मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कर्मकाण्डी मात्र हैन रहेछ देवी-देवताको पूजा चलन!

नारायण घिमिरे

मानव दिमागलाई विज्ञानको सहारामा सम्पूर्ण रुपमा बुझ्ने विकल्प हाल सम्म पनि उपलब्ध नरहेकाले तपाईँ हामीलाई सोको लागि वैदिक तथा आध्यात्मिक सहारा लिनु पर्ने बाध्यता आइलागेको छ। एक सामान्य मानवको दैनिक दिन चर्यामा रमाई रहदा दिमाग फुरुङ्ग बनिदिँदा जीवन नै धन्य बन्ने र त्यही दिमाग दुःखी बनिदिँदा आफ्नो मात्र हैन आफू सँगै रहेका आफ्ना प्रिय आफन्त समेतको दिनचर्या नारकीय बनिदिने समस्या पक्कै मेरो मात्र होइन होला। सोहि संदर्वमा विज्ञान र वेदको सहारामा दिमाग भन्ने तन्तु वा तत्वको प्रकृति र कार्यशैली बारे अध्ययन गर्न जरुरि बनेको छ।

 

मानिसको दिमागको विभिन्न अवस्थाहरू रहन्छन। पहिलो निन्द्रामा सपनीमा रहेको अवस्था। कुनै एक केहि समयको निन्द्रा जसमा आफूले चाहेको सात घुम्ती पारिकी आफ्नी सपनाको राजकुमारी ऋतु-कला सँग भेट्दा बिहानीको अनुभूति रँगिन बन्छ। देख्यो कि घृणा भाव जाग्ने पल्ला घरकी सुनीति देख्दा शरीर भरका रौँ नै जिरिङ्ग वनिदिन्छ।

 

दोश्रो छ सपनी नदेखेको निन्द्राको अवस्था। जसलाई सुषुप्त अवस्था भन्ने गरिन्छ। त्यो समयमा न त ऋतु नै झुल्किन्छिन् न सुनीतिकै सामना गर्नु पर्दछ। बिहान उठ्दा भने मजाले निद्रा पुगेको महसुस हुन्छ। आज त रातभर मज्जाले निदाइयो, सपना पनि देखिएन भन्ने अनुभूतिको समेत स्मरण रहन्छ।

 

तेश्रो अवस्था छ जाग्रत वा सामान्य दैनिकीको ब्युँझिएको समयको अवस्था। ननिदाएको वा ब्युँझिएको अवस्थालाई उक्त जीवनको मूल अवस्था भनिन्छ। ब्युँझिएको समय अन्तर्गत जति समय आफन्त भनिएकी ऋतु जस्ता आफ्नै लाग्ने ब्यक्ति वा परिवेशहरू सँग बित्दछ त्यो जिन्दगी वन्दछ। जति समय सुनीति र आफूले असहजता वा आनन्द महसुस गर्न नसक्ने समय वा परिवेशहरू सँग झेल्नु पर्दछ त्यो समय उमेर अन्तरगतको बितेको समयमा जोडिन्छ।

 

माथि फालिएको एउटा भकुन्डो अलिकति माथि पुगेपछि फेरी तल झर्दा माथि गएको र तल झरेको हामी सजिलै महसुस गर्दछौ। दिमागको जाग्रत, सुषुप्त र सपनीको तिनै अवस्थाहरू माथि गएको र तल झरेको बल जस्तै हामी सजिलै महसुस गर्दछौ। तर बिचको भकुन्डोले आफ्नो दिशा परिवर्तन गर्दाको पूर्ण रोकिएको अवस्थाको भने सहज महसुस हुँदैन। जस वारे हामीलाई अर्ध-जानकारी हुने गर्दछ। माथि जाँदै गरेको भकुन्डो तल फर्कने क्रममा एउटा बिन्दुमा टक्क अडिएर मात्र आफ्नो दिशा परिवर्तन गरी तल फर्कन सम्भव बनेको हुन्छ। उक्त अवस्था र सिद्धान्तको बुद्धिमत्ता पूर्वक उपयोग वाट हावामा हावामा नतैरिने जहाजको उडान सम्भव बनेको छ।

 

मानिसको दिमाग एक अवस्था वाट अर्को अवस्थामा प्रवेश गर्दै गर्दा समेत बिचमा कुनै अवस्था वाट गुज्रन जरुरी पर्दछ। उक्त अवस्था अर्ध-चेतनाको अवस्था हो। जाग्रत वाट सुषुप्त, सुषुप्त वाट सपनी, सपनी वाट जाग्रत अथवा सुषुप्त वाट जाग्रत आदिको बिचमा दिमागको अवस्था बदलिँदै गर्दा मस्तिष्क अर्ध-चेतनाको अवस्था वाट गुज्रन अनिवार्य हुन्छ। अर्ध-चेतनको समयमा मस्तिष्कमा आत्म-सचेतता रहदैन। न त मस्तिष्कले बाहिर वाट प्राप्त सूचना प्रति कुनै प्रतिक्रिया नै दिँदै गरेको हुन्छ। इन्द्रियहरू मार्फत प्राप्त सबै सूचनाहरूमा पूर्णतया प्रतिक्रियात्मक बिहिन बनिरहेको हुन्छ। कुनै निश्चित अवस्थाको अर्ध-चेतनमा रहँदै गर्दा भने जे कुराले दिमाग अर्ध-चेतन अवस्थामा पुगेको हुन्छ मस्तिष्कले त्यसैको अनुसरण गरिरहेको हुन्छ।

 

अर्ध-चेतन अवस्था चेतनाको एक अत्यन्त महत्पूर्ण तर परिवर्तित रूपहो। अर्ध-चेतन अवस्थामा व्यक्ति न त पूर्ण जागृत रहन्छ, न त पूर्ण निद्रामा। दिमागको ट्रान्स-स्टेट भनिने अर्ध-चेतन अवस्थामा हाम्रो दिमाग सचेतन र अवचेतन अवस्थाको बिचमा फसेको हुन्छ। संक्षेपमा ट्रान्स स्टेटमा मानिस न त पुरा जाग्रत न त पुरा सपनाको अवस्थामा रहन्छ। जोनिङ्ग-आउट भनिने ट्रान्स-स्टेटलाई कहिले काहीँ दिवा-सपना मतलब डे-ड्रीमिङ्ग पनि भन्ने गरेको भेटिन्छ। मानिसमा मनोवैज्ञानिक तथा आध्यात्मिक प्रकृतिको मनो-आध्यात्मिक प्राकृतिक उपचारमा, योग तथा मेडिटेसनमा सेमी-ट्रान्स-स्टेट वा ट्रान्स-स्टेटमा परिवर्तित चेतनाको अत्यधिक उपयोग गरिन्छ।

 

अनुभवहरूले बताए अनुरूप मानिसको भित्री रूपान्तरण गर्ने कार्यमा उसभित्र पैदाहुने आलोचनात्मक सोचले अत्यान्त हस्तक्षेपकारी भूमिका खेली अवरोध पुर्‍याउने गर्दछ। मस्तिष्क ट्रान्स-स्टेटमा रहदा आलोचनात्मक सोच पैदागर्ने दिमाग बाइपास हुने गर्दछ। ट्रान्स-स्टेटमा गरिने भित्री रूपान्तरणको प्रयासमा आलोचनात्मक सोचको अवरोध नरहने हुँदा अचेतन दिमागसँग सीधा संवाद सम्भव बन्छ। अचेतन दिमागसँगको सीधा संवादले भित्री रूपान्तरणमा जरुरी हुने सकारात्मक सोच र विश्वास पैदा गरिदिन्छ। सोच र मान्यतामा आएको सकारात्मकताले आलोचनात्मक सोच हराउने हुँदा भित्री रूपान्तरणलाई पूर्ण गराउन जरुरि पूर्वाधारको विकास गरिदिन्छ।

 

तर्कसङ्गत दिमाग एक आलोचनात्मक सोच पैदागर्ने दिमाग हो। अन-कन्सियस ब्रेन भनिने अचेतन दिमाग तर्क सङ्गत रहेर नभई भोगेको अनुभवको आधारमा आफ्नो मान्यताहरू विकास गर्दछ। हरेक तर्कसङ्गत दिमागको दाहित्व तर्कसङ्गत रुपमा निश्चयमा नपुगी जारी गरिएको दिमागको निर्देशनलाई रोक्नु समेत हो। दुर्भाग्य बस मानिसमा मन भित्र गडेर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोटहरू मस्तिष्कको अनकन्सियस ब्रेनको भागमा गाडिएर बस्ने गर्दछ। मौका पर्ना साथ बारम्बार बल्झिने गर्दछ।

 

एउटा बिरुवाको बीज जस्तै अचेतन दिमागमा बिउको रूपमा गढेर रहेको सबै डर, आघात, पीडा, ईर्ष्या वा बदलाको भावना चेतन दिमाग कारणवश कमजोर बन्न पुग्दा अङ्कुरित हुने, फस्टाउने र झ्याङ्गिने मौका पाउँदछ। अन्ततः बाहिर छताछुल्ल भएर पोखिन्छ।

 

मानिसमा ‘म’ वा ‘आफू’ का नाममा कायम हुने आफ्नो पहिचान रुपी अहङ्कारको मुख्य भूमिका स्वाभाविक रूपमा उसलाई कथित खतराहरू बाट जोगाउनु हो। आफ्नो भौतिक सुरक्षा र भविष्यको सुरक्षाको प्रत्याभूति दिलाउनु नै हो। म, आफू जस्ता अहङ्कारको जिद्दी पूर्वक बचाउ गर्ने मानिसमा आफू स्वयम, आफ्नो परिवार, आफन्त र समाजको लागि समेत विषाक्त भूमिका खेल्ने नयाँ आनी बानीको निर्माण हुने गर्दछ।

 

आफूमा अर्को प्रति विकास भएको नकारात्मक भावनाहरू प्रकट गर्न नसक्ने, दिमागमै गुम्स्याएर राख्ने बानीको विकास हुन्छ। यसले मन भित्र गहिरो उदासी, क्रोध वा निराशा, प्रतिस्पर्धाको / बदलाको भावना आदि पैदा गरिदिन्छ। लामो समय मनभित्रै पालेर राखेको दर्दको हद एकदिन सीमापार हुने र बेलुन फुटे जस्तो सँगालिनै नसक्ने गरी बाहिर निस्कन्छ।

 

विकसित परिस्थितिले मानिसमा आफ्नो व्यक्तिगत, पारिवारिक, सामाजिक तथा मनोबैज्ञानिक सबल सम्बन्धहरू नराम्ररी टुट्ने स्थिति पैदा गरिदिन्छ। उसलाई मनोबैज्ञानिक उपचारको जरुरत हुन सक्दछ। साथै मानसिक-आध्यात्मिक प्राकृतिक उपचारको सहायता खोज्नु पर्ने प्रबल सम्भावना रहन्छ।

 

जिद्दी पूर्वक विकास हुने अहङ्कार एक जैविक र आध्यात्मिक उपकरण हो। यो उपकरणले व्यक्तिमा म फरक किसिमको विशेष व्यक्ति हुँ भन्ने जस्ता विचारहरू विकास गराउँदछ। भलै आज लुते कुकुर बने हुला। हिजो त म बेलायती थिए। मेरो असली पहिचान त्यही हो। मैले त्यही पहिचान अनुरूपको सम्मान पाउनु पर्छ। मेरो जीवन अन्यको भन्दा सानदार रूपमा चल्नु पर्दछ भन्ने सोचको भूतमा सवार गराउदछ।

 

डुवालिटि वा वास्तविकता भन्दा विपरीतको अहङ्कार ग्रस्त अनुभूतिमा हामी केही चीजहरू स्वीकार गर्दछौँ भने अन्य चीजहरूलाई अस्वीकार गर्दछौँ। केही मानिसहरू लाई माया गर्छौँ, अन्य लाई घृणा गर्दछौँ। जीवनलाई बिना सर्त स्विकार्नुको सट्टा आफ्नो निजी विचार, भावना, विश्वास आदिको भरमा स्वीकार्य र अस्वीकार्य गरी विभाजन गरिदिन्छौ। आफ्नै जीवनका आफ्नै कतिपय कार्य वा कार्य प्रगतिमा आफैँलाई पनि इन्कार गर्न थाल्दछौ।

 

आफ्नै मनमा उब्जेका चिन्तन, मानो-भावना, चेतना, अनुभव,  विश्वास आदि लाई समेत खराब, अस्वीकार्य वा गलत करार गर्दै दमन गर्ने, बेवास्ता गर्ने, स्वीकार नगर्ने, अरुवाट लुकाउने स्थितिमा पुग्दछौ। आफ्नै अन्तर आत्माको विश्वासको दमनको परिणाममा हामी आफ्नो काल्पनिक जीवन जिउन सुरु गर्दछौ। जुन अधिक रिस, कुण्ठा, जलन र विकृतिले भरिएको आडम्बरे जीवन शैलीकोरूपमा रहेको हुन्छ।

 

अहङ्कारले जीवनलाई डुवालिटि वा वास्तविकता भन्दा विपरीत रूपमा बुझिदिने गर्दछ। प्रेम-घृणा, राम्रो-खराब, सही-गलत, पवित्र-पापी जस्ता परस्पर विरोधी भागमा जीवनलाई विभक्त गरेर महसुस गरिदिन्छ। आफू अन्य भन्दा बिलकुल अलग र पृथक् हुँ भन्ने विश्वासमा अत्यन्त कष्टकर एकल-काटे जीवन रोज्न पुग्दछ। डुवालिस्टिक इगोको परिणामले सदैव आफूले आफैमाथि गरिने दमन, अन्याय, घृणा र निन्दा युक्त एक्लोपन निम्त्याउने हुँदा हामी अनिवार्य रुपमा कष्ट भोग्न बाध्य हुन्छौ।

 

 

डुवालिस्टिक इगो वा अहङ्कारको उत्पादनको रूपमा मानिसलाई उदासीनता, चिन्ता, मानसिक रोग, हत्या, घृणा, लोभ, गरिबी, युद्ध र वातावरणीय विनाश आदि हात पर्ने गरेको छ। समग्रमा मानिसको आन्तरिक पीडा वा सफरिङ्गको कारक तत्त्वको रूपमा अहंकारनै देखा पर्दछ।

 

हुन त आफैलाई जिउँदै पटक पटक हत्या गरिदिने जिद्दी युक्त अहङ्कार वाट छुटकारा पाउन उक्त अहङ्कारकै हत्या गरि दिनु सबै भन्दा खास्साको ओखती हुने थियो। तर न त मानिस जिउँदै मर्न सक्छ, न यो अहङ्कार भन्ने जिनिसलाई सदैब्को लागि मृत्यु-तुल्य नै गराउन सम्भव छ। अहङ्कारलाई पहिचान गरी आफ्नो चेतनाको दायरा भित्र ल्याएर परिवर्तित चेतना युक्त नयाँ जीवनले अहङ्कार वाट छुटकारा लिन सक्दछ। मूलतः सेमी-ट्रान्स-स्टेट वा ट्रान्स-स्टेटमा गरिने मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण, मेडिटेसन र योग जस्ता परिवर्तित चेतनाको उपाय मनको भित्री रूपान्तरण लागि उपयोगी हुने छ।

 

ट्रान्स-स्टेटमा तर्कसङ्गत सचेत दिमागलाई बाइपास गरी अचेत दिमाग सँग प्रत्यक्ष सम्पर्क गरी कुरा गर्न सकिने स्थित मनोबैज्ञानिक दृष्टिकोण वाट समेत तर्क सङ्गत देखिन्छ। तर पनि बिना अवरोध अचेत दिमाग सँग कुरा गरेर कसरि अहङ्कारलाई चेतनाको दायरा भित्र ल्याउन र त्यो हदको मनोबैज्ञानिक जटिलतामा पुगेको मानिसलाई सामान्य दिनचर्यामा फर्काउन सकिन्छ भन्ने भन्ने सम्बन्धका असङ्ख्य सिद्धान्तहरू प्रतिपादन गरिएको भेटिन्छन। जस मद्धे प्रसिद्ध मनोबैज्ञानिक कार्ल जङ्गको अवधारणा सत्यताको धेरै नजिक रहेको ठानिन्छ।

 

मनोबैज्ञानिक कार्ल जङ्गको अनुसार अचेतन दिमाग सामूहिक अचेतन वा कलेक्टिव अनकन्सेन्ससको ठुलो दायराको सञ्जाल सँग प्रत्यक्ष सम्पर्कमा रहने गर्दछ। सामूहिक अचेतनलाई युनिभर्सल अथवा डीप माइन्ड समेत भन्ने गरिन्छ। पुरातन समयमा देवी-देवताको शक्ति भनेर चिनिने सामूहिक अचेतनता विश्वव्यापी गहिरो स्मृतिहरूको ऊर्जा निर्मित प्राकृतिक आवरण हो। संसारमा अस्तित्वमा आएका सबै जीवनहरूको अनुभूतिहरूको ऊर्जा समावेश भएर उक्त प्राकृतिक आवरणको निर्माण भएको हुन्छ।

 

नियमित सचेत दिमागको सम्पर्कमा रहेर जिद्दी युक्त अहङ्कार पक्डेर बसेको अचेत दिमागलाई ट्रान्स-स्टेटमा पुर्‍याएर गरिने संवादले कलेक्टिव अनकन्सेन्सस सँगको सम्पर्कमा पुर्याउदछ। अचेत दिमाग र कलेक्टिव अनकन्सेन्सस बिच हुने सम्पर्कमा जिद्दी युक्त अहङ्कार समेत कलेक्टिव अनकन्सेन्सस तर्फ विलीन हुँदै जाने प्रक्रिया सुरु हुन्छ।

 

ट्रान्स-स्टेटको संवाद प्रक्रिया केही समय सुचारु राख्न सक्दा अचेत दिमागमा गढेर रहेको गहिरो उदासी, क्रोध वा निराशा, प्रतिस्पर्धा – बदलाको भावना आदि  क्रमशः कलेक्टिव अनकन्सेन्सस तर्फ फ्याँकिन पुग्दछ। मतलब आफ्नो जिद्दी युक्त अहङ्कार त्याग्न सहयोगी बन्दछ।

मस्तिष्कको अनकन्सियस ब्रेनको भागमा भित्र-वीजको रूपमा गढेर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोटहरू सबै सामूहिक अचेतनको भण्डारमा थन्काई दिएपछि मौका पर्न साथ बारम्बार बल्झिने वीजको अभावमा मानिस समस्या मुक्त बन्न सक्दछ।

 

परम्परागत रूपमा हुने हाम्रा देवी देवताको भाकल, पूजा आज आदि वाट हाम्रा पुर्खाले आफूलाई मनोरोग (भूत, प्रेत, मसान, पिचास, डर, चिन्ता आदि) वाट मुक्त पाएको महसुस हुनुमा परम्परागत कर्मकाण्डी प्रक्रियामा अचेत दिमागलाई ट्रान्स-स्टेटमा पुर्‍याएर गरिने परम्परागत हीप्नोटिजम नै कारक रहेको यकिन गर्न सकिन्छ।

 

आफ्नो जरो किलो र चुरो ज्ञान नबुझेको नेपाली समाजले आफ्नो पुर्खाले आदि काल देखि मान्दै आएको देवी देवताहरुको पूजा आराधना गरिने चलनलाई अबैज्ञानिक भन्दै अचेत दिमागलाई ट्रान्स-स्टेटमा पुर्‍याएर गरिने अन्य मनोबैज्ञानिक उपचार तर्फ लम्केको महसुस गर्न सकिन्छ। हाम्रा परम्परागत पूजा, आराधना, योग, भजन, किर्तन र मेडिटेसनले जे प्रतिफल दिन्छ सैद्धान्तिक रूपमा र विधि तथा प्रक्रियामा  समेत ठ्याक्कै त्यही नतिजा दिने कथित आधुनिक वैज्ञानिक भनिएको मनोबैज्ञानिक तथा आध्यात्मिक उपचार तर्फ लम्केको महसुस गर्न सकिन्छ।

देवी देवताहरूको पूजा आराधना मार्फत परम्परागत रूपमा हामीले आफ्नो अचेत दिमागलाई ट्रान्स-स्टेटमा पुर्‍याएर आफैले गरिने मनोबैज्ञानिक उपचारको नतिजा प्राप्त गर्न आज संसारभर विभिन्न उपायहरू अवलम्बन गरिएको छ। हाल सम्म अवलम्बन गरिएका उक्त उपायहरूमा एक बिन्दुमा नियन्त्रित भएर गरिने ध्यान, आत्म सम्मोहन, सोमलता- गाँजा – भाँग-काँचो सुपारी जस्ता स्वास्थ्यकर तर हेलुसिनेटिंङ्ग जडीबुटी सेवन पश्चताको सम्मोहन, प्राणायाम र कपाल भाँती जस्ता श्वास-प्रश्वास प्रक्रिया, मन्त्र- पूजा र तपस्या, सङ्गीत – बिट्स र ध्वनिहरू, पेन्डुलमको आवाज र गतिमा ध्यान केन्द्रित गर्न ध्यान, पूर्व रेकर्ड गरिएको गतिशील दृश्य हेरी गरिने ध्यान, वासनादार अगरबत्ती र जडीबुटी मार्फत गरिने सम्मोहन, धर्म कार्य र सामाजिक कार्यहरूमा नाच आदिमा भाग लिएर प्राप्त गरिने शारीरिक र भावनात्मक सन्तुष्टि आदि पर्दछन।

 

हाम्रा रैथाने प्रविधिर दर्शनमा आधारित रहेर विकसित बनेका उल्लेखित मनोबैज्ञानिक उपचारका उपायहरू आज संसार भर पुगेका मात्र हैनन् तिनीहरूको माग एका-एक ह्वातै बढेकाले अत्यन्त प्रख्यात समेत बनेका छन्।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

55Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: