मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

दशैंमा खाइने खसीको मासु वैज्ञानिक र शास्त्रीय दुवै मान्यतामा औषधि।

खसी खानाले त नेपाली लाई खासै भियाग्रा र तागतको दबाइ चाहिन्न।

नारायण घिमिरे

महान् चाड दशैं नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ।  घरको सदस्य मात्र हैन दशैंमा घरमा आउने मासु खाने पाहुनाहरू लाई समेत दुर्गा माताको प्रसादको रूपमा खसीको मासुले स्वागत गर्ने हाम्रो परम्परागत रैथाने चलन हो।

आज हाम्रो समाज आधा-अङ्ग्रेजी जानेको, कामको अनुभवबाट भन्दा बुद्धि विलासबाटै इनोभेसन गरिने र मुलुकमा संबृद्धि भित्राइने गफास्ट बुद्धिजीवीहरूबाट शासित बनेको छ।   आज तिनै बुद्धिजीवीहरू रातो मासुको वर्गमा पर्ने मूलतः हाम्रो रैथाने चाडमा मुख्य भोजनको रूपमा खाइने  खसीको मासुले शरीरलाई फाइदा के फाइदा गर्नु भनी विज्ञान, वेद र दर्शनको हवालादिएर व्याख्या गरेको भेटिन्छ।

दशैंको पर्व आफै  रूढिवादी र खसी खानु अवैज्ञानिक भन्दै हाँस कुखुरा पो राम्रो भन्ने तर्कहरू आउने गरेको छ हाम्रा बुद्धिबिलास कर्मीहरूको।  जे जे कुरा हाम्रा आफ्नै हुन् तिनीहरू प्राय: खोटी, जुन जुन आयातित विदेशी छन्, तिनी जति अब्बल भनेको सुनिन्छ।

समाजका विद्वत्तम वर्गले तपाई हाम्रै सामु, हाम्रै समाजको पसल-पसलमा हुने चिया कचहरीमा  घोषणा गरे जस्तै महान् चाडआउँदा मन जति दङ्ग फुरुङ्ग हुन्छ, के त्यो खाइने मासुले शरीरलाई बेफाइदै गर्ला त? गर्थ्यो भने किन यो यति लामो समय टिक्यो ? दशैंमा खसीको मासु खाने हाम्रो चलन कसरि हाम्रो रोज्जा परम्परा बन्यो? यो बारे हामी पनि  बुद्धि-विलासमा उत्रँदा अन्यथा नहोला।

ल्याबमा बाख्राको मासु र अन्य मासुको पोषण, स्वस्थबर्द्ता र तागतजाँच गरी मूल्यांकन गरिहेर्दा रातो मासुको वर्गमा परेता पनि बाख्राको मासु, हल्का, कोमल र अन्य मासु भन्दा स्वस्थवर्धक मासुको विकल्प रहेको भेटिन्छ।

एकातर्फ चिल्लो कमहुने, भएको चिल्लोमा समेत कम-हानिकारक चिल्लो र कोलेस्ट्रोल रहेको मासुको श्रोत हो बाख्राको मासु। पोषण र पाचनको हिसाबले बाख्राको मासु चरा बर्गको कुखुरासँग तुलना गर्न मिल्ने हदको हुन्छ भने स्वाद र स्थिरताको हिसाबमा अन्य रातो मासु जस्तो भरिलो र ओभानो,स्वादिष्ट मासुको श्रोत हो।

बाख्रामा हुने असंतृप्त चिल्लो पदार्थ एकातर्फ रगतमा  कोलेस्ट्रोलको स्तरमा सुधार गर्न धेरै सहयोगी हुने देखिन्छ त अर्को तर्फ शरीरमा बाहिरबाट आक्रमण हुँदा शरीरले गर्ने प्रतिकारात्मक लडाईको क्रममा पैदा हुने तापक्रमका कारण  महसुस हुने ईन्फ्लेमेसन वा अधिकदर्द कम गर्न सहयोगी हुने भेटिएको छ।

“खसीको मासुमा हुने बी-समूहका भिटामिन, सेलेनियम र कोलीनको संयुक्त उपस्थिति क्यान्सर जस्ता प्राणघातक रोगबिरुद्ध ढालको काम गर्ने गर्छन्।  बाख्राको मासुमा पाइने विभिन्न प्रकृतिका कन्ज्युगेटेड लिनोलिकएसिडले क्यान्सर ग्रस्त सेलहरू विकास हुन बाट रोकिदिन्छ।”  

खसीको मासुमा भेटिएको शरीरलाई फाइदाकारी  कोलेस्ट्रोलले रगतको नसा भित्र बोसो जम्न नदिने हुँदा हृदय रोग हुने सम्भावना घटाउने र रगतको चाप नियमित राख्न सहयोग गर्ने गरेको भेटिएको छ।

अनुसन्धानका अनुसार खसीको मासुमा हुने प्रोटिनहरूले लामो समय भोक दबाउने एजेन्टको रूपमा काम गर्ने हुँदा खाएको लामो समयसम्म भोक नलाग्ने हुँदा वजन नियन्त्रणमा मद्दत गर्छ।  बाख्राको मासुमा कम-स्याचुरेटेड चिल्लो पदार्थ धेरै मात्रामा रहने हुँदा अन्य मासुले भन्दा कम मोटोपन बढाउने निश्चित गर्छ।

हामीले एक छाकमा खाने खसीको मासुले हाम्रो शरीरलाई दैनिक जरुरी हुने मध्येको ३०% भिटामिन-बी पूर्ति गरिदिन्छ। बी समूहका भिटामिनहरू (बी-१, बी-२, बी-३, बी-९, बी-१२), भिटामिन-ई, भिटामिन-के, प्रोटिन, प्राकृतिक बोसो आदि बाख्राको मासुमा हुने विशेष प्रकारका औषधीय मूल्यका तत्त्वहरु हुन्। भिटामिन बी-१२ शरिरमा  स्वस्थ रातो रक्त कोषहरू उत्पादन गर्न अनिबार्य हुन्छ।  भिटामिन बी-१२ ले मानिसमा तनाव घटाउन तथा डिप्रेसन कम गर्न मद्दत गर्ने गर्दछ।

कोशिकाको वृद्धि गर्न र मेटाबोलिजमको लागि नभई नहुने कोलिन, अमिनो एसिड, विभिन्न खनिजहरू जस्तै  मैंगनीज, क्याल्सियम, फलाम, जिङ्क, तामा, फस्फोरस, सेलेनियम आदि सबैनै खसीको मासुमा भेटिन्छ। भिटामिन र मिनिरल्सहरू खानाको मेटाबोलिजममा सहयोग गर्ने र शरीरमा धेरै बोसो लाग्न नदिने चरित्रका हुन्छन।

खसीको मासुमा हुने बी-समूहका भिटामिन, सेलेनियम र कोलीनको संयुक्त उपस्थिति क्यान्सर जस्ता प्राणघातक रोगबिरुद्ध ढालको काम गर्ने गर्छन्।  बाख्राको मासुमा पाइने विभिन्न प्रकृतिका कन्ज्युगेटेड लिनोलिकएसिडले क्यान्सर ग्रस्त सेलहरू विकास हुन बाट रोकिदिन्छ।

फलामको साथमा रहेको जिङ्कले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणाली विकास गर्न मद्दत पुर्याउछ। फलाम र जिङ्कको समिश्रण नङ र कपालको प्राकृतिक वृद्धि तथा छाला लाई शुद्धीकरण गरी स्वस्थ राख्न सहयोगी  बनिदिन्छ।  फलामको साथ जिङ्क समेत रहदा खाना सँगै आन्द्रामा पुगेका खनिजहरू सजिलोसँग शरीरले अवशोषण गर्न सक्दछ।

दोजिया आमाको रगतको हेमोग्लोबिनमा हुने अक्सिजनको मात्रा बढाएर रक्त अल्पता हुन नदिन आमाको रगतमा फलामको जरुरी पर्दछ।  आमाको रगतमा  हेमोग्लोबिनको मात्रा बढाएर मात्र पेटभित्रको बच्चालाई रगतको आपूर्ति बढाउन सकिन्छ।

तीन मिलिग्राम फलाम प्रति सय ग्राम बाख्राको मासुमा भेटिनु उच्च फलामको आपूर्तिको श्रोत फेला पर्नु हो।  बाख्राको मासु दोजिया र सुत्केरी आमालाई खान दिएर एका तर्फ आमालाई रक्त अल्पता हुनबाट रोक्न सकिन्छ भने अर्कोतर्फ बाल मृत्युदर घटाउन र शिशुहरूमा जन्म दोषहरूको जोखिम कम गर्न सकिन्छ।

शरीरलाई सन्तुलित राख्न सहयोग गर्ने बटाइन, भिटामिन-डी बनाउने कोलेस्ट्रोल, जिनको सञ्चालन र शरीरको रोग प्रतिरोधी शक्ति बढाउने तथा रगत जम्न सहयोगी ओमेगा-६, ओमेगा-३  तथा अन्य फ्याट्टी एसिडहरूको धनी श्रोतरहेको बाख्राको मासुमा मानव शरीरको लागि चाहिने धेरै प्रकारका पोषक र औषधीय तत्त्वहरूले भरि-भराऊ देखिन्छ।

शरीरमा विद्युतीय सूचनाहरू अदान-प्रदान गर्न सहयोग गर्ने सोडियम, पोटेशियम जस्ता इलेक्ट्रोलाइट्हरु  बाख्राको मासुमा तुलनात्मक रुममा कम हुने हुनाले रक्तचाप नियन्त्रण गर्न, हृदय रोग तथा मिर्गौलाको रोग रोक्न सहयोगी बन्ने गरेको छ।  ओमेगा-३ अटिजम हुने बच्चाको लागि जरुरी हुन्छभने ओमेगा-३ र क्याल्सियम हड्डीहरू लाई बलियो पार्ने कडी हो।

बाख्राको मासुलाई आज संसारभर तागत दिने मासु भन्न थालिएको छ।  यौन सम्बन्धका हार्मोनहरू कम सक्रिय बनिदिएर यौनिक गतिविधिमा समस्या परेका पुरुष वा महिलाहरूमा बाख्राको मासुमा पाइने टारपीडो र पित्तले यौन शक्ति पुनर्बहालीमा सहयोग गर्ने गरेको भेटिएको छ।

आज संसारभर कामेच्छा र यौन स्वास्थ्य वृद्धिका लागि खसीको मासु खोजी खोजी खाने गरिएको भेटिन्छ।  पुरुषको कामेच्छा वृद्धिमा उल्लेखनीय सुधार ल्याउन  क्षमता राख्ने टारपीडो र पित्तयुक्त खसीको मासुमासिकधर्मको समयमा आइमाईहरुमा शरीरमा फलामको पुनः प्राप्तिमा मद्दत गरी मासिक धर्म हुने बेलादुखाई कम गर्न सहयोग पुर्यातएको भेटिन्छ।

चरक संहिताको सूत्रस्थानामा उल्लेख गरिए  अनुसार बाख्राको मासु शरीरका तन्तुहरू बलिष्ठ बनाउन सहयोगी हुन्छ। शरीर सुदृढीकरण गर्न तथा अङ्ग प्रत्यंग लाई बलिष्ठ पार्न बाख्राको मासु उपयोगी हुन्छ।  बाख्राको मासुले कोशीकामा खानाबाट शक्ति पैदा हुने प्रक्रियामा कुनै कचरा पैदा गर्दैन।  बाख्राको मासु खाएकै कारण शरीर भित्र कचाराहरु समेत नजम्ने एकिन छ संहिताको। खसीको मासुको-सूप आन्द्राको शुद्धिकरणमा उपयोगी हुने हुँदा एनिमाको लागि समेत प्रयोग हुने गर्छ।

आयुर्वेदमा विभिन्न औषधिहरूमा खसीको मासुको प्रयोगहुने गरेको छ।  जस्तै पक्षाघात, मांसपेशी बाउँडिने, माइग्रेन वा टाउको दुखाइ, बाथ रोग आदिमा प्रयोग गरिने औषधि महा-माष  तेल विभिन्न जडीबुटी सँगै खसीको मासु समेत मिलाएर बनाइएको हुन्छ।

पार्किन्सन्स रोग, मेरुदण्डको घाऊ प्याराप्लेजिआ र काम्ने रोग ट्रेमरमा ओखतीको रूपमा दिइने हर्बल जाम भनिने अजमांस-रसायन विभिन्न जडीबुटीसँगै खसीको मासु, गाईको घिउ र दूध समेत मिलाएर बनाइएको छ।

जिमको सप्लिमेन्ट र शरीरको सुगठन गर्न भनी बनेको अश्वगन्धादि लेहम होस् वा सिजोफेर्निया,  छारे रोग तथा तौल कम गर्न भनी दिइने चगलदय घृत वा  बृहत् चगलदय घृत नामक हर्बल घिउमा समेत खसीको मासु प्रयोग गरिन्छ।

नशाको रोग  न्युरल्जिया, मेरुदण्ड खिइने रोग स्पन्डाइलोसिस उपचारमा दीने महाराजप्रसारिणी तेल पनि जडीबुटी सँगै खसीको मासु मिली बनेको छ।   मानिस कोमामा पुग्दा, होस् गुमाउँदा,  ज्वरो आदिको कारण बाट जीवनकै अन्तिम घडीमा पुग्दा दिइने सूचिकाबरण रसमा सर्पको विष, विभिन्न धातु, खसीको पित्तआदि मिसाई बनेको हुन्छ।

खसीको बोसोलाई लोकल रक्सीमा भुटेर हिमाली नुन सँगै खाइ  छातीको दुखाईका कारण हुन गएको माम्सपेसी बाउँडिने रोग निको गर्ने आयुर्वेदिक काइदादेखि दूधको तरमा खसीको बोसो उमालेर मह, गाइको घिउ र चिनी हाली कमजोर, लिखुरेपन, छाती दुख्ने व्यथा, निन्द्रा नपर्ने जस्ता समस्या समाधान गर्ने तारिकमा समेत खसी प्रयोगमा आउँछ।

शरीर-विज्ञानले सङ्केत गरे अनुरूप अन्य प्राणी जस्तै मानव पनि मौसमी प्रजनन प्रेमी प्राणी हो।  भाद्रको अन्तिमदेखि कार्तिकको पहिलो हप्ताको बिचको असोजको समयमा पर्ने दशैंको अवधि मानिसमा विशिष्ट यौन हार्मोनहरू र टेस्टोस्टेरोनहरुको अधिक उत्पादन हुने गर्छ।

जुन गर्मीको मौसम असार-साउनमा सबैभन्दा कम हुने गर्छ। असोजको महिनामा मानिसलाई जरुरी हुने तागत दिन, कामेच्छा जगाउन र यौन स्वास्थ्य वृद्धि मार्फतयौन क्षमताको परिपूर्तिको लागि समेत दसैंमा खसीको मासु खाने परम्परा बसेको बुझ्न सकिन्छ।

वास्तवमा बाख्राले खाने हरेक डाले घाँस मानिसको लागि केही न केहीको औषधि हुने देखिन्छ।  मात्र औषधीय मूल्यको खाना खाएर हुर्केको खसीको मासु मानिसको लागि उत्कृष्ट र औषधीय मूल्यको हुनु कुनै नौलो कुरा नहुनु पर्थ्यो।

यसबाट हाम्रो परम्परागत ज्ञान र अनुभवको हामीले गहिरिएर मनन नगर्दा हामी आफ्नै मणिहरू पहिचान गर्न बाट चुकेका छौ। दसैंमा खसीको मासु खाने परम्परा भित्र छिपेको गहिरो अर्थ आजसम्म पनि हामीले बुझ्न नसक्नुलाई के भन्ने त्यो पाठककै जिम्मामा छोडौँ।

(खाद्य तथा औषधि विज्ञ, टोरन्टो, क्यानडा)

 

301Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: