मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जैविकीय घडी (बाइलोजीकल क्लक)

नारायण घिमिरे

प्रत्येक मानिसको आफ्नै प्रकारको दैनिकी हुने गर्छ। भनिन्छ मानिसको शरीरले आन्तरिक र बाह्य गतिविधिहरू संचलानका लागि आफैले आफ्नो आन्तरिक समय निर्धारण गर्ने गर्दछ। जसलाई जैविक घडी अथवा बाइलोजीकल क्लक भन्ने चलन छ।

 

बाइलोजीकल क्लक लाई सर्केडियन क्लकको नामकरण गरिएको छ। सर्केडियन क्लकको मान्यतामा हाम्रो शरीरले  आफ्ना आन्तरिक र बाह्य गतिविधिहरू सञ्चालन गर्न दैनिक उपलब्ध हुने २४ घण्टाको समय लाई चक्रिय जैविकीय कार्य तालिका बनाएर व्यवस्थित गर्ने गर्दछ।

 

दिमागको हाइपोथेलामसमा लगभग २० हजार स्नायु केसीकाहरु  मिलेर बनेको निकै सानो भाग हुन्छ। जसलाई सुप्रकाएमाटिक निउक्लीएस वा एसडिएन भनिन्छ। एसडिएन दिमागको मास्टर घडी हो जसले सर्केडियन क्लकको तालिकालाई समेत नियन्त्रण र नियमन गर्ने गर्छ।

 

सर्केडियन घडी जैविक जिनहरू र जैविक प्रोटिनहरू बाट बनेको हुन्छ। जैविक जिन र जैविक प्रोटिनहरू एक अर्कोमा प्रतिक्रिया – अन्तरक्रिया उपलब्ध गराउँदै साँघुरो सञ्जालमा जेलिएर बसेका हुन्छन्।

 

जैविक घडीका जिनहरू संग जैविक प्रोटिनहरू बनाउन जरुरि निर्देशनहरू रहने गर्छन्। उक्त निर्देशनहरू बाट जैविक प्रोटिनहरूको सङ्ख्या चक्रवर्ती ढाँचामा नियमित बढाउने र घटाउने गरी सर्केडियन क्लकले निश्चित जैविकीय कार्य तालिका बनाउन सक्छ।

 

 

सर्केडियन क्लकले निन्द्रामा पर्ने र खुल्ने समय तालिका, हर्मोन उत्पादन समय तालिका, शरीरको तापक्रममा घटबढ हुने समय तालिका जस्ता गतिविधि सञ्चालन गरी शरीरको लागि आफ्नै जरुरत अनुरूपको चक्रीय जैविक तालिकाको निर्धारण गर्ने गर्छ। जसलाई हामी सर्केडियन रिदम भन्ने गर्छौ।

 

एक अनुसन्धानका अनुसार सर्केडियन रिदमको जैविकीय कार्य तालिका निर्धारण गर्नको लागि मानिसका सरिरमा रहने कम्तीमा १५ वटा जिनहरू सक्रिय रहन्छन्। मानिसमा रहने प्राकृतिक आनुवंशिक भिन्नताले एक व्यक्तिको बानी ब्यहोरा अर्को व्यक्ति सँग फरक हुने गर्छ। प्राकृतिक आनुवंशिक भिन्नताले व्यक्तिको सर्केडियन रिदम हरूमा समेत गहिरो भिन्नता थपिदिन्छ ।

 

मानिसको सरिरमा पुग्ने सूर्यको किरण र अन्य कुनै श्रोत बाट आउने प्रकाशको किरणले ती जिनहरूको गतिविधिमा प्रभाव पार्ने हुनाले सर्केडियन क्लकको तालिकामा समेत असर पुग्ने गर्छ। फरक फरक समयमा उज्यालो वा अँधेरो वातावरणमा पुग्दा फरक फरक प्रकृतिको जिनहरूले फरक फरक सक्रियताका देखाउने हुँदा प्रत्येक मानिसको दैनिकीमा आफ्नै पाराको जैविकीय कार्य तालिका निर्माण गरिदिन्छ।

 

फलतः मानिस पिच्छे आफ्नै प्रकारको निद्रा लाग्ने, ब्युँझने, भोक लाग्ने जस्ता व्यक्तिगत जैविकीय कार्य तालिका विकास हुने गर्छन्। जसलाई हामी मानिसको आनी बानी पनि भन्ने गर्छौ।

 

हाम्रो शरीरको लगभग सबै काम गर्ने तौर तरिका जैविक घडीको तालिकामा जोल्टिएको हुन्छ। जैविक घडीको तालिकाले सरिरको सतर्कता, भोक, पाचन, मैथुन, मुड र अन्य शारीरिक अवस्था हरूलाई प्रभाव पारिदिन्छ।

 

जैविक रिदमको गडबडीमा सरिरमा अनिद्रा, मधुमेह, डिप्रेसन, दुई-ध्रुवीय विकार र मौसमी विकारका लक्षणहरू ब्रिध्धि भई शारीरिक गडबडीको हद बढने गरेको भेटिन्छ। विभिन्न अध्ययनहरूमा कतिपय बिमारीहरूमा जैविक घडीको तालिका अनुरूप दीईएको औषधिको प्रभावकारिता उच्च रहेको भेटिएको छ।

 

नियमित सुत्ने, व्यायाम गर्ने, उठ्ने, खाने, नित्यकर्म गर्ने मात्र हैन हर्मोन उत्पन्न हुने देखि मनोवैज्ञानिक र शारीरिक गतिविधिहरू सम्म सर्केडियन रिदमको संयोजनमा सञ्चालन हुने मानिन्छ। त्यसैले योग विधाका पारखीहरू आफ्नो जीवन शैलीलाई आफ्नै सर्केडियन रिदम सँग संयोग खाने गरी परिवर्तन गरी मानिसले आफूलाई स्वस्थ राख्न सक्छ भन्ने विश्वास लिने गर्छन्।

 

मानिसको जीवन स्वस्थ रहन जरुरी अर्को अहम पक्ष खान पानको गुणस्तर र समय तालिका रहेकोमा धेरै विषय विज्ञहरूमा सहमति भेटिन्छ। नवजात शिशु प्रत्येक ९० मिनेटमा दूधको लागि रुने गर्छ। तिन महिनाको पुग्दा नपुग्दा दिनमा चार देखि पाँच पटक खानको माग गर्छ। लगभग छ महिना पुगी सक्दा वयस्कले जस्तै बिचमा हल्का केही खाने गरी दिनको तिन पटक खाना खाने बानी विकसित भएको भेटिन्छ।

 

प्रत्येक रात सुत्न जानु अघि शरीरको तापक्रम, रगतको चाप र मुटु धड्कनको गति घट्न थाल्छ। राती हुँदा शरीरले मेलाटोनिंन हर्मोन उत्पादन गर्छ। प्राय रात्रिकै बेला बन्ने मेलाटोनिंनले शरीर लाई आराम गर्ने बेला भएको सूचना सञ्चार गरी निद्राको परेको अनुभूति गराउँदै निद्रा पर्ने गर्छ।

 

शरीरका केशिकाहरू लाई टुक्रिन उत्तेजित गरी वृद्धि र पुन उत्पादन गराउने सोमाटोट्रोफिन शरीरको ग्रोथ हर्मोन हो। सोमाटोट्रोफिन एन्टी-ऎजिङ्ग प्रवृत्तिको हुने हुँदा शरीरलाई चुस्त दुरुस्त राख्न सहयोग गर्दछ। निदाएको एक-दुई घण्टा सम्म रगतमा इन्सुलिनको मात्रा कम रहेमा शरीरमा सोमाटोट्रोफिन अत्याधिक उत्पादन हुने र शरीरको बोसो कटाउने गर्छ।

 

इन्सुलिनको उपलब्ध हुँदा भने सोमाटोट्रोफिनको उत्पादन न्यून हुने र इन्सुलीन बोसोमा परिवर्तन हुने हुँदा शरीर मोटो हुने गर्छ। सुत्नु भन्दा चार घण्टा अघि बेलुकीको खाना खाने गर्दा निदाएको एक दुई घण्टा सम्म रगतमा इन्सुलिन नहुने हुँदा सोमाटोट्रोफिनको सक्रियतामा शरीर मोटो हुनबाट जोगिन्छ।

मानव शरीरको दैनिक जीविकामा अनिवार्य हुने ऊर्जालाई “चीई Qi” भन्ने गर्छन् चिनिया। परम्परागत चिनियाँ हिलिङ्ग फुड र औषधि विज्ञानमा सरिरमा ऊर्जा  अथवा “चीई  प्रवाहको” आफ्नो निश्चित मार्ग र तौर तरिका हुने गर्छ । जसलाई मेरिडियनको सॅज्ञा दिने गरिन्छ। परम्परागत चिनियाँ मान्यतामा मानिसको  स्वास्थ्यको सम्बन्धमा १२ प्रमुख मेरिडियन्सको प्रमुख भूमिका रहने गर्छ।

 

प्रत्येक मेरिडियन एक विशेष अङ्गसँग सम्बन्धित हुन्छ। उक्त समयमा विशेष अङ्गसँग सम्बन्धित प्रमुख कार्यहरूका अलावा उक्त अङ्गको वरिपरिका अन्य अङ्गहरू सँग सहकार्य गरी शरीरको बृहत् गतिविधि सञ्चालन र व्यवस्थापन  हुने गर्दछ। उदाहरणका लागि मिर्गौला मेरिडियन मूत्र स्वास्थ्यको लागी प्रमुख रूपमा जिम्मेवार रहन्छ । यौन र प्रजनन प्रक्रियामा जरुरी हुने ऊर्जाको सञ्चालनमा समेत मिर्गौला मेरिडियनले सहयोगी भूमिका खेल्ने गर्छ।

 

१२ प्रमुख मेरिडियन्समा हरेकमा दैनिक दुई घण्टाको अवधि विशेष ऊर्जा प्रवाह हुँदै २४ घण्टाको नियमित चक्र पूरा हुने गर्दछ। उक्त  दुई घण्टाको विशेष समयमा उक्त मेरिडियनमा परेका अङ्गहरूमा  शरीरको अत्यधिक ऊर्जा खर्चिने गर्छ ।

 

जुन समय आफ्नो अङ्गमा शरीरको अत्यधिक ऊर्जा खर्चिने तालिका रहन्छ उक्त समयमा उक्त अङ्गहरूको काम आउने गरी मानिसले खानपान, औषध सेवन, व्यायाम, सुत्ने उठ्ने, रासलीला र नित्यकर्म गर्ने गर्दा शरीर लाई स्वस्थ राख्न सकिन्छ भन्ने मान्यता राख्छ परम्परागत चिनियाँ मेरिडियन मान्यता।

 

चाइनिज परम्परागत औषधोबिज्ञान मेरिडियनका अनुसार अङ्गहरू सक्रिय हुनेहुदा मेरिडियनका आधारमा नित्य कर्म, औसधो उपचार, खानपान र व्यायाम गरिनु पर्ने मान्यता राख्दछ।

 

चाइनिज मेरिडियनका अनुसार मानिसको दैनिकीमा खाना खान,  सुत्न, सपना देख्न, ध्यान गर्न, प्रेम र प्रेमलापमा होमिन पनि निश्चित समय लाई उत्कृष्ट समय भनी तोकिएको छ। मध्य रात र मध्य दिनको आफ्नै नियम छ।

 

उदाहरणका लागि बिहानको १:०० – ३:०० को समय  कलेजोको समय हो। फोक्सो मनोवैज्ञानिक  दु:ख र उदासी भावनाहरू सँग जोडिने गर्छ। साथै सृजनात्मक स्वप्न सँग समेत। यस समयमा, विषाक्त पदार्थहरू शरीरबाट मुक्त हुन्छन् र ताजा नयाँ रगत बनाइन्छ। यो मानिस अलि क्रोधरत, निराशा र सन्की बन्न सक्ने समय पनि मानिन्छ।

 

दिउसोको १:०० – ३:०० सानो आन्द्राको पाचनको लागि उपयुक्त समय। खाना खाएपछि यसको पाचन र एसिमिलेशन पूरा हुने समय हो । दैनिक कार्य वा व्यायाममा जानको लागि पनि यो समय उपयुक्त ठानिन्छ। यो समयमा कहिलेकाहीँ, मानिसमा असन्तोषजनक विचारहरू वा त्यागको भावना जागृत हुने र वचेतनापूर्वक समस्या उत्पन्न हुने गर्छ।

 

बिहानको ३:०० – ५:००  फोक्सोको मेरिडियन रहेकोले यो समय आत्मा र श्वास प्रश्वास सँग जोडिजोडिएको समय हो। यो समयमा ध्यान अथवा मेडिटेसनको लागि अति राम्रो मानिन्छ।यो समयमा जागा रहेको अवस्थामा ढिलो तर गहिरो स्वाशलिने अभ्यासहरू गर्न सिफारिस गर्ने गरिन्छ। फोक्सोलाई प्रशस्त ओक्सीजनको जोहो गर्न शरीरलाई न्यानोपन दिलाउन सिफारिस गरिन्छ।

 

बेलुकीको ३:०० – ५:०० ब्लाडर मेरिडियन रहेको छ। ब्लाडर सरिरमा ऊर्जाको भण्डार मानिने हुँदा अनिवार्य  सुत्नको लागि उपयुक्त समय मानिन्छ। यो अध्ययन गर्न र मस्तिष्क-चुनौतीपूर्ण कार्य मा संलग्न गराउनको लागि उपयुक्त समय मानिन्छ। यो समयमा मानिसले चिन्ता वा डरलाग्दो अनुभव पनि गर्ने सम्भावना रहन्छ।

 

बिहानको ५:०० – ७:०० को समय ठुलो आन्द्रामा ऊर्जाको अधिकतम प्रवाह हुने समय हो। यो समयमा अब-शोषण पश्चात् विषाक्त पदार्थ सहित दिशाआदि गुद्वार मार्फत हटाउन ठुलो आन्द्रा र गुद्वार सक्रिय हुने गर्छ। यदि तपाईँ कब्जियतको समस्यामा हुनुहुन्छ भने बिहानै ६:०० बजे तिर शौच गर्न पुग्दा दिशा खलास हुने गर्छ। यो समय शरीर सफा गर्ने, स्नान गर्ने, कपाल कोर्ने मिलाउने आदिको लागि उपयुक्त समय मानिन्छ। बिहान बिहान कपाल कोर्ने बानीले दिमागमा रहेको नकारात्मक ऊर्जा सफा गर्न मद्दत गर्दछ भन्ने मान्यता लिइन्छ। यस समयमा मानिस आफू कुनै कुराले प्रतिकारात्मक बनाइ रहेको र कुनै अदृश्य बस्तुले कतै अड्काई रहेको भावहरू उत्पन्न गराएको महसुस गराउन सक्छ।

 

बेलुकीको ५:०० – ७:०० मृगौलाको समय हो। यो मिर्गौला र रगत रहेका हानिकारक पदार्थ सफा गरी रगतमा जरुरी पदार्थ हरूको उचित मात्रामा व्यवस्थापन गर्ने समय हो । यस समयमा रात्रिको खाना खान उपयुक्त मानिन्छ। साथै हिँडेर, मसाज गरेर र जिउ तन्काएर सरिरमा रक्त सञ्चार सक्रिय पर्ने समय को रूपमा समेत यसलाई लिइने गरिन्छ। यो समयमा मानिसमा अर्ध-चेतन रूपको  डर वा आतङ्कका भयहरू देखिने गर्छन्।

 

आमाशयको मेरिडियन बिहान ७:०० – ९:०० बजे पर्दछ। यो समयमा हाम्रो पेट सबैभन्दा शक्तिशाली हुने गर्छ। तसर्थ बिहान ८:०० बजे तिर हेबी ब्रेकफास्ट खानु शरीरको हिसाबमा अनुकूल छ।

 

त्यसको ठिक विपरीत बेलुकीको ७:००-९:०० बजे मुटुको सॅरक्षण गर्ने पेरीकार्डियम मेरिडियन अथवा रक्त सञ्चारको समय रहेकाले पेटमा सबै भन्दा कम ऊर्जाको प्रवाह भइदिने हुँदा बेलुकीको ७:०० बजे अघि नै हल्का डिनर लिईसक्नु फाइदा जनक हुन्छ।

 

यो समयमा पोषण तत्वोहरु रगतका नशा हुँदै  प्रत्येक केशिकामा पुग्ने गर्छन्। यो समय कुनै मानसिक श्रम चाहिने गहिरो अनुसन्धान आदि नगर्न बरु नयाँ कुरा हरू अध्धयन गर्न उत्तम मानिन्छ। यो समय मनका गहिरा भावनाहरू व्यक्त गर्न कठिनाइ हुने समय मानिन्छ। पेरीकार्डियम हृदयको सुरक्षाका अलावा प्रेमालापमा होमिन जरुरी हुने सम्बन्ध सुधार र रोमान्चक भावनाको आदान प्रदानमा सहयोगी हुने  हुँदा बेलुकी ८:००- ९:०० बजेको समय रासलीला र गर्भधारणको लागि उत्तम समय मानिन्छ।

 

बिहानको ९:०० – ११:०० पेंक्रियाज र स्पिलिनको समय हो। यो समयमा शरीरले खानालाई पचाएर ऊर्जा बनाउन सहयोगी हुने इन्जाइमहरू बनाएर पाचन प्रणालीलाई उपलब्ध गराउने गर्छ। व्यायाम र काम गर्नेको लागि उत्तम मानिन्छ यो समय। आफ्नो दैनिकीको सबैभन्दा महत्त्वपूर्ण काम गर्न यो समय को उपयोग गर्न सुजाईने गरिन्छ। यो समयमा भावनात्मक रूपले मानिसले सबैभन्दा कम आत्म-सम्मान महसुस गर्ने गर्छ।

 

बेलुकीको ९:०० – ११:०० ईस्प्लिन वा  इन्डोक्राईन प्रणालीको समय हो। अन्य समय भन्दा यो समयमा शरीर तिन गुना न्यानो बनेको हुन्छ। यो समयमा शरीरको केशिकामा पुगेका खाना ऊर्जामा परिवर्तन हुने गर्छ। शरीरले आफ्नो तापक्रम ब्रिध्दी मार्फत शरीरको सम्पूर्ण ऊर्जा प्रवाह सन्तुलनमा फर्काउने र इन्जाइमहरूको पुनः स्थापित गर्ने गर्छ। यो समयमा मनिसलाई आराम सँग सुत्नको लागि सिफारिस गरिन्छ। ताकि शरीरले भोलिको लागि जरुरी ऊर्जाको संरक्षण गर्न सकोस। यो समयमा मानिसले आफू भ्रमित र दुबिधामा परेको महसुस गर्ने गर्छ।

 

अपराह्न ११:०० -१:०० को समय मुटुको समय हो । मुटुले रगत सँगै पोषण र ऊर्जाको शरीर भर पुर्‍याउन सहयोग गर्छ। यो समय दिउसोको हल्का खाना खानको लागि उपयुक्त समय मानिन्छ। यो समयमा एक कप चिया पिउने र दिउसोको एक घण्टा वा कम समयको छोटो सुताइको सिफारिस गरिन्छ। यस समयमा भावनात्मक रूपमा  मानिस कहिले आफू अति आनन्दित त कहिले दु:खी बनेको महसुस गर्ने गर्छ।

 

मध्य रातको ११:०० – १:०० को समय गलब्लाडरको समय हो।  शरीर ऊर्जायुक्त रहेको महसुस गराउनको लागी यो समयमा आराम गर्नु जरुरी मानिन्छ। परम्परागत चिनियाँ औषधि पद्धतिमा यस अवधिमा शरीरले निष्क्रिय र नकारात्मक ऊर्जा लाई सक्रिय सकारात्मक ऊर्जामा परिवर्तन गर्ने गर्छ। सकारात्मक ऊर्जाले शरीरलाई दिनको समयमा सक्रिय रहन र रातको समयमा  शरीरको ऊर्जा लाई उचित भण्डारण गर्न सहयोग गर्छ। यस समयमा मानिसमा आफू सरोकारवालाको बेवास्तामा परिरहेको जस्तो अव चेतन भावना प्रकट हुन सक्छ।

 

मध्य रात र मध्य दिनको वरपर शरीरको केन्द्रीय मेरिडियन सक्रिय रहने गर्छ। जसलाई ‘ग्लोबल’ मेरिडियन भनिन्छ। ग्लोबल मेरिडियनका बखत शरीरको सम्पूर्ण भागमा ऊर्जाको अधिकतम प्रवाह भइदिने हुँदा उक्त समयलाई आरामको लागि उपयुक्त समय मानिन्छ।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: