मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मह-काण्ड – औद्योगिकीकरण समाप्त पार्ने खेल !

नारायण घिमिरे |

महमा १५-२०% पानी हुन्छ। मुख्य तय: डेक्सट्रोज र लेभ्युलोज नाम गरिएको दुई प्रकारको चिनी हुने महमा कम्तीमा अन्य २२ प्रकारका जटिल चिनीहरू द्वारा निर्मित छ। महमा सबै प्रकारको चिनीको कुल मात्रा ८०–८५% हुने गर्दछ। महमा प्राकृतिक रूपमै सानो मात्रामा नाइट्रोजन युक्त यौगिक, ल्याक्टोन, प्रोटिन, यान्टिबायोटिक गुणको इन्हिबिन, इन्जाइम, एन्टिअक्सिडेन्ट गुणको फिनोल, वासना दिने एरोमेटिक कम्पाउन्ड, एमिनो र अर्गानिक एसिडहरू, ग्लुकोनिक एसिड, फेनोलिक एसिड, फ्लाभोनोइड्स, खनिज, भिटामिन, ५-हाइड्रोक्सि मिथायल फरफुरल (एचएमयफ) र अन्य: फाईटोकेमिकलहरु रहने गर्दछ।

 

मह यथार्थमा पौष्टिक र औषधीय दुवै गुण हुने खाद्य पदार्थ हो। यसमा प्राकृतिक रूपमै अत्यन्त न्यून वा  ट्रेस मात्रामा रहने केही सूक्ष्म तत्त्वहरू जस्तै गह्रौँ धातुहरू (हेबी मेटल), केही अल्कालोइडहरू, एचएमयफ  र एचएमयफका डेरिभेटिभहरूले महमा विषाक्तता निर्माण गर्न योगदान दिन सक्दछ।

 

रसायन शास्त्रको भाषामा एचएमयफ एउटा   चक्रीय प्रकृतिको अल्डीहाइड हो। जब तपाईँ महलाई लामो समय स्टोर गरी राख्नु हुन्छ अथवा जब मह कुनै कारण वाट तात्न पुग्दछ तब त्यहाँ प्राकृतिक रूपमा नै इन्जाइमको अनुपस्थितिमा हुने नन-ईञ्जाइमेटिक ब्राउन्निङ्ग हुन्छ। जसलाई मैल्लार्ड रियाक्सन भनिन्छ। चिनी गैर-एन्जाइमेटिक ब्राउन्निङ्गको प्रक्रिया वाट गुज्रँदै गर्दा त्यहाँ एचएमयफको मात्रा बढ्ने गर्दछ। खाद्य विज्ञानमा महको यस्तो प्रकारको आफ्नै आनीबानीको पहिचान गरी मह कत्तिको ताजा छ (कति पुरानो हो आदि), ढुवानी वा प्रशोधन (निचोर्ने, छान्ने, मिसाउने, भर्ने, एक ठाउँ वाट अर्को ठाउँमा लाने आदि) तथा भण्डारणको क्रममा तापक्रमको कारण हुने हानिवाट जोगाउन कत्तिको ध्यान पुर्‍याएको छ भन्ने जस्ता कुराहरू सङ्केतको  रूपमा  अनुमान गर्न महमा हुने एचएमयफको मात्रा नाप्ने गरिन्छ।

 

यथार्थमा एचएमयफ जस्ता सूक्ष्म तत्त्वहरू  महमा मात्रै हुने कुरा होइन। तपाई हामी जे जे कुरा भुटेर खान्छौ, खानालाई हामी जति पर पर हुने गरी भुटेर खाने गर्दछौ त्यहाँ प्रोटिन र चिनी बिच हुने रियाक्सन प्रक्रिया सम्पन्न हुन्छ। त्यसलाई हामी क्यारामलाइजेसन भएको भन्छौ। त्यहाँ क्यरामेल कलर जस्तै (चकलेटको रातो-कालो-खैरो रङ्ग जस्तै) रङ्ग उत्पन्न हुन्छ। बिस्कुट बिस्कुट जस्तो गोल्डन हुने, पाउरोटी वा रोटी कालो कालो हुने वा भुटेको तरकारी, माछा, मासु भुटेको रङ्गको हुने सबै  क्यारामलाइजेसन भएको हो। त्यही क्यारामलाइजेसन लाई विज्ञानमा खैरो भएको वा  ब्राउन्निङ्ग भएको भनिएको हो। यो प्रक्रिया रसायन शास्त्री मैल्लार्डले पहिले चर्चा गरेकाले उसको नाममा  यसलाई मैल्लार्ड रियाक्सन भनिएको हो। हरेक मैल्लार्ड रियाक्सनको एचएमयफ सामान्य उत्पादन हो।

 

हामीले दैनिक रूपमा खाने वा पिउने तातो चिनी युक्त प्रशोधित खाद्य पदार्थहरूमा, बिहानको खाजा, रोटी, दुग्धका  उत्पादनहरूमा, फलफूलको जुसदेखि लिएर विभिन्न मदिराहरूमा लगभग सर्वव्यापी रूपमा एचएमयफ हुने गर्दछ। झन्डै १५० वर्ष पुरानो खासै गहिरो अध्ययन गर्ने सुविधा समेत वैज्ञानिक हरूलाई उपलब्ध हुन नसकेको समयको वैज्ञानिक अध्ययनहरूले एचएमयफ मानव स्वास्थ्यमा नकारात्मक प्रभाव दिने रिपोर्टहरू गरेका थिए।

 

त्यो बेलाको विज्ञानको अनुसन्धानहरूमा  एचएमयफले र्‍याल बनाउने कोशिकाको झिल्लीमा, छालामा र माथिल्लो श्वास प्रश्वासको नलीमा क्षति गर्ने साइटोटोक्सिसिटी देखाउने, डिएनएको उत्परिवर्तन गर्ने, क्रोमोजोममा विकृति ल्याउने र मानव तथा जनावरमा कार्सिनोजेनिसिटी अर्थात् क्यान्सरको जोखिम थप्ने जस्ता तथ्य हरू दिएका थिए। तर दैनिक ठुलो रूपमा  एचएमयफ युक्त खाना खाने हरूमा त्यस्तो कुनै लक्षण भेटिएन। ती कुरा व्यवहारिक रूपमा पुष्टि हुन सकेन।

 

त्यो सन्दर्भमा त्यसपछि सुविधा युक्त वैज्ञानिक अनुसन्धानका ल्याब हरूमा पटक-पटक गरिएका हालैका प्रमाणित विस्तृत अध्ययनहरू वाट एचएमएफ पुरानो वैज्ञानिक तथ्य भन्दा विपरीत हाम्रा शरीरका संवेदनशील अङ्ग हरूलाई हानि हुन नदिने एन्टिअक्सिडेटिभ, एलर्जी लगायतको समस्या वाट जोगाउने एन्टि-एलर्जिक, शरीरमा हानिकारक जीवाणु हरूले आक्रमण गर्दा त्यो विरुद्ध लड्ने क्रममा पैदा हुने तापक्रमका कारण शरीरको सङ्क्रमित भागको भित्र पट्टि हुने दर्द कम गर्ने एन्टि-इन्फ्लेमेटरी, शरीरको तन्तुहरूमा अक्सिजनको कमी हुन वाट जोगाउने एन्टि-हाइपोक्सिक, रगतमा अक्सिजनको कमी हुन पुग्दा रगतको हेमोग्लोबिन एक आपसमा टाँसिएर रगत बाक्लो हुन जान दिन वाट जोगाउने एन्टी-सिक्लिङ्ग तथा युरिक एसिडलाई शरीरमा चाहिने भन्दा धेरै पनि हुन नदिने र थोरै पनि हुन नदिने एन्टी-हाइपर-युरीसेमिक गुण जस्ता अत्यन्त सकारात्मक विस्तृत प्रभावहरू दिने पदार्थ रहेको यकिन भयो।

 

आज हामीले हाम्रो घर घरमा बनाएर खाने खानाको व्यवहारिक र स्थलगत यथार्थको अध्ययनको वैज्ञानिक रिपोर्ट हरूले सङ्केत गरे अनुरूप हामीले हाम्रो विभिन्न खाद्य उत्पादनहरू मार्फत दैनिक कम्तीमा ३० देखि १५० मिली ग्राम एचएमएफ खाइ रहेका छौ। उदाहरणको लागि हामीले दैनिक पिउने  कफी र स्वस्थ वर्धक ठानी खाने ड्राइफ्रुटमा प्राकृतिक रूपमानै  एचएमएफको ३०० देखि २९०० मिलिग्राम प्रति केजी पाइन्छ। जुन अत्यन्त उच्च मात्रामा हो।

 

क्यानडाको एक अनुसन्धानको प्रारम्भिक रिपोर्टले गुल्मी अर्घाखाँचीको कफीमा क्यान्सर प्रतिरोधी क्षमता रहेको देखाएको छ। सुख्खा आरुमा २२०० मिलिग्राम प्रति केजी एचएमएफ भेटिन्छ। तपाईँ हामीले पिउने गाढा बियरमा १३.३ मिलिग्राम प्रति किलो, हाम्रा पाउरोटी र बेकरीको उत्पादनहरूमा ४.१ देखि १५१ मिलिग्राम प्रति किलोग्राम एचएमएफ भेटिन्छ। हाम्रा मिसावट युक्त मह बच्ने काला व्यापारीले महमा हाल्ने ग्लुकोज सिरप र हाइ-फ्रुक्टोज कर्नसिरप भनिने प्रशोधित मकैको फ्रूक्टोजमा लगभग २० मिली ग्राम प्रति केजी मात्र एचएमएफ भेटिने गर्दछ।

 

एचएमएफ हाम्रो शरीरको सुरक्षाको जोखिमको बस्तु भएको प्रमाण हामी सँग छैन। बरु उल्टो त्यसको विशाल फाइदाहरू हाम्रा सामु प्रमाणित रूपमै आएका छन्। वैज्ञानिक यथार्थताको धरातलमा टेकेर आज विज्ञानले एक व्यक्तिको लागि दैनिक कति एचएमएफ सेवनको मात्रा सुरक्षित सेवनको मात्रा हो भनी स्पष्ट सँग कुनै तथ्य समेत दिएको छैन। यसको पछाडिको गहिरो वैज्ञानिक कारण हरेक व्यक्ति विशेषको एचएमएफको पाचन (मेटाबोलिज्म), पाचन भएको तत्त्व सारतत्वमा परिवर्तन हुने दर (बायोट्रान्सफर्मेसन) र शरीरलाई नचाहिने पदार्थ उत्सर्जन वा शरीरबाट बाहिर निकासीको दर फरक फरक हुने गर्दछ। जसलाई सजिलै सामान्य करण गर्न सकिँदैन।

 

एक आधिकारिक अनुसन्धानले नेपालको तराईको जङ्गलमा हुने मौरीको सुद्ध महको एचएमयफको मात्रा साहब गन्ज बनको ३३.३८ ± २.७४, धकेरी बनको ३०.३६ ± ३.३९, नारायणपुर बनको ३६.४८±४.०० तथा पिरारी बनको ५६.१०±८.८७ भेटिएको थियो। मह लाई जब तपाईँ प्रशोधनको क्रममा तताउनु हुन्छ यसको बाक्लोपन वा भिस्कोसिटि कम हुने गर्दछ। जसले गर्दा मह क्रिस्टलाइजेशन भएर जम्ने वा छिटै माइक्रोबियल फर्मेंन्टेसन अर्थात् रक्सी रक्सी जस्तो गनाउने समस्या आउन वाट रोक्छ। कम तापमानमा स्टोर गरी राखिएको महमा समेत महको यसको अम्लीय अवस्था अर्थात् कम पिएच (नेपाल ३.८ देखि ४.६८) र लामो भण्डारण अवधिले एचएमएफको मात्रा लाई धेरै गरिदिन्छ।

महको गुलियोमा लगभग ३९.४४% फ्रूक्टोज, २८.१५% ग्लुकोज र ३.१९% सुक्रोज हुने गर्दछ। त्यो भनेको फ्रूक्टोज र ग्लुकोजको अनुपात लगभग १.४० हो। लगभग ४.६ पिएचको महमा फ्रूक्टोज ग्लुकोज भन्दा पाँच गुणा बढी रियाक्टिब  हुन्छ। उक्त रियाक्सनको उत्पादन चक्रीय एल्डिहाइडको रूपमा रहेको एचएमएफ समेत हुने गर्दछ।  तसर्थ महमा कति एचएमएफ विकास भएको होला भनेर महको फ्रूक्टोज र ग्लुकोजको अनुपात हेरेर समेत यकिन गर्ने गरिन्छ।

 

ल्याबरोटरी टेस्ट म्याथड विकास गर्ने क्रममा ४.६ पिएचको महमा फ्रूक्टोज र ग्लुकोजको अनुपात यदि ०.९५ भन्दा घटेको रहेनछ भने त्यो महमा एचएमएफको स्तर ४०.० मिलिग्राम प्रति किलो वाट नघटेको सङ्केतको रूपमा लिन सकिने भनी विकास गरिएको हो। तसर्थ टेस्ट म्यथडमा तपाईँले फ्रूक्टोज र ग्लुकोजको अनुपात हेरेर वा एचएमएफको लेभल जाँचेर एकै चिज हेरी रहनु भएको छ। एकै स्याम्पलमा दुवै हेर्नु भनेको समय र श्रोत साधनको बरबादी भन्दा अन्य केही होइन।

 

पोषण र पाचन विज्ञानको प्रमाणित तथ्यको आधारमा कुरा गर्दा खानको रूपमा मुख वाट खाएर वा सुइँ वा स्लाइन मार्फत नसाभित्र इन्ट्राभेनस तरिकाले तपाईँको शरीर भित्र एचएमएफ पुग्दछ तब  तपाइको पाचन प्रक्रियाले  एचएमएफ लाई मुख्यतया तीन प्रमुख मेटाबोलाइटमा परिवर्तन गर्दछ। ती हुन ५-हाइड्रोक्सी- मिथाइल-फ्यूरोइक एसिड (एचएमएफए), २,५-फुरान्डि-कार्बोक्सीलिक एसिड (एफडिसीए) र ५-हाइड्रोक्सी-मेथाइल-२-फुरोयल-ग्लाईसिन (एचएमएफजी)। सम्भवतः कहिले काहीँ चौथो मेटाबोलाइट ५-सल्फोक्सी-मिथाइल-फरफुरल (एसएमएफ) समेत बन्न सक्दछ।

 

मानिस मानै गरिएको पटक पटकको वैज्ञानिक परीक्षण वाट एचएमएफ लाई मौखिक वा इन्ट्राभेनस रूपमा शरीरमा दिइएको  ४८ घण्टा भित्र पिसाब मार्फत एचएमएफका सबै  मेटाबोलाइटहरु पूर्ण रूपमा शरीर वाट उत्सर्जित भएको प्रमाणित गरिदिएको छ। जसले एचएमएफ शरीरले पचाउन नसकी शरीरमै अड्केर बसी समस्या पैदा गर्ने त हैन भन्ने शङ्का समेत निवारण गरिदिएको छ।

 

यथार्थता के हो त भने एचएमएफ लाई हाम्रो शरीरले पूर्ण रूपमा पचाउने गर्दछ। एचएमएफ शरीरको लागि क्यान्सर वा अन्य रोग निम्त्याउने चिज पनि होइन। मात्र चिनी हुने खाद्य पदार्थको गुणस्तरको अनुमान गर्न प्रयोग हुने एक मापदण्ड मात्र हो।

 

एचएमएफ मह, फलफूलको जुस र डेरीको पोका दूधमा समेत कम मात्रामा पाइन्छ। साथै भिनेगर, जाम, क्यानको खाना, अचार, मादक पदार्थ जस्ता जुन जुन खाद्य पदार्थको प्रशोधनमा तापको प्रयोग हुन्छ वा तापक्रम प्रयोग गरी प्रशोधित गरिएको चिनी भएको कच्चा पदार्थ प्रयोग भएको हुन्छ त्यसमा केही न केही मात्रामा हुन्छ। चिसो ठाउँमा रहेको मौरीको नतताइएको  ताजा महमा १५ मिली ग्राम प्रति केजी भन्दा कम समेत हुन सक्छ। जुन मौरीले कस्तो फुलको रस लिएर बनाएको छ र कति पिएचको मह तैयार भएको छ त्यसमा निर्भर हुन्छ।

 

नेपाल जस्ता गहन कुरामा अनुसन्धान फिटिक्कै नहुने र मात्र बुद्धि विलासको भरमा अर्काको नियम कानुन हेरी नीतिगत नियम बन्ने मुलुकहरूमा मह जस्ता खाद्य पदार्थको मापदण्ड बनाउँदा मूलतः संयुक्त राष्ट्र सङ्घको कोडेक्स ऐलीमेन्टेरियस कमिसनले बनाएको मानक अर्थात् मापदण्ड नै आफ्नो मापदण्डको रूपमा स्वीकार गर्ने गरिएको छ।

कोडेक्स ऐलीमेन्टेरियसका अनुसार महमा  एचएमएफको मात्रा ४० मिली ग्राम प्रति केजी भन्दा कम रहेको भए त्यसले मह प्रशोधन समयमा तताउने गरिएको छैन भन्ने ग्यारेन्टी गर्दछ भन्ने सर्त सहितको मान्यता राखेको छ। कोडेक्स ऐलीमेन्टेरियसको सर्तमा यदि उक्त मह नेपालको दाङ, नेपालगन्ज, चितवन लगायतका स्थानीय स्थानको तापक्रम २५ डिग्री सेल्सियस भन्दा माथि पुग्ने ट्रपिकलजोन बराबरको रहेको छ भने एचएमएफको मात्रा ८० मिली ग्राम प्रति केजी भन्दा कम रहेको खण्डमा उक्त मह प्रशोधन समयमा तताउने नगरिएको हुन सक्ने यकिनका साथ लेखिएको छ।

हालै नेपालमा महा-नगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा अत्यधिक एचएमएफ भेटिएको र महमा अत्यधिक एचएमएफको मात्राले मानव शरीरलाई क्यान्सरसम्मका गम्भीर असर पुराउन सक्ने भन्दै प्रमुख मिडिया हरूले समाचार छापेका छन्। ती मिडियाका अनुसार क्यान्सरसम्म  गराउन सक्ने स्पर्श हनीको लागि जरुरी हुने मह दाङ, नवलपरासी तथा चितवनबाट खरिद गर्ने गरेको र त्यसमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात खाद्य अनुसन्धान शालाको मापदण्ड भन्दा फरक पाइएको भनिएको छ। समाचार पत्रहरूले उल्लेख गरेको  परीक्षणको नतिजा नेपालको दाङ, नवलपरासी तथा चितवन जस्ता स्थानमा गरिने मौरी पालन वाट आउने शुद्ध महमा समेत हुन सक्ने स्पष्ट छ।

 

जुन यथार्थमा नेपालले स्विकार्दै आएको  कोडेक्स ऐलीमेन्टेरियसको मापदण्डको चुरो मान्यताको विरुद्ध छैन। न त एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइनु एवं  फ्रुक्टोज तथा ग्लुकोजको अनुपात खाद्य अनुसन्धान शालाको मापदण्ड भन्दा फरक पाइनुको अर्थ त्यो महले क्यान्सर लगायतको हानिकारक रोगको कारक बनेको वैज्ञानिक आधार युक्त नै छ।

सञ्चार माध्यममा आएको खबर र फोटो ग्राफ अनुसार मह उद्योगले सायद कानुनी प्रक्रिया नपुर्‍याएको होला वा मिसावट गरी बदमासी गरेको होला वा मह उत्पादन स्थल खाद्य उद्यमको लागि हुनुपर्ने सर सफाइको न्यूनतम मापदण्ड पुरा नगरेको हुन सक्छ। त्यस्तो अपराधमा त्यसै प्रकारको कानुनी कारबाही गर्ने वा उद्योग लाई नसियत  दिएर भएका कमी कमजोरी कसरी हटाउने भनी तालिम दिनु राज्यको कर्तव्य हो। उपभोक्ता माझ पुगेको कुनै पनि खाद्य खाद्यको जरुरत अनुरूपको गुणस्तर हुने पर्ने नियम लागु गर्ने जिम्मेवारी राज्यको रहेकोले उक्त गुणस्तर नपुगे सम्म त्यस्ता उद्योग हरूको उत्पादन बजार जानु वाट रोक्नु पनि ती निकायहरूको जिम्मेवारी हो।

 

उद्योग सञ्चालन गर्ने क्रममा कुनै उद्यमी वाट भएको सानो कमजोरी लाई राज्य भर समाचार आतङ्क हुने गरी प्रहरीले बरामद गरेको महमा क्यान्सर गराउने तत्त्व भेटिएको जस्ता निराधार र गलत समाचार आउनुको नियत सफा देखिँदैन।  बजारमा आएको महको हालैको घटना र तिनीहरूको सञ्चार माध्यममा आएको समाचारले नेपालमा नेपाली उद्यमको हत्या गर्न हाम्रो सम्पूर्ण संयन्त्रको कसरी दुरुपयोग गरिन्छ भन्ने स्पष्ट पारेको छ।

 

एकातर्फ राज्यको आफ्नै अनुसन्धान शालाले जारी गरेको सामान्य प्रकृतिको परीक्षण रिपोर्ट (यथार्थमा नियम कानुन मिचेको प्रमाणित हुन नसक्ने रिपोर्ट) मिडिया लाई उपलब्ध गराउँदछ। त्यसै कार्यालयका सम्बन्धित खाद्य अनुसन्धान अधिकृत आफ्नो नाम नबताउने सर्तमा उक्त महमा प्रमाणित नै गर्न नसकिने प्रकृतिको क्यान्सर जस्ता हानिकारक पदार्थ युक्त भएको भनी मिडिया लाई विज्ञको रूपमा सुटुक्क खबर गर्दछ। राज्य संयन्त्र आफै आफ्नै मुलुकको उद्यमीको उद्योगको हत्या गर्न लागि पर्दछ । अर्को तर्फ मुलुकका सचेत भनिएका वर्ग त्यसको गहिराइ सम्म नपुगी राज्यको सुनियोजित संयन्त्रको पूरक बन्न पुग्छ। जनतामा भने यो मह को पो परीक्षण भयो र पत्ता लग्यो।

 

अन्य परीक्षण नभएका कति मेरो भान्सामै होला भन्ने आतङ्क सृजना गर्दछ। नेपाल सरकारको जिम्मेवार निकायको यस्तो पाराको समग्रको निचोड हुन्छ हामी यो मुलुकमा उद्यमी मैत्री वातावरण बनाउन हैन मुलुकमा आतङ्क मच्चाएर मुलुक भित्र औद्योगिकीकरण गर्न सकिने सम्पूर्ण सम्भावना निमित्याण्ड  गर्न तत्पर छौ। यो मुलुक लाई बिदेसी उत्पादनको एकाधिकार बजार बनाउन जानेर नजानेर कम्मर कसेर लागेका छौ। यो प्रकृतिको घटना न त सरकार, न त प्रशासन यन्त्र न राज्यको तेस्रो अङ्ग भनिएका क्षेत्रको नै चासोको विषय बन्ने गरेको छ।

(घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन्।)

143Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: