मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भत्केको देशको बिग्रेको चालाको उपचार गुरुकुल शिक्षा। 

नारायण घिमिरे

नेपाल जस्तो मुलुकमा राजनीतिमा लागेका बेइमानहरूले पटक पटक दोहर्‍याउने शब्द हो जनता ले सबै कुरा जान्दछ। सूचनाको हक, साधन श्रोत र पहुँच वाट जनतालाई वञ्चित गर्‍यो, जनतामा भ्रम छर्‍यो, गुन्डा गर्दी वाट पार्टी र व्यवस्था कब्जा गर्‍यो अनि अर्को राम्रो विकल्प नहुञ्जॆल हामीलाई नै मौका दिनुस भन्दै हिँड्ने गर्दछन्। हाकाहाकी लुट्नेहरू लाई नै विश्वास दिने मतदाता रहेको समाज यथार्थमा कति पिछडिएको होला आफै अनुमान गर्न सकिन्छ।

 

 

वैदिक ज्ञान र विज्ञानको हिसाबमा कुरा गर्ने हो भने कुनै पनि समाज नकारात्मक सोचले कति ग्रसित छ त्यसको आधारमा उक्त समाज  कति अग्रगामी छ वा पिछडिएको छ भन्ने यकिन हुनु जरुरी हुन्छ। आधुनिक शिक्षाको नाममा भुईँफुट्टा ज्ञान प्राप्त गरेकाहरुलाई विद्वान मान्ने समाजले समाजमा व्याप्त नकारात्मक बिचारको बिगबिगीको आधारमा समाजको संवृद्धि मापन नगरी बुर्जुवा शिक्षा हासिल गरेका व्यक्तिहरूको प्रतिशत र दलाल पुँजीवादी अर्थ व्यवस्था अन्तर्गतको जिडिपिको आधारमा मुलुकको संवृद्धिको मापन गर्ने गर्दछ।

 

 

बेरोजगारीको हिसाब गर्दा कागजी शिक्षा लिएका अल्प शिक्षितहरुको रोजगारीको प्रतिशत मात्र गनिन्छ। बुर्जुवा, चाकर संस्कार विकास गर्ने कागजी ज्ञानको पहुँचमा नरहेका भाग्यमानी र स्वरोजगारमा रहेका मुलुकका वास्तविक अर्थतन्त्र निर्माणका आधार  शिलाको रूपमा कार्यरतहरू लाई त्यसमा गणना समेत गरिँदैन। हर-पल जसरी हुन्छ मुलुकको राजस्वमा सामूहिक मिलेमतोमा नियोजित रूपमा डाँका मार्न तैयार जत्था सँगै मात्र मुलुक सञ्चालनको ताला चाबी पुग्ने गरी राजनैतिक र कार्यनीतिक प्रणालीको इञ्जिनियरिङ्ग गरिएको छ।

 

 

सत्तामा रहेको अहिरेले मुलुकको विकास वा संवृद्धि गरेन भन्ने आवाज उठेमा अर्को भैरे खोजेर प्रधानमन्त्री तोकिन्छ। बोकाको राजमा कार्यालयमा भ्रष्टाचार भएको समाजमै छताछुल्ल बन्यो भने त्यसको स्थानमा   भेडालाई नियुक्ति गरी योजना प्रमुख बनाएर विरोधको आवाज थेगिन्छ। भतुवा लाई भैँसीले पाडो पाओस्   वा पाडी, के नै मतलब भयो र, उसको भागमा आउने बिगौती मिलेकै हुन्छ। नियमित ब्रह्म लुटको परम्परा सुचारु रहन्छ।

 

 

हुन पनि बोकाले दाइ हाल्ने भए गोरु किन नै चाहिन्थ्यो र? हिजो पटक पटक मित्र-राष्ट्रका पश्चिमा खुफिया एजेन्सी फन्डित शासकहरुको निर्देशनमा तिनैका सरकारका खुफिया एजेन्सीकै प्रायोजनमा मञ्चित भएका आन्दोलनहरू पारिको काउली खाएर वारी शासन गर्ने पद्दति एक पछि अर्को गर्दै पटक पटक पुनः स्थापित गरियो।

 

 

वैदिक ज्ञान र गुरुकुल शिक्षाहरूलाई अघोषित रूपमा प्रतिबन्ध गरियो। समाजका गुरु र धर्म गुरुहरू गोली हानी मारिए। संस्कृतका किताब र विद्यालयहरू जलाइए। पश्चिमा चिकित्सा मूल स्वस्थ सेवा र आयुर्वेद लाई वैकल्पिक स्वास्थ्य सेवा  नामकरण गरी हाम्रा रैथाने ज्ञान, सिप, प्रविधि र दक्खलता लाई अघोषित रूपमा हाम्रो आफ्नै भूमिमा उपयोग हिन विषय बनाएर मुलुकलाई बिदेसी उत्पादनको एकाधिकार बजार बनाएर कङ्गाल पारियो।

 

 

मित्र राष्ट्रमा परिवारको एउटा मात्र सदस्य लाई जवाहरलाल नेहरू विश्वविद्यालयमा (जेएनयु) पढाई दिएर गुण लगाई दिए बापत भारत नै टुक्रा टुक्रा पार्ने विचारधारा गर्वका साथ भाषण गर्न तयार हुने  कनैया कुमारहरू विकास गर्ने खुफिया एजेन्सीहरू नेपालमा त कुनै परिवारका सम्पूर्ण सदस्यलाई नै जेएनयुको महँगो शिक्षा र ऎहेसान जीवन शैली उपहार दिएर मुलुकलाई रस तालमा पुर्‍याउन तैयार हुने लेन्डुप दोर्जेहरु तैयार गरिदिएको छ। लेन्डुप दोर्जे समूहका सदस्यहरू सम्पूर्ण राजनैतिक दल, नीति निर्माण निकाय, आर्थिक क्षेत्र, गृह प्रशासन,  शासन व्यवस्था, खुफिया एजेन्सी, शिक्षाका संयन्त्र, स्वास्थ्यका संयन्त्र, मिडिया लगायत सबै संवेदनशील स्थानहरूमा सङ्गठित रूपमै परिचालित र सक्रिय पारिएको छ। मुलुकको दुर्भाग्य नै भन्नु पर्छ, उक्त ग्याङका प्रतिनिधिहरू हालका प्राय: सबै नै चर्चित नेताका परिवारको सदस्यको रूपमा उनीहरूकै भान्सामा आफ्नो करामत देखाउन कुनै न कुनै रुपमा सक्रिय रहेका भेटिने गर्दछन।

 

 

मुलुकमा जबर जस्ती  जनताले नचुनेको राजनैतिक व्यवस्था र सामाजिक संरचना लादियो। समाजलाई बन्दुक र भाटे कारबाहीको आतङ्कले व्याप्त पारेर जनतालाई सचेत हुन वाट वञ्चित गरियो। जनता सचेत भएका भए बाघको छालामा स्यालले रजाइँ हुँदै गर्दा आवाजहरू, आन्दोलनहरू उठ्थे होलान्। मुलुकलाई नियमित लुटको साधन बनाउने गरी ग्रयाण्ड डिजाइन गर्ने  माफिया वर्ग त्यो सम्भावना समेत हाल सम्म निमिट्यान्न पार्न  सफल बनिरहेको अवस्था रहन्थेन होला।

 

 

आजको मिति सम्म पुग्दै गर्दा जब हाम्रो मुलुक सुध्रनै नसक्ने गरी थला परिसकेको जनतामा महसुस भयो तब मुलुकको चिता गर्ने धेरै बुद्धिजीवीहरू हाम्रा परम्परागत गुरुकुल शिक्षा प्रणाली लाई झल्ल-झल्ति सम्झिरहेको भेटिन्छ। उनीहरूमा मुलुक लाई अव गुरुकुल शिक्षा प्रणाली बाहेक अन्य कुनै शिक्षाले सुधार्न सक्दैन भनी अनुभूति हुन थालेको सजिलै महसुस गर्न सकिन्छ।  हुन पनि हाम्रा गुरुकुल शिक्षा प्रणालीमा हरेक शिष्यको उसको नितान्त निजी क्षमताको पहिचान गरी उसमा अन्तर्निहित विशिष्ट खुबीको पूर्ण रूपमा प्रस्फुटन गर्न सगाउने नियत राखिन्थ्यो। हरेक शिष्य लाई व्यक्तिगत रूपमा पारिवारिक वातावरणमा अध्यापन गराइने सिकाइ प्रविधिमा सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षा दिने गरिन्थ्यो। छोटो अध्यापन पश्चात् लामो स्व-अध्ययन अनिवार्य हुन्थ्यो। जस लाई ज्ञानको खोजी गर्ने र व्यवहारमा लागु गरी महसुस र अनुभूति मार्फत यथार्थ ज्ञान प्राप्तिको लागि प्रशस्त अवसर उपलब्ध गराइन्थ्यो।

 

 

सन्तुलित रूपमा भौतिक, जैविक (जीवन्त), मनोबैज्ञानिक, सामाजिक र अध्यात्मिक ज्ञान समावेश हुने गरी इञ्जिनियरिङ्ग गरिएको सिकाइ प्रणालीमा हरेक व्यक्तिलाई उसको क्षमता, कौशलता र सोख अनुरूप निजी प्रशिक्षण दिइन्थ्यो। मानिसको भौतिक शरीर उसको निर्धारित उद्देश्य प्राप्तिको लागि उपलब्ध माध्यम मात्र रहेको पूर्ण अनुभूतिका साथ भौतिक शरीर र मस्तिष्कको स्वस्थ तथा तन्दुरुस्तीको अनिवार्यता अपरिहार्य ठानिन्थ्यो। त्यसको लागि प्रकृतिको सामीप्यमा पुगेर प्राकृतिक नियमको अनुसरण गर्ने तथा अनिवार्य रूपमा मेडिटेसन वा ध्यान गर्ने, वैदिक ज्ञान प्राप्त गर्ने र योग अभ्यास पुरा गर्ने कार्य सम्पन्न गरिन्थ्यो। यसका अतिरिक्त पशुपति नाथको मुलुकको परम्परागत गुरुकुल शिक्षाको आफ्नो प्रमुख नेपाली विशेषता थियो जुन अन्यत्र बिरलै पाइन्थ्यो।

 

 

हाम्रो आफ्नै शिक्षा प्रणालीको अन्यत्र भन्दा थप विशिष्ट प्रकृति के थियो भन्ने बारे धर्मगुरुहरू अनविज्ञ रहेको ले हो वा के कारणले हो खुलासा हुन सकेको छैन। भारतीय संस्कृतिको गुरुकुल शिक्षा हेरेर नेपाली भूमिको गुरुकुल शिक्षा पनि त्यस्तै थियो होला भनी अनुमानको भरमा निकै धेरै प्रवचनहरू र चर्चाहरू भएका त पाइन्छ। नेपाली गुरुकुल शिक्षामा अन्यत्रको शिक्षा प्रणाली भन्दा थप विशिष्टता के थियो र कसरि नेपालमै जन्मिएका विश्वकै पहिलो प्लास्टिक सर्जन सुश्रुत र  वेद व्यासलाई त्यस्तो विशिष्टता हासिल गर्न सम्भव भयो भन्ने बारे उजागर भएन।

 

 

साथै यो भूमि धारावाहिक लेखक गणेश, पाणिनी लगायतको कर्म क्षेत्र किन बन्न पुग्यो त्यसको पछाडिको कारण सार्वजनिक हुन सकेन। आचार्य  सुश्रुत जस्तै नेपालमै जन्मिएका सिद्धार्थ गौतममा हाम्रो भूमिको गुरुकुल शिक्षाको आफ्नै थप विशिष्टताको भूमिकाको देन बारे समाज सुसूचित हुन पाएन।

 

 

अब नेपाली भूमिको उक्त गुरुकुल शिक्षाको आफ्नै थप विशिष्टता बारे एक उदाहरण सहित चर्चा गरौँ। रोडको सञ्जाल अत्यन्त धेरै विकसित भएको मुलुकमा हाल गुगल म्याप प्रयोग गर्ने जिपिएसको प्रयोग गरी गाडी चलाउने चलन धेरै बढेको छ। एक ठाउँ वाट अर्को ठाउँ जान जब तपाईँ त्यसमा जाने ठाउँ को ठेगाना हाल्नु हुन्छ र कस्तो कस्तो बाटो लाई प्राथमिकता दिने भनी प्रोग्राम गर्नु हुन्छ त्यसैको आधारमा त्यसले कुन बाटो कसरि जाने भनी तपाईँ प्राय त्यसैको निर्देशन पछ्याएर आफू परिचित नभएको स्थानमा समेत आफैले गाडी चलाएर सजिलै पुग्नु हुन्छ।

 

 

तपाईँले पक्कै पनि याद गर्नुभएकै होला यदि तपाइले बिचमा गलत गर्नुभयो वा गुगलले देखाएको बाटो पछ्याउनु भएन भने पनि उक्त गुगलको जिपिएसले तपाइलाई कहिल्यै गल्ती गरिस् भन्दैन। न त गाली वा निन्दा नै गर्छ। न दिक्क मानेर मुडअफ हुने, ह्याङ्ग हुने वा चिल्लाउने केही गर्दैन।

 

 

जब तपाईँलाई गलत मोड लिनुहुन्छ त्यसले यता बटारिएर धेरै हिँड्नु पर्‍यो वा समय खेर गयो वा यो त्यो खर्च भयो केही भन्दैन। तपाईँलाई सिफारिस गरिएको नक्सा विपरीत अन्यत्र जहाँ पुग्नु भयो पुन: त्यही वाट तपाईँ  यो चौबाटो वा दोबाटो  वाट  बायाँ जानु वा दायाँ जानु भनी तपाईँलाई  तपाइको यात्रामा सहयोग गर्न सुरु गर्दछ। तपाइको हिँडाई बारे कुनै पनि सकारात्मक वा नकारात्मक सोच नराखी तटस्थ रहेर सहयोग गर्न सुरु गर्ने गर्दछ।

 

 

तपाईँ एक छिन लाई सोच्नुस् त! गुगलले बताएको बाटो नजाँदा तपाइले कति धेरै हिँड्नु पर्‍यो, कति समय खेर फालियो, कति इन्धन आदि अनावश्यक खर्च भयो जस्तो कुरा तपाइलाइ सम्झाउने गर्दैन। न त गाडी चलाउँदै गर्दा यो गलत भयो अब यसरी सुधार गर भन्न समेत चासो राख्दैन। प्रोग्राम  गरेको भए के त्यो गुगल म्याप जिपिएस धेरै मूल्यको र धेरै उपयोगी हुन्थ्यो होला? गुगलले ती सुविधाहरू सामान्य प्रोग्राम वाट नै सजिलै राख्न सक्थ्यो। किन सामान्य प्रोग्राम वाट पुरा हुने त्यो काम त्यत्रो गुगल जस्तो कम्पनीले नगरेको होला?

 

 

हामी त झन् चिन्दै नचिनेको मान्छेले भनेको कुरा, भनिएको विषयको सन्दर्भ  र त्यस बारे ज्ञान नहुँदा समेत  सामाजिक सञ्जालमा ठुला ठुला तर्क र आदर्श छाँटेर लेख्ने, नमागिएको सल्लाह दिने गोर्खाली। अर्काको गल्तीमा अगाडी आएर आलोचना गर्न पाउँदा आफू स्मार्ट बनिने अनुमानमा आफै सँग गर्व गर्ने संस्कार बोकेको महामानवहरु लाई यस्तो विपरीत चरित्र युक्त गुण बोकेको गुगल जिपिएसको बानिले दिक्क बनाउने, सुन्दै कन्सिरीको रौँ तातेर आउने हुनु पर्ने हैन र। त्यस्तो हुँदा हुँदै पनि किन यो गुगल म्यापको संसारमा एकाधिकार भएको होला।

 

 

हाम्रो पाराले सोच्दा, जिपिएसले त्यसो गरेको भए तपाईँ बेकारमा यति थप बाटो हिँड्नुपर्ने भयो, तोकिएको स्थानमा यति समय ढिलो गरी पुग्ने हुनुभयो, बैठकको लागी यति ढिलो हुन जाँदै छ, ध्यान दिएर मेरो निर्देशन सुन्नुहोस्, अब फेरी गल्ति  नगर्नुस, ठिक छ!! समेत भन्थ्यो होला। आजका फगत आधुनिक र बैज्ञानिक नाम दिईएका हाम्रा निकै धेरै विद्यालय वा विश्वविद्यालयका  ठुलो शंख्याका मास्टरहरुले जस्तो तपाइलाई गल्ती गर्ने छुट छैन भन्दै पाइला पाइलामा हस्तक्षेप गरी तपाइको हैन पढाउने शिक्षकको महसुसले विकास गरेको मान्यताको आधारमा तपाइको यात्रा पुरा गर्न सहयोग गर्दथ्यो होला।

 

 

आजको दिनमा पुग्दै गर्दा नयाँ शिक्षाको उपहार बापत हामीले  ग्रहण गर्न पुगेको औसत गोर्खाली प्रवृत्ति, विचारधारा र संस्कारको कुरा आफ्नै ठाउँमा छ। जति तुच्छ शब्दले अर्का लाई गाली गर्न सकियो त्यस्ती ठुलो लेखक बनिने, प्रधानमन्त्री, मन्त्री र तिनका विशिष्ट सल्लाहकार रुपी पद र रवाफ पाइने, जति खोक्रो सिद्धान्त र आदर्शको कुरा गर्‍यो त्यति ठुलो नेता बनिने, जति पाप गर्‍यो त्यति फलिफाप आइलाग्ने हाम्रा भूमिका यथार्थहरू आफ्नै ठाउँमा छन्।

 

 

हाम्रा भूमिका आफ्नै यथार्थताहरु कत्तिको सही छ, वा खराब छन त्यो यो लेखकको बिजनेसको विषय समेत रहेन। तरपनि निर्धारित लक्ष प्राप्तिको सम्बन्धमा  संसारको व्यवहारिक यथार्थता भने नयाँ शिक्षा र विदेशी प्रभुका दासहरूले बिटुलाउन पाउनु भन्दा अगावैको नेपाली भूमिको परम्परामा अभ्यस्त बनेको अवधारणा सँगै हुबहु मिल्ने गरी हालको हाम्रो भूमिको यथार्थता भन्दा नितान्त भिन्न रहेको भेटिन्छ।

 

 

गुगल जिपिएसको  प्राथमिक चासो तपाईँलाई तपाईँको लक्ष्य सम्म पुग्न सहयोग गर्ने हो। न कि तपाईँको गल्तीमा तपाईँलाई नमिठो महसुस गराउनु वा गल्ती नहुँदा तपाइको प्रशंसा गर्नु नै हो। जुन बिन्दुमा गुगल जिपिएस आफ्नो  प्राथमिक चासो लाई बिर्सेर प्रयोग कर्ताको आलोचना, समालोचना वा प्रशंसामा उत्रन्छ त्यो बिन्दु वाट उसले हामी मध्ये धेरैको सम्मान प्राप्त गर्न छोड्दछ। गुगल जिपिएस सँग मोह भङ्ग भएकाहरू यसको विकल्प खोज्न सुरु गर्ने गर्दछन्। यसको हालको बजार माग समेतमा उल्लेखनीय रूपमै खस्किन थाल्दछ।

 

 

त्यो मूल मन्त्र बुझेको गुगल जिपिएसको गुगल म्याप तपाइलाई तपाईँ फरक बाटो जहाँ पुग्नुभयो त्यही वाट पुनः शाही मार्गहरू सिफारिस गर्ने गरी इञ्जिनियरिङ्ग गरिएको हुन्छ। अन्यत्र मुलुकको भन्दा नेपाली भूमिको परम्परागत गुरुकुल शिक्षा पद्धतिको महत्त्वपूर्ण अतिरिक्त मान्यतामा गुरुकुल शिक्षामा शिक्षाको लागि आउने एक शिष्यको गन्तव्यलाई मुख्य आधार मानी उसैलाई मिल्ने गरी गुरुकुल शिक्षाको प्रशिक्षण योजना बनाउन प्राथमिक चासो राख्न अनिवार्य मानिन्थ्यो। संयोगले  आजको गुगल म्यापको इञ्जिनियरिङ्ग समेत त्यही आधारमा रहेर विकसित भएको देखिन्छ। हामी भने आजको गुगल म्यापको जिपिएसले कसरि काम गर्दछ भन्ने उदाहरण दिएर आफ्नो परम्परा यस्तो हो भनी समाजलाई बताउन पर्ने हालतमा पुगिरहेका छौ।

 

 

भूगोलका विभिन्न गुरुकुल शिक्षाहरू अन्तर्गत हाल नेपाल रहेको भूभागको गुरुकुल शिक्षाको प्रभावकारिता अत्यधिक रहनुमा यसको मूल अवधारणामा रहेको फरक पन र शालीनता नै प्रमुख थियो । उल्लेखनीय पृथकता जस अन्तर्गत व्यक्तिले काम गर्ने क्रममा जव गल्ती भएको महसुस भएर दुखित बनिरहेको हुन्छ त्यही वेलामा आफ्ना मार्ग निर्देशक, आफन्त र सहयोगीहरुको निराशा र क्रोधको सिकार भएर उसलाई झन् पीडित र निराशा वादी हुन वाट रोक्ने। शालीनता जसले काम गर्ने क्रममा हुने गरेको गल्तीलाई थप ज्ञान लिने अवसरको रूपमा उपयोग गर्न शिष्यहरू लाई उत्प्रेरित गर्ने। भएका गल्ती वाट सिकेर उक्त गल्ती पुन: नदोहरिने गरी काम सम्पन्न गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने। नियत बस गरिएका गल्ती र बदमासी लाई दण्डित गर्ने।

 

 

यो अवधारणाको सबैभन्दा बुद्धिमानी र उत्कृष्ट पक्ष हो शिष्यले आफ्नो जीवनको उद्देश्य आफैले अनिवार्य छनौट गर्नु पर्ने। गुरुले शिष्य आफै द्वारा निर्धारित उद्देश्यको प्राप्तिमा चासो राखी उचित प्रशिक्षणको निर्धारित योजना तर्जुमा गरिदिने। शिष्यलाई आफ्नो यात्रामा स्वतन्त्र बढ्न प्रेरित गर्ने। उसको नियत वा यात्राको गतिमा कुनै दृष्टिकोण नबनाउने।

 

 

यात्राको क्रममा शिष्य वाट भएका गल्तीमा न त आलोचना गर्ने न कुनै रिस राग राखी गाली नै गर्ने शालीनता हाम्रो गुरुकुलको धुकधुकी थियो। यात्राको क्रममा भएका उत्साह पूर्वक नतिजाहरूमा समेत उसलाई फुर्क्याउने गरी तारिफ नगर्ने हाम्रो गुरुकुलको कला थियो। शिष्य स्वतन्त्र रूपमा आफ्नै बुद्धिमत्ता वा कमजोरीले जाँदा पुग्छ त्यही बिन्दु वाट उसको उसको गन्तव्यको  बिन्दु पुग्न उपलब्ध सबैभन्दा उत्तम विकल्पको हरक्षण उपलब्ध गराई दिने गुरुको करुणा तथा असीम प्यार हाम्रो गुरुकुलको फरक प्रकृतिको बिशेषता थियो।

हाम्रो जीवन जस्तै मुलुकको  संवृद्धिको हजारौँ माइलको यात्रा समेत यसले चल्ने पहिलो कदम सँगै सुरु हुने गर्दछ। यो जरुरी छैन कि मुलुकले चालेको पहिलो कदम संवृद्धिको गन्तव्य तिर बढेको देखियोस्। तर नियतमा भने प्रस्ट रूपमा त्यतै बढ्ने उद्देश्य निहित हुनु पर्दछ। एउटा कुरा सही हो की हरेक मुलुकको आफ्नै बाध्यता, लक्ष्य र महत्त्वाकाङ्क्षाहरू हुने गर्दछ। कहिले कहीँ उक्त मुलुकले लिएको गन्तव्य र नियत फरक पो छ कि भन्ने पनि देखिन सक्दछ। जब नियत नै जसरी पनि संवृद्धि तर्फ बढ्ने भन्नेमा केन्द्रित गरिन्छ, त्यसले गन्तव्यलाई समेत जबर जस्त फरक आकार दिएर संवृद्धि मै पुर्याउछ।

 

 

दुर्भाग्य बस विगत केही दशक देखि हाम्रा नेतृत्वमा रहेका नेता र शासक  वर्गको नियतमा सदैब लुट तन्त्र र देखाउने गन्तब्यमा हरदम मुलुकको संवृद्धि राखिएको प्रस्ट अनुभूति हुन्छ। इतिहासकै सबैभन्दा नालायक शिक्षा प्रणालीले विकास गरेको बिचौलियाहरूको राजनीतिमा नेताको रुपमा राजनैतिक सक्रियता, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा सङ्गठित रूपमै हुने गरेको माफिया करण आदि आज नेपालमा न्याय, मूल्य र मान्यता स्खलित  सामाजिक संरचना निर्माण गर्न प्रमुख बनिदिनु नै नेपालको सबै भन्दा ठुलो दुर्भाग्य बनिरहेको छ।

 

विकसित मुलुकको अनुभवले मुलुकको संवृद्धिको लागि मुलुकमा नव-प्रवर्तनको संस्कार बस्नु पर्ने देखाउँदछ। नव प्रवर्तनको संस्कारको स्थापनाको लागि हालका  ढुकुरे छाती वाला भ्रष्ट नेतालाई मुलुकको माया गर्ने समाज सेवी वाट प्रतिस्थापनको जरुरत पर्दछ। मुटु माथि ढुङ्गा राखेर मुलुकको यथार्थता बताउने हो भने दुःखका साथ यो कुरा स्वीकार गर्न बाध्य हुनु पर्छ, हाम्रा हकमा आजको राजनैतिक प्रणालीको पहुँच बाहिरको अवस्था सँग मात्र मुलुक भित्र नव-प्रवर्तनको संस्कार स्थापना गर्ने हैसियत र क्षमता रहेको छ। जसले मुलुक निकै छिटै पुनः अकल्पनीय द्वन्द्व तर्फ अघि बढिरहेको प्रस्ट सङ्केत गरेको छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

30Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: