मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र जीवन-विज्ञानको सरल तत्त्व ज्ञान।

विज्ञानको भाषामा डिकोड़ गरी इतिहासमै पहिलो पटक लेखिएको वेदका जीवन विज्ञान सम्बन्धका चुरा कुराहरू। 

नारायण घिमिरे।

वेदमा बताइए अनुरूप सांसारका भौतिक बस्तुहरूको संरचना निर्माण पूर्व क्वान्टम मेटाफिजिक्सको सिद्धान्त अनुरूप तिनीहरूको अभौतिक पूर्वाधारहरू निर्माण भएको छ। क्वान्टम मेटाफिजिक्सको सिद्धान्त अनुरूप निर्मित अभौतिक गुणका तत्त्वहरू निर्माण पश्चात् क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको सिद्धान्त अनुरूप भौतिक पदार्थहरू निर्माण हुने गर्दछ। क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको सिद्धान्त अनुरूप निर्मित भौतिक पदार्थ र तिनको गुणको संयोजन वाट मूलतः तिन प्रकारको जीवनको निर्माण हुन्छ।

 

आफूले निश्चित सूचना बोक्ने तर आफूले राख्ने त्यस्ता सूचनाहरूबारे आफै सचेत नभएको अर्थात् सूचना बोक्ने तर चेतना नभएको जस्तै ढुङ्गा, माटो, पानी, हावा, खाली स्थान, आगो आदिको प्रभावकारी जीवनलाई आधुनिक विज्ञानले निर्जीव वस्तु भन्दछ। दोस्रो सूचना बोक्ने र अर्ध-चेतन युक्त जीवन जसलाई आधुनिक विज्ञानले भाइरस आदि प्रजातिको अर्ध-जीव वस्तु मान्दछ। तेस्रो सूचना बोक्ने र चेतना समेत भएको बिरुवा, प्राणी र सूक्ष्म जीव आदि जस्ता जीवनलाई आधुनिक विज्ञानले सजीव बस्तु भन्दछ।

 

आधुनिक विज्ञान अन्तर्गतको निर्जीव, अर्ध-जीव र सजीव पदार्थहरू वैदिक मान्यतामा, सबै नै एकले अर्को वारेको सूचना बोक्ने जैविक तत्त्व रहेको मानिन्छ। फरक फरक अवस्थामा निर्जीव, अर्ध-जीव र सजीव तत्त्वहरू चेतनाको फरक फरक स्तरमा (चेतन, अवचेतन, अचेतन) रहने गर्दछ। त्यसैले तिनीहरूमा अन्तर्निहित चेतनाको आधारमा आयुर्वेदमा चेतना रहेको जीवन लाई सजीव जीवन र चेतना नरहेको जीवन लाई निर्जीव जीवनको रूपमा लिने गरिन्छ। सजीव र निर्जीव जीवन दुवै नै समग्र चेतना निर्मित बस्तु रहेको र तिनीहरु एक अर्काको परिपूरक रहेर सम्पूर्ण ब्रह्माण्डको अस्तित्व सम्भव तुल्याएको विश्वास गरिन्छ। त्यसैले आधुनिक विज्ञानमा समग्र ब्रह्माण्डको निर्माण र सञ्चालनको पक्ष बारे बुझ्न फिजिक्स, केमेस्ट्री, वायोलोजी, म्याथमेटिक आदिको फरक फरक ज्ञान लिने गरिन्छ। आयुर्वेदमा भने समग्रतामा सबै पक्षहरू जीवन विज्ञान अन्तर्गत समेटेर जीवन सँग सम्बन्धित सबै पक्षको चुरो सम्म पुग्ने गरिन्छ।

 

जीवित र निर्जीव बिचको आपसी भिन्नता उनीहरूलाई खुसी पार्ने तत्त्व उनीहरूमा छ वा छैन भन्ने कुराले निर्धारण गर्दछ। सम्पूर्ण सुखको योगफल लाई वेदले ईश्वर भनी परिभाषित गरेको छ। सबै प्रकारका सुखको स्रोत ईश्वर भएकोले ईश्वर लाई नै सम्पूर्ण सुख अवस्थित रहेको ठाउँ (Space) भनिएको छ। सम्पूर्ण सुख अवस्थित रहेको ठाउँ बाहिर कुनै पनि स्वतन्त्र प्राणी कहिल्यै आनन्दित रहन सक्ने कुरानै रहेन। वेदका अनुसार हरेक चिज निर्माणको पछाडिको मूल कारण आनन्द प्राप्तिको नियतमा हुने खोजहरू हुने गर्दछ। सम्पूर्ण अभौतिक र भौतिक सृष्टिहरूको  निर्माण (Menifestations) समेत आनन्द प्राप्तिको नियतमा भएको खोजहरूको परिणाम हो।

 

कतिपय जीवहरू स्वतन्त्र रूपमा ईश्वर रुपी आनन्दको दायरा बाहिर रहेर आफ्नो लागि खुसी खोज्ने प्रयत्नमा लाग्दछन्। त्यस्तो प्रयत्न गर्नेहरुको लागि महतत्व (महत – बुद्धि तत्व – समष्टि बुद्धि – Total Material Energy- मिथ्या जगत – स्वपन नगरी) नामक सुख प्राप्तिको स्थानहरू (Locations) उपलब्ध छ। जुन ईश्वरको परिधि (Space) बाहिर रहन्छ। आफूले इच्छाएको (मन) निश्चित सुख प्राप्तिको उद्देश्यमा (खुसी) जब महतत्वको (समष्टि बुद्धि) एक विशेष स्थान (Location) छनौट गरिन्छ, तब त्यहाँ क्रमिक रूपमा अहङ्कार (Ego), इन्द्रिय (Sense), अनुभूति (Perceptions) र इन्द्रिय सुख (Sensations) आदि सुख प्राप्तिको खोजी गर्ने प्रयास वा प्रक्रियाको सह-उत्पादनको (By-Products) रूपमा सिर्जना हुने गर्दछ।

 

दया एक निस्वार्थ कर्म हो। इमानदारिता पूर्वक सत्यको पक्षमा डटेर लाग्ने विकल्प चुन्न सक्ने क्षमता हो। सत्कर्म सहितको करुणा भाव हो। दया र स्वार्थको पेन्डुलम रुपी मन लिएर हिँड्ने हरेक व्यक्तिले आफ्नो सामान्य जीवन कालमा निस्वार्थ र स्वार्थ पूर्ण प्रकृतिका कर्महरू सालाखाला बराबरी जस्तै गरेको भेटिनु पर्ने हो। आफूलाई अरूबाट धोका हुनसक्ने, आफ्नो सदाशयताको अन्यले दुरुपयोग गरिदिने र आफू अनाहक दुर्व्यवहारको सिकार बन्नु पर्ने जस्ता डर आदिले हरेक व्यक्तिले आफ्नो जीवनमा निस्वार्थ भन्दा स्वार्थ पूर्ण कर्म गर्ने अधिक सम्भावना रहन्छ। हरेक व्यक्तिलाई आफ्नो जीवनमा स्वार्थ पूर्ण कर्म माथि सदैव विजय प्राप्तिको अवसर निकै कम हुने गर्दछ। हरेक व्यक्तिलाई आफ्नो जीवनकालमा दयालु प्रवृत्तिको कर्म गर्ने अवसरहरू स्वार्थ पूर्ण कर्मको तुलनामा नितान्त कम प्राप्त हुने गर्दछ। त्यसले समाजमा निस्वार्थ कर्म भन्दा स्वार्थ पूर्ण कर्मको मात्रा अत्यधिक वृद्धि गरिदिने जोखिम निम्त्याउने गर्दछ।

 

समाजमा स्वार्थ कर्मको हद निस्वार्थ कर्मको हद भन्दा अधिक हुन नदिने उपाय अनुरूप कुनै व्यक्तिलाई जब ईश्वरको क्षेत्र सँग (Space) जोडिदिन सकिन्छ, तब आफूलाई उसले ईश्वरमा समर्पित गरिदिन्छ। ईश्वर माथि पैदा हुन जाने उसको समर्पण भावले उसमा यति धेरै दया र करुणा प्राप्तिको महसुस गराई दिने गर्दछ कि, उसले कहिल्यै आफूलाई धोका भएको, दुरुपयोगको नियतमा आफूलाई प्रयोग गरिएको र ईश्वरवाट दुर्व्यवहार गरिएको आदि अनुभूति गर्ने गर्दैन। जसले गर्दा उक्त व्यक्तिलाई आफ्ना सतगुणहरू लाई कहिल्यै त्याग्नु पर्ने वातावरणको सृजना हुँदैन। उसको जीवनको पूर्ण क्षमता सत्कर्मको लागि उपयोगमा आउने गर्दछ। कुनै मानव वा अन्य प्राणी माथि विकास गरिएको त्यो प्रकारको समर्पणले व्यक्तिमा ईश्वरको हदको सकारात्मकता विकास गर्न सक्दैन। यही चुरो अवधारणामा केन्द्रित रहेर वेदमा ईश्वरको उपयोग भएको देखिन्छ।

 

वेदमा वैदिक विज्ञानको अवधारणा अनुरूप जीवन विज्ञानका अभौतिक पूर्वाधारहरूको निर्माण कसरी सम्भव भयो; कसरी, कुन र कस्तो रोड म्याप अनुरूप त्यस्ता अभौतिक सूक्ष्म गुणहरु निर्मित भए र ती अभौतिक सूक्ष्म गुणहरू मार्फत कसरी भौतिक सूक्ष्म तत्त्वहरूको निर्माण सम्भव बन्यो त्यसको सम्पूर्ण सिद्धान्तको विस्तृत व्यवहारवादी चर्चा गरिएको छ। वैदिक समयमा प्रतिपादन भएको साङ्ख्य सिद्धान्त र वैशेषिक सिद्धान्तको व्यवहारिक पक्षले वेदका त्यस्ता चुरो व्यवहारवादी मान्यता बुझ्न मद्दत गर्दछ। साङ्ख्य सिद्धान्त र वैशेषिक सिद्धान्तले आधुनिक विज्ञानको क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्स अन्तर्गतका अत्यन्त जटिल व्याख्या र सूत्रहरूलाई सरल रूपमा व्याख्या गर्दै जीवनको भौतिक पक्ष र अभौतिक पक्षको निर्माण र तिनीहरू बिचको आपसी सम्बन्धले जीवनको सहज सञ्चालनमा पुर्‍याएको भूमिका बारे प्रस्ट ज्ञान समेत दिने गर्दछ।

 

कुनै पनि व्यक्त (स्थूल – Gross) वस्तुको अव्यक्त (अदृश्य सूक्ष्म – Subtle) गुणहरूलाई वैदिक अवधारणामा तन्मात्र (Five Elements – Tanmātrā) भनिन्छ। अव्यक्त गुणहरूको (तन्मात्र गुण) निर्माण चेतना (Conciousness) अर्थात् सूचनाहरूको संयोजन मार्फत भएको छ।

 

ऋषि कपिलको साङ्ख्यले उपलब्ध सूचनाहरू (चेतना) कुन विधि र प्रक्रिया मार्फत  संयोजन भएर अव्यक्त गुणहरू (तन्मात्र गुण) निर्माण गर्‍यो भन्ने बारे सृष्टिको उत्पत्ति सम्बन्धको हाल सम्मकै सबै भन्दा आधारभूत सिद्धान्त दिन्छ।

 

ऋषि कणादको वैशेषिक सिद्धान्तले पन्च तत्त्व गुण (रूप, ध्वनि, स्पर्श, स्वाद र गन्ध) दिने तन्मात्र (पन्च तत्त्व) – आकाश (Ether); वायु (Air); अग्नि (Fire); जल (Water); पृथ्वी तथा समय (काल, Time); दिशा (Directions); मानस (मन, Mind); र आत्मा (Atma); जस्ता संसारको नष्ट हुँदा समेत कहिल्यै नष्ट नहुने नौ चिजहरू वाट कसरि द्रव्य तत्व रुपको व्यक्त संरचना निर्माण सम्भव बन्यो भन्ने वारेको सिद्धान्त दिएको छ।

 

यो लेख वेदको अवधारणाको भित्री चुरोको रूपमा रहेको त्यही सत्यवादी चिन्तनको यथार्थ पक्ष अत्यन्त सहज रूपमा वैज्ञानिक तरिकाले व्यक्त गर्न लेखिएको हो। जसको लागि माथि लेखिएका भूमिका लेख्नु अनिवार्य थियो।

 

वैदिक दृष्टिकोण अनुरूप ब्रह्माण्डमा अस्तित्वमा रहेका व्यक्त भौतिक चिजहरू अव्यक्त गुणहरू निर्मित छन्। व्यक्त भौतिक चिजहरूको निर्माण गर्ने ति अव्यक्त गुणरुपी चिजहरू आफै भने हाल सम्म पहिचान गरिएको मद्ये सबै भन्दा सूक्ष्म आधारभूत अव्यक्त गुणहरू (Fundamental Properties) आकाश (Space, रहन पाउने खालि स्थान),  समय (Time) र दिशा (Directions) को गठ-जोड (Space-Time-Directions) सँग अव्यक्त तन्मात्र गुणहरूको (Five Elemental Qualities – Tanmatra Qualities) मिश्रण (Addition) भएर निर्मित भएको भेटिन्छ।

 

वैदिक मान्यतामा निर्धारित समय (टाइम) लाई काल भनिन्छ। एक कालमा लगभग ९० मिनेटको समय हुन्छ। साङ्ख्यको दर्शन अनुसार ब्रह्माण्डको सृष्टि हुनुअघि हामीले अनुभूति गर्न सक्ने अव्यक्त रूपका चिजहरू थिए। ती अव्यक्त चिजहरू व्यक्त चिजहरूमा रूपमा विकसित भएर सृष्टिको निर्माण भएको हो। प्रकृतिको अव्यक्त गुणहरू व्यक्त चिजहरूमा रूपान्तरण हुने प्रक्रियालाई अत्यन्त सहज रूपमा सामान्य तरिकाले बुझ्न सम्भव छ। जस्तै: कुनै बिउँ वाट बिरुवा पलाउने गर्दछ।  जब बिउ नउम्रिएको  बिउँको रूपमा हुन्छ, तब त्यसको अङ्कुरण शक्ति त्यसै भित्र अव्यक्त रूपमा रहेको हुन्छ। त्यसलाई हामी देख्न, महसुस गर्न सक्दैनौ। त्यो प्रकृतिको गर्भ मै लुकेर रहेको हुन्छ। जब त्यो निश्चित प्रक्रिया पुरा गरी अङ्कुरित हुन्छ, तब हामी त्यसलाई देख्न सक्छौ।

 

निर्धारित समय पश्चात् (टाइम) हाम्रो अनुभूतिले बिउँ अङ्कुरित भएको देखेपछि हामीलाई हिजोको बिउँको अव्यक्त अङ्कुरण शक्ति रहेको महसुस हुन्छ। जहाँ निश्चित समयमा अव्यक्त गुण, व्यक्त पदार्थमा  रूपान्तरण भएको हुन्छ। अर्को कुरा, कुनै पनि अव्यक्त गुण तथा व्यक्त पदार्थ अस्तित्वमा रहन त्यसलाई निश्चित स्थानको जरुरत पर्दछ। त्यस स्थान लाई हामी आकाश (स्पेस) भन्ने गर्दछौ। कुनै पनि अव्यक्त गुण अव्यक्त रूपमा रहन, अव्यक्त वाट व्यक्तता तर्फको यात्रामा जान,  व्यक्त हुन तथा व्यक्त बस्तुको रूपमा देखिन समेत स्पेस-टाइमको अनिवार्यता रहन्छ।

 

सबै अव्यक्त तथा व्यक्त वस्तुहरू आकाश र समय (स्पेस – टाइम) बाट सिर्जना गरिएका हुन्छन्। स्पेस-टाइमले हरेक चिजको निर्माणको आधार वा मेरुदण्ड बनाउने गर्दछ। स्पेस-टाइम प्राकृतिकको एक अव्यक्त संयोजन हो जुन व्यक्त तथा अव्यक्त ऊर्जालाई एक रूप वाट अर्को रूपमा परिवर्तन हुने माध्यम बानिदिन्छ। व्यक्त वा अव्यक्त पदार्थले आफ्नो रूप लिँदै गर्दा हामी त्यसलाई त्यसको निर्माण भएको वा त्यो जन्मेको (Birth)भन्दछौ। अर्को रूपमा परिवर्तन भएको बिन्दुलाई हामी त्यसको अन्तिम समय वा काल (Dead) भन्दछौ। स्पेस-टाइम तसर्थ प्रकृतिको एक अव्यक्त निर्माण हो जसले प्रकृतिमा ऊर्जालाई आफ्नो रूप रूपान्तरणको अनुमति दिन्छ।

 

स्पेस-टाइम सँगै जब तन्मात्र जोडिन्छ त्यसले अभिव्यक्तिको अव्यक्त रूप सिर्जना गर्दछ।  जसलाई अदृश्य रूप भनिन्छ। स्पेस-टाइम-तन्मात्रको मिलनमा समयको क्रमबद्धता (Time Serializations) र दिशाको (Directions) अत्यधिक प्रभाव हुन्छ। जसले गर्दा उक्त अदृश्य रूपले क्रमबद्ध कम्पनको रूप धारण गर्दछ। यसरी  नियमित कम्पन धारण गर्न पुगेको  अदृश्य रूपलाई हामीले हाम्रो इन्द्रियहरू वाट महसुस गर्न सक्दछौ। फलतः त्यो व्यक्त भौतिक रूपमा हामीले बुझ्न र देख्न सक्ने गरी अभिव्यक्त हुन्छ।

 

जस्तै: तन्मात्रमा आकाश, वायु, अग्नि, जल, पृथ्वी गरी पन्च तत्त्वहरू पर्दछन। तिनीहरूको कारण ध्वनि (Sound, Sabdha), स्पर्श (Touch), रूप (Sight), स्वाद (Taste) र गन्ध (Smell) जस्ता पन्च तत्त्व गुणहरूको हामीले कान, छाला, आँखा, जिब्रो र नाक मार्फत अनुभूति गर्ने गर्दछौ। जब स्पेस-टाइम-आकाशको मिलन हुन्छ त्यसले कम्पन रहित आकाशको अव्यक्त रूप निर्माण गर्दछ। समयको क्रमबद्धता र दिशाको नियमित प्रभावले त्यसमा पैदा गर्ने कम्पनले ध्वनिको रूप लिन्छ। यसरी उत्पत्ति भएको अव्यक्त ध्वनि विहीन ध्वनिको व्यक्त ध्वनि आवाज वा शब्दको रूपमा हाम्रो कानले सुन्दछ।

 

स्पेस-टाइम-वायुको मिलनले स्पर्श विहीन अव्यक्त स्पर्श निर्माण गर्दछ। समय र दिशाको नियमित क्रमबद्धताले स्पर्श विहीन स्पर्श, छालामा वायुको स्पर्शको रूपमा अनुभूति हुन्छ। स्पेस-टाइम-अग्निको संयोजनले तैयार गरेको रूप विहीन अव्यक्त रूप, कम्पनको प्रभावमा आँखा मार्फत निश्चित रूपमा पहिचान हुन्छ। यसरी नै स्पेस-टाइम-जल वाट जिब्रोको स्वाद र स्पेस-टाइम-पृथ्वी वाट नाकको गन्धको अनुभूति मिल्दछ। यसरी समग्रमा हामीमा बस्तुको व्यक्त रूप पहिचान गर्दै एकै बस्तुको फरक फरक गुणहरूको अनुभूति लिने प्रक्रिया सम्भव बनेको हुन्छ।

 

भ्याकुममा (आकाश) समय र मात्र नभएर हरेक व्यक्त अव्यक्त वस्तुको दिशा समेत नियमित परिवर्तन हुने चिज हो। स्पेस-टाइम-दिशा (Space-Time-Directions) सँग मिलेर निश्चित गुण बनाउने हरेक पन्च तत्त्वको (तन्मात्र: आकाश, वायु, अग्नि, जल, पृथ्वी) सुरुवाती निर्माण आफैमा अव्यक्त सुषुप्त गुणको हुने गर्दछ। तिनीहरूमा हुने समय र दिशाको प्रभावले पैदा गर्ने नियमित परिवर्तनका कारण पैदा हुने कम्पनको विशिष्ट भूमिकाले तिनीहरू व्यक्त बनेका हुन्छन्। तर त्यसको लागि समय र दिशाले तन्मात्रको (आकाश, वायु, अग्नि, जल, पृथ्वी) निर्माणमा खेलेको विशिष्ट भूमिका समेत बुझ्न जरुरी हुन्छ।

अव्यक्त तन्मात्र (अव्यक्त आकाश, अव्यक्त वायु, अव्यक्त अग्नि, अव्यक्त जल, अव्यक्त पृथ्वी गुण) शरीर निर्माणको पन्च तत्त्व बन्नको लागि पन्च तत्त्व रूपी गुणमा परिवर्तन हुन अनिवार्य छ।  पदार्थको उत्पत्तिको लागि भूमिका खेल्न पन्च तत्त्वको हरेक तत्त्वले अव्यक्त आकाश, अव्यक्त वायु, अव्यक्त अग्नि, अव्यक्त जल, अव्यक्त पृथ्वी सबैको अव्यक्त गुण बोकेको हुनु पर्दछ। जसमा हरेक मूल तत्त्व आफ्नै पचास प्रतिशत गुण र बाकी समान मात्रामा मिलेको चार तत्त्वहरूको पचास प्रतिशत (हरेक १२.५ %) गुणहरू सँग मिश्रण भएर निर्माण हुने गर्दछ।

 

जस्तै: आकाश निर्माण हुन आकाश आफै पचास प्रतिशत आकाशको गुण बोकेको तथा वायु, अग्नि, जल, पृथ्वी हरेकको १२.५ प्रतिशत गुण मिली बनेको एक मिश्रित गुणको अव्यक्त रूप हुने गर्दछ। यसरी संयुक्त गुणमा निर्मित अव्यक्त आकाश तत्त्व, समय र दिशाको प्रभावले कम्पनको गुणमा परिवर्तन हुन्छ। परिवर्तित कम्पनको गुण पदार्थको उत्पत्तिको लागि भूमिका खेल्न सक्ने पन्च तत्त्व गुणहरुको एक तत्त्व गुणको रूपमा विकास हुन्छ। कम्पनको गुणमा रूपान्तरण बनेको आकाश लाई हामी शब्द वा ध्वनिको रुपमा अनुभूति गर्न सक्दछौ। आकाशको जस्तै प्रकृतिले पन्च तत्त्वको अन्य चार तत्त्वहरू समेत आ-आफ्नै मिश्रित विशिष्ट गुणहरूको बन्ने तथा समय र दिशाको प्रभावले रूपान्तरण हुँदै पदार्थको उत्पत्तिको लागि भूमिका खेल्न सक्ने पदार्थको उत्पत्तिको लागि भूमिका खेल्न सक्ने पन्च तत्त्व गुणहरु बन्दछ। ती सबैलाई  हामीले अनुभूति समेत  गर्न गर्न सक्दछौ।

 

वैदिक अवधारणा अनुरूप फरक फरक मात्रामा, फरक फरक दिशा उन्मुख हुने गरी बनेको पन्च तत्त्वको मिश्रित गुणहरूले निर्माण गर्ने विशिष्ट गुणहरूको कम्पनले यथार्थमा उक्त पन्च तत्त्व वारेको सूचना बोकेको हुन्छ। त्यो सूचना लाई हाम्रो फरक फरक इन्द्रियहरूले फरक फरक रूपमा डिकोड गरी आफ्नो क्षमता अनुकूलको अनुभूति लिने गर्दछ। पन्च तत्त्ववाट प्राप्त भएको एकै प्रकृतिका ढाँचाहरूको गुणबारेको सूचनाहरू लाई डिकोड गरी कानले आवाजको रूपमा, छालाले स्पर्शको रूपमा, आँखाले रूप र रङ्गको रूपमा, जिब्रोले स्वादको रूपमा र नाकले गन्धको रूपमा हामीलाई अनुभूति दिने गर्दछ। उक्त सूचनाको ग्रहण कर्ताको रूपमा आफ्नो जन्मजात खुबी, अनुभव र अनुमानको आधारमा हामीले त्यस वारे आफ्नो अवधारणा बनाउने गर्दछौ।

 

वैदिक बुझाइमा एक अवलोकन कर्ताको रूपमा (Observer) हाम्रा इन्द्रियहरूको काम गर्ने आफ्नै काइदा छ। जस अन्तर्गत आकाशको सूचना मात्र आकाशको (सबैभन्दा शुद्ध) कम्पनको रूपमा ध्वनिलाई आवाज वा शब्दको रूपमा कानले अनुभूति गर्दछ। आकाश र वायुको गठ जोडले निर्माण गर्ने स्पर्श छालाले अनुभूति गर्छ। आकाश, वायु र अग्निको गठ जोडले बनाउने दृष्टिले आँखा मार्फत प्रकाश र रूपको अनुभूति लिन्छ। आकाश, वायु, अग्नि र जल तत्त्व गुणको संयोजन गरि जिब्रोले स्वादको अनुभूति गरेको हुन्छ।  नाकले भने आकाश, वायु, अग्नि, जल र पृथ्वी तत्त्व सबैको संयोजन वाट गन्धको अनुभूति लिई रहेको हुन्छ। यसरी फरक फरक मात्रा र दिशाको संयोजनको क्रमबद्धता (serializations) मार्फत पन्च तत्त्व वाट सम्पूर्ण व्यक्त, अव्यक्त, जीवित, निर्जीव अस्तित्वको निर्माण सम्भव बनेको छ।

 

(प्रस्तुत लेखका लेखक खाद्य तथा औषधि विज्ञ घिमिरे हाल क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गरिरहेका छन्) ।

47Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: