मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

केरा अनि मुलुकले गुमाएको संवृद्धिको अवसर !

नारायण घिमिरे |

हाम्रोमा दलाल र माफियाको चुकुलले बन्दी गराइएका योजना आयोगका योजना विद, कृषिका विज्ञहरू र कृषि योजनाका योजना विदहरू बिउ, मल, जोत्ने ट्याक्टर, ट्याक्टर चल्ने इन्धन, काट्ने मिसिन, भित्र्याउने सामग्री, मौजाद, राख्ने भकारी, प्रशोधन गर्ने प्रविधि, प्रशोधन गर्ने मिसिन लगायत सम्पूर्ण बिदेसी बाहेक स्वदेशी हुने नसक्ने गरी योजना, बिचार र कार्यक्रम अघि सारेर  मुलुक संवृद्ध गर्ने ठुला ठुला कुरा खोक्ने गर्छन्। कृषि विज्ञ भएर माटो छुँदा लाज लाग्ने, योजना विद् भएर किसानको घर दैलोमा पुगेर उनीहरूको भान्सामा पाकेको खान पर्दा आफ्नो बेइज्जत भएको महसुस गर्ने, गरिब कङ्गाल बाउँको झुप्रोमा जन्मेको भए पनि शताब्दी देखि मुलुकको आर्थिक शोषण गर्दै आएको अन्तर्राष्ट्रिय आर्थिक माफियाहरूको आफ्नै मुलुक चुस्ने काममा कर्मचारीको रूपको अनुभव प्राप्त गरेकाहरूको हातमा हाम्रो मुलुक बनाउने जिम्मेवारी सुम्पिएको दुई चार सय वर्ष नै भई सक्यो।

 

सयौँ वर्ष देखि सुनियोजित रूपमा मुठ्ठी भरका माफियाहरूको इसारामा तिनैको माया दयामा संसारको उत्कृष्ट भनिने विश्व विद्यालय वाट डाकटरेड गरी तिनैको चरम बार्गेनिङमा मुलुकको नीति, कानुन र योजना बनाउने निकायको सर्वोच्च पदमा आसीन हुन पुगेको अनुहार हेर्दा स्वदेशी, बोली, बुद्धि र कर्म हेर्दा दलाल माफिया वर्गको चाकर भन्दा अधिक नदेखिने त्यो वर्गको जीवनको मात्र एउटा उद्देश्य छ। मुलुकको रैथाने सिप, ज्ञान, प्रविधिको पहिचान गर्ने र त्यसैमा आधारित उद्यमशीलता मुलुकमा हर हालतमा हुन नदिने।

 

मुलुकमा मालिकहरूको बैकको पैसा लगानी गरी नाफाखोर मालिकको नाफा कमाउने उद्देश्य पुरा गरिदिने। मुलुक लाई सदैव मालिकको बैकको सेयर होल्डर रहेका बिदेसी उद्यम तथा उत्पादकको एकाधिकार बजारमा रूपान्तरण गरिदिने।

 

हाम्रो मुलुकको विकासको लागि उल्लेखित माफिया वर्ग ले भन्ने गरेका र देखाउने गरेका कुनै पनि कार्यक्रम र उपाय मुलुकको आजको यथार्थ अवस्था मैत्री छैनन्। उल्टो तिनीहरूको अपहेलनमा परेको, उनीहरू वाट जटिल भन्दा जटिल कानुनी अड्चन बनाइ रोक्न हरदम कोसिस जारी रहेको क्षेत्र वाट मात्र मुलुकको उन्नति सम्भव रहेको हजारौँ हजार उदाहरण हाम्रो सामु छ। ती हजारौँ उदाहरण मद्येको  एक प्रतिनिधि उदाहरणमा यहाँ केरा खेती र त्यसको व्यावसायिक सम्भावनाको बारे यथार्थ प्रस्तुत गर्न कोसिस गरिएको छ।

 

हाम्रो पाखो बारीमा लगाइने केराको एउटा यस्तो वनस्पति छ जस्तो हरेक भाग खाना, ओखतिय खाना र हिलिङ्ग पेय वा औषधिको रूपमा उपयोगमा आउँछ। यसको अन्य उपयोग पनि छ। टपराको सट्टा खाना खान प्रयोग हुने वा खाना पोको पारी पकाउन वा तिहारको भाइ टिकाको सात रङ्गी टिकोको धर्सो सोझ्याउन पातको प्रयोग हुन्छ। केराको पातको आफ्नै ओखतिय मूल्य छ।

 

काँचो केरा, केराको फुल बुङ्गो, र केराको गुदी वा गुभो, फेदको कन्दमूल जस्तो भाग हिलिङ्ग खाद्यको रूपमा तरकारी खाने गरिन्छ। पाकेको केरा फलको रूपमा खाइने गर्छ। केराको जरा आयुर्वेदिक ओखती हो। केराको सुप्लो र पात उच्च फाइबर युक्त भएकाले खाना तथा पेय पदार्थ पस्कने प्लेट, कप आदि बनाउन प्रयोगमा आउँछ। हाल त बजारमा डिपार्टमेन्ट स्टोरहरूमा ताजा तरकारी फल फुलहरूलाई प्लास्टिकको सट्टा केराको पात ले बेरेर बेचिन्छ। तारे होटेल हरूमा कतिपय अथेन्टिक खाना पस्कन केराको पातको दुना टपरा आदि प्रयोग हुन्छ।

 

केराको बिचको गुभो वा डाँठ लाई पकाएर वा काँचो रसको रूपमा पिउन सकिन्छ। दक्षिण भारतीय र पश्चिम बङ्गालका केही भागहरूमा केराको गुभो वाट विभिन्न खानाहरू पकाइन्छ। केराको गुभो र मसलादार दही मिली बनेको खाना लाई वज्है थान्दु (मतलब केराको गुभो) उसली (भनेको सुख्खा तरकारी) भनिन्छ। वज्है थान्दुको उसली पकाउने तरिकामा एउटा सानो ताप्केमा ५० एमएल जति  तेल तताएर ५ ग्राम जति तोरीको दाना फुराइन्छ वा पकाइन्छ। जब तेलमा तोरी फुट्छ ५०० ग्राम जति प्याज काटे जस्तो मसिनो हुने गरी काटेको केराको गुभो (डाँठ र गाना दुवै प्रयोग हुन्छ) ओइरेर भुटिन्छ।

 

लगभग ५ – ७ मिनेटको कम आगोमा पाक्न दिँदा गुभो नरम हुने र आधा पाक्ने गर्छ। एक छुट्टै भाँडामा १२५ ग्राम जति कालो दाल र ३५ ग्राम जति चनाको दाल एक घण्टा जति पानीमा भिजाइन्छ। भिजाएको दालको पानी नीफोनेर २-३ वटा रातो खुर्सानी, चौथाइ सानो चम्चा बेसार, स्वाद अनुसार नुन, २ ग्राम जति हिङ  हालेर पिसी पानी बिना बाक्लो ढिँडो जस्तो लेदो बनाइन्छ।

 

आधा पाकेको केराको गुभो माथि उक्त लेदो हालेर मिसाइन्छ। सम्पूर्ण मिश्रण केराको गुभो पाकेर  नरम नभएसम्म लगभग १० -१५ मिनेट सानो आगोमा पकाइन्छ। पाके पछि खानको लागि  वज्है थान्दुको उसली तैयार हुन्छ।

 

कुनै पनि दाल सँग पकाइएको केराको गुभोको सुख्खा तरकारी लाई भाज्हैपू, दालसँग पकाइएको केराको गुभो लाई भाजैथन्डु कोटू, केराको डाँठ लाई कडा हुने गरी पकाएर नरिवलले गार्निस गरेको खाना भाजैथान्डु पोरियल जस्ता परिकारहरू तामिलनाडुका लोकप्रिय खाना हुन। पश्चिम बङ्गालको केराको गुभो र दालबाट बनेको परिकार थोर चाप्पर अर्को अत्यन्त प्रसिद्ध खान हो।

 

केराको गुभोको औषधीय गुणका भएका कारण दक्षिण भारतको चोक चोकमा सेतो केराको गुदीको जुस बिक्री हुने गर्दछ। त्यहाँ बिहान बिहान एक ग्लास केराको गुदीको जुस पिउने गर्दा तपाइ लाई तन्दुरुस्त राख्छ भन्ने मान्यता भेटिन्छ। दक्षिण भारतमा मिर्गौलाको समस्या भएका, मधुमेह भएका, शरीर चिस्याउन चाहने र शरीर लाई डिटक्स गर्न केराको गुदीको रस पिउने गरिन्छ।

 

लगभग १ कप टुक्रा गरिएको केराको गुदी मा आधा कप दही, एउटा सानो टुक्रा अदुवा, थोरै नुन, आधा कप चिसो पानी, मरीच दुई चिम्टी, चाट मसला एक चिम्टी हालेर ग्राइनडर गरी मसलादार केराको गुभोको सर्बत बनाइने गर्दछ। एक कप सानो टुक्रा पारेको केराको गुदीमा आधा कप दही वा दूध, दुई ठुलो चम्चा चिनी र पानी हाली ग्राईन्डीङ्ग गरी गुलियो केराको गुदीको रसको पेय बन्दछ।

 

 

 

केराको गुभोमा अत्यधिक भिटामिन बि-६ र पोटासियम पाइने हुँदा दक्षिण भारतीय उसली शरीर वाट खराब कोलेस्ट्रोल घटाउने तथा शरीरको तौल घटाउने सुपर फुडको रूपमा संसार भर प्रसिद्ध छ। मिर्गौलाको पत्थरी भएको बिरामीमा भर्खरै पत्थरी हुने क्रममा हुँदा अचुक ओखतीको रूपमा केराको काँचो गुभोको जुस र केराको गुभोमा आधारित विभिन्न खानाका परिकार  खान बिरामीहरूले डाक्टरी सल्लाह पाउने गर्दछन्।

 

केराको गुभोमा  प्रचुर मात्रामा हुने फाइबरले एकातर्फ आन्द्रा स्वस्थ राख्ने, आन्द्रामा रहेर हाम्रो भौतिक र मनोवैज्ञानिक स्वस्थ सन्तुलन गर्न सहयोग गर्ने गट माइक्रोवायोमहरु लाई तन्दुरुस्त राख्न सहयोग गर्दछ भने उच्च फाइबर सामग्रीले खाना खाने क्रममा मानिस छिटै अघाउने र भर पेट खाना खाँदा पनि आन्द्राको दस प्रतिशत भन्दा भाग खालि नै रहने हुँदा खानाको सेवन कम हुने, शरीरले मिहिन तरिकाले भएको खाना लाई पचाएर सार तत्त्वहरू निखारेर लिन सक्ने र मानिसको अनावश्यक तौल घटाउन मद्दत गर्दछ। आन्द्रामा कब्जियत कम गर्ने, गोटा परेको निको गर्न मद्दत पुग्छ।

 

पाकेको केरामा जस्तै यसको बुङ्गो, गुदी वा गुभोमा प्रचुर मात्रामा हुने भिटामिन बि-६ रगतमा हेमोग्लोबिन र इन्सुलिन उत्पादन गर्न मद्दत गर्छ। रोगको सङ्क्रमणसँग लड्ने शरीरको क्षमतालाई सुधार गर्छ। पोटासियमको मूलतः मुटुको मांसपेशी र अन्य मांसपेशीहरू लाई आफ्नो नियमित कार्य गर्न ठुलो मद्दत गर्दछ। उच्च रक्तचापलाई रोक्न र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न पनि पोटासियमको भूमिका रहन्छ।

 

कुरकुरे तितो टर्रो माटोको स्वादको हुने केराको गुभोमा विभिन्न पोलिफेनोल र एन्टिअक्सिडेन्टहरू भेटिन्छ। जस्तै केराको गुभो जेन्टिसिक एसिड, फेरुलिक एसिड जस्ता थुप्रै औषधीय तत्त्वको समृद्ध स्रोत हो। उक्त तत्त्वहरूको नियमित सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण त गर्न नै, उच्च रक्तचाप घटाउन र शरीरको तौल घटाउन मद्दत गर्छ।

केराको गुभोले धेरै पिसाब लगाउने र शरीरको मूत्र प्रणालीमा रहेका विषाक्त फोहर हटाउन वा डिटोक्सिफाई गर्न ठुलो भूमिका खेल्दछ। यसको त्यही गुण आयुर्वेदले मिर्गौलाको पत्थरी रोकथाम र उपचारमा उपयोगमा ल्याएको हो।

 

जुस बनाउनको केराको गुभो निकालिन्छ र पानी सँग मिसाएर मिक्सरमा पिसेर लयालो नहोउन्जेल पिसिन्छ। त्यसमा केही मोही र स्वाद अनुसार नुन हालिन्छ र तुरुन्तै पिउने गरिन्छ। तितो- टर्रो स्वादको हुने केराको गुभोको रसलाई मोही वा पातलो दही सँग मिसाएर बिहान बिहान खाली पेटमा सेवन गर्दा तौल घटाउन मद्दत गर्छ। आयुर्वेदका केराको गुभोको रस स्वास्थ्यका लागि फाइदाजनक ठान्दछ। केराको गुभोको रसले अल्सर, पेट पोल्ने र एसिडिटी हुन बाट बचाउन ठुलो राहत दिन्छ।

 

यसको टर्रो गुणले रगत धेरै पातलो हुन वाट बचाउँदछ। केराको गुभोको जुस सर्दी पेय हो। त्यसैले यसलाई दिनको समय र गर्मी मौसममा नियमित पिउन सिफारिस गरिन्छ।

 

केराको बुङ्गोमा पाइने फाइबर, पोटासियम, क्याल्सियम, कपर, फस्फोरस, आइरन, म्याग्नेसियम र भिटामिन ई लगायतका तत्त्वहरूका कारण संसारभर सुपर फुडको रूपमा चर्चित छ। केराको बुङ्गो फूलको रूपमा खाइने हिलिङ्ग खाद्यको रूपमा स्वस्थ प्रति सचेत हुने मानिस हरूले आफ्नो नियमित आहारको रूपमा खाने गरेको भेटिन्छ।  सलाद, सूप, सामान्य सोते गरी भुटेर, पकौडी बनाएर र हर्बल एक्सट्रेक्ट लगायतको विभिन्न सारतत्व बनाएर सेवन हुने गर्दछ।

 

एक परीक्षणमा १०० ग्राम केराको बुङ्गोमा ऊर्जा ५१ किलो क्यालोरी, प्रोटिन १.६ ग्राम, एसेंसियल तेल ०.६ ग्राम, कार्बोहाइड्रेट ९.९ ग्राम, फाइबर ५.७ ग्राम, क्याल्सियम ५६ मिलिग्राम, फस्फोरस ७३.३ मिलिग्राम, फलाम ५६.४ मिलिग्राम, तामा १३  मिलिग्राम, पोटासियम ५५३.३ मिलिग्राम, म्याग्नेसियम ४८.७ मिलिग्राम, भिटामिन ई १.०७ मिलिग्राम भेटिएको थियो। महिनावारी हुँदा हुने अधिक दर्द निको गर्न उसिनेको बुङ्गो वा बुङ्गोको तरकारी दही सँग खाने गरिन्छ। मधुमेहको रोगमा इच्छा अनुसार बुङ्गोको रस पिउने, सलाद खाने र तरकारी खाने गरिन्छ।

बुङ्गोमा हुने म्याग्नेसियमले एन्टीडिप्रेसनको काम गर्ने हुँदा मुड ठिक गर्न सहयोग गर्दछ। बुङ्गोमा पाइने फेनोलिक एसिड, टेनिन, फ्लेबोनोइड, भिटामिन सी, एन्टीअक्सिडेन्टले एकातर्फ शरीरको फ्रि-रेडिकल नियन्त्रण गरी छिटै बुढो हुन वाट जोगाउँछ  भने अर्को तर्फ क्यान्सर र मुटुको रोग लाग्न वाट मानिस लाई जोगाउन मद्दत गर्दछ। दूध खुवाउने आमामा धेरै दूध आउने बनाउँछ। कलिलो केराको बुङ्गोमा पाइने रसायनले मिर्गौलामा भएको पत्थरी लाई घोलेर पिसाब सँगै बाहिर फाल्न सहयोगी हुने देखिएको छ। प्रशस्त फलामको श्रोतको रूपमा रहेकोले केराको बुङ्गो एनिमिया जस्तो रोगको उपचारमा काम आउँछ।

 

केराको कलिलो बुङ्गोमा उल्लेखनीय रूपमा फलामको भण्डारहरू हुने गर्छ। जाँगर नचल्ने, थकान लाग्ने, मुटुको धड्कन अनियमित रूपमा घटबढ हुने, छाला फुस्रो पहेँलो हुने, खुट्टा र हातहरू चिसो हुने जस्ता रक्त अल्पतासँग सम्बन्धित लक्षणहरू कलिलो बुङ्गोको फलामले सुधार गर्दछ। तरकारीमा केराको बुङ्गो नियमित रूपमा मिसाएर खाने बानी ले रक्त कोशिकाको मात्रा बढ्ने  र फलामको कमी हुने एनीमिया जस्ता समस्या वाट पार पाउन सकिन्छ।

 

बारीको केराको प्राकृतिक फलामको श्रोत बुङ्गो खाएर सेन्थेटिक आइरन चक्की वाट सदैवको लागि टाढा बस्न सकिन्छ। आन्द्रामा पाचनको क्रममा शरीरले निकाल्ने एसिड खाना पचाउने कार्य सकिए पछि शरीरले निर्मलीकरण गर्न नसक्दा मानिस खान अपच हुने, अल्सर हुने र आन्द्रा दुख्ने प्वाल पर्ने समस्याले ग्रसित हुने गर्दछ। बुङ्गो आफैमा निकै कम पाइने क्षारीय खाना मध्ये एक खाना हो। जसले खाना पचाउने क्रममा निर्मलीकरण नहुने एसिडको निर्मलीकरण गराउन सक्दछ।

 

नियमित बुङ्गोको परिकार खाने मानिसले बजारको सेन्थेटिक डाइजिन जस्ता अमिलचुकी विरुद्धको ओखती खाने स्थितिमा पुग्न वाट धेरै हद सम्म रोक्ने गर्दछ। यसमा हुने उच्च फाइबर आफैमा दिसा खलास गर्ने र आन्द्रालाई नियमित सामान्य सञ्चालन गर्न सहयोग गर्ने र गोटा आदि पर्न वाट जोगाउने गर्दछ।

 

आयुर्वेद तथा प्राकृतिक चिकित्सामा केराको जराको रस वा चूर्ण जुका चुर्ना नाशक, भिटामिन सी को कमीले हुने रोग स्कर्भी, कलेजोमा हुने खराबीका कारण अधिक पित्त बन्ने रोग, सामान्य स्वस्थ अवस्थामा फर्कन गरिने पुनर्ताजकी दिने, पिसाब लगाउने र तागतको ओखतीहरूको फर्मुलामा जाने गरेको छ। त्यस्तै संसर्ग वाट सर्ने यौनजन्य रोग, चिलाउने रोग, कुष्ठरोग, दाँतको दुखाइ, छालाको रोग, दुर्बलता, रक्त अल्पता, अधिक थकान र आन्तरिक रक्तस्राव आदिको औषधि तथा  तागत प्रदायक हर्बल ओखती आदिमा समेत केराको जराको भागको व्यापक प्रयोग हुने गरेको छ।

 

माथिको चर्चाको समग्रको निचोड के हो भने हाम्रो गाऊ घरमा सजिलै हुने केरा मात्रको सदुपयोग गरेर साना उधमीकरण  अभियान सञ्चालन गर्न सके हाम्रो मुलुकको विकास सजिलै सम्भव छ। केरा त एउटा प्रतिनिधि पात्र भयो। यस्ता वस्तुहरू हामी सँग हजारौँ हजार छन्। हाम्रो मुलुकमा पटक पटक  संवृद्धि नारा दिएर धेरै पटक सरकार मात्र हैन प्रणाली नै बदल्ने कार्य गरियो। तर किन यस्ता सहज उपायमा हात हालेर मुलुकको कायापलट गर्ने तर्फ हाम्रो कुनै पानी सरकार लाग्न सकेन ? किन हामी सँग यस्ता अवसर हरू पानी छन् भनेर जनता लाई भन्ने आँट पानी कुनै एउटा सरकारले समेत गर्न सकेन ?

 

किन हाम्रा रैथाने उपाय वाटै मुलुक बन्ने अवसर आज सम्म बनेका सबै सरकारको लागि आँखाको कसिङ्गर बन्ने गर्‍यो ? किन जति सुकै पटक सरकार र प्रणाली बदलिएको होस् त्यो कहिल्यै मुलुकको जनता मैत्री बनेन ? जो जो नयाँ नारा लिएर आए सबै एउटै माफिया वर्गको फरक फरक रूपको प्रतिनिधि पात्रको रूपमा अवतरित बने। आफैले चुस्त कमाए। आफू  र आफ्नो आसे पासे र नातेदार लाई खर्बौँको मालिक बनाए। मुलुकको ढुकुटी आफ्नो बनाएर बिदेसी बैकमा कथम् कुनै दिन मुलुक अफगानिस्तान बनेछ भने हेलिकप्टर लिएर विदेश तिरै गएर जीवन यापन गर्ने सम्पूर्ण चाँजो पाँजो मिलेर बसे। यो बारे के हामी जनताले कहिल्यै बिचार गरेका छौ ? हामी कतिन्जेल कुनै अमुक देशको जनता नबनी अमुक पार्टीको कार्यकर्ता रहेर यो मुलुकको भ्रष्ट करणको साक्षी बस्ने ? के हामी सँग यसको उत्तर होला ?

आफ्नो वारिको अमृत रुपी केराको बुङ्गो र गुदी फाल्ने अनि ठुलो कमिसन लिएर जनतालाई आयातित रोगको घरको रूपमा रहेको सेन्थेटिक आइरन चक्की, डाइजिन बाँडेर माफिया खुसी पार्न तल्लीन सरकार र प्रशासकहरू लाई के भन्नु र खोइ ?

 

तिमि गर मोज ! जनता बस्छन् रोइ ??

 

(घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन्।)

99Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: