मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भाइटिकामा सयपत्री र मखमली माला

नारायण घिमिरे

घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्री सँगै मखमली र गोदावरी नारिएर  गाउनै फूलले ढकमक्क हुँदा मानिसलाई तिहारले छोपेको झल्को आइहाल्छ। आफ्ना दिदी बैनीहरूको सम्झना र उनीहरू सँग हासेको, खेलेको र सानो सानो निहुँमा झगडा गरी कति दिन नबोलेको आफ्ना निजी कथाहरू मानसपटलमा घुमी हाल्छ।

 

प्रियजन र आफन्तहरू बिना बितेको समय लाई उमेरमा गनिन्छ भने उनीहरू सँग बितेको पल लाई जिन्दगीमा। सयपत्री, मखमली र गोदावरी फूलहरू हाम्रा लागि जिन्दगी महसुस गर्ने समय आउँदै गरेको सुभ समाचार दिने खातिरजामा ठानिन्छ।

 

झिलिमिली बत्तीको चाड तिहारका बलेको बत्ती साक्षी राखेर दिदी बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै टिका लगाई सुक्ने तर रङ्ग नजाने नबिग्रने वासना दार फुलहरूको माला घाटीमा पहिराई दिने, मिठो-चिल्लो खान दिने परम्परागत दोस्रो ठुलो रैथाने पर्व हो तिहार।

 

सर्त रहितको स्नेह भाव, आत्मियता र करुणा सबै एउटै बिन्दुमा मिलन भएर प्रकट हुने दिदी बहिनी र दाजुभाइको  पर्व तिहारमा मखमली, सयपत्री र गोदावरी  गरि तिन प्रकारका फुलहरूको विशेष महत्त्व हुने गर्दछ।

 

सयपत्री फुलको वासना मनोबैज्ञानिक अनुभूति अथवा मुडको सुधार गर्न र तनाव वाट तुरुन्तै छुटकारा पाउन सहयोगी हुने गर्दछ। सयपत्रीको सुन्तला तथा पहेँलो रङ्गहरू नयाँ सुरुवात र महत्त्वपूर्ण घटनाहरूको लागि शुभ रङ्ग मानिन्छ।

 

 

सयपत्री फुलको बोटको सार तत्त्वहरू ज्यानको पिडा घटाउने,  बाउँडिने – फर्कने मांसपेशी  निको गर्ने, र क्यान्सर प्रतिरोधी ओखती आदिमा प्रयोग हुन्छ। छिटै बुढो हुन नदिने गुण, भिटामिन-सी, भिटामिन-ए आदिले गर्दा सयपत्री फूललाई सूर्यले पृथ्वीमा उपलब्ध गराइएको जडीबुटीको संज्ञा दिइन्छ।

 

 

यसका सारतत्वहरुमा हानिकारक जीवाणुहरुलाई मार्ने क्षमता हुन्छ। यसको फुल र बिरुवाको वासनाले लामखुट्टे, मानिसलाई टोक्ने तथा सताउने कीराहरू घर बोरिपरी आउन दिँदैन।

 

 

झन्डै ८३.४% पानी भेटिने सयपत्री फूलमा कार्बोहाइड्रेट १४% , फाइबर ९.२% , प्रोटिन १.३%, खरानी ०.८% को हाराहारीमा भेटिन्छ। प्रति सय ग्राम मात्र २८ किलो क्यालोरी दिने सयपत्री राम्रो फाइबरको श्रोत हो। सयपत्रीमा औसत खनिज पदार्थ (मिली ग्राम प्रति सय ग्राम) क्याल्सियम (०.११०), तामा (०.१०४) , फलाम (१.०२६), पोटासियम (०.२१५), म्याग्नेसियम (०.०६०), मेगनिज (०.३०३), सोडियम (०.०१५), फस्फोरस (०.०६५), सल्फर (०.०४५), स्टोरनियम (१.०१७) र जिङ्क (०.५६८) पाइन्छ।

 

सयपत्री फुल फलाम, स्टोरनियम, जिङ्क, मेगनिज र पोटासियमको अत्यन्त राम्रो श्रोत समेत हो। स्टोरनियम क्याल्सियम जस्तै हड्डी मजबुत बनाउने, पुरानो हड्डी टुट्न नदिने तर नयाँ हड्डी बनाउने काममा उपयोगमा आउँछ। आइरन र जिङ्क हाम्रो रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्ने गर्छ। दुवै शरीरलाई रातो रक्तकोश बनाउन चाहिने गर्छ। एनीमियामा सहयोगी हुन्छ।

 

प्रोटिन र अमिनो एसिड पचाउन सहयोग गर्ने  मेगनिज खाना पचाउन जरुरी हुने धेरै प्रकारका इन्जाइमहरू लाई सक्रिय बनाउन सहयोग गर्छ। पोटासियम शरीरमा तरल पदार्थको सन्तुलन मिलाउन, मांसपेशी हरू तन्काउने खुम्चाउने कार्य सम्पन्न गर्न र दिमागमा खबरहरू आदान प्रदान गर्न सहयोगी हुने गर्छ।

 

औसत प्रतिग्राम २६.६३ मिलिग्राम ग्यालिक एसिड ईक़ुभयालेन्ट फ्लेभोनोइड  हुने सयपत्रीमा, शरीरवाट रेडिकल अक्सिजन हटाउन सक्ने क्षमता प्रतिग्राम २६६.११ माइक्रोमोलहुन्छ। त्यस्तै ट्रोलोक्स ईक़ुभयालेन्ट एन्टीअक्सिडेन्ट क्षमता प्रति ग्राम ६६.२२ माइक्रोमोल भेटिएको छ। सयपत्री फुल उत्साह वर्धक एन्टीअक्सिडेन्ट क्षमता तथा रेडिकल अक्सिजन हटाउन सक्ने क्षमताको फ्लेभोनोइड युक्त रहेकाले यो क्यान्सर रोग प्रतिरोधी मात्र छैन मानिस लाई छिटै बुढो हुन नदिने गुण युक्त पनि छ। यिनै सर्ब  गुणका कारण सयपत्री फुल पछिल्लो समयमा अत्यन्त मूल्यवान  पोलिफिनोलको श्रोतको हर्बल चिया र फंगसनल अथवा पूरक खानाको रूपमा मानिसहरुले खाने गरेका छन्।

 

सयपत्री जस्तै मखमली बिरुवाको सबै भाग औषधीय मूल्यको हुने गर्छ। बिरुवाको सार तत्त्वहरू मुटु र रक्त सञ्चार, क्यान्सर प्रतिरोधी, एन्टिऑक्सिडन्ट, दुखेको लट्ठ्याउने / एनाल्जेसिक, रगत जमाउने, रुवा खोकी, मिर्गौलाको समस्या र प्रजनन समस्याहरू आदिमा ओखतीको रूपमा प्रयोग हुँदै आएको छ। यसको हानिकारक जीवाणु नियन्त्रणको क्षमताका समेत रहने हुँदा हानिकारक जीवाणु नाशकको रूपमा समेत प्रयोग गरिन्छ।

 

 

सेतो, गाढा कलेजी तथा हल्का रातो रङ्गमा फुल्ने मखमली फुल वाट निकालिएको बैजनी-रातो रङ्गको बिटा-सायानिन खाद्य र कस्मेटिक उत्पादनमा प्रयोग हुने  प्राकृतिक रङ्ग वा कलर बन्ने गर्छ। बिटा-सायानिन  पिगमेन्ट आफै एक एन्टिऑक्सिडन्ट समेत हो।

 

मखमलीमा भिटामिन सी, भिटामिन बी, भिटामिन के, राइबोफ्लेविन र फोलेट लगायतका भिटामिनहरू पाइन्छ। यसमा पाइने मुख्य खनिजहरू क्याल्सियम, पोटेशियम, म्याग्नेसियम, र मैंगनीज हुन्। मखमली फुल टिप्ने बित्तिकै सफा पिउने पानीले धुने र ओबाउन दिएपछि यसको दुई तरीका वाट हर्बल चिया बनाउने गरिन्छ। पहिलोमा ताजा फुलको प्रयोग हुन्छ । दोस्रोमा सुकेको फुल।

 

ताजा वा सुक्खा फूल गिलासमा राखी त्यो माथि उम्लिएको तातो पानी हाली १५ मिनेट फुलको सार तत्त्व पानीमा घुल्न दिएर फुल हटाइ तितो-टर्रो स्वादको रातो  चिया मखमलीको सिग्नेचर स्वाद  हो।मखमली चिया रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र उच्च रक्तचाप घटाउन समेत सहयोग गर्ने हुने विश्वास गरिन्छ।

 

मखमली फुलमा क्युरसिटिनको उल्लेखनीय उपस्थितिले यस लाई प्रभावकारी एन्टिऑक्सिडन्ट गुण युक्त बनाएको छ। अनुसन्धानहरूले  सयपत्री र मखमली फुलको सारतत्व दीर्घ रोगहरूको उपचारको लागि पूर्ण सुरक्षित रहेको बताउँछ।

 

सयपत्री, मखमली र गोदावरी सबै फुलको हर्बल चिया बनाउने तरिका एकै प्रकारको छ। सयपत्री चियाको सिग्नेचर रङ्ग भने फुल अनुसार पहेँलो वा बैजनी हो।

 

गोदावरी फुल सयौँ वर्षदेखि श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, र उच्च-थाईरोड़को उपचारमा प्रयोग हुँदै आएको छ। यसले ज्यानको पिडा घटाउने,   स्नायुहरूलाई शान्त पार्न समेत मद्दत गर्ने गर्छ। हड्डी बलिष्ठ पार्न मद्दत पुर्याउछ। बिटा-क्यारोटीन, भिटामिन-बि (जस्तै: नियासिन, फलोसिन, कोलीन) र भिटामिन-सी को उत्कृष्ट स्रोत समेत हो गोदावरीको फुल।

 

नसाहरू फुलेको, रक्त संचार गर्ने नसा बन्द हुने, डन्डिफोर, इन्फ्लुएन्जा, दुखेको घाँटी, ज्वरो, छाती दुख्ने, सामान्य चिसोको लक्षण, उच्च रक्तचाप , शरीरको दर्द, टाइप-२ मधुमेह, एचआइभी / एड्स र चक्कर लाग्ने आदि वाट छुटकारा पाउन घरेलु औषधिको रूपमा गोदावरी फुलको हर्बल चिया पिउने चलन छ। आयुर्बेदका अनुसार गोदावरी फुलको लेदो छालामा फोकाहरु आउदा फोकाहरु निको हुन्छ।

 

गोदावरीको फुलको तेलमा एमिनो एसिड र अन्य पदार्थहरू जस्तै बोर्नियोल, क्यामफर, एडिनिन र थोरै भिटामिन बि-१ हुने गर्दछ। यसमा पाइराथ्रम नामक कीटनाशक केमिकल समेत हुने हुँदा कसै कसैमा छाला, आँखा, नाक, र मुखमा एलर्जी हुन सक्ने भन्दै दिनमा ५-१५ ग्राम भन्दा धेरै सुख्खा गोदावरी फुल चियाको रूपमा नखान सल्लाह दिइन्छ। ।

 

तिहारको समयको अर्को निकै महत्त्व पूर्ण विषय हो दिदी बैनी र दाजु भाइहरू बिच हुने बिना सर्तको प्रेम। प्रेम मस्तिष्क वाट कम्पनको रूपमा उत्पन्न हुने ऊर्जा हो। फरक प्रकृतिको प्रेमको फरक कम्पन हुने गर्छ। माया -दयाको संज्ञा दिइने प्रेम फरक फरक अवस्थामा फरक फरक कम्पनका कारण फरक फरक प्रकृतिको हुने गर्छ।

 

माया, प्रेम र करुणा जस्ता कुराहरू मानिस प्रेम भावमा हुँदा दिमागले सञ्चालन गर्ने फरक फरक अभौतिक गतिबिधिहरु हुन्। मस्तिष्क वाट नियन्त्रित हुने माया आज पनि मुटुमा बस्ने चिज भन्ने विश्वास समाजमा देखिन्छ। जुन वास्तविक हैन।

 

श्रीमान् श्रीमती बिच हुने  रोमान्टिक प्रेममा मुख्यतय तिन वटा गतिबिधिहरु हुने गर्दछ। पहिलो यौन चाहनाको विकास, दोस्रो अर्का प्रति आकर्षण र तेस्रो अर्का प्रति भावनात्मक लगाव वा रसबसमा जोल्टिन पुग्नु। रसबसमा जोल्टिन पुग्नु मतलब एक अर्को बिचको आकर्षण वा मनोबैज्ञानिक एट्याचमेन्ट।

 

मानिसमा यौन चाहना बृध्दि हुँदा शरीरले  टेष्टेस्टेरोन र ईस्ट्रोजिन हर्मोन निकाल्दछ।

 

आफन्त, आफ्नो नजिकको मनले खाएको मानिस आदि बिच  एक को अर्को प्रति हुने आकर्षणमा ड़ोपामिन, नोरेपिनिफ्रिन र सेरोटोनिन पैदा हुने गर्दछ।

 

मनोबैज्ञानिक एट्याचमेन्ट वा अर्कोमा लगाव पैदा हुन गई उसको सम्झना हुँदा शरीरमा अक्सिटोक्सिन र भासोप्रेसिन जस्ता इन्जाइमहरू उत्पन्न हुने गर्दछ।

 

बिना सर्तको प्रेम भनी चिनिने यौन चाहनाको सन्दर्भ नरहेको प्रेममा शरीरले टेष्टेस्टेरोन र ईस्ट्रोजिन जस्ता हर्मोनहरु पैदा गर्ने अवस्था रहन्न।

 

तिहारको बेला दिदी बैनी र दाजु भाइहरू बिच हुने बिना सर्तको प्रेममा आपसको आकर्षण र लगाव प्रगाढ रहने हुँदा भाइटिकाको अवसरमा अन्य: पाँच प्रकृतिका हर्मोनहरु शरीरमा पैदा हुने गर्छ। जसका कारण उनीहरू लाई सामूहिक रूपमै प्रफुल्ल र आत्मा विभोर बनाई रहेको हुन्छ।

 

तिहारमा पूजा गर्दा उत्पन्न हुने अक्सिटोक्सिन; टाउकोमा तेल लगाउँदा र नरिवल फोड्दा निक्लने सेरोटोनिन; टिका, ढाकाको टोपी, फुलका माला लगाई दिँदा अनि भाइ मसला खान दिँदा निक्लने ड़ोपामिन; शुद्ध घिउ वा तेलमा बत्ती वालि गरिने पूजाले दिने सेरोटोनिन आदि सबैले घरको वातावरण नै मन्त्र-मुग्ध पारिदिन्छ।

 

आफ्नै ठानिएको आफन्त वाट भित्री मनको आफ्नो अव्यक्त इच्छाहरू पुरा नहुँदाको परिस्थितिमा कहिले कहीँ बिना सर्तको प्रेम समेत ईर्ष्या, अभद्र व्यवहार, असहयोग आदिको रूपमा व्यक्त भइदिने गर्छ।

 

आफन्त सँग भेट हुँदा अनायास निक्लने ड़ोपामिन  आफन्त सँग भेट हुँदा आफ्नो अव्यक्त इच्छाहरू सम्झना हुँदा खराब हुन पुगेको खराब मुड अथवा निराश मनस्थिति नमिल्दा वा लापरवाह बनिदिँदा यस्ता परिश्थितिहरु विकास हुने गर्छन।

 

यस्तो असजिलो अवस्थामा टिका टालो, विभिन्न उपहार, शुद्ध गाइको घिउमा तारेको सेल, मिठाइ, स्वादिष्ठ खाना, सयपत्री, मखमली र गोदावरी फूलका सुगन्ध, पूजाका धूप आदिका वासनाहरू शरीरमा अक्सिटोक्सिन पैदा गर्न प्रेरित गरी बिग्रिएको मुड सुधार्न निकै प्रभावकारी बन्ने गरेको भेटिएको छ।

 

समग्रमा भन्नु पर्दा हाम्रो परम्परागत रैथाने तिहार पर्व अत्यन्त वैज्ञानिक पर्व हो।तिहारको बेला आफ्नो गलामा आफन्तले लगाइदिने मालाहरू मानवीय प्रगति, भौतिक, अध्यात्मिक र मनोबैज्ञानिक सुस्वास्थ्यको कामनाको प्रतीक हो।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: