मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक मान्यताको मानव चोला र कर्मको फल। 

नारायण घिमिरे

वैज्ञानिक र वैदिक अवधारणाले निश्चय गरे अनुरूप प्रस्तुत चित्रले मानव शरीरको सबै भन्दा सूक्ष्म स्वरूप कस्तो हुन्छ भन्ने एक झनक दिन सक्छ। बिहानको झिसमिसेमा देखिने कुहिरोको बाफ जस्तै तपाईँको शरीर समेत अत्यन्त सूक्ष्म रूपमा एक बादल रुपी नै हुने गर्दछ। आकाश, हावा, अग्नि, पानी र पृथ्वी गरी पन्च तत्त्व निर्मित तपाईँको शरीरको हरेक कणको सबै भन्दा सूक्ष्म निर्माण सामाग्री ( वा इट्टा) भनेको नियमित गतिशीलतामा रहेको शक्तिको थैली निर्मित कुइरोको कम्पनको रूपमा संयोजित छ । क्वान्टम वायोक्यामेस्ट्रिमा क्वान्टम युनिफाईड फिल्ड भनिने र वेदले डाँन्सिङ्ग शिव वा नटराजको उपमा दिने नियमित कम्पनमा रहेका तिनै तत्त्वहरू एक अर्काको पूरक  बनेर तपाइको सन्तुलित शरीरको निर्माण गरेको हुन्छ।

 

जसरी हरेक मौरी घरमा हुने एउटा रानी मौरी सँग सम्मोहित रहेर घारका सबै माहुरी एउटा गोलमा चलायमान रहेर रहन्छ त्यस्तै आफ्नै नियमित कम्पनको रूपमा रहेको तपाइको शरीरको सबै भन्दा सूक्ष्मतम कणहरू समेत एउटा निश्चित केन्द्र तर्फ आकर्षित रहेर चल्ने र निश्चित परिधिमा चलायमान बनी कैद  रहेर देखिने भौतिक शरीरको संरचना निर्माण गरी अस्तित्वमा रहने गर्दछ। शरीरको सबै भन्दा सूक्ष्मतम कणहरू आकर्षित रहेर चल्ने बिन्दु यथार्थमा तपाइको शरीरको जीवन्त शक्तिका मुख्य आधार बिन्दु हरू हुन् जसलाई आत्माको सबैभन्दा सूक्ष्म संरचना मानिन्छ।

 

 

पन्च तत्त्व निर्मित तपाइको शरीरका हरेक सूक्ष्म कणहरू आत्माको बिन्दु सँग अभौतिक रूपमा जोडिएर रहेको हुन्छ। पन्च तत्त्वका हरेक सूक्ष्म कणहरू केन्द्रित हुने विन्दुहरू एकापसमा अभौतिक रूपमा गहिरो सम्पर्क स्थापना गर्दै समग्रमा ब्रह्माण्ड को कुनै निश्चित शक्ति केन्द्र उन्मुख रही अभौतिक रूपमै जोडिएर सन्तुलित रहने गर्दछ। जसलाई आत्मा सँगै इनट्याङ्गलमेन्टको सम्बन्धमा रहेको परको आत्मा अर्थात् परमात्मा भनिन्छ।

 

मानिस जन्मँदा हरेक कणको केन्द्र बन्ने शक्ति सूर्यको किरण वाट निर्मित हुन्छ। बाँकी  पन्च तत्त्व वाट। जब मानिस मर्दछ तब उसको निर्माणमा उपयोग हुने पन्च तत्त्व जुन जुन तत्त्व जहाँ वाट आएको हो त्यो त्यही फर्कन्छ। पन्च तत्त्व पृथ्वी लगायत ब्रह्माण्ड वाट आएकोले ब्रह्माण्डमै फर्कन्छ। आध्यात्मिक मान्यतामा आत्मा पुनर्जन्म भएन भने परमात्मामा मिल्दछ॥ पुनर्जन्म (Transmigration) मा भने कर्मको आधारमा शरीर वाट मृत्युको समयमा बिदा भएको आत्मा (Soul Existance) अर्को सरिरमा पुग्दछ (Palingenesis)।

 

आत्मा परमात्मा तर्फ फर्कन अघि पन्च तत्त्वको संरचना वाट छुट्टिन जरुरी हुन्छ। त्यसलाई मृत्यु भनिन्छ।

 

मानिसको  निर्माण हुने सम्पूर्ण तत्त्व पहिले एक रूप वाट अर्को रूपमा परिवर्तन हुने ईनर्जीको रूपमा परिवर्तन भएता पनि अन्ततः विचार वा मेमोरी (स्मरण) को रूपमा ब्रह्माण्डमै रहने गर्दछ भन्ने वैदिक मान्यता छ।

 

मानिस जन्मँदा प्राप्त हुने स्मरण वा मेमोरी  र जीवनको क्रममा अनुभव वाट प्राप्त अनुभूति वाट सम्पूर्ण मेमोरीको निर्माण हुने गर्दछ। आफ्नो जीवनका कर्मको आधारमा निर्मित अनुभूति आकाशमा रहने अनुभूतिको हैसियतमा (Karmic Deeds) रहन्छ।

 

जन्मने क्रममा प्राप्त गरेको आत्माको प्रमुख श्रोत  परमात्मा नै हुने हुँदा  अन्ततः परमात्मा नै मिल्दछ।

 

कर्मको आधारमा उक्त आत्मा कहिले परमात्मामा फर्कने भन्ने कुरा निश्चय हुने हुँदा कर्मको आधारमा पुनर्जन्म हुने वा मुक्ति प्राप्त गर्ने तय हुने कुरा वैदिक निचोडको अवधारणा हो। विज्ञान भने हालसम्म यति गहिराइ सम्म पुगिसकेको छैन।

 

हरेक व्यक्ति आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा पुग्दै गर्दा आफूले भोगेका र देखेका निश्चित घटनाहरू बारे आश्चर्यचकित हुने गर्दछन्। ती घटनाहरू आफ्नो जीवनमा किन घट्न पुगे भन्ने सम्बन्धका प्रस्ट  तार्किक कारणहरू बारे छेउ टुप्पो नै पहिल्याउन नसक्दा तिनीहरू ती घटनाहरू प्रकृतिको नियोजित योजना (परमेश्वरको इच्छा) मानेर अघि बढ्नुको विकल्पमा रहँदैन।

 

विज्ञानका अनुसार हरेक क्रियाको निश्चित प्रतिक्रिया हुने प्राकृतिक नियमको सिद्धान्त हो। वैदिक अवधारणामा  उक्त सिद्धान्त भौतिक क्रियाजन्य कर्महरूमा मात्र नभएर मनोवैज्ञानिक संस्कार जन्य कर्महरूमा समेत लागु हुने गर्दछ। वेद र विज्ञान दुवैमा मनोगत संस्कार जन्य र भौतिक क्रियाजन्य दुवै प्रकारको कर्मको फलको रूपमा प्राप्त हुने प्रतिक्रिया कम्पनको रूपमा  रहने गर्दछ। गरिएका क्रिया आफै पहिले कम्पनको रूपमा परिवर्तन भएर कम्पन रुपी प्रतिक्रियामा रूपान्तरण भएर मात्र प्रतिक्रिया रुपी कर्मको फल वा प्रतिफलको रूपमा संश्लेषण हुने गर्दछ।

 

साईकिक (मनोवैज्ञानिक वा मनोगत) भनिने मनोवैज्ञानिक सोचका कम्पनहरू लाई वेदले संस्कार भन्ने गर्दछ। भौतिक रूपको कर्मगत कम्पनहरू लाई वेदमा क्रिया जन्य कर्म भनी उल्लेख गरिएको छ। मनोगत संस्कार जन्य तथा भौतिक क्रिया जन्य कर्मले उत्पन्न गर्ने प्रतिक्रिया (फल) रुपी कम्पन ब्रह्माण्डमा क्रिया र प्रतिक्रिया पैदा गर्दै अनन्त: सम्म अस्तित्वमा रहन सक्छ। विज्ञानले समेत यसलाई मानेकाले विज्ञानमा टाइम मेशिन बनाउने प्रयासहरू हालसम्म नियमित अस्तित्वमा रहेको देखिन्छन्।

 

ब्रह्माण्डमा हुने हरेक क्रियाले पैदा गर्ने प्रतिक्रिया आफै अर्को उस्तै उस्तै वा फरक सन्दर्भको घटनामा क्रिया बनेर  पुन: अर्को प्रतिक्रिया उत्पन्न गरिदिने कारक बनिदिन्छ। एउटा क्रियाले पैदा गर्ने प्रतिक्रिया आफै क्रियाको रूपमा फेरी अर्को प्रतिक्रिया पैदा गरिदिन्छ। क्रियाले प्रतिक्रिया र उक्त प्रतिक्रियाले झन् अर्को प्रतिक्रिया पैदा गर्ने क्रम ब्रह्माण्डमा तब नियमित रहन्छ जब सम्म क्रिया वाट प्रतिक्रिया पैदा हुने साङ्लो रुपी क्रम सबैभन्दा पहिलो क्रिया उत्पन्न गर्ने प्रमुख कारक (कर्म) मा नै पुगेर विसर्जन हुने परिस्थिति पैदा हुदैन। जसलाई क्रिया-प्रतिक्रिया बिचको चक्रीय प्रभावको लहर भन्ने गरिन्छ।

 

प्रकृतिको क्रिया-प्रतिक्रिया बिचको चक्रीय प्रभाव लाई मिहिन रूपमा केलाएर हेर्दा हरेक कर्म गर्ने व्यक्ति प्रकृतिमा अस्तित्वमा रहनुको पछाडि  एक स्थायी कर्ताको भूमिका भेटिने गर्दछ। स्थायी कर्ताको भूमिकामा अस्तित्वमा रहेको कुनै एक कर्मले पैदा गरेको असीमित क्रिया-प्रतिक्रियाको चक्र कर्म गर्ने व्यक्ति सम्म प्रतिफलको रूपमा उसको तत्कालीन जीवनमा पुग्न पनि सक्दछ वा नपुग्न पनि सक्दछ। आफ्नो जीवनमा आफूले गरेको कर्मको प्रतिक्रिया सोही जीवन कालमा प्राप्त हुँदा त्यसलाई कर्मको फलको प्राप्ति भनिन्छ। नहुँदा उक्त कर्मको क्रिया-प्रतिक्रिया नियमित रूपमा ब्रह्माण्डमा चालु रहने हुँदा त्यसलाई आकाशिय अभिलेखको रूपमा आकाशिक रिकर्डमा रहन्छ भन्ने मान्यताको विकास भएको छ।

 

शक्ति नत पैदा नै गर्न सकिने न त नष्ट नै गर्न सकिने प्राकृतिक नियम लाई सन्तुलित रूपमा  नियमितता दिन ब्रह्माण्डमा कसैको कर्मको कारण पैदा भएर असीमित क्रिया-प्रतिक्रियाको चक्रको रूपमा कम्पनको रूपमा रहेको  आकाशिय अभिलेख अन्ततः स्थायी कर्ता सम्म पुगेर टुङ्गिन अनिवार्य हुन्छ। उक्त स्थायी कर्ता लाई वेदले ईश्वर वा परमात्मा र विज्ञानले प्राकृतिक घटनाहरूको चुरो कारकको केन्द्रको रूपमा रहेको प्रकृतिको नियम भन्ने गरेको छ।

 

यसको अर्थ व्यक्तिले गर्ने हरेक कर्म लाई ब्रह्माण्डले क्रियाको रूपमा ग्रहण गर्दछ। उक्त क्रियाले एक वा सो भन्दा धेरै प्रतिक्रियाहरू निर्माण गर्ने र उक्त प्रतिक्रियाहरूले जन्माएको नजानिएको अन्य कति प्रकारका  प्रतिक्रियाहरू नजानिँदो चरणहरू पार गरी कुनै न कुनै प्रकृतिको एक वा धरै नतिजाहरू पैदा गरिदिने गर्दछन्।

विज्ञानका अनुसार संसारमा रहेका सबै पदार्थहरूको सबैभन्दा सूक्ष्म संरचना कम्पनको रूपमा रहने र बृहत् संरचनाहरूसमेत निश्चित गतिमा रहेर एक अर्काको परिपूरक बनी निश्चित हर्मोनी वा सन्तुलनमा रहेका हुन्छन्। उक्त सन्तुलन बिच रहेका संरचनामा अवस्थित सबै पदार्थहरू आफू अस्तित्वमा रहेको संरचनाको प्राकृतिक संरचना सँग मैत्री रहन सम्भव भए सम्मको सबैभन्दा स्थिर रूप ग्रहण गर्ने संस्कार बोकेको हुन्छ। पदार्थहरूले प्राप्त गर्न खोज्ने सम्भव भए सम्मको सबैभन्दा स्थिर अवस्था लाई  तटस्थ अर्थात् ऊर्जाको सम्पूर्ण सन्तुलनको अवस्था मानिन्छ।

 

वैदिक अवधारणामा कर्मको नियममा पनि तिनै कुराहरू स्थापित रहन्छ। जब कसैले आफ्नो कर्म बापत निश्चित कम्पनहरू युक्त ऊर्जाको उत्पादन गर्दछ, ती ऊर्जा प्रवाह सम्पूर्ण रूपमा तटस्थ हुन भन्दा अगाडी पैदा हुने हरेक क्रिया-प्रतिक्रियाको लागि उक्त ऊर्जा पैदा गर्ने पात्र मात्र उत्तरदायी रहन्छ। हरेक कर्म गर्ने व्यक्तिको निर्माणमा स्थायी कर्ताको भूमिकामा रहेको ईश्वर (परमात्मा) वा प्रकृति ती बाहेक  अन्य: सबै प्रकारका कम्पनहरूले पैदा गर्ने सबै किसिमका सकारात्मक र नकारात्मक  असरहरूको लागि जिम्मेवार रहन्छ।

 

हरेक कर्मले पैदा गर्ने क्रिया-प्रतिक्रियाको चक्रले एक भन्दा अधिक प्रतिक्रिया जन्माउने गर्दछ। आफ्नो जीवनकाल भर गरिएका कुकर्मले पैदा गरेका प्रतिक्रियाले जन्माएका सबै नकारात्मक नतिजा दिने कम्पनहरू लाई तटस्थताको बिन्दु सम्म पुर्‍याउन नपुर्‍याउँदा सम्म मानिसले सांसारिक जीवन मरणको चक्रमा अनिवार्य सहभागी हुन पर्दछ। आफूले गरेका कुकर्मको हद अधिक हुँदाको अवस्थामा आकाशिय अभिलेखमा उल्लेखित दुष्कर्मले जन्माएका सबै पाप कर्मको प्रतिफल फर्स्योट गर्न उसको तत्कालीन एक जीवन अवधि पर्याप्त नहुन सक्दछ।

 

आफ्नै पाप कर्मकोको कारण आकाशिय अभिलेखमा आफूले थोपरेको नकारात्मकताको हिसाब फर्स्योट गर्न एउटा मात्र जीवन पर्याप्त नरहेको परिस्थितिमा सम्पूर्ण  कुकर्मको फल भोगाएर फर्स्योट गराउने  आशयमा एक भन्दा धेरै सांसारिक जीवनको व्यवस्था गरिएको वैदिक मान्यता छ। जसको कारणले गर्दा धरै अवस्थामा मानिसले आफूले गरेको कार्य र त्यसबापत उसले सरासर देखिने गरी प्राप्त गरेको नतिजाको फलहरू बिचमा प्रस्ट सम्बन्धहरू देखिने गर्दैन।

 

मानिसको शरीरको जीवन्त शक्तिको रूपमा रहने आत्मा समेत एक कम्पनको वाहक हो। आत्माले शरीरलाई अनुभूति प्राप्तिको  लागि साधनको रूपमा मात्र उपयोग गर्ने गर्दछ।  वैदिक मान्यता अनुसार आफूले गरेका कर्महरूले पैदा गरेका कम्पनहरूले दिएका फलका परिणामहरू आफैले अनुभव गरी अनुभूतिको पूर्ण अभ्यास गर्न सकिने गरी मानव शरीरको आन्तरिक इन्जिनियरिङ भएको छ। सो प्रयोजनको लागि मानव शरीर भन्दा प्रभावकारी, बलियो र विशिष्ट अर्को कुनै भौतिक उपकरण ब्रह्माण्डमा अस्तित्वमा नै छैन।

 

मानव चोलामा रहँदा बाहेक अन्य चोलामा रहँदा आत्मालाई प्राप्त भौतिक शरीर रुपी उपकरण आफ्नो कर्मका परिणामहरू आफैले अनुभव गरी पूर्ण अनुभूति दिलाउन सक्षम र प्रभावकारी हुने गर्दैन। तसर्थ मानव जीवन बाहेक अन्य जीवनमा आत्माको कर्मगत कम्पनहरू उत्पन्न हुने र आकाशिय अभिलेखको रूपमा रिकर्ड हुने कार्य सम्भव वन्दैन। आफू मानव चोलामा हुँदा गरेका कुकर्महरूले पैदा गरेका दुष्परिणामहरू मद्ये आफूले फच्चे गर्न नसकेको हिसाब किताब दुष्कर्मको हद अनुरूप  मानव बाहेकको अन्य चोलामा जन्मेर परिणाम भोगी आत्माले फच्चे गर्नु पर्दछ भन्ने वैदिक बुझाइ छ।

 

(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन)।

84Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: