मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कसैले नखोलेको शान र मसानका वैज्ञानिक कुरा !

नारायण घिमिरे । 

हाम्रो मान्यतामा तृप्त आत्मा र अतृप्त आत्माको आफ्नै कथा छ। हाम्रो मान्यतामा मानिसको शरीर मात्र मर्दछ। जसरी पुरानो घर छोडेर मानिस नयाँ शरीरमा पुग्दछ त्यस्तै मुक्ति नमिले सम्म हरेक जीवको आत्मा आफ्नो कर्म र चाहना अनुरूप एक शरीर वाट अर्को शरीरमा चोला फेर्ने गर्दछ। संसारमा लगभग चौरासी हजार जीवन वा चोला भेटिन्छ।

 

हरेक मानिसको जीवनमा धेरै इच्छा र चाहनाहरू हुन्छन्। ती मद्ये  कुनै कुनै चाहना उनीहरूमा यति तीव्र भएर गढिदिन्छ कि त्यो चाहनाको हद प्रकृतिको कुनै शक्तिले उस वाट छुटाउन सक्दैन। उक्त चाहनाको तिर्खा उसको आत्मा सँगै टाँसिएर बसी दिन्छ। जब सम्म उसको आत्मामा गढेको इच्छा पुरा हुन्न तब सम्म उसको आत्मा मुक्त बन्न सक्दैन। मुक्तिको अर्थ आत्माले एउटा शरीर छोडे पछि अर्को शरीरमा पुग्ने जीवन मरणको चक्र वाट मुक्ति पाउनु हो। जसलाई जीवनको अन्तिम लक्ष र परमात्मा सँगको मिलन भनी हाम्रो मान्यताले विश्वास गर्छ।

 

यहाँ तपाइको मनका अत्यन्त गहिरो सँग गडेको इच्छा बारे कुरा गरौँ। मानौँ तपाईँको मन कुनै उमेरमा अर्को कसैको मन सँग इनट्यागलमा पारिदियो। क्रस परेको भनिने तपाइको मन उससँग प्रेममा पारिदियो। तपाइमा उ सँग धित मर्ने गरी सङ्गत गर्ने गहिरो इच्छा जाग्यो। मृत्यु परान्त तपाइको त्यो इच्छामा कुनै कमी हुन सकेन। तर ऊसँग धित मर्ने गरी समय बिताउने मौका पनि तपाईँ लाई मिलेन। तपाइको काल गतिले मृत्यु भयो।

 

अर्को जन्ममा तपाइ ऊसँग सङ्गत गर्न पाउने र सङ्गत गरी तृप्त बने पछि मात्र तपाइको मुक्ति सम्भव बन्छ। अब तपाइको आत्मा त्यसमा गाडेको इच्छा वाट मुक्त हुन पनि तपाइको पुनर्जन्म जरुरी हुने हुँदा यो जीवनमा तपाईँ मुक्त हुने सम्भावना रहन्न। कम्तीमा एक वा दुई अर्को जीवन जरुरी हुन्छ।

 

मानौँ तपाइको गुलियो खाने इच्छा कहिल्यै पुरा भएन। अब कम्तीमा अर्को जन्ममा गुलियोमै लाग्ने किरा भएर किन नहोस् तपाइको इच्छा तृप्ति पछि मात्र  तपाइको आत्मा मुक्ति हुन्छ। त्यसपछि पहिला स्वर्गको भगवान् बनी मानव बन्ने सौभाग्य मिल्यो र मानव बनेपछि सबै तारतम्य भने जस्तै बन्यो भने  तपाईँको आत्मा मुक्त बन्न सक्ने सम्भावना रहन्छ।

 

मानिसको अकाल मृत्युको समयको हाम्रो मान्यताको कथा भने अलि फरक छ। हाम्रा लोककथा र संस्कृतिमा भूतहरू एक आम  मनोवैज्ञानिक अलौकिक प्राणी हुन्। हाम्रो मान्यतामा तिनीहरू मृत व्यक्तिको आत्माबाट सिर्जना भएका अजीवका चिज हुन। जीवित रहँदा आफ्नो पुरै उमेर जिएर जीवनको सुख दुखको पूर्ण अनुभूति गरेर काल गतिले मर्ने उनीहरूको चाहना विपरीत अल्प आयुमा मर्नुपर्ने परिस्थितिको सिकार बनेको मानिसको आत्मा वास्तवमा शान्त आत्मा हुन सक्दैन।

 

मनमा थुप्रै चाहना मनमै रहेका उनीहरूमा आत्मा पूर्ण रूपमा सुद्ध करण नबनेको आफ्नो इच्छा र चाहना पुरा गर्न नपाएको कारण भड्किएको आत्माको रूपमा रहेको हुन्छ। त्यसरी भड्किएको आत्मा न त स्वर्ग वा नर्क नै जान सक्दछ न पुनर्जन्ममा नै पुगी रहेको हुन्छ। न त मुक्तिको पथमा नै जान पाएको हुन्छ।

 

हिंसात्मक मृत्युको कारण होस् वा कुनै दुर्घटना वा कुनै आत्मा हत्या तिनीहरू सबै नै अतृप्त आत्माको कारक बनिदिन्छ। काल गतिले भएको मृतकको जीवनका अनिश्चित मामिलाहरू जस्तै उनीहरूको अन्त्येष्टि नै नहुने, उचित संस्कारको साथ अन्त्येष्टि नहुनु वा झुटा अभियोगको वा बेइज्जती  बापतको तिरस्कारको न्याय नमिली हुने मृत्यु आदिले समेत मानिसको आत्मा तृप्ति सम्भव बन्दैन। त्यो अवस्थामा उक्त आत्मा भटकिएको आत्मा  बन्दछ।

 

मनको इच्छा पुरा नहुँदै अकाल मृत्यु वरण गरेका आत्मा भूत बन्छ। प्रेममा धोका  पाएकी महिला किच्कन्ने बन्छिन्। काज क्रिया नपाएका वा रित अनुरूप नभएकाहरू मसान बन्छन। बच्चा जमाउँदै गर्दा आफ्नो प्यारो सन्तानको अनुहार समेत हेर्न नपाएकी महिला तथा निर्दोष हुँदा हुँदै गाली, बेइज्जती , घृणा, तिरस्कार वा अत्याचार बापत न्याय नमिलेको महिला चुडेल बन्छिन्। त्यस्ता पुरुष मुर्कुट्टा बन्छन। आफ्नै कुलका वा परिवार वाट न्याय र सम्मान नमिलेकाहरू वीरको रूपमा आउँछन्। मनमा गाडेको इच्छा पुरा हुन नपाएकाहरू प्रेतात्मा बन्ने गर्दछन्।

 

पर्यावरण बिग्रने गरी जङ्गल र जमिनको भूभागको दुरुपयोग गर्नेहरू वाट अन्यायमा परेकाहरू विभिन्न जनवारको आकृतिमा तर्साउने आत्मा बन्दछ। जल वा पानीको दुरुपयोग गर्नेहरू वाट अन्यायमा परेकाहरू नाग,  गोही वा कछुवाको रूपमा सताउने आत्मा बन्छ। हावा र आकाशको  दुरुपयोग गर्नेहरू वाट अन्यायमा परेकाहरू तथा आफ्ना पितृ सम्मानमा चुकेकाहरूको प्रभावले वायुकोरूपमा सताउने प्रेत आत्मा जन्माउँछ।

 

उपचार पद्धतिको सन्दर्भमा जस्तै धामी-झाँक्री मान्यतामा सय राजकुमारी भनिने दुष्ट राक्षसहरू प्रभावमा बच्चाहरूमा हैजा झाडा बान्ता र पखालाले शरीर सुख्खा बनाउने रोग पैदा गर्छ। जुन डायरियाको ब्याक्टेरिया लाई लक्षित गरेको बुझिन्छ। ओखती र झार फुक हुने यो विधिमा नुन, चिनी, पानी र हर्बल प्रयोग हुन्छ।

 

छ अथवा आठ मुखे इन्द्रेणी राक्षसहरूको प्रभावमा मानिस फेन्ट हुने र मुख सुक्ने लक्षण हुन्छ। नौ ताराको प्रभावमा आँखामा इन्फेक्सन हुने र प्रकाशको कारण हेर्न समेत गाह्रो हुने आँखाको नानी फुल्ने समस्या देखिन्छ। नागको कारण भएको समस्यामा पनि ज्वरो आउने, नेपाली व्यथा लाग्ने,  कुष्ठरोग र पक्ष घात सम्म हुने भनिन्छ। छालामा ढिलो बढ्ने ब्याक्टेरियाको कारण  कुष्ठरोग हुने र रोग सँग सङ्क्रमणको समयमा ज्वरो आउने हुन्छ। नागले सताउनुको कारक पानी, नदी र समुन्द्र आदिको विनाश र प्रदूषण मुख्य मानिन्छ।

 

अकाल मृत्यु वरण गरेका वा हिंसात्मक क्रूर आक्रमणमा मरिएकाहरू वाट हुने वायुको लक्षण अन्तर्गत घरमा पालेका बस्तुहरू बिरामी हुने, घरका परिवारको पेट दुख्ने, फियो दुख्ने र आन्द्रामा ब्याक्टेरियाको कारण धेरै ग्यास निस्केर हुने सुल आदि हुने लक्षण देखिन्छ। बिरामी गाई बस्तु वाट सर्ने रोग, बिरामी गाई भैँसीको दूध वाट आउने विकृति समेत यो वर्गमा रहेको बुझिन्छ। यो अवस्थामा झार फुकको अलावा चरनमा जडीबुटी खाएको बाख्राको पाठोको मासु औषधीय मसला, संग खाने चलन हुन्छ। अदुवा, लसुन, प्याज, बेसार  आदि सुन्निएको फियो शान्त गर्दछ।जुन औषधीय छ।

 

भूत-प्रेतको सङ्क्रमणमा बेस्सरी टाउको दुख्ने, रिँगटा लाग्ने र बान्ता आउने हुन्छ। जुन रगतमा अक्सिजनको सप्लाई कम हुने, नाक वाट श्वास लिँदा प्राप्त हुने नाईट्रिक आक्साइडको कमीमा प्राय हुन्छ। मानसिक स्थिति अलि धेरै बिग्रिएर हुने पागलपन, डिप्रेसन एञ्जाईटीमा हुने प्यानिक एट्याक, रेस्टलेसनेस, बेचैनी, चित्तको एकाग्रता नहुने, वाक वाकी लाग्ने, बान्ता हुने आदि हुनु लाई वीर लागेको भनिन्छ।

 

कहिले कहीँ कुनै दर्द नहुने तर मुखमा रगत आउने टिबी जस्तो बिमार समेत बिर्को हात मानिन्छ। टिबी जस्तो रोगमा आयुर्वेदिक डाक्टरको काम हुन्छ। अरुमा मनोवैज्ञानिक उपचार जसले दुखाइमा राहत दिने इन्डोरफिन,  मुड स्थिर र खुसी बनाउने सेरोटोनिन, प्रेम र विश्वास जोगाउने अक्सिटोक्सिन र मस्तिष्कमा आनन्द दिने डोपामाइन जस्ता इन्जाइमहरू बनाउन शरीर लाई उत्प्रेरित गर्ने गरी बिरामीको आत्मबल बढाउने काम हुन्छ।

 

मसान लागेको लक्षण अन्तरगत टाउको दुख्ने, चक्कर लाग्ने, मासु दुख्ने, हड्डीको जोर्नी दुख्ने र डर लागेको बेला हात खुट्टा शरीर काम्ने हुने गर्दछ। पिचास वा अगतिमा परेको आत्माले दिएको दुख अन्तरगत सानै उमेरमा मरेको आत्माको दोष भन्ने ठानिन्छ। त्यसको लक्षणमा ज्वरो आउने र बान्ता हुने मुख्य हुन्छ। अत्यन्त धेरै ज्वरो आउने लाई राक्षसले दुख दिएको अन्तरगत राखिन्छ।

 

मुटुमा गाँठो पर्ने, दुख्ने जस्ता मुटुको रोग लाई सिकारीको भूतको कर्तुत ठानिन्छ। जसको कारक तत्त्व जमिन र जङ्गलको विनाश र प्रदूषण मानिन्छ। हेलत्वमा परेकी, समाजले एक्लाएकी बिधुवा वा एकल महिलालाई डर देखाई वा  करकापमा पारि जबरजस्त कायम गरेको अनैतिक यौन सम्बन्ध समाजमा पुगेर हुने बदमासीको डरले ज्वरो आउने,  जिउ सुक्दै जाने, शरीरमा रगतको कमीले निलो धाप देखिने  र कमजोरी हुने आदि लाई बोक्सी लागेको वा किच कन्याले दुख दिएको ठानिन्छ।

 

महिलाको हकमा आफ्नो लोग्ने अन्यत्र कसैसँग लागेर दोजियाको समयमा माया र स्याहार नपुगेकी महिलाको गर्व तुहिने, आन्तरिक रक्त स्राव हुने, अनियन्त्रित रूपमा कुनै भागमा लामो समय प्रेसर पर्ने गरी बस्नको कारण वा कुनै किरा आदिले डस्नाको कारण छालामा उत्पन्न रगतको निलो डाम बस्ने र सुरक्षित भविष्यको डरले मनोवैज्ञानिक बेचैनी हुने, मुटु दुख्ने, पेट दुख्ने आदि लाई समेत बोक्सी वा किच कन्या वा चुडेलले सताएको भन्ने गरिन्छ। यस्ता समस्यामा मनोवैज्ञानिक सबलता दिने सबै प्रकारका उपाय अपनाइने गरिन्छ। ग्रह काटिएकाले पतिको मति सुध्रने र भविष्य उज्ज्वल बन्ने भरोसा दिलाउने देखि मिठो खानपान र हर्बल ओखती वाट व्यक्तिको सामाजिक संसर्ग बढाउने र उसलाई सामान्य दिन चर्यामा फर्काउन कोसिस गरिन्छ।

 

प्रकृतिमा प्राकृतिक रूपमै विभिन्न घटनाहरू नियमित घटिरहेका  हुन्छन्। घटेका घटना मद्ये अत्यन्त धरै घटनाहरू एक सर्वसाधारण मानिसको लागि अचम्मको नौलो हुन्छ। जस्तै मान्छे जलाउने नदी किनार वा गाड्ने स्थानमा रहेको मृत शरीरको भग्नावशेष वाट मिथेन ग्यास निस्कन्छ। जब मिथेन ग्यास अक्सिजनको संसर्गमा आउँछ त्यहाँ आगोको ज्वाला बन्दछ। आगोको लागि चाहिने थोरै इन्धन र हावा दुवै हुने मसान घाटमा रातको धेरै अँध्यारो समयमा सानो आगो समेत ठुलो देखिने र त्यो उज्यालोमा देखिएको आकृति मनमनै कल्पना गरिएको भूत वा प्रेतको आकृति सँगै मिल्न सक्छ।

 

जसरी बादल लाई जेको आकृति सम्झिएर हेर्‍यो त्यस्तै अन्दाजको आकृति तैयार हुन्छ। यहाँ पनि त्यस्तै हुन सम्भव बनेको हुन्छ। त्यो देखेर तर्सिएको मनमा उब्जेको डर मानिसमा लामो समय देखि अन्तर आत्मामा गडिएर रहेको अन्य डर सँग मिली   प्रस्फुटन हुने माध्यम बनेको भेटिएको छ।

 

त्यो भनेको मानव संरचनामा रहेको विभिन्न तत्त्वहरूको विकिरण र प्रकृतिको विकिरण बिचको संसर्ग स्पार्क जस्तो भई टुटेर बिथोलिन पुगे जस्तै हो। त्यसलाई हामीले परम्परागत रूपमा मसानको कारण विकास भएको मनोवैज्ञानिक रोग भन्ने नाम दिएका छौ।

 

यदि उक्त मुर्दा स्थलमा एक भर्खरै कि राम्री अविवाहिता कन्याको देह सेलाइएको थियो, बिरामीको ज्ञानमा त्यो कुरा रहेछ, उक्त समयमा बिरामीलाई त्यो घटना याद आएछ भने उसले त्यहाँ किच कन्या देखिदिने गर्छ। मानौँ कुनै भद्र महिला डेलिभरीको कारण मरेकी र जलाइएकी रहिछन् भने त्यही घटनामा बिरामीले चुडेलको अनुभूति गर्न सक्छ। जे सुकै देखिएको होस् तर्सिएको बखत बिरामीको सातो जाने गर्नु नौलो भएन।

 

आत्मबल कमजोर रहेको अवस्थामा उक्त व्यक्ति लाई  मनोवैज्ञानिक उपचार चाहिन्छ। अतृप्त आत्मा वा भत्किएको आत्मा शान्त बनाएको नाममा यथार्थमा स्वयम बिरामीको आफ्नै कमजोर मनस्थितिले खस्किएको आत्मा बलिष्ठ पारिएको हुन्छ। त्यो भनेको उसको दबेको आत्मबल उच्च बनाइएको हुन्छ। आजको आधुनिक औषधि विज्ञानको मानसिक रोगको सन्दर्भमा गरिने वैज्ञानिक भनिने उपचारको विधिको चुरो समेत आखिर अन्ततः त्यही नै हुने गर्दछ।

 

परम्परागत मान्यताको चुरोमा पुगेर हेर्दा धामी झाँक्रीको उत्पत्तिको मूल श्रोत भगवान् शिव नै हुन्। सृष्टिको सञ्चालनमा जुन सन्दर्भमा महादेवले सप्त ऋषिको परिकल्पना गरे त्यस्तै तिनीहरूको बिचारको व्यवहारिक उपयोगको लागि हरेक ऋषिको सहयोगीको रूपमा सात भाइ धामी-झाँक्रीको परिकल्पना गरेको देखिन्छ। मानव र प्रकृतिको बिचको सामान्यजस्ताको अभावमा पैदा हुने मनोवैज्ञानिक बिमारीको रोगको जुन बिन्दुमा सहजता बिग्रिएको हो त्यही बिन्दुमा उपचारको लागि  धामी-झाँक्री विद्याको विकास भएको देखिन्छ।

 

अर्को तर्फ अर्ध नरेश्वर भनिने महादेवको आधा भाग वा पत्नी पार्वती आफै बोक्सी ज्ञानको प्रवर्तक थिइन्। उनले शक्तिको रूपमा बोक्सी ज्ञान आफ्ना सात बहिनीहरूलाई दिइन। सात बहिनीकी कान्छी बहिनी बाट बोक्सी ज्ञान वैचारिक रूपमा मानिसमा हस्तान्तरण भएको ठानिन्छ।समाजमा धामी-झाँक्री र बोक्सीको भूमिका समग्रमा शिव-पार्वतीको जस्तो निर्माण र विनाश बिचको संयोजन मार्फत हुने नियमित प्रकृतिको सञ्चालनको चक्रको नियति नै बुझिन्छ। तिनीहरू समाजमा एक आपसमा विपरीत भूमिकामा रहेर मानवता कायम गर्न नै समर्पित रहेको भेटिन्छ।

 

तन्त्र शास्त्र र शिव पुराणका अनुसार, बोक्सी एक महिलाको रूपमा चिनाइने अदृश्य शक्तिको श्रोत हो जुन सामान्य देवता वा देवीको भन्दा फरक प्रकृतिको शक्तिको तरङ्ग निर्मित छ। बोक्सीमा निहित उक्त प्राकृतिक शक्तिको विभिन्न रोग निको पार्ने क्षमता रहन्छ । बोक्सीको शक्तिको तरङ्ग देवता, देवी, भूत, प्रेत, पिचास वा डङ्किनी आदिको  तरङ्ग एक आपसमा जोड्ने वा छुट्टाउन सक्ने प्रकृतिको हुन्छ।

 

बोक्सीमा निहित तरङ्ग कुनै पनि देवता, देवी, भूत, प्रेत, पिचास वा डङ्किनी आदिको शक्ति मानव र प्रकृति बिचको संसर्गको शक्तिको तरङ्ग सँगै जोडी दिन वा छुट्ट्याई दिन सक्षम छ। मानव र प्रकृति बिचको संसर्ग बिच उक्त शक्तिका तरङ्गहरू जोडिदा मानिसमा असहजता आउँछ भने छुट्टिँदा सहजता आउने हुँदा मानिस लाई आफ्नो असहजता वाट मुक्ति मिल्छ।

 

मानव र प्रकृति बिचको बिग्रेको असहजता लाई मानिस आफैले आफ्नो आत्मा बल लाई सकारात्मक सोच मार्फत दरिलो गरेर आफैले मात्र पुनः सहज पार्न सक्दछ। जसरी शरीर भित्रको रोग शरीर आफैले आफ्नो रोग प्रतिरोधी क्षमता विकास गरेर जित्न सक्दछ। त्यसमा लिइने ओखती, विभिन्न सर्जरी, अक्सिजन, हर्बल, हिलिङ्ग खाद्य, योग, ध्यान आदिले  स्व-हिलिङ्गमा सहजीकरण गरिदिन्छ। त्यसरीनै मानिसको वातावरण सँगको बिग्रिएको बाहिरी असहजता समेत मानिसले आफ्नो आत्मा बल बलिष्ठ परेर मात्रै आफैले सहज गर्न सक्छ।

 

उक्त प्रक्रियामा  हाम्रो परम्परागत शैलीको धामी, झाँक्री जस्ता विधि, देवी देवताको पूजा आराधना, हर्बल ओखती, मन्त्र, तन्त्र (विभिन्न साधन), ध्वनि, योग, ध्यान, सामाजिक उत्सव आदिले सकारात्मक सोच विकास गरी शरीरलाई आफै आफ्नो वातावरणको संसर्ग सँगै भएको असहजता सहज गर्न चाहिने पर्याप्त आत्मबल विकास गर्न सहजीकरण गरिदिन्छ।

 

जुन प्राकृतिक प्रक्रिया शान प्रक्रिया हो। त्यो मसान र मसान वर्गको शक्तिको हस्तक्षेपहरू वा अवरोधहरू हटाउन र शरीरलाई आफ्नो प्रकृति सँगको संसर्ग पुनः सहजता पूर्वक कायम गर्न  निर्णायक बनिदिन्छ।

 

स्वास्थ्य अवस्थाको दृष्टिले मानसिक रोग भनेर एक व्यक्तिको सोच, भावना वा व्यवहार वा कुनै दुई वा तीन वटैमा आउने परिवर्तनको कारण वाट उक्त व्यक्ति लाई पुग्ने कष्ट तथा काम सम्पन्न गर्न हुने कठिनाइ लाई जनाउँदछ। अन्य रोगहरूमा जस्तै मानसिक रोग समेत कुनै गम्भीर अवस्थाको हुन्छ भने कुनै सामान्य प्रकृतिको हुन्छ।

मानसिक रोग भएता पनि सामान्य देखिने र व्यवहार गर्ने मानिसको मानसिक रोग लाई सामान्य प्रकृतिको मानसिक रोग अन्तर्गत राखिन्छ। असामान्य देखिने, महसुस गर्ने र व्यवहार देखाउने लाई गम्भीर प्रकृतिको मानसिक रोग भनिन्छ।

 

तपाइको अन्तरात्माले जुन सोच तपाइको आफ्नो हितमा रहेको र मानवताको समेत कल्याण गर्ने प्रकृतिको हुन्छ भनी विश्वास गर्दछ त्यसलाई सकारात्मक सोच भनिन्छ। जुन सोच तपाइको पक्षमा वा विरुद्धमा नै होला तर त्यो मानवता विरोधी हो भनी यकिन हुन्छ त्यसलाई नकारात्मक सोच भनिन्छ।

 

मानिसमा हुने सचेत दिमाग र अचेत दिमागको कारण हरेक मानिसमा सकारात्मक र नकारात्मक दुवै सोचको विकास हुने गर्दछ। समय र परिस्थिति अनुरूप कुनै पनि मानिसको सोचमा जस्तो सुकै बिचार वा भावनाहरू आवास त्यसलाई आफ्नो सचेतन विवेक प्रयोग गरी मानिसले कर्म सकारात्मक गरोस् भन्ने सनातन मान्यता मानव धर्मको चुरो मान्यता हो। जीवनको हरेक पल पलमा मानव धर्मको चुरो पकडन नसक्दा एक व्यक्तिको जीवनमा धेरै नकारात्मक कर्म हुन पुग्दछ। सर्व गुणले परिपूर्ण मानिसले मात्र हरेक क्षण मानव धर्मको चुरो कायम गरी आफ्नो सम्पूर्ण कर्म पुरा गर्न सक्दछ।

 

स्वास्थ्यको दृष्टिवाट यदि कुनै मानिसले आफ्नो जीवनमा पुरा गर्नुपर्ने अधिकतम मानव धर्मको पालन गर्न जानाजान चुकी रहेको छ भने उसलाई मानसिक रोगी ठानिन्छ। चाहे त्यो पैसाको मोह होस वा प्रेमको मोह, जोबनको प्यास होस वा शक्ति वा सामाजिक प्रतिष्ठा आदिको तिर्खाले बिगार्ने मानसिक सन्तुलन सबै नै  मानसिक रोग को कारक बन्न सक्दछ।

 

जीवनमा आइपरेको परिवार सुखको अभाव होस वा अर्थको, खानाको अभाव होस वा इज्जतको, शरीर भित्रको पोषण वा औषधीय तत्त्वको अभाव होस वा भित्री अन्तर्मनको र शारीरिक आनन्दको अभाव ती सबैले मानिसको मानसिक अवस्थामा नै खलल पुर्‍याउने खतरा हुन्छ। मानिस लाई मानसिक रोगी पारि दिन सक्छ।

 

जब मानव धर्मको चुरो पुरा गर्ने आफ्नो कर्तव्य मानिसले पुरा गर्न सक्दैन तब त्यसको चुरो कारण मानसिक गडबडी मानिन्छ। आधारभूत रूपमा मानव धर्मको सदैव पालना गर्न सक्ने मानसिक कार्यक्षमताको मानिस मानिसको रूपमा रहन सम्भव देखिँदैन।सदैव आधारभूत मानव धर्म निभाउन सक्ने मानिस लाई आदर्श मानिस भनिन्छ।

 

जसलाई ईश्वरको स्वरूपमा चित्रित गरिन्छ। जस्तै कृष्ण, राम र बुद्ध। सैद्धान्तिक रूपमा कुनै पनि सर्व साधारण मानिस मानसिक रोग मुक्त हुनु सम्भव छैन भन्ने हाम्रो अलिखित सामाजिक मान्यता रहेको छ।

 

सामान्य मानिस भन्दा अलि फरक केही जटिल प्रकृतिको मानसिक बिरामीले छोएको तर बिरामी भएजस्तो नदेखिने, स्वतन्त्र रूपमा आफ्नो नियमित कार्यहरू सुचारु सम्पन्न गर्ने क्षमताको व्यक्तिलाई सामान्य प्रकृतिको मानसिक रोगी भनिन्छ। उनीहरू आफ्नै आत्मबल वा तन्त्र जस्तै कुनै हल्का ओखती वा औषधीय गुणको पदार्थ सेवन वाट अर्थात् अन्य जीवन शैलीको उपयोग वाट आफ्नो जीविका सहज गरिरहेको अवस्थामा समेत हुन सक्दछन्। उनीहरूमा रोगको हल्का लक्षण मात्र रहेको अवस्था रहन्छ।

 

जटिल प्रकारको मानसिक रोगको सिकार भएको व्यक्तिहरूमा भने थप स्पष्ट लक्षणहरू देखिने गर्दछन्। जस्तै  दोधारमा पर्ने, भ्रम पैदा हुने, वा कुनै पदार्थको सेवन छोड्दा हुने बेचैनी र चिडचिडावट  वा ऊईदड्रल आदि।

 

मानिसमा हुने  विभिन्न प्रकारका मानसिक रोगमा डिप्रेसन, सिजोफ्रेनिया, अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी), अटिजम, र अब्सेसिभ-कम्पल्सिभ डिसअर्डर आदि छन्। हरेक जटिल प्रकारको मानसिक रोगले मानिसको सोच, अनुभूति, ब्यहोरामा बदलाव ल्याएर उनीहरूलाई समस्यामा धकेली  रहेको हुन्छ।

 

मानिसमा देखा पर्ने मस्तिष्कका सबै प्रकारका  रोगहरूलाई मानसिक रोगको रूपमा वर्गीकृत गरिँदैन। मास हिस्टेरिया, छारे रोग, पार्किन्सन्स रोग र मल्टिपल स्क्लेरोसिस जस्ता विकारहरू मस्तिष्कका विकारहरू भएता पनि तिनीहरूलाई मानसिक रोगहरू भन्दा स्नायु रोगहरूको रूपमा चित्रित गरिन्छ। मानसिक रोगहरू र स्नायु रोग बिच अत्यन्त नजिकको सम्बन्ध देखिन्छ।

 

मस्तिष्कको संरचना, रसायन र कार्य प्रक्रियामा आएको जैविक परिवर्तनका कारण मानिसमा विकास हुने मानसिक रोगको उपचारमा  औषधि विज्ञान अन्तर्गतको आयुर्वेद र आधुनिक औषधि विज्ञानको प्रभावकारी भूमिका रहन्छ।

 

मस्तिष्कको संरचना, रसायन र कार्य प्रक्रियामा आउने नकारात्मक परिवर्तनको जडको कारक बनिदिने गलत अनुभूति, अवधारणा, महसुस, आवेग, संवेग आदि र तिनको कारण वाट  विकसित हुने सुरुवातको अल्पकालीन मनोवैज्ञानिक विकृतिको  उपचारमा विभिन्न मनोवैज्ञानिक सुधारका उपायहरू तथा सल्लाह सुझाव प्रभावकारी देखिने गर्दछन्।

 

विभिन्न तन्त्र, मन्त्र, जडीबुटी तथा योग, ध्यान सम्मोहन कला जस्ता सकारात्मकता अभिवृद्धि  गर्ने उपायहरू भने दुवै चरणमा उपयोगी भेटिएका छन।

 

अन्य रोगको  निदानमा जस्तो डाक्टरहरूले  बिरामीको रगत, दिशा पिसाब आदि परीक्षण वाट कुनै व्यक्तिलाई मानसिक रोग छ वा छैन भनी निर्धारण गर्न सकिँदैन। न त चर्चित सूक्ष्म जीवहरूको परीक्षण वाट नै मनोरोगहरूको पहिचान हुन सक्छ।

 

मानसिक रोगहरूको पहिचानको लागि छुट्टै प्रकृतिको प्रभावकारी शारीरिक  वैज्ञानिक परीक्षणहरू आज सम्म विकास गर्ने नसकिनुको पछाडि हाम्रा परम्परागत मानसिक रोगको निदानमा हामीले प्रयोग गर्दै आएको रैथाने विधि र प्रविधिहरूको प्रभावकारिता र तिनको पछाडिको वैज्ञानिक कारकहरूको पहिचान गर्ने तर्फ आधुनिक औषधि विज्ञानको ध्यान नपुग्नु र परम्परागत आयुर्वेदिक उपचार पद्धति लाई नियोजित रूपमा औपचारिक स्वस्थ उपचारको पद्धति वाट बाहिर फाली वैकल्पिक उपचार पद्धतिमा सीमित गर्नु थियो। जुन आज आएर संसारले महसुस गर्न पुगेको छ।

 

आयुर्वेदिक पद्धति अन्तर्गत जुन दिन सर्जरी गर्न बन्देज गरियो, मानिसलाई सम्पूर्ण रूपमा स्वस्थ राख्ने मनोवैज्ञानिक र आध्यात्मिक सबलताका उपायहरू जुन दिन पाखे र रूढिवादी भनी अपहेलन गरियो र जुन दिन प्राकृतिक हर्बल र आयुर्वेदिक औषधीय खानपान र ओखती लाई आधुनिकताको नाममा सेन्थेटिक ओखती वाट प्रतिस्थापन गरियो त्यो बिन्दु वाट पृथ्वीलाई मानसिक रोगको घर बनाउने कार्यको औपचारिक सुरुवात गरियो।

 

पैसा र शक्ति प्राप्तिको भोकमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो राजनैतिक र व्यावहारिक एकाधिकार जमाउन भएका मानवता विरोधी, पर्यावरण प्रतिकुल मानव कार्यले कुनै न कुनै मानसिक रोग नभएको मानिस भेट्नै ग्रहमा पृथ्वीलाई परिवर्तन गरिदियो। पृथ्वीलाई नै रोगी बनाइदियो।

 

हाम्रा डाक्टर र स्वस्थ कार्यकर्ताहरूले समेत अनुमान गरेभन्दा एक अविश्वसनीय रूपमा जटिल अङ्गको रूपमा  मस्तिष्क रहेको वेदान्तको मान्यता आज आएर आधुनिक औषधि विज्ञान र स्वस्थ विज्ञानले स्वीकारेको छ।

 

हाम्रो शरीरको कुल तौलको मात्र दुई प्रतिशत तौल ओगटेको हाम्रो मस्तिष्क एक्लैले हामीले फेर्ने सास वाट प्राप्त हुने अक्सिजनको  विष प्रतिशत उपयोग गर्दछ।

 

हाम्रो शरीरमा पैदा हुने सम्पूर्ण ऊर्जाको बिस प्रतिशत ऊर्जा समेत त्यही  मस्तिष्कले खपत  गर्दछ।

 

मानिसको रूपमा मानिसले अनुभव गर्ने हरेक कुरालाई  मस्तिष्कले नै नियन्त्रण गर्छ। जस अन्तर्गत मानिसको चालचलन, वातावरण वाट प्राप्त हुने अनुभूति, अनैच्छिक अङ्गहरूको नियमन लगायत सबै कार्यहरू पर्दछ।

 

सास फेर्न र मानव भावनाहरूलाई नियन्त्रण गर्ने जस्ता शरीरका प्रक्रियाहरू समेत मस्तिष्क वाट नियन्त्रण हुने गतिविधि हुन।

 

मस्तिष्कमा प्रत्येक सेकेन्डमा सयौँ हजारौँ रासायनिक प्रतिक्रियाहरू हुन्छन्। ती प्रतिक्रियाहरूले मानिसमा उत्पन्न हुने  विचारहरू, कार्यहरू, र व्यवहारहरूलाई नियमन गर्दछ।

 

यी तिनै प्रक्रियाहरू हुन जसको परिणाम स्वरूप पैदा भएको सामूहिक प्रतिक्रियाको प्रतिनिधि क्रियाको रूपमा हामीले हाम्रो उत्तेजनाको रूपमा हामी वरपरको वातावरणमा आफ्नो प्रतिक्रिया दिने गर्दछौ।

 

छोटकरीमा मस्तिष्कले हामीलाई बाँच्न अनुमति दिने आन्तरिक प्रक्रियाहरू र व्यवहारहरूलाई निर्देशन दिने कार्यका अलावा हाम्रो वातावरणमा हामीले पठाउने प्रतिक्रियाको समेत नियमन र संयोजन गर्दछ।

 

हामीलाई बाँच्न सञ्चालन हुने आन्तरिक प्रक्रियाहरू र व्यवहारहरू शरीरको आन्तरिक गतिविधिहरू लाई सन्तुलन गरेर मात्र मस्तिष्क वाट सञ्चालन र संयोजन सम्भव बन्छ।

 

जसलाई दोषहरूको प्रभावकारी संयोजन भनिन्छ। शरीर बाहिरको वातावरणमा मस्तिष्कले पठाउने प्रतिक्रिया संयोजन र नियमनको लागि शरीरको सम्पूर्ण गतिविधिहरूलाई बाहिरी वातावरण सँग सन्तुलित राख्न जरुरी बन्दछ।

 

आजको आधुनिक भनिएको स्वस्थ र औषधि विज्ञानले शरीरको आन्तरिक प्रक्रियाहरू सन्तुलित रूपमा संयोजन हुन अवरोध पुर्‍याउने तत्त्वहरू पहिचान गरी त्यसको निवारणमा काम गर्ने गर्दछ।

 

शरीर बाहिरको वातावरण अनुरूप शरीरलाई सन्तुलित र निश्चित हर्मोनिमा लगेर स्वस्थ राख्ने क्रिया तथा प्रतिक्रियामा आउने बाधा अड्चनको निवारणमा आफ्नो कार्य क्षेत्र अनुरूप हाम्रा धामी-झाँक्री लगायतका परम्परागत  उपचार पद्धति, योग, ध्यान र आध्यात्मिक मान्यताको भूमिका रहेको आज आएर विज्ञानले महसुस गरेको छ।

 

हाम्रा आयुर्वेदको सम्पूर्ण स्वस्थको अवधारणा अन्तर्गत भने दुवै प्रक्रियाको सन्तुलन गर्ने कार्यहरू समावेश छन्।

 

मानिसको दिमागले कसरी काम गर्दछ र त्यसलाई आफ्नो कार्य सम्पन्न गर्न कसरी सहज बनाउने भन्ने वारेको ज्ञान र कुशलता आधुनिक विज्ञान र वेद अन्तर्गतको आयुर्वेदको दक्खलको क्षेत्र हो।

 

मानिसको शरीरको हरेक अङ्ग प्रत्यङ्ग र गतिविधिको सञ्चालनको लागि निर्देशन गर्ने मस्तिष्क आफै भने को वाट सञ्चालित हुन्छ भन्ने कुराको उत्तर आधुनिक विज्ञान अन्तर्गतको औषधि विज्ञान र स्वस्थ विज्ञान सँग भेटिँदैन।

 

त्यसको जवाफ आयुर्वेद को ज्ञानको मूल श्रोतको रूपमा रहेको वेद सँग मात्र देखिन्छ।

 

मानिसलाई सञ्चालन गर्ने मानिसको दिमाग आफै भने कसरी सञ्चालित छ भने वेदान्तको ज्ञानको  अनुसरण गरेर आज आयुर्वेद र आधुनिक विज्ञानले दैनिक अहम् कुराहरू बारे नयाँ नयाँ तथ्य बाहिर ल्याउन सफल बनेको अबस्था छ।

 

आधुनिक विज्ञानले मस्तिष्क आफै को वाट सञ्चालित हुन्छ भन्ने कुरामा खासै दक्खल नराख्ने हुँदा त्यही विज्ञान बुझेको आधारमा विज्ञ कहलिएकाहरूमा धामी-झाँक्री लगायतका हाम्रा रैथाने परम्परागत हिलिङ्ग पद्धति सन्दर्भ  विहीन र रूढिवादी लागु सामान्य ठान्नु पर्दछ।

 

हाम्रा रैथाने परम्परागत प्रविधि र तिनीहरूको पछाडिको चुरो कारण बुझेर तिनीहरूलाई राम्रो या नराम्रो भनी वर्गीकरण नगरी तिनीहरू बारे अध्ययन समेत नगरी हचुवामा रूढिवादी मिथ्याको वर्गमा राखिदिने र प्रतिकारमा उत्रिने हाम्रा वैज्ञानिक सोच राख्ने भनिएका भुईँफुट्टा सोकल्ड एलियट बुर्जुवा वर्गको  नियतलाई भने स्वस्थ मान्न सकिँदैन।

 

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा)

87Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: