मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्वान्टम मेटाफिजिक्स: साङ्ख्य सिद्धान्त !

क्वान्टम मेटाफिजिक्स रहेछ साङ्ख्य सिद्धान्त !

नारायण घिमिरे

साङ्ख्य सिद्धान्तले भौतिक वस्तुहरू लाई वाक् (vāk) भन्दछ। वाक् को अर्थ “ध्वनि” भन्ने लाग्दछ। ध्वनिलाई मानस अर्थात् मनको अभिव्यक्तिको रूपमा लिने गरिन्छ। आधारभूत रूपमा विचरण गर्दा ध्वनिका आफ्नै भौतिक गुणहरू हुन्छन्। जस्तै: आवृत्ति (frequency), तरङ्ग (Wavelength) र आयाम (Amplitude) आदि। जुन मापन समेत गर्न सकिन्छ। ध्वनिका मापन गर्न सकिने ती भौतिक गुणहरू मात्रको मापनले हाम्रो व्यावहारिक प्रयोजनमा हुने ध्वनिको उपयोग वारेको सम्पूर्ण पक्षको जरुरत पूर्ति हुन सक्दैन। मापन गर्न सकिएका गुणहरूले केही महत्त्वपूर्ण अर्थहरू दिने गरेता पनि सम्पूर्ण आवश्यकताहरुको पक्ष वाट हेर्दा तिनीहरू धेरै अधुरा हुने गरेको अनुभूति हुन्छ।

जस्तै: उदाहरणको लागि चर्चा गर्दा, उच्च एम्प्लिच्युड भएको ध्वनिले ध्वनि ठुलो प्रकृतिको रहेको सङ्केत गर्दछ। त्यसैले यसलाई ठुलो अवाजको ध्वनि मान्न सकिएला। तर यसले नरम स्वरको (ध्वनि) विपरीत अर्थ भने दिने गर्दैन। त्यस्तै उच्च फ्रिक्वोईन्सिको ध्वनिको अर्थ ध्वनि उच्च पिच युक्त कानै फुटाउने किसिमको रहेको हुन सक्दछ। तर, यसले समेत सुस्त स्वरको विपरीतको अर्थ दिँदैन। त्यस अर्थमा, हामीले विज्ञानको सहारामा मापन गर्न सकिरहेको एम्प्लिच्युड, फ्रिक्वोईन्सि जस्ता ध्वनिका भौतिक गुणहरू हाम्रो प्रयोजनको लागि अत्यन्त लाभ युक्त हुँदा हुँदै एक अवलोकन कर्ताको दृष्टिकोणबाट तिनीहरू बारे आफ्नो अनुभूतिहरू व्यक्त गर्न आफैमा पर्याप्त देखिँदैन।

यथार्थमा हामीले मापन गर्न सकिरहेको भौतिक गुणहरू भन्दा अधिक अर्थ ध्वनि आफैले हामीलाई दिने गरिरहेको हामीले भेट्ने गर्दछौ। हाम्रो जीवनको व्यवहारिक पक्षलाई ध्वनिले पुराउने विभिन्न प्रभाव बारे ज्ञान राख्नको लागि विशुद्ध रूपमा मापन गर्न सकिने ध्वनिको भौतिक गुणको वैज्ञानिक पक्ष मात्र नभएर हाल सम्म हामीले मापन गर्न सकी-नरहेको ध्वनिको अन्य पक्ष समेत गहिरिएर विचरण गर्न जरुरी हुने मान्यता साङ्ख्यको देखिन्छ।ध्वनिको हकमा लागु हुने यस्ता विविध पक्षहरू हाम्रो जीवनका हरेक क्षेत्रहरूमा लागु हुने गर्दछ।

आवृत्ति (frequency) र आयाम (Amplitude) जस्ता वैज्ञानिक उपाय मार्फत मापन गर्न सकिरहेको भौतिक गुणहरूको मापनको आधारमा बस्तुको गुणहरूको पूर्ण पहिचान गर्न सकेको मान्यतामा आधुनिक विज्ञान सन्तुष्ट देखिन्छ। साङ्ख्यले भने एक अवलोकन कर्ताको (पर्यवेक्षक) लागि मापन गरी प्राप्त गरेका मानहरूको के अर्थ रहन्छ, त्यो पूर्ण छ वा छैन (सम्पूर्णता) आदि बारे गहिरो चासो देखाउने गर्दछ। साङ्ख्यले मापन गरी प्राप्त गरेका भौतिक गुणहरू तथा मापन हुन नसकेका गुणहरू दुवैको समग्रतामा मूल्याङ्कन गर्दै पर्यवेक्षकले अनुभूति गरिरहेको सबै पक्षको प्रभाव बारे खोजी गर्दछ। यिनै कुराको मनन गर्न सक्दा साङ्ख्य र आधुनिक विज्ञान बिचको सिद्धान्तगत मान्यतामा अन्तर्निहित आधारभूत भिन्नताको मूल-चुरो अनुभूति गर्न सहज हुनेछ।

यो कुरा नभुलौँ कि कतिपय अवस्थामा एकै व्यक्ति वाट, एकै समयमा, एकै पटक दुई व्यक्तिले सुनेको एकै कुरालाई ती दुई व्यक्तिहरूले फरक-फरक अनुभूति गरिरहेको हुन सक्दछ। यथार्थ  ती दुवैले अनुभूति गरिरहेको कुरा बताउनेले बताउन चाहेको अनुभूति भन्दा फरक रहने समेत अधिक सम्भावना रहन्छ। एउटा उदाहरण लिएर यस बारे चर्च गरौँ। कसैले आँदिमूल  जात्राको सांस्कृतिक कार्यक्रममा त्यहाँको “आवाज चर्को थियो” भनेर भन्यो। त्यसको अर्थ त्यहाँ स्पिकर जरुरत भन्दा ठुलो आवाज हुने गरी वा चर्को ध्वनि दिने गरी सेट गरिएको थियो भन्न खोजेको हुन सक्दछ। कतिपय अवस्थामा आवाज चर्को थियो भनेर आवाज प्रस्ट सुन्न पाएको खुसीको भावना व्यक्त गरेको हुन सक्दछ। यो पनि हुन सक्दछ कि चर्को आवाजले आफूलाई दिएको पीडा र असहजताको अनुभूतिको अभिव्यक्त गर्न त्यो कुरा भनियो। कुनै कलाकारले आफ्नो खुसीमा चिच्याएको आवाजलाई लिएर चर्को आवाज भनेर भनिएको समेत हुन सक्दछ।

त्यसैले “आवाज चर्को थियो” भन्ने सूचनाको मूल अर्थ के भन्ने सन्दर्भ त्यो सूचना सुन्ने फरक फरक अनुभूतिकर्ताले गरिरहेको फरक फरक अनुभूति सँग होइन कि त्यो अनुभव बताउने  व्यक्तिको निजी अनुभूति सँग मूल साइनो राख्दछ। तसर्थ हामीले हाम्रो दैनिक जीवनमा प्राप्त गर्ने हरेक सूचनाको त्यति वेला महत्त्व हुन्छ जब हामी त्यसको ग्रहण कर्ताले अनुभूति गरिरहेको पक्षले गरेको यथार्थ अनुभूति के हो, त्यसको प्रभाव के हो, ग्रहण कर्ताको लागि त्यसको मूल्य के हो ? आदि बुझ्न सक्दछौ। विज्ञान तपाईँलाई ती शब्दहरूको फगत शब्दार्थ कुनै सन्दर्भ  बिना बुझाउन सकेको मै दङ्ग पर्दछ। अध्यात्मले त्यसको चुरो मूल्यको पक्ष अवगत गर्न र त्यसै अनुरूप व्यवहार गर्न अभिप्रेरित गर्दछ।

कुनै पनि बस्तुको भौतिक गुणहरूबाट त्यसको अर्थ निकाल्ने प्रयास गर्दा त्यहाँ प्रायः त्रुटि हुने गर्दछ। चर्को आवाजको सन्देश मात्रले व्यक्ति खुसी भएको अवस्थाको सन्देश हो वा क्रोधित बनेको यकिन हुँदैन। यदि तपाईँलाई उक्त व्यक्तिमा चर्को आवाजले पैदा गर्ने मानसिक अवस्था र उसको अन्तर्मुखी वा बहिर्मुखी व्यक्तित्व आदिको ज्ञान भएको भए तपाईँले सजिलै सँग चर्को आवाजले त्यो व्यक्तिमा कस्तो परिणाम दिन्छ भन्ने सहज अनुमान गर्न सक्नु हुने थियो। त्यसैको आधारमा उक्त व्यक्तिको लागि चर्को आवाजको प्रभाव र मूल्यको समेत यकिन गर्न सहज पर्दथ्यो। यकिनका साथ अनुभूतिकर्ताको लागि उक्त ध्वनिको अर्थ ठम्याउन सकिने थियो।

यो परिप्रेक्ष्यमा  हामीले निःसन्देह रूपमा यकिन गर्न सकिने कुरा के हो भने, कुनै पनि चिजको भौतिक गुणहरू मात्र जानेर अनुभूतिकर्ताको लागि त्यसको अर्थ के हुन्छ भनी यकिनका साथ निकाल्न सम्भव रहँदैन। तर कुनै चिजको अनुभव वाट त्यसको अनुभूतिकर्ताले प्राप्त गरेको अनुभूतिको आधारमा (अनुभूतिकर्ताको लागि त्यसको अर्थ) त्यस चिजको भौतिक गुणहरूबारे अनुमान सम्भव बन्दछ।

यसको अर्थ जुन बिन्दु सम्म विज्ञानले वस्तुको भौतिक गुणहरू सँग मात्र व्यवहार गर्ने गर्दछ, त्यो बिन्दु सम्म विज्ञानको उपयोग वाट मानवीय अवलोकनका अनुभूतिहरू यकिनका साथ अनुमान र भविष्यवाणी गर्न सम्भव हुँदैन। यद्यपि विज्ञानले मानवीय अवलोकनहरू बारेमा सम्भाव्य दाबीहरू (Probability Enumerations) भने गर्न सक्छ। जस्तै: चर्को आवाजले ५०% व्यक्ति खुसी हुने र ५०% व्यक्ति रिसाएको हुन सक्ने सम्भाव्यता बताउन  सक्दछ। जब हामी भौतिक गुणहरूलाई अर्थमा रूपान्तरण गर्ने प्रयास गर्छौँ तब हाम्रा भविष्यवाणीहरू अपूर्ण र सम्भावित बन्दछन्।

जब तपाईँलाई आवाजको प्रभावले अनुभूतिकर्तामा कस्तो मनोवैज्ञानिक असर गर्दछ भन्ने अग्रिम ज्ञान राख्नु हुन्छ तब तपाईँ अनुभूतिकर्तामा आवाजको प्रभाव (खुसी हुने वा रिसाऊने) कस्तो पर्ने छ भनी यकिनका साथ भविष्यवाणी गर्न सक्नुहुन्छ। यसको अर्थ, ध्वनिको आधारमा अनुभूतिकर्ताको लागि ध्वनिको अर्थ निकाल्दा निकालिएको निचोडमा अनिश्चितता रहन्छ। तर अनुभूतिकर्तामा ध्वनिले दिने प्रभावको ज्ञानको आधारमा (मानसिक अवस्था, अन्तर्मुखी वा बहिर्मुखी व्यक्तित्व आदि) गरिएको अनुभूतिकर्ताको लागि ध्वनिको अर्थ वारेको निचोडमा भने निश्चितता रहन्छ।

साङ्ख्यले हरेक चिजको फरक फरक व्यक्तिको लागि फरक फरक अर्थ रहन्छ भन्ने चुरो यथार्थ बुझेर भौतिक गुणभन्दा त्यसको अर्थलाई प्राथमिकता दिन्छ। अर्को शब्दमा भन्नुपर्दा, साङ्ख्यले ध्वनिबाट त्यसको अर्थ निकाल्ने नभई अनुभूतिकर्ताले प्राप्त गरेको अर्थबाट ध्वनिबारेको ज्ञान लिने प्रयास गर्दछ। त्यसैले हरेक चिजले त्यसको अनुभूतिकर्ता लाई दिने मूल्य त्यसको भौतिक गुण भन्दा प्रायः महत्पूर्ण हुने गर्दछ भनिएको हो। किनकि जब हामी ध्वनिबाट अर्थ निकाल्ने प्रयास गर्छौँ, तब हामी केवल सम्भावनाहरू मात्र प्राप्त गर्न सक्छौँ। कुनै पनि कुरा यकिनका साथ यो यही नै हो भनी निश्चय गर्न सक्दैनौ। तर जब हामी अनुभूतिकर्ताले प्राप्त गरेको अर्थमा आधारित भएर ध्वनि वारेको आफ्नो यकिन निकाल्ने प्रयत्न गर्दछौ, तब हामीलाई  ध्वनि र अनुभूतिकर्ताको लागि ध्वनिको अर्थ यकिनका साथ सही रूपमा बुझ्न सम्भव बनाउछ। साङ्ख्य विधिले त्यही अवधारणा अनुरूप हरेक कुराको विश्लेषण गर्ने गर्दछ।

पदार्थलाई भौतिक गुणहरूमा सीमित रहेर परिभाषित गर्ने पुरानो भौतिकवाद गलत थियो भन्ने विज्ञानको आफ्नै अनुभूति पश्चात विज्ञानमा क्वान्टम सिद्धान्तको जन्म भएको भेटिन्छ। तर पनि क्वान्टम सिद्धान्तमा हरेक भौतिक पदार्थले देखाउने व्यवहार र गुणहरूको सम्भावनामा उक्त भौतिक पदार्थनै कारकको रूपमा रहने विश्वास गरिन्छ।  अर्थात् त्यो देखिनुको कारण उक्त भौतिक पदार्थको प्रभाव रहेको (Cause & Effects) मान्दछ। साङ्ख्य  सिद्धान्तमा भने भौतिक वस्तुहरूले देखाउने गुणहरू उक्त भौतिक पदार्थहरूको मूल कारकको उपज नभएर त्यसको अर्थ वा सार (Cause & Meaning) रहेको मान्यता अघि सार्दछ।

यसरी क्वान्टम रियालिटी (Quantum Reality) अन्तर्गत भौतिक (Physical Matters) अवस्थाको  वास्तविकता पनि सूक्ष्म भौतिक अवस्था (Quantum Particles) नै ठानिएको छ। तर साङ्ख्य अन्तर्गत पदार्थको वास्तविकता भौतिक (स्थूल) रूपहरू (Gross Forms / Physical Matters) तथा अर्थहरू निर्मित अभौतिक रूपका सूक्ष्म गुणहरू (Subtle Forms / Metaphysical / Non-Matters) हुने कुरा उल्लेख छ। साङ्ख्य अन्तर्गत ती अभौतिक सूक्ष्म चिजको रूपमा आत्मालाई समेत लिने गरिँदैन। त्यसमा आत्मा र भौतिक पदार्थहरू बिचको अभौतिक चिजहरू जस्तै: चेतना, मन, बुद्धि, अहङ्कार आदि गुणहरू समावेश भएको छ।

“साङ्ख्य” शब्द संस्कृत शब्द सङ्ख्या बाट आएको हो। यसको अर्थ अङ्ग्रेजीमा “गणना” वा “पहिचान” हो। यसले भौतिक र अभौतिक संसारका विभिन्न तत्त्वहरूलाई पहिचान गरी वर्गीकरण गर्ने प्रक्रियालाई जनाउने गर्दछ। तिनीहरूको वास्तविक प्रकृति बुझ्नको लागि सहयोग गर्दछ। साङ्ख्य दर्शनमा भौतिक संसार तथा भौतिक संसार र आत्म बिचको अभौतिक पक्षहरू लाई बुझ्न, पहिचान गर्न, गणना गर्न र विश्लेषणको प्रक्रियाबाट वर्गीकृत गर्ने विशेष तरिका  उल्लेख छ।

साङ्ख्य दर्शनको सहयोगले जीवनको वास्तविकता र आत्मको प्रकृति बारे व्यवस्थित र तार्किक दृष्टिकोण प्राप्त गर्न सकिन्छ। साङ्ख्यले पुरुष र प्रकृति जस्ता द्वैत अस्तित्व बिचका प्रकृतिका २५ सिद्धान्तहरू (२४  तत्त्वहरू र आत्मा वारेको ज्ञान) मार्फत सम्पूर्ण जगत कसरी कुन प्रणाली अनुरूप बनेर नियमित सञ्चालनमा रहेको छ त्यसको विस्तृत चर्चा गर्दछ।

यसरी समग्रमा साङ्ख्य एक विशिष्ट विचारधारा हो जसले एक व्यवस्थित विश्लेषण र वर्गीकरणको आधारमा सांसारिक प्रणालीको प्रक्रियाको मूल आधार बारे आफ्नो अवधारणा प्रस्तुत गरी मानव जीवनको वास्तविकता तथा आत्मको प्रकृति समेत बारे बुझ्न हामीलाई सहयोग गर्दछ। वेदको छ वटा प्रमुख दर्शन मध्ये साङ्ख्य एक दर्शन हो जसले चेतना र भौतिक तत्त्व बारे व्याख्या गर्दछ। ऋषि कपिला द्वारा प्रतिपादित साङ्ख्य  दर्शन आत्म (पुरुष) र पदार्थ (प्रकृति) बिचको द्वैत अवधारणामा आधारित छ। पुरुष र प्रकृति बिचको भेदलाई गहिरो सँग बुझाउनु नै साङ्ख्य दर्शनको मूल लक्ष्य हो।

वैदिक परम्परामा साङ्ख्य दर्शनको गहिरो प्रभाव भेटिन्छ। वैदिक मान्यता सँग साङ्ख्यका धेरै साझा समानताहरू भेटिन्छ। उदाहरणको लागि अन्य वैदिक प्रणालीहरू जस्तै साङ्ख्यले भौतिक संसार (प्रकृति) भन्दा पृथक् रहेको परम वास्तविकता वा चेतना (पुरुष) को अस्तित्वको पुष्टि गर्दछ। पुरुष र प्रकृति बिचको भिन्नता बारे ज्ञान दिन अधिक जोड दिने साङ्ख्यले वैदिक मान्यता भित्रको चुरो विचारको सबैभन्दा महत्त्वपूर्ण र प्रभावशाली अभौतिक विज्ञानको यथार्थ  जगको मूल आधार वारेको ज्ञान उपलब्ध गराउने गर्दछ। वेदको नजरमा साङ्ख्य दर्शन अनुरुप सांसारका भौतिक बस्तुहरूको संरचना निर्माण पूर्व क्वान्टम मेटाफिजिक्सको सिद्धान्त अनुरूप तिनीहरूको अभौतिक पूर्वाधारहरू निर्माण हुने गर्दछ। क्वान्टम मेटाफिजिक्सको सिद्धान्त अनुरूप निर्मित अभौतिक गुणका तत्त्वहरू निर्माण पश्चात् क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्सको सिद्धान्त अनुरूप भौतिक पदार्थहरू निर्माण हुने गर्दछ। साङ्ख्य दर्शनले दिने उक्त ज्ञानको विस्तृत चर्चा अर्को लेखमा विस्तृत चर्चा यसपछिको लेखमा गरिने छ।

(प्रस्तुत लेखका लेखक खाद्य तथा औषधि विज्ञ घिमिरे हाल क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गरिरहेका छन् )

16Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: