मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

शिवजीको बुटी गाँजाको गैर-अपराधीकरणको कानुनी चुनौती

नारायण घिमिरे

नेपालमा गाँजा, धतुरो र भाङ आदि लागूभागूलाई ‘शिवजीको बुटी’ मानिएको छ। गाँजा र भाङलाई शिवजीको प्रसादका रुपमा शिवरात्रिमा मुलुकभर ग्रहण गरिन्छ । नेपालको आधाजसो जनसंख्याले आफ्नो जीवनकालमा कम्तीमा एकपटक गाँजा वा भाङ चाखेको एक प्रक्षेपण छ। ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र चरेस सबैलाई लागुऔषध किटान गर्छ।

 

गाँजामा दिमागको चेतनालाई परिवर्तन गर्ने खुबी रहेको मुख्य नशालु साइकोएक्टिभ केमिकल ‘डेल्टा–९ टेट्रा–हाइड्रो–क्याना–बिनोल’ हो । त्यसलाई छोटकरीमा ‘टीएचसी’ भन्ने गरिएको छ । गाँजामा अर्को महत्त्वपूर्ण केमिकल सीबीडी पनि पाइन्छ । सीबीडी नशालु र साइकोएक्टिभ प्रकृतिको केमिकल होइन । गाँजाले मानिसको दिमागलाई एकातर्र्फ छोटो समयका लागि लठ्ठाइदिने र अर्कोतर्फ अल्मेन्जर जस्ता रोगमा दिमागका तन्तुहरु छियाछिया हुदै सानोसानो हुदै जाने क्रमलाई रोकी दिमागको संरक्षण गरेको भेटिएपछि संसारको ध्यान गाँजातर्फ मोडिएको हो।

 

गाँजामा पाइने केमिकल टीएचसीले न्युरोनलाई उत्तेजित गराएर तापनि यसमा हुने सीबीडीले भने न्युरोनलाई उत्तेजित गराउन कुनै भूमिका खेल्न सक्दैन। हालसम्म गाँजामा हाम्रो शरीरमा प्रभाव पार्ने चार सयभन्दा धेरै तत्व भेटिएका छन् । यिनै तत्व र तिनका औषधीजन्य अनि रिक्रिएसनल अनुभूति दिन सक्ने जटिलताका कारण गाँजा ओखती र मनोरञ्जनका लागि उपयोगी पदार्थ बनेको हो।

 

कतिपय अवस्थामा गाँजाका विभिन्न केमिकलको परस्पर विरोधी भूमिका समेत भेटिएको छ। उदाहरणका लागि गाँजा सेवन गर्दा यसमा हुने सीबीडीले भोक घटाउन सघाउँछ भने टीएचसीले भोक जगाउँछ।यसलाई ओखतीका रुपमा प्रयोग गर्दा दुब्लाउनुपर्ने भए सीबिडी हालेर अनि मोटाउनुपर्ने भए टीएचसी राखेर सप्लिमेन्ट बनाउने गरिन्छ।

 

आयुर्वेदका अनुसार समेत गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो। मानिसमा पाचन गडबडी र झाडापखाला ठिक पार्ने, डिप्रेसन, छारे रोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ। गाँजा सेवनले पुरुषमा शुक्रकीट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुणका कारण कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधीको सूत्रमा र ८ वोटा यूनानि फर्मुलामा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्य समेत भेटिएको छ।

 

प्रयोगशालामा भएको अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थ बाट बनेको जसमा १०० भन्दा बढी त औषधीय क्यानाबिनोईडहरू रहने प्रमाणित भएको छ। गाँजामा भेटिएका त्यस्ता ४८० केमिकलहरू मध्ये मात्र छ ओटा उल्लेखनीय केमिकलको औषधीय गुण बारे आज संसारभर गरिएका दस हजार भन्दा धेरै अनुसन्धान बाट गाँजा बाट मानिसमा दर्द कम गर्ने र अनिन्द्रा जस्ता समस्या दिने दस समूहका रोगहरू, पाचन प्रणालीमा हुने अनियमितताले जन्माउने सात समूहका रोगहरू, मानिसको मुड र बानी बेहोरामा जन्मेको विकृत रोक्ने सात समूहका रोगहरू, स्नायु समस्या सम्बन्धका नौ समूहका रोगहरू  र अन्य समूह अन्तर्गत राखिएका जस्तै दम, क्यान्सर, एड्स जस्ता सात समूहका रोगहरू गरी कम्तिमा चालिस रोग समूहको प्रत्यक्ष निदान हुने यकिन गरिदिएको छ।

 

प्रत्येक रोग समूहमा आफ्नै अन्य उप समूहहरूपनि हुने हुँदा आज मानिसमा हुने अन्दाजी सात सय भन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने देखिन्छ। यसरी हेर्दा आज संसारमा बन्ने हजारौँ हजार औषधि हरुमा गाँजाको उपयोग हुने अवस्था आएको छ।

 

शरीर दुख्ने, टाउको दुख्ने आदि हुँदा, मल्टिपल सेरोसिसजस्ता डिस्अर्डरमा, अनिद्रा हुने समस्यामा, मेरुदण्डको चोटमा, मेरुदण्डको संक्रमणमा, हड्डीको जोर्नीवरिपरि सुन्निने गठिया रोग, दिमागसम्बन्धी समस्या, मुच्र्छा पर्ने छारेरोग, अल्सरजस्तो आन्द्रामा हुने दर्द आदिले निम्त्याउने पेट पोल्ने समस्या, वृद्धावस्थामा पुग्दा शरीर भतभत पोल्ने, दर्द हुँदा गरिने मालिस, आँखाको रोग ग्लाउकोमा हुँदा, एचआईभी एड्सका बिमारीको दर्द कम गर्न, भोक हराउने कमजोरीको उपचारमा, क्यान्सरजस्ता संक्रमणको उपचारमा गाँजाको प्रयोग अचुक औषधी हुने औषधी विज्ञानले प्रमाणित मात्र गरिदिएको होइन, ती रोगका निदानमा संसारभर गाँजा र गाँजाबाट निकालिएका पदार्थ उत्साहवद्र्धक रुपमा धमाधम प्रयोग भइरहेका छन।

 

क्यानडा जस्ता मुलुकमा औषधि बाहेक ट्रपिकल जस्तै मालिस गर्ने क्रिम, तेलहरू, कष्मटिक लगायत मनोरञ्जनात्मक गैर-औषधिय पदार्थ धूम्रपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिंकमा आदि समेतमा उपयोगमा आउन थालेको छ।

 

इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सको रिसर्चको निचोडले भन्छ आनन्दका लागि सुर्ती खाने सिकारुमा ३२ प्रतिशत सुर्तीको अम्मली बनेको भेटियो। रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो । गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजा अम्मली बन्ने गरेको पाइयो।

 

सुर्ती वा रक्सीको ओभर डोज भएर मानिस मरेको भेटिए तापनि गाँजा सेवनको ओभर डोजका कारण मरेको कुनै रेकर्ड भेटिएन । गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सुर्ती र रक्सी लगायतका अन्य अम्मलको भन्दा अत्यन्त न्यून रहेको प्रमाणित गरिदियो।गाँजा प्रयोगकर्ताले मानिस रक्सीका अम्मलीजस्तो सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको समेत खासै भेटिएन । यथार्थमा आज रक्सी र सुर्तीभन्दा धेरै सुरक्षित प्रमाणित बन्यो।

 

अमेरिकाको गाँजा, चरेस वैधानिक गरिएका राज्यमा दुई वर्षभित्र गाँजा, चरेसका कारण हुने झैँझगडा र अदालती मुद्दामामिला ८१ देखि ९६ प्रतिशतसम्म घटेको पाइएको छ । गाँजा, चरेस सेवनकर्तालाई प्रहरीले समात्ने काम बन्द हुँदा सुरक्षा खर्चमा उल्लेखनीय रुपमा कमी आएको छ। गाँजा, चरेस कारोबार धेरैलाई उच्च आय दिने रोजगारको क्षेत्र बनेको छ ।  वैधानिक गरिएपछि गाँजा, चरेस सेवन गर्ने उमेर पुगेका युवकयुवतीको संख्या धेरैजसो राज्यमा घटेको छ।

 

हालसम्म एउटा पनि राज्यमा उक्त संख्या प्रतिबन्ध हुँदाको भन्दा खुला गरिएपछि  बढेको रेकर्ड चाहिँ भेटिएको छैन। आश्चर्य त के भने, वासिङ्टन, कोलोराडोजस्ता गाँजा, चरेस सेवनलाई कानुनी मान्यता दिइएको पाँच वर्ष नाघिसकेका राज्यमा रक्सी र अन्य जोखिमपूर्ण लागुपदार्थ प्रयोगमा उल्लेखनीय रुपमा घटेको तथ्यांक छ ।

 

गाँजा, चरेस खुला गरिएका राज्यमा सवारी दुर्घटनाको दर गाँजा, चरेस प्रतिबन्धित अन्य राज्यको भन्दा बढी पाइएको छैन । वास्तवमा गाँजा, चरेस वैधानिक भएका मुलुकमा ओपोइडको ओभर डोजका कारण हुने मृत्यु र ओपोइड प्रयोगका कारण अस्पतालमा आउने बिरामीको संख्यामा २५ प्रतिशतले कमी आएको उत्साहजनक तथ्यांक छ। यसबाहेक राज्यलाई सयौँ मिलियन डलर करस्वरुप प्रत्येक वर्ष प्राप्त भएकाले उक्त रकम शिक्षा, स्वास्थ्य र जोखिमपूर्ण लागुपदार्थको समुचित नियन्त्रण र विकृतिको उपचारमा सहयोग पुगेको छ।

 

छिमेकी भारतको अरुणा चल प्रदेश, उत्तर प्रदेश र उत्तराखंड राज्यहरूमा गाँजाको औषधी र औद्योगिक प्रयोगलाई वैधानिक बनाइएको छ। भारतको उत्तर-पूर्वमा रहेको मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले चाँडै नै गाँजाको औषधी र औद्योगिक प्रयोगलाई मणिपुर राज्यमा समेत कानुनी मान्यता दिने घोषणा गरेका छन्।

 

नेपालमा गाँजा खेती गैर अपराधीकरण गर्नु नितान्त जरुरी बनेको छ। नेपालको हितको लागि गाँजा गैर अपराधीकरण  गरिनु  निकै फाइदा जनक हुनेछ। नेपालमा भर्खरै चोर बाटो समातेर केन्द्रीय र प्रदेशको संसद्मा गाँजा खेती गरी मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने, बिदेसिएका युवालाई समेत स्वदेश फर्काउन सकिने भन्दै बिधेयेक दर्ता गर्ने लहर चलाइएको छ। गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न “गाँजा खेती व्यवस्थापन ऎन २०७६” को  केन्द्रीय संसद्मा प्रस्ताव दर्ता बनिसकेको छ।

 

क्यानडामा खाद्य, हर्बल र हिलिङ्ग फुड सेक्टरको इनोभेसनमा लागेको क्यानडाकै सबै भन्दा ठुलो फ्लेभर हाउसमा दसकौ देखि वैज्ञानिक र प्रयोगात्मक अनुसन्धानको साइन्टिफ़िक तथा प्राविधिक चिफको रूपमा काम गर्दा क्यानडामा गाँजाको डि-क्रिमिनलाइज गर्न लबिङ गर्दा देखि यो औषधि र खाने ईडिबलमा हाली मनोरञ्जन प्रदायक अम्मल र खाद्य तथा पेयमा हाली खाने नियम, विनियम बनाउने र लागु गर्ने चरण सम्मका गतिविधिहरू हेरेको अनुभवका आधारमा यकिनका साथ भन्न सकिन्छ कि नेपालको गाँजा खेती व्यवस्थापन ऎन २०७६ निकै राम्रो नियत बस आएको होला तर यसले कार्यगत रूपमा नेपालमा निकट भविष्यमै निकै ठुलो खाडल र दहित्वो गत अप्ठ्याराहरू जन्माउने छ।

 

यो ऎन जस्ताको तस्तै पास हुने हो भने लागु हुने समयमा सरकार जसरी विषादी नियन्त्रणको कार्यान्वयनमा चिप्लिएको थियो त्यही हबिगतमा पुग्नेछ।

 

गाँजा खेतीबाट मुलुकलाई जस्तोसुकै आर्थिक फाइदा पुग्ने किन नहोस् गाँजा एक उच्च आर्थिक जोखिम रहेको सामाजिक विकृति जन्माउन सहायक बन्न सक्ने लागु पदार्थ नै हो। उच्च आर्थिक जोखिम रहेको सामाजिक विकृति लाई संस्थागत गर्ने चुनौती रहेका गाँजा जस्ता पदार्थलाई जब सम्म बच्चाको हातसम्म पुग्नबाट रोक्ने, मानव स्वस्थको प्रयोजनमा गाँजा उपयोग गर्ने, पूर्ण नियन्त्रित तथा समयोचित वितरण प्रणाली लागु गर्ने, मनोरञ्जनात्मक गतिविधि उच्च नियन्त्रित  माहौलमा मात्र हुन दिने, कालोबजारी रोक्ने, कालो बजारको तस्करको हातको व्यवसाय कानुनी संयन्त्रमा ल्याई तस्करी रोक्ने, तस्करी हुने रकम सरकारी राजस्वमा पुर्‍याउने, मानव अधिकार र मानवताको रक्षा गर्ने जस्ता मूल नियतमा राख्न सकिन्न तब त्यो कार्यान्वयनको चरणमा सफल हुन सक्दैन।

 

संसद्मा हालै टेबल गरिएको नेपालको गाँजा खेती व्यवस्थापन ऎन २०७६ लाई गहिरिएर अध्ययन गर्दा यो ऎन अन्य मुलुकले गाँजा कानुनी बनाएर अकुत सम्पत्ति कमाए, गाँजा नेपालको स्थानीयतामा सजिलै हुने र त्यो पनि संसारकै राम्रो गुणस्तरको हुने भएकाले यसलाई नेपालले तत्काल आर्थिक लाभ लिने मौकाको रूपमा प्रयोग गर्नुपर्छ भन्ने नियत बाट उत्प्रेरित छ भन्न सकिन्छ।

पहिलो त यो कुनै एक बोर्ड अन्तर्गत लागु गरिने कल्पना गरिएको छ। त्यस्तो बोर्ड जतिसुकै अधिकार सम्पन्न बने पनि जरुरी पर्दा अपराधीलाई छानबिनका लागि नियन्त्रणमा लिन, पर्दा जेल सम्म पठाउन सक्ने गरी कारबाही गर्ने हैसियत दिन खोजिएको जस्तो देखिन्छ।  कारबाही गर्ने हैसियत दिइएमा राज्यमा हाल सक्रिय रहेको प्रहरी संयन्त्रको त्यो अर्को समानान्तर अङ्ग हुने छ। एकातर्फ हामी किसानलाई गाँजा खेती गर्न दिने आशय यसको छ तर अर्को तर्फ उक्त किसान बिचको दलाल बिना बिक्रीमा सहभागी हुन अवस्था छैन।

 

उत्पादनको मूल आम्दानीको श्रोत हुने प्रशोधन, अनुसन्धान र औषधीय फर्मुला बनाउने तर्फ सम्पूर्ण रूपमा निराश छ। निकै कन्जुसीका साथ प्रशोधन र भेलु एड उधमका बारे यसरी बोलिएको छ कि त्यो मात्र देखाउने दाँत हुन् चपाउने अर्कै छ कि भन्ने प्रतीत हुन्छ।

 

ऎनले राज्य द्वारा नियन्त्रण उधम कस्तो हुनुपर्छ र कुन कुन निकायको निकै नजिकको तर गोप्य संयन्त्र विकास गरिनु पर्छ भन्ने संवेदनशीलता पुरै गुमाएको छ। चिया तथा कफी विकास बोर्ड गठन गरेजस्तो केन्द्रमा भए भरका मन्त्रालयका  कर्मचारी संलग्न र प्रदेशमा भएभरका प्रदेश अन्तर्गतका विभागका कर्मचारी हालेर कुम्भ मेला आयोजक कमिटीको परिकल्पना गरेको छ।

 

यथार्थमा भन्ने हो भने प्रस्तावित ऎनले आफूले परिकल्पना गरेको क्षेत्रका व्यवसायमा संलग्न हरुको व्यक्तिगत र  ब्यवसाहिक सूचना र आपराधिक सूचनाहरू कति संवेदन शील हुन्छन् र त्यो कुन कुन निकाय भन्दा बाहिर जानु हुँदैन भन्ने सामान्य विवेक समेत पुर्‍याउन सकेको छैन। यस्तो  अवस्थामा आएको यो प्रकृतिको ऎनले जब सम्म प्रशोधन, भेलु एड, अपराध नियन्त्रण जस्ता विषयमा बेवाहरिक भएर जरुरी गृहकार्य र ऎनमा बेवास्तापन गरी नियम तथा कार्य सञ्चालन नियमावली बनाउन सक्दैन तब सम्म यसले नेपाललाई अनियन्त्रित गाँजा बेच्ने थलोका रूपमा स्थापित गरिदिने छ। यस्ता कुराहरु बिधयक बिषयगत समितिमा पुग्दाका चरणमा सच्चिने आशा गरौ।

 

गाँजाको उच्च तस्करी हुने जोखिम युक्त मुलुकका रुपमा मुलुकले मात्र बदनामी भोग्नु पर्ने। न राज्य ले कुनै कर पाउने छ। न नेपालीको हातमै मुनाफा रहने छ। नेपाल गाँजा माफिया हरुका लागि दरिलो कमाउने थलोमा परिवर्तन हुने निश्चित छ। यो बारे सरकारले समयमै सचेत बनी जरुरी बेवास्तापनका लागि उपयुक्त कदम चाल्नु जरुरी देखिन्छ।

 

 (जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै संसारभर उद्यमशीलताको लागि जरुरी ज्ञान, सिप र प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: