मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बीज मन्त्रले दियो कम्प्युटर कोडिङको पहिलो आइडिया।

अथर्ववेदाचार्य नारायण घिमिरे।

परापूर्व कालमा समस्या समाधानका गहिरा उपाय वा सिद्धान्त वा मन्त्र आफ्नो स्मरणमा राख्न त्यसलाई कोड वर्डको रूपमा ढालेर कण्ठस्थ गर्ने र त्यही कोड आफ्नो शिष्यहरू लाई सिकाएर एक पुस्ता वाट अर्को पुस्तामा हस्तान्तरण गर्ने विधि लिइएको थियो। वैदिक विद्याहरूको स्मरण गर्ने र हस्तान्तरण गर्ने नियतमा बनेका त्यस्ता मन्त्र हरूलाई वीज मन्त्र भनियो। जस्तै रुखको बीजको सही सदुपयोग भयो भने विशाल वृक्ष बन्न सम्भव हुने गर्दछ। बीज मन्त्रको समेत सही डिकोड गरी त्यसको सदुपयोग भयो भने त्यसले दिने उपाय मार्फत आफ्ना दैनिक समस्याहरू समाधान सम्भव हुन्छ। त्यो बीज मन्त्र वास्तवमा कस्तो थियो र त्यसको अर्थ र चुरो पक्ष के हो भन्ने बारे एक चोटि पुनरावलोकन गरौँ।

 

सामान्य रूपमा बीज मन्त्र तीन प्रकारले कोडिङ हुन्छ। एक अक्षरको एकाक्षर वा आधारभूत, दुई अक्षरको बिजाक्षर वा कम्पाउन्ड र दुई भन्दा बढी अक्षरको घनाक्षर वा कोड।

 

ऐं, यं, रं, लं, वं, क्षं  आदि जस्ता एकाक्षर बीजलाई मौलिक बीज मन्त्र मानिन्छ। त्यो मूल बीज हो।

 

दुई अक्षरको संयोजन बाट निर्मित यौगिक अक्षर ह्रीं, क्लीं, श्रीं, स्त्रीं, क्ष्रौं आदि बिजाक्षर हो। त्यसै गरी तीन वा सोभन्दा बढी अक्षरहरू मिलेर बनेको घनाक्षर बीज वा कोड रुपी बीज मन्त्र ह्रीं, क्लीं, श्रीं, स्त्रीं, क्ष्रौं आदि हुन्।

मन्त्रको कोड लाई कूट बीज भनिन्छ।

वैदिक मन्त्रको कूट बीजको अवधारणा नै कम्प्युटर निर्माण पूर्व कोडिङ आदिको अवधारणा विकास गर्न, अल्गोरिदम आदिको विकास र परीक्षण गर्ने अवधारणा विकास गर्न मूल उत्प्रेरक खुराक बनेको देखिन्छ।

मन्त्र साधनाको रहस्य भन्दछ ‘‘अमन्त्रमक्षरं नास्ति नास्तिमूलमनौषधम्’’। अर्थात् कोही यस्तो अक्षर हुँदैन जुन मन्त्र न होस। त्यस्तै कोही यस्तो वनस्पति हुँदैन जुन औषधि न होस। औषधि बिग्रिएको स्वस्थ सुधार गर्ने व्यवहारिक विकल्प हो।

 

आफूले लक्ष गरेको उद्देश्य प्राप्ति गर्नको लागि जरुरी हुने प्रकृति नियमको सिद्धान्त मैत्री व्यवहारिक उपाय, तौर तरिका र सिद्धान्त जसले आफ्नो लक्ष प्राप्तिको मार्ग सहज गर्ने विकल्प दिन्छ त्यसलाई मन्त्र भनिन्छ। हरेक कार्य सम्पन्न गर्नको लागि निश्चित प्रकारको शक्तिको जरुरत हुने हुँदा बीज मन्त्रलाई समग्र प्रकृतिमा उपलब्ध शक्तिहरू बारे सङ्केत गर्नको लागि प्रयोग गरिन्छ। जस्तै केही महत्त्वपूर्ण बीज मन्त्रको अर्थ हेरौँ।

 

प्रसिद्ध बीज तथा त्यसको परम्परागत वैदिक मन्त्रको अर्थ:

ॐ  शब्द ईश्वर वा समग्र प्रकृतिको निर्माण गर्ने शक्ति। ॐ ले सम्पूर्ण शक्तिको श्रोत र सर्वत्र नियमित रहने अवलोकन कर्ता लाई जनाउने गर्दछ। जुन ब्रह्माण्ड चेतना हो। व्यक्तिको चेतना वा आत्मा समेत ब्रह्माण्ड चेतनाको सीमित अंश मानिन्छ जुन  ब्रह्माण्ड चेतना संग नियमित संसर्गमा रहन्छ।

ह्रीं शब्द माया बीज हो। जसमा रहेको “ह” ले शिव, “र” ले प्रकृति, “नाद” ले ब्रह्माण्ड चेतना रुपी विश्व माता शक्ति तथा त्यहाँ लेखिने सङ्केत “बिन्दु” ले दुःखको उन्मूलनको सङ्केत गर्दछ। माया वीज शब्द ह्रीं ले तसर्थ समग्रमा विशिष्ट निर्माणको हेतुले ध्वंस गर्ने देव शिवकी आद्याशक्ति आदि माता शिवयुक्त जननी आद्या शक्ति (पार्वती) मलाइ यो मायावी आशक्ति तथा एट्याचमेन्टका कारण उत्पन्न भएको दुःख र हैरानी वाट मुक्त गरिदिनु भन्ने अर्थ दिन्छ।

श्रीं शब्द लक्ष्मी बीज हो। श्री बीज अर्थात् लक्ष्मी बीजको शब्द श्रीं को “श” ले  महालक्ष्मीको अर्थ दिन्छ। धन को अर्थ दिने “र”, महामाया को अर्थ दिने “ई”, विश्व माताको अर्थ दिने ” नाद” तथा  दुःख वाट पार लगाइदिनु भन्ने सङ्केत “बिन्दु” को हुने गर्दछ। यस अर्थमा धन कि अधिष्ठात्री जगत जननी देवी लक्ष्मी कृपया मेरो दुःख हटाई दिनुहोस् भनेको हुन्छ।

क्रीं लाई काली बीज भनिन्छ। शब्द “क्रीं” बनेको अक्षर  क् = काली, र् =  प्रकृति, ई = महामाया, नाद = विश्व माता र बिन्दु = दुःखको उन्मूलन अर्थ दिने छ। तसर्थ काली बीज या कर्पूर बीज समेत भनिने क्रीं बीज शब्दले माता देवी महाकाली मेरो दुःखहरू नष्ट गरिदिनु भन्ने अर्थ दिन्छ।

ऐं सरस्वती बीज मन्त्र हो। वागभवबीज समेत भनिने सरस्वती बीज मन्त्र “ऐं” बनेको अक्षर ऐ = सरस्वती, नाद = विश्व माता र बिन्दु = दुख हरण हुन्छ। तसर्थ यस बीजको अर्थ हुन्छ ‘माता देवी सरस्वती मेरो दुःख हटाइदिनु।

क्लीं कृष्ण बीज मन्त्र हो। काम बीज समेत भनिने कृष्ण बीज मन्त्र “क्लीं”  क = योगस्त श्री कृष्ण, ल = दिव्य तेज, ई = योगीश्वरी या योगेश्वर तथा बिन्दु सङ्केत = दुःखको उन्मूलन हो। तसर्थ यस काम बीजको समेत मानिने कृष्ण बीज आशय अनुरूप दैनिक काम बीजको सन्दर्भमा ” हे राज राजेश्वरी योगमाया मेरो दुःख हटाइदेऊ।’ भन्ने लाग्दछ। त्यसको साथै कृष्ण बीजको सर्वश्रेष्ठता प्राप्तिको सन्दर्भमा ” हे योगेश्वर श्रीकृष्ण मेरो लक्ष अप्राप्तिको पिडा वाट मलाइ मुक्त दिनु” भनेको हुन्छ।

दूं शब्द लाई दुर्गा बीज भनिन्छ। जसमा द् = दुर्गतिनाशिनी दुर्गा, सङ्केत ¬ ( “~” वा “¬”) = संरक्षण र बिन्दु = दुःख उन्मूलन भन्ने लाग्दछ। तसर्थ दुर्गा बीजको दूं शब्दको अर्थ ‘दुर्गति नाशिनी दुर्गा मेरो दुर्गति वा दुर्गतिमा पर्न सक्ने जोखिम वाट मलाइ रक्षा गर भन्ने नै हो।’

स्त्रीं शब्द वधू बीज या तारा बीज हो। बधू वीज वा तारा बीजमा स् =  दुर्गा, त् = तारा, र् = प्रकृति, ई = महामाया, नाद = विश्व माता र बिन्दु सङ्केत = दुःखको हरण भन्ने लाग्दछ। तसर्थ वधू बीज बीजको अर्थ ‘जगत माता महामाया तारा मेरो दुःख हटाइदेऊ’ भन्ने हो।

हौँ शब्द प्रसाद बीज वा शिव बीज हो। जसमा ह् = शिव, औ = सदाशिव र बिन्दु सङ्केत = दुख हरण हुन्छ। तसर्थ शिव बीज बीजको अर्थ ‘भगवान् शिव र सदाशिवले मेरो दुःख हरण गरुन् भन्दछ।

हुँ शब्द वर्म बीज या कूर्च बीज हो। जसमा ह् = शिव, ¬ = भैरव, नाद = सर्वोच्च (विश्व माता)  तथा बिन्दु सङ्केत =  दुःखको उन्मूलन हुने गर्दछ। तसर्थ वर्म बीज या कूर्च बीजले “भयङ्कर असुर एवं सर्वश्रेष्ठ भगवान् शिवले मेरो दुःख हटाउन सहयोग गर्नुहोस्।” भन्ने अर्थ दिन्छ।

हं शब्द हनुमद्  बीज हो। जुन ह् = अनुमान, अ् = सङ्कट मोचन र बिन्दु सङ्केत = दुःख निवारण हुन्छ। तसर्थ हनुमद्  बीज “हं” ले “सङ्कट मोचन कर्ता हनुमान मेरा दुःखहरू हटाउनुहोस्” भन्ने अर्थ दिन्छ।

गं शब्द गणपति बीज हो। जुन ग् = गणेश, अ् = विघ्न बाधाहरू नाश गर्ने र बिन्दु सङ्केत = दुःख हटाउने हुन्छ। तसर्थ गणपति बीज “गं” शब्दको अर्थ  “विघ्न बाधाहरू नाश गर्ने भगवान् गणेश मेरा दुःखहरू हटाइदिनुहोस्” भन्ने अर्थ दिन्छ।

क्ष्रौं शब्द नृसिंह बीज हो। जुन क्ष् = नृसिंह, र् = ब्रह्म, औ = दिव्य र तेजस्वी र बिन्दु सङ्केत = दुख हरणको अर्थ दिने गर्दछ। यसैले  नृसिंह बीजको अर्थ “दिव्य र तेजस्वी ब्रह्म स्वरूपको श्री नरसिंह मेरा दुःखहरू हटाइदिनुहोस्” भन्ने अर्थ दिन्छ।

बीज मन्त्रको भावनाले सङ्केत गर्ने ईश्वर वा समग्र प्रकृति शब्दले ब्रह्माण्ड चेतनाले नियमित कम्पनमा रहने आदिम ऊर्जा रूप अर्थात् परमात्माको सङ्केत गर्दछ। ब्रह्माण्ड चेतना कन्सन्ट्रेटेड हुँदै सानो बाक्लो कम्पनयुक्त नाडी विकास गर्ने बिन्दुको रूपमा परिवर्तन भएर जीवको शरीर लाई कैद गरी राख्ने शक्ति बन्दछ। जसलाई आत्मा भनिन्छ।

 

योनिमन्ये प्रपद्यन्ते शरीरत्वाय देहिनः ।

स्थाणुमन्येऽनुसंयन्ति यथाकर्म यथाश्रुतम् ॥ कठ उपनिषद् ७॥

कठ उपनिषद् ७ अनुसार आफ्नो कर्म र ज्ञान अनुसार कुनै आत्मा जीव गर्भ गृहमा प्रवेश गरेर जीवको रूपमा व्याप्त रहन्छन् भने कुनै अचल बीज गर्भ गृहमा प्रवेश गरी वनस्पतिको रूपमा (स्थाणुमन्येऽनुसंयन्ति = वृक्षादीस्थावरभावम्) व्याप्त हुन पुग्दछन्।

आत्मा व्यक्तिको चेतन शक्ति हो। चेतन शक्ति नियमित अवलोकन कर्ताको रूपमा अस्तित्वमा रहन्छ। चेतन शक्तिले अवलोकन गरेको स्मरणको सँगालोलाई चित्त भनिन्छ।

चित्तको स्मरणको आधारमा व्यक्तिले अवलोकन कर्ताको अस्तित्वको सट्टा आफ्नो भौतिक अस्तित्वलाई आफू र मेरो आफ्नो भन्ने अवधारणा निर्माण गर्दछ। जसलाई आफ्नो भन्ने पहिचानको जरुरत पर्दछ। जसबाट व्यक्तिको इगो अर्थात् अहङ्कारको विकास हुन्छ। अवलोकन कर्ता र चित्त वृत्तिले विकास गरेको अहङ्कारको नियमनको लागि  त्यहाँ अर्को शक्तिको जरुरत हुन पुग्दछ। जसलाई मन भनिन्छ।

स्मरणको सँगालो वाट बन्ने चित्त वृत्तिको अनुभूतिले विकास गर्ने अतृप्त चरित्रको मन शक्तिलाई सन्तुलनको जरुरत पर्दछ। जसको लागी आफ्नो विवेक वा बुद्धिमत्ताले नियन्त्रण गर्न मनस अर्थात् बुद्धि शक्ति सक्रिय बन्दछ।

अत्यन्त चुलबुले चित्त र चञ्चल मनको वृत्तिको अर्थात् मनोवृत्तिको प्रभावलाई यन्त्रित रूपमा नियन्त्रणमा लिई तौलिएर उपयुक्त निर्णय लिने र आफ्ना पाँच कर्मेन्द्रिय र पाँच ज्ञानेन्द्रिय परिचालन गरी व्यक्तिको बुद्धिमत्ताले जीवको कर्म सम्पन्न हुने गर्दछ।

मनमा व्यक्तिको बुद्धिमत्ता अर्थात् बुद्धि प्रभावशाली सल्लाहकारको भूमिकामा र चित्त अर्थात् दिल आन्तरिक हठ युक्त दबाब शक्तिको भूमिकामा जोडिएर रहेको भेटिन्छ। मन, बुद्धि, चित्त र अहंकार अंतःकरणको चार विभागको रूपमा पारस्परिक रूपमा काम गरिरहेको  हुन्छ।

मन्त्रहरूमा प्राय आउने शब्दहरू  ॐ समग्र प्रकृति निर्माण शक्ति हो। व्यक्तिको स्वस्थको हकमा यसलाई आत्मबल भनिन्छ।  दुस्मनीको हकमा चुरो विवाद उत्पन्न हुने कारकको समाधानको उपाय यसलाई मानिन्छ। खगोलमा ॐ ले मूल शक्ति जसमा सम्पूर्ण गतिशील ब्रह्माण्डीय पिण्ड हरुको शक्ति सन्तुलनको मुख्य आधारको अस्तित्व लाई सङ्केत गर्दछ। यसैलाई तपाइले औषधि उपचारको मन्त्रमा देख्नुभयो भने रोग उत्पन्न हुने, निको नहुने र बढ्दै जाने लक्षणको मूल कारकमा खोज्नु पर्ने समाधान भन्ने अर्थ दिन्छ।  मन्त्रहरूको निचोडले दिने अन्य शब्दहरू जस्तै  शिव, शिवकी आद्याशक्ति  पार्वती, महालक्ष्मी, महाकाली, सरस्वती, श्रीकृष्ण, दुर्गा, महामाया तारा, असुर, भगवान्, हनुमान, गणेश, श्री नरसिंह, सूर्य, चन्द्र, मङ्गल, बृहस्पति, बुध, शनि, यम आदि जस्ता शब्द चयन भएको देखिन्छ। जीवनका हरेक पक्षको समस्याको समाधान वा अवसरको खोजीमा सफलता प्राप्त गर्न उपयोग हुने यी शब्दको परिस्थिति विशेष अर्थहरू कोडिङ भएर बनेको छन्।

तिनै कोडिंगहरु लाई मन्त्र मार्फत स्मरण गरेर हरेक कुराको ज्ञान प्राप्त गर्न वा समस्या समाधानको उपायको ज्ञान पुस्तौँ पुस्ता हस्तान्तरण गर्न हाम्रा पुर्खाले उपयोग गरेको देखिन्छ। हाम्रा वैदिक परम्पराका कोडिङको तरिकाको अवधारणा कम्प्युटर निर्माण पूर्व मात्र अँन र अफको बाइनरी  कोडिङको अवधारणा विकास गर्न उदाहरण बनेको र आजको क्वान्टम युगमा त्यसमा गति, लोकेसन र अन्य रिफरेन्स समेतको उपयोग गर्ने तर्फ कम्प्युटर प्रविधि अघि बढिरहेको हामी सबैलाई अवगत नै छ।

यसरी समग्रमा हेर्दा वैदिक बीज मन्त्रको अवधारणा वाट कम्प्युटर निर्माण पूर्व कोडिङको अवधारणा विकास भएको प्रस्ट हुन्छ। यसरी मानव इतिहासको हरेक पलमा आधुनिक वैज्ञानिक समाजको विकास गर्न तथा प्रविधि विकास र इनोभेसन गर्न  वैदिक कालिन विज्ञानको अवधारणा अत्यन्त सहयोगी बन्दै आएको छ। जुन आजको क्वान्टम युगमा विज्ञान प्रवेश गर्दै गर्दा झन् अधिक उपयोगी बनिरहेको छ।

यो सन्दर्भमा बीज मन्त्रहरू वाट बनेको शरीरको वजन कम गर्न वैदिक मन्त्रको रूपमा चर्चित अग्नि गायत्री मन्त्र र दुर्गा मन्त्र जपको अर्थ यस्तो लाग्ने गर्दछ।

ऊँ महाज्वालाय विद्महे अग्नि मध्यमय धीमहि |

तन्नो: अग्नि प्रचोदयात || अग्नि गायत्री मन्त्र ||

 

अग्नि गायत्री मन्त्रको चलन चल्तीको भावार्थ: ऊँ। मलाई महान् अग्निको ज्वालाको सान्निध्य ध्यान गर्न दिनुहोस्। हे अग्निको भगवान्, मलाई उच्च बुद्धिमत्ता  प्रदान गर्नुहोस्। हे तेजस्वी अग्निको भगवान् मेरो मनलाई ज्ञानको उज्यालो दिनुहोस्।

 

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।

शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते || दुर्गा मन्त्र ||

 

दुर्गा मन्त्रको चलन चल्तीको भावार्थ: दुर्गा सारा संसारका जीवहरूको शुभ प्रदायक पवित्र र दैवी शक्ति  हुन्। उनी सम्पूर्ण चराचरहरूको उत्थानमा लाग्नेहरूको शुभ प्रदायक हुन्। उनको भूमिकामा तल्लीन रहेका (उनमा आत्मसमर्पण गरेका) हरूको उनले रक्षा गर्छिन्। हिमाली राजाकी छोरी, त्रिलोककी माता गौरी माताको नामले समेत चिनिने दुर्गालाई मा बारम्बार नमन गर्दछु। पूजा  गर्दछु।

 

मोटो पन उत्पन्न हुने कारकको समाधानको उपाय (ऊँ) अन्तर्गत अग्नि गायत्री मन्त्रले मिठो स्वाद हुने र तुरुन्त पच्ने र शरीरमा पोषण दिने अन्नमा आफ्नो आशक्ति घटाउने सल्लाह दिन्छ। तर पनि मानिस जीवित रहन, दैनिक कार्य गर्न उसलाई न्यूनतम शक्तिको जरुरत पर्दछ। त्यस परिस्थितिको समाधानको लागि दुर्गा मन्त्र समेत जोडिएर आउँदछ। त्यसमा वाचन हुने मोटो पन नियन्त्रणको सन्दर्भमा वाचन गरिने दुर्गा मन्त्रको आशय यस्तो हुने गर्दछ।

 

यो दुई मन्त्रले वेदका ज्ञाताहरूलाई यस्तो सेन्स दिने गर्दछ।

 

अग्नि गायत्री मन्त्रको यो सन्दर्भको चुरो अर्थ यस प्रकार लाग्दछ। “मोटो पन उत्पन्न हुने कारकको समाधानको उपाय (ऊँ) खोज्नको लागि पाचन रस र त्यसको सान्निध्यमा घटित हुने पोषणको प्राप्ति बारे (अग्निको भूमिका) सचेत बन। पाचन पछि शरीरमा प्रचुर शक्ति वा बोसिय तत्त्व दिने अन्न ( हे अग्नि भगवान् – ३३ कोटी भगवानमा अन्न समेत पर्दछ र अग्नि मैत्री अन्न भनेर बोसिय तत्त्व निर्माण गर्ने कर्बोहाईड्रेड अधिक भएका अन्नहरू पर्दछन्) कम खाने बानीको विकास (उच्च बुद्धिमत्ता  प्रदान – मिठो प्रतिको आशक्ति घटाउने शक्ति) गर्ने व्यवहारिक क्षमता विकास (मनलाई ज्ञानको उज्यालो) गर्नु होस्।” यहाँ मन शब्दले तपाइको आफ्नै आत्मा बल भन्ने तर्फ सङ्केत गर्दछ।

 

“मोटो पन कम गरि शरीर लाई स्फूर्त राख्न (सारा संसारका जीवहरूको शुभ प्रदायक पवित्र र दैवी शक्ति) शारीरिक वजन कम गर्ने तर मानसिक गतिविधि कायम गर्न सहायक हुने (पवित्र र दैवी शक्ति दुर्गा) तत्त्व तपाइको खान, पान र आचरणमा (दुर्गा शक्तिमा आत्मसमर्पणको) जरुरत हुने छ।

 

प्रकृति मैत्री फलफूल र सागपातको (हिमाली राजाकी छोरी) मनोवैज्ञानिक सबलता तथा शारीरिक परिचालनको हार्मोनी दिने तत्त्व, यथार्थमा फाइटोकेमिकल जसले पहिलो अन्नको कम ग्रहण गराउन भूमिका खेल्छ, दोस्रो मनोवैज्ञानिक सबलता थपेर स्वस्थ वृद्धि गर्दछ र तेस्रो शरीरमा उत्पन्न विकार शरीर वाट  हटाउन सहयोग गर्छ ( त्रिलोककी गौरी माता)। तिमीले त्यही विनि नियमित अपनाउनु (पूजा  गर्दछु)।  यस बानी लाई आफ्नो नियमित खाद्य आहार लिने बानीको रूपमा विकास (दुर्गालाई बारम्बार नमन) गर्नु।”

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: