मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्विज्ञान: क्वान्टम त्रिदोष

नारायण घिमिरे

आयुर्वेदको मान्यतामा संसारका हरेक बस्तु सम्पूर्ण पन्च तत्त्व मतलब आकाश तत्त्व, बायु तत्त्व, अग्नि तत्त्व, जल तत्त्व र पृथ्वी तत्त्व वाट निर्मित हुन्छ। पन्च तत्त्व निर्मित मानव शरीरको हकमा हरेक तत्त्वले मानव स्वस्थमा पार्ने असर तत्त्व पिच्छे फरक फरक प्रकृतिको हुने गरेको भेटिँदैन। पाँचवटै तत्त्वहरू आपसमा मिल्दा बन्ने मिश्रणको प्रकृतिको आधारमा पन्च तत्त्वले मानव स्वस्थमा खेल्ने भूमिकाको निर्धारण हुने गर्दछ।

 

पाँचवटै तत्त्वहरू आपसमा मिल्दा पनि ति तत्त्वहरूको फरक फरक मात्रामा हुने संयोजनले तिन फरक-फरक प्रकृतिको मिश्रणको विकास गर्ने गर्दछ। जब तिनै प्रकारका मिश्रणहरूको संयोजन शरीरको अनुकूल हुने गरि सन्तुलित रहन्छ त्यसलाई प्राकृतिक सन्तुलन कायम रहेको वा निरोगीपन भएको मानिन्छ।

 

जब तिन प्रकारको मिश्रणहरूको संयोजन शरीरको अनुकूल हुने गरि सन्तुलित देखिदैन र कुनै निश्चित मिश्रणको अधिकता रहने गरी शरीरको संरचना निर्माण बनिदिन्छ तब त्यहाँ विकृति वा रोग पैदा हुने परिस्थितिको विकास हुन्छ।

 

जिनको कारण पैदा हुने विशेषताहरू मानिसमा प्रकृतिले संयोजन गर्दछ।मानिसको भौतिक, जैविक र मानसिक वा आध्यात्मिक लक्षणहरुको निर्धारण जिनको कारण हुने गर्दछ। स्वतन्त्र सामाजिक, जातीय र भौगोलिक चरित्रको निर्माणमा समेत प्रकृतिको भूमिका रहन्छ। शरीरमा वात दोष मुलत चाल/गतिशीलता बाट, पित्त पाचन बाट र कफ शरीरमा पदार्थहरूको जोगाड बाट उत्पन्न हुने ठानिन्छ। फरक फरक दोषहरुको फरक फरक प्रवृत्ति र विशेषताहरू रहने गर्छ।

 

हरेक मानिसको आफ्नै जन्मजात प्रकृति हुने गर्छ। मानिसमा जन्मजात विकृतिहरू पनि रहन सक्छ। आयुर्वेदिक अभ्यासमा मानिसको जन्मजात प्रकृति पहिचान गर्न सक्दा के के कुरा चाही बिकृति हो भनी यकिन गर्न सहज हुने ठानिन्छ। रोग लागेको मानिसको व्यक्तिगत उपचारको लागि सबैभन्दा पहिले उसको आन्तरिक प्रकृतिको पहिचान हुनु अपरिहार्य मानिन्छ।

 

आयुर्वेदले परिकल्पनाको प्रकृति यथार्थमा आधुनिक विज्ञानको आनुवंशिक विविधता, एक डिएनए सिक्कोईन्समा देखिएको फरक पनका कारण एमिनो एसिड र प्रोटिन एकै प्रकारको हुँदा पनि फरक रोग पैदा हुन सक्ने, निश्चित ओखती र वातावरण विरुद्ध फरक प्रतिक्रिया पैदा गर्न सक्ने सम्भावना, ईन्फ्लेमेटरी र अक्सिडेटिभ तनाव सम्बन्धित जिनहरू, एउटा रगतको समूह लाई अर्को रगतको समूह भन्दा भिन्न बनाउने एन्टीजिनहरु, डिएनएको आधारभूत सिक्कोईन्समा हुने परिवर्तन, मुटु, रक्त सञ्चार सम्बन्धका र रोग प्रतिरोधात्मक क्षमतामा हुने कमजोरी पना आदिको समग्र पनलाई नै बुझाउदछ।

 

आयुर्वेदिक दर्शन अनुसार मानिस आफ्नै विशिष्ट प्राकृतिक संरचना र आनुवंशिक गुण लिएर जन्मेको हुन्छ। शारीरिक र मनोवैज्ञानिक विशेषताहरूको अद्वितीय संयोजन वाट मानिसको अद्भुत प्रकृतिको निर्माण हुने हुँदा प्रत्येक व्यक्तिको गर्ने कार्य र प्रदर्शन गर्ने चरित्र लाई उसको जन्मजात आफ्नो जीवन भर अपरिवर्तनीय प्रकृतिले प्रभाव पारिदिन्छ।

 

हरेक व्यक्तिको जन्मजात प्रकृति जीवन भर समान रहने भए तापनि विभिन्न आन्तरिक, बाह्य तथा वातावरणीय कारकहरूले त्यसलाई नियमित असर पारिरहेको हुन्छ। जस्तै दिन र रात, मौसमी परिवर्तन, आहार, जीवनशैलीका विकल्पहरू आदिले मानिसको प्रकृतिलाई अधिक प्रभावित पारिदिने गर्दछ। मानिसको व्यक्तिगत दोषहरूमा आउने निरन्तर उतार चढावका कारण जन्मजात प्रकृति नियमित प्रवाहमा रहने गर्छ। जसलाई उसको दैनिक खाना, व्यायाम / योग तथा जीवन पद्दति, वातावरण आदिले निश्चित प्रभावमा लिन सक्दछ।

 

आयुर्वेदमा बिरामीको रोकथाममा अनुकूल सन्तुलन सिर्जना गर्नको लागि मानिसको दैनिक दैनिक आहार, व्यायाम/योग तथा जीवन पद्दति, वातावरण, मौसमी वातावरण, जीवनशैलीका विकल्पहरू आदिको व्यवस्थामा विशेष ध्यान दिएर शरीरको स्वास्थ्य कायम राख्न सिफारिस गर्ने गरिन्छ।

 

हरेक मानिस जन्मँदैमा सम्पूर्ण दोषहरूको संयोजन सहित जन्मेको हुन्छ। तिन दोषहरूमा हरेक मानिसमा कुनै विशेष दोष अर्को भन्दा धरै प्रभावकारी रहेको भेटिन्छ। जुन दोषको अधिक प्रभावकारितामा मानिसको जन्म भएको हुन्छ त्यो दोष उसको दोषको प्रकृति बन्दछ। दोषको प्रकृतिको प्रभावले मानिसमा आफ्नै निजी प्रकारको विशेष शारीरिक, मानसिक, र भावनात्मक विशेषताहरूको निर्माण हुने गर्दछ।

 

जस्तै त्रिदोष मध्ये जब एक दोष शरीरको नियन्त्रणमा बाकी दोषहरू भन्दा धेरै प्रभावशाली बन्न पुग्छ त्यो बेला धेरै प्रभावशाली दोषले दिमागमा आफ्नै प्रकृतिको भावनात्मक उतार चढावहरू विकास गर्न, दैनिक नियमित गतिविधिहरूमा आफ्नै चरित्रको परिवर्तन ल्याउन अहम भूमिका खेलिदिने आदि गर्दछ। जसका कारण प्रभावशाली दोष अनुरुपकै दिमाग र शरीरको प्रकारको निर्धारण हुन पुग्छ।

 

आकाश तत्त्व र बायु तत्त्व अधिक हुने गरी पन्च तत्त्वबाट निर्मित शरीरको भागको सुक्खा, हल्का, चिसो, चलायमान युक्त चरित्रको हुने गर्छ। जसले वात दोष को निर्माण गर्दछ।

 

तातो, चम्किलो, प्रकाश युक्त, तरलता भएको, तेलीय पनको गुणको पित्त दोष मा भने अग्नि र जल तत्त्वको अधिकता रहने गर्दछ। गह्रुङ्गो, निष्क्रिय, ढिलो पन, तरल, तेलीय पनको गुण दिने कफ दोष मा भने जल तत्त्व र पृथ्वी तत्त्वको अधिकता रहने गरी संरचनाको विकास भएको हुन्छ।

 

त्रिदोषको जगको मान्यतामा उभिएको आयुर्वेदको भित्री रहस्य बुझ्न समकक्षी वैज्ञानिक अवधारणा सहित त्रिदोषहरूको आन्तरिक शुक्ष्म रहस्य खोतल्न अनिबार्य हुनेछ।

 

के हो त्रिदोष ?

 

चरक संहिता र अष्टाङ्ग समग्रहमा आधारित रहेर आयुर्वेदिक मान्यताको विशाल मानव प्रणालीको कार्य पद्धतिलाई वात, पित्त र  कफ गरी तीन वटा आधारभूत मनोबैज्ञानिक तथा भौतिक (मोनो-भौतिक) कार्यहरूमा विभक्त गर्न सकिन्छ। हरेक मोनो-भौतिक कार्यहरूलाई तिनीहरूको कार्य सञ्चालनमा मद्दत पुर्‍याउने अन्य साना-साना कार्यहरूका आधारमा छुट्टै सह-कार्यहरूमा समूहकृत गर्न सकिन्छ। जहाँ आधारभूत रूपमा वातले गतिशीलता, पित्तले रूपान्तरण र कफले जग निर्माण र वृद्धि जस्ता मोनो-भौतिक गतिविधिहरू लाई जनाउँदछ।

 

वात, पित्त र कफ अन्तर्गत शारीरिक मात्र नभएर मनोवैज्ञानिक मापदण्डहरू जस्तै उत्साह, स्मरण, बुद्धिमत्ता, सहनशीलता, इत्यादि  समेत पर्दछन। जस्तै वात अन्तर्गत भौतिक शरीर जीवित रहन आवश्यक हुने सबै प्रकारको गति/गतिशीलताहरू तथा मानसिक वा मनोबैज्ञानिक विचारहरूको गति तथा गतिशीलता आदि समेत पर्दछ। त्यस्तै पित्त अन्तर्गत शारीरिक र मानसिक तहमा भेटिने सबै प्रकारका पाचन र रूपान्तरणका गतिबिधिहरु पर्दछ।

 

यस प्रकार त्रिदोषले हरेक व्यक्तिको शारीरिक र मानसिक पक्ष समेट्दछ। त्रिदोष अन्तर्गतको ३ दोष र तिनीहरूको उप-वर्गीकरण अन्तर्गत पर्ने १५ सह-दोषहरू एक आपसमा मिलेर हरेक व्यक्तिको मोनो-भौतिक गुणहरू विकास हुन्छ। तिनै मोनो-भौतिक गुणहरूका कारण हरेक व्यक्तिको समग्र मोनो-भौतिक कार्यहरू सञ्चालनमा आउन सम्भव बन्दछ।

 

मोनो-भौतिक कार्य वात अन्तर्गत शरीर र दिमागमा गतिशीलता सम्बन्धका सबै गतिबिधिहरु पर्दछन। शरीरका विभिन्न प्रणालीहरू जस्तै अस्थिपञ्जर, श्वासप्रश्वास, प्रजनन, उत्सर्जन, रक्तसञ्चार, पाचन प्रक्रिया (खाना, पाचन तत्त्व आदिको परिचालन) जसले शरीरका सबै भौतिक अङ्गहरूमा गतिशीलता दिने काम गर्दछ तिनीहरू वात अन्तर्गत पर्दछ। त्यस्तै मनोबैज्ञानिक रूपको इन्द्रियहरू बाट प्राप्त अनुभव, महसुस लगायत उत्सुकता, उत्साह, भावना, चाहना आदिको समन्वय गर्ने, तथा सबै प्रकारका आन्तरिक, बाह्य र मनोवैज्ञानिक गतिशीलताका कार्यहरू लाई उत्प्रेरणा दिने सबै गतिविधिहरू वात अन्तर्गत पर्दछन।

 

पित्त अन्तर्गत सबै मेटाबोलिक प्रक्रियाहरू अर्थात खानालाई शरीर सञ्चालन र निर्माणका लागि जरुरी हुने पदार्थमा परिवर्तन गर्ने सबै कार्यहरू पर्दछन। जसलाई मुख्यतः पाचन (खाद्य पदार्थ, पोषण तत्त्व आदिको रूपान्तरण) प्रक्रिया ठान्ने/भन्ने गरिन्छ। भौतिक वा शारीरिक स्तरमा मुलत: खाना/ओखतीको रूपान्तरण पित्त प्रक्रिया हो। मानसिक स्तरमा ज्ञान, विचार, मनोभावना आदिको ग्रहण पश्चातको प्रशोधन प्रक्रिया पर्दछ। मोनो-भौतिक गतिविधि पित्त शरीरमा शक्ति, तातो-पना, भोक, बिचार, स्मरण, चाहना, साहस, लडाकुपन, वीरता आदिको व्यवस्थापन गर्न जिम्मेवार रहन्छ।

मोनो-भौतिक गतिविधि कफ भने भौतिक रूपमा शरीरको स्थिरता, जोर्नीहरूको बिचमा संयोजन, दरिलो-सम्पर्क, लुब्रिकेशन वा चलायमान हुनको लागि जरुरी हुने चिप्लोपन आदिको नियन्त्रणको लागि जिम्मेवार रहने गर्छ। मनोबैज्ञानिक रूपमा बुद्धिमत्ता (बुद्धि) तथा रचनात्मकताको विकासमा मोनो-भौतिक गतिविधि कफ जिम्मेवार रहन्छ।

 

सारांशमा कफले शरीरको संरचनात्मक आधारको निर्माण गर्दछ।  शरीरको संरचना अन्तर्गत शरीरका विभिन्न संरचनाहरू बिच आकर्षण, एकता, कायम गर्ने देखि पोषण तत्त्वको जगेडा गर्ने, शक्ति, ऊर्जा र मजबुत कामिक्षाको सङ्ग्रह गर्ने आदि काम गर्दछ। मनोबैज्ञानिक रूपमा धैर्यता, आत्म-नियन्त्रण शक्ति, संयम, सहिष्णुता, सहनशीलता आदिको विकास गर्ने कार्यहरूमा कफले भूमिका खेल्दछ।

 

त्रिदोषले मानव जीवनको शारीरिक, मानसिक र अध्यात्मिक पक्षको निर्माण गर्न निर्णायक भूमिका खेल्दछ। ब्रमाण्डको विशुद्ध प्रकृतिको शक्ति वाट आकाश (खालि स्थान उपलब्ध गराउने गुण बोकेको), बायु (हावा जस्तो चलायमान चरित्रको), अग्नि (प्रकाश र ताप जस्तो शक्ति दायक गुणको), जल (पानी जस्तो शान्त, ओसिलो, तरलताको गुण युक्त) र पृथ्वी (जमिन जस्तो जड वा निष्क्रिय गुण युक्त) तत्त्वरूपी शक्ति बन्ने गर्दछ। जसलाई पन्च तत्त्व भन्ने गरिन्छ।

 

संक्षेपमा आयुर्वेदमा वात दोषमा शक्ति र गतिशीलताको विकास हुने गर्छ। पित्त दोषमा प्रकाश र परिवर्तन देखिन्छ। कफ दोषमा भने कुनै पनि जडता युक्त पदार्थ वा पिण्डको सुरक्षित पन देखिन्छ। विज्ञानको रिलेटीभिटीको सिधान्त E=mc2  जहाँ इनर्जी भनेको शक्ति वा वात दोष, पिण्ड वा मास भनेको कफ र सी भनेको प्रकाश वा पित्त दोष बुझिन्छ।

 

यो दृष्टिकोण बाट बुझ्दा त्रिदोषहरू विज्ञानको रिलेटीभिटीको सिधान्तले बताएकै अनुरुपको अन्तर सम्बन्धमा रहेर वात, कफ र पित्त दोषहरूले शरीरको विभिन्न संरचनाहरूको निर्माण भएको अर्थ  दिने गर्दछ।

 

उदाहरणको लागि जस्तै हाम्रो शरीरको स्नायु प्रणालीको न्युरोन लाई हेरौँ। जहाँ विद्युतीय ऊर्जा वा सूचना वा सिग्नलहरू गतिशील अवस्थामा नियमित प्रवाह भएको हुन्छ। जुन वात गुणको शक्ति र गतिशीलता युक्त चरित्र बोकेको हुन्छ। त्यस्तै श्वास प्रश्वासमा हावाको चलायमान पन देखिनु अक्सिजन भित्रिनु र कार्बनडाई अक्साइड बाहिरिनु पनि वात गुण नै हो। रक्त सञ्चार समेत वात गुणनै हो।

 

वात, पित्त र कफ दोषहरू कुनै बस्तु नभएर संरचनागत संचालनको विशेष प्रवृत्तिहरू रहेकाले एकै रूपमा यिनीहरूको परिभाषा गर्न कठिन देखिन्छ। तर विभिन्न उदाहरणहरु वाट यिनीहरू बारे केहि बुझ्न सकिन्छ।

 

विज्ञानको हिसाबमा शरीरको कार्य पद्धतिमा कुनै पनि घटनामा तत्काल प्रतिक्रिया दिने प्रवृत्ति, जहाँ इनपुट बराबर आउटपुट हुने गर्छ, त्यसलाई वात दोष भनिएको छ। जहाँ कुनै कार्य हुने बित्तिकै त्यसको तुरुन्तै प्रतिक्रिया हाजिर हुन्छ।

 

जब कुनै घटना हुन्छ तब त्यो वाट प्राप्त हुन सक्ने उत्कृष्ट लाभ उठाउन सक्ने प्रवृत्ति पित्त प्रवृत्ति हो। जसलाई विज्ञानमा थ्रो-पुट भन्ने गरिन्छ। जब कुनै गतिविधि सञ्चालन हुन्छ त्यो समयमा सम्भव हुने शक्ति बचत गर्ने प्रवृत्ति कफ प्रवृत्ति हो। जसलाई विज्ञानमा मौजाद वा स्टोरेज वृद्धि गर्ने प्रवृत्ति भनिन्छ।

 

वात, पित्त र कफ अन्तर्गत मानिसमा विकास हुने फरक फरक चारित्रिक लक्षणको प्रकृति बुझ्न एउटा उदाहरण हेरौँ। बिहानको सात बजेको बस पक्डेर याम्पाफाँट वाट काठमाडौँ जान बस प्रतीक्षालयमा तोकेको समयमा आइपुग्न ढिला गरेकाले बस कुरिरहेका यात्रुहरूलाई अवलोकन गरौँ।वात प्रवृत्तिको दोष रहेको यात्रु बस किन ढिलो भयो भनी छटपटिने, बारम्बार समय जाँच गरिरहने प्रवृत्ति देखाउन सक्दछ। पित्त प्रवृत्तिका यात्रु समयको सदुपयोग गर्दै महत्त्वपूर्ण फोनकलहरु गर्ने, पुस्तक पढ्ने आदि गरी समयको सदुपयोग गर्ने प्रवृत्तिको हुन सक्दछ। कफ प्रवृत्तिका यात्रु भने बस प्रतीक्षा गर्दै गर्दा छेउकै रेस्टुराँ बाहिर चिसो पेय पिउँदै आराम गर्न तर्फ झुकाव राख्ने प्रवृत्तिका हुन सक्दछ।

(खाद्य तथा औषधि विज्ञ)

1Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: