मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रवासवाट स्वर्णिम वाग्लेलाई खुला पत्र !!

प्रवासवाट सिधा प्रश्न : स्वर्णिम वाग्ले संग।

नारायण घिमिरे, क्यानडा।

संस्कृतमा  स्वयमको भाव दिने “तन” तथा  आत्म निर्णायक क्षमता बोकेको त्यागी अर्थ दिने “हुन्” बाट बनेको तनहुँ शब्दले आफैमा कसैको लोभ, लाभ, प्रभाव, सम्मोहन, छलछाम र निजी स्वार्थ भन्दा निकै पर पुगेर सत्य तथ्यको आधारमा आत्मनिर्णय लिने व्यक्तिहरूको बसोबास रहेको क्षेत्र भन्ने अर्थ दिन्छ। आजको दिन सम्म आइ पुग्दा यो पुण्य भूमि साँढे रुपी नेताको जुधाइले ओइलाएको तनहुँमा परिवर्तन भएको छ।  आफ्नो परम्परागत मान, सम्मान र प्रतिष्ठा जोगाउनै सकसमा छ। त्यसैबिच यसको आफ्नै नाम अनुरूपको संसारकै अब्बल विद्वानमा गनिने स्वर्णिम वाग्ले जनता माझ  राम चन्द्र पौडेलले राजीनामा दिएको  तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संसद्को उम्मेदवार भएर चुनाव लड्न आइ पुगेका छन्। माटो सुहाउँदो पात्र   प्रथम पटक आफ्नो क्षेत्रको उम्मेदवार भएको देख्न पाउँदा  तनहुँका मतदाता र विदेश रहेका तनहुँ बासीमा चरम उत्साहको सञ्चार गराएको देखिएको छ।

 

काँग्रेसी राजनीतिको केन्द्रमा उदाएको भ्रष्ट स्व-केन्द्रित दाइ भाउजू हुकुमी तन्त्र, पेटिकोट मार्काको विज्ञ फरियाबाबु तन्त्र बिच जनता माझ काँग्रेसको केही सेख बचे दाइ-भाउजूको पेटिकोटे हुकुमी तन्त्र संग सम्झौता गरेरै किन नहोस मुलुकको भविष्यलाई तिलाञ्जली दिँदै आफ्नो भविष्य सुरक्षित गर्ने नियत लिएर हाल काँग्रेसका महामन्त्री लगायतका युवा नेताहरू काँग्रेस उम्मेदवार गोविन्द भट्टराई बोकेर तनहुँको गाउँ गाउँ घुमेको हिँडिरहेको भेटिन्छ।

 

गोविन्द भट्टराईले तनहुँमा यो उपनिर्वाचनमा चुनाव जिते केन्द्रमा दाइ-भाउजूको पेटिकोटे हुकुमी तन्त्र झन् मजबुत हुने, पेटिकोट ब्रान्डका फरियाबाबुहरू विज्ञको रूपमा उदाउने, तिनैको हातमा मुलुकको अर्थ तन्त्रको बागडोर पुग्ने र मुलुक झन् तन्नम हुने निश्चित छ। नजिते काँग्रेसका महामन्त्री लगायतका युवा नेताहरू बालिका बोका बन्ने स्थिति काँग्रेस जन माझ पैदा भएको छ।

 

एकातिर गोविन्द राज जोशी गुटको सहयोग काँग्रेस र एमाले दुवैले नपाउने अर्को तर्फ  एमाले उम्मेदवार सर्बेन्द्र खनाल जनतामा आफ्नो झिनो पकड समेत कायम राख्न नसकेको यथार्थ बिच एमालेको केन्द्रीय नेतृत्व समेत भित्री रूपमा आफ्नो मत स्वर्णिम वाग्ले तर्फ मोड्न सक्रिय बनिरहेको सङ्केतहरू जमिनको यथार्थले देखाउने गरेको छ।

 

काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई काँग्रेसको पुरानो नेता भएको तर तनहुँमा बताउन लायक केही पनि उल्लेखनिय योगदान नगरेको, घाँसी कुवा वरपर मात्र सीमित रहेर जनता बिच अपरिचित बनेका एक सहानुभूतिका पात्र भने हुन्। उनले चुनाव जितेमा अधिकतम काँग्रेसको केन्द्रमा पुगेर विद्यमान पेटिकोटे दाइ-भाउजू क्याबिनेटको फरियाबाबुहरूको नयाँ खेताला बाहेकको हैसियतमा आफूलाई स्थापित गर्न नसक्ने उनको यथार्थ संग  तनहुँका प्राय: सबै मतदाता प्रस्ट रहेकाले उनको विजय तनहुँमा लगभग असम्भवको हदमा पुगेको छ।

 

एकातर्फ चितवनमा पहिले भन्दा पनि फराकिलो बहुमतले रवि लामिछाने जित्ने निश्चित बनेको छ भने अर्को तर्फ लगभग सात हजार पाँच सय भन्दा अधिक मतको फरकले स्वर्णिम वाग्लेले तनहुँका गोविन्द भट्टराई लाई आफ्नै बल बुताले हराएर विजयी हुने निश्चित प्राय: बनेको छ। सोही प्रतिस्पर्धामा तनहुँमा एमाले वाट संसद्को उम्मेदवार रहेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा निकै पछाडि रहेको देखिएकोले अन्तिम अवस्थामा सर्बेन्द्र खनाल समर्थित मतदाता समेत स्वर्णिम वाग्ले लाई भोट हाल्ने स्थित विकास हुँदै गर्दा त्यसो भएमा स्वर्णिम वाग्ले चौध हजार भन्दा बढी मतले तनहुँमा जित्ने माहौल बन्ने छ।

यसै सन्दर्भमा तनहुँका भावी संसद् हुने निश्चित प्राय: भएका विद्वान मित्र स्वर्णिम वाग्लेलाई प्रवास वाट मैले यो खुला पत्र लेख्ने निश्चय गरेँ। व्यक्तिगत रूपमा म  स्वर्णिम वाग्ले संग परिचित नरहेको र सम्पर्कमा समेत नरहेकोले तनहुँका स्वर्णिम वाग्लेका कार्यकर्ता वा उनीसँग परिचित जो कोहीले मेरो निजी पत्र वहाँ सम्म पुर्‍याई दिनु होला भन्ने अनुरोध यसै साथ गर्दछु।

 

विद्वान मित्र अर्थ शास्त्री डाक्टर स्वर्णिम वाग्ले ज्यु,

 

तपाई लाई थाहै होला मात्र एक हप्ता भित्र तपाइले सोचे भन्दा पनि अधिक मतले आफ्नो संसद्को रूपमा तपाईँ लाई निर्वाचन गर्दै गरेको तनहुँ जिल्लाको सांस्कृतिक र धार्मिक गन्तव्य रूपमा रहेको देवघाटमा संसारकै पहिलो ऐतिहासिक प्लास्टिक सर्जन र आयुर्वेद चिकित्सा शास्त्री एवं शल्य चिकित्सक महर्षि सुश्रुत जन्मे। अभिज्ञानशाकुन्तलम्, मालविकाग्निमित्रका र विक्रमोर्वशीयमका लेखक कालिदास समेत तनहुँ मै जन्मेका थिए। ऋषि वेद व्यास, कवि तथा साहित्यकार भानुभक्त आचार्य आदिको जन्मस्थल तनहुँ नै थियो।

 

तनहुँको चर्चित धार्मिक तथा पर्यटकीय स्थलहरूमा देवघाट, बन्दीपुर, आँदिमूल  बराहथान, छाब्दी, बाराही, ढोर बाराही, व्यास गुफा, तनहुँसुर, छिम्केश्वरी, भानु जन्मस्थल र आदि भने हिजो तपाइ र तपाइको तिन पुस्ताले रगत बगाएको काँग्रेस पार्टीका नेताहरूको आपसी कलहले कहिल्यै आफ्नो पहिचान प्राप्त गर्न सकेन। । गण्डकी प्रदेश अन्तर्गतको जिल्ला तनहुँको प्रशासनिक सदरमुकाम दमौलीमा रहेको व्यास गुफा होस् वा विमल नगरको सिद्ध गुफा त्यसले कहिल्यै राष्ट्रिय महत्त्व पाएन।

 

 

तनहुँमा रहेका भानु, भीमाद, व्यास, शुक्ल गण्डकी लगायतको चार सहरी नगरपालिका र  आँबु खैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ्ग, घिरिङ र म्याग्दे जस्ता रमाइला बस्ती रहेका गाउँपालिका एमाले र काँग्रेसका नेता भोटको लागि लड्ने सङ्ग्राम भूमि मात्र बनी रहे। ती स्थानले त्यहाँको स्थानीय उत्पादन र सम्भावनाको अवसर खोजी गर्दै समग्र क्षेत्र लाई मुलुकको संवृद्धि दिन सक्ने गरी व्यावसायिक रूपमा सक्रिय भूमि बनाउने हुटहुटी बोकेको तपाईँ जस्तो योजनाकार र सक्षम व्यक्ति आफ्नो ख्याल गर्ने प्रतिनिधिको रूपमा कहिल्यै पाएन।

 

तनहुँको मर्स्याङ्दी नदीमा रहेको ६९ मेगावाटको जलविद्युत परियोजना कहिल्यै तनहुँ बासीको जीवन माथि उचाल्ने कार्यमा भूमिका खेलेन। बरु त्यसले उत्पादन गर्ने बिजुली वितरण हुने क्रममा हाम्रा स्वार्थ नेताको जेब सम्म पुग्ने गरेको रकम गाउँ गाउँ र टोल टोलमा काँग्रेस, कम्युनिस्ट र माओवादी नामको गुट बनाएर आपसी रूपमा जनता लडाउन र जनता लाई आजीवन तिनै तिन पार्टीको दमन सहन बाध्य पार्न सहयोगी बन्यो।

 

बन्दीपुरको सिद्ध गुफा नजिकै बन्दै गरेको आधुनिक केवल कार होटेल आदिले त्यो क्षेत्रको समग्र विकासमा कसरी राम्रो सहयोग गर्ला भनी त्यसलाई अधिक प्रभावकारी बनाउन कुनै नेताले कहिल्यै ध्यान दिएनन्। उल्टो यस्तो बन्दै रहेछ, त्यो बापत कहीँ कति यसो चुस्ने उपाय निस्कन्छ कि भन्नेमा त्यहाँका जनप्रतिनिधिहरूको र ठुला भनेका पार्टीका कार्यकर्ताहरूको अधिक चासो रहेको भेटियो।

 

तनहुँको मुख्य बजार क्षेत्र दमौली, आँबु खैरेनी, डुम्रे बजार, बन्दीपुर, भानु, खैरेनी टार, दुलेगौडा, र भिमाद लाई जोड्ने लिङ्क रोड र त्यसले दिन सक्ने उधमिकरणमा कुनै नेताले ध्यान दिएनन्। बरु मेरो चाकर र लम्पट कार्यकर्ताको घरमा कसरी धारो पुर्‍याउने, हिलो बाटो खन्न, अस्थायी संरचना निर्माण गर्न उसलाई कसरी कामको  ठेक्का दिने र आफ्नो चुनावमा उसले लगाएको धन र दौडाहाको ऋण तिर्ने भन्दा माथि एन इन्च पनि उनीहरूले सोचेनन्। ।

 

ती सबै बजार क्षेत्रमा मूलतः खाद्य बस्तु, पशु-चौपाया सामग्री, निर्माण सामग्री र लत्ता कपडाको कारोबार हुने गर्दछ। सबै बजार क्षेत्रमा स्थानहरूमा ९३ प्रतिसतको हाराहारीमा आयातित बस्तुहरू नै बिक्री हुने गर्दछ। त्यहाँका जनता आफ्नो सुन भन्दा महँगो अदुवा, गुर्जो, बोझो अर्को लाई कौडीको भाउमा बेच्दछन्। टिम्मुर मरटि, जेठी मधु, पिपला, मरिच बिक्री गर्छन्। घरमा गानो गोल जाँदा होस् वा ज्यान दुख्दा, ज्वरो आउँदा ठुला दलका मन्त्रीले कमिसन खाएर भित्र्याएको ओखती किनेर खान्छन्।

 

गाउँमा असुरो फालाफाल छ , मधुमेह र पिसाबको समस्या निको गर्ने ओखती किन्न पर्ने बाध्यता छ। परम्परागत  बुद्ध चिया भनिने तिते पाती,  निम, सालको पातको रस,  जामुनको गेडा, करेला, मेथी आदि खेर गएको छ, आयातित चिया पिउने गर्दछन्। गाउँ भर मुलतानी माटो, कालो माटो, रातो माटो जता ततै छ। त्यसै वाट बन्ने करोडौँ को कस्मोटिक दाइ भाउजू तन्त्रको कमिसनको चक्करमा यी बजारका मुख्य बिक्री हुने समान बनेका छन्। मिर्लुङ्ग कोटको तुलसी बाबरी, बोके खोलाको बोके झार, टारका आछ्यु झार बाँझोमा उम्रन्छ मर्छ। ती बजार हरू भने दाइ भाउजूको फरिया तन्त्रको कमिसन खोरले ल्याएको नस र रुवा खोकीको दबाइ बेच्छ।

 

जनतामा स्वरोजगार बढ्ने र जनता धनी हुने गरी नव-प्रवर्तनमा लगानी गरे दाइ-भाउजूको फरियाबाबुहरू र तिनका खेतालाहरूलाई चुनावमा सहयोग गर्ने सहयोगीहरूको बजारको बिक्री घट्ने हुँदा राज्यले त्यसमा लगानी गर्दैन।  फरियाराजको छनौट वाट योजना आयोग मा र मुलुकको बजेट बनाउने ठाउँमा पुगेकाहरू फरिया तन्त्रको सेवा गर्न पर्ने मूल्यमा योजनाको अन्तर कन्तरमा समेत यस्ता नव-प्रवर्तनका योजना नपरोस् भनी त्यसैको लागि खटाइने गरिन्छ। केन्द्रको नियोजित प्लान अनुरूप नेपाल अधिराज्य भारको र स्वतः तनहुँमा समेत नव-प्रवर्तन जस्ता विषय कुहिरोको काग बनिरहेको छ।

 

 

तनहुँको कुल १५७१८४ हेक्टर (१५७२ बर्ग किलो मिटर) जमिनमा मात्र ४२.१% खेतीयोग्य छ। खेती योग्यमा २६.४% पानी सिँचाइ भएको जग्गा छ। खेती योग्य जमिनमा मात्र ७९.२ % मा खेती लगाइने र बाँकी बाँझो रहने गरेको छ।  ६१३ वटा सामुदायिक, ४८५ कबुलियति, ६ धार्मिक र ८४ निजी बन रहेको तनहुँको ८३१.४ वर्ग किलोमिटर बन क्षेत्रले ओगटेको छ।

 

 

प्रतिव्यक्ति आय विक्रम संवत् २०७०-७१ मा ६६३ अमेरिकी डलर मात्र रहेको तनहुँको  जनसङ्ख्या २०७५ मा ३४२०६५ रहेको तथ्याङ्क भेटिन्छ। औसत वर्षा ५० देखि १०० मिली-लिटर हुने तनहुँको औसत वार्षिक तापक्रम २५ देखि ३० डिग्री सेल्सियस छ। जुन विश्वमै जडीबुटी र हर्बल खेती तथा मानव निवासको लागि उत्कृष्ट वातावरण हो।

 

हाम्रा मुलुकका राष्ट्रिय स्तरका भनी मुलुकले सम्मान गरेको हालको थिङ्क ट्याङ्क, विज्ञ र अर्थशास्त्रीको रूपमा कार्यरत दाइ-भाउजूका फरियाबाबुहरू विश्वमै जडीबुटी र हर्बल खेती तथा मानव निवासको लागि उत्कृष्ट वातावरण बोकेको पुण्य भूमि तनहुँमा कुनै हालतमा त्यसो हुन नदिन हात धोएर सिंह दरबारमा सक्रिय भूमिकामा छन्।

 

 

२०६८ को डाटा अनुसार तनहुँमा प्रतिव्यक्ति खेतीयोग्य जमिन ४ रोपनी जति हुन आउँछ। जुन बाह्रै महिनाको जलवायु र तापक्रमको उपलब्धता अनुरूप संसारको सरदरमा प्रशस्त नै हो। १४.८% जनता गरिबीको रेखा मुनी रहेको यो जिल्लाको मानव विकास सूचकाङ्क अत्यन्त दयनीय छ। तनहुँको प्रमुख खेती तथा व्यवसायमा दूध, सुन्तला, तरकारी, कुखुरा, बाख्रा, मसला (अलैँची र अदुवा), कफी, अन्न (धान मकै, कोदो, आलु) आदि देखिन्छ।

 

तनहुँले वार्षिक प्रति व्यक्ति किलोमा २३१ मध्यान्न, ११ दलहन, १ तेलहन,  ८७ तरकारी र १४ आलु उत्पादन गरेकोमा प्रति व्यक्ति किलोमा २०१ मध्यान्न, ३३ दलहन, ११ तेलहन,  १०८ तरकारी र २९ आलु उपयोग गरेको देखिन्छ। २०७५ मा ३० किलो मध्यान्न प्रतिव्यक्ति निर्यात गर्ने यस जिल्लाले प्रति व्यक्ति २२ किलो दलहन, १० किलो तेलहन, २१ किलो तरकारी र १५ किलो आलु बाहिर वाट खरिद गरी खाएको देखिन्छ।

 

यसले तनहुँ जिल्ला कृषि व्यवस्थापनमा डर लाग्दो विनाशकारी विफलताको (Catastrophic Failure) मार्गमा अघि बढिरहेको सङ्केत गर्दछ। खेतीको कमाइ वाट जीविका नधान्ने स्थिति नै तनहुँका  कृषक कृषि वाट विमुख बन्नुको कारक रहेको छ।

 

पटक पटक तनहुँको कृषि उद्यम प्रवर्धनमा असफल बनेका दाइ-भाउजूका फरियाबाबुहरू कागतमा राष्ट्रिय स्तरका थिङ्क ट्याङ्क, विज्ञ र कृषि अर्थशास्त्रीको रूपमा ठुलो सुविधा दिएर खटाउने गरिएको छ। उनीहरूको मात्र तिन प्रतिशत समय खेत बारीमा कृषक संग र सन्तानब्बे प्रतिशत समय दाइ-भाउजू ब्रान्डका विज्ञ फरियाबाबुहरू, संसद् र पार्टीका कार्यकर्ता संग बित्ने गरेको छ। माटो छुन लाग लाग्ने कृषि विज्ञ, गाई बस्तु छुँदा इज्जत जाने महसुस गर्ने भेटनरियन, घाँस त पाखेले काट्ने काम हो भन्दै हिँड्ने डाले घाँस कार्यक्रम प्रवर्धनका मुखिया तोकिएको छ।

 

तनहुँका स्थानीय र प्रान्तीय सरकारहरूको  किसानको स्वामित्वको जग्गा जस्तो छ त्यसैमा कम लागतमा उच्च उत्पादकत्व दिने नगदे खेती, बाली, जडीबुटी र गैर-टिम्बर प्रकृतिका सुगन्ध, औषधि दिने उत्पादनहरू तिर कहिल्यै अर्थपूर्ण ध्यान गएको देखिँदैन। विकास अड्डाका हाकिमहरू विदेशी उत्पादनको लागि नेपाललाई विदेशी कम्पनी र व्यापारको एकाधिकार बजार बनाउने नियत अनुरूपको शिक्षा र कृषि पद्धति अनुरूप अध्ययन, अनुभव र तालिम प्राप्त रहेकोले स्थानीयतामा उपलब्ध जनशक्ति, जमिन र वातावरणको उपयोग गरी संसार सँग प्रतिस्पर्धामा खरो निक्लन सक्ने नेपालीपनको दिगो कृषिमा आधारित उत्पादन, व्यवसाय र प्रविधिको विकास र उन्नति गर्न प्रभावकारी बन्न सकेको छैन।

 

तनहुँको विकासको जिम्मा लिएर बसेका विकास अड्डाका हाकिमहरू आफ्नो माटोको परम्परागत उत्पादकत्वको शक्ति, तनहुँको परम्परागत सिप, ज्ञान र प्रविधि लाई आधुनिक विज्ञानको उपलब्ध ज्ञान सँग जोडेर तनहुँको कायापलट गर्न सम्भव हुने माटोले मागेको प्रविधि र नव प्रवर्तनका उपायहरू पहिचान गर्न र त्यसलाई कार्यान्वयनमा लैजान उचित रूपमा प्रशिक्षण पाएको समेत छैनन्।

 

विकास अड्डाहरू प्रगति विवरण प्रगति योग्य देखाउन बाध्य बन्ने,  आफ्नै निजी वृत्ति विकासको जरुरतले अधिकांश समय नेता र माथिल्लो दर्जाको बडा हाकिमहरू रिझाउन बिताउनु पर्ने परिबन्धको सिकार बनेका छन्।

 

 

आफ्नो माटोको परम्परागत उत्पादकत्वको शक्तिको पहिचान गर्न नसकी स्थानीय सरकार आयातित रासायनिक मल, आयातित विषादी, आयातित बिउँ, दाना, खन्ने, जोत्ने सामग्री, इन्धन र खान्की तथा ओखतीको स्थानीयतामा पूर्ति नै मुलुकको विकास हो भन्ने निचोडमा पुगेको छ। त्यसमाथि दाइ-भाउजू ब्रान्डका विज्ञ भनी संसारभर परिचित फरियाबाबुहरूको निगाहमा उनकै खेताला पोस्ने गरी बिना ढेउवा गाऊका धेरै भन्दा धेरै युवाहरूलाई खाडीमा श्रम बेच्न  आउने गरेका  अरबका भिसालाई राज्यको असाधारण बहादुरी भनि घोषणा गरिने गरिएको छ।

 

तनहुँको रैथाने सिप, ज्ञान, क्षमता र बजार प्रतिस्पर्धा गर्ने स्थानीय खुबीको नव प्रवर्तनीय संयोजनको उपाय वाट घर घरमा सम्भव हुने उच्च मुनाफा युक्त उद्यम सञ्चालनको सम्भावना बारे स्थानीय सरकार अनविज्ञ छ। आफू अनविज्ञ रहेको विषयमा आफू जानकार रहने गरिँदैन भन्ने सामान्य अनुभूति नराख्नु तथा स्थानीय स्वरोजगारी व्यवस्थापनको इच्छा शक्ति च्युत बन्नु तनहुँका विकासको जिम्मा लिएका विकास अड्डाहरुको नियमित नियति बनेको छ।

 

स्थानियातामा रहेका र भएका, जसोतसो चलेका, नचलेका स्थानीय उद्यमको समेतलाई जानी नजानी संरक्षण गर्न नसक्नु तनहुँ जिल्ला उँभो नलाग्नुको मूल कारणहरू मध्येको एक कारक बनिरहेको छ। छिटपुट सुनियोजित रुपमा दाइ-भाउजू ब्रान्डका विज्ञ भनी संसारभर परिचित फरियाबाबुहरूको जटिल सञ्जाल अन्तर्गत जिल्ला भित्र कथित आधुनिक वैज्ञानिक नामधारण गरेको बिदेसी उत्पादन बिक्री गर्ने व्यवसाय, प्रविधि, कृषि र शिक्षा आदिको गुरु योजनाको कार्यक्रमहरू तनहुँमा  कार्यान्वयनको लागि भन्दै कहिले काहीँ आउने गर्दछ। आइपुगेका त्यस्ता सरकारी सहयोग र अनुदान फरियाबाबुहरूको निगाहमा उनकै खेताला पोस्ने गरी कागजमा सम्पन्न हुन्छन्। कागज मिले पुग्ने सरकारी संयन्त्र लाई  फिल्डमा काम होस् नहोस् खासै चासो रहन्न। बस फरियाबाबुहरूको निगाहमा रहन सके सबैले राम्रो र उत्कृष्ट भनी सूचीकृत हुँदै सम्पन्न भएको लाल मोहर भेट्ने गर्दछ।

 

फरियाबाबुहरूको ग्रान्ड डिजाइनले परम्परागत सिप, ज्ञान र प्रविधिलाई आधुनिक विज्ञानको उपलब्ध ज्ञान सँग जोडेर मुलुकको कायापलट गर्ने प्रविधि र नव-प्रवर्तनका कार्यक्रमहरू राज्यको आधिकारिक निकाय वाटै स्थानीयतामा भित्रन अघोषित रुपमै बन्देज हुने गरेको छ । फरियाबाबुहरूको सिफारिस अनुरुप केन्द्रिय राजनैतिक भूमिका अनुरुप  तनहुँ जिल्ला कहिल्यै नसुध्रने चक्र व्यूहमा फसिरहेको छ।

 

गैर-टिम्बर प्रकृतिका वनका सुगन्ध दिने जडीबुटीका उत्पादनहरूको लागि नेपाल अत्यन्त धनी छ। नेपालको उच्च हिमाली भागमा उत्पादन हुने जटामांसी, कुटकी, अतीस, बिस जरा, विषमा, निर मसी, धुपी, नागबेली, पद्म चाल, पाँच औले, यार्सागुम्बा, शिलाजीत, गुच्चीचौ, सोमलता, सतुवा, सुन पाती, लघु पात्रा, सुगन्धवाल, सी-बकथोर्न, जैतुन (ओलीव), देवदार आदि व्यावसायिक रूपमा कारोबार समेत हुने गरेको छ।

 

मध्य हिमाली क्षेत्रमा टिम्मुर, तेज पात/दालचिनी सिन्कौली, चिराइतो, पख वेद, लोट सल्ला, रुद्राक्ष,  कञ्चुर, रिट्ठा, मजिठो, धतुरो, कुचिला, असुरो, सुगन्धा कोकिला, इन्द्रायणी, बोझो, बन-लसुन, घिउ कुमारी, ठुलो ओखती, भ्याकुर, अल्लो, लोकता, झ्याउ, अलैँची, आदि सहज व्यवसाय सञ्चालन गर्न सकिने मात्रामा उत्पादन हुन्छ। तराइमा हर्रो, बर्रो, अमला, सतवारि, सिकाकाई, सर्प गन्ध, पिपला, तीतेपाती, खयर, असुरो, भ्याकुर, बनमारा, गुर्जो, बेल, राज वृक्ष, जीवन्ती, धतुरो, घोडताप्रे, कण्टकारी, नीम, बेत, छतिवन, मुस्ली आदि भेटिन्छ।

 

लगभग ८५% औषधीय र सुगन्धित बिरुवाहरू (MAP) मध्य-पश्चिमबाट र सुदूर-पश्चिम क्षेत्रहरूमा सङ्कलन हुने गरेको नेपालमा औषधीय र सुगन्धित जडीबुटीको क्षेत्रमा न त प्रभावकारी व्यावसायिक उत्पादन नै हुने गरेको छ न त भएको उत्पादनको प्रशोधन गरी त्यसको पुरा मूल्य मुलुकले लिन सकिरहेको छ। भूगोलको हिसाबले व्यापारिक सुगमता रहेको तनहुँ जिल्ला नेपालको त्यो अभावको खाडल पूर्ति गर्न उपयुक्त स्थानमा अवस्थित छ।

 

भित्री धेरै कच्ची-पक्की रोडको निर्माण, तिन मुख्य राष्ट्रिय सडकहरू तनहुँ हुँदै पार हुने (सडकको  कुल लम्बाई १८३७  किलो मिटर) आदि कारणले यातायातको उत्तम पहुँच उपलब्ध भएको जिल्लामा पर्दछ तनहुँ। उधमिकरण विकासको लागि उचित भौगोलिक अवस्थिति, लोभ लाग्दो प्राकृतिक वातावरण, बिजुली र पानीको सुविधा, बजारको सहज पहुँच आदि लगायतको परिपक्व आधारभूत संरचना उपलब्ध रहेकोले तनहुँलाई अन्यत्र भन्दा कम लगानीमा सहजै नेपालकै नव-प्रवर्तनको हबको रूपमा विकास गर्न सकिने सम्भावना देखिएको हो।

 

नेपाल भर पाइने औषधीय र सुगन्धित बिरुवाहरू मध्येमा लगभग ८० प्रतिशतको तनहुँमा सहजै व्यावसायिक रूपमै खेती गर्न सकिने भेटिएको छ।  मलिसिया र इन्डोनेसियाको अनुभव बाट औषधीय र सुगन्धित बिरुवाहरूको  उत्पादनको उधमिकरणले हाताहाती विकास जन्माउने प्रकृतिको हजारौँ इनोभेटिव योजना जन्माउने कुराको यकिन गर्न सकिन्छ। जसले हाल आधुनिक कृषिमा आधारित उत्पादनले भन्दा कम्तीमा १५० गुणा मुनाफा दिने निश्चित छ। साथै यसले मल, बिउँ, प्रविधि, ढुवानी, इन्धन आदिको नाममा मुलुक वाट डलर बाहिर जान रोक्ने मात्र होइन हाल बिग्रिएको पर्यावरणको समेत सुधार्नको लागि भूमिका खेल्दछ।

 

तनहुँको छिमेकी नारायणगढको व्यापारिक केन्द्रीयता तथा पोखराको पर्यटकीय मूल्यको कारण नारायणगढ र पोखरा बिचको तनहुँ उच्च मूल्यको औषधीय र सुगन्धित हर्बल पदार्थको उधमिकरण तथा नव-प्रवर्तनको हबको तथा आइटीको हबको रूपमा विकास गर्न अत्यन्त उपयुक्त ठाउँ समेत हो।

 

पछिल्लो समयमा व्यवहारिक विकासको मुद्दा भन्दा सैद्धान्तिक राजनीतिमा रमाउने प्रभावशाली राजनीतिज्ञहरूको अखडा बनेको तनहुँले हाल सम्म प्रकृतिले आफूलाई दिएको भौगोलिक र सामरिक तागत के हो भन्ने समेत पहिचान गर्न सकिरहेको देखिँदैन।

 

तनहुँले नेपाल अधिराज्यकै इनोभेसन क्षेत्रको सञ्जालको केन्द्रको (Innovation Cluster Hub) रूपमा आफूलाई विकास गरी समग्र नेपाललाई नयाँ पथमा लान सक्ने आफ्नो प्राकृतिक क्षमता, भौगोलिक अवस्थिति र सुगमताको तनहुँले हाल सम्म उपयोग गर्न सकेको छैन। म आफै के चिज हुँ र यसको मूल्य के छ भनी महसुस गर्नवाट तनहुँका जनता चुक्नु नै तनहुँ जिल्ला तुलनात्मक रूपमा द्रुततर विकासमा अत्यन्त पछाडि पर्नुको मूल कारण रहेको छ।

 

हरेक मुलुकले विकासमा उल्लेखनीय फड्को मार्नको लागि त्यसले आफूसँग विश्व बजार सँग प्रतिस्पर्धामा खरो उत्रिएर मुलुक भित्र डलर भित्र्याउन सक्ने आफ्नो प्रतिस्पर्धात्मक सहजताको अवसरहरू के के छन् भनी खुट्टाउन जरुरी पर्दछ। व्यापारिक मूल्यको आफ्नो उपयुक्त खुबी, प्रविधि, ज्ञान र स्रोतहरू कुन उपाय वाट संसारका मानिसहरूको जीवन सहज गर्ने उपयोगमा ल्याउन सकिन्छ त्यसको यकिन गरी सेवा वा बस्तुको उत्पादन गर्न सक्दा त्यस्ता उत्पादन र सेवाले सहज बजार पाउने गर्दछन्।

 

 

तनहुँको सन्दर्भमा विकासको पहिलो खुड्किलोको रूपमा रहेको स्थानीय उद्यमशील व्यवसायमा हर्बल इनोभेसन र आइटी हबको विकास नै पर्दछ।  हर्बल इनोभेसनको लागि हाम्रा परम्परागत ज्ञान र रैथाने उत्पादन हाम्रा  प्रतिस्पर्धात्मक सहजता दिने खुबी हुन् । हाल भारत, भुटान, चीन लगायतका अन्यत्र देशको भन्दा सस्तोमा नेपालमा आइटी स्पेसिलिष्टहरू विकास गरी काममा उपलब्ध हुने गरेको छ।

 

आइटी हबको लागि जरुरी हुने मानव संसाधनको तनहुँमा विकास र व्यवस्थापन गर्न सक्ने जनशक्ति र खुबी तनहुँका शिक्षित युवा वर्ग  सँग छ। त्यसको लागी सुरुवातमा  जरुरी हुने उद्यमशील र नव-प्रवर्तनीय शिक्षा, तालिम र संसाधन व्यवस्थापनमा तनहुँको राज्य संयन्त्रको इच्छा शक्ति जाग्न अनिवार्य छ।  त्यस्तो काममा सहकार्य गर्न राज्य आफै सक्रिय भएर लाग्नु जरुरी छ। उल्लेखित तपसिलका  दुई पक्ष व्यवस्थापन हुँदै गर्दा तपसिलका स्वस्थ र मानव कल्याण, लोकतान्त्रिक संलग्नता र खाद्य सुरक्षाका पक्ष सहजै व्यवस्थापन हुने छ।

नव-प्रवर्तनीय दृष्टिले तनहुँको विगत हेर्दा  ईश्वरको अमूल्य वरदान प्राप्त यो व्यास भूमि ठुला ठानिएका र भनिएका केही नेताहरूको निजी स्वार्थ गाँसिएको राजनैतिक रङ्ग दिइएको लडाइँको सेप लागेर ओझेलमा पर्‍यो। यथार्थमा यस भूमिमा हुनुपर्ने र यस धर्तीले प्राप्त गर्नुपर्ने  विकासका कार्य ओइलाएर गयो। फलतः विकासको फड्को मार्ने उद्देश्यमा निकै पछि पर्‍यो तनहुँ।

 

विगतमा जे हुनु भई सक्यो ! त्यसलाई पछाडि फर्केर सुधार्न पक्कै सकिन्न। तर पनि त्यस वाट ज्ञान लिएर तनहुँ लाई समग्र रूपमा उद्यमशीलता तर्फ अग्रसर गर्दै  घर-घरमा रोजगारीको अवसर पैदा गर्दै समाजलाई उत्पादन मुखी समाजको रूपमा सहजै परिवर्तन गर्न भने सम्भव पक्कै होला।

 

तपाईँ सायद उमेरले त मेरो भाइ नै हुनुहोला,

मेरा विद्वान मित्र अन्तर्राष्ट्रिय रूपमै ख्याति प्राप्त अर्थ शास्त्री डाक्टर स्वर्णिम वाग्ले ज्यु,

 

सामाजिक उद्यमशीलताको चरित्र ग्रहण गरेको समाजले मुलुककै लागि समग्र विकासको पूर्वाधार निर्माण गरिदिने छ। तनहुँ लाई नव-प्रवर्तनीय अवधारणा  मार्फत सामाजिक संवृद्धि ल्याउदै कायापलट गर्ने अभियानको शीघ्र खाँचो छ। तपाई यो चुनाव जितेर मेरो समेत जन्म भूमि रहेको यो क्षेत्रको नेता त बन्दै हुनु हुन्छ। यसमा अब कुनै विवाद रहेन।

 

मेरो प्रश्न तपाईँ संग एक तर्फ केन्द्रीय स्तर वाट हुकुमी तन्त्र चलाउने पेटिकोट ब्रान्डका  दाइ भाउजूका फरियाबाबुहरूले खेताला लगाएर पतेराले धान चुसे झैँ चुसेर निरस पारेको ओइलाएको तनहुँ छ। अर्को तर्फ, तपाइले साँढे रुपी स्थानीय नेताको जुधाइले फोष्टो  धान बारीमा बचेको पराल पनि सोतर पारेको निरस बिजोग भएको धान खेत सुधारेर तनहुँ जिल्ला र मुलुक बनाउन सङ्कल्प गर्न पर्ने भएको छ। काँग्रेस, एमाले र माओवादीका मुलुक हैन पार्टी र पार्टीका दलाल मात्र हेर्ने नियत बोकेका नेताले थोपरेको यो विकृति र फोहर धैर्य रहेर, अविचलित भएर, जनताको पक्षमा काम गरेर यसलाई चिरेर अघि बढ्ने र तनहुँ जिल्ला लाई यसको नाम अनुरूपकै जिल्ला बनाउन तपाइको विज्ञता त्यसैमा खन्याउने तागत, सङ्कल्प र इच्छा शक्ति के तपाई संग छ ?

उत्तर पाऊ।  जय नेपाल।

 

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा) ।

41Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: