मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिकको आँखामा ऋग्वेदका जीव-वैज्ञानिक भावार्थहरू।

नारायण घिमिरे

ऋग्वेदका जीव वैज्ञानिक भावार्थहरू — भाग ३

एकादेशमा एक कालमा एउटा घरमा बिरालो पालेको थियो। घरमा मृतकको श्राद्ध गर्दा बिरालोले छोइछिटो गर्ला भनेर बिरालोलाई खम्बामा बाँधेर पितृ श्राद्ध गर्ने गर्दथे त्यो घरका जेठ्दाई ।जेठ्दाईको जेठो छोरो गोपालकृष्णे लाई आफु सात वर्षको हुँदा आफ्नो बुबाले पितृ श्राद्धमा बिरालोलाई खम्बामा बाँधेर कार्य सम्पन्न गरेको आफैले देखेको आज सम्म याद छ। गोपालकृष्णे स्कुलको पढाई पुरागरी आइएस्सी पढ्न काठमाडौँ पुग्यो। घरबेटीको छोरी सँगको लसपस बाहिरिएर करकापमा ललिता संग बिहे गरेको गोपालकृष्णे कुकको जागिरमा बेलायत हानियो घरबेटी सासूको पैसामा उनैकि छोरि ललिता सँगै।

 

रेस्टुरेन्टमा कुकको काम गर्दै गर्दा पिताको पहिलो श्राद्धको तिथि आजै रहेको भनी गोपालकृष्णे लाई ललिताको फोन आयो। लोकल पण्डित श्रीले श्राद्धको समान सबै बेच्ने हुँदा समान सहित श्राद्ध गरिदिन आउन पण्डित श्री लाई भनियो। आउने जाने १० पौण्ड, श्राद्धको १५ पौण्ड, सामानको १० पौण्ड तथा खानामा आधा लिटर दूध र चार वटा केरा खुवाउने सर्तमा पण्डित श्री आउन राजि भए।

 

समान सहित पण्डित श्री आउने भएकोले अन्य: टन्टा सकियो। गोपालकृष्णे लाई बिरालोको चिन्ता भयो। उसले बुझेको उसको घरको चलनमा पितृ श्राद्धमा खम्बामा बिरालो बाँध्नु अनिवार्य थियो। लन्डनमै एक बिरालो पाल्ने अफ्रिकन मूलकी सिना भन्ने नाम भएकी आप्रवासी गोपालकृष्णेको अगाडिको कोठामा बस्दथी। उसले बिरालो पालेकी थिई। उपाय नलागेपछि गोपालकृष्णेले सिना सँग आफ्नो समस्या राख्यो। सिनाले बिरालो लाई कुनै पनि खाने कुरा खुवाउन नपाउने सर्तमा सय पौण्ड भाडामा २ घण्टा बिरालो बाँधेर राख्न पाउने सहमति बन्यो।

 

पण्डित श्री समयमै आइपुगे। गोपालकृष्णेले सिना सँग बिरालो मागेर ल्यायो र खम्बामा बाँध्यो। पण्डितले त्यो बिरालो नचाहिने भन्दा गोपालकृष्णेले पण्डित लाई पैसाको लागि मात्र काम नगर, पितृ परत्र सार्ने क्षमता समेत विकास गर भन्ने सल्लाह दियो। मैले नजानेको भए त डुबाउने रहेछौ सम्म भन्न भ्यायो। ललिताले पण्डित श्री ले बताएको कुरा त ठिकै हो किन नचाहिने काममा सय पौण्ड खर्च गरेको भनिन। गोपालकृष्णेले ललिता लाई  नजानेको नबुझेको विषयमा नबोल्न सुझायो।

 

बिरालो बाँधेर पितृ श्राद्ध सम्पन्न भयो। गोपालकृष्णे लाई आफू सबैभन्दा जान्ने प्रमाणित गर्न पाएकोमा खुबै आनन्दको महसुस भयो। २ घण्टा बिरालो भाडामा लिए बापत सय पौण्ड भाडा स्वरूप सिनाले पाउने सर्त रहे पनि फुर्केर गोपालकृष्णेले २० पौण्ड टिप्स सहित १२० पौण्ड सिनाको हातमा थ्यान्कु म्याडम भनी थमायो। त्यो दिन गोपालकृष्णे र  सिना दङ्ग देखिन्थे। पण्डित श्री र ललिता अचम्ममा परे। कुरो सकियो। गोपालकृष्णेको बिरालोलाई खम्बामा बाँधेर पितृ श्राद्ध गर्ने चलन आज पनि चालु छ। उसले आफ्नो सन्तानलाई पनि यो हाम्रो चलन हो नछोड्नु भनी सिकाएको छ। देखेको छ। उसलाई लाग्छ उसको चलन उसका छोराछोरी हरुले समेत भविष्यमा नियमित राख्ने छन्।

 

गोपालकृष्णेको परिवारमा आज बिरालोलाई खम्बामा बाँधेर पितृ श्राद्ध गर्ने जुन चलन चलेको छ ठिक त्यस्तै हाम्रा वेदका मन्त्रहरू मन्त्रको रूपमा जप्न मात्र अस्तित्वमा रहेको मान्यता हाम्रो समाजमा विकास भएको छ। दैनिक मन्त्र उच्चारण गरे धर्म हुने ठानिन्छ। दैनिक मन्त्र उच्चारण गर्ने, खास-खास तिथि-मितिमा पण्डित र ब्राह्मणलाई ल्याएर टिका टालो गरी दक्षिणा टक्र्याउने र मिठो भोजन गर्ने गर्दा त झन् मरणोप्रान्त सिधै स्वर्ग पुगिने विश्वास गरिन्छ।

 

अर्काको खेतको पानीको पालो मिचेर पाखुरा सुर्क्याउदै कोदाली ताकेर थर्काउँदै आफ्नो खेतमा पनि लगाएको पाप होस् वा राती राति अर्काको भागको पनि चोरेको कसुर। अरूले नदेख्दा घाँस चोरेर काटेको कसुर होस् वा राजस्व  मारेर काठमाडौँमा घर-घडेरी जोडेको अपराध। सबै पण्डित र ब्राह्मणलाई खुसी बनाउँदा आउने ब्राह्म-वाक्य तथास्तु वाट काटिने गहिरो छापमा धेरैको पाप कार्य सुचारु राख्ने र त्यसवापत चोखिन  नियमित पुजा आजा गर्ने चलन बसेको छ। जहाँ पाप त्यहाँ फलिफापको नयाँ नेपालको मन्त्रले मुलुकलाई गाँजेको छ।

 

पुलिस प्रशासन र अदालती कारबाही वाट बच्न टोल-टोल र गाउँ-गाउँ सम्म ठुला राजनैतिक पार्टीका नेताका प्रतिनिधिको संरक्षणमा रहेका ठुटे नेताहरू कमिला सरि छ्याप छ्याप्ती भेटिन्छन। अलिकति कुरो मात्र चुहाई दिनुपर्छ। सेवा गर्नेको हानथाप परिहाल्छ। वास्तवमै राणा कालिन सिंहदरबार टोल-टोल र गाउँ-गाउँ सम्म पुगेको अनुभूति हुन्छ। बढीमा सत्तरी प्रतिशत सम्म कमिसन जाला । सबै प्रकृतिको अपराध वाट सजिलै जोगिन सकिनेमा कुनै चिन्ता रहन्न। पैसा खर्च गर्न सक्ने लाई निजी स्वतन्त्रता र समाजवादको गहिरो अनुभूति गर्ने अवसर प्राप्त हुन्छ।

 

समाजका विद्वत्तम वर्गहरूमा वेद जस्ता श्रुतिहरू कुनै ऐतिहासिक दस्ताबेज नरहेर सृष्टिको प्राकृतिक संरचनाको निर्माणको नियमहरू उल्लेखित प्राकृतिक विज्ञान सम्बन्धको ज्ञानको सिद्धान्तका महान् वाणीहरू रहेको यथार्थता प्रस्टाउन त्यहाँ उल्लेखित विषय वस्तुहरू वारेको वैज्ञानिक दृष्टिकोण बाहिर आउन जरुरी देखियो। त्यसै सन्दर्भमा विज्ञानले समेत पहिचान गरी प्रमाणित गरिसकेको वेदका गहन भौतिक (Physics), मनोबैज्ञानिक तथा आध्यात्मिक पक्षहरूलाई वैज्ञानिक दृष्टिकोण वाट मूल्याङ्कन हेर्दा बुझिने र महसुस गरिने भावार्थहरूको सँगालो यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ।

 

ऋग्वेद मन्त्र १.३८.१

कद नूनं कधप्रियः पिता पुत्रं हस्तयोः |
दधिध्वे वर्क्तबर्हिषः ||

 

भावार्थ: भर्खरै काटिएको घाँसलाई सोतरको रूपमा माटोमा मिल्न दिँदा घाँस मिश्रित सोतरले घाँसमा रहेका जीवाणुहरूले जन्मजात रैथाने सूक्ष्म जीवहरू माटोको भित्री तह सम्म पुग्न र त्यहाँ रहेका तत्त्वहरुलाई बिखन्डन गरी माटोको उर्वरतामा विकासमा सहयोग पुर्याउदछ। जसरी कुनै एक अभिभावकले आफ्नो सन्तानलाई हुर्काउँदा बहु-आयामिक  हेरचाहका साथ जरुरत पर्ने सम्पूर्ण पालन पोषणको कार्य पुरा गर्दछन् त्यस्तै जमिनमा फैलिएर रहने सूक्ष्म जीवहरूले माटोको उर्वरताको अभिवृद्धि देखि सम्पूर्ण तहको वातावरणको हेरचाह र संरक्षण गर्न भूमिका खेल्दछ।

 

(नोट: आधुनिक विज्ञानको निचोडमा हरेक स्थानमा रहेका रैथाने सूक्ष्म जीवहरू उक्त स्थानका जन्मजात माइक्रोबियल कन्सोर्टियमको समूह हो। उक्त सूक्ष्म जीवहरूको समूह माटो भित्र र बाहिरका सबै जीवित वस्तुहरूको सतहमा बसोबास गर्ने गर्दछ। जसले बायोडिग्रेडेशन, बायोलिचिंग, बायो कम्पोस्टिंग, नाइट्रोजन फिक्सेशन, माटोको उर्वरता सुधार गर्ने र प्लान्ट ग्रोथ हर्मोनको उत्पादनको समेत क्षमता राख्छ। यी सूक्ष्म जीवहरू बिना इकोसिस्टम नचल्ने र पृथ्वीमा प्राणीको अस्तित्व समेत कायम राख्न सम्भव रहँदैन। वेदमा उल्लेखित यो मन्त्रले जगतको वातावरण लाई जीवहरूको आवश्यकता पूर्ति गरी बाँच्न योग्य बनाउन  रैथाने सूक्ष्म जीवहरूको समूहको देन र प्राङ्गारिक मल, भर्मी कम्पोस्ट जस्ता प्रविधि वारेको सिद्धान्तको व्याख्या गरेको छ।)

 

 

ऋग्वेद मन्त्र १.३८.२

कव नूनं कद वो अर्थं गन्ता दिवो न पर्थिव्याः |
कव वो गावो न रण्यन्ति ||

 

भावार्थ: रैथाने सूक्ष्म जीवहरूको कन्सोर्टियमको समूह अन्तर्गतका सूक्ष्म जीवहरू तथा तिनका गतिबिधिहरु लाई के ले उत्प्रेरित गर्दछ र तिनीहरू कुन स्तर सम्म परिचालित हुन सक्दछ भन्ने सम्बन्धमा बुद्धिमान दक्ष विज्ञहरू सूक्ष्म जीवहरूको गुण तथा व्यवहारहरू बारेमा गरिरो अध्ययन तथा अनुसन्धान गरी यकिन गर्न जरुरी हुनेछ। तिनीहरू आन्तरिक, बाहिरी र बाह्य अन्तरिक्षको श्रोत बाट समेत आउन सक्ने क्षमता राख्ने हुँदा पृथ्वीमा अथवा तोकिएको क्षेत्रमा आइपुग्ने सम्पूर्ण सूक्ष्म जीवहरू त्यहाँको सम्पूर्ण जीवनहरूको कल्याणको लागि मात्र परिचालित बनुन् भनी यकिन हुनु जरुरी हुनेछ।

 

ऋग्वेद मन्त्र १.३८.३

कव वः सुम्ना नव्यांसि मरुतः कव सुविता |

कव विश्वानि सौभगा ||

 

भावार्थ: सूक्ष्म जीवहरू र सूक्ष्म कणका रूपमा रहेका क्वान्टम पार्टिकलहरू पृथ्वी लगायत ब्रमाण्डमा सम्भव हुने हरेक उत्कृष्ट नतिजा दिने प्रविधिहरू पछाडिको रहस्यको रुपमा अस्तित्वमा छन्।

 

(नोट: वैदिक माइक्रोबायोलोजीले क्वान्टम पार्टिकलहरू समेतलाई ब्याक्टेरिया, भाइरस समेत निर्मित हुने सूक्ष्म कण युक्त प्राण विहीन गतिशील सूक्ष्म जीव मान्दछ। जुन विज्ञानको अवधारणाको विपरीत देखिँदैन।)

 

ऋग्वेद मन्त्र १.३८.४

यद यूयम पर्श्निमातरो मर्तासः सयातन |
सतोता वो अम्र्तः सयात ||

 

भावार्थ: सूक्ष्म जीवहरू आफैमा अमर रहने प्रकृतिको हुदैनन्। तर पनि  सूक्ष्म जीवहरूको सहयोगमा नियमित रूपमा विकसित हुने जैविक, सामाजिक र सांस्कृतिक संरचनाको विकासको चरण सँगै निर्मित उन्नत सभ्यताहरू सँगै सूक्ष्म जीवहरू आफै अमर रहने वातावरणको विकास गरिदिन्छ।

 

ऋग्वेद मन्त्र १.३८.५

मा वो मर्गो न यवसे जरिता भूद अजोष्यः |

पथा यमस्य गाद उप ||

 

भावार्थ: सूक्ष्म जीवहरूको समयोचित र  प्रभावकारी उपयोग हुनसक्ने गरी विकसित  जीवन यापन अङ्गीकार गर्ने रणनीतिको अनुसरण वाट भोक र रोगको कारण मृत्यु वरणको सामना गर्नु पर्ने अवस्थाको अन्त गर्न सम्भव बन्छ।

 

ऋग्वेद मन्त्र १.३८.६

मो षु णः परा-परा निर्र्तिर दुर्हणा वधीत |

पदीष्ट तर्ष्णया सह ||

 

भावार्थ: हावाको चिस्यान रोगाणु बोक्ने मुख्य सवारी बन्ने र सङ्क्रामक रोगको  फैलावटको कारक बन्न सक्ने सम्भावना लाई सूक्ष्म जीवहरूले मरुभूमिमा समेत चिस्यानलाई वर्षामा परिवर्तन गरी बर्साद गराउने कार्य सम्पन्न गरी विफल तुल्याउँछ।

 

 ऋग्वेद मन्त्र १.३८.७

सत्यं तवेषा अमवन्तो धन्वञ चिद आ रुद्रियासः |

मिहं कर्ण्वन्त्य अवाताम ||

 

भावार्थ: शक्तिशाली माइक्रोबियल गतिविधिहरूले पानीको चिस्यानलाई बादलमा परिवर्तन गरिदिन्छ। अन्यथा पानीको चिस्यानलाई हावाले उडाइदिएर अन्यत्र पुर्‍याइदिन्छ।

 

ऋग्वेद मन्त्र १.३८.८

वाश्रेव विद्युन मिमाति वत्सं न माता सिषक्ति |

यद एषां वर्ष्टिर असर्जि ||

 

भावार्थ: जसरी शरीर भित्र विकास गरिएको प्राकृतिक वायोलोजिकल इन्जिनियरिङ प्रविधिको उपयोग वाट गाइले आफ्नो सन्तानको गर्भधारण गर्ने, पेटमा बोक्ने र अन्तमा जन्माउने क्रम पुरा हुन सम्भव बन्दछ त्यसरी नै अलि फरक प्रकृतिको पानी, पानीको बाफ, हावा, बरफ विद्युतीय चार्ज, बिजुली र गर्जनको संयोजन वाट इन्जिनियरिङ भएको प्राकृतिक विधिको सदुपयोग वाट बादल बन्ने, फैलने र बर्साद हुने प्रक्रिया सम्भव बन्दछ।

 

(नोट:  बादल भित्रको बाफ पानीका थोपाहरूमा परिवर्तन हुने क्रममा एक कण अर्को कण सँग मिल्ने क्रममा थोपा बन्दछ। बादल भित्रको चिसो वातावरणमा पुगेको पानीको बाफ साना बरफको कणहरूमा परिवर्तन हुने क्रममा कणहरू तथा पानीको थोपा  एकापसमा  टकराउन पुग्दा त्यहाँ विद्युतीय चार्ज उत्पन्न हुने, बिजुली बन्ने र बिजुली सर्ट सर्क्युटिंग हुने क्रममा मेघ गर्जन वा ध्वनि पैदा हुन्छ। विद्युतीय भोल्ट, बिजुली प्रवाह, प्रकाशको किरण र आवाजको संयुक्त गतिविधिका कारण थोपा थोपा पानीमा परिवर्तन हुन्छ र जब गर्हौ बन्छ वर्षाको रूपमा पृथ्वीमा खस्ने वातावरण बन्दछ। बादलमा परिणत भएको पानीको बाफ अत्यन्त चिसो बन्दा पानी वा बरफको रूपमा खस्दछ। बादलको बरफ वर्षाको रूपमा परिवर्तन हुन्छ र पृथ्वीमा झर्दछ।)

 

ऋग्वेद मन्त्र १.३८.९

दिवाचिततमःकर्ण्वन्तिपर्जन्येनोदवाहेन| यत पर्थिवीं वयुन्दन्ति ||

भावार्थ: प्राकृतिक रूपमा इन्जिनियर गरिएको प्रविधिले आकाशमा बादलको उत्पत्ति देखि बर्साद गराउन सम्भव पार्दछ। वर्षाद हुँदा आकाशको कालो बादलका कारण बनेको अँधेरो दिन उज्यालो दिनमा परिवर्तन हुन्छ। बर्सादले जमिनको बहु-आयामिक क्षमताको पुनः इञ्जिनियरिङ्ग गर्न सहयोग पुर्याउछ।

 

(नोट: बर्सादले माटोलाई फैलन र प्राकृतिक गुणको पुनर्ताजकीकरणमा सहयोग गर्ने तथा माटोको संरचनामा परिवर्तन ल्याउन भूमिका खेल्दछ। पानीको थोपाहरू माटोको भित्रीतह सम्म पुग्ने क्रममा माटोमा रहेका प्राङ्गारिक मल,  नाइट्रोजन, पोटेशियम, क्याल्सियम, म्याग्नेसियम, र सल्फर जस्ता पोषक तत्त्वहरू माटोको विभिन्न तहमा पुग्ने, माटोको सामग्रीहरू, माइक्रो वायोमहरु, माटोको सतह, बनावट, पानी सोस्ने समाउने क्षमता अम्लीय तथा क्षारीयपन आदिका आन्तरिक सुधार गरिदिन्छ। माटोको समग्र संरचना, उर्वरता तथा बहु आयामिक क्षमतामा पुनः इञ्जिनियरिङ्ग सम्भव बन्छ।)

ऋग्वेद मन्त्र १.३८.१०

अध सवनान मरुतां विश्वम आ सद्म पार्थिवम |

अरेजन्त पर मानुषाः ||

 

भावार्थ: मेघ गर्जन सहितको डरलाग्दो घना वर्षा पृथ्वी तथा पृथ्वीका सम्पूर्ण जीवनलाई पुनर्ताजकीय  शक्ति प्रदायक हुन्छ।पृथ्वीको भित्री तथा बाहिरी भागहरूमा उथलपुथल निर्माण गर्ने तागत राख्ने उक्त प्राकृतिक प्रविधि सम्पूर्ण जीवनलाई नयाँ दिशा प्रदान गर्न सहजकर्ताको भूमिकामा रहन्छ।

(नोट: आकाशमा उत्पन्न भएका ध्वनिका छालहरू जुन दिशामा जान्छन् हावाका कणहरू समेत त्यही दिशातर्फ सर्ने गरेता पनि ती कणहरू छालको रूपमा चल्दैन, मात्र ध्वनिलाई एक बिन्दु वाट अर्को बिन्दुमा सार्न सहयोगी बन्छ। सो क्रममा त्यहाँ हावाका लहरहरू पैदा नभई एक अर्का सँग टाढा रहेका कणहरू नजिक खिचिने गर्दछ। बाफ भए तिनीहरू समेत नजिक आउने र चिसो भए बाफ जोडिएर बरफको कण बन्ने स्थिति बन्छ।

 

आकाश वाट हावा हुँदै धर्ती सम्म पुग्ने ध्वनि एउटा ग्यास वा तरल वा ठोस अवस्थामा रहेको अणुहरूको एउटा समूहलाई उत्प्रेरित गरी अर्को समूहलाई हिर्काउने क्रम दोहर्‍याउँदै सर्वत्र पुग्न र सारा जीव जन्तुहरूमा कम्पनको महसुस गराउन सम्भव तुल्याउँछ। बर्साद अघि वा सँगैको चट्याङ्गको आवाजले सम्पूर्ण प्राणी हरुलाई सम्भावित पानी, असिना, हुरी बतास र बाडी आदि बारे सचेत समेत गर्दछ।

 

भौतिक विज्ञान अन्तर्गतको प्रकृतिको नियमको अन्तिम सत्यले बताउँदछ कि पृथ्वीका सबै कुरा अन्ततः मात्र कम्पन द्वारा निर्मित छ। सम्पूर्ण संसारको कम्पन मात्र हो। जब आकाशमा उत्पन्न भएका ध्वनिका छालहरू मार्फत निर्मित कम्पनहरू जीवको शरीर भित्र सर्दछ भित्री संवेदनाहरूको प्रवाह हुन्छ। अनगिन्ती कम्पनहरूको अनन्त नृत्यरुपी शरीरको हरेक परमाणु भित्रको क्वान्टम पार्टिकलहरू  पुनर्ताजकीय  शक्तिको प्रवाह हुन्छ। निरन्तर परिवर्तनशील क्वान्टम पार्टिकलका गतिहरूलाई युनिभर्सल क्वान्टम फिल्ड अन्तर्गत पुन हार्मोनी ल्याउने गरी इञ्जिनियरिङ्ग गर्न प्रमुख सहजकर्ताको भूमिका निभाउँदछ। ध्वनिका निश्चित ब्यान्डका अधिक फ्रिक्वोइन्सीका कम्पनहरू जीवको लागि हानिकारक समेत हुन्छन्।

 

जीवनको लागि फस्फोरस नभई नहुने तत्त्व हो। शरीर निर्माण, वृद्धि तथा प्रजनन मार्फत सन्तान उत्पादन जस्ता जीवनका हरेक प्रक्रियामा फस्फोरसले महत्त्वपूर्ण भूमिका देखिन्छ। खनिजमा रहेका फस्फोरसहरू पानीमा घुलन सक्दैन। बर्सादको मेघ गर्जने क्रममा पैदा हुने बिजुलीको चमक वाट निस्कने प्रकाशको प्रहारबाट पानीमा अघुलनशील फस्फोरस पानीमा घुलनशील प्री-बायोटिक फस्फोरसमा परिवर्तन हुन्छ।

 

बिजुलीको चमकको प्रहार जीवनका लागि आवश्यक पर्ने प्रीबायोटिक फस्फोरसको निर्माणमा सहयोगी बन्छ। प्रारम्भिक चरणमा पृथ्वीमा जीवको उत्पत्तिको एक कारक रहने देखि आज सम्म बिजुलीको चमकले जीवनको अस्तित्व कायम गर्न सम्म प्रमुख सहजकर्ताको भूमिका खेलेको बुझिन्छ। बिजुलीले सामान्यतया नकारात्मक चार्ज बोक्दछ। गड्याङ्ग-गुडुंगको क्रममा पृथ्वी सम्म पुग्ने बिजुलीका नकारात्मक चार्जहरूले पृथ्वीको वायुमण्डलीय चार्जहरूको सन्तुलन गर्ने र ओजन उत्पादन गर्ने रसायनहरूको समेत निर्माण गर्न समेत सहयोग गर्दछ।)

(बाँकी क्रमशः अन्य अङ्कमा …………………)

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

143Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: