मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कथा नेपाली टिम्मुरको ?

नारायण घिमिरे

शिवरात्रिको छुट्टीमा गोर्खाको च्याङ्लीङको एकादशी जात्रामा दोहोरी गीत गाउने क्रममा “रहिछौ तिमी सारै नै नखरी, बहना नै बनाउने दश थरी” भन्ने गीतमा दोहरी फर्काउन तम्सेकी सानीको उत्तर थियो “माया तिमी टिमुरे बानीको, मरे कुरा बुझ्दैनौ सानीको”। मलाई सानीले त्यो उत्तर फर्काएको हिजै जस्तो लाग्छ।

 

उति बेला सानीले आफ्नो बानी नै सारै नराम्रो महसुस गरिरहेको अवस्थामा आपसमा माया प्रीति जम्न सक्ने अवस्था रहेन भन्ने निचोड निकालियो।एकतर्फी कहलिएको माया अघि बढ्ने कुरै भएन। बढेन पनि।

 

सामाजिक चाडबाड मान्दै गर्दा घटेको यो मनोवैज्ञानिक घटनाको निचोड तिन दशक पछिको पुनरावलोकनले गलत निष्कर्षको परिणाम रहेको पुष्टि भएको छ।

 

घटनाको नतिजा कसरि गलत प्रमाणित बन्यो भन्न बुझ्न टिमुरे बानी बारे बुझ्न जरुरी छ। टिमुरे बानी मतलब नेपाली पेपर आदि नाम बाट चिनिने हाम्रो रैथाने टिम्मुरको गुण, फाइदा र यसको हामीमा संवृद्धि दिन सक्ने खुबी।

 

टिम्मुरमा प्राकृतिक रूपमै पाइने असंतृप्त एमाइड्स, एसेंसियल ओइल, आल्कालोइड, जाइलोजिन, पोलिसेकेराइड जस्ता सार तत्त्वहरु हाम्रो सरिरमा उत्पन्न हुने रेडिकल हरूलाई नियन्त्रण गर्न सकक्षम हुने हुँदा टिम्मुर क्यान्सर जस्ता रोगको थेरापीमा, शरीरलाइ छिटै बुढो  हुनबाट बचाउने नियतले विकास गरिने सप्लिमेन्ट बनाउन, मसला र हिलिङ्ग फुडका फर्मुलाहरुमा समावेश गरिने गरेको हो।

 

टिम्मुरका असंतृप्त अथवा अनसेचुरेटेड एमाइड्सहरुको मानिस लठ्ठाउने गुणका कारण सम्पूर्ण मरीच वर्गमा टिम्मुर अमूल्य मरीच वा पेपर कहलिएको बुझिन्छ। चाइनिज औषधि विज्ञानमा टिम्मुरको आफ्नो पर्-पराउने स्वादमा मिलेको लठ्ठाउने गुणबाट प्राप्त हुने स्वादलाई प्रकृतिको अमूल्य उपहारको “आठौँ स्वाद” मानी धेरै प्रकारका परम्परागत चिनिया ओखतीहरुमा प्रयोग हुने गरेको भेटिन्छ।

 

अन्य मसला भन्दा टिम्मुरमा अजिब प्रकारको पर्-पराउने लठ्ठाउने गुण मिसिएकाले यसको आफ्नै अचम्मको औषधीय गुण, सस, मसला, अचार लगायतको उच्च हिलिङ्ग फुड बनाउने दक्षता रहेको चमत्कारिक जिनिसको रूपमा संसारले लिने गरेको छ।

 

टिम्मुरमा अजिब प्रकारको पर्-पराउने लठ्ठाउने गुण आउनुको पछाडि यसमा उल्लेखनीय मात्रामा हुने सार तत्त्वहरु अल्फा-स्यानशूल, हाइड्रोक्सिल-अल्फा-सन्सूल, बिटा-स्यानशूल, हाइड्रोक्सी-बीटा-सन्सूल, गामा-स्यानशूल, हाइड्रोक्सिल-गामा-स्यानशूल, हाइड्रॉक्सिल – एप्सिलोन- स्यानशूल, हाइड्रोक्साइल- गामा- ओदर स्यानशूल, फ्लोरा-एसिटोफिनोन, ४,६ –डाईमिथाएलईथर आदि पदार्थ रहनु हो। यी सामग्रीहरू पानी अघोलनशील रहने तर मानिसको र्‍याल, म्युकस आदिमा घुल्ने गर्छन्।

 

टिम्मुरको मुल्यवान सार तत्त्वहरु पानीमा नघुल्ने तर रक्सी, तेल वा अन्य जैविक पदार्थमा घुल्ने हुँदा मुल्यवान पदार्थहरु अधिकतम मात्रामा निकालेर राम्रो बजार मूल्य लिन पुरानो डिसटिलेसन प्रविधि भन्दा कार्बनडाई अक्साइडको बरफबाट सार तत्त्व निकालिने सुपर क्रिटिकल एक्सट्रेक्सन प्रविधि प्रयोग गर्नु उपयुक्त हुने गर्छ।

 

सुपर क्रिटिकल एक्सट्रेक्सन प्रविधि प्रयोग गरी निकालिएको टिम्मुरको सार तत्त्व अर्गानिक मानिने अनि वास्तवमै उच्च गुणस्तरको हुने हुँदा सिधै औषधीय प्रयोजनमा समेत जाने गर्छ। संसार भर राम्रो मूल्यमा छोपा छोप भएर बिक्रि भईरहेको देखिन्छ।

 

यसरी निकालिएको सार तत्त्व एक त अत्यन्त उच्च गुणस्तरको रहने अर्को तर्फ अर्गानिक प्रमाणीकरण गर्ने आधिकारिक निकायहरूले अर्गानिक खाना, स्वाद, मसला, सस, फ्लेबर आदिमा जान स्वीकृति दिने हुनाले यसले उच्च बजार मूल्य पाउने गरेको हो।

 

टिम्मुरको पात, दाना, डाँठ, जरा र टिम्मुर उम्रेको स्थानको माटोको समेत निकै ठुलो औषधीय मूल्य रहेको भेटिएको छ। परम्परागत रूपमा टिम्मुरको दाना र पात बाट स्टिम डिसटिलेसन प्रविधि बाट निकालिने तेल हल्का पहेँलो देखि रातो-रातो खैरो रङ्गको हुने गर्छ।

 

जिब्रो ट्वाक्क अनि परपर पार्ने टिमुरे स्वाद, अत्यन्त कडा र मसलादार वासनाका कारण खाद्य बस्तुमा परम्परागत शालीन मसलादार वासना र स्वाद दिन टिमुरको तेलको उच्च माग हुने गरेको छ। टिमुर मुलत मसला, ड्रेसिङ्ग, विभिन्न सस, पूरक खाद्य, नेचुरोपेथी र मसाजमा उपयोगमा आउने क्रिम तथा लेपनहरू, औषधिहरू, विभिन्न फ्लेबर्स र नेनो-बायो केमेस्ट्रीमा प्रयोग भईरहेको छ।

 

स्वोभाबैले टिम्मुरको तेल छालामा दल्दा छाला भित्र रहने रगतका नसा हरूलाई फुलाएर रक्त सञ्चारको गति बढाइदिने, छाला लाई रातो बनाइदिने बानी बाहेक हालसम्म मानिसमा टिम्मुरले खासै साइड ईफेक्ट दिएको सूचना भेटिएको छैन। तेती हुँदा हुँदै पनि दोजिया र बच्चा लाई दूध खुवाउँदै गरेको महिला लाई अलि संयम र सतर्क भएर मात्र टिमुर वा टिमुर जन्य ओखती वा खाना खान सुझाइने गरिएको छ।

 

टिम्मुरको टिमुरे गन्ध लामखुट्टे, भुसुना जस्ता मानिसलाई टोक्ने किराहरू धपाउने र मलेरिया, डिगु जस्ता सङ्क्रमणमा छर्किने स्प्रे बनाउने गरिएको छ। मानिसलाई रोग लगाउने ब्याक्टेरिया जस्तै ई-कोलि, भिब्रियो  कोलेरा, माइक्रो कोकस, भेरिसेल्ला, सिजेल्ला, सल्मोनेल्ला आदिलाई यसको मारिदिने क्षमता देखिएको छ।

 

सेपिलो र चिसो, फोहर स्थानमा हुर्के-बढेर मानिसको शरीर भित्र पुगी हानि गर्ने हानिकारक ढुसी, जुका, चुर्ना, परजीवी आदिलाई यसले मारिदिन्छ। भाइरसको पनि यसले दोहो काढिदिएको भेटिएको छ।

 

तसर्थ घरेलु साबुन पानिको झोलमा यसलाई मिसाएर घरेलु सेनिटाइजर बनाएर डिटोल, डिटोल साबुन, भाडा चम्काउने र सेनिटाइजर गर्ने सर्फ, ट्वाईखाना सफा गर्ने फिनोल आदिको बिकल्पमा प्रयोग हुने गरेको भेटिन्छ। सामान्य रुवा, खोकी, ज्वरो, मर्की हुँदा बेसार, अदुवा आदि सँग यसलाई मिलाएर खादा शरीरले जाति महसुस गर्ने गर्छ।

 

टिम्मुरको तेलको पिरोपना छालाले सहने सक्ने मात्रामा रहनेगरी थोरै टिम्मुरको तेल शुद्ध नरिवलेको तेलमा फेटेर (जरुरी लाग्छ भने रङ्गको लागि अलिकति बेसारको तेल मिसाएर) जम्नदीई मसाज गर्ने एक प्रकारको औषधीय क्रिम वा मलम बन्ने गर्छ।

 

उक्त क्रिम संसारभर कम्मर दुख्ने, ज्यान अरठ्ठ हुने, हाडको जोर्नी जोर्नी र मांम्शपेशि दुख्ने, बाउँडिने, खुटा झन्झनाउने, निदाउने, पाता फर्किने आदिको मलमका रुपमा प्रयोग हुने गरेको छ।

 

एक अनुमानमा यस्तो मलम बनाउन मात्र आज नेपालले वार्षिक उत्पन्न गर्ने कुल टिम्मुरको परिणाम भन्दा कम्तीमा सय गुणा धेरै टिमुरबाट आउने तेलको प्रयोग भई रहेको छ।

 

नेपाली हावा पानीमा उत्पादन हुने टिम्मुरको उच्च गुणस्तर हुने पाइएकाले उत्पादन र प्रशोधनमा राम्रोसँग जीएमपी प्राक्टिस लागु गर्न सकिँदाको अवस्थामा औषधीय र खाद्य पदार्थको प्रयोजनमा नेपाली टिम्मुरले मुख्य प्राथमिकता पाउने देखिन्छ।

 

पेट दुख्दा, महिना वारि हुँदा पेटको तल्लो भाग दुख्दाका बेला थोरै टिम्मुरको तेल आफूलाई खान सजिलो लाग्ने तरल पदार्थमा मिसाएर खॉदा निको हुने गर्छ। मानिसमा एलर्जी हुँदा, चिसो लाग्दा, रुवा लाग्दा, टाउको दुख्दा, खोकी लाग्दा र रातमा राम्रो निद्रा नपर्दा आदि जस्ता अवस्थामा टिमुरले निको गर्ने गरेको भेटिन्छ। मुखमा र्‍याल निकाल्न, कलेजोको कार्यलाई सुदृढ गर्न र सरिरमा रक्त सञ्चार बढाउन पर्दा टिम्मुर उपयोगी हुने गर्छ।

 

आयुर्बेदमा तुम्बुला वा गन्धालुको नामले चिनिने टिम्मुरलाइ आयुर्वेदले पृथ्वी द्वारा मानिसलाई उपलब्ध उच्च कोटीको उपहार मान्ने गर्छ। टिम्मुरको बोटलाई तोमर भन्ने आयुर्वेदले तोमरको गेडाको तेलमा कलेजोलाई बिग्रन नदिने एन्टीअक्सिडेन्ट गुण दिने तथा फिनोलिक कम्पाउन्ड हुने भन्दै कलेजोको उपचारमा प्रयोग हुने असङ्ख्य आयुर्वेदिक पद्धतिको ओखातिको फर्मुलामा हाल्ने गरेको छ।

 

त्यसको अलावा टिम्मुरको तेल परजीवी नियन्त्रण, व्यकटेरियल सङ्क्रमण, भोक जगाउने, खाना पचाउने, साफ सुग्घर गर्ने, दुर्गन्ध हटाउने, परजीवी नष्ट गर्ने, पाद आउने समस्या निदान गर्ने जस्ता आयुर्वेदिक फर्मुला हरुमा प्रयोग गरिरहेको छ।

 

रगतमा पुग्ने पनि, अक्सिजन मिली बन्न पुग्ने हाइड्रोजन पेरोअकसाईड र हाइड्रोक्सिल रेडिकल मिली बनाउने रियाक्टिव सुपर अक्साइड रेडिकलले शरीरलाई  दिने स्ट्रेस लाई शरीरको लागि हानिकारक हुने अक्सिडेटिब स्ट्रेस भन्ने गरिन्छ। शरीरमा उत्पन्न हुने अक्सिडेटिब स्ट्रेसलाई एन्टी-अक्सिडेन्ट मार्फत नियन्त्रण गरी शरीरले आफूलाई नियमित स्वस्थ राख्ने गर्छ।

 

अनुसन्धानले मानिसमा देखिने अक्सिडेटिब स्ट्रेसको एन्टी अक्सिडेन्ट मार्फत उचित व्यवस्थापन हुन नसकेका कारण प्राप्त नतिजामा मानिसमा अन्तत: मधुमेह विकास हुन पुग्ने यकिन गरेको छ।

 

विभिन्न अनुशन्धानहरुको निचोड हेर्दा शरीर स्वस्थ राख्न जरुरी हुने एन्टी अक्सिडेन्टको उपलब्धताको सुनिश्चितता हुन नसक्नुको पछाडि शरीरमा विभिन्न मिनिरलहरुको कमी रहेको देखिन्छ।

 

यसरी शरीरमा विभिन्न मिनिरलहरुको कमी र मधुमेहको रोग बिच अत्यन्त नजिकको सम्बन्ध रहने गर्छ। मुख्यतः म्याग्नेसियम, भेनाडियम, आइरन, क्रोमियम, जिङ्क, कपर, मोलिवडेनम, म्यागनिज, पोटासियम, क्याल्सियम, फस्फोरसको कमी मधुमेहको रोग बिकाश हुन धेरै मात्रामा जिम्बेबार रहने गर्दछ।

 

इन्सुलिनको उत्पादनमा हुने गडबड वा उत्पादित इन्सुलिनको गतिविधिमा आएको विकृतिका कारण रगतमा धेरै ग्लुकोज अथवा टुक्रिएको चिनी थुप्रिन पुग्ने रोग हो मधुमेह। मधुमेहको नियन्त्रणका धेरै तरिका मध्ये एक तरिका हो खानामा हुने कार्बोहाइड्रेट लाई टुक्रनै नदिएर रगतमा चिनी उपलब्ध हुन नदिई सुगरको कन्ट्रोल गर्ने।

उल्लेखित मिनिरलहरूको शरीरमा हुने पर्याप्तताले कार्बोहाइड्रेट लाई टुक्रनै नदिएर रगतमा चिनी उपलब्ध हुन नदिई सुगरको कन्ट्रोल गर्न एमाइलेज र ग्लुकोसिडेज इन्जाइमलाई नियन्त्रण गरी स्टार्च लाई ग्लुकोजमा टुक्रिनबाट रोक्न समेत सहयोग गर्ने गर्छ।

 

घरेलु रक्सी बनाएर उक्त रक्सीमा डुबाएर राखी निकालिएको टिम्मुरको पातको झोललाई अल्कोहोलिक एक्सट्रेक भन्ने गरिन्छ। टिम्मुरको अल्कोहोलिक एक्सट्रेकमा पिपिएम मतलब दश लाख भागमा सरदरमा म्याग्नेसियम (०.४१ भाग), भेनाडियम (०.३९ भाग), आइरन (०.३० भाग), क्रोमियम (०.१३ भाग), लेड (०.१३ भाग), जिङ्क (०.१३ भाग), कपर (०.११ भाग), मोलिवडेनम (०.०६ भाग), म्यागनिज (०.०५ भाग) तथा प्रतिशतमा पोटासियम (२.०८९%), क्याल्सियम (१.४२४%), फस्फोरस (०.२७४%) र स्टोर्नियम (०.००४%) को हाराहरिमा भेटिए।

 

फलतः वैज्ञानिक रूपमै टिम्मुरको अल्कोहोलिक एक्सट्रेक मधुमेह हुँदा शरीरको लागि जरुरी हुने विभिन्न प्रकारका मिनिरल्स हरुको पूर्ति गरी मधुमेह नियन्त्रण गर्ने खुबी भएको गुणकारी हिलिङ्ग मसला भएको प्रमाणित बन्यो।

 

टिम्मुरको रुखको बोक्राको अल्कोहोलिक एक्सट्रेकमा धेरै मिनिरलसका अलावा अन्य धेरै एन्टी अक्सिडेन्टहरू पाइने गर्छ। त्यसमा पनि यसमा हुने सुगन्धित पोलिफिनोल सार तत्त्व एपिजीनिन र कॆम्पफिरोल-७-ओ- ग्लुकोसाईडले फोक्सो र पेंक्रियाजको क्यान्सर निको बनाएको भेटिए पछि टिम्मुरको सार तत्त्व घातक क्यान्सरको दबाइ बनाउन समेत प्रयोग हुन थालेको छ।

 

टिम्मुरमा उच्च मात्रामा हुने सार तत्त्वहरूमा लिनालोल लगायतका पदार्थहरू हुने गर्छ। यि सार तत्त्वहरूको सङ्क्रमण विरुद्ध लड्ने गुण हुन्छ। चोटपटक लाग्दा हुने दुखाइ, शरीर भित्रको घाउ दुख्दा, सुन्निने, बाउँडिने हुँदा पेनकिलरको काम गर्छ। एलर्जी हुँदा सरिरमा आराम दिलाउन सहयोग गर्छ।

 

एक अनुसन्धानले मानिसले रक्सी खादै गर्दा टिम्मुरले कलेजोले उत्पादन गर्ने इन्जाइम ह्वततै बढ्ने र उक्त इन्जाइम कलेजोको भित्री भागको तन्तु हरुमा फैलिएर बसिदिने गर्छ । ताकि धेरै रक्सी खाने मानिसमा कलेजोमा पुगेको रक्सीलाई कलेजोको तन्तुको सम्पर्कमै आउन नदिई कलेजेको संरक्षण गर्ने गर्छ।

 

टिम्मुरको यो कलेजो  संरक्षण गर्ने खुबी वैज्ञानिक परीक्षण बाट प्रमाणित भए पछि हजारौँ वर्षको अयुर्बेद्को दाबा वैज्ञानिक रहेको सबैले मानेका हुन। उक्त उपलब्धि सँगै रक्सी सँग सिदनमा टिम्मुरको छोप वा  टिम्मुरको तेल रहेको सस प्रयोग भएको खाना खानेको सङ्ख्या बढ्ना को कारणले पनि संसारमा टिम्मुर धेरै खोजिने बस्तु बन्न गएको हो।

 

हुन पनि संसारमा आज भोलि टिम्मुरको तेल हिमालयन हिलरको नाममा निकै चर्चित छ। मानिसको सास गनाउने समस्यामा, आफ्नो बिग्रिएको स्वर लाई सुधार्न, रुद्र घण्टीलाई ओसिलो बनाएर आफ्नो स्वोस्थ स्वरको गुणस्तर सुधार्न टिम्मुरको सहायता लिने गरिएको भेटिन्छ। गायककार, मञ्चमा नाटक आदिमा काम गर्नेहरू, सर्बजिक स्थानमा लामो भाषण दिनेहरूले आफ्नो बोली प्रभावकारी बनाउन टिम्मुरको तेल प्रयोग भएको गार्गलले घाटी कुल्ला गर्ने प्रचलन चलेको छ।

 

ट्रेकिङको क्रममा मानिस अलि धेरै उचाइमा पुग्दा तुरुन्तै उच्च उचाइमा हुने निकै कम अक्सिजनको कारण रगतमा कम अक्सिजन मात्र पुग्न सकिरहेको हुँदैन। रगतमा थोरै मात्र अक्सिजन पुगिरहेका रगत बाट शरीर को संवेदनशील अङ्गहरूले सामान्य रक्त सञ्चार कायम रही रहदा चाहिने भन्दा निकै थोरै अक्सिजन भेटिरहेको हुन्छ।

 

संवेदनशील अङ्गहरूमा जरुरी हुने अक्सिजनको पूर्ति गर्न रक्त नलीहरू लाई फोक्सोले दरिलो सँग खुम्चाएर छिटो छिटो रगत सञ्चार गर्न दबाब दिन्छ। यो प्रक्रियामा धेरै जसो रक्त नालीमा रहेको तरल पदार्थ फोक्सो भित्र लिक हुन पुगेको देखिन्छ। उक्त अवस्थामा मानिसले टाउको दुख्ने, वाकवाकी लाग्ने, थकित हुने, निद्रा नलाग्ने र चक्कर लाग्ने जस्ता एक्यूट माउन्टेन सिकनेस हुने गर्छ। जसलाई हामी लेक लागेको भन्ने गर्छौ।

 

लेक लाग्दै गर्दा मानिसको दिमाग र सोचाई प्रक्रियामा समेत गम्बिर असर पुगिरहेको भेटिदा अत्यन्त हताश हुने, खोकी लाग्ने, बैजनी खकार आउने, सास फेर्दा धर धर आवाज आउने आदि समेत हुने गर्छ।

 

टिम्मुरको फलको अल्कोहोलिक एक्सट्रेकमा पाइने सार तत्त्व टम्बुलिनको नसा फुलाएर रक्त सञ्चार सुचारु गराउने क्षमताले लेक लाग्दा फोक्सो लाई छिटो छिटो शरीरमा रगत प्रवाह गर्न सहयोग गर्न सक्ने देखिएको छ। माथि उल्लेख गरिएका टिम्मुरमा रहेका अजिब प्रकारको पर्-पराउने लठ्ठाउने गुण दिने सार तत्त्व तथा अन्य एन्टी अक्सिडेन्टहरू ले एकातर्फ रगतमा पुगेको अक्सिजन रेडिकल आयोन सँग रियाक्सन हुन गई खर्च हुन नदिने र अर्को तर्फ दुख्ने, मुख सुक्ने वाकवाकी लाग्ने, निद्रा कम गर्ने आदिमा समेत सहयोगी भूमिका खेल्ने हुँदा लेकमा टिम्मुर उपयोगी बनेको देखिन्छ।

 

टिम्मुरको प्रशोधन तर्फ हाल सम्म प्राय स्टिम डिस्तिलेसन प्रविधि अपनाइएको देखिन्छ। उद्यमीलाई प्राप्त तालिम, प्रशोधन योग्यता, बडी अफ नलेज र लगानीको खुबी अनुसार अल्कोहोलिक एक्सट्रेक्सन प्रविधिबाट टिम्मुरलाई नेपालमै प्रशोधन गरी निर्यात गर्ने व्यवस्था गर्दा केही हद सम्म राम्रै होला।

 

नेपालले टिम्मुर खेती बाट सम्भव हुने प्रभावकारी मुनाफा र प्रतिफल लिन एकातर्फ गुणस्तरीय उत्पादनमा जोड दिन जरुरी छ। अर्को तर्फ कार्बनडाई अक्साइडको बरफ प्रयोग गरी टिम्मुरको सम्पूर्ण सार तत्त्व निकाल्न सकिने अहिले सम्मकै सबैभन्दा ग्रिन तथा अर्गानिक प्रविधि “सुपर क्रिटिकल एक्सट्रेक्सन प्रोसोधन” अवलम्बन गर्न अनिबार्य देखिन्छ। नेपालमा वातावरण प्रदूषित गर्ने र मुलुककै बेईज्यत हुने पेट्रोकेमिकल प्रयोग गरी सार तत्व निकालिने सोल्भेंट एक्सट्रेक्सन प्रविधिलाई सुरुबाटै निरुत्साहित गर्न जरुरी छ।

 

हाल औद्योगिक स्तरमा सुपर क्रिटिकल एक्सट्रेक्सन प्रोसोधन प्रविधिमा काम गर्ने प्लान्टको सुरुको मूल्य सवा तिन करोड देखि चार करोडको हाराहारीमा पर्ने गर्छ। नेपाल जस्ता मुलुकले यस्ता आधुनिक प्रविधिका मेसिनहरू खरिदमा अन्य मुलुकले जस्तो ८०-८५ % सम्म उद्योग हरूलाई मेसिन खरिदमै अनुदान, मेसिन आयातमा कर छुट हुने गरी वास्तविक नेपाली उद्यमीको हातमा यो उच्च प्रविधि र आधुनिक उधम्सिलता पुर्‍याउन जरुरी छ।

 

यस्ता प्रविधिबाट परम्परागत रूपमा चले आए अनुरूप अनुदान नेपाली लिने तर सम्पत्ति र आफ्नो चुरो लगानी विदेशमा लगि थुपार्ने बानी परेका केही ठुला व्यापारिक घराना लाई पोस्ने अर्को माध्यम बन्ने छ।

 

हाल सरकारले छोटे मोटे उद्यमी हुन चाहने हरूलाई केन्द्रित गरी ल्याउँदै गरेको इनोभेटिब वा नयाँ खालको उधम सञ्चालन गर्न चाहने हरूलाई बढीमा पचास लाख ननाघ्ने गरी कुल खर्चको पचास प्रतिशत सम्म खर्च अनुदान दिने नीति ल्याउँदै गरेको सुनिन्छ ।

 

टिम्मुरको प्रशोधन जस्ता मुलुक लाइनै निकै ठुलो दूरगामी फाइदा दिने तर अत्याधुनिक मेसिन, प्रविधि हस्तान्तरण र उत्पादन फर्मुलेसनमा वैदेशिक परामर्श जरुरी हुने योजनाका हकमा त्यो सीमित अनुदान भन्दा अन्यत्र मुलुक कै जस्तॊ प्रोजेक्ट अनुसार असीमित अनुदान उपलब्ध गर्ने अवधारणाको नीति लिनु जरुरी छ।

 

नेपालमा टिम्मुरको राम्रो उत्पादन हुन्छ। नेपाली उत्पादन र प्रशोधनको अन्तर्राष्ट्रिय बजार माग दिन एक गुणा रात चार गुणा बढिरहेको छ। तसर्थ नेपालले राष्ट्र व्यापी रूपमा टिम्मुर खेती तथा प्रशोधनको अभियान नै सञ्चालन गर्न जरुरी देखिन्छ। आशा गरौँ नेपालका सम्बन्धित सबै क्षेत्रले नेपाली टिम्मुरको क्षमता पहिचान गरी यसलाई आफ्नो दिगो आय आर्जन गर्ने तर्फ उपयोग गर्न छिट्टै लागि पर्ने छन।

 

(जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै संसारभर उद्यमशीलताको लागि जरुरी ज्ञान, सिप र प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: