मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

माल पाएर चाल नपाएको नेपाली खजाना

नारायण घिमिरे

ईसापूर्वक ६०० मा भारतवर्षमा सक्रिय देखिएका महर्षि सुश्रुत शल्य चिकित्साका पिता हुन्। संसारमै सबै भन्दा पहिले शल्यक्रिया सुरु गर्ने महर्षि  हुन् महर्षि सुश्रुत। संसारमै सबै भन्दा पहिले शल्यक्रिया आयुर्वेदिक चिकित्सा पद्धतिले अवलम्बन गरेको थियो। बिरलै देखिने र भेटिने संसारमा पहिलो शल्यक्रिया पद्दति सुरुवात गर्ने चिकित्सा पद्धतिका रूपमा आफ्नो गौरव पूर्ण इतिहास दर्ज गर्न सफल भएको छ आयुर्वेदिक चिकित्सा पद्दति। महर्षि सुश्रुतले आयुर्वेदिक शल्यक्रियामा आठ प्रक्रियाहरू रहने उल्लेख गरेका छन्।

 

उनका अनुसार १) छेद्य (विच्छेदन गर्नु), २) भेद्य (प्वाल पार्नु), ३) लेख्य (अलग गर्नु), ४) वेध्य (शरीरबाट हानिकारक झोल पदार्थ निकाल्नु), ५) ऐष्य (मूल समस्या अवलोकन गर्नु), ६) अहार्य (देखिएको हानिकारक बस्तु वा पदार्थ बाहिर निकाल्नु ), ७) विश्रव्य (जरुरी पर्ने ठाउँ मिलाएर खाली गर्नु) र ८) सीव्य ( अप्रेसन गर्दा बनेको घाऊ सिलाउनु वा टाँका मार्नु) मुख्य हुन्।

 

महर्षि सुश्रुतले उनको जीवन कालमा सफलता पूर्वक सम्पन्न गरेका कार्यहरू लाई सुश्रुत संहिता अन्तर्गत लिपिबद्ध गरिएको छ। ६० प्रकारका प्रकारको घाउहरूको उपचार गर्ने तरिका, १२० किसिमका घाउको उपचारमा काम आउने उपकरणहरूको सम्पूर्ण वर्णन उल्लेख भएको सुश्रुत संहितामा ३०० प्रकारका रोगका उपचार प्रक्रियाहरू उल्लेख छन्। सुश्रुत संहितामा शल्यक्रियाहरू आठ श्रेणीमा वर्गीकरण गरिएको छ। १२ किसिमका भाँचिएका अङ्गहरू र ६ प्रकारका जोर्नीहरूमा हुने चोटपटक बारेको उपचार पद्दतिहरु बारे लेखिएको छ।

 

चिकित्सा प्रणालीमै पहिलो पटक प्लास्टिक सर्जरी भित्राउन सफल प्लास्टिक सर्जरीका प्रवर्तक महर्षि सुश्रुतले आफ्नो जीवन कालमा आयुर्वेदिक पद्दति अनुरूप नाकको प्लास्टिक सर्जरी (राइनोप्लास्टी), कानको च्यातिएको वा बिग्रिएको लोतीको सर्जरी (लोबुलोप्लास्टी), कान टम्मपारि मिलेको बनाउने अप्रेसन (ओटोप्लास्टी) लगायतका असङ्ख्य विकृतिहरूको सफल उपचार गरे।

 

चिकित्सा प्रणालीमै पहिलो पटक दबेको अङ्ग बाहिर निकाली मिहिन गरी मिलाउने (ट्र्याक्शन), अङ्गहरूको हेरफेर गर्ने (मेनुपुलेसन), अङ्गहरू एक अर्कोमा मिहिन गरी मिलाउने (एपोजिसन), स्थिरीकरण (स्ट्याबिलाइजेसन) र फिजियोथेरापीका महान् सिद्धान्तहरू उल्लेख गर्दै व्यवहारिक रूपमा लागु समेत गर्न सफल बने। उल्लेखित कुराहरू आयुर्वेदको इतिहास कै अत्यन्त गौरवशाली पक्ष हो।

 

चिकित्सा अन्तर्गत मोती बिन्दु  शल्य चिकित्सा पहिलो चोटि गर्न सफल सुश्रुत ती महर्षि हुन् जसले कालो कमिलाको टोक्ने टाउको प्रयोग गरी आन्द्राको सिलाई गर्ने विधिको विकास गरे। इतिहासमै सबैभन्दा पहिले भ्रुणविज्ञान र भ्रूणहरूको संरचनाहरूको क्रमिक विकासको अध्ययन गरी महत्त्व पूर्ण चिकित्सा पद्धतिका सम्भावनाको उजागर गरे।  उनी नै संसारको पहिलो महर्षि हुन् जसले मानव शरीरको पूर्ण चिरफार गरी मानव शरीरको संरचनाका धेरै गोप्यता बारे चिकित्सा विज्ञान लाई जानकारी गराए।

 

विभिन्न चरणमा ११२० बिमारीहरूको गहिरो निरीक्षण गरी नाडीमा मुटुको धड्कन नाप्ने पाल्पीटेसन प्रविधि र मुटु, फोक्सो र अन्य अङ्गको ध्वनि सुनेर रोगको यकिन गर्ने औसकुलेसन  प्रविधिको विकास गरे। भारतको विहार नजिक जमिएका भनी विभिन्न ग्रन्थहरुमा लेखिएका महर्षि सुश्रुत नेपालको देवघाट क्षेत्र वरपर जन्मिएको हुनु पर्छ। सम्भबत  नेपालमा जन्मि  भारत बर्षको काशी (हालको बनारसी) पुगी शल्य चिकित्सामा आफ्नो ज्ञान प्रवर्धन गर्ने,  चिकित्सा पेसा अभ्यास गर्ने गरेका महर्षि सुश्रुतको निधन पनि काशीमै भएको बुझिन्छ।

 

महर्षि सुश्रुतले आफूले गर्ने विभिन्न प्रकारका शल्यक्रिया र प्लास्टिक सर्जरीको क्रममा बिरामीलाई सकेसम्म कम दर्द होस् भन्नका खातिर उक्त समयमा बिरामीले उपचार हुँदै गरेको थाहा पावोस तर अप्रेसन आदिका कारण भएका  दर्द भने महसुस गर्न नपरोस भनी दर्द नाशक एनाल्जेसिकहरु र बेहोस बनाउने एनेस्थेटिसहरुको समेत विकास गरे। उल्लेखित दर्द नाशक एनाल्जेसिक र बेहोस बनाउने एनेस्थेटिसहरु महर्षि  सुश्रुतले सम्पन्न गरेका धेरै अप्रेसनहरूमा सफल प्रयोग भएका थिए।

 

महर्षि सुश्रुतले उपयोगमा ल्याएका एनेस्थेटिसमा मूलतः भात लगायतका अन्न, फलफूल र मौवाको जाड अथवा वाइन थियो। सबै भन्दा प्रभावकारी एनाल्जेसिकमा हिमाली भेगमा फल्ने शिव रात्रिमा भोले बाबा जय शम्भो भनिने पशुपतिनाथ मन्दिरमा  प्रयोगमा आउने शिव-बुटी भनिने प्राय: क्यानाबिस इण्डिका जातका हिन्द-कुश गाँजाको बोट बाट बनेका गाँजाका विभिन्न पदार्थहरू हुन्थे। जसमा सिबिड़ी, टिएचसी युक्त तेल, रेजिन, चरेस, भाँङ , गाँजाका पेय पदार्थहरू, धूम्रपान, पात, कोपिला तथा गाँजा वा यसका विभिन्न प्रशोधित पदार्थ मिश्रित खाद्य पदार्थ, मालिस गर्ने तेल जस्तै भाँङको लड्डु, सिबिड़ी तेल आदि हुने गर्थ्यो।

 

तपाई हामीलाई आज पनि स्कुलहरूमा मानव शरीरमा रक्त सञ्चार, श्वासप्रश्वास, मूत्र, प्रजनन, अन्तरक्रियात्मक (बाहिरी आवरण वा छाला), मेरुदण्ड, मांसपेशी, स्नायु, इन्डो-क्राईंन, लिम्फेटिक र पाचन गरी जम्मा एघार वटा प्रणाली रहेको भनी सिकाइन्छ।

 

हिँड्दै गर्दा जब तपाई तपाई लाई जब अचानक ठेस लग्छ र औलामा गाउँ लागि थोरै रगत आउँछ, तपाई लाई अचानक दर्द महसुस हुन्छ।  शरीर सननन तातेर आउँछ र आँखाले पहेँलै तोरीको फुल देखेजस्तो अनुभूति हुन्छ। शरीरले सन्तुलन गुमाए जस्तो हुन्छ। तर एकै छिनमा तपाईँका आखाहरु शरीरको नियन्त्रणमा आउँछन्।  आएका आशुहरू सुक्छन्। तपाइको शरीर सन्तुलित हुँदै गरेको महसुस गर्न थाल्छ।  चरम दर्दहरू बिस्तारै घट्दै जान्छन्। रगत बगेको प्वालहरू बिस्तारै टालिँदै रगत बग्न बन्द हुन्छ। अन्ततः सानो घाउ रहन्छ। यसो छोई छाउ हुँदा घाउहरू दुख्छन्। शरीर आफैले समय लिएर आफ्नो उपचार गर्छ। दुखाई पनि बन्द हुन्छ।

 

मानौँ तपाइको हात वा खुट्टा भाँचियो। तपाई डाक्टरको क्लिनिकमा पुग्नु हुन्छ। डाक्टरले पेन किलरको सहायताले तपाइको दर्द हटाउने गर्छन। टुक्रिएको हड्डी र बटारिएको मासु जस्तो हुनु पर्ने हो त्यस्तै गरी मिलाएर राख्छन। हलचल भई मिलाएको यताउता नहोस् भनी टाँका मार्ने, प्लास्टर गर्ने गर्छन। शरीर आफूले आफूलाई निको गर्न सजिलो पारिदिन्छन्। केही दिनमा  शरीरले आफ्नो घाऊ आफै निको पार्छ। अब त्यो टाँका को धागो, प्लास्टर शरीर लाई बाधक हुन्छ। डाक्टरले काटेर फाली दिन्छन।

 

आज तपाइ हामीलाई हाम्रो स्कुल र कलेजमा पढाइने ११ वटा सिस्टम मद्धे कुनै पनि सिस्टम शरीरमा हुने यस्ता गतिबिधिहरु संलग्न छैनन्।  शरीरले आफूले आफूलाई उपचार गराउने १२ औ पद्दति जुन महर्षि सुश्रुतले समय र परिस्थितिले सम्भव भए जति महसुस गरी उनको समयमा आयुर्वेदिक औषधि विज्ञानमा शल्य चिकित्साको न्वारन गरी लागु गरे।  आज हाल इन्डोक्यानाबिनोईड प्रणाली भनिने शरीरको स्व-उपचार प्रणाली मानव शरीरको १२ औ पद्धतिका रूपमा अस्तित्वमा आएको छ। नियत बस हाम्रो पाठ्यक्रममा भने समेटिन सकेको छैन। इन्डोक्यानाबिनोईड प्रणाली, इन्डोक्यानाबिनोईड  र क्यानाबिनोईडको बारेमा हाम्रो स्वास्थ्यको ख्याल गर्ने जिम्मा लिएका अत्यन्त ठुलो सङ्ख्याका डाक्टर नै प्रशिक्षित छैनन्।

 

हाम्रो शरीरको इन्डोक्यानाबिनोइड प्रणाली शरीरलाई नियमित सञ्चालन गर्न स्नायु प्रणाली वा पाचन प्रणाली जत्तिकै अत्यन्त प्रख्यात, महत्त्वपूर्ण र जटिल प्रणाली हो। विज्ञान आज पनि इन्डोक्यानाबिनोइड प्रणालीका धेरै गूइह र मतव्पूर्ण कार्यहरू बुझ्ने कोसिसमा छ। मानव शरीरमा यसले सञ्चालन गर्ने मुख्य गतिबिधिहरु विभिन्न प्रकारका छन्। जस मद्धे निन्द्रा, मुड वा मनोविज्ञान, भोक, स्मरण, कलेजोको सञ्चालनको कार्य, प्रजनन प्रणाली सञ्चालनको कार्य, तनाव नियन्त्रण, छाला र स्नायु सञ्चालनका कार्य आदि प्रमुख हुन। यी गतिबिधिहरुले शरीरको आन्तरिक वातावरणमा स्थिरता दिने काम गर्दछ।

 

उदाहरणको लागि जब हामी चोटपटक वा ज्वरोका कारण पीडा महसुस गर्छौ तब हामी आफ्नो शरीरले सन्तुलनको भावना वा होमोस्टेसिस गुमाउँदै गएको महसुस गर्छौ। यो अवस्थामा शरीरको इन्डोक्यानाबिनोइड प्रणाली तुरुन्त सक्रिय बनी शरीर लाई सामान्य सन्तुलनको अवस्थामा फर्काएर सञ्चालन हुने वातावरणमा फर्कन सहयोग गर्दछ। जब सम्म हाम्रो शरीरमा सामान्य सन्तुलनको अवस्थामा फर्कँदैन तब सम्म इन्डोक्यानाबिनोइड प्रणालीका हरेक प्रणालीले जे कुराको अभावका कारण शरीरले सामान्य महसुस गर्न नसकेको हो त्यसको पूर्ति गर्न जे जे कुरा जसरी जुन मात्रामा जरुरत छ त्यसरी नै त्यसको व्यवस्थापन गर्न एक अर्कालाई सघाउँछ। शरीरका त्यस्ता हरेक समस्याको समाधानमा सक्रिय रहन्छ।

 

इन्डोक्यानाबिनोइड प्रणाली इन्डोक्यानाबिनोइड, यसका रिसेप्टर्सहरू र इन्जाइमहरू गरी मुख्य तीन महत्त्वपूर्ण भागहरू मिलेर बनेको हुन्छ। हाम्रो शरीरले आफ्नो स्व-हिलिङ्गमा जरुरत हुने सबै नै क्यानाबिनोइडहरु आवश्यक रूप र मात्रामा आफैले बनाउने गर्छ। ती क्यानाबिनोइडहरु शरीरको आन्तरिक कार्यहरू सुचारु गर्न सहयोगी हुने वा सक्रिय रहने हुँदा तिनीहरूलाई शरीरले आफैले बनाउने भन्ने इंकित गर्न  इन्डोक्यानाबिनोइड नामकरण दिइएको हो। वैज्ञानिक खोजीकर्ता वैज्ञानिक या अन्वेषकहरूले हालसम्म आनन्दमाइड (ए-ई-ए) र २- आराचिड़ोनोएल-ग्लिरोल (२-एजी) गरी दुई प्रमुख  इन्डोक्यानाबिनोइडहरू पहिचान गर्न सकेका छन्। शरीरको समस्या समाधान गरे पछि मानिसले आनन्द महसुस गर्ने हुँदा महर्षि सुश्रुतको सम्मानमा उनकै संस्कृत भाषा आनन्द वाट ए-ई-ए लाई आनन्दमाइड नामकरण गरिएको छ।

 

शरीरमा सीबी-१ र सीबी-२ गरी दुई किसिमका ईन्डोक्यानाबिनोइड रिसेप्टर्सहरू हुने गर्छन।  सीबी-१ प्राय केन्द्रीय स्नायु प्रणालीमा रहने गर्दछ। सीबी-२ शरीरको हरेक प्रतिरक्षा कोशिकाहरुमा रहने गर्दछ। यसरी ईन्डोक्यानाबिनोइड रिसेप्टर्सहरू मानिसको शरीरमा सबैतिर फैलिएर रहेको हुन्छ। जब शरीरमा कुनै भइपरी आइलाग्छ दिमागमा रहेको सीबी-१ रिसेप्टर्सले तुरुन्तै थाहा पाउँछ। तब सीबी-१ रिसेप्टर्सले प्रतिरक्षा सँग जोडिएर रहेको सीबी-२ लाई खबर सम्प्रेषण गरी परिचालन गरी  आवश्यक निषेधात्मक र सुधारात्मक कार्य सञ्चालन गराउँदछ।

 

इन्डोक्यानाबिनोइडहरुले जरुरत अनुसार जब निषेधात्मक र सुधारात्मक कार्यहरू पुरा गर्छन र शरीर सामान्य अवस्थामा फर्कन्छ तब क्यानाबिनोइडहरुलाई फ्याटी-एसिड-एमाईड-हाइड्रोलेज र मनोएसाईल-ग्लाईसिरोल- एसिड-लाइपेज जस्ता दुई प्रकारका मुख्य इन्जाइमहरूले ईन्डोक्यानाबिनोइड रिसेप्टर्सहरू वाट छुट्टाएर शरीरको नियमित गतिविधिमा दक्खल नहुने गरी नियमित सञ्चालन हुन सघाउँछन्।

 

जब शरीरमा पर्याप्त मात्रामा क्यानाबिनोइडहरु बन्न र उपलब्ध हुन सक्दैन तब इन्डोक्यानाबिनोइड प्रणाली नै असन्तुलित बनिदिन्छ। शरीरमा रोग प्रतिरोधी क्षमता कायम गरेर दर्द आदि हुन नदिन सूचनाहरू आदान प्रदान गर्ने ट्रान्समिटरहरूको गुणस्तर र क्षमता स्खलन हुने हुँदा रोग प्रतिरोधी क्षमतामा उतार-चढाव निम्तन्छ। शरीरमा उपलब्ध रिसेप्टर्सहरुको मात्रामा समेत घट बढ हुन पुग्छ। यो अवस्थामा शरीरले आफ्नो सन्तुलन कायम गर्ने प्राकृतिक क्षमता गुमाउँछ। यो स्थितिको प्राय: देखिने सम्भावित परिणामहरूमा मानिसमा पिडा हुने, दुख्ने,  तनाव उत्पन्न हुने,  नराम्रो सपना देख्ने, निद्रा नपर्ने, क्यान्सर, पार्किन्सन्स, मल्टिपल सेरोसिस, पिटीएसडि, ग्लुकोमा, आरथ्राईसीस, सिजोफेर्निया लगायतका रोगको सिकार हुने आदि पर्दछ।

जब शरीरमा पर्याप्त मात्रामा क्यानाबिनोइडहरु बन्न र उपलब्ध हुन सक्दैन तब गाँजा र गाँजा जन्य पदार्थमा पाइने क्यानाबिनोइडहरुले इन्डोक्यानाबिनोइड हरुको काम गरेको भेटिएको छ। जब इन्डोक्यानाबिनोइड हरू  आफ्नो काम गर्न सकिरहेका हुँदैनन् तब गाँजा अथवा क्यानाबिसका क्यानाबिनोइड्सहरुले न्युरोट्रान्समिटरहरू लाई सक्रिय बनाई इन्डोक्यानाबिनोइड रिसेप्टरसँग बाँधिएर शरीरलाई आफूले आफ्नो उपचार गर्ने स्व-हिलिङ्ग पद्धतिमा इन्डोक्यानाबिनोइडहरुले जस्तै गरी काम गर्न सहयोग गर्छ। त्यसैले त गाँजा हिजो महर्षि सुश्रुतको छनौटमा परेको थियो। संसारभर पिइने पेय होस् वा खाइने खाना, औषधि होस् वा मनोरञ्जनका लड्डु, चकलेट जस्ता बस्तु निकै थोरै मात्रामा गाँजा प्रयोग भएको छैन भने लगभग नबिक्ने स्थिति पैदा हुदैछ। गाँजाको गैर अपराधिकरण गरी यसको बिक्री खुला हुने क्रम बढ्दै छ।

 

आयुर्वेदमा गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो। गाँजा कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधीको सूत्रमा र ८ ओटा युनानी फर्मुलामा गाँजा अटाएको छ। कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्य समेत भेटिएको छ।

 

प्रयोगशालामा भएको दस हजार भन्दा धेरै अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थ बाट बनेको जसमा १०० भन्दा बढी त औषधीय क्यानाबिनोईडहरू रहने प्रमाणित गरिदिएको छ। आज अन्दाजी सात सय भन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने तथा हजारौँ हजार औषधिहरूमा उपयोग हुने अवस्था आएको छ। औषधि बाहेक मालिस गर्ने क्रिम, तेलहरू, कष्मटिक लगायत मनोरञ्जनात्मक गैर-औषधिय पदार्थ धूम्रपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिङ्कमा आदि समेतमा गाँजा उपयोगमा आउन थालेको छ। निकै छिटै संसारभर गाँजा रक्सी जस्तै नियन्त्रित तर खुला बिक्री वितरण हुने पदार्थ बन्दै छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: