मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गण्डकीको कर्के आँखा जीत प्रकाश तिर !! चासो परीक्षामा कत्तिको खरो उत्रेलान् ?

आलेको चुनौतीको रूपमा आएको

गण्डकीको नीति तथा कार्यक्रम

डा. नारायण घिमिरे, टोरन्टो, क्यानडा।

 

गत आइतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे। युवा रगत बोकेका गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको कार्यकालको नीति तथा कार्यक्रमको आधारमा बजेट अर्का तन्देरी जीत प्रकाश आलेले ल्याउने छन्। यी दुई तन्देरीले  यस पटक ल्याउने बजेटले गण्डकी क्षेत्र आगामी चुनावमा पुरानै शक्तिको हातमा रहने वा तनहुँमा जस्तै नयाँ ठिमाहा शक्तिको पोल्टामा अप्रत्याशित रूपमा पुग्ने कुराको निश्चय गर्ने छ।

 

मुख्य मन्त्री पाण्डेको दूरदर्शिताका करण भर्खरै गुन्डाकी प्रदेशको हैसियत वाट पुरानै गण्डकी प्रदेश बन्न सफल भएको गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सरसरती हेर्दा यसले प्रदेशमा जीवन्तता दिने केही सीमित तर उल्लेखनीय पक्षको वारेका कुरा गरेको छ। इनोभेसन र दूरगामी महत्त्वको स्वरोजगार मुखी व्यवसायीकरण तर्फ जाने कुराहरू गरेको छ।

 

उल्लेख गरिए अनुरूप अलि छोटै कार्यकार हुने अनुमान गरिएको पाण्डेको कार्यकालमा विद्यार्थीमा अन्तर निहित विशिष्ट प्रतिभाको पहिचान र प्रस्फुटन गराउने उद्देश्यका साथ फ्राइडे फर फ्युचर कार्यक्रम सञ्चालन ल्याइने छ। सिक्दै कमाउँदै र कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालनमा आउने छ।

 

कृष्ण चन्द्र नेपालीको कार्यकालमा हावा खाएको बेरोजगार जनशक्ति लाई स्थानीय स्तरमा नै माग रहेको श्रम र सीपको पूर्ति गर्ने गरी स्थानीय रोजगारी मैत्री सीपयुक्त तालिम दिने भनिएको कार्यक्रम प्रभावकारी बनाउन सीपयुक्त जनशक्ति बेरोजगार रहेको र रोजगारदाताले विदेशी श्रमिकलाई काम लगाउने अवस्था समेतको अन्त्य हुने गरी रोजगार मेलाको आयोजना हुने छ। बेरोजगारी अन्त्य केन्द्रित कार्यक्रम स्थानीय बेरोजगारी घटाउने, युवाको विदेश पलायन रोक्न योगदान दिने प्रकृतिको हुने छ।

 

बाँदर प्रभावित क्षेत्रमा निर्यात गर्न सहज देखिएका दुग्ध तथा मासु जन्य व्यवसाय, एवं बाँदरको कम झुकाव हुने बालीमा ती क्षेत्रलाई आत्मनिर्भर गर्न प्रयास अनुरूप विशेष कार्यक्रम सञ्चालनमा आउने छ। बर्सेनि दोहोरिइरहने तर कार्यान्वयन हुन नसक्ने तनहुँमा लगभग सम्भव नरहेको स्थानीय तहसँगको साझेदारीमा भूमि बैङ्कको अवधारणा मार्फत खेतबारी बाँझो रहन नदिने जनवादी कार्यक्रमको पुच्छर जोडेको छ। कृषक लाई उद्यमी र कृषि लाई उद्योग बनाउने कार्यक्रमहरू आउने छन्।

 

नीति तथा कार्यक्रम प्रस्तुत  हुने केही दिनअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रममा गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने उल्लेख गरेका थिए । नीति तथा कार्यक्रममा प्रदेशले प्रदेशमा गाँजा खेतीलाई प्रोत्साहन दिने सङ्केत समेत गरेको छ। पाण्डे कार्यकालमै गण्डकी प्रदेशले औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी त्यस तर्फ आवश्यक कानुनी व्यवस्था ल्याउन जमर्को गर्ने छ।

 

पाण्डे कार्यकालमा भाँगो, टुसा, निहुरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौलगायतका उत्पादनलाई ब्राण्डिङ तथा बजारीकरणमा काम हुने छ।

नीति तथा कार्यक्रम अनुसार डिजिटल गण्डकी प्रदेश कार्यक्रमअन्तर्गत युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाइ नियमित हुने छ। स्थानीय सिप, श्रोत र प्रविधिमा आधारित घरेलु र साना उद्योग सञ्चालनमा आउने छन्। औषधीय, वातावरण प्रदूषण नाशक र मनोवैज्ञानिक उपचार प्रदायक बर, पिपल, शमी र बन जन्य फलफूल रोपण कार्यक्रमहरू लागु हुने छ।

 

रैथाने ज्ञान र सिपको संरक्षण, बजार माग अनुरूपको सीपमूलक तालिम गर्ने, नवप्रवर्तन साझेदारी कार्यक्रम चलाउने, जडीबुटीको क्लष्टरमा प्रशोधन गर्दै मूल्य अभिवृद्धि गर्ने कार्यक्रम आउने छ। जङ्गलको सुरक्षा गर्दै पशु दाना उद्योग, कम्पोस्ट आदि सञ्चालनमा आउने छ। लघु उद्यम मार्फत उद्यमशीलता विकास गर्ने, प्रविधि मैत्री स्मार्ट कृषि लागु गर्ने,  ताल संरक्षण गर्ने,  ज्ञान सम्मेलन गर्ने सम्मका कुरा लेखिएका छन्।

 

गण्डकी प्रदेश सभाले स्वीकृत गरेको २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुतिमा पहिलेको भन्दा केही हदमा फरक भएता पनि  तात्त्विक रूपमा पहिलेकै नीति तथा कार्यक्रमहरुको सामान्य परिमार्जित रूपमै सिमित छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अघि गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ, कृष्ण चन्द्र नेपाली र खगराज अधिकारी मुख्य मन्त्री बनेका थिए। कृष्ण चन्द्र नेपालीले हल्लै हल्लामा र खगराज अधिकारीले निद्रामै रहेर आफ्नो कार्यकाल सिद्ध्याएकोले पृथ्वी सुब्बा गुरुङ कार्यकालको प्रदेशको पूर्वाधारमा टेकेर सुरेन्द्रराज पाण्डेको नेतृत्वले गण्डकी प्रदेशको विकासको लागि काम गर्नु पर्ने बाध्यता छ।

 

२०८०/८१ को नीति तथा कार्यक्रम परम्पराको  नियमितता मै सीमित रहेकाले जीत प्रकाश आलेले निकट भविष्यमा प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर कस्तो कार्यक्रम ल्याउने छन् त्यसले मात्र  सुरेन्द्रराज पाण्डे सरकारको फरक पहिचान स्थापित गर्न सक्ने छ। जुन त्यति सहज छैन।

 

गण्डकी प्रदेशको २०८०/८१ को नीति तथा कार्यक्रम लाई परम्परागत रूपको  नीति तथा कार्यक्रमको लागि लेखिएको नीति तथा कार्यक्रममा सीमित हुन नदिन र गण्डकीका जनतामा अनुभूति हुने गरी फरक पन दिन जीत प्रकाश आलेले प्रदेशमा तत्काल नतिजा दिने र दूरगामी रूपमा प्रदेशको विकासमा समेत ठुलो योगदान दिने केही प्रभावकारी कार्यक्रम ल्याउनु जरुरी हुने छ।

 

उदाहरणको लागि गण्डकी प्रदेशमा सिक्दै कमाउँदै र कमाउँदै सिक्दै तथा फ्राइडे फर फ्युचर जस्ता कार्यक्रम प्रभाव कारी गर्न आइआइटि नयाँ दिल्लीले विकास गरेको मोडलको हरेक हप्ता एक दिन पेड इन्टरन सिप तथा थेसिस वा प्रोजेक्ट वोर्कलाइ स्टार्ट द स्टार्ट अपमा लान प्राविधिक शिक्षालय र उच्च शिक्षा प्रदायकहरू सँगको साझेदारीमा निजी क्षेत्रको समेत भूमिका हुने गरी स्टुडेन्ट जब ब्रिजिंग जस्ता प्रोग्राम ल्याएर त्यसमा कम्तीमा ५० करोड रुपियाँ अनुदान सहयोग विनियोजन गर्नु पर्ने छ।

 

नेपालको दुर्भाग्य के छ भने आइटिको सीमित क्षेत्रमा बाहेक दशकौँ देखि नेपालमा रहेका सीटिईभिटी, भीटिसीडि, विभिन्न विश्व विद्यालय, प्राविधिक शिक्षालय, योजना आयोग, नीति आयोग, तालिम केन्द्र र अन्य रोजगारी मैत्री सीपयुक्त तालिम दिने प्रयोजनमा स्थापित निकाय कुनै संग पनि स्थानीयता मैत्री आयात प्रतिस्थापन गर्ने रोजगार मूलक सीपयुक्त तालिम दिने हाता-हाती विकासको प्याकेज छैन।

यो कार्यक्रम लाई विगतको जस्तो कर्मकाण्डीमा सीमित नगर्ने चाहना हो भने गण्डकी प्रदेशले पहिलेको इन्कुबेसन सेन्टरको अबधारणा मै तर उक्त प्याकेज समेत बनाएर डिसरपटिव इनोभेसन अन्तर्गत कम्तीका दुई हजार ज्ञान सिप र प्रविधि हस्तान्तरण हुने सिलिङ तोकिएको कार्यक्रम सञ्चालन गर्ने गरी उक्त कार्यक्रममा कम्तीमा ५० करोड अनुदान सहयोग छुट्टाउन पर्ने छ।

 

यस प्रकारको फण्ड हाताहाती उद्यमशीलता दिने कार्यक्रममा अनिवार्य सीमित गर्न जरुरी हुने छ। यसको फोकस स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित, स्थानीय जनशक्ति बाटै स्थानीय बजार माग पूर्ति गरी स्थानीय आयात विस्थापित गर्ने  उद्यम सञ्चालन हुन सहयोग गर्ने प्रकृतिको हुनु पर्ने छ। त्यस्ता प्रकारका प्रडक्टको प्रोटोटाइप बनाउने र त्यसमा लगानी गर्न चाहने लोकल उद्यमीलाई राज्यले आफ्नो आइडिया  इन्कुबेसन तथा  डिसरपटिव इनोभेसन सेन्टरमा प्रविधि, ज्ञान, तालिम र प्रोटोटाइप बनाउने र उक्त  प्रोटोटाइप लाई कमर्सियलाइजेसन गर्न प्रोपराईटरि प्रडक्ट फर्मुला र प्रोसेसिङ्ग स्पेसिफिकेसन समेत विकास गरी हस्तान्तरण गरी उद्यमी बन्न उत्प्रेरित गर्ने हदमा पुग्न जरुरी छ।

 

उदाहरणको लागि पोखरा र बेगनासको  स्थानीय स्तरको पशु तथा माछा दाना, कम्पष्ट मल, भर्मी, वायोग्यास, वायो पेष्टिसाइड, बयोचार आदिको आयातलाई स्थानीय उत्पादनले प्रतिस्थापन गर्न, फोहर लाई मोहरमा परिवर्तन गर्न जल कुम्भी तथा बनमारा जस्ता बिरुवा बाट मल बनाउने, वायो चार बनाउने, बायो पेष्टिसाईड बनाउने, माछा र जनावरको दाना बनाउने, गोबर ग्यासको कच्चा पदार्थ बनाउने जस्ता लगभग २२ किसिमका लोकल उद्यम विकास गर्ने ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने कार्य हुन सक्दछ।

त्यस्तै गोर्खा तनहुँ र लम्जुङ्गमा पाइने रातो गेरु माटो, कालो माटो, हरियो माटो, कमेरो माटो र हिले माटो आदि बाट मुलतानी माटो केलिन आदि बाट जस्तै साबुन, कष्मटिक फाउन्डेसन, स्याम्पु आदि बनाउने सम्बन्धका करिब ४२ हाताहाती विकासका उद्यमको लागि उत्प्रेरित गर्न सकिन्छ।

 

गाइको गौँत, गोबर, दूध, दही आदि वाट मल, बयोचार, वायोग्यास, डिजेलको बिकल्प, पन्च कव्य, धूप, लामखुट्टे को कोइल, ट्वाइलेट सफा गर्ने गिनोल, फ्लोर क्लिनर, क्रिम, सेम्पू, साबुन, पञ्चामृत, अर्क, ५२ थरी पशु औषधि, १०३ थरी क्यान्सर लगायतको मानव ओखती आदि बनाउने प्रविधि हस्तान्तरण गर्न सकिन्छ।

 

निम, पाती, असुरो, धतुरो, सालको पात, दालचिनी, खुर्सानी, शिलाजित, सयपत्री आदि जस्ता र हाम्रा लगभग सात हजार जडीबुटी, जीवाणु आदि लाई उच्च मूल्यमा रूपान्तरण गर्ने हजार भन्दा बढी प्रविधि, तिनीहरूलाई औषधि र फ्लेभर कष्मटिक आदि बनाउने हजारौँ प्रविधिमा हात हाल्न सकिन्छ। हाम्रै स्थानीय कच्चा पदार्थ वाट पानीमा तैरने साबुन होस् वा कपडा धुने साबुनको विकल्प, अदुवा, बेसार अलैँची, बकाईनो, चिलाउने होस् वा आँक, खयर, गाँजा र धतुरो सबैको जडीबुटी मूल्य, खाद्य, औषधि र कष्मटिक आदि बनाउने र खेर गएको झार पातको उच्च मूल्य सारतत्व बनाउने जस्ता विधि हस्तान्तरण आदि यसमा समेट्न सकिन्छ।

 

गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुग्ने हैसियतको गुणस्तर बनाउन छुटै कार्यको जरुरी हुने छ।

 

रक्सी, तुम्बा, छ्याङ्ग, मोर्चा, एंगगुस्ट्रा विटर, वाइन, बियर, टेकुँला, ताडी, अल्कोहल रहित वाइन, बियर, जिन्जर एल, रुट बियर आदिमा १० देखि  २० करोडको इनोभेसन र गुणस्तर नियन्त्रण र जिएमपी आदिको तालिम अनुदान जरुरी हुने छ।

 

आयुर्वेद अन्तर्गतको १३ फरक फरक डोजेज फर्मको १९१ वटा गाँजा र गाँजामा आधारित ओखती, जनावरको ओखती, आधुनिक विज्ञानको लगभग विष हजार भन्दा धरै अध्ययन वाट बनेका गाँजाको ३०० वटा ओखतिय तत्त्व मध्येको मूलतः दुइटा लागु तथा ओखतिय तत्त्व र दुइटा लागु नरहेको ओखतिय तत्त्वमा आधारित ४० समूहका रोगको उपचार, हेम्प तथा भाँग बाट बन्ने ओखती, प्रोटिन, कपडा, स्टिल भन्दा दस गुणा बलियो कङ्क्रिट र गाडीको इन्जन आदि बारे अध्ययन गर्ने, स्थानीय गाँजाको सामान्य टिएचसि, सिबिडि मापन गर्ने, गाँजाको गैर अपराधी कारण गर्ने नियमन गर्ने ऐन, कानुन र निर्देशिका बनाउन त्यसको स्कोप र जरुरत बुझ्ने, एउटा क्लोजडोर क्यानेडियन गुणस्तरको इनोभेसन कम सेमीपाइलट प्रोटोटाइप युनिट बनाउने जस्ता कार्यको लागि लगभग ७५ करोडको केन्द्र सरकारको समेत प्रत्यक्ष लगानी सेयर अनिवार्य भएको अनुदान फण्ड जरुरी हुने छ।

 

उल्लेखित बाहेकका अन्य कार्यक्रमहरू भने इच्छा शक्ति भएमा परम्परागत रूपकै नियमित कार्यक्रम अनुरूप चलाउन सकिने छ। तर यी कुराहरूमा तन्देरी जीत प्रकाश आले कत्तिको खरो उत्रन सक्दछन् त्यसले गण्डकीको वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम कति पानीमा छ त्यसको मूल्याङ्कन गर्ने छ।

 

[खाद्य तथा औषधि विज्ञको रूपमा क्यानडामा कार्यरत डा. नारायण घिमिरेले अथर्ववेदमा आधारित क्वान्टम मेटाफिजिक्स विधा अन्तर्गत आयुर्वेदिक द्रुत उपचार विधि विषयमा विद्यावारिधि गरेका छन्। narayanghimire@yahoo.com]

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: