मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली भान्सा : आयुर्वेदिक दवाखाना ।

भान्सामै बन्छ आयुर्वेदिक ओखती

नारायण घिमिरे

आयुर्वेद नेपालको परम्परागत प्राचीन औषधीय प्रणाली हो। आयुर्वेदको दर्शनमा अनावश्यक दुःख रोक्ने (अहिंसा) र लामो स्वस्थ जीवन जिउन सहयोग पुर्‍याउने अनिवार्यता रहन्छ। आयुर्वेदमा प्राकृतिक वस्तुहरूको प्रयोग वाट शारीरिक सन्तुलनको पुनर्स्थापना गर्ने, रोगको मूल कारक हटाउने, स्वस्थ जीवन पद्दति लागु गरी शरीरको असन्तुलनको पुनः पुनरावृत्ति हुनवाट रोक्ने रोकथाम र उपचारात्मक पद्दति अवलम्बन गरिन्छ। आयुर्वेदिक औषधिहरूमा प्रयोग हुने कच्चा पदार्थहरू जडीबुटी, खनिज र जनावर जन्य उत्पादन वाट बनेका हुन्छन्। जस मध्ये जडीबुटीहरूको मिश्रण यसको मूल कच्चा पदार्थ हुने गर्दछ।

 

आयुर्वेदिक क्षेत्रमा विभिन्न रोग निवारणको लागि उपयोग हुने ओखतिहरू बारे विभिन्न प्राचीन वैदिक दर्शन, ग्रन्थ र चिकित्साका किताबहरूमा उल्लेख गरिएको छ। प्राचीन वैदिक चिकित्साका पाठ्य सामग्रीहरू जस्तै चरका संहिता, सुश्रुत संहिता, भागवत आदिमा  आयुर्वेदिक औषधिहरूको निर्माण गरिने तरिकाहरू उल्लेख गरिएको भेटिन्छ। आयुर्वेदिक दबाइ बनाउने कम्पनिहरुले तिनै फर्मुला, फर्मुलामा भनिएका शुद्धीकरणको उपाय, प्रशोधन गर्ने विधि, सामाग्रीहरू मिसाउने तरिका आदिको मूल मर्ममा रहेर  औषधिहरू बनाउने गर्दछन्। बजारीकरणको लागि तिनै ग्रन्थहरूमा उल्लेख गरिएका सारहरू मर्न नपाउने गरि अनुभवको आधारमा स्थानीयतामा जडीबुटी र प्रविधिको उपलब्धता अनुसार सुधार र समायोजन अपनाई तैयार गरिन्छ। तैयारी ओखती आधुनिक वैज्ञानिक हिसाबमा सुरक्षित ठानिने प्याकीङ्ग गर्ने तरिका अपनाएर आफ्नो ब्रान्डमा दबाखानाहरुले बजार पठाउने गर्दछन्।

 

फर्मुलामा एक भन्दा धेरै जडीबुटी रहेको औषधिलाई पोलीहर्बल ओखती भनिन्छ। हुन त एउटा मात्र जडीबुटी बाट पनि आयुर्वेदिक ओखती बन्न सक्दछ। वनस्पतिहरुमा औषधीय मूल्यको सारतत्वहरू प्राय: निकै कम मात्रामा भेटिने गर्छ। शुद्धीकरण, प्रशोधन, प्याकिङ र स्टोर गर्ने चरणमा सारतत्वहरू केहि मात्रामा क्षय पनि हुन पुग्छ।

 

जरुरत भएको सार तत्त्वहरू फरक फरक मात्रामा रहेका एक भन्दा धेरै जडीबुटीहरू एक आपसमा मिसाउँदा तिनीहरूको संयुक्त मात्राको औषधिले प्रभावकारी नतिजा दिने गरेको आयुर्वेद क्षेत्रको अनुभव रहेको छ। वैज्ञानिक अनुसन्धानहरूले समेत यो कुरालाई पुष्टि गरिदिएको छ। एक मात्रै जडीबुटी प्रभावकारी देखिदा समेत आयुर्वेदिक ओखतीहरूका फर्मुलाहरू प्राय: एकभन्दा धेरै जडीबुटी राखी बनाउनुको पछाडि निकै ठुलो रहस्य लुकेको देखिन्छ।

 

आयुर्वेदको सैद्धान्तिक ढाँचाले कसरि प्रभावकारी ओखती बनाउन जडीबुटीहरूको उपयुक्त छनौट गर्ने भन्ने अलौकिक वा मूल्यवान उपाय सिकाउँदछ। कुनै पनि हर्बल कम्पाउन्डिङ्ग गर्नुपर्दा अनिबार्य रूपमा पुरा गर्नुपर्ने सिद्धान्तहरू बारे आयुर्वेदिक सैद्धान्तिक ढाँचाले गहिरो ज्ञान समेत उपलब्ध गराउँदछ। जडीबुटीहरूको मिश्रण मार्फत शक्तिशाली आयुर्वेदिक औषधि बन्ने सिद्धान्तको पछाडि धेरै मूल कारणहरू रहेको छ।

 

दैनिक गतिविधि र कार्यहरू सञ्चालन गर्ने फिजियोलोजी वा हीउमरको प्राकृतिक सन्तुलन कायम गर्न वा पुनर्स्थापना गर्न पर्याप्त पुनर्जागरण दिने टनिक वा तागत एक निश्चित जडीबुटीले प्राय: उपलब्ध गर्न सक्ने देखिँदैन। मिश्रित जडीबुटीहरू प्रयोग गरेर जडीबुटीहरूको टनिक वा तागतको क्षमतालाई चाहिएको मात्रामा बलियो वा कमजोर बनाउन सम्भव बन्दछ। हरेक मानिसको आफ्नो रोग प्रतिरोधी क्षमता हुन्छ। जब उक्त क्षमता कमजोर हुन्छ तब रोग पैदा हुन्छ। प्राय: रोगको शक्ति र तागत यस्तो हुन सक्छ कि कुनै एक जडीबुटीको औषधीय गुण रोग विरुद्ध  पर्याप्त देखिदैन। धेरै जडीबुटीहरूलाई यौगिक गरिएको मिश्रणको एक आपसमा चाहिएको काम सम्पन्न गर्ने सिनरजेस्टिक कार्यको फाइदा उठाएर ओखतीको प्रभावकारिता जरुरत अनुरूप घटाउन वा बढाउन सकिन्छ।

 

केही जडीबुटीहरूमा जरुरत रहेको उपचार गर्ने गुण रहदा रहँदै तिनीहरूको आफैमा विषाक्त वा विषाक्त साइड इफेक्ट दिने प्रकृतिको गुण रहने गर्छ। त्यस्ता अवस्थाहरूमा विषाक्त प्रभावहरू नष्ट गर्न र विषाक्त साइड इफेक्ट लाई हटाउन जडीबुटीको मिश्रणले मद्दत पुर्याउदछ। धेरै अवस्थामा रोग प्रभावित अङ्ग औषधि खाने वा दिइने शरीरको भागबाट टाढा हुन सक्छ। मिश्रित जडीबुटी फर्मुलेसन मार्फत शरीरको रोगी भाग सम्म ओखतीको सार तत्त्व पुर्‍याउन सहयोग गर्ने कम्पाउन्डहरू मिसाउन सकिन्छ।

 

अति नमिठा स्वादका जडीबुटीहरूमा स्वाद र गन्ध सुधार गर्ने अर्को  जडीबुटीको जरुरत पर्न सक्दछ। जरुरत भन्दा अत्यधिक औषधीय गुण रहेको जडीबुटी विपरीत प्रभावको जडीबुटीहरूसँग मिसाएर कम गर्न सकिन्छ। मुख्य उपचार गरिने जडीबुटी वाट शरीरको लक्षित नगरिएका अङ्गहरू लाई पुग्न सक्ने हानि वाट जोगाउन पर्दा कतिपय अवस्थामा अन्य  जडीबुटी अनिबार्य हाल्नु पर्ने हुन सक्छ। कुनै जडीबुटीको प्रभावकारी कार्य समय बढाउन र सेल्फ लाइफ विस्तार गर्न अन्य पदार्थ थप्न जरुरी हुन सक्दछ। हरेक जडीबुटीको रिलिजको प्रकृति  फरक फरक हुन सक्छ। कहिलेकाहीँ फरक फरक रिलिजको प्रवृत्ति विकास गर्न अर्को जडीबुटी वा केमिकल वा प्याकिङ तरिका खोजिन्छ।

 

हरेक रोगको प्राय: एक भन्दा धेरै लक्षणहरू हुने गर्दछ। रोगको विकास हुने क्रममा समेत विभिन्न कारकहरूले भूमिका खेल्ने गर्दछ। प्राय: मानिसहरू एकै पटक एकभन्दा धेरै रोगको सिकार बनेको देखिन्छन। एकै विकृतिले एक भन्दा धेरै समस्या पैदा गर्ने स्थिति सामान्य छ। कहिले कहीँ मुल कारणको निदान गर्दै गर्दा देखिएका लक्षणको समेत तत्काल उपचारको जरुरत पर्दछ।

 

उपचारको लागि जडीबुटीको मिश्रण गरी हर्बल औषधिको फर्म्युलेसन गर्दा त्यो समस्या एकै पटक सम्बोधन गर्न सकिन्छ। मिसाइएको जडीबुटीको सङ्ख्याले समेत ओखतीको निको गर्ने शक्ति निर्धारण गर्न सघाउँदछ। साझा रोगहरू निको गर्ने गुण भएका समान प्रकृतिका एक भन्दा धेरै जडीबुटीहरू प्रयोग गर्दा उपयोग गरिएका जडीबुटीहरूको मिश्रण उपचारात्मक शक्तिलाई चाहिएको दिसामा निर्दिष्ट गर्न सहयोग पुग्छ।

 

समग्रमा एक भन्दा धेरै हर्बल हाली औषधि बनाउनु पछाडि विभिन्न जडीबुटीको प्रभावको प्रभावशीलता र शक्ति बढाउन, अनावश्यक प्रभावहरू घटाउन, खानको लागि जरुरत हुँदा ओखतीमा मिठास थप्न, लक्ष गरिएको तरिका अपनाएर ओखती दिन सजिलो बनाउन, लक्ष गरिएको भाग सम्म पुर्‍याउन र मिश्रित फर्मुलाको मिति समाप्तिको अवधि बढाउन सहजता लिने जस्ता उद्देश्यहरु रहने गर्दछ।

 

ढङ्गले सेवन गर्नु हुन्छ भने तपाइको खानानै तपाइको सर्वोत्तम ओखती हो। राम्रो स्वास्थ्य सन्तुलित औषधीय आहार र स्वास्थ्य बलिष्ठ पाचन मार्फत प्राप्त हुन्छ। हाम्रो पुर्खाले हाम्रो लागि ५००० वर्ष अघि नै विकास गरिदिएको आयुर्विज्ञानको देनले तपाई हामी सँग आज अति सहज विकल्प उपलब्ध छ। सहज विकल्प जसमा बजारमा आएका केमिकल र केमिकलवाट बनेका सबै औषधि तिनै रसायन शास्त्रीलाई छोडिदिन सम्भव बनोस। ती केमिकलहरू तपाइ हामी लाइ आवश्यक नपरोस। त्यो विकल्प हो तपाईँ हाम्रो आफ्नै भान्सा र उक्त भान्साको आयुर्वेदिक फार्मेसीको क्षमता।

 

तपाईँका भान्साका सिजनल सागपात, अन्न, मर-मसला, गेडा गुडी, अचार, बिस्कुन, भुटन आदि क्यान्सर रोक्ने एन्टिऑक्सिडन्ट देखि रगतमा चिनी नियन्त्रण गर्ने, स्मरण शक्ति सुधार ल्याउने, तागत र ऊर्जा दिने, सम्भोग क्षमता बढाउने, बुद्धिमत्ता विकास गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर फाल्ने, जे छ त्यसैमा सन्तुष्ट राख्न मनोवैज्ञानिक शक्ति दिने आदि सबै अद्भुत शक्ति उपलब्ध गराउने तागत  युक्त छन्। तिनीहरू तपाइको खाना स्वादिलो, रङ्गयुक्त, स्वाद युक्त, बासनादार बनाउन सक्षम छन्। खानाको टिकाउपन बढाउन, घरमै बनेको ओखती आफन्त र नजिकका प्रियजन सँग प्रफुल्ल र प्रेमको भावना सहित बाडी चुँडी खाने र धन्य बन्ने अवसर समेत दिलाउन सक्षम भेटिन्छन।

 

आयुर्वेदिक ओखतीको फर्मुलामा एक भन्दा धेरै जडीबुटी हाली किन पोली हर्बल ओखती बन्ने गर्दछन् भन्ने थाहा पाउदै गर्दा तपाइको भान्सामा किन यति धेरै जडीबुटीहरू रहने परम्परा बस्यो भन्ने गहिरो अनुभूति तपाईलाई गराएको हुनु पर्दछ। हाम्रो परम्परा अनुरूप कुन सन्दर्भमा कहाँ कति बेला के हाल्ने र के बनाउने भन्ने जान्दा तपाईँ आफै आफ्नो भान्से फार्मेसीको दक्ष कम्पाउन्डर बन्नु हुने छ। किनकि आयुर्वेदले भन्दछ, तपाईँ मात्र यो दुनियाँको एउटा व्यक्ति हो जसले तपाइको आफ्नो शरीरले के कुरा सहन्छ के सहँदैन बुझ्नु हुन्छ। तपाइको लागि के कुरा उपयुक्त हुन्छ भन्ने मात्र तपाइले ठम्याउन सक्नु हुन्छ।

 

शरीरको संरचना, प्रकृतिको, तपाईँले भोगेको व्यवहार र महसुस गरेको गतिबिधिहरुले विकास गरेको अनुभूति आदि कारकहरूको संयोजनको कारण तपाइलाई औषधीय बन्ने खाना अर्को व्यक्तिको लागि समेत औषधीय बन्छ भन्ने जरुरी छैन। एकै पदार्थ एक जनालाई औषधीय हुदैमा अर्कोलाई समेत औषधीय हुन भन्ने हुदैन। त्यसैले त तपाईँ हामी परम्परागत रूपमा आफ्नो आमा-बा वाट आफ्नो भान्सालाई आयुर्वेदिक दबा-खाना, र खानालाई हिलिङ्ग प्रकृतिको आयुर्वेदिक ओखती युक्त खाना बनाएर खान जान्ने एक सौभाग्यशाली व्यक्तिको रुपमा प्रशिक्षित बन्न पाएका छौ।

 

उदाहरणको  लागि  हामीले दैनिक खाने काँचो खानामा भएको स्टार्च र चिनी पेटको माइक्रोबायोमले आफ्नो खानको रूपमा खाने क्रममा हुने फरमेन्टेसनले दिने ग्यासका कारण हामीमा ग्यासको समस्या हुन्छ। धेरै ग्यासको समस्या तरकारी पकाउँदा, दाल झान्दा अलि धेरै ज्वानो हाली पकाएर खाने गर्दा रोक्न सम्भब बन्छ। ग्यास अधिक धेरै हुँदा पानीमा उमालेर ज्वानो पानी खाइन्छ। ज्वानो खादा ब्लड प्रेसर घट्ने हुँदा कम प्रेसरको मानिसले एक चिम्टी कालो नुन हालेर तिन दिन सम्म खाना पछि खादा ग्यासको समस्या सुल्झन्छ। ग्यासको समस्या अपच सँग जोडिएकोले भुटेको जिरा, भुटेको सौंफ र भुटेको ज्वानो बराबर हाली बनेको मिश्रण समेत खाना पछि खानु उपयुक्त हुन सक्छ। भुटेको मिश्रण पाचनको लागि सजिलो हुने र अन्य समस्या कम दिने तर पाचन शक्ति ह्वात्तै बढाई दिने बन्दछ।

 

विकल्पमा आलो अदुवाको पिनेको गुदी १ चम्चा र १ चम्चा कागतीको जुस खाना खाने बित्तिकै खाने गर्न सकिन्छ। ग्यास धेरैनै बढेको स्थितिमा १ चमचा लेमन जुस आधा चमचा बेकिङ सोडा १ कप चिसो पानीमा हाली सोडाको ग्यास पानी वाट धेरै निक्लन नपाउँदै खाना साथ तुरुन्तै पिउने तरिका अपनाउन सकिन्छ। ग्यास हुँदा पेट दुख्ने समेत समस्या रहन सक्छ। उक्त बेला हर्रो, बर्रो, अमला मिसाएको त्रिफला उम्लेको पानीमा एक चमचा हाली १० मिनेट रहन दिएर सबै पिउने गरिन्छ। यहाँ अमला भिटामिन सी को श्रोत हुँदा एन्टी अक्सिडेन्ट र दर्दनाशक समेत हुने गर्छ। हर्रो, बर्रोले कब्जियत हुन बाट रोक्ने, तौल घटाउने र रगतमा सुगरको मात्रा कन्ट्रोल गर्ने, दर्द नासक आदिको काम गर्दछ।

 

सामान्य पेट गडबड भएर हुने पखालामा मुठी भर आउने दुई वटा स्याउ काटेर थोरै पानीमा पकाउने गरिन्छ। जब लयालो बन्छ एक चमचा घिउ, एक चिम्टी अलैँची वा सुकुमेलको धुलो र एक चिम्टी जाइफल हाली मिसाएर पोरिज जस्तो बनाइन्छ। उक्त स्वादिष्ट खाना बिस्तारै खाने गर्दा पखाला तुरुन्तै बन्द हुन्छ। स्याउको विकल्प पाकेको केरा हुन्छ। तर केरा भने सिधै तताएको घिउ, अलैँची वा सुकमलको धुलो र जाइफल सँग मिचेर पेष्ट बनाएर खादा केरामा हुने पोटासियमले दिसा कडा बनाएर जोड्दछ।

 

यसको हर्बल विकल्पमा १ चमचा घिउ, एक चमचाको चार भागको एक भाग जाईफ़ल, एक चमचाको चार भागको एक भाग अदुवाको धुलो, प्राकृतिक चिनी १ चमचा मिसाएर दिनको दुई वा तिन पटक दुई वा तिन दिन सम्म खान सकिन्छ। पखाला अलि धेरै लाग्दा आधा चम्चा सौंफ आधा चम्चा अदुवाको धुलो सँग सिधै दिनको ३ पटक चपाउने गरिन्छ। पखालामा एक कप कालो कफीमा १० थोपा लाइम जुस सँग एक चिम्टी  अलैँची वा सुकमलको धुलो वा जाइफलको धुलो हाली समेत पिउन सकिन्छ। पखाला लाग्दा डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसन बाट बच्न १ चम्चा कागतीको रस, एक चम्चा चिनी, एक चिम्टी नुन सामान्य तापक्रमको आधा लिटर पानीमा हालेर नियमित पिउन पर्ने हुन सक्छ।

 

एञ्जाईटिको समस्यामा प्राय: निद्रा राम्रो नपर्ने र मनमा प्यानिक अट्याक देखि आफ्नो भविष्य सुरक्षित नभएको जस्तो डरको लक्षण देखिन्छ। त्यो बेला चिन्ता र डरको उपचार र निद्रा जगाउने उपाय खोजिन जरुरी हुन्छ। जडीबुटी ट्यागर (भेलिरियन) को धुलो १ भाग र मोथे (मुस्ता वा नट ग्रास) को धुलो १ भाग मिसाएर आधा चमचा १ कप तातो पानीमा १० मिनेट भिज्न दिएर दिनको एक वा दुई पटक पिउन भनिन्छ।

 

मोथेको गानो रोग प्रतिरोधी क्षमता बढाउने र मुख्य रूपमा पाचन प्रक्रियालाई बलियो बनाउने जडीबुटी हो। महिनावारीको समस्यामा पनि सहयोग पुर्याउछ। ट्यागरको गानोले चिन्ता घटाउने र निद्रा लगाउन सहयोग गर्छ। यसले मांसपेशीमा आराम दिने र रगतको प्रवाह सामान्य गरी मुटुको ढुकढुक घटाउन सहयोग गर्छ। दिमागको टनिकको काम समेत गर्दछ। ट्यागरको सार तत्त्वले काम गर्न पाचन शक्ति बढाउन जरुरी हुने हुँदा मोथेको झारको गानो राखिनु जरुरी हुन्छ।

 

एञ्जाईटिको बिमारीले हप्तामा एक पटक १०-१५ मिनेट आराम दाइ बाथ लिन भनिन्छ। जसमा बाथ टपमा जमेको न्यानो मनतातो पानीमा एक कपको तिन भागको एक भाग अदुवाको पाउडर र त्यति नै बेकिङ सोडा हाली १०-१५ मिनेट आराम दाइ बाथको लागि सुझाइन्छ। अदुवा डिटक्स बाथ भनिने बाथ गर्दा अदुवाले छालामा पुगेको नसा फुल्याई दिने र सोडाले एसिडिक पन लाई निर्मूल पारि छालाको विषादी निकालिदिने गर्दा हप्ताभर जिउले आराम पाउँछ।

 

अमेरिकी बदाम मतलब आल्मण्डको दूध चिन्ता हटाउन राम्रो हुन्छ। त्यसैले रात भर पानीमा भिजाएको काँचो १० वटा बदाम छाला फालेर पिस्ने र त्यसमा एक चिम्टी अदुवाको धुलो, एक चिम्टी जाइफलको धुलो र सानो टुक्रो स्यफ्रोनको तान्द्रो हाली पिउन भनिन्छ।एञ्जाईटिमा कसै कसैको मुटुको धड्कन बढी दिन्छ। त्यसको उपचारमा एक कप सुन्तलाको रसमा एक चम्चा मह र एक चिम्टी जाइफलको धुलो हाली खान भनिन्छ।

 

जब तपाईँ देब्रे हातको पन्जा आफू सिधा पार्नु हुन्छ, सबै औला सिधा बनाउँदा माझी औलाको फेदको सिधा हत्केलाको अन्तिम बिन्दु मुटुको धड्कनको  मर्मको बिन्दु मानिन्छ। उक्त बिन्दुमा दाहिने हातको बुडी औलाले एक मिनेट दबाउँदा मुटुलाई ढुक ढुक हुन वाट रोक्न सहयोग गर्छ। सकिन्छ भने महिनाको एक दिन ३ – ४ लिटर मानिस डर, चिन्ता, नर्भसनेस र अनिन्द्रा सबैको जटिलतामा तिलको तेल, निद्रा राम्रो नपर्ने र प्यानिक अट्याक देखि भविष्य सुरक्षित नभएको जस्तो डरको लक्षणमा नारिबेल तेल र भारी दिमाग हुने, निन्द्रा धेरै लाग्ने, अल्छी र ढिलापनमा तोरीको तेलले टाउको देखि खुट्टा सम्म आयुर्वेदिक तेल मसाज गर्न उपयुक्त ठानिन्छ। निन्द्रा नपर्ने र एञ्जाईटि धेरै हुँदा दैनिक सुत्नु अघि हात खुट्टाको दैनिक सामान्य तेल मसाज गर्नु उपयुक्त हुने भनिन्छ।

 

एञ्जाईटिमा सिफारिस गरिने योग आसनको पोजिसनमा हात छेउ-छेउमा राख्ने, पछाडि अडेस लगाएर अराम दाइ रूपमा गरिने सभासना पोज हो। चुप चाप शान्त सँग बसेर आफ्नो टाउकोको सबैभन्दा माथिल्लो भागमा ध्यान केन्द्रित गरी ओ-होम भनिने मेडिटेसन विधि सिफारिस गरिएको हुन्छ।

 

एञ्जाईटिमा डिप्रेसनको समेत जटिलता हुने गरेको देखिन्छ। डिप्रेसन गर्हौ र दबेको मूडबनेको अवस्था हो। जसमा डर, चिन्ता, नर्भसनेस र अनिन्द्रा सबैको जटिलता मिसिएको हुन्छ। दुब्लो प्रकृतिको मानिसको लागि डिप्रेसनको लागि अश्वगन्धा र ब्राह्मी वा घोडटाप्रे बराबर मिसाएर तिन भागको एक भाग देखि आधा चमचा पाउडर तातो पानीमा १० मिनेट भिज्न दिने र दैनिक २ – ३ पटक पिउन भनिन्छ। अथवा तुलसी एक चमचाको चार भागको एक भाग र सेज आधा चमचा एक कप तातो पनि सँग दिनमा दुइपटक पिउन सिफारिस गरिएको हुन्छ।

 

३-५ थोपा मनतातो तिलको तेलको थोपा नाकमा हाल्न भनिन्छ। निधारमा समेत मनतातो तिलको तेलको मसाज गर्न भनिन्छ। एक्लै भन्दा साथीभाइ सँग रहन सल्लाह दिइन्छ।डिप्रेसन हुँदा रिस उठ्ने, फेल हुने किसिमको डर आउने,गल्ती गर्ने, नियन्त्रण गुमाउने, जीवन प्रति विरक्ति हुने जस्तो लक्षणमा मसाज तेलमा नरिवल तेल प्रयोग गर्न भनिन्छ।तेल खुट्टामा समेत मालिस गर्न भनिन्छ। चियामा  ब्राह्मी, कुरिलो र जटामसी बराबर मात्रामा मिलाएर पिउन भनिन्छ। मनतातो ब्राह्मी-घिउ ३-५ थोपा नाकमा दैनिक २ पटक हाल्न भनिन्छ। केही मिनेटको मेडिटेसन राम्रै मानिन्छ।

 

डिप्रेसनको लक्षणमा भारी दिमाग हुने, निन्द्रा धेरै लाग्ने, अल्छी र ढिलापन रहेको अवस्थामा ३-४ दिन स्याउको जुस फास्टिंग लिँदा भारी पन हटाउन सहयोग गर्छ भनिन्छ। व्यायाम बढाउने, दिनको दुई पटक अदुवा चिया पिउने सल्लाह दिइन्छ। अश्वगन्धा, शङ्कर पुष्पी, ब्राह्मी, ज्वानो, अदुवा, जिरा, कालो जिरा, कालो मरीच, पिप्पली, लामो , यास्तिमधु,  बोझो र हिमाली नुन मिसाएर बनेको सरस्वती चुर्ण २ भाग, पुनर्नवा ३ भाग र चितु (चित्रक) ३ भाग मिसाएर आधा चम्चा धुलो जिब्रोमा राखी दिनको ३ पटक मन तातो पानीले जिब्रो सफा गर्न भनिन्छ। मनतातो पुनर्नवा-घिउ ५ थोपा नाकमा दैनिक २ पटक हाल्न भनिन्छ। यो प्रकृतिको डिप्रेसनमा सूर्य नमस्कार को १२ आसन, महा-मुद्रा गर्न भनिन्छ। कुहिनाको पोज र बज्र आसन गर्न सुझाइन्छ। मेडिटेसनमा उज्जायी प्राणायाम नामक श्वास प्रश्वास गर्न भनिन्छ।

 

समग्रमा परम्परागत रूपमा हाम्रो भान्सा हाम्रो आयुर्वेदिक दबाइहरूको फार्मेसी थियो। तिनै भान्साका जडीबुटीहरु प्रयोग गरी हाम्रो खानामा जरुरत अनुसार औषधीय गुण भर्ने रैथाने विधि र ज्ञानको भरपुर उपयोग हुने गर्दथ्यो। हिजो हाम्रो जीवन पद्धतिको बैरी केमिकल ओखती हाम्रो ज्यान भित्र छिर्न त के हामीलाई चिहाउन समेत पाउँदैन थियो। जब भारत ब्रिटिसहरूको गुलाम बन्यो, हामी स्वतन्त्र रहे पनि हाम्रा शासकहरू मानसिक रूपमा आफ्नो मिल्क्याउने परको भित्राउने रोग वाट ग्रसित बने। आधुनिक शिक्षाको नाममा हामीले अङ्गालेको प्रणालीको हाम्रो परम्परागत ज्ञान, सिप र प्रविधि बैरी बन्यो। यो विषय न त खाद्य विज्ञानको भँगालोमा अटाउन सक्यो। न औषधि विज्ञानको भँगालो भित्र सम्मानित भएर जिउन पायो। यो स्थिति कहिले सम्म रहने हो कुनै टुङ्गो छैन। यसको उत्तर को वाट पाइने भन्ने समेत यकिन छैन।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: