मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक भन्छन् शरीर मर्दैमा मानिस मर्दैन ।।

डा.नारायण घिमिरे, टोरन्टो, क्यानडा।

 

क्वान्टम सिद्धान्त अनुरूप धरै वैज्ञानिकहरू मानिसको शरीर मर्दैमा उसको चेतना मर्दैन भन्ने क्वान्टम मेटाफिजिक्सको अवधारणा अनुरुप पुष्टि भएको विश्वास गर्दछन्। क्वान्टम केमेस्ट्री र क्वान्टम मेटाफिजिक्स लाई नजिक वाट निहालेर कार्यरत रहेका वैज्ञानिकहरू त्यस मान्यता वाट एक-कदम अघि बढेर क्वान्टम सिद्धान्तले मानव चेतना मानिसको मृत्यु पश्चात् अर्को ब्रह्माण्डमा सर्छ भनेर प्रमाणित गर्ने छ भनी दाबी गरिरहेको भेटिन्छ।

 

द टाइम जस्ता विज्ञान कथा उपन्यासहरूका लागि सबैभन्दा प्रसिद्ध इङ्गल्यान्डका अङ्ग्रेजी उपन्यासकार, पत्रकार, समाज शास्त्री, र इतिहासकार एचजी वेल्सले आफ्ना लेख तथा रचनाहरूमा विमान, ट्याङ्क, अन्तरिक्ष यात्रा, परमाणु बम, स्याटलाइट टेलिभिजन, विश्वव्यापी वेबको वारेको भविष्यवाणी गरेको देख्न सकिन्छ। उनका ती उत्कृष्ट कथामा समय यात्रा (टाइम मिसिन), एलियनको आक्रमण, चन्द्रमाको उडान, देवताहरूको शक्ति, मानव कल्पना आदि बारे अर्थपूर्ण विषयहरू मानव रचित  कथाहरूको रूपमा पढ्न सकिन्छ। वेल्सको सन् १८९५ मा लेखिएको कथा “द डोर इन द वाल” मा  संसारमा त्यस्तो कुनै भौतिक नियमहरू स्थापित छैन जसले समानान्तर संसारहरूको अस्तित्वलाई सैद्धान्तिक रूपमा निषेध गर्दछ भनी उल्लेख गरेका छन्। जुन आज सम्मको यथार्थको समेत नजिक छ।

 

प्रिन्सटन विश्वविद्यालयको डा. ह्यूग एभरेटको जनवरी १९५६ को ” क्वान्टम मेकानिक्स बाइ द मेथड अफ द युनिभर्सल वेब फङ्गसन” शीर्षकको डक्टरल थेसिसमा ब्रह्माण्ड कुनै पनि क्षणमा अनगिन्ती भागहरूमा आफूलाई विभाजित गरी “नवजात” ब्रह्माण्डहरू लाई अस्तित्वमा ल्याउन सक्छ भन्ने निचोड निकालेका थिए। उनको थेसिस अनुसार उक्त प्रक्रिया वाट जन्मेको मध्ये कुनै एक संसारमा तपाईँको उपस्थित रहेको हुन सक्ने निचोड छ।

 

थेसिसका अनुसार नियमित रूपमा नव बन्ने ब्रह्माण्डहरू विभिन्न दायरा अनुरूप कुनै पनि क्षणमा पुन: विभाजन हुदै परिवर्तित हुन सक्ने हुँदा यो पनि सम्भावना हुन सक्दछ कि तपाई एउटा ब्रह्माण्डमा यो लेख पढ्दै हुनु हुन्छ र भोलि अर्को ब्रह्माण्डमा टिभी हेर्दै हुनु हुन्छ।

 

उनको सोध पत्र अनुसार हाम्रो आत्माहरू ब्रह्माण्डको सूचनाकै एक भागको रूपमा निर्मित चिज हो।  त्यो ब्रह्माण्डको  सुरुदेखिकै समय वाट अस्तित्वमा थियो र सधैँ अस्तित्वमा रहन्छ। हाम्रा मस्तिष्कहरू प्रोटो-चेतनाको (युनिभर्सल कन्ससनेस) को रिसिभरहरू र एम्पलीफायरहरू हुन्।  जुन स्पेस-टाइमको आवरण भित्रको सूचनाको सारतत्व अर्थात् निजी चेतनाको रूपमा रहेको हुन्छ। ब्रह्माण्डको सूचनाको एक अंशको रूपको तपाईँको भौतिक शरीरको अभौतिक अंशको रूपमा अस्तित्वमा रहेको तपाइको चेतना (कन्ससनेस – आत्मा) तपाइको शरीरको मृत्यु पछि पनि जीवित रहनेछ भन्ने निष्कर्ष निकालिएको छ।

 

आज जीवितै रहेका केही चर्चित र अनुभवी वैज्ञानिकहरू समेत क्वान्टम सिद्धान्तले मानिसको शरीर मर्दैमा मानिस मर्दैन, मानव चेतना वा आत्मा मानिसको मृत्यु पश्चात् अर्को ब्रह्माण्डमा समेत पुग्न सक्छ भन्ने कुरा सङ्केत गरेको दाबी गरिरहेका छन्। वैज्ञानिकहरूका यस्ता भनाइहरू सुन्दा हामीलाई भने त्यो कुरा त हाम्रो वैदिक ज्ञानको सामान्य कखरा रहेकोले कतै तिनीहरूको उक्त बिचार धारा हाम्रै वैदिक बिचारहरूको कपि एण्ड पेस्ट गरी प्रस्तुत गरिएको त हैन भन्ने भान हामीलाई पर्ने गर्दछ। यथार्थ त्यसो नभएर क्वान्टम सिद्धान्तले नयाँ शिरा वाट प्राप्त वैज्ञानिक पुष्टिको अनुभूति वाट ती वैज्ञानिकहरूका यस्ता भनाइहरू उनीहरूको अनुसन्धान, अनुभूति र बुझाइको चुरो यथार्थ वा सारतत्वको रूपमा बाहिर आएका हुन।

 

एक उदाहरणको रूपमा आज भोलि इन्टरनेटमा निकै भाइरल भइरहेको न्यु योर्क टाइम्सद्वारा गरिएको सर्वेक्षणमा जीवित  सबैभन्दा महत्त्वपूर्ण तेस्रो वैज्ञानिकको मत पाएका वैज्ञानिक डा. रोबर्ट लान्जा द्वारा लेखिएको “बायोसेन्ट्रिजम: हाउ लाइफ एन्ड कन्सियसनेस आर द कीज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स” शीर्षकको पुस्तक का दाबीहरूलाई लिन सकिन्छ। यो किताबले मानिसको शरीरको मृत्यु भएता पनि उसको चेतनाको मृत्यु नहुने तथा उक्त चेतना सधैँभरि रहन सक्ने धारणा प्रस्तुत गरेको छ।

 

एक प्रतिष्ठित जीव वैज्ञानिक तथा अग्रणी खगोलविद् डा. रोबर्ट लान्जाको दृष्टिकोणमा पश्चिमी जीवन विज्ञानले परम्परागत रूपमा दाबी गर्ने गरे जस्तो कुनै भौतिक विज्ञानको नियमहरूको आकस्मिक उप-उत्पादनको रूपमा  हाम्रो जीवन अस्तित्वमा आएको हैन।

 

लान्जा आफै रिजेनेरेटिव अर्थात् स्टिम सेल थेरापीको औषधि विज्ञ मात्र होइनन् उनी उन्नत सेल टेक्नोलोजी नामक कम्पनीको वैज्ञानिक निर्देशक समेत हुन्। स्टेम कोशिकाहरू सम्बन्धित व्यापक अनुसन्धानका अनुभवी उनी लोपोन्मुख जनावरका प्रजातिहरूको क्लोनिङ कार्य अधिक सफल प्रयोग गर्ने  जीव वैज्ञानिकको रूपमा समेत प्रसिद्ध छन्।

 

पश्चिमी भौतिक तथा जीवविज्ञानको तत्कालीन निर्णयमा भएको त्रुटि पूर्ण बुझाइको कारण त्यस्ता बिचारहरू प्रमाणित वैज्ञानिक विचारका रूपमा स्थापित  बनेको  भएता  पनि ती भ्रमहरू विज्ञानको क्वान्टम सिद्धान्तले गलत सिद्ध गरिसकेको पुष्टि गर्न लान्जा सफल भएका छन्।

 

बायोसेन्ट्रिजम विचारधाराले मानिसको अधिकार र आवश्यकताहरू अन्य जीवित चीजहरूको अधिकार र आवश्यकताहरू भन्दा अधिक महत्त्वपूर्ण हुँदैन, सबै बराबरी रहने गर्दछ भन्ने दृष्टिकोणमा विश्वास राख्दछ। बायोसेन्ट्रिजम विचारधारामा आधारित रहेर लेखिएको लान्जाको “बायोसेन्ट्रिजम: हाउ लाइफ एन्ड कन्सियसनेस आर द कीज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स” ले संसारको ध्यान तान्नु को पछाडि हिजोको विज्ञानले स्थापित गरेका कतिपय मान्यता सही नरहेको यथार्थ यसले उजागर गरिदिनु एक हो।

 

लान्जाको बायोसेन्ट्रिजम किताबमा उल्लेख भए अनुरूप जीवन र चेतना ब्रह्माण्डको आधारभूत पक्ष हुन्। चेतना भौतिक ब्रह्माण्डको सृजना गर्ने मूल तत्त्व हो। ब्रह्माण्डको संरचनाहरू हाल देखिएको रूपमा अस्तित्वमा आउनु भन्दा पहिले चेतना, त्यसपछि बौद्धिकता अर्थात् इन्टेलिजेन्स (इच्छा-शक्ति) अस्तित्वमा देखिए। चेतनाको उपयोग गर्दै बौद्धिकता अर्थात् इन्टेलिजेन्सले अनुभूति गर्न सकिने हालको ब्रह्माण्डको संरचना निर्माण गरिरहेको क्वान्टम पार्टिकल बने। तिनै क्वान्टम पार्टिकलहरूले अन्ततः भौतिक संरचना निर्माण गर्ने ईलेक्ट्रोन, प्रोट्रोन र न्युट्रोन आदि लगायतका भौतिक पदार्थहरू निर्माण गर्न भूमिका खेले।

 

बायोसेन्ट्रिजम किताब अनुसार ब्रह्माण्ड निर्माण गर्ने भौतिक पदार्थहरू भन्दा पहिले चेतना र बौद्धिकता अर्थात् इन्टेलिजेन्स अस्तित्वमा थियो। चेतना र बौद्धिकता अर्थात् इन्टेलिजेन्स नै ब्रह्माण्डको संरचना निर्माण गर्ने भौतिक पदार्थहरू निर्माण गर्ने एक कडीको रूपमा अस्तित्वमा आधार भूमिकामा देखा परे।

 

लान्जाको अनुसार तत्कालीन विज्ञानको ब्रह्माण्डको अस्तित्वमा वारेको सैद्धान्तिक विश्लेषण तथा हालको ब्रह्माण्ड विज्ञानका नियमहरू मुताबिकको आकस्मिक उप-उत्पादनको रूपमा देखा पर्‍यो भन्ने मान्यता तथा जीवको उत्पत्ति वारेको दाबी पुष्टि हुने हाल सम्म कुनै पनि वैज्ञानिक आधारहरू उपलब्ध छैन। यथार्थमा ती विचार धाराहरू कहिल्यै पुष्टि नभएका अर्धसत्यमा आधारित त्रुटि पूर्ण बुझाइको नतिजा रहेको हाल आएर क्वान्टम सिद्धान्तले पुष्टि गरिदिएको छ।

 

मानिसहरूले आफ्नो शरीरलाई नै आफ्नो पहिचानको रूपमा लिने ठुलो भ्रम बोकेको हुन्छन्। हिजो साँचो ठानिएको वैज्ञानिक अवधारणाले पहिला जीवको शरीर बन्ने र निर्मित शरीरले आफै आफ्नो चेतना उत्पन्न गर्छ भन्ने विश्वास बोक्ने गर्दथ्यो। उक्त अवधारणामा विश्वास गर्ने व्यक्ति र विज्ञान दुवैमा शरीर मर्दा चेतना पनि मर्छ भन्ने कुरा यकिन हुनु स्वाभाविक नै थियो। ढिलो वा चाँडो आफ्नो शरीर नास हुने निश्चित रहेको बुझेको मानिसले आफ्नो शरीर नास हुने क्रममा उसको चेतना पनि लोप हुने विश्वास गर्नु स्वाभाविक थियो। त्यही भ्रममा संसार आज पनि चलिरहेको छ।

 

क्वान्टम फिजिक्सको नयाँ मान्यताले विज्ञानले लामो समय सम्म स्थापित गरेको वैज्ञानिक परम्परागत मान्यता सत्यताको नजिक नरहेको खुलासा गरे सँगै हिजोको विज्ञानको शरीर मर्दा चेतना पनि मर्छ भन्ने मान्यता त्रुटि पूर्ण बुझाइको जगमा विकसित भ्रम पूर्ण विश्वास रहेको नयाँ मान्यता स्थापित गरिदिएको छ।

 

लान्जाको व्याख्या अनुसार हामीले सामान्य रुपमा बुझ्ने गरेको स्थान (लोकेसन – दिसा), आकाश (स्पेस) र समय (टाइम) कुनै निश्चित वस्तु वा चीजहरू होइनन्। तिनीहरू जीवहरूको संसार अनुभूति गर्ने उपकरणहरू हुन्।

 

जसरी एउटा कछुवाले आफू सँगै आफ्नो शरीरको खपेटा बोकेर हिँड्ने गर्दछ  त्यसरी नै खपेटा रुपी आवरणको रूपमा स्थान (लोकेसन-दिसा), आकाश (स्पेस), र समय (टाइम) हरेक जीवको जीवित अस्तित्व संग नियमित जोडिएर रहेको हुन्छ।

 

केबल बक्सले स्याटलाइटको सिग्नलहरू प्राप्त गर्ने तरिका अनुरूप शरीरले चेतना प्राप्त गर्दछ। शरीरले त्यसरी प्राप्त गरेको चेतना शरीरका इन्द्रिय हरू बाट अनुभूति गराउने मुख्य भूमिकामा स्पेस-टाइम–डिरेक्सन(लोकेसन) को भूमिका रहन्छ। जिबनको कुनै बिन्दुमा स्पेस-टाइम–डिरेक्सन(लोकेसन) को सन्तुलित त्रिकोणको संसर्ग जब जीवको शरीर संग बिच्छेद हुन पुग्दछ जीवको जीवनको सन्दर्भमा मृत्यु त्यसको परिणाम बन्दछ।

 

चेतना एक गैर-स्थानीय क्वान्टम वस्तु हो। जसरी क्वान्टम वस्तुहरू फरक फरक समयमा फरक फरक स्थानमा रहने गैर-स्थानीय चरित्रका हुन्छन् चेतना पनि त्यस्तै गैर-स्थानीय हुन्छ। केबल बक्स जस्तो भौतिक वाहनको रूपमा रहेको शरीरको मृत्युमा चेतना समाप्त हुन सम्भव छैन।

 

केवल बक्स बिग्रँदैमा स्याटलाइट बाट आउने सिग्नलहरू मरेका हुँदैनन्। मात्र ती सिग्नलहरू लाई अनुभूति गर्न सकिने सूचनामा परिवर्तन गरिदिने स्पेस-टाइम- डिरेक्सन (लोकेसन) को व्यवहार्यता र केवल बक्सको काम गर्ने सिंक्रोनाइजेसन र अनुकूलतामा असहजता निर्माण भएर  केवल बक्सको काम गर्ने क्षमता गुमेको हुन्छ। जसले गर्दा केबल बक्सले प्राप्त सूचना (चेतना) भिजुअल रिपोर्टहरूमा ट्रान्सक्राइब गर्न (सेन्सरि स्टिमुली अर्थात् संवेदी उत्तेजनाहरूमा ट्रान्सक्राइब गर्न) अक्षम बनेको हुन्छ। जसलाई जीवको तत्कालको जीवनको सन्दर्भमा जीवले मृत्यु वरण गरेको भन्ने गरिन्छ।

 

लान्जाको व्याख्या अनुसार जीवको शरीर संग इलेक्ट्रिक सप्लाई सिस्टमको प्लगको पोजेटिव, नेगेटिब र न्युट्रल चार्ज बोकेको तिन पक्षीय तार जस्तै लाग्ने स्थान (लोकेसन-डिरेक्सन), आकाश (स्पेस), र समय (टाइम)  को सन्तुलित त्रिकोण छुट्टिएर  केवल बक्स (मुढ शरीर) बिग्रँदैमा (मर्दैमा) जीवको अस्तित्व  (चेतना वा कन्ससनेस) समाप्त हुँदैन। जीवितै रहन्छ।

 

चेतना यथार्थमा स्पेस-टाइम–डिरेक्सन(लोकेसन) परिधि भन्दा बाहिर अवस्थित हुने गर्दछ। त्यो मानव शरीर भित्र वा बाहिर जहाँ पनि रहन सक्दछ। संसारमा एकै साथ विभिन्न ब्रह्माण्डहरू एकैसाथ अवस्थित  हुन सक्ने सम्भावना रहेकोले एक ब्रह्माण्डमा मृत भएको शरीरको चेतना अर्को ब्रह्माण्डमा अस्तित्वमा रहन समेत सम्भव हुन्छ। उक्त समयमा चेतनालाई अर्को ब्रह्माण्डले अवशोषित गरेको हुन्छ।

 

त्यसको मतलब के हो भने मृत शरीर छाडेको चेतना सुरुङ यात्राको क्रममा नर्क वा स्वर्गमा पुगेर सकिने, आनन्द वा दुखमा फस्ने भन्ने हुँदैन। चेतना त्यही वा फरक ब्रह्माण्डमा असीमित समय सम्म जीवित अस्तित्वमा रहन सक्दछ। सामुहिक चेतना संग अन्तर घुलित बनेर भएर सामुहिक अस्तित्वको भागको रुपमा बसिदिन पनि सक्दछ।

 

आजको समयमा पुग्दै गर्दा आत्मा लाई क्वान्टम कन्ससनेस वा चेतनाको रूपमा लिएर कुरा गर्दा कति पय सन्दर्भहरूमा मानिसहरूले अनुभूति गर्ने मृत्युको निकै नजिक पुगेको समयका अनुभवहरू, सूक्ष्म प्रक्षेपण, शरीरबाट प्राण जस्तो कुनै शक्ति शरीर बाहिर गइरहेको अनुभूति भएको भनिएका अनुभवहरू लाई मात्र सिउडो साइन्सको रूपमा सीमित गर्ने अवधारणालाई अब विज्ञानले गलत भनी नकार्न थालेको प्रस्ट हुन्छ।

 

वैदिक अवधारणाहरू, प्राय सबै धर्मका अनुयायीहरूले मान्यता राख्ने जीवन विज्ञान सम्बन्धका धार्मिक विचारधाराहरू तथा पुनर्जन्म जस्ता चीजहरूको कुनै धार्मिक संलग्नता वा झुकाव बिना क्रमशः व्याख्या गर्न सक्ने स्तरमा विज्ञानले आफ्नो क्षमता बिस्तार गर्न सकिरहेको छ। त्यस्ता पक्षहरू देखिनुको पछाडि वैज्ञानिक सिद्धान्तहरू क्रमशः स्थापित गर्दै लगेको देखिन्छ।

 

मानव चेतना कुनै बिन्दुमा मानिसको शरीरबाट बिदा लिँदै गर्दा सम्भावित रूपमा फरक मानव वा जीवको सरिरमा पुनः प्रयोग हुन सक्ने, भौतिक शरीर बाहिरको अर्को  वास्तविकताको अर्को स्तरमा रहन सक्ने, फरक ब्रह्माण्डमा पुग्न सक्ने आदि वा यसै पृथ्वीमा मात्र मानव चेतनाको रूपमा अस्तित्वमा रहन सक्ने जस्ता सम्भावनाहरू हाल गरेको सम्म स्थापित वैज्ञानिक ज्ञानको आधारमा नकार्न सकिन्न भन्ने प्रस्ट विचारधारा समेत विज्ञानले विकास गरेको छ।

[खाद्य तथा औषधि विज्ञको रूपमा क्यानडामा कार्यरत डा. नारायण घिमिरेले अथर्ववेदमा आधारित क्वान्टम मेटाफिजिक्स विधा अन्तर्गत आयुर्वेदिक द्रुत उपचार विधि विषयमा विद्यावारिधि गरेका छन्। Contact: narayanghimire@yahoo.com]
57Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: