मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गाँजा सम्पूर्ण औषधीय जडीबुटीहरूको कोहिनुर – वेद !

अथर्ववेदाचार्य नारायण घिमिरे।

प्राचीन नेपालमा भाँग र गाँजा आयुर्वेदमा ओखतीको रूपमा नभएर स्वस्थ मानिसको सुधारिएको स्वस्थ कायम गर्न समेत प्रयोग हुने गर्दथ्यो। आजको समयमा पुग्दै गर्दा संसारमा स्थापित मान्यता के हो भने वैदिक अवधारणाहरू  वैराग्य, अध्यात्म र मनोविज्ञानको क्षेत्रमा विद्याको विकासमा मात्र होइन वैदिक काल देखीका पुरातन समयमा मानव सव्यताले विकास गरेको जीवन विज्ञान र व्यवहारिक विज्ञान अन्तर्गत मूलतः यथार्थ घटनाहरूको अवलोकन र अन्वेषण विचरणको प्रयोगशाला मार्फत सिद्ध भएका वैदिक विज्ञानका हाइपोथेसिसमा आधारित सिद्धान्तका सङ्कलनको दस्ताबेज थियो। तत्कालीन समयमा ती दस्ताबेजहरू दस्तावेजीकरण गरी पुर्खै पुर्खा सम्म हस्तान्तरण गर्न अत्यन्त धेरै सूचनाहरूलाई सानो ऋचाको रूपमा मिलाएर सम्झन र हस्तान्तरण योग्य लायक बनाउन तिनीहरू अत्यन्त छोटोमा अत्यन्त विशाल अर्थ दिने गरी सम्पादन गरियो।

 

पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः।

दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥अथर्ववेद ११.६.१५॥

 

जडीबुटीहरूको पाँच प्रमुख प्रभावकारी औषधीय भाग  जरा, डाँठ, पात, फूल र फल हुने गर्दछ। बहु उपयोगी तथा सर्वाधिक महत्वको मनोवैज्ञानिक औषधीय गुणका जडीबुटीको सारतत्व लाई सोम भनिन्छ। सोम अन्तर्गतका अत्यन्त शक्तिशाली तिन बिरुवा कुशको जरा, भाँगको सचेतक सारतत्व र शक्ति वर्धक जौ हुन्। तिनीहरूले रोग प्रतिरोधित शक्ति, रोगको रोग थाम र शारीरिक ऊर्जा वा टनिक उपलब्ध गराउने गर्दछ। तिनीहरूको उचित उपयोगले हामीलाई सङ्क्रमण र रोग आदिले दिने पीडा र कष्ट वाट बचाउन सहयोग गर्दछ।

 

[नोट: एलोपेथिक ओखतीको आधार निर्माणको क्रममा ईथाइल अल्कोहल सर्वत्र प्रयोग हुने जस्तै प्राय धेरै परम्परागत आयुर्वेदिक ओखतीको आधार चूर्णको रूपमा हेम्प (भाँग) प्रयोग हुने हुँदा भाँग  औषधीय गुणका हिरा रुपी जडीबुटीहरू मध्येको बृहत् उपयोगी कोहिनुर हो।]

तत्कालीन वेदका ऋचाहरूको शाब्दिक अर्थ यति विशाल छ कि मात्र भाषा र साहित्यको ज्ञान भएकोले गर्ने त्यसको व्याख्या माटोको विशाल सम्भावना र यथार्थ बारे मात्र पृथ्वीको माथिल्लो शीर्ष स्थानको माटो बारे व्याख्या गरे जस्तो हुने गर्दथ्यो। जब एसियाको इकोनोमी ध्वस्त गर्ने नियतमा वैदिक विज्ञानका ज्ञान समाजमा स्थापित हुन वाट रोक्न पश्चिमाहरूको ठुलो लगानी र प्रयास मुलुकमा भित्रियो तब वैदिक ज्ञानलाई हाम्रो समाजमा अज्ञानी र पाखेहरूको, रूढि वादीहरूको विचारको रूपमा स्थापित गर्ने प्रयास भए। आजको मितिमा आइपुग्दा त्यो मुलुकको शिक्षा, स्वस्थ, पत्रकारिता र प्रगतिशील बुद्धिजीवी फाँट हरूमा मात्र सीमित हुन पुगेको छ। मुलुक उल्लेखित चार अङ्ग आजको मिति सम्म पनि अत्यन्त सङ्क्रामक र क्रूर भाइरस ग्रस्त नै रहेकोले मुलुक कहिल्यै विकास हुने नसक्ने हो कि भन्ने गरी थला परेको जो कहिले महसुस गर्न सक्दछ।

 

हाम्रा भाइरस ग्रस्त चार अङ्गको प्रभावको कारण परम्परागत वैदिक विज्ञानले  पहिचान गरेको गाँजा (मरिवाना) र हेम्प (विजय वा भाँग) वारेको वास्तविकता हाम्रो समाजमा पुग्न सकेन।  उल्टो यसलाई पश्चिमा व्यापार वृद्धिको नियतमा औद्योगिक रूपमा सुरु भएका अत्यन्त हानिकारक सुर्ती र रक्सी भन्दा समेत खराब चिज रहेको जस्तो गरी सामाजिक घृणा उत्पन्न गरियो। गाँजा कै हाराहरिको दुर्गुण दिने चिया, कफी सबैको ग्राह्य हुँदै गर्दा सत गुण पक्षको हिसाबमा चिया, कफी भन्दा हजारौँ औषधीय गाँजा भने प्रतिबन्धित हुने रूपमा पुग्यो। अन्यत्र गाँजा प्रतिबन्ध गर्नु गलत निर्णय रहेको भन्ने महसुसमा गाँजा उद्यम कानुनी बनिसक्दा समेत  हाम्रोमा भने अलमल्याएर अझै यसको गुण वाट हाम्रो समाजले फाइदा लिन निकै धेरै वर्ष कुर्नुपर्ने गरी सरकारका नीति निकायमा रहेकाहरूको हल्लाउँदै जाने नियत हाल प्रस्टिएको छ।

 

प्राचीन वैदिक विज्ञानले आफ्नो व्यवहारिक परीक्षण मार्फत गाँजाको फाइदा बारे के भनेको थियो भन्ने बुझ्न पहिले सोम रसमा प्रयोग हुने सोमको वास्तविक अर्थ र महत्त्व साथै सोमरस बारे जान्नु जरुरी छ।

 

वैदिक कालिन विज्ञानले अमृत गुण दिने ज्ञान प्राप्तिमा सहयोग गर्ने ओखतिय ज्ञान तथा अन्य खाद्य लाई सोम र पेय लाई “सोम रस” भन्ने गर्दछ। वैदिक अनुष्ठान हरूमा आज हामीले चिया पिउने गरे जस्तै सोम रस पञ्चामृतमा राखेर बाँडिने सेतो झोल थियो। सोम रस नराखिएको पञ्चामृत भने निश्चित उमेर समूह भन्दा कमका वालकहरू र त्यसले प्रतिकुल स्वास्थ्य दिने देखिएका व्यक्तिहरू लाई पिउन दिने गरिन्थ्यो। सोम रस लाई  मूलतः मन्द जूनको प्रकाशले ओखतिय तथा मनोवैज्ञानिक सबलता दिने रसको विकास गराउने जडीबुटी र कन्दमूल वाट निकालिएको झोल मिलाइएको पेय लाई जनाउने गर्दथ्यो। रसले त्यसको सारतत्वको अर्थ दिने गर्दथ्यो।

 

जुन सारतत्वमा जूनको प्रकाशको प्रभावले दिने हदको कोमलता, शीतलता र आनन्द दिने क्षमता रहन्छ ती गुणका पेय र आध्यात्मिक विचारको पूर्तिको संयुक्त प्रभाव दिने पेय रस तथा ज्ञान रसलाई सोम रस भनेको देखिन्छ।

 

वेदमा नै लागु तथा विषाक्त मद्य गुणको असुर गुण दिने प्रकृतिको रक्सी मात्र नभएर अन्य पेय, विचार तथा असुर प्रवृत्तिलाई “सुरा रस” भनिएको छ। वेदमा व्यवहारिक सकारात्मकता उत्पन्न गर्ने शक्तिलाई सुर वा देव तथा  व्यवहारिक नकारात्मकता पैदा गर्ने शक्तिलाई असुर वा राक्षस भनी व्याख्या भएको छ।

 

खाद्य तथा पेयको मनोवैज्ञानिक रूपमा देव गुण वा असुर गुण पैदा गर्ने क्षमता हुने बुझेको वेदले रगतको रेडीकलाईज आयोन स्क्याभेनजिङ्ग (radicalize ion scavengers) गर्न अर्थात् रगत सुद्ध गर्ने प्रमाणित भएका गौ-माताको गौँत सुद्ध गरी बनेको अर्क, तुलसी रस , भाँगको गेडाको तेल वा हेम्प ओइल, तथा गाँजामा हुने सीबिडि जस्ता तत्त्वहरू लाई देव गुण विकास गर्ने खाद्य र पेयमा राखेको छ। अर्को तर्फ  गाँजामा हुने नसा दिने  टिएचसी, धतुरो, रक्सी (सुरा रस) र सुर्ती आदिलाई दानवीय गुण पैदा गर्ने पेयलाई असुर रस (जुन असुरहरूले सुर रस भनी पिउने गर्दथे) भनिएको छ।

 

परम्परागत रूपमा सोम रसको सारतत्व तुलसीको गेडाको तेल, पातको तेल,  हेम्प ओइल, गाँजाको तेल, पातीको तेल, गौँतको अर्क सबै हाइड्रो डिस्टिलेसन विधि वाट बनाउने गरिन्थ्यो। प्राय सेतो पञ्चामृतमा मिसाएर सोम मिसाएर पिइने देव गुणी सोमरस को बदलामा असुर रस पिउने लत लागेकाहरू फर्मेंन्टेड (कुहिने गरी कुइन भएको) अन्न वाट  निर्मित सुरा पिउने, धतुरो र सुर्ती आदिको नसा गर्दथे।

 

लगभग ४०० ईसा-पूर्वमा  तनहुँ देवघाटमा जन्मिएका संसारकै पहिलो प्लास्टिक सर्जन आचार्य सुश्रुतले दक्षिण भारतमा एक असुर प्रकृतिको राजाले नाक काटिदिएको विद्वानको नाकको प्लास्टिक सर्जरी गरी नयाँ नाक हालिदिने क्रममा रक्सी लाई एनेस्थेटिकको (Anaesthetics) रूपमा प्रयोग गरे। त्यसपछि मरेको लासको नाक, कान निकालेर जिउँदो नाक, कान नभएको मानिसमा जोड्ने जस्तो काममा रक्सी सेनिटाईजर तथा  एनेस्थेटिक तथा सुकेको गाँजालाई हरियो गाँजाले छोपेर बाल्दा आउने बाक्लो धुवा धुवा आदि समेत एनेस्थेटिकको रूपमा उपयोगमा आयो। जसले गाँजा र रक्सी दुबैलाई विद्वानहरुको कार्य क्षेत्रमा स्वीकार्य बनायो।

 

कलियुगको सामान्य गुण नै मान्नु पर्दछ बिस्तारै हाम्रो जमानामा आइपुग्दा सुरा-रसको पारखीले वास्तवमा सुरा पिउने तर सोम रस पिएको हल्ला गर्ने गर्दा गर्दै समाजमा सोम रस र सुरा रस बिचको भिन्नता नै लोप भएको अवस्थामा पुग्यो।  कसैले सोम रस भनोस् कि सुरा रस, ठुलो समुदायले त्यसलाई रक्सी र विशेष रक्सिएको रूपमा बुझ्न थाले। सोम रस लगभग लुप्त नै बन्यो।

 

अमृत गुण दिने ज्ञानलाई समेत वेदले सोम भन्दछ। वेदको अवधारणाहरू हाम्रो दैनिक जीवनमा जताततै घट्ने घटनाहरूको अत्यन्त गहिराइमा पुगेर मनन गरी विकास भएको छ। जस्तै तपाइको हातले तपाइको मुखको लागि खाना बनाएर दिन्छ, मुखले पेटको लागि चपाउने गर्दछ भने दिमागको लागि स्वाद लिन्छ। पेटले शरीर, मन मस्तिष्कको लागि पचाउने काम गर्छ। मन मस्तिष्कले शरीर जीवित राख्न भूमिका खेल्छ। एकको अर्काको लागि काम गर्दै गर्दा सबैले आफ्नो भूमिका निभाउने क्रममा सबैको सम्मान पूर्वक उद्धार हुन्छ।

 

तपाइको दैनिक कामको सिलसिला हेर्नु भयो भने तपाई तपाइको अफिसको ग्राहकको टेक केयर गर्नु हुन्छ। तपाइले टेक केयर गरे बापत तपाइको ग्राहकले तपाइको मालिकको टेक केयर गर्दा आएको पैसा बापत तपाइको मालिकले तपाइको टेक केयर गर्दै तपाइलाई तलब सुविधा उपलब्ध गराउने गर्दछ। तपाई मालिकको काम गर्दै हुनु हुन्छ।  तर जब तपाइले तपाइको मालिकको टेक केयर गर्नु हुन्छ तब तपाइको ग्राहकले तपाइको मालिकको टेक केयर गरेकाले मात्र तपाई आफ्नै टेक केयर तपाइको मालिक वाट सम्भव  हुन्छ।

 

वैदिक सनातन धर्मको मूल आधार यही हो। त्यसैले यो सर्वाधिक वैज्ञानिक धर्म बनेको छ। वैदिक अवधारणाको सनातन धर्ममा तपाईँ सचेत रूपमा अरूको खुसीको लागि, तिनीहरूको हितको लागि, तिनीहरूको पीडा हटाउन, तिनीहरूलाई जीवन दिन, सेवा गर्नको लागि काम गर्नुहुन्छ। त्यसो हुन सक्दा तपाइले गरेका हरेक क्षणको हरेक कार्यको हरेक पक्षमा धर्म  हुन्छ।

 

हरेक क्रमको कार्यको नतिजा हुन्छ। जब तपाईँ एउटा नतिजा दिने अनुक्रम सुरु गर्नु हुन्छ, त्यसले कुनै परिणाम जन्माउने गर्दछ। त्यो परिणामको कन्सिकुयन्स वा उपक्रमले जन्माउने उपक्रम अन्त त: केही न केही फल लिएर तपाईँ सम्म ठोकिन आइ पुग्दछ। कर्मको फल पक्कै हुने छ। तर यो निश्चित छैन कि त्यो तपाइले चाहे वा इच्छाए अनुरूपको होस्।

 

तपाइले प्यार गरे बापत यदि तपाइले मात्र प्यार प्राप्त गर्न सक्नु भयो भने तपाई यो मायावी संसारको अत्यन्त भाग्यशाली व्यक्तिहरू मध्ये एकमा पर्नु हुनुहुने छ। आफूले गरेको सकारात्मक कर्म बापत आफूले गरे भन्दा अधिक सकारात्मकताको प्राप्तिको अपेक्षाले तपाइमा दानवीय असुरपन थपिदिने छ। आफूले गरेको सकारात्मक कर्म भन्दा कम सकारात्मकता प्राप्तिको अपेक्षा वा आफूले गरेको नकारात्मक कर्म बापत गरे भन्दा अधिक नकारात्मकताको अपेक्षा गर्ने बानिले तपाइमा मानवीयता विकास गर्न सहयोग पुर्‍याउने छ।

 

वैदिक विज्ञान भन्दछ, यदि तपाईँ परिणामहरू चाहनुहुन्न भने, अनुक्रम नै सुरु नगर्नुहोस्। त्यो नै नियन्त्रणको प्रमुख उपाय हो। जरुरत छैन भने यस पृथ्वीको मायावी नाटकमा आफूलाई बरबाद नगर्नुहोस्। आज सम्मको वैदिक विज्ञानको अन्वेषणरूपी प्रयोगशालाले भेट्टाएको यथार्थ के हो भने, समयको पाबन्दी फरक कुरा हो तर तत्काल वा दीर्घकाल सकारात्मक नियतमा भएका अनुक्रम वाट सकारात्मक प्रतिफल आउने गरेको छ। सकारात्मक प्रतिफलको प्राप्ति लाई स्वर्ग नामकरण भएको छ।

 

नकारात्मक नियतका अनुक्रम लाई नकारात्मक प्रतिफलले नै ढिलो चाँडो नकारात्मकता नै रिटालियट गर्ने गरेको छ। नकारात्मक प्रतिफलको प्राप्ति लाई नरक नामकरण गरिएको छ। वेदको अनुसार त्यो तपाइलाई तपाइको यही जीवनमा प्राप्ति हुन्छ। ढुक्क हुनुस् त्यो  मरे पछि पाइने होइन। मरे पछि सम्पूर्ण आत्माले मुक्ति पाउँछ। पुनर्जन्म प्राप्ति सम्बन्धी कार्य तपाईँ जीवित रहँदा नै तपाइको सन्तान वा धर्म सन्तानको रूपमा सुरु भइसकेको हुन्छ। वेदको यही निरको चुरो ज्ञानमा निकै  धेरै ज्ञानीहरू समेत अलमलिएको देखिन्छ।

 

ऋग्वेदको सोम मण्डला पूर्ण रूपमा सोम पवमानको (छानिएको शुद्ध सोम रस) चर्चा गर्न केन्द्रित छ। जसमा वैदिक अनुष्ठानहरूमा प्राकृतिक रूपमा उपलब्ध सोम वर्गका बिरुवाहरू लाई पानीको प्रयोग समेत गरी थिचेर, छानेर, आपसमा मिसाएर, दूध र दूध जन्य उत्पादन (पञ्चामृत) मा मिसाएर सुद्ध भाँडोमा खन्याइ सोमरस तैयार गर्ने विधि उल्लेख भएको छ।

 

अपाम सोमममृता अभूमागन्म ज्योतिरविदाम देवान् ।

किं नूनमस्मान्कृणवदरातिः किमु धूर्तिरमृत मर्त्यस्य ॥ ऋग्वेद ८.४८.३॥

(शरीरको कायाकल्प गर्ने सोम पान गरी हामीले सोमगुण निर्माण गर्ने दिव्य ज्ञान प्राप्त गरेका छौँ। अरूलाई दुःख र कष्ट पुर्‍याउने खराब नियतका सांसारिक छलको पिडा आदिले दिव्य ज्ञानीहरू लाई तात्त्विक असर पुर्‍याउन सक्ने छैन।)

 

योग, प्राणायाम र ध्यान जस्ता आध्यात्मिक अभ्यासको क्रममा समेत मस्तिष्कमा हुने स्रावले सोम रस शरीर भित्र पैदा हुने कुरा समेत वेदमा उल्लेख छ। योगमा आध्यात्मिक शक्तिको केन्द्र क्राउन वा मुकुट चक्रले दिने शक्तिको अनुभूतिलाई सोम भन्ने गरिन्छ। क्राउन वा मुकुट चक्रको अन्तर्दृष्टि खोलिदा परम आनन्दको अनुभूति दिने र आत्माले शरीर र सांसारिक भोगको लगाव वाट मुक्त भएर आनन्दको दुनियाँमा पुग्ने विश्वास योगको अवधारणामा उल्लेख भएको छ।

 

मानिसको शरीर भित्र शरीर आफैले उत्पन्न गर्ने भित्री सोम गाँजाको सीविडि (जुन लागु प्रकृतिको हुँदैन – इन्डोक्यानाविनोइड जसमा मूलतः आनन्दमाइड), हेम्प वा भाङको तेल लगायतका मनोवैज्ञानिक औषध युक्त चिता वृत्ति नियन्त्रण गरी मन र दिमाग शान्त गर्ने क्षमता पौष्टिक बोटबिरुवाहरूको रस, वैदिक भजनहरू, होम आदिका सुगन्धहरूलाई सोम रस प्रदायक चिज मानिन्छ। जसमा नशा नदिने औषधीय गुणको  हेम्प र गाँजाको सिबिडि आदिलाई सम्पूर्ण औषधीय जडीबुटीहरूको कोहिनुर भन्दै उच्च स्थानमा राखिएको छ।

(अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत छन्।)

82Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: