मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

विज्ञ भेलाको कटु यथार्थता !

नारायण घिमिरे

जब तपाई ज्ञान, सीप र प्रविधि हस्तान्तरणको कुरा गर्नु हुन्छ, तब त्यहाँ कुनै ब्यवशाहीक उद्देश्य मूल नियत नरहेका अनुशन्धानहरु जस्तै प्राज्ञिक प्रकृतिका थेसिस, रिसर्च वा ओबिनारले लक्षित वर्गको लागि लाभ पुर्‍याउने सम्भावना अत्यन्त क्षीण हुन्छ। ओबिनारमा समावेश गरिएका कार्यपत्र जसले ओबिनारले लक्षित गरेको वर्गको आफ्नो पेशागत जीवन होस वा रोजगारी होस या स्वरोजगारीका निमित्त सरोकार र महत्त्व राख्ने कुनै न कुनै सूचना या ज्ञान दिन सक्दैन भने फगत ओबिनारका नाममा ओबिनार हुने गर्छ।

 

हाम्रा कतिपय ज्ञान भेलाहरू तथा कोभिड -१९ को सङ्क्रमणले निम्ताएको घरमै बन्दी हुनुपर्ने माहौलमा च्याउ जस्तै सामाजिक सञ्जालमा देखिने गरेका बहुसङ्ख्यक ओबिनारहरु भेलाका नाममा भेला वा ओबिनारका नाममा ओबिनार बनिरहेको कुरा कसैमाझ लुकेको कुरा हैन।

 

संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने प्राज्ञिक (सैद्धान्तिक) अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने व्यावहारिक (एप्लाइड) अनुसन्धान । सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिनेगरी व्यावसायिकीकरण गर्न सकिन्न ।

 

आजको संसारमा स्थापित मान्यता अनुरूप कुनै पनि क्षेत्रको औपचारिक सैद्धान्तिक अध्ययन वा व्यावहारिक तालिम पश्चात् कम्तीमा उक्त क्षेत्रमा २० हजार घण्टाको अनुभव लिई काम बाटै आफ्नो क्षमता प्रमाणित गरिसकेका व्यक्तिलाई उक्त विषयको विज्ञ मान्ने गरिन्छ।

 

मानौँ तपाईँ अध्यापन गराउने प्राज्ञ हुनु हुन्छ, विद्यार्थी लाई शोधपत्र गराउन, प्रयोगात्मक कक्षा सञ्चालन गर्न वा पोस्ट डाक्टरेड जस्तो एकेडेमिक अनुसन्धान गर्दै हुनुहुन्छ भने तपाइको ती गतिविधिहरू औपचारिक सैद्धान्तिक अध्ययन अध्यापनमै सीमित रहेको र सिधै ब्यवशाहीक उद्देश्य मूल रहेर त्यहाँ बाट उत्पन्न नतिजा लाई बस्तु वा सेवामा ढाली प्रतिफलमा मुनाफा कमाउने नरहेकोले तपाइको त्यो कार्यक्षेत्र प्राज्ञिक कार्य क्षेत्र नै हो।

 

तर पनि यदि तपाई आफ्नो नियमित प्राज्ञिक कार्य क्षेत्रको अलावा अतिरिक्त समयमा आफ्नो व्यावहारिक अनुसन्धान जसमा  व्यवसाय मूलक उद्देश्य छ र त्यसबाट उत्पन्न नतिजा लाई बस्तु वा सेवामा ढाली मुनाफा कमाउने कार्यमा कम्तीमा २० हजार घण्टा संलग्न भई नवोन्मेष (इनोभेसन) को अनुभव लिएर आफ्नो कौशलता समेत स्थापित गरिसक्नु भएको छ भने तपाई प्राज्ञ मात्र हैन विषय विज्ञ समेत मानिनु हुन्छ।

 

सामाजिक सञ्जालको विकाससँगै संसारमा नयाँ–नयाँ अनुसन्धान मात्र भएका छैनन्, संसारलाई रातारात ती कुरा थाहा पाउने अवसर मिलेकाले बजार माग दिनदिनै परिवर्तन भइरहेको छ । बदलिँदो बजार माग अनुसार तत्काल आफ्ना उद्योगको उत्पादन परिवर्तन गर्न नसक्ने प्रायः सबै उद्योग बजारबाट विस्थापित भएका छन।

 

हिजो तपाईँको छिमेकी मात्र प्रतिस्पर्धी थियो भने आज संसारको कुनै कुनाको नामै नसुनेको प्रतिस्पर्धीसँग तपाईँले बजार प्रतिस्पर्धा गरिरहनुपरेको छ । आजको बजार व्यवस्थामा तिनै मात्र सफल हुन सक्छन्, जसको आफ्नै व्यावहारिक अनुसन्धान, इनोभेसन र पेसा सञ्चालन संयन्त्र एकापसमा जकडिएर सञ्चालनमा छन। समय र परिस्थिति अनुरूपको उन्नत ज्ञान, सिप र प्रविधिको पहिचान र उपयोग गरी आफ्नो पेसा वा व्यवसायमा तल्लीन छन।

 

विश्वको मान्यता के छ भने तपाईँले आजको युनिभर्सिटी मोडलमा व्यावहारिक अनुसन्धान गर्नुभयो र प्राज्ञिकहरूले अब्बल भनी दाबी गर्ने सार्वजनिक–निजी साझेदारी मोडल अपनाउनुभयो भने पनि एक हजार डलर मूल्य बराबरको अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्न १ देखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यावसायिकीकरणले तपाईँको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त व्यावहारिक नै छ ।

 

त्यसैले आज संसार भर व्यावसायिकीकरणको लागि खासै प्रगतिशील हुन नसकेका प्राज्ञ भेलाहरु मात्र विश्व विद्यालय हरुमा सीमित छन। सबै पेशेवर सङ्घ संस्था र  व्यावसायिक समुदाय विज्ञ भेलाको पछि परेको देखिन्छ। आज नाम चलेका विश्व विद्यालयहरू समेत प्राज्ञ भेलाको दायरा बाट पूर्ण रूपमै बाहिर निस्किने क्रममा भेटिन्छन। हिजो सम्म होनहार भनी संसारमा चिनिने निकै धेरै आफ्ना उत्पादनहरू बदलिँदो बजार मागको पूर्ति गर्न नसकेर मिल्किरहेको पीडाबाट उन्मुक्ति पाउन आफूलाई समेत समय अनुकूल परिवर्तन गर्दै छन।

 

विज्ञताको सबै भन्दा  जरुरत  परिरहेको आजको अविकसित वा विकासोन्मुख मुलुकहरूमा आधारभूत संरचना समेत विकास नभएको, इनोभेसनको जग समेत नबसी रहेको सन्दर्भमा ती मूलकहरूका लागि कतिपय संसारमै उत्कृष्ट मानिएका प्राज्ञ वा विज्ञको ज्ञान, सीप र अनुभव ट्याक्टरमा जेट इन्जिन जडान गरे जस्तो दुर्घटना निम्त्याउने पाराको बनेको अनुभब हामीसंग छ। यो संदर्ब लाई समेत ख्याल गरी आयोजना हुन नसकेका विगतका कथित विज्ञ वा प्राज्ञ भेलाहरू मात्र कुम्भ भेलामा सीमित भएको यथार्थता हामी बिच लुकेको छैन।

 

कुनै पनि विज्ञ भेलाले लक्षित गर्ने भनेको जुन मुलुकको लागि भनिएको हो त्यो मुलुककै उद्यमशीलता र इनोभेसन हाँक्दै गरेका विज्ञ तथा विद्वान वर्ग नै हो। नेपाली समुदाय लाई लक्षित गरी गरिने यस्ता भेलाहरू नेपालको यथार्थ अनुरूप नेपालको हितमा हुने विषयमा लक्षित हुनु अनिबार्य सर्त रहनु पर्छ।

 

आज नेपालको तितो यथार्थता के हो भने मुलुक ९३% आयात गर्छ भने मात्र ७% निर्यात हुन्छ। जुन मुलुकले ९३% आयात गर्छ त्यसको मतलब हो, त्यो मुलुकमा औधोगिकीकरणको सामान्य फुट प्रिन्ट पनि बसिसकेको छैन। जुन मुलुकमा औधोगिकीकरणको सामान्य भन्दा सामान्य फुट प्रिन्ट पनि बसेको छैन त्यहाँ अधिक एडभान्स कुनै स्पसलाइश स्किल होइन सामान्य भन्दा सामान्य सीप,ज्ञान र प्रविधिको धेरै टट्कारो जरुरत छ।

 

जसको लागी मुलुकले स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ कम्पनी’ र संस्थाहरूको स्थापना खोजेको छ ।

 

त्यस्ता ‘इनोभेटिभ’ कम्पनी र संस्था स्थापनाको अनिवार्य पूर्वाधार पुरा गर्न एकातर्फ प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धान संस्था मार्फत ‘इनोभेटिभ कम्पनी’ र संस्थाका लागि जरुरी हुने पर्याप्त दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादनको जरुरत छ।

 

अर्को तर्फ प्रवासमा रहेर प्रवासी नेपालीले आफूले सिकेको सेफ, कुक, वधशाला, प्लम्बिङ्ग, कृषि उत्पादन, पशुपालन, प्रशोधन, नर्सिङ, टेक्निसियन, एप बनाउने लगायतका आइटीका क्षेत्र, रैथाने वनस्पति, जडीबुटी र जीवाणु आदिमा आधारित स्वरोजगार मूलक सीप ज्ञान र प्रविधिको उपलब्ध गर्न सक्दा यस्ता भेलाहरू उपलब्धि पूर्ण हुने निश्चित छ।

 

यदि तपाई ज्ञान सीप र अनुभव र प्रविधिको जानकारी एकापसमा बाड्ने नियतले विज्ञ भेलाहरूको योजना गर्नु हुन्छ तर त्यसलाई परम्परागत, मिति गुज्रिएको कुनै निश्चित उधम सञ्चालनको नियत नरहेको फगत प्राज्ञिक शैधान्तिक निचोड फलाक्ने प्रक्रिया अँगाल्नु हुन्छ भने ती सभाहरू औचित्य हीन, फगत आफ्नै नाम र प्रतिष्ठा कमाउने कुण्ठावाट ग्रसित सभाको लागि मात्र आयोजना गरिएका सभा हुनेछन।

 

कुनै पनि मुलुकका नाममा विज्ञ सभाहरू गरिन्छ भने त्यो मुलुकको जरुरत अनुरूपको  ज्ञान, सीप र अनुभव र प्रविधिको बारे जानकार दक्ष विज्ञहरू उक्त भेलाका मुख्य लक्षित वर्ग मानिनु पर्छ। अन्यथा त्यस्ता सभाले विज्ञहरूको समय र भेलामा आफ्नो सहयोग दिने शुभचिन्तकहरूको पैसाको नाश गर्ने हाल सम्म दण्डनीय नबनिसकेको सङ्गठित अपराध गरिरहेको ठानिनु पर्छ।

 

आजको हाम्रो दुर्भाग्य के हो भने नेपाल जस्ता मुलुक लक्षित भनी आयोजना गरिएका बिगतका अत्यधिक छोटे मोटे अधिक विज्ञ भेलाहरू परम्परावादी  तरिकाको प्राज्ञिक भेलाको ह्याङ्गओभर बाट ग्रसित बने। हाम्रा उच्च तहमा रहेका केही जडशुत्रबादी अहङ्कार बोकेको प्रवृत्ति र समाजमा पुगी नसकेको उचित सचेतनाका कारणको अनर्थबाट उक्त प्रकृतिका भेलाहरु सहजै सही मार्गमा पुगी हाल्ने हालको अवस्था छैन। भविष्यमा पनि सोको प्राप्ति त्यति सहज बन्ला भन्ने लक्षण खासै देखिँदैन।

 

प्राज्ञिक ह्याङ्गओभर ग्रसित हाम्रा भेलाहरु प्राज्ञिक पुरातनबादी कोडिंङ्ग ग्रस्त बनिरहेको अवस्थामा लक्ष प्राप्तिमा अनुत्पादक बनिरहेको भेटिन्छ। यस्ता प्राज्ञिक पुरातनबादी कोडिंङ्गहरुको डिकोडिंङ्ग गरी विज्ञ भेलाहरूलाइ मुलुकको हितको सापेक्षमा लैजान बनाउने सीमित उपायहरू मात्र उपलब्ध छन्। पहिलो उपाय हो को आवश्यकतामा रहेको सीप, ज्ञान र प्रविधिमा पहुँच भएका प्रवासी नेपालीहरूको यस्ता सभा सम्मेलनहरूमा पहुँचमा पुग्न पर्ने। तिनलाई विज्ञ भेलाका लक्षित विज्ञ वर्ग करार गरिनु पर्ने।

 

दोश्रो विज्ञ भेलाका लक्षित विज्ञ वर्गहरुमा आफूसँग रहेको उक्त सीप, प्रविधि र ज्ञान हाल नेपालको संवृद्धिको लागि जरुरी रहेको महसुस हुनु। उक्त विज्ञ भेलामा भेलुएड गर्न सक्ने पात्र आफू रहेको अनुभूति दिलाउन सक्नु। तेश्रो उनीहरूको सक्रिय सहभागिता बिना यस्ता विज्ञ भेलाहरू मात्र कुम्भ भेला हुने अनुभूति यस्ता भेला योजना गर्ने निकायको नीतिगत स्तरमा रहेकाहरूमा अनिबार्य रूपमा विकास हुनु।

 

ज्ञान, सीप, अनुभव र प्रविधिको हस्तान्तरण भनेका कुराहरू अर्काको बारीमा फलेको काउली किनेर डोकोमा राखी बजार बजार घुमाएर उपभोक्ताको माग पूर्ति गरे जस्तो कुनै संस्थाको उच्च तहमा रहेकै भरमा माइक्रो म्यानेजमेन्ट लादेर पुरा गर्न सक्छु भन्ने कुनै जडशुत्रबादी अहङ्कार युक्त प्रवृत्ति छन् भने त्यो बाट सम्भब बन्ने छैन। ती प्रवृत्तिहरू बाट यस्ता अभियानहरूले तत्काल मुक्ति प्राप्त गर्नु अनिबार्य हुन्छ।

 

नेपाल आफै अविकसित रहदा रहँदै मुलुक पनि आफै भने अन्य मुलुकको तुलनामा कलेजको पिएचडी लगायतका उच्च शिक्षाको अत्यन्त धेरै डिग्रीधारी युवाहरू रहेको मुलुकमा पर्दछ। नेपाल आफै सरकारी तथा अन्य कामका सिलसिलामा विभिन्न बिदेसी नियोग र राजदूतावासमा पुगी अनुभव बटुलेका अनगिन्ती रिटायर्ड जीवन बिताएका मानिसहरू चोक चोकमा बिगरल्ति भेटिने मुलुकका रुपमा संसारमै चर्चित छ।

 

त्यति हुँदा हुँदै पनि नेपालमा उचित सीप, ज्ञान र प्रविधि नभित्रनु र इनोभेसनको कल्चर समेत नबस्नुमा ती वर्ग सँग रहेको ज्ञान, सिप र अनुभव तथा उनीहरूको आधुनिक प्रविधिमा रहेको पहुँच मुलुकको आवश्यकता सँग नामिल्नु रहेको यकिनका साथ भन्न सकिन्छ।

हाम्रा विगतका विज्ञ वा प्राज्ञ नाम दीईएका भेलाहरूमा तिनै प्रकृतिका कार्यपत्रहरू र मुलुकको आवश्यकता सँग बाह्र हातको समेत सम्बन्ध नराख्ने मिति खुस्किसकेका विषयहरुको सँगालो बन्नु नै सम्मेलन फगत सम्मेलन मात्रमा सीमित बन्न पुग्नुको अर्को अहम कारक बन्न पुगेको छ।

 

जबसम्म विभिन्न नामका विज्ञ भेलाहरूको आयोजना र व्यवस्थापनमा लागेका विद्वान वर्ग मानिएका विज्ञहरुको टिमकै जिनमै कोडिङ्ग भएर बसेको प्राज्ञिक पुरातनबादी भाइरस मुक्त भएर विज्ञ भेलाहरू आयोजना हुदैनन तब सम्म यस्ता कार्यक्रमहरू लाई कसरि उद्देश्य प्राप्ति उन्मुख गराउन सकिदैन। जुन अवस्थासंसार भर सम्पूर्ण रूपमा एकै चोटि सुधार हुने अवस्था नरहेकाले बिस्तारै सुधारोन्मुख दिशामा अघि बढ्नु बुद्दिमानि पूर्ण हुनेछ।

 

जस अन्तरगत विज्ञ भेला आयोजनामा संलग्न रहने विज्ञहरूले भेला प्रक्रिया भन्दा यसले प्राप्त गर्न खोजेको उद्देश्य लाई मनन गरी तैयारी बस्नु उत्पादन मूलक हुनेछ। विज्ञ भेलाको हरेक सत्रलाई सैद्धान्तिक शैक्षिक प्रस्तुतीकरण भन्दा पृथक् समय र परिस्थितिले मागे अनुरूपको व्यवहारिक बनाउन अधिक जोडबल लगाउन जरुरी छ।

 

सुरुवाती समयमा विज्ञ भेलाका लक्षित विज्ञहरू लाई खोजी खोजी सहभागिता गराउन तर्फ लाग्ने र अन्ततः यो फोरमको सक्रिय पत्रको रूपमा उनीहरू लाइनै हस्तान्तरण गर्ने हद सम्म पुगी यस्ता कार्यक्रमहरू उपलब्धि पूर्ण र प्रभावकारी गराउन जरुरी देखिएको छ।

 

यस्ता कार्यहरू प्राज्ञिक पुरातन बादी भाइरसबाट पूर्ण रूपमा मुक्त भएर विज्ञ भेला सम्पन्न गर्न कस्सिएका विज्ञहरुको चाहनाले मात्र पुरा हुन सक्दैन। हाल प्रवासमा रहेका लक्षित विज्ञ वर्गहरूमा यस्ता सभा सम्मेलनहरूमा सक्रिय सहभागिता सहित मुलुकको संवृद्धिको लागि लागि पर्ने हुट हुटि पैदा हुन जरुरी छ।

 

जसको लागि धेरै भन्दा धेरै विज्ञ नेपाली डायस्पोराहरू यसमा सहभागी हुन र सक्रिय योगदान दिन तैयार रहनु पर्छ। हालै अमेरिकी क्षेत्रमा नयाँ सिराबाट सुरु गरिएको एनआरएन आइसिसी अमेरिकाको सेप्टेम्बरमा हुन गएको विज्ञ भेलाको उपलब्धि तिनै विज्ञ नेपाली डायस्पोराहरूले यसमा पुर्‍याउन सक्ने सहभागीता र सक्रिय योगदानले निश्चय गर्ने देखिएको छ। जसको लागि ज्ञान भेला योजना गर्न कस्सिएका विज्ञको टिम नै निरन्तर प्रयासरत छ। हेरौँ आगामी दिनमा यो कत्तिको सम्भव र सफल बन्ने छ।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

Share this:

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE