मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमा मानव रोबोट र इनोभेसन

नारायण घिमिरे

आफ्नै क्षमता पहिचानमा च्युत बनेको, अत्यन्त अदूरदर्शी, अत्माबल स्खलित नेपालको कर्मचारी प्रशासन, जङ्गलमा सिङ अड्केको बाह्रसिङ्गेको हालतमा पुगेको सरकार र नेपालमा गहिरो जरा गाड्न सफल नाफाखोरी व्यापार प्रवर्धन संस्कृति आज नेपालको दुरा-अवस्थाको कारक रहेको छ।

 

हरेक देशको विकास हुन नसक्नु वा देशले सोचेको गतिमा आफ्ना विकास, जन सन्तुष्टि र सुरक्षाको प्रत्याभूति दिन नसक्नुमा आफ्नै आन्तरिक प्रमुख कारणहरू रहन्छन।

 

संवृद्धिका हिसाबमा नेपाल एकोहोरो ओरालो मात्र लागिरहनुको अहम कारणहरू छन। तर पनी नेपालको आफ्नो प्रगति पथमा लम्कन नसक्नुका कारणहरू नेपालमा कहिल्यै उजागर हुन सकेन।

 

नेपालमा कार्यरत कूटनीतिक नियोग, पत्रकार, विकासे अड्डा र स्वतन्त्र बुद्धिजीवी र विज्ञ कहलाएका हरूबाट नेपालको दुर्गतिका प्रशस्त कारणहरू लेखिएका र बताइएका भेटिन्छ।

 

बताइएका कारणहरू जनमानसमा सही रहेको भान दिन केहि हद सम्म सफल रहेको पनी देखिन्छ ।

 

नेपालका आन्तरिक र यथार्थ चुरो समस्या बुद्धिजीवी र विज्ञ कहलाएका हरूबाट पहिचान सम्म हुन नसकेका कारण उनीहरूले देखाएका सबै समस्याको समाधान गर्दाका अवस्थामा समेत मुलुक अरू १-२ दशक विकासको बाटोमा ओरालो नै लागि रहने निश्चित छ।

 

कुनै पानी देशको विकास र उन्नति भनेर आफ्नो मुलुकको हिजोको कुल जिडिपी आज संग तुलना गर्ने र बढेको संदर्बलाई मुलुकको संवृद्धि मान्नु बेइमानी हो। बढेको जिडिपीको धारणा वैज्ञानिक संवृद्धिको धारणा हुन सक्दैन।

 

देशको विकास र उन्नतिको तुलनाको लागि विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो देश हिजो अर्को देश सँग कति पछाडि वा अगाडी थियो र आज त्यो खाडल कति छ, त्यसको मापन वा बेञ्चमार्क बाट गरिनु पर्छ।

 

कुनै एक अमुक अरब पतिको वा कुनै अवैधानिक आय वैधानिक बनाएर प्रभावित हुने जिडिपी जस्ता कुराहरू देखाएर मुलुकले संवृद्धिमा फड्को मारेको बताउनु जनताको आँखोमा छारो हाल्ने खेल मात्र मानिनु पर्छ।

 

चुरो कुरो गर्ने हो भने आज नेपाल विभिन्न समयमा योजना आयोग र अर्थ मन्त्रालयमा लामो समय डाडु पनियो चलाउने मौका पाएका, नेपालमा विशेष चासो राख्ने विदेशी दातृ संस्थाहरू बाट प्रशिक्षित तथा प्रोग्राम गरिएका आफूलाई स्वतन्त्र विज्ञको बिल्ला भिराउने नेपाली मानव रोबर्टहरुको सङ्क्रमण बाट ग्रस्त छ।

 

नेपालमा राजनैतिक, कूटनैतिक, गैर-सरकारी, सरकारी र विभिन्न मिसन हरुमा सक्रिय रूपमा कार्यरत उक्त मानव रोबर्टहरुको धारणाले वास्तवमै नेपालको धेरै माया गर्ने ठुलो बौद्धिक हिस्साको समेत ब्रेन वास गर्न सफल बन्नु नेपालको समग्र विकासको लागि चिन्ताको विषय बनिरहेको छ।

 

मानव रोबर्टको सञ्जालको सङ्क्रमणले नेपाल यति जटिल मोडमा पुगेको छ कि नेपालमा जतिसुकै राजनैतिक र व्यवहारिक परिवर्तन गरियोस मुलुकले विकासको लागि उकालो लाग्ने अवस्था कहिल्यै प्राप्ति गर्ने छैन भन्ने गहिरो निराशा मुलुक भर व्याप्त छ।

 

राज्यको नीतिहरू प्राय: दुइ तरिका बाट बन्छ।

 

एक जनताको संविधान सभा र संसद बाट।

 

दोस्रो बाधा अड्चन फुकाउने नाममा कर्मचारी तन्त्रबाट संविधानलाई आफू अनुकूल व्याख्या गरेर।

 

कर्मचारी तन्त्रबाट आफू अनुकूल व्याख्या गरेर बनाइएका नीतिहरू बिभेदकारि हुन्छ भनी जनताका प्रतिनिधि बाट नीति नियमहरू बनाउने विकल्प उत्तम ठानिएको हो।

 

जन प्रतिनिधिहरूले बनाउने नीतिहरूमा जब मुलुकको स्वार्थ खोजिने उद्देश्य बाट स्खलित हुन्छ, तब मुलुक विदेशी व्यापारिक केन्द्रको एक छत्र लुट्ने थलोमा परिणत हुन्छ।

 

मुलुक विदेशी शक्ति केन्द्र हरूको कसले कसरी धेरै लाभ उठाउने भन्ने स्वार्थको रणभुमि बन्छ।

 

संसद्मा जनभाबना पुर्याउनको लागि जन प्रतिनिधि छान्ने प्रक्रियाको रूपमा मुलुकले आम निर्वाचनको सहयोग लिन्छ।

 

जनता जस्तो सोच राख्छन जन प्रतिनिधिले त्यसैको प्रतिनिधित्व गरोस भन्ने आशय हुन्छ निर्वाचनको।

 

बहुसङ्ख्यक गरिबी र अज्ञानता जडित समाजको प्रतिनिधि पनि गरिब र अज्ञानता भएकै छानिने परिकल्पना चुनावले गर्दछ।

 

चुनावको माध्यम बाट छानिने जन प्रतिनिधि दक्ष र विषय विज्ञ हुने शम्भावाना कम रहन्छ। त्यसको आशा पनि गरिँदैन।

 

मुलुकको विकास भनेको मुलुकको आर्थिक रूपमा अन्य मुलुकसँग हुने प्रतिस्पर्धा हो। मुलुक मूलक बिचको आर्थिक प्रतिस्पर्धाले मुलुकमा दक्ष र विषय विज्ञहरूको जरुरतको माग गर्छ।

 

मुलुकमा विद्यमान स्थाहि सरकारको रूपमा रहेको कर्मचारी तन्त्र बाटै दक्ष र विषय विज्ञहरूको पूर्ति गरी मुलुक प्रतिस्पर्धी बनोस भन्ने निर्वाचन प्रणालीको आशय रहन्छ।

 

मुलुकमा उपलब्ध नरहेका दक्ष र विषय विज्ञहरूको आपुर्ति अन्तर्राष्ट्रिय बजारबाट गरियोस भन्ने आन्तरिक आशय हुन्छ।

 

नेपालमा भने उक्त खाडलको पूर्ति गर्न पाँच दशक देखि तिनै मानव रोबर्टहरुको उपयोग गरिदै आइएको छ।

 

जसको नतिजा तपाईँ हामी सामुन्ने छ।

 

कर्मचारी तन्त्र लाई सदैव निकम्मा राख्ने, मुलुकको जरुरत पूर्ति गर्न सक्षम परियोजनाहरू सुरु गर्ने नदिने, योग्य र विषय विज्ञहरूलाई प्रवेशमै रोकावट गर्न आदि जस्ता सम्पूर्ण गतिविधिमा तिनै मानव रोबर्ट हरुको माफिया करण सफल बनिरहेको छ।

 

राज्य व्यवस्था र सरकार जति पटक परिवर्तन भए पनि अटल रहेको मानव रोबर्टहरुको सञ्जालको चुकुल बाट नेपालको मुक्तिको लागि उन्मुक्तिको जरुरत देखिएको छ।

 

आज नेपाली समाजमा नेपालको विकास नहुनुको कारणमा राज्यमा व्याप्त भ्रष्टाचार, राजनीतिमा स्वेच्छाचारिता देखिनु, भिजन भएको नेतृत्वको अभाव हुनु, मानव पुँजीको प्रभावकारी व्यवस्थापन नहुनु, पुजीँपती र दलाल वर्ग सरकारभन्दा बलियो हुनु, नागरिकमा सकारात्मक सोच र चिन्तनको अभाव रहनु, मौजुदा ऐन कानुननै विकासको अवरोधक बन्नु, मुलुक भित्र दण्डहीनता बढ्नु, राजनीति फोहोरी बन्नु, चुनाव महँगो हुनु आदि इत्यादि रहेको सुनिने गर्छ।

 

उक्त कुराहरू देश विकास नहुनुको मूल कारक नभएर चुरो कारकले पैदा गरेको प्रतिफल रहेको तथ्य नेपाली समाजमा कहिल्यै पुर्‍याउन सकिएन।

 

संसारमा निकै भ्रष्टाचार हुने मुलुकहरू समेत आज उच्च विकसित मुलुक बनेर तपाई हामी समून्ने उपस्थित रहेकै छन्।

 

सरकारी काम सम्पन्न गर्ने क्रममा वास्तविक लागत भन्दा खर्च धेरै देखाएर मात्र भ्रष्टाचारको रकम जोहो हुने हुन्छ। उक्त प्रकृतिका चुहावटमा कम्तीमा निर्माण वा सेवाका कार्यहरू गरिनु अनिबार्य रहन्छ।

 

भ्रष्ट मुलुकको विकासको मूल्य तुलनात्मक रूपमा चर्को भएता पनि भ्रष्टाचारको रकमको प्रोत्साहनमा धेरै कामहरू अघि बढिरहेका हुन्छन्।

 

जनतामा सचेतना हुन नसक्दा विकासको लागि नभएर शक्ति प्राप्त गरी चुस्त कमाउने नियतका चुनाव हुने, चुनावमा भिजन भएका व्यक्तिको उम्मेदवारी नपर्ने, राज्यले मानव पुँजीको प्रभावकारी व्यवस्थापन गर्ने क्षमता गुमाउने, राजनीति फोहोरी बन्ने, चुनाव महँगो हुने, नागरिकमा अनुशासनमा बस्ने प्रवृत्ति हराउने, जवाफ देहिता कायम हुन नसकी दण्डहीनता बढ्ने गर्छ।

 

समाजमा सचेतना अभिवृद्धि गर्न समाज आफैमा आत्मा निर्भर हुनु जरुरी छ। समाजमा आत्मा निर्भरता स्वरोजगार र उधम्शिलता बाट प्राप्त हुन्छ।

 

स्वरोजगार र उधम्शिलताको लागि इनोभेसन संस्कृतिले मुलुक भित्र गहिरो जरा गाडेको हुनु पर्दछ। मुलुक भित्र इनोभेसन संस्कृति भित्र्याउन स्थानिय स्तरमा स्थानीय आवश्यकता अनुकूलको सिप, ज्ञान र प्रविधिको हस्तान्तरणको जरुरी छ।

 

स्थानिय क्षेत्रमा सिप, ज्ञान र प्रविधिको हस्तान्तरणको लागि स्थानिय क्षेत्रमा उधम्शिलतामा जान चाहने उद्यमीहरूको जरुरत पर्दछ।

 

स्थानिय क्षेत्रमा उद्यमीहरू पैदा हुन स्थानीय सम्भावित उद्यमीहरूमा राज्यले उद्यममा लगानी गर्दा जरुरी हुने आर्थिक, भौतिक, राजनैतिक र सामाजिक सुरक्षा उपलब्ध रहने आशा र भरोसा दिलाउन सक्नु पर्छ।

 

स्थानीय स्तरमा आर्थिक, भौतिक, राजनैतिक र सामाजिक सुरक्षाको प्रत्याभूति सरकारको तर्फबाट दिइने सुरक्षाको आश्वासन बाट प्राप्त हुँदैन।

 

नागरिकले स्थानीय स्तरमा सुनिरहेका र देखिरहेका गतिविधिहरू बाट स्थानीयतामा सुरक्षा रहेको नरहेको बारे आफ्नो धारणा बनाउँछ।

 

संसारमा देखिएको अनुभवले प्रस्ट पारिदिएको यथार्थ के छ भने मुलुक आर्थिक रूपमा भ्रष्ट बन्यो भने अलि ढिला विकास हुन्छ। भिजन भएका राजनीतिज्ञ रहेनन् भने उनीहरूलाई भिजन भएका राजनीतिज्ञ बाट समयले आफै विस्थापित गरी मुलुक विकास उन्मुख बन्छ। तर यदि समाजमा सामाजिक वितृष्णा उत्पन्न भयो भने मुलुक विकासको सन्दर्भमा लामो समय थला पर्ने गर्छ।

 

समाजमा सामाजिक वितृष्णा बाट संक्रमित हुन सुस्त गतिको विकास, कुनै अमुक भ्रष्ट नेता, कर्मचारी वा भिजन रहित नेत्रुत्वोले भन्दा सामाजिक सञ्जाल र मास मिडियामा काम गर्ने रेडियो, टेलिभिजन, पत्रिका जस्ता सामग्री हरुमा लेखिने र प्रसारित हुने नकारात्मक सन्देश हरुको ९० प्रतिशत भन्दा धेरै भूमिका खेल्दछ।

 

नेपालको विगत देखि हाल सम्मको सन्दर्भमा नेपालमा सक्रिय मानव रोबर्टहरुको सञ्जालले विभिन्न समयमा मुलुकमा आर्थिक, भौतिक, राजनैतिक र सामाजिक सुरक्षाको  अवस्था नरहेको नकारात्मक सन्देशहरू मास मिडियाहरू र सामाजिक सञ्जालहरुको चतुर पूर्ण प्रयोग गरी सम्प्रेषण गर्न सफल बनिरहेका छन।

 

लगातार लामो समय देखि समाजको अत्यन्त भित्री तह सम्म यो सञ्जाल सामाजिक वितृष्णा पैदा गर्न सफल बनिरहेको छ।

 

उच्च सामाजिक वितृष्णाका कारण मुलुक भित्र इनोभेसन संस्कृतिको विकास हुन सकिरहेको छैन।

 

नेपाली मानव रोबोटका सञ्जालको कर्मचारी तन्त्र र राजनैतिक नेत्रुत्वोमा रहेको दरिलो पकडका कारण इनोभेसन र विकासको अवरोधकको रूपमा रहेको मौजुदा ऐन कानुन परिवर्तन हुन सकेका छैनन्।

 

कतिपय परिवर्तन भएकाहरू मुलुकमा इनोभेसन भित्रन भन्दा पनि मुलुक लाई अनिर्णयको बन्दी बनाएर उनीहरूको यथास्थिति वाद कायम गराउन सहयोगी हुने प्रकृतिका बनेका देखिन्छन।

 

पुजीँपती र दलाल वर्ग सरकारभन्दा बलियो बनेको छ। प्रभावकारी मानव पुँजी विदेश पलायन बनिरहेको छ। मुलुक असीमित कालको लागि विदेशी शक्ति केन्द्र हरूको क्रिडा स्थल र स्वार्थको लुटको रणभुमि बनि दिएको छ।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: