मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गाँजा माफियाहरूकै मुठ्ठीमा: नेताको भोट लिने मात्र दाऊ !  

नारायण घिमिरे

तपाईं मान्नुस् नमान्नुस् आजको दिनमा घोषित रूपमा गाँजा र भाङ तर अघोषित रूपमा नेपाली रैथाने सिप, ज्ञान र प्रविधि तथा नेपालका सम्पूर्ण रैथाने जडीबुटीहरू आधारित सबै प्रकारका कमर्सियल उत्पादन र औद्योगिकीकरणको विकल्प घुमाएर कानुनी व्यवस्था गरी आजको दिनसम्म प्रतिबन्ध रहेको मुलुक हो नेपाल ।

 

पृथ्वीको एक चमत्कारी बोट जसको सामान्य डोरी, कपडा, कङ्क्रिट, औषधि र मनोरञ्जनका खाद्य सामाग्री लगायतका २५,००० भन्दा बढी प्रयोगहरू छन्। एउटा विरुवा जुन अत्यन्त छिटो हलक्क बढ्छ। त्यसको जरा जमिनको सीमित गहिराइसम्म पुग्दछ। बाहिर वातावरणबाट टनका टन कार्बन डाईअक्साइड खिचेर त्यसको सदुपयोगबाट जमिन मुनिको फोहरमा रहेका प्रदूषक धातुहरू निर्मलीकरण गरी आकाश र जमिन दुवैलाई एकै पटक सफा गर्दछ। सम्पूर्ण प्राणी मात्रको जीवनयापनको लागि आकाश र जमिनको वातावरणको सुद्ध करण गरिदिन्छ। विश्वमै पहिलो चोटि नेपाली भूमिमा भेटिएको हेर्दा सामान्य लाग्ने तर एक चमत्कारी विरुवा कुन होला भनी अनुमान गर्न समेत तपाईँलाई गाह्रो हुन सक्छ। कसैले त्यसको नाम बताईदिँदा समेत तपाईँलाई पत्याउन गाह्रो पर्ने छ। यथार्थमा उक्त चमत्कारी बिरुवा तपाई हाम्रोमा शिव बुटी भनेर चिनिने गाँजा वा भाङ वा विजया हो।

 

गाँजा वा भाङ वा विजयाको अत्यन्त धेरै गुणमा मात्र एउटा गाँजाको नसा दिने शिव तत्त्व वा टिएचसी र त्यसका समकक्षी तत्त्व धेरै खाएमा लागु हुने बैगुनलाई पक्डेर अमेरिकीहरूले नियत बस संसार भर खलनायकको रूपमा प्रस्तुत गरे। हामीले समेत एक दिगो ग्रामीण अर्थ व्यवस्था निर्मित भएको, गाँजा वा भाङ आधारित हाम्रो समाजको भविष्यलाई तिलाञ्जलि दिएर अमेरिकीहरू कै लहैलहैमा लागेर गाँजा वा भाङलाई औषधीय प्रयोजनमा समेत प्रतिबन्ध गर्ने निर्णय लिएका थियौँ ।

 

हामी हाम्रो अत्यन्त गुणी गाँजा र भाङ बारीमा सड्न दिने र हाम्रा उच्च पदमा आसीनहरूले मुलुक भित्र स्लो-पोइजन रुपी सेन्थेटिक ओखती र सप्लिमेन्ट बेच्न खुला एकाधिकार बजार उपलब्ध गरिदिए बापत तिनै सामग्री मुलुक भित्र पुर्‍याउने माफिया वर्गबाट ठुलो कमिसन प्राप्त हुने बजार संरचना नै तैयार गरी जनतालाई रोगको घरको रूपमा रहेको आयातित सेन्थेटिक ओखती, टनिक र हिलिङ्ग खाद्य खान पर्ने वाद्यकारी अवस्थामा धकेली दियौं ।

 

हाम्रो मुलुक सञ्चालनको मोडल माफिया खुसी पार्ने, माफियाको प्रभावमा रहेको सञ्चार मध्यमबाट आफूलाई महान् मानिसको रूपमा प्रस्तुत गरी वाहवाही कमाउने, माफिया वर्गकै लगानीले पार्टी र संसद्को चुनाव जित्ने, राजनीतिक पार्टीको उच्च पद हत्याउने, मुलुकको मन्त्री र प्रधानमन्त्री पड्काउने, माफियाकै अनुकूल हुने गरी सम्पूर्ण प्रशासन यन्त्रमा प्रशासक र नीति निर्माताको नियुक्ति गरिदिने र मुलुक सदाको लागि तिनै माफियाको एकाधिकार बजार बन्ने ग्यारेन्टी गरिदिने नियतमा हाम्रो विगतका धेरै वर्षहरू बिते । आज पनि त्यो क्रम सुचारु छ।

हाम्रा छिमेक भारत र चीनले समेत औषधीय प्रयोजनका बाहेक मनोरञ्जन र नसाको लागि मात्र गाँजाको अनियन्त्रित उत्पादन र बिक्री रोक्ने भनी संयुक्त राष्ट्र सङ्घसँग प्रतिबद्धता गर्दै गर्दा हामीले भने थप क्रान्तिकारी बनेर औषधीय लगायतका सम्पूर्ण प्रयोजनमा गाँजा र भाँगको प्रतिबन्ध लगाउने घोषणा गरायौँ। तत्कालीन समयको आर्थिक बेन्चमार्कमा नेपाल संसारको विकास उन्मुख मुलुक मध्येको मुलुक थियो। नेपालको रैथाने सिप, वनस्पति र प्रविधि नेपाली माटो सुहाउँदो हुने भएकाले त्यसले मुलुकलाई छिटै आत्मनिर्भर गरी संसारसँग आफूलाई प्रतिस्पर्धी गर्न सक्दथ्यो।

 

हाम्रा स्थानीय जडीबुटी, रैथाने सिप, ज्ञान र सामाजिक सह अस्तित्व स्वीकार गरी जीवनयापन गर्ने सामाजिक चरित्र हाम्रो मुलुकलाई निकै चाँडो धनी मुलुक हुन वाट कसैले रोक्न सक्ने अवस्थामा थिएन। हाम्रो मुलुक विकसित हुँदा यो क्षेत्र विदेशी उत्पादनको एकाधिकार बजार बन्ने, बिदेसी चलखेलको हनिमुन स्थल हुन असम्भव बन्दै थियो। त्यसै क्रममा गाँजाको प्रतिबन्ध गर्ने हाम्रो निर्णय कार्यान्वयन गर्ने क्रममा हामी गाँजा र भाङमा मात्र सीमित भएर बसेनौँ।

 

 

हामीले राता रात स्थानीय र केन्द्रीय तहमा विभिन्न ऐन, नियम, कानुन, नियमावली, आदेश र अदालती निर्णयहरू तीव्र रफ्तारमा बनायौँ । रुल अफ ल को सिद्धान्त अनुरूप तिनीहरू एक आपसमा हार्मोनि रहेको, नबाझिने र एउटा अर्कोमा बाझिएमा माथिल्लो तहको कानुनी व्यवस्थाको परिकल्पना स्थापित हुने हुनु पर्दथ्यो। तर हामीले विभिन्न तहको कानुनमा अनिवार्य हुनुपर्ने हार्मोनिलाई नियत बस विच्छेद गरिदियौं ।

 

 

वनको नियमावलीलाई कृषिले नचिन्ने, स्थानीय तहको नियम कानुनलाई माथिल्लो तहले नचिन्ने र एउटा क्षेत्रमा जुन नियम र कानुनी व्यवस्था भएको छ त्यसलाई अर्को क्षत्रसँग जोडिने कुनै धारा वा क्लज वा अन्य व्यवस्था समेत गरेनौँ । जुन ठुलो ग्राण्ड डिजाइन अन्तर्गत आएको थियो।

 

 

यी सबै प्रकारको गतिविधिको पछाडि मात्र एक उद्देश्य थियो। निहुँ गाँजा र भाङ प्रतिबन्ध गर्ने तर यथार्थ नेपालको समृद्धि दिने सम्पूर्ण सात हजार वनस्पतिहरूको क्षमता पहिचान गरी औद्योगिकीकरणमा जानबाट फरक फरक नियम कानुनको फरक फरक व्यवस्थाबाट जटिल बनाउँदै असम्भव प्राय: पारी दिने। मुलुकमा उपयोग नभएको वा कम मात्र उपयोग भएको बन र प्रति जग्गाको नाममा रहेको झन्डै ७० प्रतिशत भूभाग लाई नेपालको उन्नतिको लागि कहिल्यै उपयोग हुन नसक्ने गरी हरियो मरुभूमिमा परिणत गरिदिने।

 

माफियाहरूको मात्र हितमा रहने गरी मुलुकलाई माफियाहरूकै मुठ्ठीमा दूरगामी रूपमा राख्ने ग्राण्ड डिजाइन अन्तर्गत बुनिएको कानुनी र सामाजिक राज्य व्यवस्थालाई हाम्रा आफ्नै शासकहरूले उत्प्रेरकको रूपमा मात्र नभएर कारिन्दा बनेर राता रात सम्पन्न गरिदिए। हामी आजको मितिबाट नजानिएको कति हजार वर्षसम्मको लागि नियत बस कायम रहेको भूमिगत गिरोहको ग्राण्ड डिजाइन अन्तर्गतको कानुनी, सामाजिक र राजनीतिक व्यवस्थाको चपेटामा परेर आफ्नो सम्पत्ति, साधन र श्रोत आफ्नै लाई उपयोग गर्न नसक्ने र अर्काको संसारको सबै बजारहरूले प्राय प्रवेश नदिने हालतमा पुगेपछिको सर सामान र कसैले नलिने मिति सकिएको प्रविधि र ज्ञानको एकाधिकार बजार बन्नु पर्ने हो त्यसको यकिन हुन सक्ने स्थिति छैन।

 

(घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन्।)

 

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE