मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अध्यादेश ल्याएर गाँजा खेती तत्काल वैधानिक गर्न जरुरी देखियो।

यतिखेर नेपालमा गाँजालाई वैधानिक बनाउनुपर्ने चर्चा चलेको छ। सदनमा समेत कतिपय सांसदहरुले यसबारेमा माग उठाइसकेका छन् । यसैसन्दर्भमा मेरो क्यानडामा गाँजा कानुनी बन्नुको परिवेश र नेपालको सान्दर्भिकता बारेको विचार । ~  नारायण घिमिरे 

 

क्यानडामा गाँजा कानुनी बन्नुको परिवेश बारे यहाँको अनुभव बताउन मिल्छ?

क्यानडामा खाद्य, हर्बल र हिलिङ्ग फुड सेक्टरको इनोभेसनमा लागेको क्यानडाकै सबै भन्दा ठुलो फ्लेभर हाउसमा दसकौ देखि वैज्ञानिक र प्रयोगात्मक अनुसन्धानको साइन्टिफ़िक तथा प्राविधिक चिफको रूपमा कामगर्दा क्यानडामा गाँजाको डि-क्रिमिनलाइज गर्न लबिङ गर्दा देखि यो औषधि र खाने ईडिबलमा हाली मनोरञ्जन प्रदायक अम्मल र खाद्य तथा पेयमा हाली खाने नियम, विनियम बनाउने चरण सम्म हामी क्यानेडियन उद्यमीहरूले सरकार सँग निकै नजिकमा रहेर काम गरेका थियौ।

 

गाँजा संसारमै डर लाग्दो ड्रग भएको भनी प्रसारित बनेकाले घृणा गरिने तर यथार्थमा मानव स्वस्थको लागि वरदान नै रहेको वैज्ञानिक परीक्षण बाटै साबित बनिसकेको विषय कसरि जनमानस सँग पुर्‍याउने भन्ने मुद्दा निकै चुनौती पूर्ण थियो। यसलाई वैद्य बनाउन सम्बन्धित क्षेत्रका स्टेकहोल्डरहरू सँग निकै नजिकमा रहेर, धेरै मुलुकका उस्तै उस्तै प्रकृतिका केशहरूको अध्ययन गरी क्यानेडियन सरकारले आफ्नो आन्तरिक गृहकार्यका साथ तैयारी सुरु गरेको थियो।

 

जसको मूल नियत यसले समाजमा पुर्‍याउन सक्ने सामाजिक विकृतिको नियन्त्रण गर्दै, यसका मानवीय फाइदाका धेरै भन्दा धेरै गुणहरूबाट कसरि क्यानेडियन समाज र बिश्वो लाइनै लाभ पुर्‍याउने भन्नेमा मात्र सिमित थियो।

 

नेपालमा हाल यो अभियानमा लागेकाहरू गाँजा लाई अमेरिका,क्यानडा, युरोप जस्ता मुलुकले कानुनी बनाए र पैसा कमाए। हामी पनि कानुनी बनाएर पैसा कमाउने अवसर नगुमाऊ भन्ने पाराले प्रस्तुत भएको देखिन्छ। नेपाल गरिब भए पनि बहु- सङ्ख्यक  नेपालीहरूमा मानवता, दया, करुणा, उदारवादी आर्थिक सोच र उच्च नैतिकतामा स्व-सन्तुष्टि लिने प्रकृतिका रहेकाले जे भनिएको छ, समाजमा जसरी प्रस्तुत बनिएको छ, त्यसरी यसलाई कानुनी कारण गर्न खोज्दा झन् धेरै जटिलता आइलाग्ने छ।

 

क्यानेडिएन समाज पनि नेपाली समाज जस्तै भावना बोकेको र यहाँको राजनीति पार्टी  भ्रष्टाचारमा शून्य सहनशीलताको अवधारणा बोक्ने हुँदा आर्थिक लाभका कारण नभई अन्य सामाजिक संवेदन शीलता र उत्थानका जरुरतका गहन मुद्दाका कारण यहाँ गाँजाको डि-क्रिमिनलाइजेसन अभियान सफल भएको हो। गाँजा डि-क्रिमिनलाइजेसन अभियान सफल बन्नुको परिणाममा यो मुलुकमा गाँजा वैधानिक बनेको हो। गाँजाको खेती र प्रशोधन लगायतका गतिविधिका कारण बाट ठुलो धनराशि कमाउने समेत अवसर जुरेको हो।

 

वास्तवमा क्यानडाले मुख्य दुई उद्देश्यले गाँजा लाई वैध बनाउने निश्चय लिईएको  हो। पहिलो गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने। दोस्रो युवा अवस्थाका किशोर किशोरीहरुमा यसको उपलब्धता वा पहुँच घटाएर शून्य प्राय: बनाउने। मतलब, औषधिको प्रयोजन बाहेक मनोरञ्जन वा नशाको रूपमा युवा अवस्थाका किशोर किशोरीहरूको उपलब्धता वा पहुँच पूर्ण नियन्त्रण गर्ने।

 

मुलुकमा गाँजाको डि-क्रिमिनलाइजेसन गर्नु भन्नु र गाँजालाई वैधानिक बनाउनु फरक कुरा हो र ?

कुनै पनि चीजलाई सामाजिक परम्परा वा कानुन अनुसार स्वीकार युक्त नरहेको करार गरी नियन्त्रण गर्नु अथवा कुनै निश्चित कार्यलाई अपराध करार गरी कारबाहीको प्रक्रियामा लानु लाई अपराधी करण भनेर बुझौँ। यदि उक्त कुरा वास्तवमा सही छैन भने समाजमा जनचेतना जगाएर परम्परागत सामाजिक विश्वासको क्रमभंगता गर्नु पर्छ। कानुन मै उक्त कुरा आपराधिक भनी उल्लेख गरिएको छ भने त्यसलाई राजनैतिक मुद्दा बनाएर समाजबाट अनुमोदन गरी जन प्रतिनिधि मार्फत संसद् बाट कानुन परिवर्तन र आवश्यक व्यवहारिक प्रक्रिया पुरागरी लागु गरिनु पर्छ। जसलाई गैर – अपराधिकरण वा डि-क्रिमिनलाइजेसन गरौँ भनिएको हो।

 

वैधानिक बनाउने भनेको कुनै कुरालाई कानुनको दायरामा ल्याउनु भनेको हो। जस्तै महिला बाट पुरुष बलात्कृत भएको घटना अदालतमा दर्ज भएको कुनै घटना नै छैन र सो बारे कानुन नै बनेको छैन, तर महिलाले पुरुषको मनोवैज्ञानिक वा शारीरिक शोषण वा बलात्कार गरेको घटना देखियो र पीडितहरूलाई न्यायको जरुरत पर्‍यो भने, त्यसलाई कानुनको दायरा भित्र ल्याउनु पर्‍यो। त्यस पछि अपराधी कानुनको घेरामा आउँछ। तर, छुवा-छुत जस्ता कुरीति हटाउन भने छुवा-छुत र विभेद निषेध गर्ने कानुन बनाउने र सामाजिक मान्यता र विश्वास दिलाउने दुवै पक्षमा एकै साथ सुरु गर्नु पर्ने हुन्छ। मन्दिरमा सबै बिना भेदभाव जान, पूजा गर्न र मनलाई शीतल पार्न पाउने कानुन बन्नु  र व्यवहारमै लागु हुनु गैर-अपराधिकरण हो।

 

हाल नेपालमा  शिवरात्रि जस्ता चाडबाड र घरेलु रूपमा गाँजा सेवन सामान्य हुने जस्तै क्यानडामा गाँजा सेवन सामान्य नै थियो। तर कानुन बाट भने वर्जित। तपाई गाँजा खाएको भेटिनु भयो भने तपाइको क्रिमिनल रेकर्ड रहने गर्थ्यो। तपाई समाजमा कामकाजी बन्नको लागि जरुरी हुने कारोबार गर्न, राम्रो तहको जागिरमा रहन, बैङ्कको कर्जा आदि पाउन सबैमा अवरोध आउने हुँदा भविष्य नै अन्धकार बन्ने अवस्था थियो।

 

क्यानडाका हालका प्रधानमन्त्री जस्टिन ट्रुडो यहाँका पहिलेका निकै प्रख्यात  प्रधानमन्त्री पियरे ट्रुडोका छोरा हुन। जस्टिनले बताए अनुसार उनका भाइ माइकल ट्रुडो लुकी छिपी गाँजा खान्थे। एक पटक उनी गाँजा सहित पक्डिएकाले उनको पुलिस रिपोर्ट बिग्रन नदिन उनका पिताले आफ्नो सम्पर्क र पहिचानको उपयोग गरी उनका भाइको पुलिस रिपोर्टमा अपराधीको रूपमा नाम उल्लेख गर्न बाट बचाएका थिए। १९९८ को नोभेम्बरमा उनी स्की खेल्न जाँदा त्यतै हराए। स्की खेल्दै गर्दा कतै बाटो बिराएर हिउँ कुवा वा एभेलेंचमा कतै कहिल्यै नभेटिने गरी स्वर्गरोहण भएको अनुमान गरिन्छ। उनी कहिल्यै भेटिएनन।

 

जस्टिन ट्रुडो आफू प्रधानमन्त्री हुने दौडमा होमिँदै गर्दा उनले आफु क्यानडामा गाँजाको गैर-अपराधिकरण गरिनुपर्ने पक्षमा रहेको घोषणा गरे। चुनाव जितेपछि उनी प्रधान मन्त्री बने। गाँजाको गैर-अपराध करण किन जरुरी छ भन्ने सन्दर्भमा उनले आफ्नो भाइको कथा सार्वजनिक गर्दै भने, परम्परागत रूपमा क्यानडामा सर्वत्र पाइने र सेवन गरिने गाँजा सेवन गरेको मात्र आधारमा क्यानडाका धेरै युवाहरू पुलिस रेकर्डमा अपराधी करार गरिएकाले आफ्नो सुन्दर भविष्य निर्माण गर्नबाट वञ्चित हुनु परेको छ। उनीहरू सँग मेरो भई सँग भएको जस्तो पहुँच र सम्पर्क वाला पिताजी थिएनन।

 

सामाजिक कार्य हरुमा मात्र एक दुई चिलिम गाँजा, त्यो पनि कतिपय ले त औषधिको रूपमा खान पर्ने भएर खाएको आधारमा, उक्त समयमा पुलिसले भेटेकोले उनीहरू अपराधी करार हुनु सामाजिक न्यायको विरुद्ध छ। उनको यो कथाले धेरै क्यानेडियनमा सामाजिक मान्यता परिवर्तन गराउन प्रेरित गर्‍यो।

अर्को तर्फ वैज्ञानिक परीक्षणहरु बाट रक्सी र सुर्ती सेवन भन्दा गाँजा सेवन धेरै सुरक्षित रहेको प्रमाणित भइरहेको थियो। इजरायल, होलेण्ड, अमेरिका लगायतका धेरै मुलुकले औषधीजन्य र मनोरञ्जनका लागि गाँजाको नियन्त्रित बिक्री वितरण गर्न पाइने कानुन बनाएर कारोबार सञ्चालन गरिसकेका थिए। गाँजा कम्तीमा चालिस रोग समूहभित्र पर्ने सात सय हाराहारीको रोगको प्रत्यक्ष निदानमा सहयोगी हुने, गाँजा हाली संसारभर हजारौ हजार ड्रग वा औषधिहरू बनिसकेको, मनोरञ्जनका हिसाबमा खाना, पेय, धूम्रपान, मद्यपान, ई-भेपको रूपमा समेत विकास भई सकेको अवस्था थियो। नयाँ नयाँ उपलब्धिमूलक औषधि र हिलिङ्ग फुडहरु समेत समेत बन्दै थियो। यी सबै कारण वाट यहाँ गाँजाको गैर-अपराध करण हुने माहौल बनेको हो।

 

जब गाँजाको गैर-अपराधीकरण गर्ने सरकारी योजना सफल बन्यो, कानुन वाट नै संरक्षण प्राप्त हुने गरी नियन्त्रित रूपमा खाजा खेती सुरु गरियो। नयाँ प्रविधि र सिप हस्तान्तरण गरिए । यसका प्रशोधन, गाँजा युक्त औषधि, गाँजा जन्य खाद्य तथा पेय र धूम्रपान, ई-भेप जस्ता उत्पादन हरू सम्भव बने। काम गर्दै जाँदा क्यानडा भित्र कम्पनी हरू आफैले धेरै इनोभेटिब प्रविधि र फर्मुलेसनहरू विकास गर्न सफल भए। मात्र ५ वर्ष भित्र आज क्यानडा यो क्षेत्रमा बिश्वो मै आफूलाई अग्रणी भूमिकामा राख्न सफल बनेको छ। क्यानडाको इकोनोमीलाई समेत यसले राम्रो टेवा दिएको छ।

 

मेडिकल गैर-मेडिकल दुवै उद्देश्यमा गाँजालाई  गैर-अपराधिकरण गर्न क्यानडालाई किननार्कोटिक्स महासन्धिमा गरेको उसको हस्ताक्षरले किन रोक्न सकेन ?

 

नार्कोटिक्स महासन्धिमा क्यानडा लगायतका धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको थिए। नेपालले औषधी बनाउने प्रयोजनमा गाँजाजन्य पदार्थको उपयोगको महत्त्व समेत वास्ता नगरी  हस्ताक्षर गरेको देखिन्छ। जब क्यानडाले गाँजालाई मनोरञ्जनात्मक उपयोगको लागि समेत गैर-अपराधिकरण गर्ने कानुन बनायो संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय लागूपदार्थ नियन्त्रण बोर्डको विज्ञप्ति आएको थियो।

 

लागूपदार्थ नियन्त्रण बोर्डको विज्ञप्तिमा कानुनी दायित्व र कूटनीतिक प्रतिबद्धता हरूको बेवास्ता गर्दै गैर-मेडिकल उद्देश्यको लागि समेत गाँजालाइ वैधानिकता दिने क्यानडाको निर्णयले अन्तर्राष्ट्रिय लागू पदार्थ नियन्त्रण बोर्डको कानुनको उलङ्घन गर्न र नियन्त्रण फ्रेमवर्कलाई समेत कमजोर पार्न योगदान पुर्‍याएको भनिएको थियो। ग्लोबल अफेयर्स क्यानडाले उक्त निर्णय क्यानाडावासीहरुको स्वास्थ्य रक्षा र कल्याणको लागि अन्तर्राष्ट्रिय लागूपदार्थ नियन्त्रणको फ्रेम वर्कको दृष्टिकोणको लक्ष्य अनुरूपनै रहेको जबाफ फर्कायो।

 

यसरि क्यानडाको नार्कोटिक्स महा-सन्धिमा भएको हस्ताक्षरको मान्यता मेडिकल र गैर-मेडिकल दुवै उद्देश्यमा गाँजाजन्य पदार्थको प्रयोगमा छुटको सर्तमा मात्र मान्य हुने क्यानडाको औपचारिक जानाकारी दर्ज भयो। हाल क्यानडामा मेडिकल प्रयोजन र गैर-मेडिकल अथवा मनोरञ्जनात्मक उपयोगको लागि समेत गाँजाको उपभोग गर्नु वैधानिक भईसकेको छ।

 

नेपालमा मेडिकल र गैर-मेडिकल दुवै उद्देश्यमा गाँजालाई  कसरि खुला गर्न सकिन्छ ?

नेपालको गाँजाको खुल्ला भन्दा पनि गैर-अपराधीकरण तिर लग्नु उत्तम होला। गैर-अपराधीकरण भन्नुको मतलब नेपालमा कसैले नियम विपरीत गाँजा सेवन गरेको वा कारोबारमा संलग्न भएको भेटिएमा जघन्य अपराधीको रूपमा जेल हाल्ने नियम परिवर्तन गरी कसुर अनुसार जरिवाना र कानुनी कारबाही हुने गरी कानुन परिवर्तन गर्ने भनेको हो।

 

विगतमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपालले संयुक्त राष्ट्रसङ्घको ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग, १९६१’ मा हस्ताक्षर गरेको थियो। राष्ट्रसङ्घको ‘नार्कोटिक्स कन्ट्रोल बोर्डले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागु औषधको दर्जामा राखेका कारण नेपालले पनि सोही मान्यतालाई मान्दै ‘लागु औषध नियन्त्रण ऐन, २०३३’ जारी गरी मुलुकभरि प्रतिबन्ध लगायो। उक्त प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ गैर कानुनी छन।

 

नार्कोटिक्स कन्ट्रोल बोर्डको जोखिमपूर्ण लागु औषधको दर्जामा रहेका उच्च जोखिमपूर्ण लागु औषध प्रतिबन्ध गर्न नार्कोटिक्स महासन्धिमा नेपालले गरेको हस्ताक्षर भनेको कानुन हैन मात्र प्रतिबद्धता हो। उक्त प्रतिबद्धता लागु गर्न ‘लागु औषध नियन्त्रण ऐन, २०३३ जारी भएपछि मात्र नेपाल भर गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैर कानुनी बनाइएका हुन।

 

नार्कोटिक्स महासन्धि अनुसार नेपालले औषधिको प्रयोजनको लागि लागु औषधलाई सरकारले तोकेको मापदण्ड अनुरूप नियन्त्रित तरिकाले खेती र प्रशोधन गरी औषधि बनाउन पाइने, अनुसन्धान गर्न पाइने र अयुर्बेधिक औषधि हरुमा प्रयोग गरी डाक्टरको सिफारिसमा बिरामीले खान पाउने गरी अन्य देशले जस्तै लागु औषध नियन्त्रण ऐन, २०३३ जारी गरेको भए हुन्थ्यो। तर उति बेला राज्य अझ धेरै कठोर हुँदै चाहिने भन्दा अत्यधिक धेरै कठोर नियम लादेकाले हालको अवस्था आएको हो। अब त्यसलाई नेपालको सांसदले सच्चाउनु पर्ने भएको हो।

तपाइलाई थाहै होला कतिपय मूलकमा ड्रगको कारोबारी लाई फाँसी दिइन्छ। नेपालमा  फाँसी त दिइँदैन नि। किनकि लागु औषध नियन्त्रण ऐन, २०३३ मा गाँजा र गाँजाजन्य पदार्थको कसुरमा अन्यत्र जस्तो फाँसी नभएर कैद र जरिवाना भएकाले कैद र जरिवाना हुने गरेको हो। नार्कोटिक्स महासन्धि ले कुन कुन काम लाई प्रतिबन्ध गर्ने वा अपराधीकरण मान्ने भन्ने कुनै मापदण्ड दिने हो। उक्त कुरालाई आफ्नो सन्दर्भमा कसरि व्याख्या गर्ने र उलङ्घनको अवस्थामा कस्तो सजायको निर्धारण गर्ने भन्ने राज्यको आफ्नै अधिकार र दहित्वको कुरा हो। त्यसैले राज्यले आफ्नो जस्तो नियम बनायो त्यही लागु हुने हो।

 

आजको मिति सम्म आइपुग्दा त अन्तर्राष्ट्रिय रुपमै नार्कोटिक ड्रग्सको सूचीबाट गाँजालाई हटाई सकेको छ। नेपालले त्यस वाट फाइदा लिन तुरुन्तै अध्यादेश ल्याएर गाँजाजन्य कारोबार गैर–अपराधीकरण गर्ने र सो को जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ। अब राज्यले नार्कोटिक्स महासन्धि अन्तर्गतको  नार्कोटिक्स कन्ट्रोल बोर्डले सूचि बद्ध गरेको गाँजालाई आफ्नो सुची बाट हटाउने र  गाँजा तथा  गाँजा जन्य पदार्थ सम्बन्धको कसुर लाई जघन्य अपराध रूपमा व्यवहार गरिने नियम लाई अध्यादेश मार्फत हटाएर गैर-अपराधीकरण गरे पुग्छ।

 

गाँजालाई गैर-अपराधीकरण गरिसके पछि नेपालले वैधानिक रूपमा आफ्नो कानुन संशोधन गरी अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट गाँजाजन्य कारोबारका लागि छुटकारा लिने निर्णयमा पुगेको जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ।नार्कोटिक्स सन्धिमा हस्ताक्षर गरेका तर हाल गाँजाको वैधानिक उत्पादन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो पछ्याउँदै नेपालले पनि गाँजा खेती र बिक्री वितरणलाई अपराधीकरण गरिने कानुन सच्चाउन र नियन्त्रित बिक्री वितरण तत्काल खुला गर्नेतर्फ कदम चाल्नु जरुरी छ।

 

नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए पनि नेपालले भने गाँजाजन्य औषधिमा समेत बन्देज लगाउने गरी हस्ताक्षर गरेको घटना नेपाली किसान माथि गाम्बिर अपराध थियो। हरेक जन उत्तरदायी सरकारको विगतको गलत निर्णयका कारण हुन गएको जनता माथिको घात तुरुन्त सच्याउनु नैतिक र राजनैतिक जिम्मेवारी रहेकाले यो घातलाई तुरुन्त सच्चाएर अरू क्षति हुन वाट मुलुकलाई जोगाउन तुरुन्त अध्यादेश आउन जरुरी देखिएको हो।  विगतको गाम्बिर जनघाती निर्णयका कारण हाम्रा छिमेकहरूमा औषधीय प्रयोजनमा कहिल्यै प्रतिबन्ध नभएको गाँजा हाम्रो मुलुकमा सधै प्रतिबन्धित रहयो। मुलुक भित्र गाँजाजन्य औषधी बनाउन समेत गाँजाको खेती गरी व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातमा गैर–अपराधीकरण गर्न सकिएन।

 

नेपालले पनि अब यसलाई सच्चाउन औपचारिक रूपले  अध्यादेश मार्फत कानुन अनुकुल बनाएर तत्काल गाँजाको वैधानिक उत्पादन,  प्रशोधन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो नेपालले पनि पछ्याउनु निकै ढिलो भई सकेको छ। मान्नुस नमान्नुस् नेपालले हिजै प्राथमिकतामा राखेर गाँजाको व्यावसायिक उत्पादन,  प्रशोधन, प्रयोग, बेचबिखन तथा निर्यात कार्य लाई  गैर–अपराधीकरण गरी वैध बनाउन जरुरी थियो।

 

गत साल मात्र छिमेकी भारतको अरुणा चल प्रदेश, उत्तर प्रदेश र उत्तराखंड राज्यहरूमा गाँजाको औषधी र औद्योगिक प्रयोगलाई वैधानिक बनाइएको छ। भारतको उत्तर-पूर्वमा रहेको मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले चाँडैनै गाँजाको औषधी र औद्योगिक प्रयोगलाई मणिपुर राज्यमा समेत कानुनी मान्यता दिने घोषणा गरेका थिए। गरे पनि।

 

नेपालले यदि आफू क्यानडा जस्तै मेडिकल र गैर-मेडिकल दुवै उद्देश्यमा गाँजाजन्य पदार्थको मुलुक भित्र प्रयोगमा नियन्त्रित छुट गर्न चाहने हो भने मुलुकको मुलुक भित्र गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने, युवा अवस्थाका किशोर किशोरीहरूमा मेडिकल बाहेक अन्य प्रयोजनमा उपलब्धता वा पहुँच घटाएर शून्य प्राय: बनाउने र मुलुक भित्र रहेको मेडिकल र गैर-मेडिकल गाँजाजन्य पदार्थको नियन्त्रण प्रभावकारिताको मूल्याङ्कन र नेपाल सरकार लाई सल्लाह दिने गरी समय समयमा नेपाल भ्रमण गर्न अन्तर्राष्ट्रिय निकायहरू लाई पर्यवेक्षकका रूपमा नेपाल भ्रमण गराउने आफ्नो नियत रहेको स्पष्ट धारणा सार्वजनिक गर्नु उपयुक्त हुन्छ। जस अनुसार मेडिकल र गैर-मेडिकल उद्देश्यमा गाँजा ब्यवाशय गर्न चाहने लाई नियम बनाएर नियम अनुसार नियन्त्रित मानव कल्याण र कारोबारमा जाने बाटो खोल्नु उपयुक्त होला।

 

गाँजाको हालसम्म पहिचान भएका फाइदाहरू के कस्ता छन् बताउन सक्नु हुन्छ?

प्रयोगशालामा भएको अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थ बाट बनेको जसमा १०० भन्दा बढी त औषधीय क्यानाबिनोईडहरू रहने प्रमाणित भएको छ। गाँजामा भेटिएका त्यस्ता ४८० केमिकलहरू मध्ये मात्र छ ओटा उल्लेखनीय केमिकलको औषधीय गुण बारे आज संसारभर गरिएका दस हजार भन्दा धेरै अनुसन्धान बाट गाँजा बाट मानिसमा दर्द कम गर्ने र अनिन्द्रा जस्ता समस्या दिने दस समूहका रोगहरू, पाचन प्रणालीमा हुने अनियमितता ले जन्माउने सात समूहका रोगहरू, मानिसको मुड र बानी बेहोरामा जन्मेको विकृत रोक्ने सात समूहका रोगहरू, स्नायु समस्या सम्बन्धका नौ समूहका रोगहरू  र अन्य समूह अन्तर्गत राखिएका जस्तै दम, क्यान्सर, एड्स जस्ता सात समूहका रोगहरू गरी कम्तिमा चालिस रोग समूहको प्रत्यक्ष निदान हुने यकिन गरिदिएको छ।

 

प्रत्येक रोग समूहमा आफ्नै अन्य उप समूहहरूपनि हुने हुँदा आज मानिसमा हुने अन्दाजी सात सय भन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने देखिन्छ। यसरी हेर्दा आज संसारमा बन्ने हजारौँ हजार औषधि हरुमा गाँजाको उपयोग हुने अवस्था आएको छ। क्यानडा जस्ता मुलुकमा औषधि बाहेक ट्रपिकल जस्तै मालिस गर्ने क्रिम, तेलहरू, कष्मटिक लगायत मनोरञ्जनात्मक गैर-औषधिय पदार्थ धूम्रपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिंकमा आदि समेतमा उपयोगमा आउन थालेको छ।

 

गाँजाका अन्य चाख लाग्दा पक्षहरु के के छन्?

धेरै छन। जस्तै २०१४ मा उरुग्वेका राष्ट्रपति जोस मुजाकालाई उरुग्वेलाई संसारकै पहिलो गाँजाको उत्पादन र बिक्रीलाई वैध बनाउने देश बनाउन सफल बनेकोमा नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो। महिनावारी हुँदाको पिडा निकै धेरै हुन थाले पछि सन् १८०० महारानी भिक्टोरियालाइ गाँजाको औषधि दिइएको थियो। संसारमा सबैभन्दा पहिले मेडिकल एनेस्थेसियाको रूपमा चाइनिज सर्जनले गाँजाको प्रयोग गरेका थिए।

 

इन्टरनेटमा सबैभन्दा पहिले अन लाइन बेचिएको चिज पनि गाँजा नै थियो। तपाइले आज बजारमा बिक्रीमा रहेका बियर तितो-टर्रो हुनुको कारण त्यसमा हालिएको होप हो। जुन गाँजा प्रजातिकै बिरुवा बाट बन्ने गर्छ। अमेरिकाका जर्ज वासिङ्टन आफैले माउन्ट भेरोनमा गाँजा लगाएका थिए जसलाई उनले पछि गाँजाको प्रजाति हेम्प भएको बताएको थिए। अमेरिकाको अलस्कामा १९७५ देखि नै घरेलु प्रयोजनमा गाँजा खानु कानुनी रूपमै स्वीकृति थियो। गाँजालाई संसारमै सबैभन्दा पहिले २०१३ मा उरुग्वेले मुलुकभर कानुनी मान्यता दिएको थियो ।

 

क्यानडाले २००१ देखि मेडिकल उद्देश्यको लागि गाँजा वैधानिक बनाएको थियो। मनोरञ्जन प्रयोजनमा गाँजाको प्रयोग मुलुकभर कानुनी बनाउन क्यानडा लाई १७ वर्ष लाग्यो। कानुन बनेपछि पनि व्यवहारिक रूपमा मनोरञ्जन प्रयोजनको लागि गाँजाको बजारमा उपलब्ध गराउन १ वर्ष र खानेकुरामा हाली ईडिबलका रूपमा गाँजा मिश्रित खाद्य ताता पेय बजारमा ल्याउन क्यानडालाई २ वर्ष लाग्यो।

आयुर्वेदका अनुसार समेत गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो। मानिसमा पाचन गडबडी र झाडापखाला ठिक पार्ने, डिप्रेसन, छारे रोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ। गाँजा सेवनले पुरुषमा शुक्रकीट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुण  हुन्छ।

आयुर्वेदमा १३ फरक डोजेज फर्ममा १९१ (आन्तरिक १८७ फर्मुला र बाहिरी ४ फर्मुला) भन्दा धेरै ओखतीहरूमा गाँजाको प्रयोग भएको भेटिन्छ।  त्यसमा पनि मुख्य तय १११ हर्बल -मिनिरल – मेटल हाली बन्ने प्रकृतिका रस प्रकृतिका ओखती, ३० थरी ट्याब्लेट वा गुटिका, १७ थरी पाउडर वा चुर्ण, ०९ थरी मिठाई जस्तो अवलेह, ४ थरी रक्सी – तेल मिश्रित अश्म, ०३ थरी डिकोकसन मतलब कभाथा र ग्रथ, एक अल्कोहोलिक वा अरिस्ट, एक मोदका वा बोलस, एक सत्तावा (एसेंस), एक लौह (फलाममा आधारित) तथा अन्य उत्पादनहरू भएका देखिन्छन।

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

107Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: