मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महामारीमा वेद ।

नारायण घिमिरे

यस पटकको महामारी मानव जातिको लागि एक नयाँ प्रकारको मनोवैज्ञानिक शहनशिलाता र धैर्यताको प्रयोगको लागि प्रकृति सिर्जित परीक्षणको रूपमा देखापर्यो। यो महामारीको अन्तिम परिणाम कस्तो हुने भन्ने सायद कसैलाई पनि थाहा छैन। किन र कसरि उत्पत्ति भयो र कहिले र कसरि अन्त: हुनेछ त्यो दुवै हाम्रो समझ बाहिर को कुरा बनिरहेको छ। तर यो प्रकृति सिर्जित परीक्षणको घडीमा मलाइ जस्तै धेरै लाई ईश्वर हुनुहुन्छ भने काहा हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने गम्भीर प्रश्न दिमागको कुनै कुनामा गडिएर रहेको होला। हुनुहुन्न भने यसको पनि पक्कै प्राकृतिक नियम त होला। त्यो के होला भन्ने खुल्दुलीले पक्कै मन भित्र डेरा जमाएको हुनु पर्दछ।

 

मानव मात्रको लागि प्राकृतिक विपतको रूपमा आइलागेको महामारी वेदको भावनाको अनुभवमा भने नियमित रूपमा मानव निर्णयमा रहेको त्रुटि पूर्ण अन्दाजले विकास गरेको मानवीयतामा स्खलन, प्राकृतिक दोहन तथा नैतिकहिनताको ज्यादतीलाई सुधारका खातिर अनिवार्य बनेको निर्मम प्रहारको बिन्दुको रूपमा बुझ्न सकिन्छ। वेदको आशय अनुरूप हरेक निर्मम नियतिको एक मात्र उपचार सहनशीलता र सकारात्मक आत्मबल हुने गर्दछ।

 

आज नेपाली मिट्टीमा हिजो तनहुँको देवघाटमा जन्मिएका महिर्षी सुश्रुत र अर्का आयुर्वेदका ज्ञाता आचार्य चरक दुवैको उपस्थिति रहेको भए कोभिड-१९को रोगहरूको उपचारमा आयुर्वेदको कस्तो भूमिका हुन्थ्यो होला भन्ने काल्पनिक प्रश्नको उत्तर खोज्ने प्रयासले हामीलाई केही खुराक उपलब्ध गराउन सक्दछ। आयुर्वेद शास्त्रका अग्रगामी चिन्तक यदि आज जीवित नै थिए भने उनीहरूले पक्कै पनि कोभिड-१९ प्रतिरोधी जीवन शैलीको प्रोटोकल, कोभिड-१९ को संन्क्रमण विरुद्ध लड्ने प्रतिरोधी क्षमता वृद्धि गर्ने जडीबुटी र प्राकृतिक सामग्री निर्मित विविध खाद्य पदार्थको तैयारी विधि सहितको सुची, रोग वाट बच्न भौतिक दुरी कायम गर्ने तरिका, आइसोलेसनमा रहने उपाय तथा कोभिड-१९ को  सङ्क्रमण हुँदा त्यसले पैदा गर्ने रोगको विरुद्ध काम गर्ने सफल आयुर्वेदिक फर्मुलेसन, रगतमा अक्सिजनको मात्रा वृद्धि गर्ने ओखितिय खाद्य तथा सुधारिएको दैनिक दिनचर्याका उपायहरूको सङ्ग्रह वा संहिता हामी माझ राखी दिने निश्चित थियो।

 

नेपालको सन्दर्भमा यी दुई हस्तीहरूले निश्चय नै आधुनिक चिकित्साका डाक्टर भएर पनि अयुर्बेद्को गहिरो समझ राख्ने डा. सम्मोद आचार्य, आयुर्वेद विज्ञ प्राध्यापक डाक्टर ऋषि राम कोइराला र आयुर्वेद विषयमा निकै भित्र पुग्न सफल अर्का डाक्टर रवीन्द्र समीर आदि जस्ता हस्तीहरूको समय र घटना क्रमको रियल टाइम अनुभवहरू धैर्यता  पूर्वक सुनेर विचार विमर्श गर्दथे होलान्। विचार विमर्श र छलफल वाट प्राप्त ज्ञान, समुदायमा देखिएको रोगको प्रतिरोधी क्षमताको हद, अन्य कार्यगत स्तरको व्यावहारिक अनुभव, उपलब्ध साधन श्रोत, नेपालको आफ्नै परिस्थितिमा मिल्ने गरी शास्त्रमा दिइएको ज्ञानको कार्यगत स्तरको परिस्थिति जन्य व्यवहारिक ट्रान्सलेसन मार्फत सङ्क्रमण वाट बच्ने, सामाजिक दुष्प्रचार,  मनोबैज्ञानिक डर आदि वाट मुक्ति लिने र उपचारका विधिहरू विकास गरी त्यसको सहजीकरण मार्फत समाज लाई प्रभावकारी उपचार पद्दति उपलब्ध गराएर सोचिए भन्दा निकै छिटो कोभिड-१९ को चपेटा मुक्त पार्न भूमिका खेल्ने थिए होलान।

 

वेदका ऋचाहरूमा उल्लेखित दैनिक जीवनमा अँगाल्नु पर्ने अभ्यासहरू घातक भाइरसहरूको फैलावट कम गर्न सहयोगी हुने कुरा वैज्ञानिक रूपमा समेत प्रमाणित छन्। यो महामारीको समयमा विश्वका मानिसहरू जो जो यस सँग परिचित हुने अवसर पाए उनीहरू मध्ये धेरैले उक्त अभ्यासहरूलाई अनुसरण गरिरहेको बुझिन्छ। आज नमस्ते (नमस्कारम) विश्वव्यापी अभिवादनको माध्यम बन्दै छ।   विश्वव्यापी रूपमा राजनैतिक नेताहरूले हात मिलाउने, चुम्बन गर्ने, अँगालो हाल्ने ठाउँमा झुकेर अभिवादन गर्ने नमस्तेले स्थान पाएको देखिन्छ। विश्वका शीर्ष नेतामा गनिएका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रिन्स चार्ल्स, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको अरूलाई नमस्ते गर्दै गरेको फोटोहरू हाम्रा सामाजिक सञ्जालहरुमा भाइरल भएको भेटिएको थियो।

 

संस्कृतको नमस्कारम बाट आएको ‘नमस्कार’ र ‘ते’ शब्दको संयोजन वाट बनेको  नमस्तेको अर्थ हो “म तपाईँमा अन्तर्निहित ईश्वरीय शक्तिको अघि श्रद्धाको साथ आफूलाई झुकाउँछु”। वैदिक संस्कृतिमा मानसिक र शारीरिक रूपमा स्वास्थ्य रहनु र भौतिक दुरी कायम राख्ने तथा आइसोलेसनमा रहने पद्दति आफ्नो दिन चर्याको दैनिकीको रूपमै स्थापित चलन हो। वैदिक युग देखिनै मर्दा र पर्दा हुने  सामाजिक गतिविधिमा सहभागी हुनुपर्दा व्यक्तिगत स्वच्छता र क्वारेनटाइन हाम्रो परम्परागत जीवन शैलीको अभिन्न र महत्त्वपूर्ण पक्ष थियो। अनिवार्य भौतिक दुरी र स्वच्छता कायम गरी वैदिक कार्यहरूमा सहभागी हुने हाम्रा परम्परागत व्यवहारिक अभ्यासहरू वेदमा उल्लेखित ज्ञानमा आधारित छन्। वेदमा जब कुनै कार्य अनिवार्य गरिन्छ त्यसको कारण समेत उल्लेख हुने गर्दछ।

 

वेद भूमि नेपालले शताब्दीयौं देखि अनुसरण गरिआएको हाम्रो परम्परागत उत्कृष्ट चलनहरू मात्र कर्म काण्डी चलनको रूपमा सीमित हुँदै गर्दा वर्तमान महामारीले पुनः आफ्नो ट्र्याकमा फर्काउन भूमिका खेलेको छ। हामी भान्सा गर्नु अघि साफ सुग्घर रहनुको मूल्य, नमस्तेको मूल्य, भौतिक दुरीको मूल्य, आइसोलेसनको मूल्य, मानसिक र शारीरिक रूपमा तन्दुरुस्त रहनु पर्ने कुराको मूल्य मात्र हैन पिसाब  वा शौच पछि एन्टिसेप्टिक्स-कीटाणुनाशकले हात धुनु पर्ने बानीमा समेत आफूलाई पुन: अभ्यस्त गराउन थालेका छौ।

 

हाम्रा परम्परागत रूपमा हुने एन्टिसेप्टिक्समा हाल राज्यले एन्टिसेप्टिक्सको रूपमा कानुनी रूपमा चिन्ने विदेशी पोस्ने मानिसको जीवन वरवादी तिर लैजाने ठर्रा हैन बेसार (हलेदो), नीम, पाती, गाइको गहुँतको अर्घ, नरहरि बुटी जस्ता वनस्पति हरू निर्मित हुने गर्दथ्यो। इम्युन बुष्टरमा भान्सामै प्रयोग हुने जडीबुटी, आयुर्वेदिक ओखती, बेसार पानी, क्यामुनु – जामुनु, पातीको झोल, अर्घ, चिराइतो, जेठिमधु, ल्वाङ, अलैँची, जिरा, ज्वानो, दालचिनी, कागती, अमला, हर्रो, बर्रो जस्ता मिश्रणहरू हुने गर्दथे। हरेक बिहान नुहाउने, खाना पकाउनु अघि गाइको गोबर र खरानी पानीले सेनिटाईज गर्ने, खानु अघि र पछि हाम्रो सँग हात खुट्टा धुने हाम्रो नित्य कर्मको अभिन्न अङ्ग थियो।

 

खराउ, चप्पल घरको बाहिर पट्टि नै रहन्थ्यो। लागेको लुगा फाटा समेत फेरेर मेडिटेसन वा जप पश्चात् सुद्ध भएर खाना खाने गरिन्थ्यो। घर परिवारमा कोही मरे भने सम्पूर्ण परिवार नै क्वारेनटाइनमा बसिन्थ्यो। मलामी र गाउँलेहरुको लागि आफ्नै प्रकारको चोखो रहने, भौतिक दुरी कायम गरी आफ्नो मानसिक र भौतिक सुद्द्ता र सरसफाइ कायम गर्ने आफ्नै प्रकृतिको प्रोटोकल बनेको हुन्थ्यो। सबैले त्यसैलाई पछ्याइने चलन थियो।

 

रुवा, खोकी, टिबी जस्ता थाहा भएका सरुवा रोगको समय र पहिले नदेखिएको कुनै नयाँ रोग देखिएका परिदृश्यहरूमा पुरै परिवार वा सङ्क्रमित व्यक्ति क्वारेनटाइन रहने, कम्तीमा भौतिक दूरीको सिधान्त पछ्याउन अनिवार्य मानिन्थ्यो। क्वारेनटाइन वा भौतिक दूरीमा रहदा अनिवार्य  आत्म-सुरक्षित र स्वच्छ राख्ने योग अभ्यासहरू गर्ने, मेडिटेसन गर्ने, शरीर लाई अर्थिंग गर्ने, शरीर लाई सफा, ओभानो र न्यानो राख्ने, घाम ताप्ने जस्ता अनिवार्य गतिविधिमा सहभागी हुने गरिन्थ्यो।

 

आज हाम्रो जीवन शैलीमा निकै ठुलो परिवर्तन आएको छ। हाम्रा जैविक र मनोबैज्ञानिक शत्रुहरूमा समेत हाम्रो परिवर्तित जीवन शैली अनुरूप परिवर्तन आएको देखिन्छ। हामी नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, आईओटिको संसारमा प्रवेश गर्दै नयाँ जीवन शैली र दैनिक अभ्यासहरू अनुसरण गरिरहेका छौँ। तर पनि हजारौँ वर्ष पहिले देखि हाम्रो परम्परागत संस्कृतिको रूपमा रहेको हाम्रो जीवन शैलीको मूल्य भने हामीलाई हामी जति आधुनिक बन्दै छौ त्यति धेरै खड्कने गरेको छ ।

 

संसार आफ्नो खान-पान, ओखती मुलो, मनोरञ्जन, जीवन शैली र जीवनको मूल्यको सार पक्ष सम्भव भए सम्म हालको परिवर्तित जीवन शैली भित्रै अन्तर ग्रहण गरी पुराना उत्कृष्ट पद्धतिका लाभकारी पक्ष वाट आफूलाई लाभवन्धित गराउन प्रयत्नशील गरिरहेको अनुभूति हुन्छ।

 

कोरोना भाइरसको प्रकोप पश्चात विश्वभर मृत्यु भएका मानिसको मृत्यु पछि गरिने  अनुष्ठान प्रविधिमा समेत व्यापक परिवर्तन आएको महसुस गर्न सकिन्छ । प्राय: धेरै देशका सरकारहरूले धार्मिक मान्यता अनुरूप दाहसंस्कार हुनुपर्ने चलन जस्तोसुकै सिफारिस गरिएको भएता पनी कोरोना भाइरसको कारण हुने मृत्युमा गरिने दाहसंस्कारमा लास जलाउने तरिका छनौट गर्न अनुरोध गरिरहेको भेटिन्छ।

 

श्रीलङ्का, फिलिपिन्स लगायतका धेरै देशका राज्य संयन्त्रहरूले कोरोनाभाइरस वाट हुने मृत्युमा लासलाई जलाउने मतलब क्रिमे-सन पद्दतिलाई दाहसंस्कार विधि अनिवार्य गरेका छन्। अमेरिकामा समेत कोरोनाभाइरस वाट हुने मृत्युमा गाड्ने भन्दा जलाउने तरिका धेरै अपनाइएको भेटिन्छ। यसवाट वैदिक विधिको दाहसंस्कारमा मानिसको लासलाई जलाउने तरिका सिफारिस किन गरेको रहेछ भन्ने बारे केही छनक मिल्दछ।

 

शव जलाएर गरिने दाहसंस्कार वैदिक  परम्परागत प्रचलन हो। वैदिक मान्यतामा दाहसंस्कारको लागि लगिने मृत शरीरहरू मृत्यु हुनेको अत्यन्त नजिकको मानिस बाहेक अन्यले छुनु समेत नैतिक मानिँदैन। दाहसंस्कारमा संलग्न वा मलामीमा सहभागी हुने हरेक व्यक्तिले अनिवार्य नुहाउनु पर्ने र चोखिनु पर्ने जस्ता प्रोटोकलहरू छन् वैदिक परम्पराका। दाहसंस्कार लाइ वैदिक मान्यतामा अन्त्येष्टि भनिन्छ। जुन अन्त्य: र इस्ति शब्द मिली बनेको छ। जसको अर्थ अन्तिम बलिदान अर्थात अन्तिम संस्कार मतलब वैदिक मान्यतामा भौतिक शरीरको अन्तिम पवित्र समारोह ठानिन्छ।

 

विश्व स्वास्थ्य सङ्गठनको अनुसार विगत ५० वर्षमा विश्वव्यापी रूपमा रोगको सङ्क्रमण निम्त्याएका सङ्क्रमणकारी सुश्मजीबी परजीवीहरू मध्ये ७०% जनावरहरू सँग जोडिएको देखिन्छ। कोभिड-१९ को श्रोत समेत जनावर भएको अन्दाज गरिएता पनि यकिन भई सकेको देखिँदैन। विगतको  निकै छोटो समयमा भएका १० हानिकारक सङ्क्रमणहरू मध्ये छ ओटा सङ्क्रामक रोगहरू एच१ एन१, स्वाइन फ्लु, एच५ एन१, वर्ड फ्लु, इबोला, सार्स सबै पशुहरूबाटनै मानिसमा सरेको भेटिएको छ। शताब्दीयौं देखि स्थापित वैदिक मान्यतामा शाकाहारी खानपान रोजिने प्रचलन जनावर वाट मानिसमा सर्ने घातक रोगको सिकार हुन वाट जोगिने दरिलो कारक बन्न सक्ने पुष्टि भएको छ।

 

विज्ञानको विकासको क्रम जति सुकै भएको होस् अझै तरकारी र फलफूलहरूनै मानव प्रतिरक्षा-बढवा गर्ने भिटामिन, खनिज, एन्टीआक्सीडन्ट, फोक्सोमा हावा वाट अक्सिजन मात्र रगतमा घुलाउने क्षमता वृद्धि गर्ने, रगतमा अक्सिजनको घुलान्शिलता बढाएर तन्तु तन्तुको कोशीका सम्म पुर्‍याउने औषधीय सार तत्त्वहरूको  उत्कृष्ट श्रोत रहेको छ।

 

वैदिक खानपान र ओखती विज्ञान अन्तर्गतको आयुर्वेदमा उल्लेख भएका बेसार, जिरा, धनियाँ, लसुन, तेज पत्ता, अदुवा, कागती, खुर्सानी, मरीच, ल्वाङ, सुकमेल, मेथी, अलैँची, जाइफल, ज्वानो, सिन्कौली, जेठी मधु, पिपला, बोझो, गुर्जो, अमला आदि आज पनि खानालाई रोग प्रतिरोधात्मक क्षमता युक्त बनाएर हिलिङ्ग खानामा परिवर्तन गर्ने कडी बनी रहेका छन्।

 

वैदिक विधाको पुनर्ताजकी प्रकृतिको श्वास-प्रश्वासको कायदा, नाच-गान , सङ्गीत, जप, सामूहिक आराधना, मेडिटेसन र योग ऊर्जाको पुनर् संयोजन मार्फत  शरीर स्फूर्त र चुस्त राख्ने सबैभन्दा प्रभावकारी प्राकृतिक उपायका रूपमा स्थापित छन्।

 

शरीरको भौतिक र मनोबैज्ञानिक सन्तुलन कायम राख्ने प्रयास स्वोरुप हामी हर समय शान्त र आराम रहेर बस्ने कोसिसमा भेटिन्छौ। महामारीको समयमा जीवन शैली, व्यवसाय, रोजगार, स्वास्थ्य, र वित्तीय अवस्थामा समेत पुग्ने असरले हाम्रो तनावको स्तर उच्च पारिदिएको छ। विश्व नै सम्पूर्ण रूपमा चिन्तित रहेको दैनिकको सूचना वाट हाम्रो सामाजिक चेतना स्तरमा समेत भय र आतङ्कको माहौल पैदा गरिदिने गर्दछ। यो समयमा आफ्नो तनाव नियन्त्रणमा राख्न भएका अधिक तरिकाहरू मध्ये वैदिक ध्यानको निकै ठुलो योगदान हुने भेटिएको छ।

 

शाब्दिक रूपमा मेडिटेसन भनिने ध्यानको मतलब स्व-अनुभूति वा आत्म-ज्ञान भन्ने हुन्छ।  आफूले आफ्नै उपस्थितिको महसुस गरेर आफ्नै अनुभवको आधारमा ज्ञान प्राप्त गर्ने र आफूमा लिन हुने कला हो आत्म-ज्ञान। जसमा मात्र आफ्नो अनुभवले, एकाग्रताले आफै सँग वाट धेरै कुरा सिक्ने र अनुभूति गर्ने अवसर प्राप्त हुन्छ।  वेदमा सुरुवात देखि अन्त सम्म पटक पटक उल्लेख भएको पाइने ध्यान ऊर्जाको पुनर संयोजन मार्फत ज्ञानको गहिराइमा पुग्ने उपाय रहेकोले ध्यानको माध्यम वाट निर्माण हुँदै गरेको सामाजिक चेतनाको भय र आतङ्कको घेरा समेत छिचोलेर ज्ञान प्राप्त गर्न तथा भौतिक र मनोबैज्ञानिक सन्तुलन कायम गर्न सम्भव बन्दछ। त्यसैका कारण महामारीको समयमा वैदिक ध्यान तर्फ निकै धेरै मानिसहरुको आकर्षण बढेको देखिन्छ।

 

यो सामान्य कुरा हो कि महामारीको समयमा धेरै बिन्दुहरूमा डाक्टरहरूलाई सही विकल्प के हो भन्ने तरिका समेत फेला पर्ने गर्दैन। कुनै विकल्पहरू कम प्रभावकारी हुने र अन्य विकल्पहरू रोगले विकास गरेको लक्षणहरू अनुरूप सही नहुन सक्छ। डाक्टरहरू लाई उपलब्ध विकल्पको अवस्था जस्तो सुकै होस्, जब एक व्यक्ति बिरामी पर्छ घरमा निको हुने अवस्था नदेखिँदा डाक्टरको खोजीमा अस्पताल पुग्दछ। डाक्टर सँग उपलब्ध विकल्प र कर्तव्य भनेको आफ्नो सम्पूर्ण अनुभव र उपलब्ध विकल्प अन्तर्गत रहेर उसको उपचार गर्नु नै हुनेछ।

 

महामारीको समयमा कतिपय वातावरणीय पक्ष सम्पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्ने रहेकलेनै महामारी फैलने गर्दछ। उक्त समयमा प्रकृति यति निर्मम बनिदिन्छ कि रोगको प्रकृति, उपचार पद्दति र समय समेतको अलिकति सूचना समेत दिने गर्दैन। आचार्य चरक र सुश्रुतको समयमा समेत विभिन्न सङ्क्रमण रोगको नियन्त्रणमा सावधानी लाई नै मुख्य उपायको रूपमा उपयोग गरिन्थ्यो। जसअन्तर्गत रोगको सम्पर्क वाट बाहिर रहेर रोगको सङ्क्रमण वाट बच्ने उपाय नै प्रमुख थियो। जब व्यक्ति रोग वाट सङ्क्रमित बन्छ तब तुरुन्त उपचार विधि सुरु गरिन्थ्यो।

 

आयुर्वेदले तत्कालीन माहाऋषिहरु लाई जडीबुटीहरूको शक्तिको विवेक तथा हिट एन्ड ट्रायल प्रणाली अपनाएर परीक्षण गरी उपचार गर्नु पर्ने बाध्यता थियो। जसले गर्दा जडीबुटीहरूको प्रयोगमा त्रुटि हुने प्रशस्त सम्भावना रहन्थ्यो। उपचारको क्रममा देखिएका हरेक क्रिया र प्रतिक्रिया हरुमा अत्यन्त मिहिन र सुश्मरुपमा ध्यान पुर्‍याएर उपचार पद्धतिमा परिमार्जन गर्दै उपचार सम्पन्न गरिन्थे। त्यस वाट प्राप्त अनुभवको आधारमा संहिताहरू विकास गरिन्थ्यो। आजको महामारीको समयमा समेत उपलब्ध विधि र तरिका लगभग त्यस्तै रहेको छ। सङ्क्रमणको प्रकृति अनुरूप परिस्थिति जुन तरिका वाट जुन दिशामा अगाडि बढ्छ त्यसको उपचार पद्दति समेत त्यही रूपमा अघि बढाउन जरुरी हुन्छ। यो तरिका आयुर्वेदिक जडीबुटीको सन्दर्भमा मात्र हैन कि आधुनिक चिकित्सामा समेत लागु हुने गर्दछ।

 

आजको मिति सम्म पुग्दै गर्दा कोरोना कहरले संसारलाई दिएको पाठ एउटै छ, त्यो हो रोगको रोकथाम नियन्त्रण भन्दा सदैव उत्तम रहने गर्दछ। सायद यसै कुरालाई मनन गरेर आचार्य चरकले आयुर्वेदका दुई मुख्य उद्देश्यहरू चरक संहितामा उल्लेख गरे। पहिलो व्यक्तिको स्वास्थ्यलाई सन्तुलित कायम राख्ने निवारक प्रकृतिको उपचार सदैब ध्यान दिने। दोस्रो बिरामी व्यक्तिको उपचार गर्नको लागि उपचारात्मक प्रकृतिको उपचार सम्पन्न गर्ने।

 

संहितामा आचार्य चरक लेख्दछन् महामारी जस्ता सङ्कटमा समेत आयुर्वेदको विकल्प सर्वप्रथम रोगको रोकथाममा नै ध्यान दिनु हुने छ। त्यसपछि उपचारमा जोड दिइनु पर्दछ। आचार्यहरूका अनुसार यो समयमा देखिने शारीरिक, मानसिक र सामाजिक समस्याहरूको रोकथामका लागि विभिन्न प्रकारको ऋतु अनुसारको आयुर्वेदिक खाना र जीवन पद्दति (रित चर्या) तथा दैनिकी (दिनचर्या) आदिको ठुलो भूमिका रहने वताउदछन।

 

घरेलु रूपमा गरिने आयुर्वेदिक उपचारमा अत्यन्त धेरै चर्चामा हुने औषधीय मूल्यको हिलिङ्ग पेय पदार्थको नाममा काँडा पानी सेवन एक हो। प्राय: आफ्नो भान्सामै उपलब्ध र रोगको समस्या अनुरूप  आयुर्वेदिक पसलहरू वाट किनी ल्याएका केही जडीबुटी सहित विभिन्न जडीबुटी र मसलाहरू पानीमा उमाल्दा जब झोल ५०% घट्न पुग्छ तब छानेर झोल पिउने वा झाम्टा सबै चपाएर खाने र झोल सबै नै पिउने पेय हो काँडा पानी। नेपाली भान्साका प्राय धेरै मसलाका सामग्री र जडीबुटीहरू काँडा पानीको रूपमा पिउँदा शरीरको प्रतिरक्षा प्रणालीमा उल्लेखनीय सुधार गर्ने र रोगको सङ्क्रमण विरुद्ध लड्न शरीरको क्षमता वृद्धिमा मद्दत गर्ने प्रमाणित बनेकाले यसको चलन अधिक बढ्न गएको छ।

 

शास्त्रमार्फत उपलब्ध हरेक ज्ञानलाई बदलिँदो परिस्थिति अनुरूपको अनुभवको आधारमा कार्य क्षेत्रको व्यावहारिकता अनुरूप परिमार्जन गरी प्रभावकारी नतिजा दिने जडीबुटी, भस्म र तिनीहरूको सारतत्व हरूको संयोजन कसरि गर्न सकिन्छ भन्ने प्रस्ट वैज्ञानिक आधार सहितको आयुर्वेदिक कौशलता आज हाम्रो सामु उपलब्ध छ। सञ्जीवनी जडीबुटी जस्ता प्रस्ट बुझ्न नसकिएको केही अपवादहरू छोडेर प्राय सबै नै आयुर्वेदिक जडीबुटीहरूको प्रशस्त वैज्ञानिक आधार सहित उपचार प्रभावकारी गराउने गरी औषधीय फ़र्मुलेसन गर्न सकिने ज्ञान, अनुभव र उपचार गरेर प्रमाणित गरेको प्रमाणहरू आयुर्वेद क्षेत्र सँग छ।

 

अर्को कुरा आयुर्वेद क्षेत्रका विज्ञहरू आधुनिक भनिने चिकित्सा प्रणालीका चुरो मर्म सँग नियमित रूपमा परिचित हुने र बस्ने गरेका हुन्छन् भने औलामा गन्न सकिने मात्र आधुनिक चिकित्साका डाक्टरहरू आयुर्वेद र प्राकृतिक चिकित्सा बारे जानकार देखिन्छन। जुन आयुर्वेद क्षेत्रको अत्यन्त ठुलो काबिलता हो।

 

आज सहरका अत्यन्त चर्चित नाम बनाएका र दाम कमाएका आधुनिक चिकित्सक गनिने अधिक डाक्टर सापहरु रोगको रोकथाम उपायको रूपमा रहेको रोग प्रतिरोधक क्षमता विकास  बिषयको जरा सम्म पुग्न नसकेकाले यसको वास्तविक भ्यालु-एडको ज्ञान बारे लगभग अनविज्ञ छन। उनीहरु मध्धे धेरैले बुझेको ओखतीले एउटा रोगको उपचार गर्दा कम्तीमा तिन वटा अन्य रोग जन्माई  रहेका छन्। उनका बिरामी जिबन भर स्थायी बिमारी रहेर उसको आजीवन ग्राहकमा परिवर्तन भई रहेका छन्।

 

अर्को तर्फ, आफ्नै जहान र परिवारको उसको चिकित्सा पद्धतिमाथि उठेको अविश्वासको कारण धेरै चर्चित भनिएका अत्यन्त ठुलो सङ्ख्याका आधुनिक चिकित्सक सापहरू आफ्नै परिवारको उपचारको लागि प्राकृतिक र आयुर्वेदिक उपचारको सल्लाह लिन बाध्य भइरहेको घटना हरेक गल्ली गल्लीमा भेटिन्छ। यो यथार्थ मात्र नेपाल, भारत र चिनको कथामा सीमित छैन। अमेरिका, बेलायत, क्यानडा, जर्मनी र इजरायल जस्ता विकसित भनिएका मुलुकहरूका समेत वास्तविक यथार्थता बनेको छ।

 

हालै संसारका विभिन्न देशमा छरिएर रहेका विज्ञहरू बिच कोभिड -१९ जस्तो महामारीको विरुद्ध लड्न आयुर्वेदिक पद्धतिको घरेलु उपचारमा उपयोग हुने काँडा पेय लाई रोग विरोधी प्रतिरक्षा प्रणाली विकास गर्न, रगतको अक्सिजन होल्डिंग क्षमता वृद्धिमा र रोगको रोकथामको घरेलु उपायको विकल्पको रूपमा लिनु अत्यन्त प्रभावकारी रहने निचोड निस्किएको छ। आयुर्वेदिक उपायको काँडा प्रविधि जडीबुटीको रस बाहेक पौष्टिक खाद्य र पेयको रूपमा समेत उपयोगी हुने, शरीर लाई रीहाईड्रेट गर्ने आदि हुँदा घर घर सम्म यो तरिका पुर्‍याउन सक्दा र साथमा नियमित स्टीमिंग वा बाफ लिने बानी जोड्न सक्दा हालको कोभिड -१९ विरुद्धको आक्रमण वाट बच्न र सङ्क्रमित बनेको अवस्थामा चाँडो रिकभरी हुन प्रभावी बन्ने विज्ञहरुको ठहर छ।

(१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन्।)

 

 

 

64Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: