मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

इनोभेसनमा जापानी संस्कृतिको भूमिका !

वैज्ञानिक अभिलेख

अथर्ववेदाचार्य नारायण घिमिरे।

 

जापानको इनोभेसनमा आधारित तीव्र विकासको पछाडि जापानमा स्थापित जापानी संस्कृतिको मुख्य भूमिका छ। जापानमा स्थापित संस्कृति जापानी समुदायका हरेक व्यक्ति व्यक्तिको तह सम्म आफ्नो अनुशासन कायम गर्न, आफ्नो दक्षतामा नियमित सुधार गर्न र आफ्नो आत्म-सुधारमा नियमित ध्यान राख्न प्रेरित गर्न सफल देखिन्छ। जापानी संस्कृतिको मुख्य भूमिकाले जापानीहरू बिच दैनिक अल्छीपन हटाउन तथा जीवनलाई नियमित रूपमा थप सक्रिय राख्ने मानसिकताको वीज बचाउन मूलतः सात जापानी प्रविधिहरू स्थापित गरेको भेट्न सकिन्छ।

 

जुन यस प्रकारका छन्।

 

१) काइजन अर्थात् नियमित साना साना दैनिक सुधारका नियमित प्रक्रिया (𝐊𝐚𝐢𝐳𝐞𝐧𝐂𝐨𝐧𝐭𝐢𝐧𝐮𝐨𝐮𝐬 𝐈𝐦𝐩𝐫𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭) :

 

दैनिक नियमित सुधारको लागि हरेक दिन आफ्नो काममा थोरै सुधार गर्ने बानी जीवनमा अपनाउनुहोस्। जसले निकै छोटो समयमा स्थायी प्रकृतिको दिगो र व्यवहारिक तर महत्त्वपूर्ण उल्लेख गर्न लायक प्रगतिको नतिजा तपाईँलाई दिने गर्दछ। काइजन (Kaizen) साना, साना तर निरन्तरको सकारात्मक सुधार युक्त महत्त्वपूर्ण परिवर्तनहरूले आफ्नो कार्यमा अर्थपूर्ण सुधारहरू प्राप्त गर्न सम्भव हुन्छ भन्ने दृढ विचारमा आधारित निरन्तर सुधारको सिर्जनात्मक दृष्टिकोण हो।

 

आपसी सहयोग, सहकार्य र प्रतिबद्धतामा अत्यधिक रूपमा आधारित काइजन विधि समूहमा नियमित सकारात्मक रूपान्तरण हासिल गर्ने दृष्टिकोण हो।  त्यसैले यो विधिमा समूहमा काम गर्ने (टिम वर्क), व्यक्तिगत अनुशासन कायम गर्ने, नियमित सामूहिक सुधारको मनोबल लिएर कार्य गर्ने कामदारको नियति, गुणस्तर निर्माण गर्ने सर्कल (Quality Circle) वा गुणस्तर निर्माण गोलमेच विधि तथा नियमित सकारात्मक सुधारको प्राप्तिलाई यसको अनिवार्य पाँच मुख्य पक्षहरूको रूपमा लिने गरिन्छ।

 

२) पोमोडोरो टेक्निक अर्थात् हरेक २५ मिनेटको काम पछि ५ मिनेटको छोटो ब्रेक लिने (𝐏𝐨𝐦𝐨𝐝𝐨𝐫𝐨 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐪𝐮𝐞) स्थापित चलन: 

 

तपाइले गरिरहनु भएको कार्य अत्यन्त कुशलता पूर्वक सम्पन्न गर्नको लागि सम्पूर्ण ध्यान दिएर गरिने हरेक काम गर्दै गर्दा हरेक २५ मिनेटको  अन्तरालहरूमा छोटो पाँच मिनेटको ब्रेक लिने बानी लिनुहोस्।  छोटो ब्रेक पछि फेरी काममा पूर्ण रूपमा ध्यान दिने गरी फर्कने बानीको विकास गर्नुहोस्। पोमोडोरो टेक्निक अन्तर्गतको समय व्यवस्थापन विधि हरेक २५ मिनेटको काममा पूर्ण ध्यान केन्द्रित गरी गरिने काम वाट आफ्नो ध्यान अन्यत्र लैजान पाँच मिनेटको कार्य अन्तराल ब्रेक लिने गरिन्छ।

 

त्यस्तै लगातारको  चार कार्य अन्तरालहरू पछि  सामान्यतया १५ देखि ३० मिनेटको लामो ब्रेकहरू लिइन्छ। जहाँ प्रत्येक कार्य अन्तराललाई पोमोडोरो (गोलभेँडा आकारको भान्साको घडीको समय ब्रेकर जनाउने इटालियन शब्द गोलभेँडा) भन्ने गरिन्छ।

 

३) मानव हुनुको कारण र जीवनमा थप बाँच्नको लागि तपाईँलाई के ले लायक बनाउँछ (𝐈𝐤𝐢𝐠𝐚𝐢𝐅𝐢𝐧𝐝𝐢𝐧𝐠 𝐏𝐮𝐫𝐩𝐨𝐬𝐞) भन्ने दृष्टिकोण:

 

जापानी शब्द “iki” ले जीवन लाई जनाउने गर्दछ भने “gai” शब्द “kai” शब्दबाट आएको हो। जसमा “kai” को अर्थ खोल अर्थात् बाहिरी खपटा  भन्ने हुन्छ। इकिकाई शब्दले व्यक्तिको जीवनको उद्देश्य के हो र जिउनको लागि आफूलाई के ले लायक गर्दछ भन्ने दृष्टिकोण दिने गर्दछ।

 

हरेक व्यक्तिले आफ्नो इकिकाईको पहिचान गर्न इकिकाईको चार प्राथमिक तत्त्वहरूको अभिसरण र अन्वेषण गर्न जरुरी छ। पहिलो तपाईँलाई के मन पर्छ (तपाईँको प्यासन वा सोख के छ); दोस्रो संसार लाई झन् मानव मैत्री संसारमा परिवर्तन गर्न के को जरुरत छ जसमा तपाईँ ले सकारात्मक भूमिका खेल्न सक्नु हुन्छ (तपाईँको मिसन वा उद्देश्य); तेस्रो तपाईँ आफू के मा राम्रो दक्खल राख्नु हुन्छ (तपाईँ सफल हुने अधिक सम्भाव्य रहेको पेसा अर्थात् तपाइको लागि उपयुक्त हुने बलियो आधार देखिएको तपाइको विशेष क्यारियर वा पेसा); तथा चौथो तपाईँलाई हालको आफ्नो दैनिक जीविका जिउन तपाइले उपयोग गरिरहेको गरेको धन तथा  दौलतको आपूर्ति गरिरहेको श्रोत (तपाईँको हालको पेसा)।

 

जब तपाईँले तपाईँ आफै लाई के गर्न मन पर्छ, तपाईँ केमा राम्रो दक्खल राख्नु हुन्छ, संसारलाई के चाहिएको छ वा चाहिन्छ र तपाईँ तपाइमा अन्तर्निहित कुन खुबी बापत आफ्नो लागि रकम वा भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ भनेर आफ्नो वास्तविकताको प्रतिबिम्बित गर्दै पुनरावलोकन गरी उपयुक्त रोजगार वा स्वरोजगारमा जाने उपाय चुन्नु हुन्छ तव ती चार प्रश्नहरूको उपयुक्त उत्तरहरूले तपाईँलाई जीवनमा तपाईँको उद्देश्य र  सोख दुवै प्राप्त गर्ने मार्गदर्शन दिने छ। तसर्थ इकिकाईले तपाईँलाई तपाईँको  सोख, सबल पक्ष, सामाजिक आवश्यकताहरू, उपयुक्त  आय स्रोतको पहिचान गर्न सहयोग गर्ने छ।

 

उदाहरणका लागि एक नर्सको इकिकाई अरूलाई आफ्नो पिडा र रोग वाट मुक्त गर्न वा निको पार्न मद्दत गर्ने र तिनीहरूलाई निको पार्नु हो। इकिकाईले हरेक व्यक्तिमा उसको जीवनको उद्देश्य मानिसहरूको जीवनमा फरक सकारात्मक प्रभाव दिन सक्ने बन्नु हो भन्ने भावनाको विकास गर्दछ। आफू निरन्तर जीवित रहनुको अर्थ आफू नियमित इकिकाईमा संलग्न हुन जरुरी रहेको इकिकाईको अवधारणा हुन्छ।

 

त्यस्तै हरेक शिक्षकको व्यक्तिको जीवनको उद्देश्य अर्थात् इकिकाई आफ्ना विद्यार्थीहरूलाई सशक्त बनाउन र तिनीहरूलाई सफल हुन हर तरिका वाट मद्दत गर्नु हो। विद्यार्थीहरूलाई सफल भएको देख्दा उनीहरूले प्राप्त गर्ने गर्व र आनन्दको महसुसले मात्र उनीहरूको जीवन जिउनुको कारण पूर्ति गरी नियमित प्रति गर्नु पर्ने उद्देश्य वा इकिकाई प्राप्ति गरेको ठानिन्छ। जसले शिक्षकलाई भविष्यमा समेत सोही ट्र्याक रिकर्ड कायम गरी आफ्नो नियमित उद्देश्य प्राप्ति गर्ने जिम्मेवारी हासिल गर्न प्रोत्साहन मिल्दछ।

 

४) मोनो-जुकुरी (𝐌𝐨𝐧𝐨𝐳𝐮𝐤𝐮𝐫𝐢𝐂𝐫𝐚𝐟𝐭𝐬𝐦𝐚𝐧𝐬𝐡𝐢𝐩) आफ्नो काममा गर्व गर्दै त्यसलाई प्राथमिकता दिएर आफ्नो शिल्प कौशल लाई अँगाल्नुहोस्।

 

मोनोजुकुरी चीजहरूको निर्माण गर्ने कला (Arts ), विज्ञान (Science ) र शिल्प (Craft Making Skills ) विधि हो जस अन्तर्गत आफूले निर्माण गर्न चाहेको सामग्रीका डिजाइन सम्बन्धका डाटाहरूको नक्कल गरेर निर्धारित बस्तुहरूको उत्पादन गरिन्छ।

 

मोनोजुकुरी (𝐌𝐨𝐧𝐨-𝐳𝐮𝐤𝐮𝐫𝐢) शब्दको “𝐌𝐨𝐧𝐨” ले बनाउन चाहेको बस्तुको अर्थ दिन्छ भने “𝐳𝐮𝐤𝐮𝐫𝐢”  ले बनाउने शिल्प कौशलको कार्यलाई जनाउने गर्दछ। जसमा बनाउने व्यक्तिलाई कम महत्त्व दिइन्छ भने बनाउने क्रममा प्राप्त उन्नत सिपहरूलाई अत्यधिक महत्त्व पाउँछ। यसले वस्तुहरू निर्माणको लागि जापानीहरूले महसुस गर्ने जिम्मेवारीको भावनाको प्रतिबिम्बित गर्दछ।  जापानी शिन्तो धर्मले सजीव र निर्जीव दुवै चीजहरूको उच्च प्रशंसा र श्रद्धा राख्दछ। जापानी व्यवसायहरू पनि  उक्त अवधारणा ग्रहण गर्ने गर्दछन्।

 

उदाहरणका लागि जापानी बहुराष्ट्रिय औषधि कम्पनीहरूले मानिसहरूका लागि सुरक्षित औषधिहरू बनाउन आफ्नो क्लिनिकल ट्रायलको अवसरमा जीवन बलिदान गरेका जनावरहरूलाई तिनीहरूको बलिदान बापत धन्यवाद दिन हरेक वर्ष प्रयोगात्मक जनावरहरूको समारोहहरू आयोजना गर्छन्।

 

त्यस्तै जापानी इलेकट्रोनिक्स कम्पनीहरूले उत्पादनहरूको विकासमा उल्लेखनीय भूमिका पुर्‍याएका प्रोटोटाइप सामग्रीहरूले उनीहरूलाई पुर्‍याएको सेवा बापत प्रोटोटाइप सामग्रीहरूलाई धन्यवाद दिन पनि वार्षिक समारोहहरू गर्ने गर्छन्। उनीहरूको अवधारणामा प्रोटोटाइप सामग्रीको बलिदानको कदर गर्नुको मान्यता विशेष गरी किन रोचक छ किनभने तिनीहरू आफू बजारमा बेचिएर ग्राहकहरूलाई मनोरञ्जन दिएर खुसी पार्दै उनीहरूको जीवन सहज पार्ने भाग्य कहिल्यै प्राप्त गर्न सकेनन्।

 

मोनोजुकुरीको प्राप्तिको लागि परम्परागत जापानी शिल्प कौशलले आफ्नो निर्माण प्रक्रियामा “3 MU’s – Muri , Muda , & Mura ” को बुद्धिमता पूर्ण कटौती मार्फत उत्कृष्टताको सिर्जना गर्ने अब धारणा अवलम्बन गर्दछ। जसमा मुरी (Muri) भनेको कार्य सम्पन्न गर्नको लाई व्यावहारिक हुने तर अत्यधिक बोझ नथपिने गतिविधि (Elimination of Unnecessary Resources or Efforts) मात्र गर्ने तरिका  हो। जस्तै रेन्चको प्रयोग गर्दा जरुरी हुने मात्रको बलको उपयोग गर्न सिकी त्यसको सही मात्रा यकिन गरी लागू गर्न सिक्नु हो।

 

मुडा (Muda) एक यस्तो गतिविधि हो जसमा जुन कुरा व्यर्थ छ र त्यसले त्यो उत्पादनमा कुनै मूल्य वा भ्यालु  थप गर्दैन त्यस प्रकृतिको कार्यलाई निर्माण प्रक्रिया वाट हटाउनु (Elimination Non-Value Added Operations) हो। कुनै उत्पादन प्रक्रियाको कुनै मूल्य वा भ्यालु टप गर्ने प्रक्रिया जसको लागि त्यसको ग्राहक त्यो बापतको मूल्य तिर्न तैयार छैन त्यो पनि निर्माण प्रक्रियाको कटौती गर्नु पनि अनावश्यक भाग हटाउनु वा मुडा हो।

 

अर्को तर्फ मुरा (Mura) उत्पादन प्रक्रियाको एक त्यस्तो असङ्गति जसले समान हुनु पर्ने उत्पादनहरू आपसमा असमान उत्पादन हुने प्रडक्ट भेरिएसनको  परिणामहरू (Elimination of Process and Product Variations) निम्त्याउने वातावरण र परिस्थिति उक्त निर्माण प्रक्रिया वाट हटाउने गर्दछ।

 

हरेक उत्पादन प्रक्रियाको आफ्नै काम गर्ने सही र गलत तरिका हुन्छ। उक्त प्रक्रिया वाट अनावश्यक देखिएको अधिक लगानी र अधिक प्रयासको कटौती गर्नु मुरी (Muri) हो, त्यसको उत्पादनको ग्राहकको लागि मूल्य नथप्ने स्टेपको कटौती गर्ने प्रक्रिया मुडा (Muda) हो भने उक्त उत्पादन प्रक्रियाको उत्पादन बिच अस्वीकार्य फरकपन आउने स्थितिको कटौतीलाई मुरा (Mura) भनिन्छ।

 

मोनो-जुकुरी जापानको परम्परागत कल्चर रहेकोले त्यहाँ हरेक व्यक्तिलाई त्यहाँको संस्कृतिले नै मोनो-जुकुरीलाई अङ्गालेर आफ्नो शिल्प कौशलको निर्माण गर्न र आफूले गरिरहेको काममा गर्व गर्दै आफ्नो कामलाई सदैव उच्च प्राथमिकता राख्ने मनोविज्ञान, अनुशासन र कार्य नैतिकताको निर्माण गरिदिने गर्दछ।

 

५) कार्यस्थलको प्रभवकारी व्यवस्थापनको फाइभ-एस (5S) बिधि:

 

फाइभ-एसले (5S) पाँच जापानी शब्दहरू सेइरी (Seiri),  सेइटन (Seiton), सेसो (Seiso), सेकेत्सु (Seiketsu) र शित्सुके (Shitsuke) लाई जनाउने गर्दछ। जापानी फाइभ-एस तपाईँको कार्यस्थललाई सरल र प्रभावकारी हुने गरी व्यवस्थित र सु-सङ्गठित गरी उक्त कार्यस्थलको सम्भावित क्षमता र  मूल्य (भ्यालु) को सम्भावना अनुरूप सर्वोचित लाभ लिन सकिने नीति सुनिश्चित गर्ने एक विधि हो।

फाइभ-एसको पाँच जापानी शब्दहरूको क्रमशः अर्थ यस प्रकारले लाग्ने गर्दछ। कार्यस्थलमा तत्काल उपयोग हुने मेसिन पार्ट तथा औजारहरू जति चाहिन्छ त्यति मात्र छुट्टाएर प्रभावकारी क्रममा मिलाएर राख्ने – क्रमबद्ध गर्नु (SORT – Sort, Clearing, Classify)। काम गर्ने समयमा कुनै रोकावट नआउने गरी त्यसको उपयोग हुने क्रम अनुरूप ईर्गोनोमिक्सको समेत आधारमा  जुन कुरो जहाँ राख्दा कामको प्रभावकारिता हुन सक्छ त्यही अनुरूप तह तहमा मिलाएर राख्ने – सीधा (प्रत्यक्ष) व्यवस्थित गर्नु (STRAIGHTEN – Straighten, Simplify, Set in order, Configure) । कार्यस्थल, उपकरण, मेसिन र अन्य उपकरणहरू सबैको पूर्ण सफाइ गर्ने – चम्किलो पार्ने (SHINE- Sweep, Shine, Scrub, Clean and Check)।

 

हरेकले एकै साझा मापदण्ड र काम गर्ने तरिकाहरू अपनाएर  काम गर्ने स्थितिको सुनिश्चित गर्ने – मानकीकृत गर्ने (STANDARDIZE- Standardize, Stabilize, Conformity) । फाइब एसका अघिल्ला चार चरणहरू अनिवार्य निरन्तर प्रयोग भएर नियमित सुधार गर्न जारी रहने, हाउसकीपिङ नियमित कायम रहने, सबै कार्य नियमित ठिकठाक रहेको चेकजाँच गरी कार्य र अन्य कुराहरू योजना अनुरूप सञ्चालन हुने स्थितिको सुनिश्चित गर्दै उक्त विधिहरू नियमित लागु हुने संस्कृतिको विकास गर्ने (SUSTAIN- Sustain, self discipline, custom and practice)।

 

बस्तु वा सेवाको उत्पादन हुने आधुनिक उद्यमको कार्यस्थलबाट त्यहाँ रहेका अनुत्पादक अर्थात्  कुनै मूल्य अभिवृद्धि नगर्ने (Non-Value Added) बरबादी (Wastes) हटाउने अत्यन्त प्रसिद्ध जापानी  लिन प्रोसेसमा (Lean Process) फाइभ-एस प्रक्रियाहरू अत्यन्त प्रभावकारी उपायको (Effective Lean Tools) रूपमा प्रयोग हुन्छ।

 

जापानको परम्परागत मान्यतामा आधारित फाइब-एस विधिको अवधारणा अनुरूप सरल र प्रभावकारी तपाईँको कार्यस्थललाई व्यवस्थित र सु-सङ्गठित गरी त्यसको अधिकतम र प्रभवकारी उपयोग गरी उक्त स्थान वाट प्राप्त हुन सक्ने क्षमता वा मूल्य (भ्यालु) को सम्भावनाको अधिकतम उपयोग गर्ने नीति जापानी फाइभ-एस विधि संसारभर उपयोग हुने गर्दछ।

 

६) कार्यस्थलको दैनिक कार्य भार तथा कार्य प्रगति सबैमा पारदर्शी गर्ने दृश्य कार्डको व्यवस्था गर्ने कानबन सिस्टम (𝐊𝐚𝐧𝐛𝐚𝐧  𝐒𝐲𝐬𝐭𝐞𝐦):

 

कानबन सिस्टमको मुख्य उद्देश्य कार्यस्थलमा कार्यरत टोली सधैँ सबै पहिले भन्दा धेरै भ्यालु रहेको सर्वाधिक महत्त्वपूर्ण कार्यहरू सबै भन्दा पहिले सम्पन्न गर्ने नीति अनुरूप कार्यरत छ भन्ने सुनिश्चित गर्नु हो। कानबन सिस्टमको मूलतः चार कार्यहरू हुन्छन् जसलाई पुरा गर्न कानबन भिजुयल सिस्टमले ठुलो मद्दत पुर्‍याउने  गर्दछ।

 

कानबन सिस्टम अन्तर्गत उक्त दिन र समयमा सम्पन्न गर्नु पर्ने कार्यहरू के के छन् तिनीहरू कार्यस्थलमा सबैले देख्ने र बुझ्ने गरी भिज्युयल बोर्डमा कानबन कार्ड मार्फत प्रस्ट देखाउने (Visualize the Work) गरिन्छ। कार्य प्रगतिमा रहेको सबै कार्यहरूलाई (Limit the WIP – Work in Progress) निश्चित टुङ्गोमा पुर्‍याउने गर्दछ। कार्यस्थलमा कार्यको प्रगति नियमित प्रवाहको गतिमा सञ्चालन हुने (Focus on Flow) सुनिश्चितता गर्दछ। साथै निरन्तर नियमित सुधारको (Continuous Improvements) नीति अवलम्बन हुने निश्चितता दिन्छ।

 

कानबन सिस्टममा काम गर्ने हरेक टोलीहरूको हरेक कार्य वस्तुलाई छुट्टै कानबन कार्डमा प्रस्तुत गर्ने गरिन्छ। हरेक टोलीको हरेक कार्य वस्तुलाई (Every Work Item) फरक फरक कानबन कार्डमा राखी प्रस्तुत गर्नुको मुख्य उद्देश्य हरेक टोलीका सदस्यहरूले आफूले गर्नुपर्ने कार्यहरूको कार्य प्रवाह (Work Flow) सम्पूर्ण दृश्यात्मक रूपमै देख्न पाउने (Real Time Visualization) र तिनीहरूमा भइरहेको कामको प्रगति रियल टाइममा (Real Time) ट्र्याक सम्भव गर्नु (Progress Tracking) हो। जसले जरुरतको स्थानमा जरुरतको व्यक्तिको जरुरतको समयमा ध्यान प्राप्त गर्न रियल टाइममा सम्भव तुल्याउने गर्दछ।

 

कानबन सिस्टममा प्रयोग हुने कानबन बोर्डहरूले सबैलाई सम्पन्न गर्नु पर्ने कर्मको दृश्यता दिन्छ। शीर्ष प्राथमिकताको काम पहिचान गरी शीर्ष प्राथमिकतामा राख्न र टोलीको दक्षता सुधार गर्न सहयोग पुर्‍याउने गर्दछ। कानबन बोर्डहरूले उपयुक्त समयमा जरुरत अनुरूपको उपयुक्त काममा ध्यान केन्द्रित गर्न सहयोग पुर्‍याउने गर्दछ।

 

जरुरतको समयमा जरुरतको उत्पादन गर्ने (Just in  Time) नीतिको लागि एकल टुक्रा प्रवाह (One  Piece  Flow) उत्पादन (Manufacturing) सम्भव तुल्याउँदै सबै टिमलाई नयाँ काम सुरु गर्नु अघि त्यस अघिको काम पूरा गर्न केन्द्रित रहन मद्दत गर्दछ। जुन अत्यन्त प्रख्यात जापानी लिन म्यनुफ्याक्चरिङ्ग विधिको मूल मन्त्र हो।

 

) प्रभावकारी मासिक बचतको लक्ष्यहरू प्राप्त गर्ने काकेइबो (𝐊𝐚𝐤𝐞𝐢𝐛𝐨𝐁𝐮𝐝𝐠𝐞𝐭𝐢𝐧𝐠 𝐌𝐞𝐭𝐡𝐨𝐝) घरेलु वित्तीय खाता:

 

जापानी शब्द काकेइबोको अर्थ “घरेलु वित्तीय खाता” भन्ने हुन्छ। यथार्थमा काकेइबो जापानको  सरल घरेलु आय व्ययको सामान्य हिसाब किताब लेख्ने डायरी वा बजेट जर्नल हो। जसमा प्रयोगकर्ताहरूले केही वित्तीय प्रश्नहरूको जवाफ दिएर आफ्नो मासिक बचतको लक्ष्यहरू सेट गर्छन्। त्यस पछि त्यसमा हरेक दिनको आम्दानी र खर्च लेख्ने, आफ्नो आम्दानी र खर्चहरूको ट्र्याक गर्ने र प्रत्येक महिनाको अन्त्यमा आम्दानी खर्चहरूको समीक्षा गरी आफूले आफ्नो बचतको लक्ष्य प्राप्त गरेको वा नगरेको  ट्र्याक गर्ने गर्छन्।

 

महिनाको अन्त्यमा आफ्नो बचत लक्ष्यहरूमा गरेको प्रगतिको मूल्याङ्कनले आफ्नो पूर्व निर्धारित बचतको लक्ष्यहरू प्राप्त गर्न तपाईँ कसरी कहाँ चुक्नु भयो वा तपाइले सहजै उक्त बचतको लक्ष प्राप्त गर्नुभयो त्यसको यथार्थता प्रस्ट गर्दछ। उक्त रिकर्डको आधारमा आगामी दिनमा त्यसलाई कसरी सच्चाएर अघि  बढ्ने वा  आफ्नो अवसर र आवश्यकता अनुसार पूर्व निर्धारित बचतको लक्ष्यहरू पुनर्विचार गरी नयाँ बचतको लक्ष्य तोक्न जरुरी छ आदि बारे निश्चय गरी हरेक महिना आफै लाइ नियमित सुधार तर्फ उन्मुख गर्दै तपाईँको मासिक बचतको लक्ष्यहरू प्राप्त गर्ने दिसामा तपाइको व्यवहारलाई समायोजन गर्न मद्दत गर्दछ।

 

जापानी काकेइबो घरेलु वित्तीय खाताको प्रयोगले जापानीहरूलाई आफ्नो समयको अत्यन्त व्यवहारिक रूपमा प्रभावकारी व्यवस्थापन गर्दै आफैले निर्धारित गरेको आफ्नो  मासिक बचतका लक्ष्यहरू प्राप्त गर्ने विन्दुमा पुग्न स्वयं आफूमा नियमित सुधार गर्दै आफ्नो व्यवहारलाई लक्ष प्राप्ति तर्फ  समायोजन गर्न प्रेरित गर्दै मद्दत पुर्‍याउने गर्दछ।

 

आफ्नो अत्यन्त उन्नत परम्परागत संस्कृतिमा अत्यन्त बेसरी टाँसिएर त्यसैको आधारमा आफ्नो माटो मैत्री इनोभेसनमा आधारित विकास मार्फत आफ्नो मुलुकको कायापलट गर्न सकेको जापानको उदाहरणले अत्यन्त वैज्ञानिक, शालीन तथा परिष्कृत वैदिक संस्कृतिको आधारको जगमा उभिएर हाम्रो आफ्नै परम्परागत संस्कृतिलाई हाम्रो समाजको गतिविधि मैत्री गर्ने विधि मार्फत हामी हाम्रो मुलुकको कायापलट गर्न सक्षम हुन सक्दछौ भन्ने यकिन हामीलाई दिएको छ। मुलुकको कायापलट गर्ने  दिसामा अघि बढ्नको लागि हामी संग प्राय: सबै कुरा उपलब्ध छ। उपलब्ध हुन नसकेको कुरामा विषय बस्तु बारे सरकारी व्यवस्थापकहरूमा बुझाइको कमी र मुलुकको नेतृत्व दिँदै गरेका नेताहरूमा विकसित स्खलित इच्छा शक्ति मात्र रहेको छ।

 

(अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत छन्।)

3Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: