मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खाना मार्फत कोभिड –१९ संक्रमण !

नारायण घिमिरे

कोभिड – १९ एक भाइरस हो जुन खानामा हुर्कने र बढ्ने गर्दैन। जब यो खानामा पुग्दछ, केही घण्टा सम्म सतहमा जीवित रहेको देखिन्छ। भाइरस बढनको लागि मानव वा जनावरको जीवित कोशिकाको जरुरत हुने हुँदा यो खानामा पुगेको केही समयमा मर्ने गर्छ। मानौँ तपाइले भर्खरै ल्याएको खाना कोभिड-१९ बाट दूषित भएको रहेछ र तपाइले उक्त खाना खानु भयो। उक्त अवस्थामा समेत हाल सम्म त्यस्तो विश्वास लाग्दो कुनै घटना भेटिएको छैन, जहाँ त्यस्तो खाना खाएर खानामा रहेको भाइरस बाट मानव शरीर सङ्क्रमित भएको र अरूमा सरेको होस।

 

हाल सम्म कोभिड – १९ भाइरस एक बिरामी व्यक्तिको शरीर बाट निक्लिएर वरिपरि फैलिएका थुक, खकार या र्‍यालको थोपाहरू मार्फत सरेको भेटिएको छ। यदि खानामा कुनै कारण बाट भाइरसका बिरामी व्यक्तिको शरीर बाट निक्लिएका थुक, खकार या र्‍यालको थोपाहरू भर्खरै खसेको रहेछ र त्यहाँ जीवित भाइरस रहिरहँदा तपाइको हातमा जीवित भाइरस टाँसिन गयो र उक्त हातले तपाईँले आँखा, नाक वा मुखलाई छुनु भयो भने अब तपाई लाई उक्त भाइरसको सङ्क्रमण हुने सम्भावना हुन्छ। जुन हालको गुड मेनु-फेक्चरिङ्ग प्राक्टिस अनिबार्य गरिएको खाद्य वितरण प्रणालीमा हुन सक्ने निकै कम सम्भावना रहन्छ।

 

यिनै कारणहरु बाट सामान्य तय खाना भण्डारण गर्दा तपाईलाई खासै कुनै विशेष सावधानीहरू आवश्यक पर्ने जरुरत ठानिँदैन। र सिफारिस पनि गरिँदैन। तर पनि जब तपाई बाहिर बाट भर्खरै ल्याएको खाना आ-आफ्नो स्थानमा तह लगाउँदै हुनुहुन्छ वा कच्चा खानाको सामग्री झिकेर खाना पकाउने क्रममा हुनुहुन्छ वा खाने क्रममा हुनुहुन्छ, उक्त समयमा तपाई लाई अनिबार्य साबुन पानीले हात धुन सुझाव दिने गरिन्छ। साबुन पानी नहुँदा सेनिटाईजर वा खरानी पानी वा तातो पानी अन्य विकल्प हुन। तर सबै भन्दा उत्तम साबुन पानी त्यस पछि सेनिटाईजर लाई मानिन्छ।

 

हाल सम्म फ्रिज वा फ्रिजरको तापक्रममा कोभिड -१९ को भाइरस बाँच्न सक्छ कि सक्दैन भन्ने बारे यकिन भई सकेको छैन। तर संसारको अनुभव के छ भने कोभिड -१९ जस्तै कोरोना भाइरस हप्ता दिन सम्म फ्रिज र फ्रिजमा जीवित रहेको भेटिएको थियो। त्यही आधारमा कोभिड -१९ भाइरस पनि  चिसो वातावरणमा जीवित रहन सक्ने धेरै सम्भावना छ। त्यो पनि लगभग हप्ता दिन भन्ने मानिँदै आएको हो। यसो हुँदा पनि फलफूल तथा तरकारीमा भाइरस आफै बढ्न वा बिस्तार हुन् सम्भव देखिँदैन। फलफूल तथा तरकारीमा रहेको भाइरस बाट मानव सङ्क्रमित बनेको हाल सम्म कुनै पनि प्रमाण संसारभरनै भेटिएको थाहा लागेको छैन।

 

कुनै खानाको सतहमा कोभिड-१९ को भाइरस थियो र त्यसलाई दराज, भान्साको स्टोर, फ्रिज, फ्रिजर वा डिफ्रिजमा भण्डार गरिएको अवस्थामा समेत उक्त खानामा भाइरस बढ्ने वा बढ्न सक्ने कुनै प्रमाण हाल सम्म भेटिएको छैन। बरु त्यहाँ बाट कोभिड-१९ नफैलिएको अनुभबनै हालसम्मको सबैको साझा अनुभव हो।

 

हालसम्म संसारभरनै भाइरस भएको खाना खाएर मानिस भाइरस बाट सङ्क्रमित बनेको भन्ने कुरामा विश्वास गर्न सकिने कुनै विश्वासिलो आधार भेटिएको पनि छैन। किनकि खाना तपाईँको पेटमा पुगे पश्चात् पाचनको क्रममा खानालाई नियमित रूपमा पचाउन प्रयोग हुने एसिडहरूले भाइरसलाई सजिलै नष्ट गरिदिन्छ।

 

सामान्य खाना पकाउने क्रममा जब खानाको भित्री भागको समेत आन्तरिक तापक्रम ७४ डिग्री सेल्सियस पुग्ने गर्छ तब खानामा रहेका जीवाणुहरू मर्ने गर्छ। अन्य सूक्ष्मजीवहरु मर्ने उक्त तापक्रममा कोभिड -१९ को भाइरस समेत मर्ने गर्छ। तसर्थ पकाएर खाना खाने क्रममा हाम्रो सामान्य खान पकाउने तरिका नै कोभिड-१९ को भाइरस समेत मार्न सक्षम छ।

 

एउटा कुरा सुन्दा तपाई लाई आश्चर्य लाग्न सक्छ। सैद्धान्तिक रूपमा विचार गर्दा  कोभिड-१९ बाट सङ्क्रमित व्यक्तिहरू द्वारा बनाइएको खाना खादा स्वस्थ मानिसमा कोभिड-१९ सर्ने धेरै जोखिम हुनु पर्ने हो। कोभिड-१९ सङ्क्रमित व्यक्तिले खाना बनाउँदा नभए खाना पस्केर दिँदा वा सर्ब गर्दा भाडा कुँडा त छुइञ्छन नै, कम्तीमा श्वासप्रश्वासको थोप्लाहरू खानामा पुग्ने निश्चित रहन्छ।

 

सैद्धान्तिक रूपमा खानामा श्वासप्रश्वासको थोप्लाहरू पुग्ने निश्चित हुने हुदा उक्त खाना खाने मानिसमा कोभिड-१९ सर्ने उच्च जोखिम देखिन्छ। तर हालसम्म कोभिड-१९ सङ्क्रमित व्यक्तिहरू द्वारा बनाइएको खाना मार्फत कोभिड-१९ सङ्क्रमण फैलिएको कुनै पनि प्रमाण भेटिएको छैन।

 

यो यथार्थता क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको प्रोभिन्सल हेल्थ सर्भिस अथोरिटिको सेन्टर फर डिजिज कन्ट्रोलले (सिडिसी) खाध सुरक्षा शीर्षकमा प्रस्ट उल्लेख गरी प्रकाशित गरेको छ। अमेरिकाको फेडरल ड्रग एडमिनिस्ट्रेशन (एफडीए) को अनुभवमा समेत खाना वा खाना प्याकेजिंगको माध्यम बाट समेत हाल सम्म मानिसमा कोभिड-१९ सङ्क्रमण फैलिएको कुनै पनि प्रमाण भेटिएको छैन भन्ने उल्लेख गरिएको छ।

 

हुनत कोभिड-१९ बाट सङ्क्रमित व्यक्तिहरू द्वारा बनाइएको खाना खादा स्वस्थ मानिसमा कोभिड-१९ सरेको घटना भएको कहीँ कतै रिपोर्ट भएको समेत जानकारीमा आएको छैन। तर पनी कोभिड-१९ को सङ्क्रमण बाट पूर्ण सुरक्षित रहन वा अर्को मानिसमा कोभिड-१९ सर्ने सबै सम्भावनाका ढोकाहरू बन्द गर्न कोभिड-१९ को बिरामीलाई अरूको लागि खाना तयार गर्न वा ह्यान्डल नगर्न सल्लाह सुझाइएको बुझिन्छ।

 

कोभिड-१९ को भाइरस सङ्क्रमित व्यक्तिले छोएको कच्चा फल वा तरकारीहरू वा सलादहरू खाएर आज सम्म स्वस्थ मानिसमा कोभिड-१९ सरेको त्यस्तो कुनै प्रमाण समेत भेटिएको छैन । तर पनि आम सर्ब साधारणको पूर्ण सुरक्षाको प्रत्याभूतिको लागि ताजा फलफूल र तरकारीहरू तयार गर्दा, खानु भन्दा पहिले चिसो, बगिरहेको, पिउने धाराको पानीमा मसार-मुसुर पारि धोएर खान सल्लाह दिँदै आइएको छ। काँचै खाने सलाद फलफूललाई अन्य पकाएर खाने खानाको कच्चा पदार्थ भन्दा अलि छुटै राख्न समेत सल्लाह दिइने गरिएको छ।

 

अर्को तर्फ वैज्ञानिक दृष्टिकोणबाट फलफूल तथा तरकारीहरू भाइरस मुक्त गर्ने नाममा साबुन पानीले वा कुनै पनि सेनिटाईजरले धुनु वा सेनिटाईज गर्नु नितान्त आपत्तिजनक कार्य मानिन्छ। फलफूल तथा तरकारीहरूले साबुन तथा सेनिटाईजरका केमिकलहरू सजिलै आफ्नो सेलवाल भित्र सोसेर लिने गरेको भेटिएको छ। जसले मानिसमा वाक-वाक लाग्ने, बान्ता लगाउने, पेट कटक्क काट्ने तथा पखला लगाउन उत्प्रेरकको काम गर्दछ। फलफूल तथा तरकारीहरू लाई साबुन पानीले धुने वा सेनिटाईजर छर्कने गर्दा फलफूल तथा तरकारीले सोस्ने साबुन र सेनिटाईजर दुवैले मानव स्वस्थमा हानि गर्ने प्रमाणित भएकाले यो कार्यलाई जीएमपी वा गुड मेनु-फेक्चरिङ्ग प्राक्टिस विरुद्धको अपराध मानिन्छ।

 

साबुन र डिसइन्फेकटेन्टका केमिकलहरू खाना पकाउँदा समेत नष्ट हुने गर्दैन। उल्टो तिनीहरू आमाशयमा पाचनको क्रममा उत्पादन हुने एसिडहरू सँग रियाक्सन गरी स्वस्थलाई प्रतिकूल असर पार्ने तत्त्वमा परिवर्तन गरी शरीरलाइ पाचन प्रक्रियाको उचित व्यवस्थापन गर्न नसक्ने बनाई दिन्छ। फलतः स्वस्थ बिग्रने, आन्द्रामा रहेका मानवलाई हितगर्ने माइक्रोबायोमहरुमा समेत नकारात्मक असर दिने गरेको भेटिएको छ।

 

नेपालको जनस्तरमा कोभिड-१९ सङ्क्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादन बाट कोभिड-१९ को भाइरस एक इलाका बाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्दै किसानको उत्पादन नष्ट गर्न हैन कि उपभोक्ताले ढुक्क भएर उपभोग गर्न सक्ने विश्वास र मनोविज्ञान जगाउन जरुरी बनेको देखिन्छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

 

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE