मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक अवधारणाको “नेपालमा गाँजा” पुस्तक लोकार्पण।

खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा वैज्ञानिक अवधारणा नामक पुस्तक लोकार्पण गरिएको छ । नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रकाशन गरिएको सो पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरेका हुन् ।

गाँजा बारे विज्ञहरुको विचार समावेश गरिएको भिडियो :

विश्व हिन्दू युवासङ्घले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेपाल र विश्वमा गाँजाको अवस्था, गाँजाको औषधीय उपयोग र गाँजासम्बन्धी ऐन कानुन, नीति नियम, विधेयकका बारेमा चर्चा गरिएको छ । विश्व हिन्दू युवासङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले गाँजा व्यवसायले नेपालमा रोजगारी सिर्जना गर्ने बताउँदै सरकारले गाँजा आयोग गठन गरेर गाँजाको उपयोगिताबारे देशभित्र बहस नै सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।

 

क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत लेखक घिमिरे गाँजा, हर्बल र हिलिङ फुडको विकासका लागि नवप्रवर्तन विषयमा लेख्दै आएका छन्। सरकारका पूर्वसचिव उपाध्यायले खासगरी गाँजाको आयुर्वेदिक महत्व र उपयोगिताबारे सकारात्मक सचेतना जगाउनुपर्नेमा जोड दिए ।

 

नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडिबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । गाँजा प्रयोग हुने १ सय ९१ भन्दा बढी प्राचीन आयुर्वेदिक औषधी सेवन गरिरहेका बिरामी, जोखिमपूर्ण छारे रोगको औषधी खाइरहेका बालबालिका, क्यान्सरको पीडाबाट आहत भई घर वा अस्पतालमा चरम दर्द घटाउने औषधी सेवन गरिरहेका बिरामी र पेन किलरका रूपमा गाँजाको तेलको मालिस लिइरहेकाहरू सबै कानुनका नजरमा अपराधी करार छन् ।

 

युद्ध वा यातनापूर्ण कारबाहीको दर्द घटाउन गाँजा प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडितलाई समेत लागूऔषध नियन्त्रण ऐन, २०३३ ले अपराधी ठहर गरिरहेको छ। तर विश्वका कतिपय मुलुकमा गाँजाजन्य औषधी, खाद्य र पेयको अनुसन्धान, नव–प्रवर्तन, विकास र व्यावसायिक उत्पादन लगभग निर्वाधजस्तै हुन थालिसकेको छ। गाँजाको खेती, प्रशोधन, बिक्री–वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु नै आ–आफ्नो राष्ट्रको हितमा हुने धारणा संसारको कुनाकाप्चासम्मै पुगिसकेको छ ।

विमोचनको सम्पूर्ण कार्यक्रम:

यसै पृष्ठभूमिमा क्यानडामा कार्यरत लेखक एवं खाद्य तथा औषधी विज्ञ नारायण घिमिरेको पुस्तक नेपालमा गाँजा वैज्ञानिक अवधारणा बजारमा आएको छ । यो पुस्तकले गाँजाको सवालमा नेपालले अपनाउनु पर्ने नीति के हो र त्यो कस्तो हुनुपर्छ भन्नेबारे साङ्गोपाङ् केलाउने प्रयत्न गरेको छ । पुस्तकमा संसारका विभिन्न मुलुकले गाँजाका सम्बन्धमा के कस्ता नीति–नियम अख्तियार गरिरहेका छन् भन्नेदेखि लिएर नेपालको विद्यमान परिस्थितिको मिहीन विश्लेषण गरिएको छ ।

 

गाँजको औषधीय उपयोगबारे यसमा सविस्तार चर्चा छ । कफि, गाँजा र रक्सीको तुलनात्मक अध्ययन तथा यौन र गाँजाका बारेमा पनि यसमा समावेश छ । पुस्तकको सबैभन्दा महत्वपूर्ण पाटो संसद्मा प्रस्तुत ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६’ मा हुनुपर्ने न्यूनतम परिवर्तन हो । प्रस्तावित कानून जस्ताको त्यस्तै पारित भए त्यो नेपाली किसानका लागी सास्ती र बिचौलियालाई मात्र मस्ती हुने लेखकको ठहर छ ।

नेपालमा गाँजा” पुस्तक लोकार्पण:

लेखक घिमिरे १५ वर्षयता क्यानडामा खाद्य तथा औषधी विज्ञका रूपमा कार्यरत छन्। उनी आयुर्वेदिक औषधीका अन्य–असर (साइड–इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन्। घिमिरे गाँजा, हर्बल र हिलिङ्ग फुड विकासका लागि नवप्रवर्तन विषयमा नियमित कमल चलाइरहन्छन्।

88Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: