मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खाना पकाउन लोकल तोरीको तेलनै उत्कृष्ट !

नारायण घिमिरे

म सानो हुँदा नारायणगढ पुगिसकेको मान्छेले पनि मिलमा पुगेर आफ्नै आँखा अगाडी पेलेको चितवनको तोरीको तेल नलिई घर फर्केको कचकच आमाले बाबा सँग गरेको धेरै सुन्ने गर्थे। पछि थाहा भयो नेपालमा तोरी, तिल, झुसे तिल, आलस, नरिवल लगायतका तेल नेपालकै परम्परागत तेल रहेछ। भर्खरै पुरानो कोलबाट तेल पेल्ने चलन भारत बाट आयात भएको तेल पेल्ने मिसिनले प्रतिस्थापन गरेको रहेछ। चितवनको तोरीको तेल मिसिनले पेल्ने मिसावट रहित कडा काँस आउने राम्रो हुने हुँदा जता ततै माग बढेको रहेछ।

 

मलाइ बिस्तारै थाहा हुँदै गयो, परम्परागत रूपमा तेलहन बालीको गेडा वा नरिवललाई मेसिनले बेस्सरी च्यापेर मिसावट रहित तेल निकाल्ने प्रविधि लाई कोल्ड प्रेस मेथड भनिँदो रहेछ। हाम्रो परम्परागत कोल वा घट्ट र मेसिन बाट तेल निकाल्ने सबै कोल्ड प्रेस प्रविधिबाट सानो स्तरको उत्पादन मात्र सम्भव हुने हुँदा ठुलो परिमाणमा दानामा हुने धेरै तेल निकाल्ने औद्योगिक तरिका विकास भएका रहेछन। ठुला मिसिन र आधुनिक भनिएका प्रविधि सस्तो हुँदा कोल्ड प्रेस प्रविधिहरू फ्याट्ट फुट्ट एकाध दुर्गम गाउँमा मात्र सीमित हुन पुगेछ। केही समयको अन्तरालमा हामी सस्तोमा तेलहन वालि बेच्ने अनि महँगोमा ठुला उद्योगका तेलहरू किन्ने बनिसके छौ।

 

मा जन्मिएर हुर्केको तनहुँको एक पिछडिएको गाउँ यम्पाफाट माथि हाम्रो भन्दा पनि विकट र  पिछडिएको गाउँ कल्चोक थियो। उति बेला मैले चिनेको कलचोकका राना दाइको आमाले गाउँ बाट लोकल कुखुराको भाले च्यापेर विमलनगर वजार जानु हुन्थ्यो। भाले बेचेर आएको पैसाले घरमा जरुरी हुने नुन, चिनी र कपडा फाटो किनेर ल्याउने गर्नु हुन्थ्यो। बचेको मध्येको पैसाले हामीलाई माला मिठाई र सुन्तला मिठाई समेत किनी दिने हुँदा ऊहॉ कुखुरा च्यापेर विमलनगर तिर गएको देख्यो भने राना दाइको छिमेकीको छोरा बल बहादुर र म विमलनगर बाट कल्चोक फर्किने बाटोमा पर्ने बोके खोलाको चौतारामा ढुकेर बस्थेम। मिठाई पाए पछि हानिएर घर फर्कन्थेम।

 

जति बेला ठुला मिसिन र आधुनिक भनिएका प्रविधिबाट उत्पादन हुने तेलले हाम्रो घरेलु तेल उत्पादन लाई बजार वाट विस्थापन गरिसकेको थियो, त्यो बेला कलचोकका राना दाइको आमा गाउँमा मजदुरी गरी राना दाइले कमाएको पैसा पोल्टामा हालेर रित्तै बजार जाने र फर्कँदा कुखुरा, नुन, तेल, बेसार र लत्ता कपडा अनि हामीलाई चकलेट मिठाई (वास्तवमा त्यो प्लास्टिकको झिल्लीमा बेलिएको क्यान्डी हुन्थ्यो, जसलाई हामी चकलेट मिठाई भन्ने गर्थेंम) लिएर आएको अझै मलाई सम्झना छ।

 

बल बहादुर र म दुवै पल्लो गाऊ सत्रसयको मित्रता माबिमा पढ्ने गर्थेम। तेतिबेला सञ्चार र सूचनाको श्रोत गोरखा पत्र र रेडियो मात्र थियो। विज्ञान पढाउने सरमा रेडियो र गोरखा पत्रमा आउने विज्ञापन नितान्त वैज्ञानिक हुने प्रभाव थियो। रेडियो र गोरखा पत्रमा ठुला मिसिन र आधुनिक भनिएका प्रविधिबाट उत्पादन हुने तेलले मुटु राम्रो गर्ने, स्मरण शक्ति बढ्ने आदि विज्ञापन आउँथ्यो।

 

कक्षामा पढाई कमजोर भएका हाम्रो साथीहरूलाई सरले घरमा आमालाई रेडियो नेपालले फुकेको बजारको पोकाको तेलको प्याकेट किनेर तरकारी पकाउन भन भनी सल्लाह दिनु हुन्थ्यो। बिहान पिटी कक्षामा राम्रो गर्ने लाई पिटी सरले घरमा बजारिया तेल खाए जस्तो फुर्तिलो बन्यो भनी सबैको अगाडी स्याव्वास भन्नु हुँदा हामीमा त्यो चितवनको तोरी, घरेलु तिल र आलस खाएकाले हाम्रो शरीर बलिष्ठ नबनेको विश्वास जाग्ने गर्थ्यो।

 

जति बेला हामी आफ्नो घरको घरेलु तेलका कारण आफ्नो शरीर नै विकास हुन नसकेको विश्वास गर्दै थियौ, तेती नै बेला भने संसारमै र परम्परागत तेलहन बाली बाट परम्परागत उत्पादन प्रविधि प्रयोग गरी उत्पादन गरिएका तेलहरू उत्कृष्ट मात्र हैन धेरै अर्थमा मानव स्वस्थको लागि लाभदायक रहेको प्रमाणित भएर पुरानै प्रविधिमा आधारित तेलहरू उच्च मूल्यमा बिक्री हुँदै गरेका रहेछन्।

 

विकसित मुलुकमा अनिष्ट गनिएका ठुला तेल उत्पादन कम्पनिहरु नेपाल जस्ता गरिब मुलुकमा सञ्चारमाध्यममा चुस्त खर्च गरी कु-समाचार मार्फत सामाजिक हिप्नोटिजम विकास गरी बजारमा आफ्नो एकाधिकार जमाउन सफल भएका रहेछन। नेपाल जस्तो मुलुकमा आफ्नो उत्पादन लाई स्वस्थ वर्धक भनी दाबी गरेर बिज्ञापन प्रसारण गर्न कुनै प्रमाणित तथ्य पेश गरिराख्नु पर्ने कानुन समेत नरहेकाले कनिष्ठ उत्पादन समेत हाकाहाकी उत्कृष्ट भनी सरकारी रेडियोमा फुक्न पाइने रहेछ।

 

जस्तै उदाहरणको लागि हाल संसारमै मानिसको खानको प्रयोजनका लागि प्रतिबन्ध रहेको हाइड्रोजिनेटेड र ब्रोमिनेटेड डाल्डा घ्यू जस्ता मानव विषको समेत एकताका स्वस्थ वर्धक घिउको रूपमा सञ्चार माध्यममा व्यापक प्रचार प्रसार गरियो। निम्न आर्थिक अवस्थामा रहेका ठुलो जन समुदायलाई जीवनभर मुटुको रोगको उपहार दिएर साँगुरो घेराका सीमित वर्ग धनाढ्य बने। उक्त घटना बाट कोही कसैले केही पाठ समेत सिक्न जरुरी ठानिएन।

 

ठिक २५ वर्ष पछाडि, आज नेपालतर्फ फर्केर हेर्दा अवस्था “उस्तै उस्तै हो नानु” मै रही रहेको भेटिन्छ। पहिले रेडियो र एक दुई पत्रिका मात्र थिए। अहिले त अनगिन्ती रेडियो, टिभी, एफएम, यु-ट्युब, सोसियल मिडिया, अनलाइन खबर, पत्र-पत्रिका बजारमा अस्तित्वमा छन। सीमित वर्गको मुनाफाको लागि, प्रमाणित तथ्य बिना, कुनै रोकतोक चाहे अनुरूप खाद्यको स्वस्थ सम्बन्धको हुनै नसक्ने दाबा सहितको विज्ञापन गर्न सकिने माहौल छ । मुनाफाको लागि सर्व साधारणको स्वास्थ्यमा खेलबाड गर्ने पाईने असीमित प्रजातन्त्रको प्राप्ति भएको छ।

 

सबैको सबै कुरामा अधिकार र प्रजातन्त्र सुरक्षित बनेको छ। अब मात्र प्रत्येक नागरिकको आफ्नो कर्तव्य, स्व-अनुशासनशिलता, व्यापारिक नैतिकता अनि सञ्चार माध्यमको सामाजिक उत्तरदायित्व विकासमा सुधार गर्न सक्दा मुलुक प्रगति पथमा लम्कने निश्चित जस्तै बनिसकेको अवस्थामा भेटिन्छ।

 

स्वस्थ राम्रो हुने लालसामा मानिसले दैनिक रूपमा २-३ कप (३००-४५० ग्राम) सलाद खानको रूपमा खाने चलन गरेको देखिन्छ। सलादमा हुने क्यारोटीनोइड र फ्याटमा-घुलनशील भिटामिनहरू शरीरमा उपलब्ध हुन तेलको समेत जरुरी पर्छ जुन प्राय सलादमा हुने गर्दैन। त्यसै सन्दर्भमा गरिएको एक अध्ययन बाट तेल मिश्रित सलाद खादाको अवस्थामा सलादमा पाइने औषधीय गुण बोकेको क्यारोटीनोइड र फ्याटमा-घुलनशील भिटामिनहरू शरीरमा पुग्ने प्रमाणित भयो।

 

उक्त जानकारीको प्राप्ति पछि संसारभर सलादमा तेल र स्वाद पुग्ने गरी मसलादार ड्रेसिङ्गहरु हाली खाने चलन चलेको हो। अनुसन्धान बाट सलादमा हुने मुख्यतः अल्फा क्यारोटीन, बिटा क्यारोटीन, लुटिन, लाइकोपिन, भिटामिन-ई, भिटामिन-के, भिटामिन-ए आदिको शरीरमा प्रभावकारी अवशोषण गराउन तिन कपमा दुई टेबल चम्चा तेल वा एक पटकमा खाइने प्रति कप सलादमा बढीमा एक टेबल चम्चा ड्रेसिङ्ग मिसाएर खानु प्रभावकारी भेटिएको थियो। त्यसैले हाल सलादमा तेलको ड्रेसिङ्ग गरी खाने चलन छ।

 

क्यारोटीनोइड र फ्याटमा-घुलनशील भिटामिनहरू एन्टी-अक्सिडेन्ट मात्र नभएर एन्टी-एजिंग प्रकृतिको हुने हुँदा शरीरको तौल घटाउने क्रममा रहेका मानिस हरुले ब्रेक-फास्टमा थोरै चिल्लो समाविष्ट गरि खाएको खानाले शरीरको तौल घटाउने काममा प्रभावकारी भूमिका खेलेको अनुभव गरेको भेटिन्छ।

 

सलाद ड्रेसिङ्गको लागि प्रचुर मात्रामा मोन्युसेच्युरेटेड फ्याट, फाइटोकेमिकल्स र अल्फा लिनोलेनिक एसिड भेटिने तेलहरू जस्तै भर्जिन ओलिभ, क्यानोला, बदाम, फ्याक्स सिड, ओखर, भाङ (हेम्प), एभोकाडो, अङ्गुर र बदामका तेलहरू उपयुक्त ठानिन्छ। ओखर, बदाम, हेजलनट र फ्याक्स सिड जस्ता नटबाट निकालिएका तेलहरूको विशिष्ट र समृद्ध स्वाद समेत हुने गर्छ। औधिगिक रूपमा सलाद ड्रेसिङ्गमा भने एक तटस्थ, कलर र फ्लेभर विहीन सफा, रिफाइन, ब्लिच, र डिअडराईज तेल वा तेलका मिश्रण प्रयोग गर्ने गरिन्छ।

 

नेपालमा कुकिङ्ग ओइलको रूपमा बेचिने प्राय: सबै तेल खाना पकाउने तेलको रुपमा  प्रयोजनमा उपयोगमा आउने गरेको छ। नारिबेल, भटमास, सूर्यमुखी, तोरी, तिल, आलस, झुसे तिल, बदामको तेल, चिउरी बटर, र घिऊ आदि नेपालका स्थानीय कच्चा पदार्थ बाटै बन्ने गरेका घिऊ-तेलहरू हुन।

 

ड्रेसिङ्गका रूपमा सलादमा हालिने तेल प्राय: चिसै प्रयोग हुने भएता पनि खाना पकाउने कुकिङ्ग तेल पकाउने क्रममा १७० डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा तताएर खानाको भुटनको रूपमा उपयोग गरिन्छ। प्रत्येक तेलको आफ्नै स्मोकिंग पोइन्टको हद हुने गर्छ। स्मोकिंग पोइन्ट भनेको तेलबाट धुवा आउन सुरु हुने बिन्दु भनेको हो। प्राविधिक रूपमा बुझ्दा भने स्मोक पोइन्ट यस्तो बिन्दु हो जुन बिन्दु भन्दा धेरै ततायो भने तेल आफै टुक्रिन सुरु गर्छ। तेल टुक्रिएर ग्लिसिरोल, ग्लिसिरोल टुक्रिएर फ्याट्टि एसिड, फ्याट्टि एसिड टुक्रिएर धुवा र मानिसको लागि विषाक्त हुने फ्री-रेडिकल पैदा गर्दछ।

 

तेल टुक्रने क्रममा एकातर्फ तेल हुँदै खानामा खराब चिल्लो पदार्थमा भेटिने सेचुरेटेड फ्याट्टी एसिड ठुलो मात्रामा पुगिरहेको हुन्छ। अर्को तर्फ धमनी भित्र जमेर रक्त सञ्चार रोक्ने ट्रान्स फ्याट थपी दिन्छ। सेचुरेटेड फ्याट्टी एसिड र ट्रान्स फ्याट मुटुलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने पदार्थहरू हुन।

 

टुक्रने क्रममा उत्पन्न हुने मालोन-डि-अल्डीहाइड र फ्री रेडिकलहरु शरीरमा अक्सिडेटिव स्ट्रेस दिने तथा मिउटाजेनिक दुर्भाग्य निम्ताउने विषादी मानिन्छ। अझ सेल पाउरोटी, रोटी, दुनट, निम्किन, दालमोठ, तारेको खाना जस्तै माछा, पकौडा, समोसा, जेरी, फ्रेन्च फ़्राइज आदि लामो समय सम्म एउटै तेलमा पकाउने र तेलको पुन प्रयोग गर्ने जस्ता कामले  घिऊले जस्तै तेलमा विषाक्त ट्राई-फ्लुरो-एसिटिक-एसिड र अन्य फ्री-रेडिकल ठुलो घनत्वमा पैदा गर्ने गर्छ।

 

गरिब नेपाली परिवारमा हाल विद्यमान रहेको हृदय रोग, ज्यान पोल्ने, चिर चिराउने, रगतमा अधिक चिल्लो भेटिने, रगतको नसाले जरुरत अनुसार फुक्ने र खुम्चने क्षमता गुमाउने, कलेजोको र मस्तिष्कको कोशिका खिइने प्रकृतिका विकृतिहरुको मूल कारक कम तापक्रममै स्मोकिङ्ग पोइन्टमा पुग्ने कुकिङ्ग ओइलहरुको प्रयोग हुनु नै हो भन्ने प्रस्ट अनुमान गर्न सकिन्छ।

 

विदेशतिर ड़िप फ्राई जस्ता कार्यको लागि प्रयोग हुने तेलको तातोपना नियन्त्रण हुने फ्राएरको प्रयोग हुने हुँदा सिफारिस गरिए अनुरूप भुट्ने वा ड़ीप फ्राई गर्दा तेलको तापक्रम नियमित नियन्त्रणमा राख्न सम्भव हुन्छ। १७० देखि १९० डिग्री सेल्सियस सम्म तातेको तेलमा खाना राम्रोसँग भुटिने र ड़ीप फ्राई समेत हुने हुँदा संसारमा सामान्यतया कुकिङ्ग ओइल भनेर २३० डिग्री सेल्सियस भन्दा माथिको स्मोक पोइन्ट भएको तेललाई वर्गीकरण गरेको देखिन्छ।

 

सामान्य तय: आलसको तेल (१०७), भर्जिन नरिवल तेल (१७७) स्मोकि पोइन्ट न्यून छ। कदम (२००), भर्जिन ओलीब (२१०), तीलको तेल (२१०), अङ्गुर (२१६), भेजिटेबल ओइल ब्लेन्ड (२२०), आलमण्ड (२२१) डिग्री सेल्सियसको आसपासको स्मोक पोइन्ट हुने गर्छ। यस्ता तेलहरू खानामा हालेर खाने क्रममा धेरै नतातिने किसिमको प्रयोजन जस्तै सलाद आदिको लागि राम्रो ठानिएको हो।

 

केनोला (२३०), मकै (२३०), बदाम (२३२), धानको भुसको तेल (२३२), भटमास (२३४), पाम (२३५), तोरीको तेल (२५०), सूर्य मुखी (२५२), कुसुम (२६६) र इभोकेड़ो (२७०) आदि  जस्ता तेल र शुद्ध घिउ (२५०) कुकिङ्ग तेल र घिउमा समावेश गरिएको हो।

 

परम्परागत रूपको तिल, तोरी पिने जस्तो सिधै प्रेसर दिएर सार तत्त्वमा तेल निकाल्ने प्रबिधि प्राकृतिक मात्र नभई मानव स्वस्थको लागि उत्कृष्ट समेत हुन्छ। यो प्रविधि बाट कृषि उपज बाट तेल अलि कम निक्लने हुँदा केमिकल सोल्भेन्ट जस्तै हेक्जेंन, बेन्जिन, कार्बन-टेट्रा- क्लोराईड, डाईक्लोरोमिथेन जस्ता केमिकलको प्रयोग गरी झन्डै सबै नै तेल निकाल्ने सोल्भेंट एक्सट्रेकसन तरिका बजारमा व्यापक प्रयोग भईरहेको छ।

 

सोल्भेंट एक्सट्रेकहरुमा प्रयोग हुने केमिकल पछि पुरै हटाउन नसकिने हुन्छ। सोल्भेंटको रूपमा प्रयोग हुने केमिकलहरू हेक्जागन पेट्रोकेमिकल रहेको र तिनीहरूको खानामा निकै थोरै उपस्थिति पनि कार्सिनोजेनिक अथवा क्यान्सर जस्ता घटक रोग पैदा गर्न सक्ने हुँदा यिनीहरू जन-स्वास्थ्यको लागि थप चुनौती पूर्ण बनिदिएको छ।

 

तोरीको गेडालाई परम्परागतरूपमा मिलमा पिसेर तेल निकाल्दा भन्दा स्टिम डिस्टिलेसन गरि धेरै तेल निकाल्न सकिन्छ। तोरीको गेडामा माइरोसिनेज वा ग्लुकोसिनोलेट (जसलाई सिनिग्रिन भनिन्छ) एञ्जाइम हुन्छ। उच्च प्रेसर र तापक्रममा पानीको उपस्थितिमा माइरोसिनेज र सिनिग्रिन रियाक्सन गरी एलाइल – आइसो – थायो – साइनेट वा आइसो – थायो – साइनेट बनाउँछ।

 

सुरुमा एलाइल – आइसो – थायो – साइनेट लाई तेलमा धेरै कास दिने हुँदा नराम्रो मानिन्थ्यो। तर पछि यसको क्यान्सर फ़ाइटिङ्ग गुण पत्ता लागेपछि उत्तम ठानिन थाल्यो। एलाइल – आइसो – थायो – साइनेट पेट्रोकेमिकलका रूपमा बजारमा उपलब्ध हुने एलाईल क्लोराईड र पोटासियम थायोसाइनेट लाई ल्याबमा रियाक्सन गरी समेत बनाउन सकिन्छ। जसलाई आर्टिफिसियल मस्टर्ड ओइल भनिन्छ।

 

हाम्रो दुर्भाग्य, नेपालमा इम्पोर्ट गरिने कतिपय तेलहरू सोल्भेंट एक्सट्रेकटेड छ।  तोरीको तेलहरुमा अर्तिफिसियल मस्टर्ड ओइल हाली ओरिजिनल तोरीकै तेल हो की जस्तो धेरै काश आउने बनाइएको शङ्का गर्ने पर्याप्त आधार हरू छन्। विगतमा तोरीको तेलमा सस्तो पामको तेल मिसिएको, विषाक्त अर्जिमोंन हालिएको बदमासी समेत भेटिए।

 

खाद्य तथा गुणस्तर नियन्त्रण निकायको मिसावट रहे नरहेको यकिन गर्न प्रयोग गर्ने फ्री-फेट्टी एसिड, पेरोक्सिडेज भेलु, पि- एनिसिडिन भेलु, आयोडिन भेलु, कलर भेलु र टोटल अक्सिडेन्ट भेलु जस्ता ल्याबका तरिकाले खाने तेलमा पूर्ण एकिन हुनेगरी मिसावट रहे नरहेको खुट्टाउन नसकिने गरी मिसावट गर्न सकिने प्रविधिहरू बजारमा व्यवसायी हरु लाई उपलब्ध रहेको देखिएको छ।

 

सलादको प्रयोजन र तरकारी हल्का भुटेर खाने प्रयोजनको लागि नेपाली मिलमै पिनेको तिल, आलस, नरिवल तेल र कुकिङ्ग प्रयोजनको लागि परम्परागत नेपाली पाराको मिलमा पेलेको मिसावट रहित तोरी, बदाम, भट्टमास, सूर्य मुखी आदि  जस्ता तेल र घरेलु वा डेरीको शुद्ध घिऊ नै धेरै भरपर्दो उत्तम विकल्प रहेको देखिन्छ।

 

नेपालमा तोरीको तेलमा ५ देखि ३३% सम्म ईरुसिक एसिड भेटिन्छ। सन् १९९० को कुरा हो अमेरिकाको खाद्य र औषधि प्रशासन एफडिएले जर्मनी र अस्ट्रेलियाका धेरै तोरीको तेलको स्याम्पल (१४ – ३३ % ईरुसिक एसिड रहेको) लिएर मुसामा गरिएको परीक्षणमा तोरीको तेलमा हुने ईरुसिक एसिड मुटुका रगत लाने ल्याउने नसामा टाँसिएर मुटुको समस्याहरू पैदगरेको देखेपछि यसलाई मानिसमा परीक्षण नगरी खाने तेलका रूपमा प्रतिबन्ध लगायो।

 

उक्त अनुसन्धानकै भरमा अमेरिका, क्यानडा र युरोपियन युनियनले समेत खाने तेलको रूपमा तोरीको तेल आयात र बिक्रीमा प्रतिबन्ध लगाए पछि ती मुलुक हरुमा तोरीको तेल मसाजको तेलको रूपमा आयात हुने र एसियन मुलुकका मानिस हरुले कुकिङ्ग ओएलको रूपमा प्रयोग गरिरहेका छन।

 

वास्तवमा १९९८ तोरीको तेल खाएर अचानक ६० जनाको मृत्यु र लगभग ३००० जना मानिस अचानक शरीर सुन्नने रोगको सिकार भएका कारण अदालतको आदेश बाट तोरीको तेल प्रतिबन्ध भएको थियो। केही महिनामै उक्त तोरीको तेल हेक्जागन पेट्रोकेमिकल बाट प्रदूषित भएको कारण उक्त दुर्भाग्य निम्तिएको थाहा भएपछि उक्त प्रतिबन्ध फुकुवा गरिएको थियो।

 

ईरुसिक एसिडको मुसामा देखिए मानवमा कुनै प्रतिकूल प्रभाव नपर्ने परम्परागत रूपमै यसको प्रयोग भइरहेको बाट प्रमाणित नै थियो। सन २०१२ मा भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एमस) र गङ्गाराम अस्पतालले विभिन्न खाना पकाउने तेलमा हुने चिल्लो पदार्थ र त्यसको असर बारे ओलिवको तेल, क्यानोला तेल, तोरीको तेल र सूर्यमुखी तेल बारे गहिरो अध्ययन बाट मानिसको हृदय रोगहरूको जोखिम कम गर्न सबैभन्दा अब्बल तोरीको तेल रहेको निष्कर्ष निकाल्यो। तोरीको तेल कुकिङ्ग ओइलको रूपमा ओलिवको तेल भन्दा धेरै राम्रो हुनुको कारण यसमा हुने ओमेगा-६ र ओमेगा-३ फ्याट्टी एसिडको अनुपात हृदय रोगको जटिलताहरू कम मद्दत पुग्ने अवस्थामा हुनु थियो।

 

तोरीको तेलबारे गरिएको एक अनुसन्धानमा ५ लिटर क्षमताको फ्रायरमा १८० ± ५ डिग्री सेल्सियसमा ६ दिन सम्म तोरीको तेल हरेक दिन ५ घण्टा तताएर कति टुक्रन्छ भनी हेरिएको थियो। प्रत्येक दिन लिइएको नमुनाको फ्री-फेट्टी एसिड, पेरोक्सिडेज भेलु, पि- एनिसिडिन भेलु, आयोडिन भेलु, कलर भेलु र टोटल अक्सिडेन्ट भेलु विश्लेषण गरिहेर्दा चार दिन वा बिस घण्टा पुगेपछि मात्र उक्त तेल अनुसन्धान शालाको मापदण्ड अनुरूप खान अयोग्य बनेको भेटियो। यो अनुसन्धानले नेपालमा तेलमा खानेकुरा पाक्ने तरिकाको सन्दर्भमा कूकिंङ वोईलको लागि तोरीको तेल उपयुक्त हुने देखाएको छ।

 

खाना तारेर खाने प्रयोजनको लागि नेपाली शुद्ध घीऊ र तोरीको तेलको लामो समय तताउँदा समेत झट्ट नटुक्रने क्षमता देखिन्छ। खाना पकाउने क्रममा सानो अंश डढ्न गई मानव स्वस्थमा पुग्न सक्ने हानी  नेपाली शुद्ध घीऊ र तोरीको तेलको अरूको सन्दर्भमा कम रहेकाले नेपाली सन्दर्भ मा यी भुटनहरू लाई उत्कृष्ट करार गर्नु उपयुक्त देखिन्छ। तेल परीक्षणमा चार दिन टिकेको भेटिएता पनि हाम्रो गाउँ घरमा चर्को आगोमा तेल तताउने गर्दा तेल २४० डिग्री सम्म तातेको कथा सुनिएको छ।

 

तपाई शुद्ध तोरीको तेल वा शुद्ध घीऊमा खाना डिप फ्राई गरी खाना खान चाहनुहुन्छ भने एक पटक भुटन प्रयोग भएको तेल पुनः प्रयोग नगर्न र तेल तात्दा निस्किएको विभिन्न प्रकारका फ्याट्टी एसिडहरू माथि गाजमा आउने हुँदा त्यसलाई नियमित हटाउन राम्रो हुनेछ।

 

अझ तारेर वा तरकारी आदि भुट्ने क्रममा एक प्रकारको मात्र भन्दा विभिन्न प्रकारका तेलहरू मिसाएर प्रयोग गर्दा हरेक तेलको उत्कृष्ट संरचना बाट धेरै फाइदा हुने गर्छ। कुनै एक प्रकारको तेलमा नहुने फ्याट्टी एसिडहरूको अभाव अर्को तेलले पुरा गर्न सक्छ। डिप फ्राई गर्नु पर्ने अवस्थामा उच्च स्मोक पईट भएको तोरीको तेल वा घीऊको मात्रा ८०% भन्दा माथि प्रयोग गर्दा सबै समस्याको समाधान हुन सक्छ।

 

अनुसन्धानले क्यनोला ओइल, ओलीब ओइल भन्दा पनि तोरीको तेल मुटुको स्वस्थको लागि उपयुक्त भएको प्रमाणित गरिदिएको छ। हाम्रा मिलहरूले तोरी पिसेर निकाल्ने तेलहरू घरमा लामो समय सम्म राख्दा पनि बजारको तेल जस्तो तुरुन्त नबिग्रने क्षमता त छदैछ यसका स्वस्थ वर्धक फाइदाहरू भेटिएका छन्। अमेरिकन र युरोपियन हरुले ईरुसिक एसिड हुनाले मुटुको खराबी दिने हो की भनी यसलाई बन्देज गरिरहँदा वास्तवमा त्यही ईरुसिक एसिड हुनाको कारण स्नायु  र मस्तिष्कको तन्तुहरूको रक्षा गर्न तोरीको तेल सक्षम बनेको यथार्थता बाहिरिएको छ।

 

तोरीको तेल मुख्य तेलको रूपमा खाने व्यक्तिहरूको पाचन शक्ति अन्यको भन्दा उच्च देखिएको छ। खाना पचाउन, पाचन प्रक्रियामा उत्पन्न हुने शरीरलाई जरुरी नहुने पदार्थ दिशा र पिसाब भाट बाहिर फाल्न तोरीको तेल सहयोगी हुने प्रमाणित बनेको छ। मानिसमा न्यून मेटाबोलिक डिसअडर कायम गर्न र स्वास्थ्यको हिसाबमा आन्तरिक र बाहिरी रूपमा तोरीको तेलको थुप्रै फाइदाहरू रहेको प्रमाणित भएको छ।यति हुँदा हुँदै पनि कुनै पनि तेलको धेरै सेवन मानिस लाई राम्रो नगर्ने हुँदा तोरीको तेल र घिउ समेत पौष्टिक आहारको लागि  तोकिएको दैनिक मात्रा भन्दा धेरै सेवन गर्नु पक्कै राम्रो हुने छैन।

 

मुटु स्वास्थ्य राख्न, दाँत र गम रोगको उपचार गर्न, मसाजको लागि, शारीरिक प्रतिरक्षा, डिटक्सिफायर, रक्त सञ्चार सुधारक, छालाको स्वास्थ्य, कपालको स्वास्थ्य, एंटी-इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टि फंगल जस्ता धेरै गुण युक्त रहेका कारण तोरीको तेल आज आफ्नो स्वास्थ्य बारे चासो राख्नेहरूको अधिक रोजाइमा परिरहेको छ। हामी आफै भने आफ्नो  उत्कृष्ट लोकल तोरीको तेल र लोकल घीऊ प्रयोग गर्न छोडेर राज्यले तोकेको गुणस्तर पुरा गरेको नाममा स्वस्थतामा अझै प्रश्न वाचक नै रहेको आयातित तेलहरू उनीहरूले नै विशाल धनराशि खर्च गरी प्रसारण गरेका विज्ञापनका भरमा खरिद गरिरहेका छौ।

(लेखक नेपाली मूलका क्यानेडियन खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: