा  (निश्चित तहको ग्र्याजुएट भनी प्रमाणपत्र वा पहिचान दिइने कार्य पश्चात् उसको प्रशिक्षणको अन्त: अर्थात् दीक्षान्त) भनिन्थ्यो।

 

प्रशिक्षार्थीको योग्यता मापन गरी उसमा निहित सूचना प्रवाहको क्षमताको यकिन गर्ने दीक्षान्तको काम दीक्षालयहरूले (परीक्षा नियन्त्रण कार्यालय) गर्ने गर्दथे। प्रशिक्षणको मापदण्ड पुरा गरेका प्रशिक्षार्थीलाई निश्चित समयको अन्तरालमामा आयोजित हुने दीक्षान्त समारोह दीक्षालयहरूले (परीक्षा नियन्त्रण कार्यालयहरू) एक प्राज्ञको रूपमा प्रमाणपत्र वा प्राज्ञको पहिचान दिने गरिन्थ्यो। त्यता प्राज्ञहरू अन्य प्राज्ञहरूको निर्माण गर्न शिक्षालयहरूमा कार्यरत रहन्थे।

 

प्रशस्तपादभाष्य अनुसार सत्य वा वैध ज्ञान (Valid Knowledge) नै विद्या हो। बुद्धि (मन, कारण, ज्ञान) दुई प्रकारका ज्ञान निर्मित हुन्छ। विद्या (वैध ज्ञान) र अविद्या (अवैध ज्ञान – False Knowledge)। वैध ज्ञानका चार श्रोतहरू हुन्छ।  अनुमान (Inference), प्रभाव (Perception), स्मरण (Recollection) र अलौकिक गुप्त धारणा (Supernormal Occult Perception)। अवैध ज्ञानको श्रोतहरू पनि चार प्रकारको नै हुन्छ। शङ्का (Doubt), भ्रम (Illusion), अनिश्चित ज्ञान (Indefinite Knowledge) र सपना (Dream)। धनुर्वेदमा युद्ध विज्ञान वारेको ज्ञान समेटिएको छ। धनुर्वेद-संहिता अनुसार विद्या ज्ञान, प्रविधि, सिप र लक्षित उपलब्धि प्राप्तिको अचुक हतियार हो।

 

सावध्यकर्म मानिसमा हुने एक विशेष प्रकारको गुण र क्षमता (ऋद्धि) हो। सावध्यकर्म युक्त व्यक्तिको नियमित रूपमा अविचलित रहेर आफू संलग्न कर्म र गतिविधिहरूमा लिप्त (with attachment) रहने असाधारण गुण र शक्ति रहन्छ। जसले गर्दा उनीहरूमा असाधारण क्षमताको (ऋद्धि) विकास हुने गर्दछ। विद्या शब्दको भावार्थले विद्या एक सभ्य, चिन्तनशील र विषय बस्तुमा लिप्त रहेको व्यक्तिमा (Educated and Learned) अन्तर निहित ज्ञान र कलालाई जनाउने गर्दछ। एउटा परिष्कृत संरचना जुन सावध्यकर्म युक्त मानिसलाई उसको चाहनाको कर्म क्षेत्रको गतिविधिहरूमा लिप्त रहेर असाधारण ज्ञान र कलाको शक्ति विकास गर्ने वातावरण दिन्छ त्यसलाई विद्यालय भनिन्छ।

 

विद्या प्राप्तिको विभिन्न क्षेत्रहरू हुने गर्दछ। वैदिक परम्परामा पुरुषका लागि ७२ र नारीहरूको लागि ६४ प्रकारका ज्ञान र कलाको क्षेत्रहरू उपलब्ध छ। फरक फरक प्रकृतिको ज्ञान र कलामा पारङ्गत हुनको लागि त्यसै अनुरूपको शिष्य मैत्री विद्यालयहरू तथा गुरुकुलहरुको परिकल्पना भएको छ।

 

गुरुकुल कुनै धर्मशास्त्र पठाउने केन्द्र नभएर वेदको व्यवहारिक र वैज्ञानिक ज्ञान सिकाउने केन्द्र हो। जसरी विज्ञान कुनै धर्मको शास्त्र होइन तर धर्मका शास्त्रका धेरै कुराहरू विज्ञान सङ्गत हुने गर्दछन् त्यस्तै  वेद समेत कुनै धर्म शास्त्र होइन। सम्पूर्ण विज्ञान हो। हिन्दु, जैन, बुद्ध र चार्वाक (व्यवहारिक भौतिक विज्ञान) जस्ता विचारधाराहरू वेद वाट अधिक प्रभावित छन्। प्राय: सबै धर्मशास्त्रका अधिक कुराहरू वेद सङ्गत समेत देखिन्छन्।

 

वेद र विज्ञानका कुराहरू हाल सम्म कुनै पनि बाझिएको देखिँदैन। मात्र वेदमा उल्लेख भएका कतिपय गहिरा कुराहरू मापन र प्रमाणित गर्ने क्षमता विज्ञानले विकास गरी नसकेकोले वेदका कतिपय कुराहरू विज्ञानले हो वा होइन भनी यकिन गर्न सकी नरहेको आजको अवस्था हो।

 

सावध्यकर्म युक्त पुरुष तथा नारीहरूको विद्या प्राप्तिको लागि स्थापित विद्यालयहरूमा सञ्चालन गर्न अनुमति दिइने क्रियाकलापहरू कुनै निश्चित मापदण्ड वाट नापिने प्रकृतिको हुने गर्दैन।

 

हरेक असाधारण क्षमताको विद्यार्थीको कला र क्षमतामा क्रमिक रूपमा थप विशिष्टीकृत गर्दै लैजान उनीहरूलाई हिजोको उनीहरू भन्दा झन् कुशल बन्न प्रेरित गर्ने वातावरण दिने गरिन्थ्यो। जसले गर्दा असाधारण क्षमताको (ऋद्धि) एक विज्ञ विद्यार्थी हिजोको आफैले स्थापित गरेको  असाधारण क्षमता, विज्ञता भन्दा विशिष्ट असाधारण क्षमता विकास गर्दै आफ्नो परिष्कृत कुशलता प्राप्ति गर्दथ्यो। नियमित ऋद्धि र विज्ञता सुधारको उक्त क्रम उसको चाहना र आत्मबलको छनौट अनुरूप नियमित राख्न सकिने वातावरण दिइने गरिन्थ्यो।

 

बिदेसी ज्ञान,प्रविधि, उत्पादन र संस्कृतिको लागि नेपाललाई एकाधिकार बजार बनाउने नियोजित बृहत्तर योजना अन्तर्गत जब हाम्रा परम्परागत रैथाने विद्याको वैध ज्ञानको जगलाई जरै देखि उखालेर आयातित अवैध ज्ञान दिने शिक्षा प्रणाली लागु गरियो, हाम्रा विद्यालयहरू विदेशीले लादेको गैर-नैतिक र भुईँफुट्टे  अल्प ज्ञान र अविद्या छर्ने शिक्षालयमा परिवर्तित बन्यो। नाम भने विद्यालय नै राखियो। आयातित अवैध ज्ञानलाई मुलुक भर लादिन सहयोग हुने शिक्षक (आफ्नो भविष्यको ख्याल नगरी अर्काको भविष्य समेत खाल्डोमा हाल्न उद्धत वर्ग) जन्माउने अखडाको रुपमा विश्व विद्यालयहरूको दुरुपयोग गरियो। मुलुकभर लगभग २०० वर्ष पुरानो मिति गुज्रिएको वैज्ञानिक भनिएको अल्प तथा अर्ध-ज्ञान र अविद्या दिने शिक्षा प्रणाली बल पूर्वक स्थापित गरियो। झुकिएर हो वा यथार्थ बकिएको हो, त्यो संरचनाको संरक्षण गर्ने निकायको नाउँ भने विद्या मन्त्रालय नभनेर शिक्षा मन्त्रालय नै राखियो। बुद्धि विलासीहरूको स्थायी अखडा बनेको शिक्षा मन्त्रालयको संरक्षणमा अर्ध-ज्ञान र अविद्याको जरो हाकाहाकी मुलुकभर निर्लज्ज स्थापित गरियो।

 

(खाद्य तथा औषधि विज्ञ)

35Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: