मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेदमा माइक्रोबायोलजीको ज्ञानको भण्डार भेटाउँदा विज्ञान नतमस्तक ?

नारायण घिमिरे

प्राचीन युगका ऋषिकाहरु तथा  ऋषिहरू  वैज्ञानिकहरू थिए। उनीहरू महान् चिन्तक र लेखक थिए। उक्त समयमा हाल भनिने प्रकृतिको नियम लाई इश्वोरको नियम भनिन्थ्यो। इश्वोरको नियम मान्ने लाई आस्तिक र नमान्ने लाई नास्तिक भनिन्थ्यो। प्रकृतिको नियम लाई बुझेर त्यसै अनुरूप आफ्ना गतिबिधिहरु सञ्चालन गर्नुलाई धर्म मानिन्थ्यो। त्यस्तो नियम जसको सदैव सत्य रहने अथवा समय, परिस्थिति वा स्थान अनुरूप फेरिने विशेषता वा स्वभाव रहँदैन त्यसलाई प्रकृतिको नियम मानिन्थ्यो। मानवता नै सम्पूर्ण मानिसको धर्म थियो।

 

ऋषिकाहरु तथा  ऋषिहरू कुनै धर्मका प्रचारकहरू थिएनन्। उनीहरू ज्ञानको खोजीमा देखिने आस्तिकहरू लाई आफूले जानेको बुझेको कुराहरू तथा दर्शनका ज्ञानहरू बाँड्ने गर्दथे।   आफूले बुझेको र चिन्तन द्वारा यथार्थ रहेको यकिनमा पुगेको ज्ञान सुनेर बहसमा उत्रन चाहने नास्तिकहरू सँग समेत प्रेम पूर्वक बहस गर्न, उनीहरूको तर्क तथा जिज्ञासा सुन्न र त्यसमा आफ्नो विचारहरू राख्न उनीहरू प्राय: लालहित रहन्थे। यथार्थमा त्यस्ता बहसहरू उनीहरूलाई आफूलाई प्राप्त  ज्ञान बारे झन् गहिरिएर चिन्तन गर्ने र संसार बारे आफूमा अपूर्ण रहेको ज्ञान प्राप्त गर्ने नयाँ नयाँ अवसरहरू प्राप्त भएको अनुभूति लिने गर्दथे। उनीहरूको कुटीमा निषेध गरिने भन्ने खासै अवस्था रहन्थेन।

 

वैदिक सभ्यताका बौद्धिक दिग्गज ऋषि /ऋषिका तथा आयुर्वेदाचार्यहरुले श्रुति चार वेद र स्मृतिहरू जस्तै आयुर्वेद पुराण, महाभारत, अन्य ग्रन्थहरू आदिमा गद्य र श्लोकको रूपमा कोडेड गरी सूक्ष्मजीवहरुको बारेमा आफ्नो अभिलेखहरू रेकर्ड गरेका थिए। लेख्ने वा रिकर्ड गर्ने प्रविधि नरहेका वेला विशाल महासागर जस्तो गहिरो वैदिक ऋषि/ऋषिका तथा आयुर्वेदाचार्यहरुको आदिवासी ज्ञान एक पुस्ता वाट अर्को पुस्तामा लैजाने काम गुरु र शिष्य मार्फत मात्र सम्भव थियो। तसर्थ ज्ञान एक व्यक्ति (गुरु) को माध्यमबाट अर्को व्यक्ति (शिष्य)  मा ज्ञान हस्तान्तरण गर्ने प्रक्रियामा गुरुले इच्छुक शिष्य लाई स्वतन्त्र रूपमा छनौट गरेर विभिन्न ज्ञान जस्तै सूक्ष्म जीवहरूको विज्ञान सम्बन्धको वैदिक माइक्रोबायोलजीका ज्ञान समेत एक पुस्ता वाट अर्को पुस्तामा सारिएको देखिन्छ। उक्त प्रयोजनको लागि ऋषि / ऋषिका तथा आयुर्वेदाचार्यहरुले आफूले प्राप्त गरेको ज्ञानलाई कोडको रूपमा लिपिबद्ध गरी ऋचा / श्लोक/ मन्त्र बनाएर सहज परिएको बुझिन्छ।

 

प्राचीन अन्वेषकहरूले प्राचीन समयमा नै (लगभग ५००० बर्ष अघि) सूक्ष्मजीवहरु सर्वत्र भेटिने, तिनीहरू  बोटबिरुवा, जनावर र मानिसहरूलाई फाइदाजनक र हानिकारक प्रभाव प्रकृतिको रहने यकिन गरी तिनीहरू वाट लिन सकिने फाइदा र उनीहरूको हानी वाट बच्ने उपाय हरूबारे समेत उपायहरू पहिचान गरी व्यवहारमा लागु गर्न सम्भव बनाए। वैदिक ऋषिहरूले योगिक शक्ति अथवा आत्मामा आधारित असीम अन्तर्ज्ञान वा चिन्तनको माध्यम बाट सूक्ष्म जीव विज्ञान अर्थात् वैदिक जीव विज्ञान अन्तर्गत जैविक माइक्रोबायोलजीका ज्ञानहरू जनसमक्ष ल्याउन सफल बनाए।

 

वेदमा उल्लेख भएको शिव-शक्ति क्वान्टम यूनिफ़ाइड फिल्ड अथवा नेगेटिभ, पोजेटिभ र न्युट्रल पदार्थको शक्ति निर्मित कम्पन ॐ हो भने देवताहरू क्वान्टम सव-एटमिक पार्टिकलहरू हुन् जस वाट दुवै परा तथा अपरा विषय बस्तुको निर्माण भएको छ। ऋषि तथा ऋषिकाहरु महादेव तथा देव अर्थात देवताहरूको मौलिक चरित्रका कारण निर्मित भएको प्राकृतिक नियमहरू अध्ययन गर्ने, बुझ्ने, तिनैका आधारमा विकसित विषय वस्तु, गतिविधि, बृहत घटना, शक्तिको संयोजन, सञ्चालन र बिखन्डन आदि वारेका यथार्थहरू हामी सामु राख्न सहयोग गर्ने वैज्ञानिक, विचारक, प्रस्तुत कर्ता, सम्पादन कर्ताकोरूपमा अस्तित्वमा रहेको वर्ग देखाउँदछ। जसका कारण वैदिक कालमा वेदको निर्माण हुन सम्भव बनेको हो।

 

अथर्ववेदमा विभिन्न चरणका चिकित्सा पद्दति र  उच्च रूपमा विकसित थेरापीका चरणहरू सम्बन्धका जानकारीहरू समावेश गरिएको छ। अधिक धेरै सङ्ख्यामा खतरनाक तथा सामान्य प्रकृतिका रोगहरूको उल्लेख गरिएको अथर्ववेदलाई भेस-अजय वेद पनि भन्ने गरिन्छ। अथर्वनको वेद भनेर चिनिने अथर्व वेदमा श्लोकको रूपमा रहेका विभिन्न ऋचाहरूले मूलतः चिकित्सा पद्दति बारे उल्लेख गर्ने गर्दछ। वैदिक कालको आयुर्वेद भनेर चिनिने अथर्ववेदको ऋचाहरू औषधिको लागी समर्पित रहेकाले यसलाई  भेस-अजय भनिएको हो। जहाँ भेस-अजयको लगभग समान अर्थ दिने शब्द औषधि हुने गर्दछ।

 

वैदिक माइक्रोबायोलजीमा आधारित आयुर्वेदिक चिकित्सा बारे पूर्ण ज्ञान लिनको लागि वेदमा उल्लेखित वैदिक माइक्रोबायोलजी सँग सरोकार राख्ने तिन पक्षहरू बारे जानकारी राख्न जरुरी देखिन्छ। अथर्ववेदमा परजीवी जुका, सुलसुले जस्ता वोर्म, कीरा वर्गका इन्सेक्ट तथा दृश्य तथा अदृश्य परजीवी वा जर्म्स बारे उल्लेख पाइन्छ। ब्याक्टेरिया, भाइरस जस्ता सूक्ष्म जीवहरुका बारे ब्रिश्तित चर्चा भने यजुर्वेद भेटिन्छ। सूक्ष्म जीवहरू सम्बन्धको वैदिक ज्ञानका बारे बोलिएको यजुर्वेदका वर्णनहरू आधुनिक माइक्रोवायोलोजीका ब्याक्टेरिया, भाइरस जस्ता जीवाणुहरू तथा तिनीहरुले मानव जीवनमा पुर्‍याउने फाइदा तथा बेफाइदाको बारेमा वर्णन भेटिन्छ।

दृश्य तथा अदृश्य जीवका बारेमा अथर्व वेदमा क्रिमि र कृमि गरी दुई प्रस्ट शब्दहरूको प्रयोग भएको भेटिन्छ। कतिपय अवस्थामा कृमि र क्रिमि लाई एकै अर्थमा लिइने भएता पनि यसको गहिरो अध्ययन गर्ने क्रममा कृमि शब्दले किराहरू र क्रिमि शब्द वोर्म र रोगाणु (Germs) को सन्दर्भमा व्याख्या गर्दा प्राय: प्रयोग भएको भेटिन्छ (अथर्व वेद २३.३, ६)। यो सन्दर्भमा चर्चा गर्न अथर्ववेदमा उल्लेखित आँखाले देख्न सकिने तथा नसकिने सूक्ष्मजीवहरूको उपस्थिति बारे बोलिएका केही सूक्तहरू बारे विमर्श गरौँ।

अथर्ववेद- काण्ड-५२३ कृमिघ्न सूक्त

[ऋषि- कण्व। देवता – इन्द्र। छ्न्द – अनुष्टुप् १३ विराट अनुष्टुप्।]

यो अक्ष्यौ परिसर्पति यो नासे परिसर्पति |

दतां मध्यं गच्छति तं क्रिमिं जम्भयामसि ||3||

भावार्थ: आँखामा, नाकमा, दाँतहरूको बिचमा पर्ने जुका(वोर्मस) तथा सूक्ष्मजीवहरू (माइक्रोबहरु) लाई नियन्त्रण र नष्ट गर्न सकिन्छ।

अथर्ववेद- काण्ड-२ सूक्त -३१ कृमिजम्भन सूक्त

[ऋषि- कण्व। देवता – चन्द्रमा । छ्न्द – १ उपरिष्टात् विराट बृहती ]

अन्वान्त्र्यं शीर्षण्य१मथो पाष्टेयं क्रिमीन्।

अवस्कवं व्यध्वरं क्रिमीन् वचसा जम्भयासमि।।४।।

भावार्थ: पाचन प्रणाली (आन्द्रामा), टाउको र आँखी-भौहरुमा जुका (वोर्मस) तथा रोगाणु सूक्ष्मजीवहरू (माइक्रोबहरु) विभिन्न तरिका वाट प्रवेश गर्ने गर्दछन्। जसलाई मन्त्र (ध्वोनी वा सङ्क्रमणको स्थानमा कम्पन पैदा गर्न ओखती) को सहायताले नियन्त्रण र नष्ट गर्न सकिन्छ।

अथर्ववेद- काण्ड-२ सूक्त -३२ कृमिजम्भन सूक्त

ये क्रिमयः पर्वतेषु वनेष्वोषधीषु पशुष्वप्स१न्तः।

ये अस्माकं तन्व माविविशु सर्वं तद्धन्मि जानिम क्रिमीणाम्।।५।।

भावार्थ: आँखाले देख्न सकिने र नसकिने सूक्ष्मजीवहरू पहाड, जङ्गल, बोटबिरुवा, जनावर, पानी जस्तै हाम्रो शरीर भित्र-बाहिर सबैतिर अर्थात सर्वत्र अस्तित्वमा भेटिन्छन।

 

माथिका सूक्तहरूले मानिसको शरीर भित्र र बाहिर अन्यत्र जस्तै आँखाले देख्न सकिने र नसकिने सूक्ष्म जीवहरू रहने गर्दछ भन्ने यथार्थ स्पष्ट पारेको छ। जुन आधुनिक विज्ञानले भर्खर भर्खर मात्र प्रमाणित गरी अनुभूति गरेको विषय रहेको छ।

 

‘क्रिमि वा कृमि’ शब्द ‘क्रम’ शब्द वाट बनेको ठानिन्छ। विभिन्न चरणहरू रहेको विविध प्रक्रियाहरूको नियमित सुचारुपनको अनुक्रमलाई ‘क्रम’ भन्ने गरिन्छ। क्रिमि शब्द प्रकृतिको नियमित सञ्चालनको लागि भूमिका खेल्ने जीव, सुक्ष्मजीवि जीवाणु तथा रोगाणु आदि लाई जनाउन प्रयोग भएको देखिन्छ। अष्टाङ्ग हृदय २/३१/५ अनुसार सम्पूर्ण जैविक क्षेत्रको उपस्थितिमा रहेको स्थानमा क्रिमि भेटिन्छ। चरक संहिताका अनुसार शरीरमा हुने क्लेद मतलब रुझान, ओसिलोपना तथा मोइस्चर वा पानीको मात्रा क्रिमिको उत्पत्ति, वृद्धि तथा सङ्क्रमणको प्रमुख कारक रहने गर्दछ।

 

ऋग्वेदमा प्रयोग भएको नभेटिने क्रिमी/कृमि शब्द मात्र अथर्ववेदमा उल्लेख भएको देखिन्छ। क्रिमी/कृमिले मानव  शरीरमा प्रवेश गरेर धेरै प्रकारका रोगहरूको उत्पादन गर्दछ। (अथर्ववेद २/३२/६)। क्रिमी/कृमि मानव जीवनको लागि हानि गर्ने र नगर्ने दुवै प्रकारको हुने गर्दछ। मानव जीवनमा असर गर्ने दृश्य जीव तथा अदृश्य रोगाणु सूक्ष्म जीवहरूको वर्गीकरण, रोगको लक्षण र उपचारको पद्दति बारे आयुर्वेदमा अत्यन्त प्रभावकारी रूपमा उल्लेख गरिएको छ। सङ्क्रमणकारी रोगाणुहरु बारे भुतभिषंगजा, सङ्क्रामक र अप्सराज जस्ता संहिताहरू छन्।

 

प्राकृतिक नियम र सिद्धान्तमा आधारित रहेर वेदमा  सूक्ष्म जीवविज्ञानको विशिष्ट सिद्धान्तहरू तथा तिनका वैदिक कालिन  समग्र अभ्यासहरू बारे स्पष्ट रूपमा व्यक्त गरिएका भेटिन्छन। अगस्त्यः ऋषिको कन्कोटन सूक्त (ऋग्वेद १.१९१);  ऋषि काण्वः र उनका वंशजहरूले तैयार गरेका क्रिमिजम्भानम सूक्त (अथर्ववेद २.३२), कृमि नाशन सूक्त (अथर्ववेद २.३२), कृमिजम्भन सूक्त (अथर्ववेद ५.२३); ऋषि चातनको रक्षोघ्न सूक्त (अथर्ववेद ५.२९) आदि वैदिक माइक्रो वायोलोजिको क्षेत्रको तत्कालीन ज्ञानको अभिलेख हो। यसका अतिरिक्त चरक संहिता, सुश्रुतसम्हिता, माधव निदान, अस्तंगाहृदय, काश्यप संहिता, वृक्ष आयुर्वेद (रूख बिरुवाहरूको विज्ञान), अर्क प्रकाश लगायत अन्य धेरै वैदिक ग्रन्थहरूमा वैदिक सूक्ष्म जीव विज्ञान बारे विस्तृत वर्णन गरिएको छ। यसका अतिरिक्त  जस्तै चरक संहिता, सुश्रुतसम्हिता, माधव निदान, अस्तंगाहृदय, काश्यप संहिता, वृक्ष आयुर्वेद (रूख बिरुवाहरूको विज्ञान), अर्क प्रकाश लगायत अन्य धेरै वैदिक ग्रन्थहरूमा वैदिक सूक्ष्म जीव विज्ञान बारे विस्तृत वर्णन गरिएको छ। जसले मानिसका कतिपय रोगहरू शरीरमा अत्यन्तै सानो सूक्ष्म जीवहरूद्वारा हुने आक्रमणका कारण विकास हुने गर्दछन् भन्ने चिकित्सकीय रोगाणु अर्थात् जर्म थेउरिको सिद्धान्त बारे वैदिक माइक्रोवायोलोजीको यथेष्ट जानकारी रहेको पुष्टि गर्दछ।

 

सूक्ष्म जीवहरूका लागि, वेदमा धेरै शब्दहरू प्रयोग भएको छ। जसमा मरुत, कृमि, क्रिमी, अदृश्य, जन्तुवान्, सुद्रजन्तु, पिशाच, दुर्नाम, सुनाम इत्यादि प्रमुख हुन। वेदको माधव निदानमा रोगाणुहरु बारे धेरै अप्रत्यक्ष सन्दर्भहरू भेटिन्छ। जसमा वात, पित्त र कफ लगायतका रोगको सिर्जना गर्न मूलतः सूक्ष्म जन्तुहरूनै जिम्मेवार हुने उल्लेख छ। निश्चित प्रकारका रोगाणुहरु गर्भ यन्त्रमा सङ्क्रमण गरी गर्भ नाश गर्ने प्रकृतिको हुन्छ (ऋग्वेद ८/८/२०/२)। योनीमा हुने सङ्क्रमण बिस्तारै सम्पूर्ण महिला प्रजनन प्रणालीमै फैलन गई महिलामा बच्चा तुहिने, बाँझोपन विकासहुने जस्ता जटिलता निम्तने गर्दछ।

 

रोगाणुहरुको कारण टाउको दुख्ने, पेट दुख्ने (यजुर्वेद १३/७) रोगहरू निम्तने गर्दछ। खाना खाई सके पछि राम्रो सँग सफा हुन नसकेको भाँडा  कुँडामा रहेको रोगाणुहरु मानिसमा रोगहरूको विकास गर्न सक्षम बन्दछ (यजुर्वेद १६/६२१)। रोगाणुहरु लाई विभिन्न उपमा तथा  समानार्थी शब्दहरू समेत दिइएर उल्लेख गरिएका छन्। जस्तै सबै भन्दा खतरनाक रूप रुद्रको उपमा दिएर समेत रोगाणुको बर्णन गरिएको छ। जस्तै: मानव शरीरमा गम्भीर सङ्क्रमण गराउन जिम्मेवार रुद्र रोगाणु का कारण मानिसलाई अत्यन्त धेरै रुवाउने गर्दछ (यजुर्वेद १६/५४)।

 

यजुर्वेदमा मरुत शब्दको पटक पटक प्रयोग प्रयोग गरी विभिन्न संदर्बमा, विविध साङ्केतिक उपमाहरू सहित वैदिक कालमा ज्ञात रहेको माइक्रो-वायोलीजी र बायो-टेक्नोलोजीवारेको ज्ञानहरूको वर्णन भएको पाइन्छ। वैदिक मान्यतामा हावा, हुण्डरी, बतास जस्तो प्रकृतिको कम्पन वा शिवको प्रलयकारी एक रूप मानिने  रुद्रलाई  कुनै पनि समस्या लाई त्यसको जरै वाट निमित्याण्ड पारि निवारण गर्ने सबैभन्दा शक्तिशाली देव अथवा वायु शक्ति शक्तिको रूपमा परिभाषित गरिन्छ। रुद्र सँग जोडेर हेरिने मरुत वायु शक्ति रुद्र तथा प्रजनन शक्ति कि जननी जल-देवी वृश्निको संयोजन वाट सह-उत्पादित शक्ति हो। मरुत शक्ति २७ देखि साठीको तिन गुणा (१८०) प्रकारको  हुने गर्दछ (ऋग्वेद ८.९६.८)। मरुतलाई वायु अथवा प्राण देवता सम्बन्धको शक्तिको रूपमा लिइन्छ। एक आपसमा सम्बन्धित तर विभिन्न प्रकारका हानिकारक रोगाणु जनाउने गरी मरुतलाई खतरनाक रोगहरू निम्ताउने विभिन्न प्रकारका रोगाणुहरुको उपमादिएर अदृश्य प्रकृतिका विभिन्न सङ्क्रामक रोगाणुहरु बारे वर्णन गरिएको छ।

 

मनोवैज्ञानिक तथा सूक्ष्म प्रकृतिको रोग तथा तिनका उपचारमा सहयोगी होस् भन्ने अवधारणामा यजुर्वेदमा विभिन्न विषय वस्तु तथा सन्दर्भहरूको उपमा दिएर निकै गहन सन्देशहरू सम्प्रेषण गरिरहेको यथार्थ आज आएर महसुस भइरहेको छ। कुनै पनि सन्देश जति खँदिलो हुन्छ त्यसलाई बुझ्न त्यतिनै विलक्षण प्रतिभाको जरुरत पर्दछ। यजुर्वेदमा समेत समाजका बौद्धिक वर्गले बुझ्ने गरी सूक्ष्म रोगाणु शक्ति जनाउन रुद्र तथा मरुत जस्ता शाक्ति केन्द्रहरुको सन्दर्भ चयन गरी निकै थोरै शब्दहरूमा अत्यन्त गहन कुराहरू बोलिएका छन्।

 

अत्यन्त जटिल प्रकृतिका रोगका कारण र शरीरले दिने सूचनाको आधारमा रोगको निर्क्योल गर्नुपर्ने तथा फरक फरक परिस्थिति जन्य संवेदनशील निर्णयहरूमा पुग्नपर्ने अवस्थालाई मनन गरी आयुर्वेदिक चिकित्साकहरुलाई सहज पारिदिने गरी रोगको पहिचान र निदानलाई सहज बनाउन शाक्ति केन्द्रहरुको सन्दर्भ मार्फत सूचना सम्प्रेषण गर्ने वैदिक काइदा अत्यन्त व्यवहारिक समेत देखिन्छ।

 

समग्रमा मानव शरीर यसका विविध निर्माण सामाग्रीहरूको कम्पनहरूको संयोजन मार्फत प्राप्त समग्र कम्पनको उपज रहेकोले अन्ततः समग्र कम्पनलाई ध्यानमा दिएर गरिएको उपचारले मात्र समग्र स्वस्थको समस्या लाई सम्बोधन गर्न सकिने चुरो यथार्थ तर्फ वेदको पहिलो जोड देखिन्छ। आयुर्वेदले वकालत गर्ने भौतिक, मानसिक र अध्यात्मिक स्वस्थ सहितको समग्र स्वस्थको वैदिक उपचार पद्धतिको अवधारणाको कखरा यही सिद्धान्तमा आधारित भएर विकास भएको छ।

 

विभिन्न सामाग्रीहरूको प्राकृतिक मिश्रण वाट तिनीहरूले दिने कम्पनको प्रकृति बुझ्न आयुर्वेदमा पन्च तत्त्वको अवधारणा अघि सारिएको छ। जहाँ  मानवको इन्द्रियहरूले अनुभूति गर्न नसक्ने प्रकृतिको दैवी मतलब प्राकृतिक शक्तिका कारण आकाश अथवा शून्यता (डार्क-स्पेस) वाट अ, ऊ र म जस्तो सुनिने ध्वनिका कम्पन वाट ॐ ध्वनि बन्दछ। तिनै अ, ऊ, म र ॐ कम्पनहरूको विभिन्न प्रकृतिमा हुने मिलावट वाट समग्र ब्रम्हाणमा अस्तित्वमा रहेको ज्ञात अज्ञात आवाजहरू अथवा कम्पनको निर्माण भएको छ। जुन हामीले सुनेर अनुभूति गर्न सक्छौ।

 

विभिन्न आवाजका कम्पनहरूको अत्यधिक सङ्कुचन वाट वायु वा हावा तत्त्वको निर्माण भयो। वायु हाम्रो स्पर्श वाट अनुभूति हुन्छ। वायुको घर्षण वाट उत्पन्न ताप र आकाशको संयोजन वाट अग्नि वा ईनर्जी तत्त्व निर्मित भयो।जुन हामी आँखाले देखेर अनुभूति गर्दछौ। आकाश, वायु र अन्ग्नीको संयोजन वाट जल तत्त्व वा तरल वा पानीको निर्माण भयो। जुन हामीले स्वाद वाट अनुभूति गर्न सक्छौ। आकाश, वायु, अग्नि र जल तत्त्वबाट पृथ्वी तत्त्व बन्यो। जुन हामीले गन्ध वाट अनुभूति गर्न सक्छौ। समग्रमा पन्च तत्त्व आफै विभिन्न मात्रा र प्रकृतिमा निश्चित प्राकृतिक क्रममा मिसिएका कम्पनहरूको प्राकृतिक रूपमा क्रम बद्ध रहेर निर्माण बनेको हुन्छ। यसरी निर्माण भएका पन्च तत्त्वहरू पुनः एक आपसमा सन्तुलनमा आउने क्रममा आकाश र वायु तत्त्व मार्फत वात दोष (प्रकृति), अग्नि र जल तत्त्व वाट पित्त दोष तथा जल र पृथ्वी तत्त्व वाट कफ दोष निर्माण हुन्छ।

 

मानिस जन्मँदा जुन प्रकृतिको वात,पित्त र कफ दोषको संयोजन युक्त रहेर जन्मिएको हुन्छ उक्त प्रकृति नै उसको प्राकृतिक रूपमा वात,पित्त र कफ दोषको सन्तुलित अवस्था हो। अपवादमा बाहेक उसलाई जीवन भर आफू जस्तो प्रकृतिको सन्तुलित कम्पनको समग्र रूपमा जन्मिएको हो त्यही रूपमा उसलाई राख्न प्रयास गरिन्छ। जीवन जिउने क्रममा मानिसको खानपान, वातावरण, जीवन पद्दति आदिका कारण उसको जन्मजात सन्तुलित दोष मद्धे जुन वा जुन जुन दोषको अधिकता हुन्छ त्यसैको निवारणको लागि उपचार खोजिन्छ।

 

वास्तवमा दोषको निवारणको लागि उपचार भनेको मानिसको संरचना गत निर्माणको कम्पन प्रक्रियाको समग्रतामा आएको परिवर्तन लाई प्राकृतिक रूपकै पहिलेकै अवस्थामा फर्काउनु हो। जसको लागि प्रकृतिको उपाय नै धरै प्रभावकारी हुने हुँदा उपलब्ध प्राकृतिक उपायहरूको सकेसम्म धेरै उपयोग गरिन्छ। औषधीय वा उपचारात्मक पक्ष वाट मूल्याङ्कन गर्दा शरीरको प्राकृतिक गठ जोडको सन्तुलन बिग्रने अवस्था सँग पुग्दै गर्दा कफ (र्‍याल तथा इन्जाइम), पित्त (बाइल तथा पाचन क्रिया) र वात (वायु) सम्बन्धका दोषहरूको नियन्त्रण अर्थात् भौतिक संरचनाको नियन्त्रण नहुनु शरीरमा रोगाणुहरुको समेत सङ्क्रमण जन्मने र त्यसको परिणाम उक्त सन्तुलन झन् बढी बिगार्न सहयोगी बन्ने अनुभूति बनेकाले वैदिक उपचार पद्धतिमा रोगाणु जन्य स्वस्थ समस्यामा समेत समग्र स्वस्थ र शरीरको समग्र कम्पनको (Quantum Unified Field of Quantum Mechanics) प्राकृतिक अवस्थामा पुनर्स्थापना गर्न ध्यान दिइन्छ।

 

समग्र-कम्पन (Quantum Unified Field) प्राकृतिक अवस्थामा पुनर्स्थापना गर्न खानपान, ओखती मुलो र जीवन पद्धतिमा ध्यान दिएर त्यसैमा सुधार गरेर मात्र सम्भब हुन्छ। जसको लागि समग्र वेदको चुरो उपचारात्मक तथा प्रतिरोधात्मक ज्ञानको साहारा लिइएको हुन्छ। किनकि आजको औषधि विज्ञान पुग्न सकेको बिन्दु भन्दा अधिक अग्रणी ज्ञानहरूले वेद भरपुर छ। जसको अगाडी विज्ञान आफै नतमस्तक छ। हाम्रो आफ्नै रैथाने ज्ञान र कबिलतालाइ दुत्कार्ने भुईँफुट्टा वादी चरम निराशाका कारण हामीले वेदको सम्पूर्ण ज्ञान बाहिर ल्याउन सकिरहेको अवस्था भने छैन।

(१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन्।)
0Shares

WRITE COMMENTS FOR THIS ARTICLE