मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मानवमा पाँच भन्दा धेरै इन्द्रिय रहने वेदको धारणाको पुष्टि।

नारायण घिमिरे

 

जीवन भरमा मानव हृदय  औसत  तीन अरब भन्दा बढी पटक धड्कन्छ। मानिसको कुल तौलको आठ प्रतिशत वजन रगतको तौल हुने गर्दछ। एक वयस्क मानिसको रक्त नलीहरूको सम्पूर्ण लम्बाइले पृथ्वीलाई भूमध्य रेखीय भाग वाट चार पटक घेरा गर्न सकिन्छ। मानिसमा बायाँ फोक्सो दाहिने भन्दा करिब १० प्रतिशत सानो हुने गर्दछ। मानिसले हरेक वर्ष चार किलो हाराहारीको छालाको कोषहरू परिवर्तन गर्दछ। विभिन्न प्राणीमा मानिस मात्र यस्तो प्राणी हो जुन लाजले भुतुक्क हुँदा अनुहार रातो पार्दछ।

 

मानव शरीरले नियमित रूपमा निकै मलिनो प्रकाश छोड्ने गर्दछ जुन मानिसको आँखाले देख्न सक्दैन तर कतिपय प्राणीले देख्न सक्छ। कहिलेकाहीँ हाम्रो मस्तिष्क हामी जागृत रहेको समयमा भन्दा सुतेको बेलामा धेरै सक्रिय रहने गर्दछ। हाम्रो शरीर भित्रा सूचनाहरू लगभग चार सय किलो मिटर प्रति घण्टाको गतिमा स्नायुहरू मार्फत सञ्चार हुने गर्दछ।

 

वैज्ञानिकहरूको अनुमान अनुसार हाम्रो नाकले एक ट्रिलियन विभिन्न सुगन्धहरू पहिचान गर्न सक्दछ। मानिसको दाँत वास्तवमा शार्कको दाँत जत्तिकै बलिष्ठ रहन्छ। जन्मेको एक महिनाको नभए सम्म मानिसले आँखा वाट आँसु बहाउने गर्दैन। हाम्रो मुखले प्रत्येक दिन लगभग एक लिटर र्‍याल उत्पादन गर्ने गर्दछ। कम्तीमा औसत मानिसको पेटमा ६७ प्रजातिका विभिन्न किसिमका ब्याक्टेरियाहरू हुन्छ।

 

मानिसको शरीरमा लगभग १० ट्रिलियन मानव  कोषहरू रहन्छन। मानव  कोषहरू भन्दा १० गुणा बढी ब्याक्टेरियाहरूले मानिसको शरीरलाई आफ्नो घर बनाएर बाँची रहेका हुन्छन्। मानिसको शरीर भित्र र बाहिर रहने ती  ब्याक्टेरियाहरूले मानिस लाई कुनै हानि नोक्सानी पुर्याउदैनन्। बरु केही न केही फाइदाजनक गतिबिधिहरु गरिरहेका हुन्छन्। त्यसको उदाहरणमा हाम्रो पाचन प्रणालीमा हुने ब्याक्टेरियाहरू लाई लिन सकिन्छ। जसलाई गट-माइक्रोवायोम भनिन्छ।

 

 

पेटमा हुने गट माइक्रोबायोमले हाम्रो पाचन प्रक्रियालाई नियन्त्रित रूपमा सुचारु राख्न, प्रतिरक्षा प्रणाली सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। पछिल्लो समयमा आएर गट-माइक्रोवायोमले टी-सेल भनिने ईम्युन सेललाई हाम्रो शरीर भित्र पुगेका बाहिरी हानिकारक सेल कसरि पहिचान गर्ने भनी सिकाउने गर्दछ। साथै बाहिर वाट शरीरमा पुगेका हनिकरण सेलहरूको आक्रमण विरुद्ध सुरक्षा कवचको भूमिका खेल्दछ। आन्द्रामा पर्याप्त मात्रामा गट-माइक्रोवायोम नहुँदा अस्वास्थ्यकर जीवाणुहरूको दुख दिने, तौल बढ्ने, रगतमा चिनीको मात्रा उच्च हुने, कोलेस्ट्रोलको मात्रा बढ्ने र अन्य विकारहरू समेत निम्तिने खतरा हुन्छ।

 

मानव शरीरमा हुने एपेन्डिक्स लाई लाखौँ वर्ष पहिले प्रयोग हुने तर हाल प्रयोग नरहेकोले आफ्नो कुनै कार्य नभएको अङ्गको रूपमा मानिसले लिने गर्दथे । कहिले कहीँ जब एपेन्डिक्स  सङ्क्रमित तब यसको काम नरहेको भनी काटेर फाल्ने चलन सामान्य बनेको छ। हालसालै पत्ता लगाइएको तथ्य अनुरूप एपेन्डिक्स हाम्रो पाचन प्रणाली सञ्चालन गर्न तथा पाचन प्रक्रिया र मस्तिष्क बिच उचित संयोजन गर्न सहयोग गर्ने लाभदायक गट-माइक्रो वायोमको मुख्य सुरक्षा कवच रहेको यथार्थ बाहिरिएको छ।

 

हाम्रो आन्द्रामा हुने हामीलाई लाभदायक हुने वेक्टेरियाहरुले आन्द्रामा आफूलाई कतिपय अवस्थामा आइलाग्ने प्रतिकुल वातावरण वाट लुक्न, तनावबाट राहत पाउनका लागि आराम गर्न एपेन्डिक्सको उपयोग गर्ने गर्दछ। एपेन्डिक्समा आफू उपयुक्त वातावरण पैदा गरी आन्द्रामा जरुरत अनुरूपको वेक्टेरियाहरुको सङ्ख्या कायम गर्न  सन्तान उत्पादन कार्यमा समेत एपेन्डिक्सको उपयोगमा आउने गर्दछ। तसर्थ एपेन्डिक्स आफ्नो परिशिष्ट व्यवहारको लागि मानव जरुरतको अङ्ग रहेको प्रमाणित बनेको छ।

 

सामान्य रूपमा बताउँदा मनमनै गरिने संवाद मार्फत अर्काको मनको कुरा वा सोच थाहा पाउने वा अर्काको दिमाग पढ्न सक्ने तरिकालाई टेलिप्याथी भनिन्छ। त्यस्तै पूर्व-सूचनाको आधारमा भविष्यमा हुने घटना बारे  निश्चितताका साथ अनुमान गर्न सक्ने क्षमता अतिरिक्त सेन-सरी क्षमताको एक रुप हो। यथार्थमा हाम्रो छैटौँ इन्द्रिय अथवा हाम्रो मनको अनुभूति वा गट्स-फीललाइ अतिरिक्त सेन-सरी क्षमताको रूपमा हामी बुझ्ने गर्दछौ। तपाईँले महसुस गर्ने एक अनुभूति जसको आधारमा तपाइले गरेका भविष्य वारेका अन्दाज सत्य बन्न पुग्छ त्यो तपाइको अतिरिक्त सेनसरी क्षमता हो।

 

हाम्रो सामान्य मान्यता के हो भने मानिसको पाँच वटा इन्द्रिय रहेकाले हाम्रो वातावरण वरपर के भई रहेको छ तिनै इन्द्रियहरू वाट हामीले जनाकारी प्राप्त गर्दछौ। यथार्थमा हामी सँग पाँच वटा भन्दा धेरै इन्द्रियहरू रहने गर्दछन्। जसलाई अत्यन्त सरल उदाहरणहरू वाट अनुभूति गर्न सकिन्छ। यदि तपाइले तातेको कालो तावाको केही सेन्टिमिटर टाढा तपाइको हात राख्नु भयो भने तपाईँको कुनै पनि पाँच इन्द्रियले तपाईँलाई खबर गर्न सक्दैनन् कि फलामले तपाईँलाई पोल्दछ। तैपनि टाढा वाट नै तपाईँले तावा तातो रहेको महसुस गर्न सक्नुहुन्छ। पोल्छ भन्ने जानेर तातो तावा लाई तपाईँ छुने गर्नु हुन्न।

 

छाला लाई छोइएको संवेदना शरीरमा दर्ज गर्ने इन्द्रियको रूपमा लिइन्छ। तर हामीले बुझे अनुरूपको पाँच वटा इन्द्रियको अलावा छालामा हुने तातो सेन्सर गर्ने वा महसुस गर्ने अतिरिक्त इन्द्रिय गत गुणका कारण हामी तातो पनको महसुस गर्न सक्छौ। हुन त हामीलाई लाग्न सक्छ त्यहाँ तातो हावाको प्रवाहले छालले तातोपन महसुस गर्‍यो। त्यो केही हदमा ठिक समेत होला। तर त्यसले पोल्दछ भन्ने अनुभूति गर्न हाम्रो अनुभव र स्मरणको जरुरी हुन्छ। जुन हामीले बुझेको पाँच इन्द्रिय अन्तर्गत रहेका छैनन्। जसलाई चेतना भनिने गर्दछ।

 

यसलाई प्रस्टाउन अर्को उदाहरण हेरौँ। तपाईँ आँखा बन्द गर्नुहोस् र आफ्नो नाक छुन प्रयास गर्नुस। सजिलै छुन सक्नु हुन्छ। तपाइको नाक कहाँ छ भनेर पत्ता लगाउन तपाईँको कुनै पनि पाँच इन्द्रियहरू (नाक – गन्ध, कान – श्रवण, आँखा – दृष्टि, छाला-छुवाई,  जिब्रो-स्वाद) प्रयोग गरिरहनु भएको हुँदैन।

 

यथार्थमा तपाइमा अन्तर निहित शरीरको निश्चित अङ्ग कहाँ छ र तपाइको अङ्ग कसरि चलिरहेको छ भन्ने वारेको बोध वा चेतनाका कारण यो सम्भव बनिरहेको हुन्छ। यसलाई तपाइमा अन्तर्निहित मेटा-सेन्स मानिन्छ। यहाँ तपाईँको मस्तिष्कले आफ्नो मेटा-सेन्सको संयोजन गरेर तपाईँको शरीरको कुन भाग कहाँ छ भन्ने आफ्नो अनुभवका साथ पत्ता लगाउने गर्दछ। तपाई आफ्ना आधारभूत पाँच इन्द्रियहरू प्रयोग नगरीकनै आफ्नो कान वा अन्य भाग समेत आँखा चिम्लेर छुन सक्नुहुन्छ। यसले हामीलाई हाम्रो शरीरले मात्र पाँच इन्द्रियहरुमा सीमित नरहेर अन्य सेन्सर-पद्दतिको समेत उपयोग गरी आफ्नो दैनिक गतिविधि चलाई रहेको यकिन गर्न सहयोग पुर्याउदछ।

 

शरीरको पाँच इन्द्रियका अलावा अन्य सेन्सर समेत रहने कुरा हामीले सामान्य रूपमा अनुभूति गर्न सकिने कुराहरू हुन्। यसलाई जब विज्ञानले अध्ययन गरी केही सत्य तथ्य बाहिर ल्यायो त्यस पछि मात्र हाम्रो ध्यान यस तर्फ पनि पुग्न सकेको छ। जुन हाम्रो वेदान्तका चुरा दर्शनहरू हुन्।

 

कुनै पनि व्यवसायको ठुलो सफलतामा उक्त व्यवसायको प्रबन्धकहरूको निकै अहम भूमिका रहन्छ। ती प्रबन्धकहरू जसले कम्पनीको उद्देश्यहरूलाई पूरा गर्न समयमै कम लागतमा प्रभावकारी निर्णय लिन सक्छन् तिनीहरूको भूमिकाले प्रगतिमा निकै ठुलो प्रभाव छाडेको भेटिन्छ। अनुशन्धानहरुले पुष्टि गरे अनुरूप निर्णय लिँदा व्यवसायको उद्देश्य प्राप्तिलाई मुख्य प्राथमिकता राखेर तर्कसङ्गत र व्यवस्थितका नाममा कार्य सम्पादनको फगत प्राविधिक तरिका अँगाल्ने सैद्धान्तिक पाराका प्रबन्धकहरूको सफलता भन्दा आफ्नो अन्तर्ज्ञानको प्रक्रियाहरूको माध्यमबाट कतिपय आफूले नबुझेका विषय वस्तुहरूमा आफ्नो हैन संस्थाको संस्थागत स्मरणमा रहेका परम्परागत अनुभव र विश्वासलाई महत्त्व दिएर निर्णय लिने व्यवस्थापकहरू हमेसा सफल बनेको भेटिन्छ।

 

संस्थाको संस्थागत स्मरणमा विश्वास राख्ने प्रबन्धकहरू कुनै चीजहरू कालान्तर देखि आफूले कारण नबुझिएको तरिका वाट नियमित सञ्चालनमा छ, त्यसरी सञ्चालन हुने क्रममा कुनै व्यवधान रहेको भेटिन्न, त्यो भन्दा भरपर्दो र व्यवहारिक रूपमै असल रहेको प्रमाणित अर्को विकल्प समेत देखिरहेका छैनन् भने फगत सैद्धान्तिक परीक्षण नभएका आफ्ना ज्ञानलाई उपयोगी भेलुएडहुने  ज्ञानको रूपमा हत्तपत्त स्विकार्न तैयार हुँदैनन्। तसर्थ सफल समेत बन्दछन्।

 

अनुशन्धानहरु वाट व्यवस्थापकहरूको निर्णय गर्ने क्षमतामा उनीहरूमा रहेको अतिरिक्त इन्द्रियगत अनुभूतिको क्षमताको निकै ठुलो भूमिका रहेको भेटिएको छ। सफल व्यवस्थापकले आफ्नो निर्णयलाई प्रभावकारी बनाउन अतिरिक्त इन्द्रियगत अनुभूति क्षमताको कस्तो भूमिका रहन्छ भन्ने वारेको अध्ययनमा सो को लागि जरुरी हुने स्पष्टता, सृजनात्मकता, शुद्धता, त्रुटिरहित निर्णय क्षमता वृद्धि लाई मुख्य आधार बनाएर गरिएको अनुसन्धानले प्रभावकारी निर्णय लिन सफल भएका अधिक  कार्यकारीहरूको अतिरिक्त इन्द्रियगत अनुभूति क्षमता स्कोर निकै उच्च रहेको देखायो। जबकि प्रभावशाली निर्णय गर्न असफल बनेका मात्र एक तिहाइ  व्यवस्थापकहरू कम सृजनशीलता स्कोर युक्त भएका भेटिएका थिए।

 

(१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन्।)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE