मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रतिभाशाली, दक्ष र क्षमतावान नभई पृथ्वीमा जन्मन नै असम्भव : गीता

कर्मको तत्त्व बोध !!

अथर्ववेदाचार्य नारायण नारायण नारायण

जीवनका चुनौतीहरूको सामना गर्न भगवद गीतामा सबैको जीवनको मार्गदर्शक हुन सक्ने उपदेशहरू छन्। मानव जीवन, उसका मनमा उठ्ने भावनाहरू, उसका सपनाहरू र जीवनको यथार्थता बुझ्न १८ अध्यायहरूमा लेखिएको गीताको चुरो सन्देश समाजमा सरल भाषामा उपलब्ध हुनु अत्यन्त जरुरी बनेको छ। गीताले मानिस लाई कस्तो कर्म गर्ने र त्यो कर्म बापत कस्तो अपेक्षा राख्ने भन्ने बारे तिमि जुन कर्ममा रमाउँछौ, त्यही कर्मलाई आफ्नो पेसा बनाऊ भन्ने गर्दछ। साथै तिमि अनिवार्य आफूलाई आनन्दित राख्ने कर्ममा संलग्न गर भन्दछ।

 

कर्मको नतिजा के आउला, कस्तो आउला, चाहेको नतिजा प्राप्ति होला नहोला भन्ने बकवास प्रति त्यति ठुलो आशक्ति नदेखाऊ भन्दछ।

 

गीताको यो भनाइको पछाडि एउटा रहस्य रहेको छ। त्यो के भने यो संसारमा अत्यन्त प्रतिभाशाली र क्षमतामान नभई मानिस मानिसको रूपमा जन्मन असम्भव छ।

 

प्राकृतिक नियम सङ्गत काम गर्ने आदत नभएको अर्थात् अधार्मिक मानिस सर्व प्रतिभाशाली, क्षमतामान र दक्ष हुनै सक्दैन। जब सर्व प्रतिभाशाली, क्षमतामान र दक्ष मानिस पथ भ्रष्ट बन्दछ, त्यसले संसारमै प्रभावशाली नकारात्मक प्रभाव छोड्दछ। संसारलाई नारकीय बनाइ दिन्छ। त्यही मानिस प्रकृति प्रिय मानवता युक्त बनिदिँदा संसार मानव मात्र नभएर सम्पूर्ण चराचर हरुको स्वर्ग रूप तर्फ लैजाने अग्रदूत बन्दछ।

 

यो कुरा यथार्थ हो की हामी मद्ये निकै धेरै मानिस आफूलाई उपलब्ध विभिन्न कर्म गर्ने नैतिक र मानवीय विकल्पहरू मध्ये आफूलाई  उत्तम नतिजा दिने लागेको काम छान्ने गर्दछौ। हाम्रो पेसा छान्नुको पछाडि त्यसको अनुमानित नतिजाको लोभ लाग्दो सम्भावना हुने गर्दछ।  जुन हामी चाहन्छौ।  तर त्यसको अर्थ यो होइन कि त्यो कर्म गरी रहँदा हामी आफूले आफूलाई एक नैतिक मानिसको रूपमा पाइरहेको हुन्छौ। वा हुन सक्छ त्यसमा संलग्न हुँदै गर्दा भित्री मन खुसी छैन।  हुन सक्दछ हाम्रो गट फ़िलिङ्गले हामीलाई त्यो काम गरिरहँदा आनन्द दिई रहेको छैन। जे जसरी होस्, हामी भौतिक आर्थिक सफलतामा रहौला तर भित्र बाट खुसी र गौरवान्वित  हुन सकेको स्थिति छैन।

 

गीताले दिएको सुझाव अनुसार नतिजाको लोभ लाग्दो प्रतिफलको सम्भावनाको आधारमा कुनै पानी व्यवसाय लिनु वा छान्नु उत्तम तरिका होइन। गीता भन्दछ, तिमि त्यही काम गर, जुन काम गर्दा तिमीलाई आनन्दको महसुस हुन्छ। त्यो कर्म जुन नैतिक छ अनि मानवीयता पूर्ण समेत। जुन काम गर्दै गर्दा तिम्रो मन भित्र वाट अधिक खुसी महसुस हुन्छ, त्यही काम तिमीले छान्न सक्दा त्यो काम आफूले छानेको र आफ्नो अन्तर आत्माले मानेको काममा परिवर्तन हुन्छ। त्यस्तो कर्मले तिमीलाई अविश्वसनीय रूपमा तिम्रो उद्देश्य प्राप्तिको हद भन्दा अधिक प्राप्तिको अवस्थामा तिमीलाई पुर्‍याउने गर्दछ।

 

जहाँ नैतिक भन्नाले त्यस कर्म गर्ने क्रममा त्यसले दिने सम्भावित नतिजा त्यस कार्यमा संलग्न पक्ष र त्यसले प्रभाव पार्ने सम्पूर्ण स्टेकहोल्डर (सरोकारवालाहरू) प्रति अहिंसा पूर्ण रहनु हो।  मानवीय भनेको प्राकृतिक नियम सङ्गत संलग्न पक्षको स्वतन्त्र सहभागिता युक्त अहिंसा कर्म नै हो।

 

गीताको बुझाइमा, आफूले गरिरहेको कार्यको परिणामको प्राप्ति आफ्नो अन्तिम उद्देश्य बनाउने मानिसको ध्यान उक्त कामले सफलता प्राप्ति हुने हो वा असफलता हाता लाग्ने हो भन्ने सोचमा अत्यधिक केन्द्रित बन्छ। परिणाम के होला र कसो होला भन्ने छटपटीमा रहने मानिसको आफ्नो काममा चाहेर पनि पर्याप्त ध्यान पुग्न सक्दैन। कर्म बापतको परिणामको प्राप्तिको आशक्ति र दुबिधा दुवै कर्म सम्पन्न गर्ने क्रममा त्यसमा निर्माण हुनुपर्ने सम्पूर्ण गुणस्तरको पूर्ति गर्नुपर्ने हदको इमानदार प्रयासहरू गर्न वाट मानिस चुक्दछ। जुन कि त नकारात्मक कि आंशिक उपलब्धि दिने परिस्थिति हो।

 

गीताको चुरो भाव अनुरूप आफ्नो गन्तव्यको अनिश्चित भविष्य बारेमा अधिक सोच्नुको सट्टा, चिन्ता गर्नुको सट्टा, त्यसको सकारात्मक नतिजा पछिको आनन्दको कोरा कल्पनामा डुब्न छोडेर आफू तत्काल संलग्न रही रहेको यात्राको स्वाद लिँदै आफ्नो यात्रामा नियमित रहने यात्री बन्नुहोस् भन्ने भेटिन्छ।

 

गीताको आशय अनुरूप उल्लेखित गुण विना महान् कलाकार, योद्धा, वैज्ञानिक, दार्शनिक वा कुनै पनि क्षेत्रको सफल व्यक्ति बन्न सम्भव छैन। केही समय कोही सफल जस्तो देखिएला । उल्लेखित गुण विना प्राप्त सफलता नक्कली सफलता हुने हुँदा त्यो क्षणिक हुन्छ।

 

सफलता प्राप्तिको गुण आफूमा निहित नरहेका व्यक्तिहरू सफलता प्राप्तिको लागि योग्य रहँदैन। सफलता प्राप्तिको लागि योग्य नरहेका व्यक्तिहरूको गलत चरित्र वा गुण वा नियत वा कार्यको जगमा अडिएको सफलता उसको क्षणिक सफलता हुने गर्दछ। त्यस्ता व्यक्तिले क्षणिक समयको लागि हासिल गरेको सफलता नै उसको जीवनको जीवनभरको पीडाको मुख्य रुटकज बन्दछ।

 

क्षणिक सफलता उसलाई सांसारिक जीवन तिमीले सोचे जस्तो हचुवा र मजाकको खेल होइन बन्ने अनुभूति दिन उसको जीवनमा आएको हुन्छ। क्षणिक सफलता आफैमा सफलताको चुलीमा कायम रहेर नियमित रहन नसक्नु भन्दा समेतको नाजुक अवस्था हो।

 

अत्यन्त प्रतिभाशाली, दक्ष र क्षमतामान नभई मानिसको रूपमा यस पृथ्वीमा जन्मन नै मानिसको लागि असम्भव रहेको गीताको चुरो मान्यता र गहिराइको यथार्थ धेरै मानिसहरूले बुझी रहेको देखिँदैन।

 

ती कुराहरूको पुष्टि वेद र विज्ञान वाट सहजै गर्न सकिन्छ। त्यसलाई नकार्न सकिने स्थिति नै छैन भन्ने वेद र विज्ञान वाट प्रस्ट गर्न सकिन्छ।

 

वैज्ञानिक तथ्याङ्क अनुरूप जीवन भरमा औसत १०२  लिटर वीर्य स्खलन गर्ने पुरुषको प्रति एम एल वीर्यमा औसत ४९ मिलियन शुक्रकीट हुने गर्दछ। एक पुरुषले आफ्नो जीवन भरमा १२० X १००० X ४९ = ५, ८८०, ००० मिलियन अर्थात् पाँच हजार आठ सय असि बिलियन वटा शुक्रकीट सन्तान उत्पादनको खातिर तैयार गर्दछ। स्त्रीको हकमा उनी आमाको पेटमै हुँदा उनकी आमाले उनको भ्रूणमा सन्तान उत्पादनको लागि सरदर साठी लाख डिम्बाशय राखेर जन्माएकी हुन्छिन्।

 

पुरुष वाट निस्केको हरेक शुक्र किटले स्त्रीको डिम्बाशयमा स्थान पाउँदा त्यो शुक्रकीट मानिसको रूपमा जन्मने इरादामा प्रकृति वाट व्यवस्था भएको हुन्छ। तर पनि हालको हाम्रो समाजमा हरेक जोडी मानिसले जीवनभरमा सरदर २.४७ बच्चा मात्र जन्माउने गरेको छ। यसको अर्थ हुन्छ हरेक २३८०.०५६ बिलियन शुक्रकीट मद्ये मात्र एउटाले मानिसको रूपमा यस पृथ्वीमा जन्म लिने अवसर पाएको छ।  जुन हरेक साल घट्दै छ।

 

आजको पृथ्वीको जनसङ्ख्या  लगभग ७.८८८ बिलियन छ।  तपाईँ आजको विश्वको जनसङ्ख्या भन्दा ३०१.८ गुणा ठुलो मानव भ्रूणहरू संग प्रतिस्पर्धा गरेर मात्रा मानिसको रूपमा यो पृथ्वीमा जन्मन सफल हुनु भएको छ।  आजको पृथ्वीमा भएको जन सङ्ख्याको ३०० गुणा ठुलो जनसङ्ख्या लाई पछि पारेर जीवित रहनु भयो।  यति ठुलो प्रतिस्पर्धामा अब्बल भएर जन्मिनु भएको तपाईँ मध्येको प्रति हजार ३८ जना त जन्मिसकेपछि भएको जीवन मृत्युको प्रतिस्पर्धा हारेर बिते। तपाइले त्यो गेट समेत पार गर्नु भएको छ।

 

प्रकृतिले थुपारी दिएको त्यति ठुलो प्रतिस्पर्धा जितेर आज तपाईँ थोरै फुर्सद  लिएर यो लेख पढी राख्नु भएको छ। सम्झनुस् तपाईँ कति भाग्यमानी हुनुहुन्छ। यति ठुलो भाग्य पहिले नै प्राप्त गरी सक्नु भएको तपाइ, अब भाग्यमा होइन, कर्मको बलमा प्रगति पथमा लम्कन पर्ने भएको छ। भाग्य वादी बन्ने छुट तपाईँलाई अब बाँकी छैन।

 

यसको अर्थ के हो भने यो संसारमा कुनै न कुनै खुबी नभएको मानिस, कम्तीमा कुनै एक खुबीमा अत्यन्त अब्बल नभएको मानिस जन्मन सम्भव छैन।

 

अर्को कुरा यस पृथ्वीमा जति मानिस छन् त्यो भन्दा करोडौँ करोड गुणा फरक फरक प्राकृतिक दक्षताका फिल्डहरू उपलब्ध छन्। प्रकृतिमा रहेका विविध फिल्ड मद्ये तपाईँ कुन फिल्डको उत्कृष्ट खुबी रहेको रूपमा जन्मनु भएको छ र प्रकृतिले तपाईँलाई चुन्यो त्यो यस प्रकृतिमा जीवित कुनै मानिसको त कुरै छोड्नुस् स्वयम ईश्वरलाई समेत थाहा हुँदैन।

 

याद राख्नुस्, वेदको अवधारणामा भगवान् स्वर्गको जीवनमा रहन सक्दछन्। तर मुक्त हुने तिनै भगवान् मानिएकाहरूले पनि मुक्ति प्राप्तिको लागि मानव चोला लिनु पर्दछ। मात्र मानव चोला वाट मुक्ति प्राप्ति सम्भव छ।  यो बारे अर्को सन्दर्भमा कुरा गरुँला। माथिको सन्दर्भले केही सङ्केत त गर्‍यो होला।

 

तपाइको खुबी सँगै तपाइले तपाइको चेतना लिएर आउनु भएको छ। त्यो चेतना जुन दिन देखि तपाईँ मानिसको रूप धारण गर्नु भयो त्यही दिन देखि तपाइको आत्माको रूपमा तपाइको सम्पूर्ण जीवनको साक्षीको रूपमा रहेको छ।

 

जुन सामूहिक चेतना वा परमात्मा वा प्रकृतिकै एक अंश हो।

 

तपाइमा भएको चेतना जति बेला तपाईँको जीवनको विशेष खुबीको क्षेत्रमा पुग्दछ  तपाइले भित्रै वाट सुखी, खुसी महसुस गर्नु हुन्छ। जब तपाईँ आफ्नो विवेकले अहिंसाको बाटो लिनु हुन्छ, नैतिक मानवीय पथमा चलेर तपाईँ भित्र देखि खुसी हुने कर्ममा लाग्नु हुन्छ, त्यो कर्म तपाइको जन्मजात विशेष खुबीको क्षेत्रको कर्म हुने गर्दछ।

 

जसरी रुख चढ्ने काम बाँदरले र पानीमा पौडने काम माछाले खासै मेहनत भएको महसुस नगरी आफ्नो जन्मजात प्राप्त कौशलको रूपमा सम्पन्न गर्न सक्छन् तपाईँ पनि तपाइको  विशेष खुबीको क्षेत्रमा लाग्दा झन् रोमाञ्चक रहेर त्यसमा सफल बन्न सक्नु हुन्छ।

 

वैदिक ज्ञानको निचोड दिने गीताको भनाइ यो अर्थमा विवाद रहित छ। यसले हाम्रो गीताको भनाइलाई बुझ्ने खुबीमा रहेको कमजोरी, गीताको गहिरो चिन्तन लाई गलत चिन्तन ठान्ने भुल को कारक बनेको प्रमाणित गरिदिन्छ।

 

(अथर्ववेदाचार्य लेखक नारायण नारायण नारायण क्यानडामा खाद्य तथा औषधि विज्ञको रूपमा कार्यरत छन्।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: