मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रैथाने उद्यमशीलतामा ‘ब्याक टू स्क्वायर वन’: नारायण घिमिरे

अस्ति भर्खर जस्तो लाग्छ,  गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको । चार–पाँच कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौँ । हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पर्थ्यो,  भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल ।

हामी पटकपटक खरबुजा चोर्न गएका थियौँ । जब एक दिन माइला दाइले धान नमाडी खरबुजो खाएको पुरस्कार भनी हामी चार जनालाई चौतारोमा बोलाएर एक पोका माला मिठाई टक्राए, तब खरबुजोको खोजीमा दाइको घैयाबारी कुदने क्रम पनि रोकियो ।

जुगजमाना फेरिएको छ । खरबुजो टिमका हामी दुई जना सात समुद्रपारि क्यानडामा छौँ । एक जना काठमाडौँमा वरिष्ठ व्यापारी छन् भने अर्का एक जना नेपाल सरकारका उच्च अधिकारी । बसोबास सात समुद्रपारि रहे पनि मेरो मनचाहिँ किन–किन गाउँघरतिरै घुमिरहन्छ ।

हिजोआज मलाई के लाग्न थालेको छ भने हाम्रो परम्परागत कृषिले घैया धान र मकै हुने पाखोबारीको उत्पादनले ‘कस्ट अफ लिभिङ’ धान्ने विकल्प दिन सकेन । बरु अब त्यो घैया धान र मकै फल्ने बारीलाई तीतेपाती, धयेरी, धतुरो र असुरो बारी बनाएर किसानलाई कृषि पेसाबाट आर्थिक स्वावलम्बन गराउन सकिन्छ । त्यतातिर लागे मलेसिया र जापानमा जस्तै कृषक कृषि पेसामै आत्मनिर्भर हुने र कृषिमा युवा उद्यमीको मन बसाउन सकिन्थ्यो कि भन्ने तानाले गाँजेको छ ।

 

हाम्रा रैथाने जडीबुटी र कृषिजन्य उपजहरुको हालको विश्व बजारको माग र पूर्तिलाई केलाएर हेर्दा तीतेपाती बुद्ध चियाका रुपमा र क्लिनिङ स्यानिटाइजरका रुपमा अमेरिकाको हवाईमा व्यावसायिक भइसकेको भेटिन्छ । यसको बजार माग र कभरेज दिन दुई गुना, रात चार गुणा बढिरहेको अवस्था छ ।

 

खुला र सदुपयोग नभएका रुखो सिम जग्गामा हुने सानो बुटो हुने धयेरी वास्तवमै अति मूल्यवान् औषधिको अर्को स्रोत हो । यसको फूल आयुर्वेदिक औषधिका धेरै फर्मुलामा जान्छ भने यो आफैँ घरको गमलामा लगाइने महँगो नर्सरीको बिरुवा हो । परम्परागत रुपमा गाउँमा पखाला लाग्दा र शरीरमा इलेक्ट्रोलाइट घटेर डिसेन्ट्री हुँदा यसको उपयोग अत्यधिक गरिन्थ्यो । अल्सरको छिटो निको गर्ने तरिका थियो धयेरीको फूल । दाँत दुख्दा कुल्ला (गार्गल)का रुपमा प्रयोग गर्न र निधारमा चिट्चिट पसिना आउने र टाउको दुख्दा शीतलपन लिन धयेरीको फूलको रस लेपन र सेवन सामान्य मानिन्थ्यो । धयेरीको बोक्रा कुष्ठरोगको औषधिमात्र थिएन, धेरै तिर्खा लाग्दा र रगत सफा नभएर फोहोरी खटिरा नआवोस् भनी सेवन गर्ने चलन थियो । यसको जराको धूलो हड्डी भाँचिँदा प्रयोग हुने गर्थ्यो।

 

हाम्रो गाउँघरमा नरोपे पनि आफैँ उम्रने र झाडी बनाउने असुरोको आफ्नै प्रकारको उच्च वाणिज्यिक मूल्य (कमर्सियल भ्यालु) छ । पाकिस्तानमा यसलाई मधुमेयको पूरक (डाइबेटिक सप्लिमेन्ट)का रुपमा निकै लामो समयदेखि प्रयोग हुँदै आएको छ ।

 

हाम्रा पाखाभित्तामा फाँडफँुड पारी फाल्दा पनि जबर्जस्ती उम्रने जब्बर प्रकृतिको रिट्ठाको गेडा भारत हँुदै नर्थ अमेरिकासम्म पुगेको छ । यो अहिले क्यानडामा साबुन र स्याम्पूको सट्टा विलासी स्नानमा प्राकृतिक साबुन बेरी सोपका नाममा प्रयोग भइरहेको छ । अर्थात् आधुनिक खानपानको ‘एन्टी–क्यान्सर पिल्स’ बनेको र संसारकै आजसम्मको उत्कृष्ट ‘इम्युन बुस्ट’को सारथिको पहिचान बनाएको बेसार होस् वा रिट्ठा, हलेदो र अदुवा, तिनै घैयाबारीमा खेती गरी मनग्ये आम्दानी लिन सकिने कृषिउपज हुन् ।

 

सानो छँदा घरमै जोडिएको धारोमा पानी नहुँदा म बिहान–बिहान मुख धुन घरमाथिको फल्दी खोलाको धारामा जान्थेँ । धतुरो खाँदा जिब्रो र ओठ सुन्निने कहानी आमाको मुखबाट सुनेको थिएँ । मलाई जहिल्यै बाटो छेउको खोल्सोमा कतै धतुरो छोइएला र शरीर सुन्निएला भन्ने डर हुन्थ्यो ।

 

त्यो धतुरोलाई सबै जना शिवजीको बुटी भन्थे । जब हामी शिवजीको नाम लिन्छौँ, गाँजा, धतुरो र रुद्राक्षको प्रसंग आउँछ । सात सयभन्दा बढी औषधिजन्य प्रयोजन पाइएकाले गाँजा संसारभर वैधानिक हैसियत पाउने क्रममा छ । पछिल्लो समय क्यानडाले त्यसलाई कानुनी मान्यता दिइसकेको छ भने भारतमा पनि यसको आन्तरिक गृहकार्य भइरहेको छ ।

गाँजाजस्तै धतुरो पनि नेपालमा जताततै पाइने वनस्पति हो । वास्तवमा धतुरो बिष नै हो । यो बिषालु हुनुको कारण यसमा पाइने अल्कालोइड जस्तै स्कोपालामाइन, हायोस्क्यामाइन, एट्रोपाइन आदिले गर्दा हो । धतुरो उम्रँदा र जंगलमा हुर्कंदा कीराहरुले यसलाई नखाऊन् भनी यो बिरुवाले प्राकृतिक रुपमै आफूभित्रै रिपेलेन्टका रुपमा यी अल्कलोइड बनाएर सञ्चिती गर्छ । बिषादी बनाउने कम्पनीहरुले त्यसलाई लिएर जैविक कीरा नियन्त्रण गर्ने औषधि बनाउने गर्छन् । आयुर्वेदले मात्र खाना र औषधितिर ध्यान दिएको छ । त्यसैले यसको रस कपाल झर्ने समस्या निदानमा र कपालमा चाया कम गर्ने रसायनका रुपमा मात्र उल्लेख गरेको छ ।

 

धतुरोको गेडाबाट निक्लने तेल कपाल झर्न रोक्ने उच्च कोटीको औषधिमा प्रयोग हुन्छ । परम्परागत रुपमा धतुरोको पातलाई सेकेर बनाइएको लेपलाई आङ मर्केको र दुखेको ठाउँमा लगाइन्थ्यो । यो पेनकिलर थियो र हो पनि । दमको बेला र हड्डी मर्कंदा यसको प्रयोग हुन्छ । परम्परागत रुपमा महिला गर्भवती हुँदा फिस्टुलाको समाधानका साथै शरीर सुन्निएर पिप जम्ने हुँदा पनि धतुरोको गेडाको लेप लगाइन्थ्यो । धतुरोको गेडाबाट निक्लने तेलमा हायोस्क्यामाइन र एट्रोपाइन धेरै हुन्छ । त्यसलाई मानिसको दिमाग परिवर्तन गर्ने हेलुसिनेटिङ ड्रगका रुपमा चिनिन्छ । धतुरो बिषादी हुने हुनाले यसलाई दुई डेसिग्रामभन्दा बढी नहुने गरी मानव प्रयोजनका लागि सप्लिमेन्ट बनाउने गरिएको छ । युनाइटेड स्टेट्स फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (यूएसएफडीए) ले पनि धतुरोलाई भखरै तोके अनुरुप प्रयोग गर्न सकिने स्वीकृत सूची (एप्रुभ लिस्ट) मा राखेको छ ।

अब कुरा गरौँ मूलाको । यो हाम्रो शरीरको आन्तरिक (जैविक) घडीको चक्र सञ्चालनमा सहयोगी हुन्छ । मिलाटोनिङ हाम्रो प्राकृतिक रुपमै हाम्रो शरीरमै पाइने हर्मोन हो । अर्थात् शरीरको आन्तरिक घडीको चक्र सञ्चालन गर्ने हर्मोन । जब अँधेरो हुन्छ, हाम्रो शरीरले धेरै मिलाटोनिङ उत्पादन गर्छ अनि हामीलाई निद्रा पर्छ । उज्यालो हुँदा शरीरले मिलाटोनिङको उत्पादन घटाउँछ अनि हाम्रो निद्रा छ्याङ खुल्छ । मानिस दृष्टिविहीन हुँदा प्रकृतिले शरीरमा उत्पादित मिलाटोनिङको लेबल फिल गर्न सक्षम बनाउँछ । दिउँसो र रातीको अनुभूति गर्न सफल बनाउँछ । आन्तरिक घडी कन्ट्रोल गर्ने मिलाटोनिङको कमीले मानिस छिट्टै निदाउन नसक्ने, बिहान उठ्न र आँखा खोल्न नसक्ने आदि हुन्छ । मानिसहरु अल्जाइमर, सिजोफेर्निया, डिमेन्सिया, अटिजम, फोक्सोको रोग, मेमोरी-लस आदिमा मिलाटोनिङ खाने गर्छन् । त्यसलाई सेन्थेटिक प्रक्रियाबाट बनाइएको हुन्छ ।

 

हाम्रा गाउँघरमा पाइने मूलामा प्रति ग्राम ६ सय ५७ पिकोग्राम मिलाटोनिङ हुने गर्छ । त्यसैले आयुर्वेदले लेक्टिक फर्मेन्टेड मूलालाई धेरै राम्रो स्थान दिएको छ । खाना र अचारका रुपमा मूला खानु फलदायी मानिनुको वैज्ञानिक कारण निकै पछि बुझिए पनि आयुर्वेदले डाइबेटिक, ज्वरो, चिसो, कफ, दम, घाँटी दुख्दा र एलर्जी हुँदा नियमित ताजा मूला खान सल्लाह दिएकै हो ।

अनादिकालदेखि नै मानिसले दैनिक २५.५० एमएलजति मूलाको रस सेवन गरेको तथ्य पाइएको छ । पछि गएर ‘मूला खाई वन पस, अदुवा खाई सभामा पस’ भन्ने लोकोक्तिका कारण त्यो चलन ओझेलमा प¥यो । मूलाको डकार गन्हाउने र अदुवाले मुखमा बासना दिने भएकाले हामी कस्मेटिक फाइदातिर मात्रै लम्कियौँ । २५.५० एमएल मूलाको रस पिउँदा जतिको लाभ न काँचो मूला चपाउनुमा छ, न त अचार खाएर जिब्रो फड्कार्नुमा । जे होस्, यसको गुण पक्डेर मूलाको व्यवसाय गर्न सक्दा निकै फाइदाकारी हुनेछ ।

समग्रमा प्राविधिक दृष्टिकोणबाट के भन्न सकिन्छ भने, समय क्रममा नेपाल नेपालकै रैथाने लगभग सात हजार मेडिसिनल (औषधीय) र एरोमेटिक (सुगन्धित) प्लान्टको व्यावसायिक हब हुन सक्छ । जति सक्दो चाँडो हाताहाती प्रतिफल लिन सकिने अवस्थामा पु¥याउन भने मेडिसिनल र एरोमेटिक भ्यालु पहिचान, प्रशोधन र व्यावसायिक विधिको ‘बडी अफ नलेज’ हस्तान्तरण जरुरी हुन्छ । त्यो अवसरको संघार इनोभेटिभ इन्कुबेटरहरुलाई नेपालमा आमन्त्रण गरी काम गर्ने वातावरण प्रदान गरेपछि मात्र खुल्छ ।

घिमिरे क्यानडानिवासी खाद्य वैज्ञानिक हुन् ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: