मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अध्यात्म र यौन ।

प्रेम, सेक्स र अध्यात्म नितान्त फरक कुरा हुन्। सन्तुलित सेक्स र अध्यात्म तपाइ लाई प्रकृतिले दिएको उत्कृष्ट सफलता प्राप्तिको  मार्गको उपहार हो। आनन्द वा ब्लिस प्राप्तिको उपाय हो। प्रेम र काम वासनाको अतृप्त भोक भने त्यसको ठिक विपरीत तपाइको प्रगति र मुक्तिको बाधकको रूपमा प्रकृतिले तपाइमा बनाइदिएको तपाइको कमजोरी हो।

नारायण घिमिरे

 

मानिसको शरीरमा आत्मा हुन्छ। आत्मा प्रकृतिको अर्थात् ईश्वरीय प्रज्वलित ऊर्जा युक्त दिव्य स्पार्क अर्थात् प्रकाशको किरण निर्मित तत्त्व हो। त्यही आत्मा निर्मित मनले पैदा गर्ने इच्छा शक्तिले नियन्त्रण गरेको विचार वाट मानिस सञ्चालित हुन्छ। यो वैदिक मान्यता अन्तर्गतको आध्यात्मिक विचारधारा हो। उल्लेखित आध्यात्मिक तर्क भन्दा फरक मानिसको नियमित हिँड्ने, बोल्ने, सोच्ने र काम गर्ने जस्ता गतिविधिहरू मानिसको दिमाग नियन्त्रित रहेको अवधारणा दशकौँ देखि विज्ञानले दावा गर्दै आएकोले यसलाई वैज्ञानिक रूपमा स्थापित रहेको भनिएको थियो।

 

अध्यात्म विज्ञानको हालको परीक्षणको कसीको क्षमता भन्दा बाहिरको विषय बनेकोले विज्ञानले अध्यात्मतक रूपमा महसुस गरी बाहिर आएका तथ्य लाई गलत प्रमाणित गरेको अवस्था होइन। मात्र विज्ञानको आफ्नो हाल सम्मको विकसित क्षमता अनुरूप वैदिक अध्यात्मको कुरा सही रहेको नरहेको परीक्षण गरी नतिजामा पुग्न नसकेको अनिर्णीत बिन्दुमा पुगेको मात्र हो। तर आज विज्ञानले आफ्नो परीक्षणको क्षमताको दायरा थोरै फराकिलो पार्न सकिरहेको छ।

 

विज्ञान आफै आफ्नो वैज्ञानिक मान्यतामा परिमार्जन गर्दै वैदिक मान्यताको आध्यात्मिक विचारधारा वाट मानिस सञ्चालन हुने अवधारणा सही रहेको अनुमान लगाउँदै थप अनुसन्धान गर्दै आफूले भेटेका थप तथ्य र तर्फ सहितको वैज्ञानिक अवधारणा विकास गरिरहेको छ। जसले गर्दा दिन प्रति दिन विज्ञान वाटै उजागर हुँदै गएका नयाँ तथ्यहरू आध्यात्मिक रूपमा महसुस गरिने यथार्थको पुष्टि हुने गरी बाहिरिने गरेको छ।

 

विगतको दुई सय वर्ष देखि वैज्ञानिक र आफूलाई आधुनिक भनी विश्वास गर्ने ठुलो एलिट वर्ग विज्ञानले थोपरेको केही अत्यन्त भ्रमपूर्ण निष्कर्षमा आफ्नो जीवन व्यतीत गरे। जस्तै मानिसको एक मात्र वास्तविकता मस्तिष्कमा रहेको विद्युतीय र रासायनिक गतिविधि हो। चेतना एक भ्रम हो। मानिस रोटी वाट हैन दिमाग वाट सञ्चालित हुन्छ।  यस्ता भ्रमपूर्ण निष्कर्ष निकाल्ने विज्ञान आज मानिस न रोटी, न दिमाग, बरु मन निर्देशित विचार वाट सञ्चालित हुने निचोडको अत्यन्त करिब पुगेको छ। निकट भविष्यमै विज्ञानको पहुँच आत्माको मन माथिको भूमिकाको परीक्षण सम्म पुगी परमात्मा, आत्मा र विचारको अन्तर सम्बन्ध बारे वैज्ञानिक तथ्य बाहिर आउने विश्वास गर्न सकिन्छ।

 

विज्ञानले पेस गरेको प्रमाण अनुरूप कम्प्युटरमा संलग्न क्यामेराले खिचेको फोटोमा क्यामरा आफैले फोटोको खिचिएको बस्तुको रङ्ग चिन्छ र त्यसलाई के गर्ने भनी त्यसपछिको प्रशोधन गर्छ भन्ने गर्दथ्यो। विषयगत पक्षको रूपमा रहेका रङ्ग होस् वा अन्य विषयगत कुरा, तिनीहरूलाई चिन्न र निर्णय लिन मानिसको मस्तिष्क लाई चेतना जस्तो कुनै रहस्यमय चीजको सहारा लिनु आवश्यक छैन। बस्तुको रङ्ग के रहेछ भनेर थाहा पाउनु कुनै चेतना हैन कम्प्युटरको अर्को पहिचानको कम्प्युटिङ्ग कार्य हो। यस्तै प्रकृतिको प्रमाणको आधारमा विज्ञानको निचोड थियो मानिसको एक मात्र वास्तविकता मस्तिष्कमा हुने विद्युतीय र रासायनिक गतिविधि हो। चेतना वा कन्ससनेस भ्रम हो। तपाइले देखेको सपना जस्तै चेतनागत अनुभवहरू मिथ्या हो।

 

आज वैज्ञानिक नयाँ तथ्य भन्दै  विज्ञानको अर्को निचोड हाम्रो सामु आएको छ। फोटोनको कुनै रङ्ग हुँदैन। हामीले जुन चिजलाई रातो देख्दछौ, त्यो चिजलाई अर्को प्राणीले पनि  रातो नै देख्छ वा देख्दैन भन्ने समेत विज्ञानलाई यकिन छैन। कम्प्युटरको क्यामेराले खिचेको फोटोको रङ्ग कस्तो छ भनी कम्प्युटर आफैले निर्धारण गरेको होइन। कम्प्युटरले त्यसको आकृतिको स्मरण मात्र सङ्कलन गरी राख्न सफल भएको हो। वस्तुको आफ्नो रङ्ग अनुरूपको परावर्तित स्पेक्ट्रममा रहेको प्रकाशको किरण स्नायु प्रणालीद्वारा प्रशोधन नहुँदा सम्म त्यहाँ रङ्ग रहेको अनुभूति नै नहुने रहेछ।

 

विज्ञानको नयाँ यकिन अनुसार क्यामेरा र कम्प्युटरमा कुनै पनि अवधारणात्मक क्षमता रहँदैन। अनुभूति स्नायु प्रणाली द्वारा भित्र सीमित भएर सम्भव हुने कुरा हो भन्ने विज्ञानको पहिलेको यकिन अब फेरिएको छ। वस्तुको रङ्ग जस्ता विषयगत चिजको अनुभूतिमा मन भन्ने अर्कै चिजको भूमिका छ वा छैन त्यसमा विज्ञानले यकिन नै गर्न सकेको छैन। विज्ञानले चेतनागत अनुभवहरू मिथ्या हो पनि भन्न छोडेको छ। यस सन्दर्भमा उसको नयाँ मान्यता अगाडी आएको छ। चेतनागत अनुभवहरूको चुरो वैज्ञानिक तथ्यको खोजी गरिनु पर्दछ। अभौतिक पदार्थ र भौतिक पदार्थ बिचको शक्तिगत सम्बन्धको पहिचान हुन जरुरी छ।

 

मानिसको मस्तिष्कको सञ्चालन प्रक्रिया बारे गहिरो ज्ञान राख्न मानिसको दिमागमा पैदा हुने रगतको नाता रहेका विपरीत लिङ्गी बिच हुने यौन आकाङ्क्षा विहीन प्रेम मनोभाव र रगतको नाता नरहेका विपरीत लिङ्गी बिच हुने मानव यौन आकाङ्क्षा मिश्रित प्रेम सहभावको समयमा मस्तिष्कको कार्य प्रक्रिया र विधि बारेको जानकारी महत्त्वपूर्ण हुने छ।

 

मानिसमा उत्पन्न हुने यौन इच्छा, यौन उत्तेजना, चरम उत्तेजित स्खलन र त्यसले दिने चरम आनन्दको अनुभूतिका चरणहरू मानव यौनिक कोष र स्वायत्त स्नायु प्रणालीहरू बिचको सहजी करणमा हुने आपसी अन्तरक्रियाको प्रतिफल अनुरुप घटित हुन्छ। अझै पनि प्रस्ट रूपमा बुझ्न नसकिएको अत्यन्त जटिल चरम आनन्द प्राप्तिको प्रक्रिया घटित हुँदै गर्दा मानव मस्तिष्कका केन्द्रीय र वरपरका भागहरू सक्रिय बनिरहेको भेटिन्छ।

 

बुढ्यौलीपन, शारीरिक रोग, मानसिक रोग, शल्यक्रिया तथा अधिक औषधि सेवन आदि जस्ता कारणले एन्डोक्राइन ग्रन्थि, न्युरोन र रक्त सञ्चार नली आदिमा हुने हर्मोन, सन्देश र रक्त प्रवाहमा अवरोध आउने गर्दछ। उक्त अवरोध यौनिक कोष र स्नायु प्रणाली बिचको प्रतिक्रियाको सहजीकरणको हर्मोनीमा अवरोध पैदा गरिदिन्छ। असन्तुलित हर्मोनी मानिसमा उल्लेखनीय यौन निर्बलता र जीवनको गुणस्तरमा ह्रास जन्माउन पर्याप्त बनिदिन्छ।

 

उमेर पुगेको मानिसको दैनिक जीवनमा सन्तुलित यौनको अत्यन्त सकारात्मक प्रभाव देखिन्छ। युगौँ देखि अभिलेख भएका धेरै प्रमाणहरूले नियमित यौन क्रियाकलाप मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य प्रवर्धन गर्न अत्यन्त प्रभावकारी भूमिका खेल्ने पुष्टि गर्दछ। त्यसैले सन्तुष्ट यौन क्रीडाको नतिजा दिन भूमिका खेल्ने न्युरोन, रक्त नली, हर्मोन आदि स्वस्थ र तन्दुरुस्ती हुने गरी अद्यावधिक गर्न स्वस्थको दृष्टिकोण वाट नियमित मैथुन अनिवार्य र महत्त्वपूर्ण छ। हरेक व्यक्तिलाई यौन चक्रको गतिविधिमा प्रवेश गर्ने यौन उत्तेजनाको अनिवार्यता पर्दछ । तपाइको प्रियतमको यौन क्षमताको हद उनमा सञ्चालन हुने यौन उत्तेजनाको प्रशोधनको हदले निर्धारण गरिदिन्छ।

 

मानव यौन चक्रको चरणमा सेरेब्रल कोर्टेक्स देखि पेरिफेरल नर्भ सम्मका तन्तुका संरचनाहरूको भूमिका रहन्छ। स्वागत योग्य विचार र आपसी स्वीकृति पूर्ण व्यवहार मार्फत सजिलै मानव यौन चक्रको सुरुवात गरी त्यसलाई पूर्णता दिन सकिन्छ। सह-कार्यको समयमा मैथुन मैत्री माधुर्यताको प्रदर्शन, स्वीकृति, स्वागतपूर्ण व्यवहार र समागमको लागि त्याग र सक्रिय सहभागिता जस्ता कुशल यौनिक आचरणको विकास गरी हरेक जोडीले  यौन कार्य लाई स्वर्णिम आनन्दको ढुकढुकी प्राप्त गर्न सकिने प्रकृतिको आशीर्वादको रूपमा उपयोग गर्न सक्दछ।

 

आपसी सहमतिको अहिंसा युक्त शालीन यौन व्यवहारमा मात्र संलग्न हुने चरित्र व्यक्तिको सन्तुष्टि अभिवृद्धि  गर्न र ज्ञान प्राप्तिको दिशा उन्मुख हुन अत्यन्त प्रभावकारी हुने गर्दछ। अध्यात्म र सेक्स एक आपसका परिपूरक विषय बस्तु हुन। न कि एक अर्कोको विपरीतका।

 

मानिसको केन्द्रीय स्नायु प्रणालीमा विभिन्न प्रकृतिका विशिष्ट यौनजन्य सङ्केतहरू प्रशोधन हुने गर्दछ। त्यसलाई केन्द्रीय स्नायु प्रणालीमा पुग्ने स्वायत्त र स्वैच्छिक प्रतिक्रियाहरूको  एकीकृत तर जटिल गतिविधिहरूले ठुलो प्रभाव पारिरहेको हुन्छ। मस्तिष्कको स्नायु मार्फत प्राप्त जानकारीहरूले तपाईँको प्रेम र माया जस्ता संवेग र भावनाहरू विकसित गरेको देखिन्छ। सोच तथा मान्यता जन्य सूचनाको प्रवाहले यौन जन्य उत्तेजना, व्यवहार र लक्ष्य निर्देशित गर्दछ। अर्थात् यौन आनन्द चक्रको योजना लाई प्रभावित गर्दछ।

 

यौन आनन्द चक्रको प्रमुख दुई घटकहरूमा पहिलो मैथुन कार्य पूर्व र मैथुनको समयमा पैदा हुने माधुर्य यौन आकाङ्क्षा हो। दोस्रोमा मैथुनको समय र त्यस पश्चातको समयमा समेत कायम रहने चरम आनन्दको अनुभूति पर्दछ। मैथुन कार्यले मानिसलाई चरम आनन्दको अनुभूति पुरस्कृत गर्दछ।  यौनको कारण प्राप्त हुने चरम आनन्दको अनुभूतिका वेला मानिसको  मिडब्रेन भनिने मध्य-मस्तिष्कमा अवस्थित रहेको डोपामिन – ईनर्जिक – न्यूरोन र ईन्डोकानाबिनोइड प्रणाली बिच सक्रिय रूपमा आपसी सञ्चार  कायम हुँदै गरेको भेटिन्छ। सोही सक्रिय सञ्चारको क्रममा मध्य मस्तिष्कको भागमा आनन्दको अनुभूतिको सञ्चार गर्ने रसायन डोपामिन स्खलित भएको देखिन्छ।

मानिसले मिठो खाना खाँदा, तिर्खाएको वेला पानी पिउँदा, कसैले माया गर्दा, कसैले तारिफ गर्दा, फुर्काइ दिँदा, समर्थन गर्दा, पुलपुल्याएर राख्दा, सङ्गीत सुन्दा, सुन्दर कला हेर्दा, नशालु ड्रगको नशामा रहँदा समेत यौन कार्यले सक्रिय गर्ने डोपामिन मानिसको मध्य मस्तिष्कको भागमा पैदा भएको देखिन्छ। त्यति वेला मानिसले आनन्द महसुस गरिरहेको हुन्छ। डोपामिनर्जिक-न्यूरोन र ईन्डोकानाबिनोइड प्रणाली रहेको मध्य मस्तिष्कको भागको डोपामिन  निकाल्ने प्रक्रिया लाई मस्तिष्कको पुरस्कार दिने तरिका अथवा रिवार्ड सिस्टम भन्ने गरिन्छ।

 

व्यक्तिमा काम उत्तेजना पैदा हुन उसमा अनिवार्य रूपमा सेन्सरि उत्तेजकहरूको उत्प्रेरणाको जरुरत पर्दछ। जनावरहरूमा यस्तो काम प्राय फेरामनले गरेको देखिन्छ। मानव कामउत्तेजनाको प्रेरकको रूपमा भने उसको विगतका अनुभवका आधारमा उसको मस्तिष्कमा निर्मित रहेका उसका मनोभावहरूको ठुलो भूमिका देखिन्छ। किनकि उक्त समयमा मानिसको मस्तिष्कको माथिल्लो लिम्बिक भाग अर्थात् लिम्बिक फोर ब्रेनका संरचनाहरू जस्तै हाइपोथालेमस, एमिग्डाला, हिप्पोक्याम्पस, सेप्टल क्षेत्रको न्युक्लिई आदि सक्रिय बनेर मानिसमा काम उत्तेजना पैदा गर्न प्रेरणात्मक र भावनात्मक उत्प्रेरकको भूमिका खेलेको देखिन्छ।

 

अनुसन्धानको निचोड अनुरूप मानिसको मस्तिष्कमा रहेको पुरस्कार प्रणालीले (Reward system) उसमा यौन उत्प्रेरणा पैदा गर्न उत्प्रेरित गर्ने र निश्चित यौन साथीलाई मन पराएर यौन कार्यको लागि साथी छनौटमा भूमिका खेल्दछ। थालामसले (Thalamus)  मेरुदण्ड मार्फत आएका कामुक उत्तेजनाहरू लाई केन्द्रीय मस्तिष्क हुँदै चेतना सम्म पुर्‍याउने गर्दछ। हाइपोथालेमसले (Hypothalamus)  यौन मैत्री हुने गरी सेक्स पार्टनर लाई आकर्षण पैदा गर्ने, अनजानमै मैथुनको लागि निमन्त्रणा पुग्ने हिसाबको नजानिँदो पाराको माधुर्य यौन व्यवहार निर्माण गर्ने गर्दछ। यौन गतिविधिको लागि सेक्स पार्टनर छनौटमा सहयोग पुर्‍याउन आपसी सम्मोहन विकास गर्ने आदि जस्ता स्वायत्त गतिविधि सञ्चालन गर्दछ।

 

एमिग्डालाले (Amygdala) प्राप्त कामुक उत्तेजनाहरू लाई भावनात्मक रूपमा ग्रहण गर्ने, यौन साथी मन पराउने, यौन चाहको निर्माण गर्ने र समय परिस्थिति अनुकूल क्रमशः अभिवृद्धि वा परिमार्जन गर्दै लैजान भूमिका खेल्दछ। सेप्टल क्षेत्रले (Septal Region) यौन इच्छालाई समय परिस्थिति अनुकूल परिमार्जन गर्दछ। प्रीफ्रन्टल कोर्टेक्सले (Prefrontal Cortex) मनको भित्री आकाङ्क्षा अनुरूप तुरुन्तै यौन आकर्षण देखाई हाल्न रोक्ने काम गर्दछ। प्रबल यौन चाहनालाई परिमार्जन गरी यौन इच्छा दर्साएर यौन व्यवहार प्रारम्भ नगरिहाल्न समेत संयमित पारिदिन्छ।

सिनगुलेट कोर्टेक्सले (Cingulate Cortex) विवादास्पद सन्दर्भ परिस्थितिहरूमा यौन उत्तेजनाहरू लाई  प्रशोधन गर्दै रोक्ने र कामुकता त मैथुनको तीव्र चाहना घटाउने वा समय र परिस्थिति अनुरूप परिमार्जन गर्दछ। इन्सुलाले (Insula) मैथुनको समयमा मूलतः उत्तेजित हुने (इरेक्टाइल वा इमोसन) अङ्गहरू लाई तिनीहरूमा जरुरत अनुरूपको रक्त सञ्चार र विद्युतीय प्रवाह सम्प्रेषण गरी पूर्ण तैयारी अवस्थामा राख्न तत्परता दिने र यौन चाहनालाई आवश्यक अनुरूप परिमार्जन गर्दै मैथुन कार्य लाई उद्देश्य मूलक बनाउँदछ।

 

अनुसन्धान वाट पुष्टि भए अनुरूप यौन गतिविधिको समयमा अनुभव, अनुभूति र नजानिएको श्रोत वाट आएका विविध प्रकृतिका सेन्सरि सङ्केतहरू मानिसको लिम्बिक ब्रेनको संरचनाहरूमा अचेतन रूपमै एकीकृत हुने गर्दछन्। तिनै अचेतन सेन्सरि अनुभूतिको विशिष्ट निर्देशन अनुरूप मानिसको मुटुको ढुक ढुकी वृद्धि, रक्तचाप वृद्धि, श्वासप्रश्वास वृद्धि आदि हुने गर्दछ। त्यसै समयमा मानिसको दिमागलाई स्पाइनल कर्ड (मेरुदण्ड) सँग जोड्ने ब्रेनस्टेमका संरचनाहरू समेत सक्रिय बन्ने र यौन संसर्गको वेला सञ्चालन हुने शरीरका विशेष स्वायत्त गतिविधिहरू नियन्त्रण भइरहेका हुन्छन्।

 

स्पाइनल कर्ड मुख्यतया पुरुष लिङ्ग र नारी क्लाईटोरिस उत्तेजित गर्न, योनि र लिङ्गका ग्रन्थिहरू वाट र्‍याल र झोल निकाल्न, यौन अङ्गको लयबद्ध सङ्कुचन र चुम चुम पन निर्माणमा सहभागी हुन्छ। मस्तिष्कको मेरुदण्ड सँग जोडिएर रहेको ब्रेनस्टेमका महत्त्वपूर्ण भागहरू जस्तै न्यूक्लियस प्यारागिगान्टोसेलुरिस, लोकस कोएरुलस, राफेन्यूक्ली र पेरियाक्युडक्टल ग्रे-एरिया आदि समेत मूलतः उत्तेजना, इरेक्शन र स्खलन कार्य सम्पन्न गर्न संलग्न हुन्छन्।

 

उत्तेजित अवस्थामा नारीको योनिको मांसपेशीमा रहने न्युरोपेप्टाइडहरू बिचको आपसी अन्तरक्रिया चिप्लो र झोलिलो पदार्थ योनिमा ल्याउने नलीहरू फुलाउने गर्दछ। तिनीहरू फुल्न जाँदा आन्तरिक रूपमा उत्पादित झोलको धेरै मात्रामा त्यसभित्र बहन्छ। उत्तेजनाले चम्किएको वेला साँगुरिने र फुल्ने ती नलीले भित्रको झोललाई योनिमा पुर्‍याउँछ जसले गर्दा योनि झोलिलो, चिप्लो मैथुन मैत्री बन्दछ।

 

यौन अङ्गहरूमा स्वैच्छिक कामुकता ल्याउन र सम्भोग कार्य सम्पन्न गर्न  भौतिक रूपमा चलमलाउन, कुरा गर्न, खान-पिन, म्वाइँ खान, चुस्न,  चाट्न, निल्न, सास फेर्न आदि जस्ता कार्य सञ्चालन गर्ने सहयोग गर्ने मोटर न्युरोनहरू तथा भावनात्मक उत्प्रेरणा दिने सेन्सरी न्युरोन हरुको मुख्य भूमिका देखिन्छ। सेन्सरि-मोटर न्युरोनहरू कामुकता र मानसिक तैयारी गर्ने, यौन आकाङ्क्षाको ट्रिगर (उत्प्रेरित) गर्ने, धड्कन, रक्त प्रवाह, इमोसन र उत्तेजना आदि जस्ता स्वैच्छिक एवं स्वायत्त गतिविधिहरू सञ्चालनमा निर्णायक रहन्छ।

 

यौन प्रक्रियामा स्वायत्त रूपमा सञ्चालन हुने गतिविधि अन्तर्गत हुने रक्त सञ्चार, श्वास, मुटुका धड्कन गतिविधि यौन अङ्ग रसिलो चिप्लो पर्ने, उत्तेजित पार्ने, दरिलो, कडा र पुष्ट पार्ने आदि गतिविधिमा संलग्न देखिन्छ। तर व्यक्तिको स्खलन र चरम सुखको अनुभूति जस्ता पक्षमा भने उसको भावना, अनुभूति तथा चेतनाको पक्ष संलग्न रहने भेटिएको छ।

 

यसरी मानिसको जटिल प्रकृतिको सचेत जागरूकता अथवा चेतना अर्थात् कन्ससनेस मानव यौन गतिविधिको यौन चक्रको सबै चरणहरू सञ्चालनमा मुख्य भूमिकामा छ। जटिल मानव चेतनाले मस्तिष्क र मुख्य रूपमा सेरेब्रल कोर्टेक्स मार्फत यौन चक्रका गतिविधिहरू सञ्चालन गरिरहेको भेटिन्छ।

 

विगतमा लगभग पचास वर्षको विज्ञानले एडवर्ड वेस्टरमार्कको जब व्यक्तिहरू एक आपसको निकटतामा हुर्कन्छन् तब  तिनीहरू बिच पैदा हुने नजानिँदो आपसी घृणाको विचारको कारण तिनीहरू बिच यौन आकर्षण पैदा हुँदैन त्यसैले परिवारको निकटतम, सानो समाजको सँगै हुर्किएको निकटतम सदस्य बिच यौन चाहको विकास हुँदैन भन्ने सिद्धान्तमा अडिग रह्यो। बाल्यकालमा सँगै रहेर साम्प्रदायिक शिक्षा प्रणालीमा हुर्केर युवा तथा प्रौढ बनेका व्यक्तिहरूमा गरिएको लगभग १४ वर्ष अघिको सर्वेक्षणमा ती व्यक्तिहरूमा आफ्नो बाल्यकालका साथीहरू प्रति अत्यन्त गहिरो आकर्षण र चासो रहेको भेटियो।

 

उनीहरूमा आफ्नो बाल्यकालका साथीहरू प्रति विरलै मात्र यौन घृणा विकास भएको समेत त्यसले पुष्टि गरिदियो। जसले एडवर्ड वेस्टरमार्कको एक आपसको निकटतामा हुर्कने  व्यक्तिहरू बिच नजानिँदो आपसी घृणाको भाव रहने हुँदा उनीहरू बिच यौन विकर्षण रहने मान्यता लाई खारेजी गरिदियो। उक्त सर्वेक्षणको निष्कर्ष सन् २००९ को मे महिनामा प्रकाशित अमेरिकन जर्नल अफ सोसिओलोजीले प्रकाशित गर्‍यो।

 

जब तपाईँ इच्छा र प्रेमलाई आपसमा जोडी दिनु हुन्छ तब तपाईँ शारीरिक अनुभवको आकाङ्क्षा समेत जोडिएको प्रेमको क्षेत्रमा प्रवेश गर्नु हुन्छ। किनकि तपाईँका इच्छाहरू तपाईँको शरीरको सुखको बारेमा धेरै सोच्दछ। अत्यन्त व्यक्तिवादी रहेर भविष्यको भन्दा तत्कालको जैविक इच्छा र आवश्यकताहरू पूरा गरी भौतिक सहजता र आनन्दको खोजी केन्द्रित बनिदिन्छ। रगतको नाता नरहेका विपरीत लिङ्गी बिच हुने मानव यौन आकाङ्क्षा मिश्रित प्रेम सहभावको विकास हुने परिस्थिति यिनै कुराहरूको उपजको रूपमा देखिने गर्दछ।

 

प्रेमले शरीरको बारेमा भन्दा मन, हृदय र आत्माको बारेमा धेरै चासो राख्दछ। व्यक्तिको भौतिक सुखको बारेमा कम र सम्बन्धको बारेमा अधिक महत्त्व दिन्छ। जब एक व्यक्तिले अर्को व्यक्ति लाई प्रेम गर्दछ तब तिनीहरू भावनात्मक रूपमा आफ्नो दु:ख – सु:खमा जानाजानी चासो राख्ने, एउटाको प्रगतिमा अर्को लाई खुसी लाग्ने र दुर्गति देख्दा दुख पैदा हुने आचरण र मनोभाव विकास भएको हुन्छ।

 

उनीहरूको सोचाई र मान्यताको प्रकृति पनि उस्तै उस्तै हुने गर्दछ।  उनीहरू बिचको मनमुटाब, असामान्यजस्ता र मतभेदहरू समेत प्राय: कुनै प्रयास र कुराकानी बिनै सजिलै हट्ने गरेको देखिन्छ। आपसको मानसिक लगाव बारे व्याख्या गर्ने शब्दहरू समेत फेला पार्न सकिँदैन। तिनीहरू बिच मानसिक र मनोवैज्ञानिक एट्याचमेन्ट (Attachment) देखिन्छ।

 

जसलाई क्वान्टम फिजिक्सको भाषामा मनोवैज्ञानिक क्वान्टम इनट्यांङ्गलमेन्ट (Quantum Entanglement) भन्न सकिन्छ। मनोवैज्ञानिक क्वान्टम इनट्यांङ्गलमेन्टमा एकको अर्को प्रतिको लगाव लामो र जीवन भरको हुने अधिक सम्भावना हुन्छ। जसमा हुने माया, प्रेम यौन आकाङ्क्षा विहीन प्रेम मनोभाव हुने गर्दछ। रगतको नाता रहेका विपरीत लिङ्गी बिच हुने यौन आकाङ्क्षा विहीन प्रेम मनोभावमा यिनै कुराहरूको भूमिका देखिन्छ।

 

प्रेम एक्लैले मानिसमा निश्चित वस्तु वा व्यक्तिमा चरम लगाव पैदा गरी मानिसलाई दुखित गर्दछ। यौन मनोरञ्जनको नियतमा हुने आकर्षण तथा मैथुन कार्य इच्छा जोडिएको प्रेमको उपज हुने गर्दछ। त्यसले व्यक्तिको तत्कालीन भौतिक जरुरत पूर्ति गरी तत्काल जीवन खुसी, सहज पारि दिन्छ। मनोरञ्जन र सन्तुष्टि प्राप्तिमा इच्छा जोडिएको नैतिक प्रेम युक्त यौनको उपयोग गर्न सकिन्छ।  जसले चिन्ता, दुःख र पीडाको समयमा समेत तत्कालमा रमाउन सहयोग गर्दछ। व्यवहारिक रूपमा कानुनी रहेता पनि एक भन्दा धेरै सँग पालै-पालो, पटक-पटक हुने यौन सम्पर्कको धेरै दीर्घकालीन मनोवैज्ञानिक र यौन शक्ति सम्बन्धका बेफाइदाहरु हुने गरेको भेटिएको छ।

 

वैवाहिक जीवनमा भने त्याग र कर्तव्य मिश्रित प्रेमको अपेक्षा गरिन्छ। जहाँ  भौतिक, मानसिक र आध्यात्मिक सुख सुविधाको उपलब्धता, सन्तान उत्पादनको धर्म निर्वाह गर्नु तथा जीवन साथीलाई यौन सन्तुष्टिको पुरस्कारले विभूषित गर्नुलाई जीवनको कर्तव्य भनी तोकिएको छ।

 

संक्षेपमा, अध्यात्म र सेक्स एक अर्काका विपरीतका नभएर परिपूरक विषय बस्तु हुन। विचार,  मनोभाव र संवेदनाहरू बुझ्नको लागि मानिसको मस्तिष्कका गतिविधिहरू एकै समयमा क्रियाशील हुन जरुरी हुन्छ। विचारहरू, भावनाहरू र संवेदनाहरू एकै समयमा क्रियाशील रहन उसको मन क्रियाशील हुन जरुरी छ।

 

मन र मस्तिष्क एकै साथ क्रियाशील हुँदा मात्र हाम्रो चेतना सक्रिय बन्दछ। आत्मा निर्मित मनले पैदा गर्ने चेतनाको कारण हाम्रो इच्छा शक्तिको विकास हुने गर्दछ। त्यही इच्छा शक्ति निर्मित विचार वाट हाम्रो आफ्नो कर्तव्य, इच्छा, प्रेम र कर्म नियन्त्रित तथा सञ्चालित हुँदै आएको छ। त्यसको कार्यान्वयनको साधन भने मस्तिष्क र ईन्डोकानाबिनोइड प्रणाली हुने गरेको छ। तसर्थ हामी हाम्रो चेतनाको स्तर अनुरूप आफूलाई  आफू धर्म वा अधर्मको बाटोमा हिँडाउने गर्दछौ।

(खाद्य तथा औषधि विज्ञ)

44Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: