मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैदिक इनोभेसन।

अथर्ववेदाचार्य नारायण घिमिरे।

 

वैदिक विद्याको (Vedic Knowhow) जगमा कसरी जन्मन्छ आधुनिक वैज्ञानिक इनोभेसनका (Scientific Innovation) अवधारणा ?

 

आयुर्वेदको सिद्धान्तमा भेटिने स्वस्थ व्यक्तिको परिभाषाले भन्दछ “समदोषः समाग्निश्च समधातु मलःक्रियाः। प्रसन्नात्मेन्द्रियमनः स्वस्थइतिअभिधीयते॥“ जसको अर्थ हुन्छ एक व्यक्ति जसको दोषहरू सन्तुलित छन्, जसको पाचन प्रक्रिया सन्तुलित छ, जसका तन्तुहरू सबल छन्, शरीरमा  उत्पन्न हुने विकारहरू विसर्जन प्रणाली सामान्य छन् तथा जसको इन्द्रियहरू तथा मनोविज्ञान (मन, चित्त, बुद्धि, अहङ्कार) आत्म केन्द्रित (आध्यात्मिक) रहन्छ उसलाई आनन्दले परिपूर्ण (Full  of  Bliss) स्वस्थ मानिस मानिन्छ।

 

आयुर्वेदको सिद्धान्तमा भएको स्वस्थ मानिसको अवधारणा लाई डब्ल्यूएचओले समेत स्विकार्न बाध्य छ।

 

व्यक्तिको स्वस्थ अन्तर्गत डब्ल्यूएचओको मानसिक स्वास्थ्य अन्तर्गतको परिभाषा भन्दछ मानसिक रूपमा स्वास्थ्य  मानिसको अवस्था भनेको व्यक्तिको त्यो अवस्था हो जति बेला उसलाई आफ्नो क्षमता महसुस हुन्छ, विषय बस्तु बारे राम्रो जानकारी राख्न सक्ने, आफ्नो काम राम्रो संग गर्न सक्ने तथा आफ्ना जीवनको तनावहरूको सामना गर्दै  समुदायमा योगदान गर्न उसलाई सक्षम राख्ने अवस्थामा उसलाई राख्दछ।

 

हरेक व्यक्तिमा बलिष्ठ  तन ( शरीर) उसलाई उपलब्ध मन्त्रको (मन = वैचारिक, त्र =उपयोग मार्फत लक्ष सम्पन्न गर्नु) सदुपयोग गर्ने क्षमता प्राप्तिको लागि अनिवार्य पूर्वाधार मध्येको सबै भन्दा महत्त्वपूर्ण पक्ष हो। शारीरिक बाहेक हामीलाई वैज्ञानिक रूपमा उपयोगी सिद्ध भएको शिल्प, कला, प्रविधिको आदिमा आधारित आफ्नो तन र मन् बाहेकको उपकरण समेत चाहिन्छ। जसलाई यन्त्र ( यन = उपकरण, त्र = उपयोग मार्फत लक्ष सम्पन्न गर्नु) भनिन्छ।

 

यन्त्र र तन्त्र वेदको मन्त्रले देखाएको लक्ष प्राप्ति गर्ने उपाय हो।

 

मन्त्र सैद्धान्तिक अवधारणा हो भने यन्त्र सैद्धान्तिक अवधारणा लाई व्यवहारमा उतार्ने विधि र प्रविधि हो। त्यसको लागि व्यक्तिको तन वा शरीर लाई समेत सक्रिय र बलशाली राख्नु जरुरी हुन्छ। त्यस प्रयोजनमा  तन्त्र विद्याको जरुरत हुन्छ।

 

लगभग ६ देखि ८ औँ शताब्दी इस्वी देखि अस्तित्वमा रहेको शैव धर्म शास्त्रमा आधारित तान्त्रिक (तन्त्र : तन = शरीर, त्र = उपयोग मार्फत लक्ष सम्पन्न गर्नु) कुण्डलिनी एउटा जटिल अवधारणा हो जसले हाम्रो तनमा ( शरीर) प्राकृतिक रूपमै रहेको अत्यन्त महत्त्वपूर्ण तर निष्क्रिय शक्तिलाई जनाउँछ। त्यसलाई “उत्तेजित” वा सक्रिय गर्न सक्दा व्यक्ति आफू शारीरिक रूपमा बलियो बनेको रूपान्तरणात्मक अनुभवहरू प्राप्त गर्दछ। जुन मूलतः आन्तरिक कम्पन उत्पन्न गरी आफ्नो तनलाई बलिष्ठ गर्ने उपाय हो।

 

शाब्दिक रूपमा संस्कृत शब्द ज्योतिषले “प्रकाश विज्ञान” भन्ने अर्थ दिन्छ। तारा र ग्रहहरू बाट आउने प्रकाशको विकिरण र तिनीहरू बिचको संयोजन आदिले व्यक्तिको स्वस्थ र कल्याणमा पुर्‍याउने प्रभाव बारे को प्रभाव बारे वैदिक ज्योतिष विज्ञानले कुरा गर्दछ। तारा र ग्रहहरूको गति र स्थानको आधारमा तिनीहरू बिचको प्रकाशको विकिरणको संयुक्त प्रभावको व्याख्या गर्दै ज्योतिष विज्ञानमा व्यवहारिक अनुमान गर्ने गरिन्छ। मानव शरीर पाँच तत्त्व मिलेर बनेको हुन्छ भन्ने आयुर्वेदको सिद्धान्तमा ज्योतिष विज्ञान आधारित छ।

 

वैदिक ज्योतिषले पन्च महाभूत भनिने ती पाँच तत्त्व निर्मित हुँदै गर्दा जन्मको समय र स्थानमा आधारित रहेर पाँच तत्त्व मद्ये कुन चाहिँ तत्त्व व्यक्तिको जीवनको शासक तत्त्व रहेर जन्मिएको छ त्यो यकिन गर्दछन्। त्यसैको आधारमा उनीहरूले मानिसको १२ राशि चिन्हहरू निर्माण गर्दछन्।

 

कुन व्यक्ति कुन राशिको हो त्यसको आधारमा उसको शासक तत्त्व यकिन हुन्छ। शासक तत्त्वले व्यक्तिमा विकास गर्ने गुणहरू प्रतिबिम्बित गरिदिन्छ। यकिन गर्ने गर्दछन्। व्यक्ति निश्चित उमेरमा रहँदा तारा र ग्रहहरूको गति र स्थान कहाँ थियो त्यस वारेको ज्ञानले प्रकाश विज्ञानले व्यक्तिमा पार्ने असर र त्यसको प्रभाव राशि चिन्ह अनुसार यकिन गर्न सकिन्छ। असर र त्यसको प्रभावको आधारमा त्यसले दिने फल निर्धारण गर्ने गरिन्छ। यसरी समग्र असर र प्राप्त फलको आधारले व्यक्तिको व्यक्तित्व, लक्षणहरू प्रतिबिम्बित गरिदिन्छ।

 

उदाहरणको लागी मेष र सिंह राशि दुवैको प्रमुख तत्त्व अग्नि (फायर) हो। यी व्यक्तिहरूको अग्नि (फायर) स्वभावमा व्यक्तिको निश्चित उमेरमा तारा र ग्रहहरूको गति र स्थान कहाँ रहेको थियो भन्ने आधारमा तिनीहरूको प्रकाशको विकिरणको संयुक्त प्रभाव त्यति बेला कस्तो रहेको थियो हेरिन्छ। व्यक्तिको भविष्य बताउन समेत उक्त समयमा तारा र ग्रहहरूको गति र स्थान अनुरूप प्रकाशको विकिरणको संयुक्त प्रभाव कस्तो रहने र त्यस प्रभावको निश्चित प्रमुख तत्त्व युक्त शरीर भएको व्यक्तिमा के असर गर्ने र के नतिजा आउने भन्ने कुरा मार्फत भविष्य वाणी तय हुन्छ। जस्तै मेष र सिंह राशिको अग्नि (फायर) तत्त्व संग त्यो प्रभावको अन्तरक्रियाको नतिजा अनुरूप जान्न मेष र सिंह राशिको व्यक्तिले जान्न चाहेको विषयको नतिजा यस्तो हुने छ भनी भविष्य वाणी गर्ने आधार ज्योतिषहरूलाई प्राप्त हुन्छ।

 

वैदिक ज्योतिषका अनुसार तौल बढ्ने र ग्रहहरूको प्रभाव बिचमा गहिरो सम्बन्ध छ। ग्रहहरूको प्रभावले व्यक्तिमा बोसो लाग्ने र अधिक तौल वृद्धि हुने गर्दछ। पाँचौँ स्थानमा रहेको निश्चित ग्रहको भूमिकाले व्यक्तिको तौल वृद्धिका साथै बाँझोपनको समेत पैदा गर्ने समस्या दिने गर्दछ। बृहस्पतिको प्रभाव मानव बौद्धिकता बुद्धिमा हुने गर्दछ। हाम्रो शरीरमा बोसो लाग्ने कार्यमा बृहस्पतिको प्रभावको भूमिका हुन्छ। पाँचौँ स्थानको बृहस्पति ग्रह वजन वृद्धिमा जिम्मेवार हुन्छ भने छैटौँ स्थानको बृहस्पतिको प्रभाव वजन घटाउन सहयोगी बन्दछ। बृहस्पतिको खराब स्थानको प्रभाव अधिक तौल, मोटोपन निम्त्याउन हर्मोन परिवर्तन मार्फत शरीरको मेटाबोलिजम लाई अनुभूति हुने गरी असर गर्दै अधिक भोजन ग्रहण गर्ने र व्यक्तिलाई अल्छी बनाउन भूमिका खेल्दछ।

 

चन्द्रमाको प्रभाव पनि चिल्लो बढाउन सहयोगी गर्छ। तर सकारात्मक रूपमा। किनकि  चन्द्रमाको प्रभावले विकसित गर्ने चिल्लो व्यक्ति लाई आकर्षक देखाउन भूमिका खेल्छ। व्यक्तिका परिपुष्ट गालाहरू मुलायम, नरम र चम्किलो छाला बनाएर थप आकर्षक र प्यारो बनाउने गर्दछन्। चन्द्रमा पहिलो, पाँचौँ र नवौँ स्थानमा रहँदा भने चन्द्रमाको नकारात्मक प्रभाव पर्दछ। हिँड्दा अलि ढिलो हिँड्ने, अल्छी पन बढाउने गर्दछ। अर्को तर्फ चन्द्रमा बलियो स्थानमा रहँदा मोटो भए पनि व्यक्तिले अधिक ऊर्जावान् र सक्रिय महसुस गर्दछ।

 

शरीरको मेटाबोलिज्म लाई असर गर्दै मोटोपना र अधिक तौल बढाउन जिम्मेवार रहेका ग्रहहरूको प्रतिकुल भूमिका न्यूनीकरणको लागि वजन घटाउने र जीवन स्वस्थ राख्ने केहि वैदिक ज्योतिषी उपायहरू यस प्रकारको छ।

 

हरेक ५ घण्टामा १ लिटर मनतातो पानी पिउने। बृहस्पतिलाई खराब बनाउन सक्ने पहेँलो नीलमणि रत्न नलगाउने। चन्द्रमा, शुक्र, बृहस्पति र मङ्गललाई सन्तुलित राख्न चिसो खानेकुरा नखाने। बुध ग्रह लाई खुसी पार्न धेरै हरियो तरकारी अधिक खाने। शुक्र ग्रहलाई प्रसन्न पार्न अलिकति मेदोहर चूर्ण (गुगलु पाउडर) मनतातो पानीमा हालेर दिनको ३ पटक सेवन गर्ने। बृहस्पतिको असर खराब गर्ने कुनै पनि प्रकारको सुनको गहना नलगाउने। बृहस्पति बलवान गर्न सिल्भरको बेरुवा औँठी लगाउने। गरिबलाई पहेँलो रङ्गको मिठाई दान गर्ने। हरेक खाना पछि ५  मिनेट “वज्रासन” मा बस्ने।

 

शरीरको वजन कम गर्न वैदिक मन्त्रमा मूलतः अग्नि गायत्री मन्त्र र दुर्गा मन्त्र जप गर्न सुझाइने गरिन्छ।

 

ऊँ महाज्वालाय विद्महे अग्नि मध्याय धीमहि |

तन्नो: अग्नि प्रचोदयात || अग्नि गायत्री मन्त्र ||

 

भावार्थ: ऊँ। मलाई महान् अग्निको ज्वालाको सान्निध्य ध्यान गर्न दिनुहोस्। हे अग्निको भगवान्, मलाई उच्च बुद्धिमत्ता  प्रदान गर्नुहोस्। हे तेजस्वी अग्निको भगवान् मेरो मनलाई ज्ञानको उज्यालो दिनुहोस्।

 

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।

शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते || दुर्गा मन्त्र ||

 

भावार्थ: दुर्गा सारा संसारका जीवहरूको शुभ प्रदायक पवित्र र दैवी शक्ति  हुन्। उनी सम्पूर्ण चराचरहरूको उत्थानमा लाग्नेहरूको शुभ प्रदायक हुन्। उनको भूमिकामा तल्लीन रहेका (उनमा आत्मसमर्पण गरेका) हरूको उनले रक्षा गर्छिन्। हिमाली राजाकी छोरी, त्रिलोककी माता गौरी माताको नामले समेत चिनिने दुर्गालाई मा बारम्बार नमन गर्दछु। पूजा  गर्दछु।

 

वैदिक अवधारणा अन्तर्गत पाचन क्रिया राम्रो राख्ने मन्त्र समेत उपलब्ध छ।

 

अगस्त्यं कुम्भकर्णं च शनिं च वडवानलम् ।

आहारपरिपाकार्थं स्मरेद् भीमं च पञ्चमम् ।।

भावार्थ: भोजन ग्रहण गरिसके पछि ग्रहण गरेको आहारको राम्रो संग पाचन होस् भन्नको लागि अगस्त्य, कुम्भकर्ण, शनि, बडवाग्नि (दावानल) र भीम गरी पाँच शक्तिको सदैव स्मरण गर्नु।

 

अङ्गारकमगस्तिं च पावकं सूर्यमश्विनौ ।

यश्चैतान् संस्मरेन्नित्यं भुक्तं तस्याशु जीर्यते ।।

भावार्थ: जो मानिसले खानको सन्दर्भमा मङ्गल, अगस्ति, अग्नि, सूर्य तथा अश्विनीकुमारको स्मरण गर्दछ उसले आफूले खाएको अन्न शीघ्र पचाउने तागत विकास गर्दछ।

 

माथि लेखिएको संस्कृत मन्त्रको नेपाली भाषामा गरिएको उल्था लाई शब्द कोषको शब्दार्थको ज्ञानको आधारमा प्राप्त हुने भाषाको ज्ञानले तथा अध्यात्म वा विद्याले तपाई हाम्रो जीवनमा यसलाई उपयोगी बनाउन सम्भव हुँदैन।

 

किनकि त्यो विद्याले हनुमान लाई “अलि ठुलो बाँदर” भन्ने मात्र उल्था गरिदिन्छ।  जसले चिरञ्जीवी हनुमानको, कूटनीतिज्ञ हनुमानको, सैन्य कुशलता भएका हनुमानको तथा आयुर्वेद ज्ञाता हनुमानको समेत चरित्र बुझ्न समाजलाई सहयोग गर्दैन। बरु समाजमा यस्तो नचाहिने कुरो पनि गर्ने ? बाँदरले काहीँ उपचार गर्छ ? राजनीति गर्छ ? युद्ध लड्छ भन्ने प्रति प्रश्नको जन्म दिन्छ।

 

हाम्रा आजको पाराको सारतत्व बिर्सिएर हाम्रा विद्वान हरूबाट भएका वेदका ऋचा र मर्म बारेको व्याख्या सुनेर माथिको मन्त्र मार्फत न त वजन घट्ने छ न त पाचन प्रक्रिया नै घट्ने छ।  यसको लागि उक्त मन्त्रमा भएको विज्ञान वा अविद्या को पक्ष जान्नु पर्दछ। यसको अविद्याको पक्षको व्यवहारिक डिकोडिङ्गले दिने अर्थ ले आजको औषधि विज्ञानको ज्ञान र प्रविधि दुवै बारे प्रस्ट उत्तर दिने गर्दछ।

 

जब त्यो विधि र उपाय (मन्त्र) हामी उपयोग गर्न सक्दछौ तब हामीले आफ्नो शरीर (तन वा तन्त्र) लाई उपाय लगाएर (यन्त्र) ठिक गर्न सक्दछौ। यसरी सन्तुष्ट बनेको शरीर र मन अब बल्ल अर्थ पूर्ण अध्यात्म वा विद्या प्राप्त गर्न सक्षम बनाउन सक्छौ।

 

तिन तहमा हुने यही वेदको ज्ञानको डिकोडिङ्गले मार्फत हामीले वैदिक इनोभेसन के हो र विद्या के हो भन्ने बुझ्न सक्दछौ।

 

यस वाट वेद र विज्ञान कति बेस्सरी एक आपसमा टाँसिएर बसेको कुरो रहेछ भन्ने कुरो बुझ्न पनि हामीलाई सहज हुन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: