मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सुन्दरीको राज!! भुटेको मकै-भटमास ?

नारायण घिमिरे

क्यानडामा विगत पाँच वर्ष देखि लगातार वर्षको एक पटक  नेपाल वाट क्यानडा आइ बसेका खाद्य वैज्ञानिकहरूको वनभोज कार्यक्रम हुने गरेको छ। नेपाली क्यानेडियन खाद्य वैज्ञानिक पिकनिक भनिने उक्त भेलामा खानाको परिकारमा नभई कहिल्यै नछुट्ने एउटा परिकार हो पोलेको मकै। पेसाले खाद्य वैज्ञानिक र खाद्य प्राविधिकहरू परिवार सहभागी हुने उक्त वनभोजमा नेपालमा जस्तो कालो अङ्गारको भुङ्ग्रोमा पोलेको मकै कहिल्यै खान पाइँएन। पश्चिमा शैलीको बारबिक्यु नामक चार खुट्टे स्टिलको चुलोमा हालेको कोइला वा बिजुली वा ग्यास बालेर आउने आगोको रापमा पोलेर नपिल्स्याई स्विट कर्न भन्दै पोलेको मकै दाँतले कोपरेर खाने गरिन्छ। त्यो समयमा आफू केटाकेटी हुँदा नेपालमा हाँडीमा भुटेर खाने दिवा खाजा मकै भटमासको निकै याद आउँछ।

 

यता तिर हाँडी प्रयोग नहुने र लोकल कालो, सेतो तथा चिनिया भट्ट पनि पाउन सहज नहुने हुँदा मकै मात्रको पप कर्न माइक्रोओइभमा हाली भुटेर खाने चलन छ। कनिके मकै, हाले जति सबै फुल पर्छ। मकै खाइयो भन्ने हुन्छ। अरू त्यस्तै हो। साथी संगिनीहरु सँगै बसेर डालाभरिको  मकै-भट्ट भएको बेला मोही सित खाएको इतिहास सम्झनू बाहेक त्यो तिर्सना मेटाउने अन्य विकल्प यहाँ केहि देखिदैन। हाँडीमा भुट्दा  फुल मकै र  ठेट्ना मकै सराबरी हुन्थ्यो। हामी धेरै लाई फुल भन्दा ठेट्ना नै मीठो लाग्थ्यो। फुल उठेको मकै खान त ठिकै हो, पेट भर्न नै हम्मे हम्मे हुने। टुम्म नहुने। क्रुम-क्रुम त हुने तर कम स्वादे। आडिलो पनि नरहने।

 

मैकै भट्ट मिसाएर खादा खानाको स्वाद बेजोड हुन्थ्यो। भट्ट मिठो हुने हुँदा धेरै खाँदा अलि पेटमा ग्यास बढ्ने। भट्ट धेरै खादा पाद धेरै आउँछ भनी केटी मान्छेहरू अलि कम खाने गर्दथे। केटाहरू भने स्वाद सँग सम्झौता  गर्थेनन्। पाद आए वरिपरि हेर्‍यो। केटा मान्छे मात्रै छन् वा कोही छैन भने मज्जाले आवाज निकालेर ग्यास फाल्दाको मजा अर्कै हुन्थ्यो।

 

वरिपरि केटी मान्छे देखिए वा नचिनेका वा अलि लाज मान्नु पर्ने मान्छे भए दबाएर पादिने गरिन्थ्यो। आवाज आउने गरी ग्यास फाल्दा किन हो कम गनाउँथ्यो। दबाएर आवाज ननिकाली टुस्स पार्दा झन् धेरै गनाउने। सबै छि छि कसले छोड्यो फेरी भन्दै नाक थुन्थे। कोही कोही ले चाही लौन कसले अपना वायु छोड्यो भन्ने गर्दथे।  केटीहरू नजिक हुँदा खुसुक्क छोडिने अपना वायु उनीहरू नहुँदा साथीभाइ मात्र हुँदा आवाज आउने गरी अपना वायु फाल्दा किन आनन्द पनि महसुस हुने र दुर्गन्ध पनि कम आउने गरेको होला भनेर आजसम्म नेपाली विश्व विद्यालयहरूले वैज्ञानिक अनुसन्धान नगरिदिएकाले त्यो प्रश्नको उत्तर खाली अनुमानको भरमा मात्र दिनुपर्ने हालको अवस्था छ।

 

अनुसन्धान वाट आएको तथ्य अनुसार केटा होस् वा केटी सबै जनाले अनिवार्य पादने गर्दछन्। त्यो लुकाएर नलुक्ने बायोलोजिकल प्रक्रिया हो। पाद्दै नपाद्ने मानिस हुनु सम्भव देखिँदैन। व्यक्ति व्यक्तिले आफ्नो स्वस्थ अनुरूप धेरै वा थोरै  अपना वायु छोड्ने गर्दछन भन्ने मात्र हो।

 

हरेक व्यक्तिले प्रति दिन औसत दैनिक १४ पटक पादि आधा लिटर अपना वायु फाल्ने कुरा मिचिगन विश्वविद्यालयको गैस्ट्रोएन्टेरोलोजी क्लिनिकको अनुभव रहेको तथ्य पढ्न पाइन्छ। झुलुक्क हेर्दा आधा लिटर भनेको निकै धेरै ग्यास जस्तो लाग्दछ। तर नित्य कर्म आदिमा समेत जाने ग्यास हेर्दा उक्त तथ्याङ्क अतिरञ्जित छैन भनेर यकिन गर्न सकिन्छ। माथि भनिए जस्तै कोही मानिसले छोड्ने अपना वायु कसैले थाहा नपाउने गरी छुस्स छोड्ने हुन्छ। कसैले त अर्को कोठामा रहेकाले समेत प्रस्ट सुन्ने गरी ठुलो आवाजमा अपना वायुको विसर्जन गरिदिन्छन। व्यक्ति व्यक्तिमा अपना वायु छुल्काउने पारा फरक फरक हुने गर्दछ।

 

पाचन प्रणालीमा खाना पच्ने क्रममा कार्बन डाइअक्साइड, मिथेन र हाइड्रोजन लगायतका ग्यासहरू पैदा हुन्छ। आन्द्राहरू रहेका उक्त ग्यासहरू आन्द्रा बाहिर निस्कने उपयुक्त बाटो गुदद्वार नै हुन्छ। उक्त ग्यास गुदद्वारको बाहिर निस्कने बाटो जति सानो हुन्छ त्यति उक्त वायुले गुदद्वारको भित्तामा कम्पन पैदा गरी चुइँक्कको वा लामो आवाज निकाल्दछ। आन्द्रामा कैद भएका ग्यास धेरै हुँदा पेट घोच्ने, सुल हुने सम्म हुन्छ। सानो प्वालमा जति धरै बल लगाइन्छ त्यति ठुलो आवाज आउँछ। ध्वनिको साथ आउने कम्पन एकान्तमा बिन्दास भएर महसुस गर्दा एकातर्फ दर्द घटेको र अर्को तर्फ कम्पनले आनन्दको महसुस दिन्छ।

 

बायु आन्द्रा वाट बाहिर जाने वेलामा प्राय: कुचुक्क परेर बन्द भएर बस्ने  गुदद्वारको प्वाल ठुलो वनाउन सक्दा धेरै ग्यास बाहिर जाने क्रममा त्यसले गुदद्वारको भित्री तहमा कम कम्पन दिने हुँदा आवाज कम आउने वा आवाज नै नआउने हुन सक्छ। त्यसैले जब अपना वायु छोड्न पर्ने बेला हुन्छ तब डायफ्रम लाई पेटभित्र दबाएर गुदद्वारको प्वाल सहज पारि अपना वायु खुसु खुसु बाहिर जान दिएर मानिसले नसुन्ने निकै सानो आवाजमा बिसर्जन गर्न सकिन्छ। यसमा अभ्यस्त नभई सक्दा भने आवाज नआउने गरी अपना वायु छोड्दछु भन्दा भन्दै भ्वाक्क वा पुईँ वा प्रूप भई-दिई हाल्छ।

 

हामीले खाने खानाले हाम्रो आफ्नो शरीरको लागि मात्र नभएर हाम्रो आन्द्रामा हामीलाई खाना पचाउन र खाना वाट आउने सारतत्व हाम्रो शरीरलाई उपलब्ध गराउन कार्यरत बिलियनको सङ्ख्यामा हुने गुणकारी ब्याक्टेरिया लगायतका माइक्रोवायोम आदिको लागि पौष्टिक तत्त्वहरू आपूर्ति गर्ने गर्दछ। गट माइक्रोवायोमहरुले खाना वाट उनीहरूलाई चाहिने सार तत्त्व निकाल्ने क्रममा निक्लने ग्यास भने व्यक्टेरियल फर्मेन्टेसन समेतको उत्पादन हुने हुँदा त्यहाँ विभिन्न भिटामिन आदिको उत्पन्न  हुँदै गर्दा  सल्फर वायु निस्कन्छ। भिटामिन आदि हामीलाई अत्यावश्यक भए पनि सल्फर ग्यास हाइड्रोजन सल्फाइडको रूपमा बाहिर निस्कँदा बल लगाएर प्रेसर सहित अपना वायु नछोड्दा सम्म यो सानो आयतनको हुने हुँदा कम आवाजमा ठुस्स बाहिर निस्कन्छ।

 

सल्फर हुने ग्यासहरू धेरै गनाउने हुँदा खुसुखुसु छोडिने प्रकृतिको अपना वायु सारै नराम्रो गरी गनाउने गर्दछ। उक्त अपना वायु लाई ठुलो आवाजमा बाहिर फाल्दा सल्फर ग्यास त्यहाँ रहेको कार्बन डाइअक्साइड, मिथेन र हाइड्रोजन ग्यास सँगै उच्च दबाबमा मिसिदा कम मिसावट सहित छुटै निस्कने सल्फर ग्यासले दिने गनाउने गन्ध धेरै हद सम्म कम हुन्छ। त्यसले धेरै दुर्गन्ध फैलाउन अघि वातावरणको हावामा मिसिन जाँदा गन्ध तुलनात्मक रूपमा कम हुने गर्दछ।

 

अर्काले सुन्ने गरी पादने कार्यलाई  राम्रो आचरणको रूपमा लिने गरिँदैन। तर सामान्य रूपमा पाद आउनु पेटमा रहेका मानिसलाई फाइदा जनक ब्याक्टेरियाहरू सक्रिय रहेको र शरीरले स्वस्थ आहार भेटिरहेको लक्षण हो। यदि कुनै व्यक्तिलाई पाद अत्यन्त कम आउँछ भने त्यसले उक्त व्यक्ति मात्र प्रशोधित चिनीको विभिन्न परिकार रहेको अस्वस्थ खानपानमा जीवन यापन गरिरहेको सङ्केत गर्दछ।

 

अज्ञानता युक्त, आफूले आफैलाई काल्पनिक दुनियाँमा पुर्‍याएर आफ्नै जीवन लाई नक्कली परिवेशमा रमाउन सिकाउने आडम्बर युक्त जीवन जिउने समाजमा विकसित संस्कारले मानिस लाई आफ्ना सामान्य बानी  ब्यहोरा र जीवन शैलीका गतिविधि कुनै कारणले आफू रहने समाजको सामाजिक मान्यतामा इज्जत  पूर्वक नहेर्ने भएमा त्यसलाई आफ्नो कमजोरीको रूपमा लिने संस्कृतिको विकास भएको पाइन्छ।

 

उक्त सामाजिक परिवेशमा मानिसमा आफ्नो अपना वायु छोडिने कार्य अन्यको आवाज मार्फत जानकारी हुने सन्दर्भ लाई लज्जाको रूपमा लिइने गरेको भेटिन्छ। आफ्नै लोग्ने स्वास्नी बिच पनि अपना वायु खुस्किन आँट्दा  दौडेर पाइखाना पुगी लुकाएर विसर्जन गरिने, र बस्दा बस्दै फुस्की हाल्यो भने अपना वायुको गन्ध चल्न थालेमा कुकुर लाई सन्चो छैन कि के हो? अथवा भान्सा तिर   केही कुहिएको छ कि के हो? भनी बहाना ओकल्ने वानी विकास भएको देखिन्छ।

 

त्यसको ठिक विपरीत लोग्ने स्वास्नी दुवै उच्च प्रोफाइलमा रहेकाहरू बिचको सम्बन्ध अलिकति समय गुज्रे पश्चात् एकापसमा कत्तिको सहज छ भन्ने जान्न उनीहरू बिचमा एउटाको नजिकै बसेको अर्कोले कति सहजै पादने गर्दछ त्यसलाई समेत एक सङ्केतको रूपमा लिइन्छ। एउटाले अर्काको अघि कत्तिको स्वतन्त्र महसुस गरी निर्धक्क पादने गर्दछ त्यसले लोग्ने र स्वास्नी एकले अर्को लाई हृदय देखि आफ्नो पाटनर स्वीकारे नस्विकारेको सङ्केतको रूपमा अनुमान गरिन्छ।

 

आफ्नो हितैषी सँग साउती मार्दै भनिन्छ कि म अझै उ सँग त्यति खुली सकेको छैन ता कि म उसको सामुन्ने निर्धक्क भएर पाद्दै गर्दा आफूलाई आनन्द महसुस होस्। अथवा उसले मलाई हाल सम्म पूर्ण रूपमा स्वीकारे जस्तो लाग्दैन किनकि पाद आउँदा उ/उनी कुनै बहानामा एकान्तमा पुगेर पाद विसर्जन गरेको हुन्छ।

 

केही मानिसहरू लाजले आफ्नो पादलाई जबरजस्ती पेटमै रोक्ने गर्दछन्। जब  पादलाई जबर जस्ती आन्द्रा मै रोकिन्छ तब उक्त ग्यास शरीर भित्र सोसिनुको विकल्प हुँदैन। शरीर भित्र सोसिने अपना वायु अन्ततः मुख वाट गनाउने श्वासको रूपमा बाहिर फालिनुको विकल्प हुँदैन। त्यसै हुन्छ। शरीरको नियमित कार्य पादलाई असामाजिक बनिने डरमा शरीरभित्रै दबाई आफ्नै स्वस्थ सँग खेलवाड गर्ने कार्य यथार्थमा न त त बुद्धिमानी पूर्ण कार्य हो न असामाजिक कार्य नै।

 

भुटेको भटमासमा हाम्रो आन्द्राले नपचाउने रेफिनोज, स्टाचियोज जस्ता ओलिगोसेकराइडहरु गट-माइक्रो-वायोमको मुख्य खाना हो। गट-माइक्रोवायोमहरुले त्यो खाना खाने क्रममा विभिन्न भिटामिन र क्यान्सर प्रतिरोधी पदार्थहरू बनाएर शरीरलाई उपलब्ध गराउँदै गर्दा केही  सल्फर ग्यास सह-उत्पादनको रूपमा निस्कन्छ। जसले पेटमा धेरै वायु हुने र अति धेरै हुँदा पेट घोच्ने सुल हुने समेत हुन्छ। ठिक्क हुँदा भने स्वस्थ राख्ने र क्यान्सर प्रतिरोधी तागत दिने तर अन्य खाना खाँदा भन्दा केही हदमा धेरै अपना वायु बढाउने गर्दछ।

 

परम्परागत रूपमा अभ्यस्त भएको हाम्रो वैदिक विधिमा हाँडीमा सिन्काले भुटिने तिन घान मकैमा एक घान भटमास मिसाएर खाने चलन स्थापित छ। अर्को तर्फ मकैको मात्रा तौलको हिसाबमा तिन भाग फुल नउठ्ने ठेट्ना मकैमा एक भाग जति फुल उठ्ने फुल मकै मिसिएको हुन्छ। यसरी समग्रमा मिसिन पुग्ने मकै भटमास पोषणको हिसाबमा कार्बोहाइड्रेट र प्रोटिनको निकै चाखलाग्दो सन्तुलित मात्रा हो। दिवा खाजाको रूपमा मकै भटमास औसत ७० ग्राम जति खाने गरिन्छ। त्यो मात्रा निकै सन्तुलित वैज्ञानिक मात्रा देखिन्छ।

 

शरीरको कुनै पनि तन्तुको त्यसले गर्नु पर्ने काम सम्पन्न गर्न जरुरी हुने भन्दा फरक आकार वा प्रकारको रूपमा वृद्धि हुनु क्यान्सर हो। उक्त नचाहेको प्रकृतिको वृद्धि लाई हाम्रो डिएनएमा हुने मिउटेसन भनिन्छ। यो कुरा कहिल्यै नबिर्सौँ कि हाम्रो शरीरमा हुने ट्रिलियन कोशिकाहरू नियमित कार्यरत रहदा हरेक व्यक्तिमा कम्तीमा हरेक दिन दस हजार भन्दा धेरै डिएनएमा म्युटेसन भइरहेको भेटिन्छ। तर किन सबैलाई क्यान्सर नभएको होला? त्यसको कारण हो हाम्रो शरीरमा हुने ३७ ट्रिलियन राम्रो प्रकृतिको माइक्रो-वयोमको समेतको  सहायतामा हाम्रो शरीरले आफ्नो उपचार आफै गरी हरेक व्यक्तिमा दैनिक दस हजार भन्दा धेरै हुने डिएनएको म्युटेसनको उपचार गर्दछ र हामीलाई क्यान्सर हुन वाट बचाउँदछ। हाम्रा हाँडीको रापिलो रापमा भुटिएको लोकल मकै-भटमास हाम्रो शरीरलाई नियमित क्यान्सर प्रतिरोधी शक्ति प्रधान गर्न अत्यन्त सहयोगी देखिन्छ।

 

जस्तै: मानिसमा हुने हर्मोन एस्ट्रोजिनले महिलामा ब्रेष्ट क्यान्सर पैदा गर्ने र त्यस लाई विकसित गर्दै लान भूमिका खेल्ने ठानिन्छ। भुटेको भटमास  आइसोफ्लायावोनको अत्यन्त राम्रो श्रोत हो। सोय जिनिस्टिन भनिने भटमासको आइसोफ्लायावोन बिरुवामा पाइने एस्ट्रोजिन अथवा फाइटोइस्ट्रोजिन समेत हो। सन् २००९ मा ५ हजार ४२ जना स्तनको क्यान्सर भएका महिलामा ५ वर्ष लगाएर गरिएको रिसर्चले हरेक दिन लगभग १० ग्राम भटमासको प्रोटिन खाने महिलामा स्तन क्यान्सरका कारण मृत्यु दर २९ प्रतिशत घटेको र  ३२ प्रतिशतमा क्यान्सर पुनः फर्कने जोखिम घटेको प्रमाणित भयो। हामीले परम्परागत रूपमा  दिवा खाजाको रूपमा खाने औसत ७० ग्राम मकै भटमासले उक्त १० ग्राम भटमासको प्रोटिनको श्रोत सजिलै पूर्ति गर्ने गर्दछ।

 

हुन पनि नेपाली रैथाने मकै भटमास रफ फुड अर्थात धेरै क्रुड फाइबर युक्त सुख्खा खाना हो। भुटेको मकै भट्टमा लगभग १८.५ प्रतिशत प्रोटिन, १०.४ प्रतिशत तेल, ६२ प्रतिशत कार्बोहाइड्रेट, ३ प्रतिशत फाइबर र २.६ प्रतिशत मिनिरल भेटिन्छ। जसमा क्याल्सियम २०२.९० मिलिग्राम, फस्फोरस ३५३.३० मिलिग्राम, फलाम ४.४५ मिलिग्राम, क्यारोटिन २.६.०३ मिलिग्राम, थायमिन ०.४७ मिलिग्राम, रायबो-फ़्लेबिन ०.१५ मिलिग्राम, नेसिन २.०७ मिलिग्राम आदि भेटिने गर्दछ।

 

रफ फुड रहेकाले मकै भट्टले आन्द्रामा खानामा रहेको सम्पूर्ण सारतत्वहरू पचाएर शरीरलाई उपलब्ध गराउन इन्जाइम र हार्मोनहरुलाई अत्यन्त धेरै सतही भाग वा सर्फेस एरिया उपलब्ध गरिदिन्छ। जसले गर्दा मकै भटमास खानेहरूमा एकातर्फ फाइबरको कमी रहन्न, अर्कोतर्फ खाना वाट पुग्नु पर्ने मनोबैज्ञानिक सन्तुलनको भूमिका राम्रो पुगेको हुन्छ। जसको परिणाममा शरीर तागतिलो, मन आत्मा विश्वास युक्त दरिलो र छाला चम्किलो समेत बनेको हुन्छ।

 

भुटेको भटमास भित्र हुने भटमासको तेल आफै आँखा तेजिलो गर्ने,  मुटुको स्वस्थ, हड्डीको मजबुत, छाला स्वस्थ राख्ने विभिन्न फ्याट्टी एसिड र ओमेगा थ्रीको राम्रो श्रोत हो। भुटेको मकैले मुटुको स्वस्थ, आन्द्राको स्वस्थ र मधुमेहमा राम्रो सुरक्षा प्रदान गर्दछ। मकैको फ़ाइटोकेमिकलहरु जस्तै केरेटिनोईड, फिनोलिक कम्पाउन्ड र फाईटेसटेरोल आदि को एड्स रोग प्रतिरोधी क्षमता, क्यान्सर प्रतिरोधी क्षमता देखाउँदछ। भुटेको मकै भित्रको तेलमा अत्यधिक ओमेगा-६ पाइन्छ। जसले शरीरको प्रतिरक्षा प्रणाली विकासमा र रगत जम्न नदिन राम्रो भूमिका खेल्छ। मकैको तेलमा हुने ओमेगा-३ फ्याट्टी एसिड शरीरको संवेदनशील अङ्गहरू तन्दुरुस्त राख्न सहयोगी हुन्छ।

 

भुटेका मकैका गुण  धेरै र अवगुण निकै कम छन्। भुटेको भटमासको केही दुर्गुण त चाडै छ। तर प्रशस्त फाइदा समेत छ। भट्टमासले शरीरको मेटाबोलिजम दरलाई सुधार्ने हुँदा शरीरको तौल व्यवस्थापनमा सहयोग गर्दछ। यसमा हुने एन्टिअक्सिडेन्टहरुले इन्सुलिनको बहाव बढाएर रगतमा चिनीको स्तर व्यवस्थापन गर्न हुँदा मधुमेहको बिमारीको लागि समेत यो राम्रो खाना मानिएको हो। भट्टमासको दूधमा ल्याक्टोज नहुने हुँदा ल्याक्टोज असहिष्णुता अथवा इन्टोलरेंस भएकाहरू दुद को सट्टा भट्टमासको दूध पिउने गर्दछन्। बुढ्यौली विरोधी गुण रहेको सार तत्त्व युक्त हुने भट्टमास छालाको लागी राम्रो मानिन्छ।

 

छालामा सोयाबीन तेल लगाउँदा छालाको कोष हरुले  पुनर्जीवन पाउने र चम्किलो हुने गर्दछ। गुणस्तरीय प्रोटिन र फ्याट्टी एसिड युक्त रहेकोले भट्टमासको तेल कपालको क्षति रोक्न र कपालको वृद्धि गर्न सहयोगी हुने गुण युक्त छ। शरीरमा टोटल र एलडिएल खराब कोलेस्ट्रोल र खराब ट्रीग्लिसीराइडको मात्रा घटाउँदछ। महिलामा एस्ट्रोजिन हर्मोनको कमी हुँदा योनिको भित्री छाला पातलो, सुख्खा र पोल्ने गुणयुक्त बनिदिन्छ। भटमासमा हुने आइसोफ्ल्याभोनले उक्त समस्याको समाधान गर्दछ। तसर्थ भजेइनल एट्रोफिमा योनिमा लगाउन भट्टमासको जेल दिने गरिएको हो।

 

भटमासमा पाइने स्यापोनिनले  उच्च रगतको चाप घटाउँदछ । भट्टमासको प्रोटिनले हड्डी कमजोर हुने र हड्डीमा  ससाना प्वाल विकास हुने अस्टियोपोरोसिस विरुद्धको गुण हुन्छ। भट्टमासमा हुने फाइटोस्टोरोजिन महिनावारि रोकिने बेला हुने दर्द घटाउने गर्छ। भट्टमासको प्रोटिन र आइसोफ्ल्याभोन गहिरो पेट काट्ने समस्या समेत रोक्न सहयोग गर्छ। भट्टमासमा अग्जालेट हुने हुँदा यसले मिर्गौलाको पत्थरी हुने जोखिम भने बढाउँछ।

 

प्रोटिनको धनी आहारको रूपमा रहेको भट्टमासमा फाईटेट, टेनिन, ट्रिपसिन अवरोधकहरू, ओलिगो-सेकराइड सहित केही विरोधी पोषण कारक अथवा एन्टी निउट्रीसनल फ्याक्टरहरू छन्। तिनीहरू भुट्दा निकै कम बन्दछ। भुटेको भट्टमास भुटेको मकै सँगै खाने गर्दा तिनको असर एकातर्फ कम गर्ने र अर्को तर्फ तिनीहरू क्यान्सर प्रतिरोधी गुणमा जाने रहेछ। यो अर्थमा भुटेको मकै-भट्टको हाम्रो परम्परागत मिश्रणको मात्रा नकारात्मकता लाई सकारात्मकतामा लाने उपयोगी तरिका रहेछ।

 

कुनै पनि समुदायका मानिसहरूको तन्दुरुस्तीमा उसको वातावरण तथा खानपानको अहम भूमिका रहन्छ। त्यति हुँदै गर्दा पनि दक्षिण भारतका तामिल युवतीहरू गाला वाट मधुरस चुहेला जस्तो देखिने गरी अत्यन्त सुन्दर ब्ल्याक बिऊटि देखिनुको पछाडिको जस उनीहरूको खानामा हुने माछाको फिस ओइल र माछा मार्फत नियमित आपूर्ति हुने सन्तुलित प्रोटिन लाई दिने गरिन्छ।  त्यो दृष्टिकोण वाट बताउने हो भने हाम्रा काठमाडौँ लगायत पहाडी तथा अन्य भूभागहरुका युवतीहरू मानसिक रूपमा सबल, शारीरिक रूपमा रिष्ट-पुष्ट, आकर्षक, रसयुक्त सेता चिल्ला छाला, हँसमुख औँराको जस उनीहरूमा सन्तति देखिनै खादै आएको भुटेको मकै-भटमासको मिश्रणलाई दिन सकिन्छ।

 

काठमाडौँ लगायत पहाडी भूभागमा माछा  खासै धेरै खाने चलन नहुँदा पनि मकै भटमासको मिश्रणले आपूर्ति गर्ने प्रोटिन, फाइबर तथा प्राकृतिक तेलले शारीरिक तथा मानसिक सुन्दरता निर्माण गरिदिन्छ। मानसिक रूपमा सबल बन्न, अनुहार र शरीरको छाला रसयुक्त, चिल्ला देखिन, अनुहार हँसमुख गोरी रहन तथा भौतिक रूपमा तागतिलो रहन गाउँले जीवनका मकै भटमास जस्ता दिवा खाजा  तथा गाउँले सक्रिय जीवन पद्धतिको ठुलो भूमिका देखिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE