मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र विज्ञानको कसीमा हरितालिका अर्थात् तीज ।

नारायण घिमिरे

आपसी आयुर्वेदिक प्रेम विकास गर्न सन्देश तिजको अवसरले सम्पूर्ण नारी तथा पुरुषहरूलाई दिने गर्दछ।

 

हरितालिकामा बसिने हरितालिका व्रतले अगस्ट-सेप्टेम्बरमा पर्ने भाद्र महिनामा हुने धार्मिक अनुष्ठान (पूजा) तथा तिजको व्रतलाई जनाउँछ। राजा हिमालयले भगवान् विष्णु लाई आफ्नी छोरी पार्वतीको कन्यादान गरिदिने भनी दिएको वचन पार्वतीलाई मन परेन।

 

उनले आफूले मन पराएको शिवजी वरको रूपमा पाउन जङ्गल गएर गरेको तपस्या एक सय वर्ष पूरा हुँदा समेत तपस्याको फल नपाउँदा भाद्र शुक्ल तृतीयाको दिन माटोको शिव लिङ्गको स्थापना गरी पानी समेत नपिईकन निराहार व्रत बस्न बसिन्।

 

पार्वतीको उक्त कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा हुने आशीर्वाद दिए। जसको कारण शिव पार्वतीको विवाह सम्भव बन्यो। सोही तिथि उत्सवका रूपमा मनाउन तीजको परम्परा पौराणिक कालदेखि चल्दै आएको किंवदन्ती छ।

 

पार्वतीले आफ्नो लोग्नेको रूपमा शिवलाई पाऊ भनी शुल्क तृतीया तिथिमा माटोको शिव लिङ्ग बनाएर शिवको आराधना अर्थात् पूजा गरी हरितालिका अर्थात् तिजको व्रत बसेको र पार्वतीको माग समेत सम्बोधन भएकोले तिज वैदिक संस्कृतिको महत्त्वपूर्ण पक्ष हुन गएको भनाइ छ।

 

हाम्रो परम्परामा पति अनि परिवारको रक्षार्थ नारीहरूको अटल सौभाग्य, सदा सर्वदा भरिभराऊ कोखको प्राप्तिको लागि निराहार र निर्जला व्रत बस्ने गरिएको भनिन्छ। निर्जला व्रतमा बिहानको ०७:२५ देखि भोलि पल्टको बिहान ०५:४५ सम्म कम्तिमा २० घण्टा २० मिनेट पानी समेत नपिएर व्रत बस्ने गरिन्छ।

तीजमा बसिने लामो समयको निर्जला (जल बिनाको) व्रत औषधी विज्ञानको दृष्टिमा अत्यन्त हितकर हुने गर्दछ।  मानिसले हरेक दिन आठदेखि १० गिलास पानी पिउने गर्दछ। पानीले शरीरका तन्तुहरू ओसिलो र भरिलो राख्ने काम गर्छ। खाना पाचन हुने प्रक्रियामा शरीर भित्रै हुने केमिकल रियाक्सनमा  समेत पानी उत्पन्न हुन्छ। जसलाई मेटाबोलिक पानी भनिन्छ। कोशिकाहरूमा १०० ग्राम कार्बोहाइड्रेट लाई शक्तिमा परिवर्तन गर्ने क्रममा ६० ग्राम र १०० ग्राम चिल्लो वाट तागत निकाल्ने बेला १०७ ग्राम मेटाबोलिक पानी उत्पादन गर्छ ।

 

उक्त क्रममा उत्पादन हुने कार्बन–डाई–अक्साइड रगतमा घुली बन्ने कार्बोनिक एसिडले रगतमा अम्लीयपन बढाउने हुँदा जति सक्दो चाँडो त्यो श्वासप्रश्वास क्रियामार्फत शरीर बाहिर फालिन पुग्छ । मेटाबोलिक पानी र पिएर शरीरले प्राप्त गरेको पानीको हरेक ६०० थोपा पानीमा (हाइड्रोजन अक्साइड) एक थोपा सामान्य पानीभन्दा १०.६ प्रतिशत गह्रुङ्गो पानीको अणु मिसिएको भेटिने गर्छ । त्यसलाई मृत वा हेभी वाटर वा डिउटेरियाम अक्साइड भन्ने गरिन्छ।

 

जब मृत पानी शरीरको कोशिकाभित्र पैदा हुन्छ वा प्रवेश गर्छ, तब पानीले गर्ने काम सम्पन्न गरी सकेपछि नयाँ पानीले रिसाईकल हुने गरी सामान्य पानी जस्तो कोशिका बाट बाहिर निस्कने र पिसाबबाट बाहिर फाल्न सकिने अवस्था बन्दैन । कोशिकाभित्र जमेको मृत पानीले कोषिकाको मेटाबोलिक प्रक्रिया र माइटोसिस प्रक्रियामा अवरोध गरिदिन्छ। जुन शरीर भित्रबाट रोग पैदा गरिदिने कारक  बनिदिने गर्दछ। त्यसैले शरीरलाई भित्रबाट दीर्घ रोगी हुनबाट जोगाउन शरीरमा हुने बोसोले मृत पानीलाई आफूभित्र कैद गरेर राख्ने र कोषिकाको धेरै क्षति हुन वाट छेकिरहेको हुन्छ। जब हामी १० देखि २० घण्टा सम्म पानी समेत नपिएर व्रत बसी दिन्छौ तब शरीरमा नियमित पानीको आपूर्ति बन्द हुन जान्छ।

 

हामीलाई नियमित चाहिने शक्ति उत्पादनको लागि कोशिकाभित्रको माइकोकोंड्रियामा नियमित कार्बोहाइड्रेट र चिल्लोबाट शक्तिको उत्पादन हुने क्रममा बन्ने पानी नै त्यो समय शरीरलाई पानी आपूर्तिको मूल स्रोत बनिदिन्छ । यो प्रक्रियामा सेल भित्र वाट बाहिरको पानीको अभाव पूर्ति गर्नु जरुरी बन्छ। जसले गर्दा सेलभित्र जमेको मृत पानी कोशिकाबाहिर फालिन पुग्दछ। जब निर्जला व्रतको समय १२ घण्टा नागी दिन्छ तब बोसोले समातेर राखेको  मृत पानी र अन्य विषाक्त फोहर समेत बाहिर आउने र पिसाब मार्फत बाहिरिने गर्दछ।

 

यसले गर्दा वर्षको एक दुई पटक मात्र निर्जला व्रत बस्ने प्रक्रियाले शरीर लाई भित्र वाट शुद्ध गर्दछ। तिजको सन्दर्भमा पानी समेत नपिएर बसिने निर्जला व्रत शरीरको शुद्धीकरण, मनोवैज्ञानिक स्वस्थ र यौनिक तागत वृद्धिमा अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रूपमै पुष्टि भएको छ।

 

औषधि विज्ञानमा संस्कृतको हरितालिका शब्दले दुबो झार (Panicum dactylon) लाई जनाउने गर्दछ। लामो समयदेखि परम्परागत औषधिको रूपमा उपयोग हुँदै आएको दुबो बाह्रमासे झार वा हर्बल हो। औषधि विज्ञानमा शरीर सुन्निने, क्यान्सर, शरीर काँप्ने, थर थर हुने, खोकी लाग्ने, बाउँडिने, झाडापखाला, पानी धेरै जमेर शरीर अधिक धेरै सुन्निने, डिसेट्री, छारे रोग, टाउको दुख्ने, रक्तस्राव हुने, उच्च रक्तचाप, हिस्टेरिया, दादुरा, रुबेला, सर्पले टोकेको, घाउ, पत्थरी, लुन्द्रा तथा मुसा जस्ता विभिन्न रोगहरूको उपचारमा दुबो प्रयोग हुँदै आएको छ।

 

दुबोको बिरुवाको रस र दुबो पानीको एन्टिभाइरल तथा एन्टिमाइक्रोबियल गुणहरू समेत हुने हुँदा यसले मानिस लाई फोहर पानी वाट हुने छाला जन्य सङ्क्रमण वाट समेत बचाउने गर्दछ ।

 

हरि र तालिका दुई शब्द मिली बनेको शब्द हरितालिकाको हरि शब्दले मूलतः इन्द्रको घोडा भन्ने सङ्केत गर्दछ। जैविक विज्ञानको सन्दर्भको वैदिक ज्ञानले मस्तिष्कको मूल सञ्चालक लाई इन्द्रको रूपमा चिन्दछ।

 

हरित अर्थात् हरियो (Green Light Ray) प्रकाशको किरणको रङ्गको समेत अर्थ दिने हरि शब्दले मानवको मनोवैज्ञानिक तथा आध्यात्मिक सबलता दिने खुबी बोकेको सूर्य तथा चन्द्रको सेतो प्रकाश बन्ने सात रङ्ग मध्येको एक, हरियो रङ्गको प्रकाशको किरणको चर्चा गर्न खोजेको प्रस्ट हुन्छ।

 

तालिका शब्दको सान्दर्भिक अर्थ निश्चित दिशा निर्देशको लागि उपयोग हुने घोडाको लगाम जस्तो व्यवस्थापनको साधन भन्ने हुन्छ। जसले सम्पूर्ण व्यवस्थापन पक्षलाई नियमित रूपमा आफ्नो नियन्त्रणमा लिएर अन्तिम विजय पथको प्राप्तिको सुनिश्चित गर्ने क्षमता उपलब्ध गराउने गर्दछ। शाब्दिक अर्थ समर्थन (ताली) समेत रहेको तालिका शब्दले औषधि विज्ञानमा भुईँ अमला (Phyllanthus urinaria) समेत लाई जनाउने गर्दछ।

 

वार्षिक रूपमै बाह्रमासे हर्बल प्रजातिको रूपमा भेटिने पानी अमलाको बिरुवा र फल जन्डिस, मधुमेह, मलेरिया र कलेजोको रोग आदिको उपचारमा हर्बल औषधिको रूपमा परम्परागत रूपमै उपचार हुँदै आएको हो। घरेलु उपचारको रूपमा आज पनि पखाला र डिसेन्ट्री आदिमा पानी-अमलाको पातको रस पिउन दिइन्छ।

 

मानिसको स्वस्थको लागि सूर्यको सेतो प्रकाश बन्ने हरेक रङ्गिन किरण हरूको आफ्नो आफ्नै विशेष भूमिका हुने गर्दछ। हरियो रङ्ग शान्त र आरामदायी रङ्गको। हरियो सुख प्रदायक रङ्ग रहेकोले यसले मनोवैज्ञानिक सद्भाव निम्त्याउने हुँदा चिन्ता घटाउने गर्दछ। एञ्जाइटिको बिरामीको लागि हरियो प्रकाशको किरण उपचारात्मक हुने गर्दछ।

 

आध्यात्मिक मान्यता अनुरूप हरियो किरणका फ्रिक्वेन्सीहरू हृदय चक्रको कम्पन सँग प्रति-ध्वनित हुने गर्दछन्। जसले गर्दा हरियो किरणको कम्पन शारीरिक वृद्धि र उपचारको लागि उत्प्रेरकको भूमिका खेल्दछ। साथै यसले व्यक्तिको हृदय करुणा युक्त बनाउन र आफ्नै जीवन बापत आफूलाई धन्य महसुस गराउने तागत राख्दछ।

 

नीलो रङ्ग अत्यधिक शान्ति प्रदायक रङ हो। नीलो रङ्गले मानिसको तनाव व्यवस्थापनमा विशेष सहयोगी हुने गरेको छ। वैज्ञानिक अध्ययनले नीलो प्रकाशको तरङ्ग र आवृत्ति सेतो प्रकाशको पूर्ण स्पेक्ट्रमको तुलनामा कम तीव्र हुने हुँदा निलो प्रकाशको किरण वाट विशिष्ट उपचारात्मक प्रभाव प्राप्त गर्न सम्भव भएको हो।

 

नीलो रङ्गले मानिसको भावनालाई शान्त रहन प्रोत्साहित गर्ने हुँदा डिप्रेसनको बिमारीलाई निलो प्रकाशको किरणको उपयोग गर्न सुझाइन्छ। नवजात शिशुको रगतमा बिलिरुबिनको स्तर उच्च हुन पुग्दा शिशुको छाला र आँखा पहेँलो बनी शिशुमा जन्डिस देखिने गर्दछ। अस्पताल हरूमा उपचारको क्रममा जब शिशुहरू सुत्छन् तब निलो हेलोजन वा फ्लोरोसेन्ट बत्तीहरू मुनि राखी तिनीहरूलाई जन्डिसको उपचार गर्न निलो बत्तीको फोटो थेरापी गर्ने गरिन्छ।

 

निलो बत्तीको फोटो थेरापीको क्रममा छाला र रगतले निलो प्रकाश अवशोषित गर्दछ। निलो प्रकाशको तरङ्गहरूले उनीहरूको प्रणाली बाट बिलिरुबिन हटाउन मद्दत पुग्दछ र फोटो थेरापीले नवजात शिशु जन्डिस मुक्त हुन्छ।

 

बैजनी रङ्ग शक्ति, बुद्धि र शान्ति प्राप्तिको लागि सहयोगी हुने हुँदा कतिपय सामाजिक चाडबाडहरूमा बैजनी रङ्गको पहिरनहरू प्रयोग गर्ने गरिन्छ। पहेँलो रङ्ग सामान्यतया खुसी, आनन्दित भावनाहरूको रङ्ग हो।

 

शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक समस्याहरूमा कलर थेरापीको उच्च भूमिका हुने गर्दछ। अस्पताल आदिमा रङ्गिन बत्तीहरू प्रयोग गरी हुने वैज्ञानिक उपचार हाम्रा तिज लगायतका चाडबाडमा लगाइने हरियो, निलो आदि विभिन्न रङ्गका वस्त्र  सूर्य वा चन्द्रको सेतो प्रकाश वाट जुन रङ्गको वस्त्र लगाएको हो त्यही रङ्गको किरण आफ्नै छालामा परावर्तन गर्दछ।

 

यसरी परावर्तित किरण आफ्नै र आफू नजिक रहेको व्यक्तिको उपचारमा सहयोगी हुने गर्दछ। वैज्ञानिक निचोड अनुसार शरीरमा लगाइएको वस्त्र र गहना मार्फत जुन रङ्गको बस्तु हो त्यही रङ्गको परावर्तित किरण वाट मानिसको मस्तिष्कमा रङ्गको प्रकृति विशेष विद्युतीय आवेग समेत सिर्जना हुने गर्दछ। जसले मानव शरीरको हार्मोनल र बायो केमिकल प्रक्रियाहरूलाई उत्तेजित गर्दछ। उक्त प्रक्रियाहरूले मानिसलाई कि उत्तेजित कि शान्त बनाउन भूमिका खेल्न सक्दछ।

 

विशेष गरी नारीहरूले धान खेती समेत हरियो हुने श्रावणको महिनामा भगवान् शिव र देवी पार्वतीलाई समर्पित गर्ने शुभ वैदिक चाड तीजको अवसरमा नयाँ हरियो साडी, हरियो चुरा, निलो ब्लाउज, हत्केलामा बैजनी मेहदी, विभिन्न रङ्गका टिका आदि किन प्राथमिकतामा परेको होला भन्ने कुराको वैज्ञानिक पक्ष बुझ्न यसले हामीलाई सहज तुल्याएको छ। साथै वैदिक परम्पराको पर्व विशेषको वस्त्र चयन वैज्ञानिक यथार्थको आधारमा हुने समेत यसले पुष्टि गर्दछ।

 

व्यक्ति व्यक्तिमा उनी हरूको छनौटको पहिरनले दिने परावर्तित किरणको फरक फरक प्रभाव हुन सक्दछ। छिट पुट रूपमा त्यस्ता प्रभाव कतिमा नकारात्मक समेत हुन सक्दछ। जस्तै कति लाई रङ्गी चङ्गी प्रकाशले छारे रोग, उच्च रक्तचाप, हिस्टेरिया, टाउको दुख्ने आदि हुन सक्दछ। वैदिक हरितालिका पर्व अन्तर्गत उल्लेखित हर्बल दुबो झार र  भुईँ अमला तिनीहरूको घरेलु उपचारका प्रभावकारी जडीबुटी हुन।

 

 

 

शिव पुराण, वायवीय संहिता ७, खण्ड १, अध्याय १७.१-४ मा उल्लेख भए अनुसार निर्माण मार्फत अव्यक्तता व्यक्त हुने प्राकृतिक इच्छा शक्ति लाई मूर्त रूप दिन अव्यक्त ऊर्जाको संयोजन मार्फत इच्छा शक्तिको प्राकृतिक स्वक्रीडा अर्थात् यौगिक प्रजनन प्रक्रियाको प्रारम्भ भयो। निर्माण क्रियाको नियमित सञ्चालनले सम्पूर्ण निर्माणको ज्ञानको वीज रुपी सक्रिय अस्तित्वको ब्रह्मा वीजको निर्माण गर्‍यो।

 

प्राकृतिक ऊर्जाको संश्लेषण गर्दै ब्रह्म वीजको आधा पुरुष गुण युक्त र आधा नारी गुण युक्त भागमा विभक्त भयो। त्यसको पहिलो आधा भाग वाट नारी तत्त्व रुपी (Female Code) शत-रूपा (अनगिन्ती सङ्ख्याको अत्यन्त सुन्दर ) अर्थात् सरस्वती (मस्तिष्क र इन्डोकेनेबिनोइड प्रणालीको निर्माणमा अहम् भूमिका खेल्ने) बनिन। दोश्रो आधा भाग वाट पुरुष गुण रुपी (Male Code) विरज (सुर-वीर गुण आदि सँग सम्बन्धित रक्षा तथा सुरक्षा संयन्त्र निर्माणमा अहम् भूमिका खेल्ने) बने।

 

वैदिक मान्यतामा ब्रह्माण्ड सृष्टि भएको नभएर ज्ञानमार्फत प्रकट भएको विषय हो। ब्रह्माण्डको प्रक्षेपणको लागि ध्वनि (कम्पन) र रूपहरूको समानान्तर प्रक्षेपण (रूप) जरुरी थियो। सृष्टि प्रकट हुन अव्यक्त ज्ञानलाई अभिव्यक्त गर्न वाणीको जरुरत पर्दथ्यो। अव्यक्त स्वरूप लाई व्यक्त गर्न भौतिक संरचनाको खाँचो पर्‍यो।

 

सरस्वती आफै ध्वनि तथा ध्वनिको गति, दिसा र तरङ्गहरूको निर्माणको (सोनिक-सृष्टि) लागि जरुरी हुने शक्तिको स्रोत बनिन। जसको सङ्गठित सहकार्य वाट सृष्टि निर्माणको अव्यक्त ज्ञानलाई अभिव्यक्त गर्न जरुरतको पूर्ति गरिदियो। जीवहरूमा ज्ञान प्राप्ति गर्ने क्षमता, मनोवैज्ञानिक दक्षता, कुशलता र बुद्धिमत्ताको निर्माण समेत सम्भव तुल्याई दियो।

 

वैदिक संस्कृतिमा सबै प्रकारका ज्ञान, कला र सङ्गीतहरू, भाषा र लेखनको माध्यमबाट व्यक्त हुने सबै प्रकारको सञ्चार तथा सबै प्रकारका कृति र लेखनका सृजनाको शक्तिको श्रोतलाई सरस्वतीको संज्ञा दिइन्छ।

 

विराज वैभव, सौन्दर्य, भौतिक शरीर र व्यक्त संरचनाको लागि जरुरत पर्ने अनगिन्ती वीजको (sperms) तथा पोषण, सुरक्षा (ova) र रक्षा दस्ताको (Immunity Network) निर्माण कर्ता रहे। जसरी उभयलिंगी (Androgynous i.e. being both male and female in one body) ब्रह्म वीज वाट सरस्वती र बिराज वने त्यसरी नै उभयलिंगी बिराजको आफ्नो सोच बाट पहिलो मनुको रूपमा स्वयम्भू जन्मे। वैदिक मान्यता अनुरूप यौन क्रीडा बिना सोच मात्र वाट जन्मेको (यौगिक प्रजनन प्रक्रिया i.e. Asexual reproduction) सन्तान लाई मानस पुत्र भन्ने गरिन्छ।

 

समग्र सृष्टिको विस्तृत खाका निर्माण पश्चात् सृष्टिमा जीवलाई गुणा गरी चलायमान गर्ने र नियमितताको चक्र कायम गर्न ब्रह्माको योजना मुताबिक स्वयम्भू वाट समेत  मानस पुत्रहरु (सन्तान) जन्मे। उनीहरू प्रजापतिको नामले चिनिन्छन्। सृष्टिलाई सहज बनाउने उद्देश्यले सुरुमा बिस जना प्रजापतिहरू (सृष्टिकर्ताहरू) सृष्टि भयो। स्वयम्भू मानस पुत्र प्रजापतिहरूले दृश्य संसारको माध्यमिक रचनाहरूको निर्माण गर्ने ब्रह्माको योजना सम्पन्न गर्न उल्लेखनीय भूमिका खेले।

 

दिमागी सोच मार्फत जन्मिएको बच्चाहरू बिच आपसमा र ती बच्चाहरूको आफ्नै सृष्टिकर्ता सँग समेत कुनै पनि प्रकारको आनुवंशिक सम्बन्ध हुने गर्दैन। प्रजापतिहरू मानस पुत्र थिए। ऋग्वेदका अनुसार यिनै मानस पुत्र प्रजापतिहरूका आनुवंशिक सम्बन्ध नरहेका पाँच सन्तान (चार पुरुष र एक महिला) मार्फत ब्रह्माण्डमा मानव जातिको अस्तित्व सुरु भएर नियमित हुन सक्यो।

 

वैदिक मान्यतामा प्रजापति नारी शक्ति समेतले समृद्ध पुरुष व्यक्तित्व रहेको मानव र अन्य जीवित प्राणीको अस्तित्वको सुरुवात गर्ने शक्ति हो। जसले यौन कार्यमा संलग्न हुने, रति क्रीडा मार्फत गर्भधारण हुने र यौन सम्पर्क मार्फत जन्म हुने प्रक्रियाको निर्माण गर्‍यो। जीवनको निरन्तरताको लागि सम्भोग मार्फत प्राणीको जन्म हुने प्रक्रियाको सुरुवात गर्दै  त्यसलाई सुचारु राख्न जरुरत पर्ने सम्पूर्ण व्यवस्थापन पक्ष पुरा गर्ने भूमिका  निभायो।

 

आध्यात्मिक दृष्टिकोणमा विरजा सबै प्रकारको ऊर्जाको सन्तुलित संयोजन रहेको एक अलौकिक अवस्था हो। त्यहाँ कुनै प्रकारको चिन्ता अस्तित्वमा रहँदैन। सन्तुलित आध्यात्मिक ऊर्जाको अवस्थामा पुग्नु लाई वैदिक ग्रन्थहरूमा वैकुण्ठ लोक प्राप्ति भनिन्छ। बाह्य संरचनाको रूपमा अस्तित्वमा रहेको व्यक्त भौतिक ब्रह्माण्ड र आध्यात्मिक सृष्टिको बिच भागमा रक्षा तथा सुरक्षाको सम्पूर्ण प्रत्याभूति हुने हुँदा मानिसले परम आनन्दको अनुभूति गर्छ। आध्यात्मिक दृष्टिकोणमा परम आनन्दको विरजा अवस्थाको प्राप्ति सम्भव हुने बिन्दु नै ब्रह्मलोक हो।

 

दुबो झार र  भुईँ अमला दुवै बाह्रमासे हर्बल रहेकाले अजम्मरी जडीबुटी ठानिन्छ। जसले शिव पार्वतीको जस्तो जटिल प्रकृतिको अजम्मरी प्रेमको  सङ्केत  गर्दछ । उपनिषदहरूमा उल्लेख भए अनुसार ठिटा-ठिटीहरू बिच आपसी सहमतिमा हुने नैतिक यौन सम्पर्क तथा यौन क्रीडाको दौरानमा उनीहरूले प्राप्त गर्ने आनन्द आफैँमा नारी र पुरुष दुवै सबै रूपमा ब्रह्माण्डको एउटै समान धरातलमा पुगेर परमात्मा प्राप्तिको आनन्दमय प्रसाद ग्रहण गर्ने सुवर्ण अवसर र शक्तिशाली उपाय हो।

 

उपनिषदहरूमा मानिसको जीवनको मुख्य उद्देश्य र कर्तव्यमा यौन इच्छाको अनिवार्य पूर्ति गर्नु समेत रहेको उल्लेख छ। त्यसैले समय समयमा तपस्वीहरूलाई समेत यौन क्रियाकलापमा संलग्न हुन त्यहाँ सल्लाह र अनुमति दिइएको छ। यौन क्रीडाको उद्देश्य जीवनको अस्तित्वसँग जोडिएको छ। वैदिक अवधारणा अन्तर्गत यौन कार्यको उद्देश्य सिर्जना, मनोरञ्जन र पृथ्वीमा सन्ततिको अनिवार्य निरन्तरता कायम गर्नु हो भनी उल्लेख छ।

 

वैदिक वात्स्यायन कामसूत्रले वालिग दुई व्यक्ति बिचको सहमतिमा हुने नैतिक यौन सम्पर्क कुनै फोहोरि वा पापपूर्ण कार्य नभएर ब्लिस अर्थात् धन्यताको अनुभूति गर्ने प्रकृतिको उत्कृष्ट उपहारको रूपमा प्राप्त सौन्दर्यात्मक अभ्यास रहेको भन्दै त्यस वाट अधिक फाइदा उठाउन विभिन्न आसन अभ्यासहरुको विस्तृत दृष्टिकोण उपलब्ध गराएको छ।

 

वैदिक अवधारणामा शिव लिङ्ग लाई पुरुष र प्रकृतिबिचको यौन मिलनको रूपमा चित्रण गरिएको छ। मानव जातिले पहिलो आफ्नो धर्म (कर्तव्य) निर्वाहको लागि, दोस्रो कामको (आनन्द) प्राप्तिको लागि र अन्तमा मोक्ष (मुक्ति) प्राप्तिको लागि जरुरी हुने  स्वस्थ र मनोवैज्ञानिक सबलता लिन यौन कार्यमा संलग्न हुन सल्लाह दिइन्छ।

 

छान्दोग्योपनिषद् (५.८.१-२) र बृहदारण्यक उपनिषद (६.२.१३ र ६.४.२-३) मा आपसी सहमतिको यौन सम्बन्ध लाई यज्ञयागादि जस्तै पवित्र अनुष्ठान, अर्पण र बलिदानको रूपमा स्विकार्न सल्लाह दिइएको छ।

 

उक्त श्लोकहरूमा यौन सम्पर्कलाई वाजपेय यज्ञ (अत्यन्त मेहनत वाट राम्रो सँग पकाएको पवित्र भोजनको बलि) सँग तुलना गरिएको छ। सम्भोगको समयमा वीर्यलाई यज्ञको पवित्र आगोमा अर्पण गरी खन्याइएको प्रसादको रूपमा लिने गर्दछ। ऋचाको अनुसार यदि पुरुषलाई यौनको यस्तो बलिदान प्रकृतिको महत्त्व बारेमा ज्ञान छैन भने उसको आफ्नो जीवनमा गरेको सम्पूर्ण राम्रो कर्मको जस र फल त्यसको प्रतिफल प्राप्त गर्न वाट वञ्चित नारीमा हस्तान्तरण हुन सक्छ भनेको छ।

 

उपनिषदका अनुसार वीर्य पुरुषको शरीरको ऊर्जाको उच्चतम स्रोत हो। ब्रह्माण्डको निरन्तरतामा शुक्राणुको प्रमुख भूमिका रहन्छ। खानाको सबैभन्दा उत्कृष्ट सार तत्त्वको रूपमा शरीरले वीर्यको निर्माण गरेको हुन्छ। तसर्थ, वीर्यको हानि वा बरबादीलाई ऊर्जाको चरम हानिको रूपमा लिन भनिन्छ। व्यक्तिलाई तपस्वी वा ब्रह्मचारी बन्न त्यही खानाको सार तत्त्व जरुरत हुन्छ जसले वीर्यको निर्माण गर्दछ।

 

वैदिक मान्यता अनुरूप यदि नारीले आफ्नो धर्म (कर्तव्य) निर्वाहको लागि विवाहबाट नयाँ जीवन उत्पन्न हुने स्थिति रहेन भने विवाह बाहिरको पुरुषको सहयोग लिएर समेत सन्तान जारी राख्ने निर्णय लिन स्वतन्त्र हुन्छिन्। उनको नयाँ जीवन उत्पादन गर्न र ब्रह्माण्डको नियमित सञ्चालनको नियममा सघाउने इच्छा पूर्तिमा मद्दत गर्नु पुरुषहरूको समेत अनिवार्य कर्तव्य ठानिन्छ।

 

उपनिषदमा एक पुरुषले आफ्नो जीवनमा आफूलाई चिने जानेको, विश्वास र सम्मान गर्ने एक नारीले आफ्नो धर्म (कर्तव्य) निर्वाहको लागि सन्तान जन्माउने लक्ष्यले आफू सँग राखेको यौन सम्बन्ध कायम गर्ने आशय सहितको प्रस्ताव लाई अस्वीकार गर्न मिल्दैन भनी तोकेको छ। महिलाको यौन अङ्गलाई प्रजापतिले तल्लो छेउमा राख्नुको मूल उद्देश्य नै उनको स-सम्मान सेवा गर्न सकियोस् भन्ने हो भनी उल्लेख छ।

 

उपनिषदका अनुसार महिलाको यौन अङ्ग आफै प्रकृति निर्मित पवित्र यज्ञ कुण्ड हो। त्यस वरपरको कपाल पवित्र घाँस हुन। बिचमा रहेको भित्री भगोष्ठ (लेबिया) प्रज्वलित अग्नि रुपी देवीको प्रतिमा हो। एक नारीले आफ्नो जीवनको धर्मको (कर्तव्य) निर्वाह गर्ने नियतले नयाँ जीवनको सृष्टि कायम गर्ने उद्देश्य सहित आफूले मनै देखि विश्वास गरी चाहेको व्यक्तिको सहयोग माग्नु नाजायज कार्य होइन। नारीको जायज माग अनुरूपको उद्देश्य पूर्तिको लागि उनको प्रकृति निर्मित पवित्र यज्ञ कुण्डमा आफ्नो वीर्यको बलिदान गर्नु एक पुरुषको समेत धर्म (कर्तव्य) हुन आउँछ।

 

वैदिक मान्यता अन्तर्गतको सहमतिको यौन संसर्ग अनिवार्य रूपमा नैतिक र अहिंसा युक्त रहनु अनिवार्य छ। तिज पर्वको हरितालिका शब्द भित्रको निश्चित दिशा निर्देशको लागि उपयोग हुने घोडाको लगामको अर्थ दिने तालिका शब्दले मानिस लाई नैतिक र अहिंसा युक्त यौन संसर्गमा मात्र सरिक हुने अनुशासनको बन्देजको अनिवार्यता जीवन भर रहने यथार्थ सम्झाउने गर्दछ। जुन सुखी पारिवारिक जीवनको मूल मन्त्र नै हो।

 

यौन कार्यलाई पृथक् गरी श्रीमान् श्रीमतीको बिचको सहज सम्बन्धको विकासका उपाय बारे निचोडमा पुग्न सकिँदैन। वैदिक मान्यतामा परब्रह्म, परमात्मा, परमपिता वा पर शक्तिले यौन कार्य वाट नभएर बिचार वाट सन्तान पैदा गर्ने गरेको देखिन्छ। निर्गुण, निराकार ब्रह्मा, श्री ब्रह्मा, श्री महाविष्णु, श्री शिव शङ्कर वा महादेव वा रुद्र जस्ता सगुण स्वरूप ब्रह्मा आदि समेतले यौन सम्पर्क वाट हैन मानस पुत्र वा पुत्री पैदा गरेको देखिन्छ।

 

स्वर्गका भनिने ३३ कोटी देव वा देवताको हकमा र स्मृति कथा हरूमा उल्लेखित पूर्ण अवतार तथा आंशिक अवतारहरू सन्तान उत्पादनको लागि सम्भोग प्रक्रियामा सहभागी बनेको कथाहरू भेटिन सक्छ।

वैदिक मान्यतामा सन्तान उत्पादनको लागि सम्भोग प्रक्रियामा सहभागी हुने प्रक्रिया पहिलो पटक मानव जतिमा प्रयोग गरिएको हो। जुन पछि अन्य प्राणीको लागि समेत व्यवस्था गरियो। सुरुवातमा मानवको लागि भगवान् को देनको रूपमा विकास गरिएको  यौन प्रक्रियाको प्रतीकको रूपमा पुरुषको लिङ्ग लाई नारीको यज्ञ कुण्डमा सन्तुलित रूपमा राखेर बनेको प्रतिमाको रूपमा शिव लिङ्ग निर्माण भएको हो।

 

शिव लिङ्गको निर्माण पार्वतीले माटोको शिव लिङ्ग बनाएर सुरु गरिन। शिवले पार्वतीलाई अर्धाङ्गिनी को रूपमा स्वीकारे पश्चात् नारी यौनाङ्ग त्यस मुन्तिर जोडिएर शिव लिङ्ग पूर्ण बन्यो। नारी-पुरुष बिचको आपसी सहमतिमा, दुवैको बराबर सम्मानको एउटै समान धरातलमा पुगेर हुने यौन सम्पर्क तथा यौन क्रीडाको दौरानमा शिव लिङ्गले पूर्णता पाउने हुँदा उनीहरूले परमात्माको प्रसाद रुपी चरम आनन्द प्राप्त गर्ने विश्वास गरिन्छ।

 

हिंसा रहित नैतिक अनुशासनको लगाममा बाँधिएर सम्पन्न हुने उक्त प्रकृतिको यौन  क्रीडाले भने आनन्दमय प्रसादको साथै दीर्घकालीन परिवार सुखको परमात्मा प्राप्ति हुने र त्यसले आपसी आयुर्वेदिक प्रेम विकास गर्न सन्देश तिजको अवसरले सम्पूर्ण नारी तथा पुरुषहरूलाई दिने गर्दछ।

 

(खाद्य तथा औषधि विज्ञ घिमिरे वेद र विज्ञान विषयका विचारक हुन्)

 

2Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: