मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अर्थ मन्त्रीज्यू ! ज्ञान-बजारको भ्रष्टाचार रोक्ने कि?

नारायण घिमिरे

मलाई किन किन नेपालका सोसल मिडियामा निकै आक्रमण हुने गरेका केपी ओली, विष्णु पौडेल, नारायण वाग्ले, विजय कुमार, खगेन्द्र सङ्ग्रौला हुन् वा वाह वाह पाउने महावीर पुन, गगन थापा, कुलमान घिसिङ, रवि लामिछाने सबैमा फरक क्षमता युक्त खुबी भएका मानिसहरू लग्दछ। लेखिकामा सित्तल दाहाल गायिकामा कोमल ओली नेपाल भन्दा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको भए ती राम्रो ईज्यत पाउँथे, अझ धेरै प्रगति गर्थे होला भन्ने जस्तो अनुभूति हुन्छ।

 

नेपाल त यस्तो मुलुक छ कि तपाईलाई कसैको क्षमता राम्रो लाग्यो  र राम्रो छ भनि लेखिदिनु भयो भने त्यो समय सामाजिक सञ्जालमा ऊ खेदिएको बेला रहेछ भने कडा आलोचनाको सिकार बन्नु हुनेछ। बुद्ध भूमि, वेद भूमि, संसारकै पहिलो सर्जन शुसुर्त जन्मिएको मुलुक नेपालमा आज सबै भन्दा धेरै धैर्यताको खडेरी परेको छ। भएका वाट राम्रो पक्ष निकालेर त्यसको उपयोग वाट झन् राम्रो बन्नु पर्ने हाम्रो अनुबम्शिक गुण विपरीत भेटेका मद्धे सबै भन्दा खराब पक्षहरु खोतलेर आलोचना मै जीवन कटाइदिने रोगले ग्रसित बनेको छ।

 

आफू अघि जिउँदो रहेकालाई सत्तो सराप गर्ने र मरे पछि महापुरुष ठान्ने,  मन पर्दा भगवान् बनाउने र रिस उठ्दा दैत्यको रूपमा भित्तामा पुर्‍याउने औँसी पूर्णे लाग्ने सामाजिक वाई-पोलरको लक्षणले हाम्रो समाज सङ्क्रमित बनेको छ। यसको उदाहरण हिजो कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला भए भने भोलि बाबुराम भट्टराई र पुष्प कमल दाहाल बन्ने निश्चित छ।

 

केही समय नेपालमा समेत काम गरी मुगलान भासिएका कुनै प्रवासी नेपाली जब नेपाल तर्फ फर्केर हेर्दछ उसको मनमा सहजै एक प्रश्न जन्मन्छ। हिजो मलाई नेपालमा बस्दा यो भन्दा धेरै श्रम गर्दा खान पनि नपुग्ने थियो। तर किन यहाँको डलरमा तलब सुविधा मिलेको वर्ष दिनमै मलाई गाडी, बङ्गला र मानवीय जीवन प्राप्ति सम्भव बनिरहेको छ?  के आफू स्मार्ट रहेकाले त्यो सम्भव बन्यो ? जो सँग म काम गर्दै छु कि उ म भन्दा धेरै बुद्धिमान छ?  यो सबै प्रश्नको एकै उत्तर सहजै मिल्छ। त्यस्तो छैन। त्यसो भए किन त? किन यस्तो हुदैछ? अन्य: के  कारण छ?

 

यस पछाडिको कारणको यथार्थता सँग झन्डै झन्डै मिल्ने निचोड  बायो-केमिकल जेनेटिक्सका वैज्ञानिक आइआइएमए गुजरातका प्रोफेसर तथा हनीबी नेटवर्कका संस्थापक अनिल कुमार गुप्ताको बङ्गलादेश अनुभव पछिको प्रतिक्रियामा दिएका छन्। जुन बङ्गलादेशको सन्दर्भमा हो। त्यो नेपाल सँग समेत मिल्न पुग्दछ।

 

यसै सन्दर्भको उनको निचोड बौद्धिक शोषकहरूको भूमिका र त्यसमा चुर्लुम्म डुबेको मुलुकको प्रशासन यन्त्र भित्रको संस्थागत परिपाटी सँग सम्बन्धित छ। नेपाल बारे त्यसैलाई तन्काएर कुरा गर्दा यसको केही चुरो पक्ष निर्क्योल गर्न सकिन्छ। संसारका प्राय: सबै गरिब मुलुकहरुमा केही व्यक्तिले भूमि बजार, कोहिले वस्तु बजार, कोहिले श्रम बजारमा आफ्नो अनैतिक नियन्त्रण कायम गरी शोषणलाई संस्थागत गर्न सफल बनेका छन्। नेपाल जस्ता मुलुकमा त्यसको अतिरिक्त ज्ञान बजारको शोषणलाई संस्थागत गर्ने भर्चुअल सेन्टीकेट स्थापित छ। ज्ञान बजारका भर्चुअल सेन्टीकेटका माफियाहरुको चुगुलमा फसेको नेपाल भित्र ज्ञान बजारको शोषण यसको चुरो कारक बनिरहेको छ।

 

नेपाल यस्तो मुलुक हो जहाँ विदेशी संस्थाले ब्याजमा दिएको ऋणलाई फोकटमा आएको सहयोग ठानी ग्रहण गरिन्छ। योजना र प्रविधि विकासको सम्भावना पहिचान गर्ने नाममा ऋण दिने साहुले तोकेको पारिश्रमिक दिने गरी तोकेका माफियाहरू वाट स्थानीय श्रोत, साधन र जरुरतको पहिचान हुने गरी लाखौँ लाख तथ्याङ्कहरू जम्मा गरिन्छ। त्यस वाट प्राप्त ज्ञान वाट साहुका भरौटेहरू चिल्ला गाडी चढ्ने,  वेद र स्थानीय संस्कृतिको चर्को आलोचना गर्ने विद्वान कहलिने चिल्ला छुँदा पनि फोहोर लाग्ला जस्ता गाला हालेका नेपाली माता-पिताका अङ्ग्रेज भक्त सन्तान जन्मन्छन्।

 

नेपालीलाई  ऋण बोकाएर प्राप्त गरिएको हजारौँ पानाको खोसेल्टा रुपी ज्ञानको रिपोर्ट मन्त्रालयको दराजमा थनकन्छन। प्राप्त चुरो ज्ञान ऋण दिने साहुलाई नै सुम्पन्छौ। स्थानीय विकासका साझेदार र उद्यमीहरूको पहुँचमा उक्त ज्ञान पुग्न सक्दैन। हामीलाई नै ऋण र ब्याज बोकाएर निकालेको अनुसन्धानको डेटाको आधारमा हाम्रै स्थानीय बजारमा ऋण दिने मुलुकको उत्पादन बिक्री गर्ने योजना बन्दछ। बिचमा बिचौलियाको बजार व्यवस्थापन समुह तयार गरिन्छ। यो क्रमलाई सबै क्षेत्रमा बिस्तार गरी नियमित शोषण सुचारु राख्दै  नेपालीलाई सदैव उनीहरूकै उत्पादन महँगो मूल्यमा किनेर खान पर्ने विकल्प रहित उपभोक्तामा परिवर्तन गरिन्छ।

 

आफ्नै सबै भन्दा मित्र हुनु पर्ने मस्तिष्कले जब मानिसको आफ्नै हित विरुद्ध  हानिकारक भूमिका खेलिदिन्छ तब मानिस सबैभन्दा कठिन जीवनको चरणमा प्रवेश गर्दछ। मुलुकको हकमा जब आफ्नै बौद्धिक ठानिएकाहरू ज्ञान बजारको माफिया बनिदिन्छन, त्यो मुलुक आज नेपाल जुन स्थानमा पुगेको छ ठिक त्यही पुग्दछ।

 

संवृद्धिको सन्दर्भमा कसरि नेपाललाई तत्काल ज्ञान माफिया मुक्त बनाउने भन्ने चुनौती नेपाली नेता सामु सबै भन्दा टड्कारो चुनौतिको रुपमा उभिएको छ। ज्ञान माफिया मुक्त नेपाल बनाउन नेपालले केही पूर्वाधार निर्माण गर्ने तर्फ तत्काल केही पहिलाहरू सार्नु पर्ने हुन्छ। पूर्वाधारको पनि पूर्वाधारको रूपमा पहिले नेपाली नेतामा मा मेरो मुलुकलाई मेरो क्षमताको सम्पूर्ण बल बुता लगाएर माफिया मुक्त नेपाल बनाउने आन्तरिक सङ्कल्प लिन जरुरी हुने छ।

 

नयाँ शिक्षा लागु भए पछि हाम्रो टाउकोमा ऋणको भरि बोकाएर  दातृ निकायको सुपरिवेक्षणमा भएका अनुसन्धानको चुरो निष्कर्ष काहा थन्किएका छन् र तिनमा संवृद्धि प्राप्तिमा सहायक हुने के के सूचनाहरू छन् त्यो बारे पुनरावलोकन गर्न जरुरी भएको छ। त्यो भन्दा ठुलो जरुरत अव आफ्नै श्रोत वाट अनुसन्धान गरी पहिचान हुन गएको आफ्नो आफ्नै रैथाने ज्ञान, सिप र प्रविधिलाई आधुनिक विज्ञानले पहिचान गरेका भर्खरका सूचनाहरू सँग समेतको सहयोगमा व्यवसायीकरण गर्न परिपक्व बनेको क्षेत्रमा स्वरोजगार उन्मुख इनोभेसनका कार्यहरू सञ्चालन गर्न जरुरी छ।

 

त्यो भन्दा महत्त्व पूर्ण विषय हाम्रा स्थानीयताको प्रविधि, ज्ञान बजारको माग, रचनात्मकता, आन्तरिक वैचारिक विभेद, खरिद क्षमता, नवीन विचारहरू र आन्तरिक विकासका सम्भावनामा वैदेशिक नियोगहरूको सहज पहुँच बाहिर पुर्‍याउनु जरुरी छ। प्रतिस्पर्धात्मक बजारमा आफ्ना आन्तरिक आविष्कारहरू र तिनले लिन सक्ने बजारीकरण, परम्परागत ज्ञान र अभ्यास सम्बन्धका आफ्ना सबल र कमसल पक्ष एवम् स्थानीय लाखौँ व्यवसायीकरण गर्न योग्य विचारहरू सम्भंधित क्षेत्र वा उद्यमीको प्रोपराइटरि ज्ञानको दायरामा सुरक्षित गर्न अनिवार्य छ। अरूको सामान्य बजरिकरणको सामान्य सुइँको समेत पाउने स्थिति नहुने आफ्नो भने चुला चौकामा माफियाहरुलाई बाँदर नाच गर्न दिने सरकारी नीति र कर्मचारी तन्त्रको लप्सारवाद मनोविज्ञानको उपचार बिना मुलुक प्रतिस्पर्धात्मक उधम्शिलाताको दिशामा अघि बढ्न सक्ने स्थिति छैन।

 

यो कुरा हामीले मान्नै पर्छ कि विश्वमा त्यस्तो कुनै पनि देश छैन जहाँ भ्रष्टाचार नभएको होस्।  नेपाल जस्तो उदीयमान अर्थतन्त्र भएको मुलुकमा हुने संस्थागत  न्यायिक भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार ठुलो आर्थिक लेनदेनमा र व्यवशाहीक तथा प्रशासनिक क्षेत्रमा भने साना तथा मझौला प्रकृतिका आर्थिक भ्रष्टाचार हुने गरेको देखिन्छ। मुलुक भित्र हुने सबै प्रकारका भ्रष्टाचारले इनोभेसन पक्कै पनि समयमा असर गर्ने छ।

 

आजको अनुभव के हो भने न्यायिक र राजनीतिक भ्रष्टाचार भएको मुलुकमा इनोभेसनको कल्चर समेत विकास हुने न्यून सम्भावना हुन्छ। किनकि त्यो क्षेत्रहरूले दिनु पर्ने महत्त्व पूर्ण निर्णय नै अनिर्णयमा बसी वा ढिला वा कसैको हित हुने गरी दिने र त्यस वाट फाइदा हुने वर्ग वाट चुस्त घुस लिने निर्णयमा आधारित भ्रष्टाचार हुने गर्दछ। व्यवशाहीक तथा प्रशासनिक क्षेत्रमा भने केही पनि काम नहुँदा भ्रष्टाचार गर्न नसकिने हुँदा, जति धेरै काम गर्‍यो त्यति धेरै घुस प्राप्ति हुने हुँदा  इनोभेसनका गतिबिधिहरु चलेका हुन्छन्। जिडिपी समेत राम्रै देखिन्छ। देखिने समस्यामा इनोभेसन जति भएको हो त्यो भन्दा बढाई चढाई इनोभेसन भएको रिपोर्टहरू तैयार हुने गर्दछन्।

 

नेपाल जस्तो मुलुकको इनोभेसन र सम्वृद्धिको लागि हद अनुसारको वादकको रूपमा अन्यत्र भन्दा फरक भर्चुअल चित्र सतहमा देखिन्छ। न्यायिक क्षेत्रमा भइरहेको भ्रष्टाचार भन्दा राजनीतिक क्षेत्रमा भइरहेको भ्रष्टाचार, राजनीतिक क्षेत्रमा भइरहेको भ्रष्टाचार भन्दा प्रशासनिक क्षेत्रमा  भइरहेको भ्रष्टाचार, प्रशासनिक क्षेत्रमा भइरहेको भ्रष्टाचार भन्दा व्यवशाहीक क्षेत्रमा भइरहेको भ्रष्टाचार, व्यवशाहीक क्षेत्रमा भइरहेको भ्रष्टाचार भन्दा ज्ञान बजार क्षेत्रमा भइरहेको भ्रष्टाचार मुलुकको इनोभेसन र सम्वृद्धिको ठुलो वादकको रूपमा रहेको छ।

 

हालै नेपालका अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेलले सार्वजनिक रूपमा अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी आरम्भ गरेकोले सम्बद्ध सबैबाट इमेल  bppaudel@mof.gov.np  मा सुझावको अपेक्षा गरेको बताई रहनु भएको सन्दर्भमा माननीय अर्थ मन्त्रीज्यू लाई ज्ञान बजार क्षेत्रमा भइरहेको मुलुकको भ्रष्टाचार नियन्त्रण गर्न र इनोभेसन मार्फत संवृद्धि तर्फ जाने योजनाको लागि यहाँको ध्यान पुगोस् भन्ने अनुरोध गर्न चाहन्छु।

(खाद्य तथा औषधि विज्ञ क्यानडा)

39Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: