मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आफ्नै मुलुकको नलेखिएको कथा ? 

नारायण घिमिरे

यथार्थ यथार्थ हुन्छ। आफ्नै कथा आफ्नै व्यथा रहेछ भने ! सुनेर नरुनु ल !! पढेर दुःखी नहुनु ल !!!

आफ्नो परम्परागत रैथाने सिप, ज्ञान र प्रविधिमा आधारित मुलुकको इकोनोमी बनाउने कार्यक्रमहरू तय नगर्ने मुलुकको भविष्य अफगानिस्तानको आजको हैसियतको हुने निश्चित छ। ति मुलुकहरुमा शिक्षित भनिएका र बेदेशमा गएर विज्ञ कहलिएकाहरू लाई समेत सङ्गठित माफिया र बिचौलियाहरूले आफ्नो बृहत सञ्जालमा लिने र उनीहरूको निजी स्वार्थ पूर्तिमा टेको दिएर मुलुकलाई  बिदेसी उत्पादन र प्रविधि बिक्री गर्ने मनोपली बजारको रूपमा विकास गर्ने ठेक्का दिने गर्दछन्। यो संयन्त्रमा मुलुकको प्रधानमन्त्री सम्म बनिसकेका नेता देखि समाजमा ठुला समाज सेवीको आवरणमा रहेका मानिसहरू समेत भूमिगत रूपमा रहेको भेटिन्छ।

 

त्यस्ता देशहरूमा अनुसन्धानमा आधारित इनोभेटीब परियोजना र कार्यक्रमहरू सञ्चालन हुनै नसक्ने गरी कानुन बनाएर नै थला पारिएको हुन्छ। मुलुकका पढे लेखेका भनिएकाहरू वाट पैसा र पदको लोभमा आफ्नो नैतिकता र इमान  बिक्री गर्न तैयार हुने विद्वत्तम वर्ग मध्ये सबैभन्दा धूर्त मानवलाई छानी छानी नीति नियम निर्माण गर्ने, परिमार्जन गर्ने र कार्यान्वयनको निर्णय गर्ने  स्थानमा आसीन गरिन्छ। सयौँ वर्षको नियमित अभ्यास अनुरूप राज्य व्यवस्थापनको सानो सानो छिद्र सम्म पुग्न सफल भएको माफिया तन्त्रका सदस्यहरू निर्मित माफिया सुपर क्लस्टर यति शक्तिशाली देखिन्छ कि सानो तिनो लेख, आग्रह र वा अप्रेसनले हैन  मुलुकको कुनै मन्त्री र क्याबिनेट स्तरकै निर्णय वाट समेत मुलुकको हित हुने दिसामा निर्णय गरिएछ भने पनि  त्यो योजनाले मूर्तरूप लिनु भन्दा निकै पहिले सजिलै तुहाइदिन उक्त ग्रयाण्ड डिजाइन सक्षम भेटिन्छ।

 

संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धानहरू हुन्छन्। एउटामा कुनै पनि विषयवस्तुमा खोज गरिन्छ तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ राखिन्न । त्यो एकेडेमी वा सैद्धान्तिक प्रकृतिको रिसर्च हो । जुन विश्व-विद्यालयहरूले गर्ने गर्दछन्। अर्को कुनै पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान हुन्छ। व्यावहारिक प्रकृतिको अनुसन्धानहरू हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिने ठुलो सम्भावनाहरू बोकेका हुन्छन्। जुन निजी क्षेत्रले गर्दछ।

 

निजी क्षेत्रलाई हाताहाती प्रतिफल दिने व्यावहारिक अनुसन्धान सञ्चालन गर्न र अनुसन्धान वाट प्राप्त इनोभेटिव आइडिया वा सोलुसन लाई व्यावसायिकीकरण गर्न सघाउन मुलुक भित्र निजी क्षेत्रको  आइडिया इन्कुबेसन र कमर्सियलाइजेसन केन्द्रहरू व्यवस्था गर्न सरकारले अहम् भूमिका खेल्न जरुरी हुन्छ। आइडिया इन्कुवेटर र कमर्सियलाइजेसन केन्द्रहरू मुलुकमा इनोभेसनको कल्चर विकास गर्न र इनोभेसन गतिविधिहरू सञ्चालन गर्नको लागि अनिवार्य रहेका बडी अफ नलेज बेस संस्थाहरू हुन।

 

आज सामाजिक सञ्जालको तीव्र विकासले आफूले चासो राख्ने क्षेत्रमा संसार भर के के भई रहेको छ भन्ने कुरा संसारभरका मानिसहरूले तुरुन्तै थाहा पाउन सम्भव बनेको छ। सामाजिक सञ्जालको विकासले सबै जसो राज्यको ढुकुटी प्राय: सङ्गठित माफियाहरूको नाफाको रूपमा थुप्रन पुग्ने मुलुकहरूमा मूलतः तिन वटा अवसर उपलब्ध गराएको छ।

 

पहिलो अवसरमा अन्तर्राष्ट्रिय दलाल पुँजीपति वर्गले दिने कमिसन वाट सञ्चालित ठुला मिडिया हाउसहरू आफू कार्यरत देशमा उक्त मुलुकलाई अन्तर्राष्ट्रिय दलाल पुँजीपति वर्गको एकाधिकार बजार बनाउन सहयोग हुने गरी सम्प्रेषण गरिने नियोजित खबर,  लेख, रिपोर्ट तथा अन्य सन्दर्भ सामग्रीमा सर्वसाधारण मानिसमा विश्वास उठिसकेको छ। ती सबै आफ्नै मालिकको निर्देशनमा श्रोतवाला र श्रोतवालीको नाममा आउने फगत जनता उल्लु बनाउने खोसेल्टा रहेको चेतना जनता बिच प्रस्ट बनेको छ। मुलुकले आफ्नो हितको लागि कस्तो शिक्षा, प्रविधि र नीतिगत सुधार अवलम्बन गर्नु पर्छ भन्ने सम्बन्धमा प्रायोजित पात्र मार्फत त्यस्ता मिडियाहरूमा तामझाम सहित छापिने लेख र सूचना मुलुक भित्र कौडीको मूल्यमा समेत नबिक्ने परिस्थिति निर्माण भएको छ।

 

चुस्त रकम वा अन्य लाभ लिएर कुनै अमुक नेता वा गिरोहको अमुक स्वार्थ पुरा गर्न त्यस्ता मिडियाहरूमा छापिने सनसनी पूर्ण समाचारले एउटा यू-टुवर र टिक-टकको पोस्ट जति पनि जनप्रतिक्रिया नपाउने स्थिति बन्नु अत्यन्त सकारात्मक परिस्थितिको निर्माण हुनु हो।

 

मुलुकको लागि विषाक्त रहेको नियोजित  भ्रम युक्त बिचार सम्प्रेषण गरी त्यो बापत अन्तर्राष्ट्रिय दलाल पुँजीपति वर्गले दिने कमिसन वाट सञ्चालित ठुला मिडिया हाउसहरू आज जनताको सम्पर्क वाट पनि निकै टाढा पुगिरहेको प्रमाणको रूपमा उनीहरूले गर्ने राजनैतिक र अन्य प्रक्षेपणहरू लिन सकिन्छ। उनीहरू जसका विरुद्ध लेख्ने गर्छन्, तिनै जन अनुमोदित बन्छन्। उनीहरू जसको तारिफ गर्दछन्, तिनीहरू जनता बिच बदनाम पात्र हुने गर्छन्। तिनीहरू जसको बदनाम गरी समाचार लेख्दछन् , तिनीहरू जनतावाट प्राय: परिपूजित  भेटिन्छन्। यो परिस्थिति मुलुकको उन्नतिको लागि राम्रो अवसर हो।

 

दोस्रो अवसरमा अन्तर्राष्ट्रिय दलाल पुँजीपति वर्गले आफ्नो स्वार्थ सिद्धिको लागि दसकौँ लगाएर निर्माण गरेको र आफ्नो स्वार्थ साँध्न उपयोगमा ल्याउने गरेका भूमिगत गिरोहका नेता तथा सामाजिक कार्यकर्ताहरूको समेत समाजमा पकड शून्य रहनु हो। उनीहरूको हालको हैसियत नैतिकता र इमान  बिक्रीमा राखेर सडकमा निक्लिएका विद्वत्तम वर्गलाई आफ्ना मालिकको स्वार्थ अनुरूप खुरु-खुरु काम गरिदिने  राजनैतिक तथा नीतिगत निर्णय वाट सम्भव हुने पदमा आसीन गरी आफ्नो आय: निश्चित पार्नुमा मात्र सीमित देखिन्छ।

 

निश्चित अमुक पार्टीका टाउके नेता, लाउके नेता वा युवा नेता भनी चर्चित ती महाशयहरू माथि जनतामा स्तरमा फिटिक्कै न कुनै श्रद्धा, न कुनै आशा वा भरोसा नै देखिन्छ। आशा, भरोसा र विश्वास सबै गुमेका नेताहरू जनताको मस्तिष्कमा टोले गुन्डाको हैसियतको भेटिन्छन्। त्यो टोले गुन्डा, जसलाई मनमा रिस उठे मात्र केही न केही गरी जनतालाई दुख दिने गर्दछ। मात्र त्यो अनिष्ट आइनलागोस् भनी सके सम्म तर्केर हिँड्ने, झुक्किएर भेट भए नमस्कार हजुर भनी दिन्छन् जनता। तर पनि चुनावी माहौलमा जो छाने पनि देश र जनताको हैन आफै बन्न आएका जोगी देखिदा कुनै एउटा छानिन पुग्ने परिस्थिति बिच मुलुक भर रहेको राजनैतिक पार्टीको अघोषित गुन्डा गर्दीमा पुरानै पार्टीका कुनै न कुनै पुरानै अनुहार छानिने गर्दछन्।

 

तेस्रो अवसरमा, मक्किएको दलाल पुँजीपति वर्ग सञ्चालित मिडिया, सो कल्ड बढे नेता तथा समाज सेवी तथा तिनैको दौराको फेरो समातेर उच्च पद धारण गरेका सो कल्ड विज्ञ वा योजना विद्धहरू समेत सन्दर्भ विहीन बनेका छन्। सोसियल मिडिया मार्फत बाहिरिएका सन्देशहरू  मुलुकमा खराब प्रवृत्तिका व्यक्ति र समूहको सन्देश पुर्‍याउने शक्तिशाली यन्त्र बन्न सकेको छ। कोही मन्त्री भएको थियो रे भनी सुन्यो भने एक सर्वसाधारणको मनमा त्यो कि भ्रष्टाचारी होला, कि अपहरणकारी होला, नभए पक्कै भूमिगत गिरोहको मान्छे होला भन्ने भावना उब्जी हाल्छ। राजनैतिक नियुक्ति लिएको विद्वान रे भनी दियो भने यिनी कुन चैँ बिदेसी माफियाका एजेन्ट होलान् वा कुनै आन्तरिक माफियाकै कारिन्दा परे की नभए पक्कै पाउमा चुस्त दाम चढाएर पद उछिट्ट्याए भन्ने अनुमान सुरु हुन्छ। जन स्तरको ती अनुमानहरू नब्बे प्रतिशत माथि नै यथार्थमा सही रहने प्राय: सबै भुक्त भोगीहरूलाई थाहा छ।

 

हुन पनि मुलुक भित्र सर्वसाधारणको मनमा चल्ने तरिकाहरू बाहेक अन्य तरिका वाट मुलुकको उच्च पदमा पुग्नै नसकिने गरी माखे-साङ्ग्लाहरु बुनिएका छन्। विगतको अनुभवहरुले गाऊ देखि प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रपतिको कार्यालय सम्म त्यस्ता माखे-साङ्ग्लाहरुको बलिष्ठ उपस्थिति रहेको प्रस्ट गर्दछ। धन्न सोसियल साइटहरूको आशीर्वाद वाट सो कल्ड विज्ञहरू, योजना विद् भनिएकाहरू, मुलुकको मुख्य नीति नियम र वित्त पोलिसी बनाउने स्थानमा पुगेकाहरू  सबैको यथार्थ जनतामा पुग्न पाएको छ। भ्रष्ट नियतका माफियाका ति कारिन्दाहरू उपर समेत जन विश्वास नरहेकाले तिनीहरू स्वयम तिनकै लगानी कर्ताको रुपमा रहेका माफियाहरूका लागि निकै लामो समयको विशाल लगानीको प्रतिफल दिन नसक्ने एउटा बहिला गाइको बाच्छी बन्न पुगेका । भालुको कम्पटमा परिवर्तन भएका छन्।

 

उल्लेखित कुराहरू दसकौँ देखि गरिब मुलुक लाई आफ्नो एकाधिकार बजार बनाएर कमाइरहेकाहरू अनविज्ञ भने पक्कै छैनन्। भएका परम्परागत माफिया संयन्त्रको उपयोगिता सकिँदै गर्दा अफगानिस्तानमा जे भयो अन्यत्र समेत त्यही मोडल लागु गर्न माफिया तन्त्रले लागि परेको ती मुलुकमा हुँदै गरेका गतिविधिहरू वाट अनुभूति गर्न सकिन्छ। त्यसका प्रस्ट देखिने केही आधारहरू तल व्याख्या गरिएको छ।

 

विश्वमा गरिब रहेका मुलुकलाई सम्भ्रान्त गर्ने आइडिया इन्कुवेसन र कमर्सियलाइजेसन जस्ता डिसरपटिप तरिकाहरू माफियाहरूको चुकुलमा फसेका मुलुकहरूमा उपयोगमा ल्याउन दिइँदैन। त्यस्ता मुलुकहरूमा उक्त प्रकारका अग्रगामी मोडलहरू  भित्रनु अघि जन स्तरमा नै त्यस वारे निराशा पैदा गरी सदाको लागि मार्ग बन्द गर्ने प्रपञ्चहरू चल्ने गर्दछ। जस अन्तर्गत नयाँ बोतलमा  पुरानै रक्सी पस्के सरि माफियाहरूको पकडमा रहेको सरकारी, गैर सरकारी र निजी प्रकृतिका पुरानै संरचना र पुरानै कार्यक्रम लाई नयाँ इनोभेसनका नाम दिइएर सञ्चालन गरिन्छ।

 

माफियाहरूले चलाएको मुलुकलाई विदेशी सामानको एकाधिकार बनाउने मिति सकिएका तालिम र अभिमुखीकरण जस्ता व्यक्तिमा रहेको इनोभेटिब विचारको समेत हत्या गरिदिने कार्यक्रमहरू लाई आइडिया इन्कुवेसन र कमर्सियलाइजेसन अन्तर्गतको इनोभेटिब कार्यक्रम भनी प्रचार गरिन्छ। मुलुकको सम्भावित उद्यमीमा आइडिया इन्कुवेसन र कमर्सियलाइजेसन भन्ने कुरा पनि पुरानै पाराको गफास्ट कुरा रहेछ भन्ने गहिरो छाप छोडिदिन सफल हुन्छ। आइडिया इन्कुवेसन र कमर्सियलाइजेसन जस्ता कुराहरू अन्यत्र चले पनि यो मुलुकमा चल्दैन, नियतवश नै पुरानै जे छ त्यही सर्वोत्तम छ भन्ने सामाजिक अवधारणा विकास गर्न सम्पूर्ण शक्ति खर्च गरिन्छ।

 

आज विश्वमा प्रमाणित नै भएको यथार्थ के हो भने आजको युनिभर्सिटी मोडेलमा व्यावहारिक अनुसन्धान अन्तर्गत एकेडेमिसियनहरुले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेट पार्टनरसिप मोडलमै  कुनै व्यावहारिक रिसर्च गरियो भने पनि त्यसको लगभग एक हजार डलर मूल्य बराबरको व्यावहारिक रिसर्चका निष्कर्षलाई व्यावसायिकीकरण गर्न एकदेखि १० मिलियन डलरसम्म लाग्छ। तैपनि त्यो व्यावसायिकीकरणले लगानी उठाउने निश्चित गर्दैन। जुन आजको उच्च विकसित मुलुकको परिवर्तनशील बजार प्रणालीले समेत धान्न सक्दैन। त्यो कसैको लागि पनि व्यावहारिक हुँदैन। माफिया तन्त्रले निलेको गरिब मुलुकहरूमा त झन् त्यो कल्पनाको समेत विषय हुन सक्दैन।

 

ती मुलुकका  माफिया तन्त्रले यो कुरा राम्ररी बुझेको प्रतीत हुन्छ।

 

समयको गति सँगै केही अमुक गरिब मुलुकहरूमा मक्किँदै गएको माफिया संयन्त्र आफ्नो सम्पूर्ण शक्ति इनोभेसनको नाममा पुरानै १५० वर्षको बडी अफ नलेज बोकेको, अमुक मुलुकलाई सम्पूर्ण रूपमा सय वर्ष देखी बिदेसी एकाधिकार बजार बनाएको कन्टेन्ट र ज्ञानलाई पुनः नयाँ विश्व विद्यालयको नाममा प्रदेश र नगरपालिका स्तर सम्म पुर्‍याएर कम्तीमा अर्को दुई सय वर्ष आफ्नै लुटिखाने मुलुक बनाउने प्रयत्नमा लागि परेको भेटिन्छ। केही अमुक मुलुकका टोल टोलका टोले गुन्डाहरू समेत विश्व विद्यालय बनाउने भन्दै दगुरेका भेटिन्छ। एउटा सामान्य माध्यमिक विद्यालय सञ्चालन हुने पूर्वाधार र बजेट नभएका संरचनाहरूलाई विश्व विद्यालय बनाउने घोषणा दैनिक भई रहेको देखिन्छ।

 

विश्व वाट परम्परागत पब्लिक–प्राइभेट–पार्टनरसिप मोडल नकाम बनेर को–क्रिएसन मोडल वाट प्रतिस्थापन हुँदै गर्दा सरकार परिवर्तन हुने बित्तिकै हिजो विदेशी प्रभुहरूको डोनेसन व्यवस्थापन गर्न खटिएका अमुक मुलुकका महाशयहरूलाई सरकारको उच्च तहमा विराजमान हुने चिट्टा परेको देखिन्छ। ती महाशयहरू  जसको निगाहले आफूलाई चिट्टा परेको हो उसैलाई खुसी पार्न मिति सकिएको परम्परागत पब्लिक–प्राइभेट–पार्टनरसिप मोडल सरकारको क्रान्तिकारी नीति भनी ल्याउन दिन रात मरेर लागेका छन्। संसारका विकसित मुलुकका उद्यमहरूले सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम इनोभेटिभ कम्पनीमा परिवर्तन सफल गराएको को-क्रियसन मोडल नेपालमा भित्रिन समेत नदिएर आफ्नो सम्पूर्ण बल बुता तिनै परम्परागत माफिया तन्त्रको सेवामा सुम्पिन लागि रहेका देखिन्छ।

केही अमुक मुलुक त्यस्तो मुलुक बन्यो जसको सरकारी संयन्त्रले मिलाएर निकालेको हिसाबमा समेत कुल आयात कम्तीमा ७३ प्रतिशत र निर्यात धेरैमा ७ प्रतिसतमा सीमित छ। त्यो भनेको आफ्नो उत्पादन भन्ने केही नभएको मुलुक आफ्नो मातृभूमिलाई अर्काको मनोपली पेवा बन्न दिएर आफ्नो युवाहरूको श्रम बिक्री गरेर बिना सङ्कोच माफिया तन्त्रलाई आफ्नो सर्वस्व बुझाइएको छ। तर पनि त्यहाँ तिनैका मुलुक संवृद्धि गर्ने नारा बिक्ने गर्दछन् जसले मुलुक कङ्गाल बनाए। मुलुकको निर्णय क्षमता प्रभुको पाउमा थमाए। प्रभुको आदेशमा मुलुक रणभूमिमा परिवर्तन गरी हजारौँ हजार निर्दोष गरिब जनताको रगतको होली खेले।

 

एउटा मुलुक जुन  प्राकृतिक श्रोत, जडीबुटी, परम्परागत ज्ञान र प्रविधि तथा परम्परागत धार्मिक  सहिष्णुतामा अत्यन्त धनी क्षेत्र छ।  त्यो मुलुकको  हर्बल क्षेत्रमा अत्यन्त धनी भूभाग मुलुकै सबैभन्दा पिछडिएको भूभागको रूपमा चर्चित छ। त्यो मुलुकको प्लानर, लामो समय मुलुकमा नेता भई बसेका नेताहरू लगायत माफिया तन्त्रका हरेक कनिष्ठ सदस्य समेतलाई के थाहा छ भने  सरकारको अत्यन्त प्रतिकुल नियम कानुन, निरन्तरको असहयोगका बाबजुद तैयार भएका हर्बलका कच्चा पदार्थको त्यो मुलुक वाट यदि  रु१ मा बाहिर जान्छ भने त्यो बडी अफ नलेज-एड अर्थात् भेलुएड भएर सामान्य प्रशोधन र केही आधुनिक फर्मुलेसन पश्चात् उपभोग्य पदार्थको रूपमा रु १५०० मा सोहि मुलुकमै पुन: फर्कन्छ। मुलक वासीहरु त्यसको उपयोग वाट आफ्नो जीवन यापन गर्न बाध्य छन्।

 

त्यहाँको हर्बल निर्यात र हर्बल निर्मित उपभोग्य वस्तुको आयातको चक्र भित्र हर्बल प्रसोधन र फर्मूलेशनको पाँच प्रकारको ज्ञान र प्रविधिको अभावको खाडल छ। जसको राज्यले खोजी गरी व्यवस्था गर्न सक्दा मुलकको उत्पादनले मुलककै उधमिलाई मुलकको आफ्नै आयात प्रतिष्थापन गर्न सक्षम गर्न सक्छ। सो गर्न सक्दा रु १ मा बेच्दा देखि रु १५०० मा भित्र्याउने चक्र बीचमा कम्तिमा सात प्रकृतिका स्वरोजगार व्यवसाय सृजना हुन जान्छ। मुलकका उपभोक्ताले हालको भन्दा ६० प्रतिसत सस्तोमा उपभोग्य बस्तु प्राप्त गर्न सम्भब बन्दछ। रैथाने हर्बल तथा औषधि र हिलिङ्ग पदार्थमा मुलुक आत्मनिर्भर बन्छ। रैथाने सिप र प्रविधिको सदुपयोग वाट मुलुक सुहाउँदो दिगो उद्यमशीलताको विकास हुन्छ।

 

त्यो अमुक मुलुकको विकासको लागि अत्याबश्यक रहेको पाँच प्रकारको ज्ञान र प्रविधिको अभावको खाडल पुर्ने र मुलुकवासीको हर्बल उद्यमशीलताको क्षमता निर्माणको लागि अर्थात उनीहरुलाई  हर्बल प्रशोधनमा सक्षम गर्नको लागि, प्रशोधन पश्चात आउने सारतत्वलाइ मुलुकले हाल आयात गरिरहेकै उपभोग्य वस्तुमा परिवर्तन गर्नको लागि, मुलुकमै आयातित भई बिकी रहेका उक्त हर्बल निर्मित बस्तुको मुलुक भित्र नै निर्माण गर्नको लागि सक्षम वनाउन को-क्रियसन केन्द्रहरुको जरुरि हुने गर्दछ। उक्त मुलुकको माफिया नियन्त्रित प्रशासन यन्त्र  सक्षम को-क्रियसन केन्द्रहरुको स्थापना गर्ने कुरो सुन्यो भने एका-एक झसङ्ग हुन्छ। मानौँ उसको अघि छ रेक्टरको भूकम्प गई रहेको छ। उसको कर्कलो बारी फाँडिँदै छ। यो किन हुन्छ ? उत्तर घाम जत्तिकै छर्लंग छ।

 

पाँच प्रकारको ज्ञान र प्रविधिको अभावको खाडल पूर्ति गर्न सक्दा मुलुकमा कम्तीमा सात प्रकारका स्थायी प्रकृतिका स्वरोजगारीको अवसर निर्माण हुन्छ। सो हुन नसक्दा ती सबै सातै तहमा रहेको ज्ञान र प्रविधिको भड्खालोले पैदा गरेको बजार बिदेसी आयातले पूर्ति गर्नु पर्ने हुन्छ। जुन तिनै माफियाहरूको कमाइको मुख्य श्रोत हुँदै आएको छ।  माफिया बजारमा लिप्त माफियाहरुलाई उक्त भर्याङ्गको हरेक खुड्किलोमा कमाउनु छ। दशकौ दसक देखिको ‘लगानी एक – कमाइ हजार’ को लुट तन्त्र नियमित राख्नु छ। कमाई ‘अमुक गरिब मूलकको’ – ‘खर्च र जिबन पद्दति  जर्मनी, अम्रिका, युरोप र वेलायतको’  गरि खाने अवसर आफ्नो सम्पूर्ण साखा सन्तान सम्म बिस्तार गर्नु छ।

 

अमुक मुलुकका नेताहरूलाई माफियाको सेवा गरी चुनाव जित्न र मात्र एक दुई पटक मन्त्री बनेर जीवन भर यशको जिन्दगी काट्न पुग्ने पैसाको जोहो गर्नु छ। कर्मचारी र पेसेवर कार्यकर्तालाई नेताको सेवा गरी कमाउन वा प्रमोसन हुनु छ। तान-तुन पारि सात पुस्ता पुग्ने गरी खाएको घुस बापतको कालो-धन  सेतो बनाउनू छ। त्यसमा जीवन भर कानुनी कारबाही  सुरु नै हुन नसक्ने गरी कानुनमै व्यवस्था गरी रोकावट ल्याउनु छ।  रोक्नु छ।  आफू बच्नु छ। ठुलाहरू त गिरोहकै सदस्य रहे। छोटा मोटा पत्रकारहरूलाई समेत बिचमा चाखे र खोचे थापी आएको रकमले दुई दिन भए पनि आलेशानले जीवन चलाउनु छ। तै  चुप, मै चुपको वातावरण तैयार गर्नु छ।

 

बाँकी रह्यो ती अमुक मुलुकका विशेष प्रकारका   प्रवास निवासीका कुरा। ती प्रवासीहरूमा पहिले जस्तो अमुक मुलुक सँग जोडिएर कमाउने भाँडोको रूपमा रहेको मानव तस्करी छोटे-मोटे हरूको पेसा बनेको छ।अमुक मुलुकमा रहेका बिचौलियाहरूको संयन्त्रकै एक हिस्सा बनेका विशेष दर्जाका प्रवासीहरूमा अमुक मुलुकका माफियाहरूको कमाइको कालो धन विदेशी बैकमा सम्म पुर्‍याउन  सहयोगी बनी बिचमा आउने कमिसनले मोटाउनु छ। तिनै ग्याङमा रहेका अर्का थरी प्रवासी लाई विदेश पुर्‍याइएको तिनै कालो धनलाई विदेशी लगानीको नाममा अपसोर मुलुक पुर्‍याएर फेरी नेपाल लागि कालो लाई सेतो बनाएर बिचमा चुस्त कमाउनु छ। अमुक मुलुकमै लागि त्यहाँको नेता र उच्च प्रशासक सँगको साठगाँठमा उच्च मुनाफा हुने क्षेत्रमा लगाउनु छ। भएको नाफामा कर छली गर्नु छ। हरेक पाइला पाइलामा कमाउनु छ। अमुक देशकै कालो धन व्यवस्थापन गरी आउने आम्दानीले विदेशमा व्यवसाय गरी चुस्त धन कमाएको प्रवासी महाजन – जो मातृभूमिको मायाले ओत-प्रोत बनेर अमुक मुलुकको सेवामा दिन रात लागेको – भन्ने भ्रम छर्दै एकै खेपमा धनी, ज्ञानी, समाज सेवीको रूपमा चर्चित हुनु छ।

 

यो कतै नलेखिएको कथा, कसैले नभन्ने कथा तपाइको आफ्नै मुलुकको कथा सँग मिल्छ भने तपाईँ ढुक्क हुनुस् तपाइका आफ्ना भन्नेहरू तपाइका मुलुकका धमिरा बनिरहेका छन्। त्यस्तो धमिरा जसले बाहिर वाट पनि खान्छ, भित्र वाट पनि खान्छ। त्यति बेला सम्म खान्छ जति बेला सम्म त्यो मातृभूमि रुपी काठको ठुटो सकिएर ढल्दैन। जन ढल्दछ, ती धमिराहरू नजिकैको अर्को रुखमा सल्कन्छन्।

 

धमिरा धमिरा नै हो। उसलाई खान पाए, चुस्न पाए पुग्यो। तपाइको भने आफ्नै मातृभूमि दिन-दहाडै सकिँदै छ। मुलुकको दुर्भाग्य नै भन्नु पर्छ ती अमुक  मुलुक आफ्नै दर्दनाक अवस्था वाट मुक्त हुनको लागि आफ्नै मुलुकमा सक्रिय पढेलेखेका भनिएका, बुद्धिजीवी भनी प्रचारित र थिङ्क  ट्याङ्क समेत गनिएका विकवा भुईँफुट्टा वर्गको हातको शासनको डाडु पनियो नपढेका गँवार अज्ञानी भनिएका अङ्ग्रेजी  संग्रेजी नबुझ्ने मात्र मुलुकको माया भएका जनतामा नपुग्दा सम्भव नहुने निश्चित प्राय: बनेको छ। त्यसको लागि नयाँ राजनैतिक व्यवस्थाको टड्कारो जरुरत देखिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

100Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: