मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खेर गइरहेछन् गन्दे र धुर्सेली जस्ता बहुमूल्य जडीबुटीहरु ।

(नारायण घिमिरे)

आयुर्वेद जीवन विज्ञान हो भने सिद्धको अर्थ जीवनको उपलब्धि भन्‍ने लाग्दछ । जुम्ल्याहा औषधि प्रणालीको रूपमा स्थापित आयुर्वेद र सिद्ध हाम्रो परम्परागत ज्ञानले स्थापना गरेको संसारकै उत्कृष्ट उपचार प्रविधि मध्येको स्वास्थ्य हेरचाहको प्रणालीमा पर्दछ । आयुर्वेद चिकित्साले जडीबुटी उपचारलाई सर्वोच्च प्राथमिकता दिन्छ भने सिद्ध चिकित्साले बोटबिरुवा र खनिजहरूको संयुक्त प्रयोगलाई । आयुर्वेद र सिद्ध दुवैको उपचारको पहिलो प्राथमिकतामा जडीबुटी र जडीबुटीमा आधारित सारतत्व पर्ने गर्दछ ।

 

अनन्त: देखि हाम्रो पुर्खाले मानिसमा नै मानिसको रोगको निवारणको लागि गरिएको प्रयोगात्मक परीक्षणको आधारमा प्राप्त गरेको ज्ञानको आधारमा विकसित भएको प्रणाली हो आयुर्वेद र सिद्ध । हाम्रा पुर्खाले आफ्नो जीवन कालको परिवर्तित समय र परिस्थिति अनुरूप प्रभावकारी देखिएको उपचार विधि समेत समावेश गरी आफूलाई आफ्नो पुर्खाबाट उपलब्ध ज्ञानको भण्डार लाई आफ्ना सन्ततिको लागि भनी प्राचीन कालमा अद्यावधिक गरे ।

 

तिनीहरूका सन्ततिले आफूले भोगेको पहिलेको भन्दा जटिल स्वस्थ समस्याको समाधानका विधि र उपाय समेत अद्यावधिक गर्दै उनीहरूले पनि आफ्नो सन्ततिको लागि पुनः आफ्नो तर्क र अनुभवको आधारमा अद्यावधिक गरिएको ज्ञानको भण्डार उपलब्ध गराउन सकुन् भनी आयुर्वेद र सिद्ध स्वास्थ्य हेरचाहको सूचना हस्तान्तरण प्रणालीको विकास हुन पुग्यो ।

 

हरेक पुस्तान्तरणको क्रममा नयाँ पुस्ताले पहिलेको पुस्ताबाट अधिक वातावरणीय दोहन गरिएको ब्रह्माण्ड प्राप्त गर्दै आउने क्रममा नयाँ पुस्ताले जति नयाँ हुँदै गयो उति गम्भीर प्रकृतिको स्वस्थ समस्या भोग्दै जाने क्रम नियमित चलिरहेको छ । यो कुरालाई हाम्रा पुर्खाले राम्रो सँग मनन गरेको देखिन्छ । तसर्थ पछिल्लो पुस्तालाई समय क्रममा हुने प्रकृति विनाश र मानवको जीवन पद्धतिको गुणस्तरमा आउने स्खलनले विकसित गर्ने नयाँ प्रकृतिको रोग र विकृति विरुद्ध लड्न समेत सहज होस् भन्‍ने नियतले प्रयोगात्मक परीक्षण मार्फत विकसित ज्ञानको भण्डार पुस्तौँ पुस्ता सम्म हस्तान्तरण गर्ने विधि वसालिएको रहेछ ।

 

यसरी प्राचीन काल देखिको तर समय र परिस्थिति अनुकूल हुने गरी नियमित रूपमा अद्यावधिक गरिएको प्रयोगात्मक परीक्षणबाट प्रमाणित उपचार विधिको पूर्ण रूपमा वैज्ञानिक दस्ताबेजको रूपमा आयुर्वेद अर्थात् जीवन विज्ञान आज तपाईँ हामीलाई उपलब्ध छ ।

 

आयुर्वेद यथार्थमा स्वस्थ जीविकाको मूल आधारको ज्ञानहरू संलग्‍न भएका प्राचीन वेदको परम्परागत ज्ञानलाई कम्पेन्डियाको रूपमा लिएर निर्मित भएका छन् । कम्तीमा ६००० वर्ष पहिले नै दस्ताबेजको रूपमा तैयार भएको प्रमाणित वेदमा स्वस्थ जीविकाको मूल आधारको सैद्धान्तिक पक्ष उल्लेखित छ भने आयुर्वेदमा स्वस्थ जीविकाको लागि जरुरी हुने खानपान, जीवन पद्धति र उपचार पद्धति बारे व्यवहारिक ज्ञान संलग्‍न छ । आज पनि संसारका लगभग ८५% जनसङ्ख्याले आफ्नो प्राथमिक स्वास्थ्य हेरचाहमा प्राकृतिक तरिकाहरू अपनाउने गर्दछन् ।

 

ती तरिकाहरूले यथार्थमा किन काम गर्दछ भन्‍ने सिद्धान्त वेदमा भेटिन्छ भने कसरी प्रभावकारी हुन्छ भन्‍ने ज्ञान आयुर्वेद र सिद्धले जनाकारी दिन्छ । औषधीय गुण भएका बोट बिरुवाहरूको प्रयोग लाई रोग हरूको उपचारको मूल आधारको रूपमा विकास गरिएको आयुर्वेदिक स्वस्थ प्रणाली जीवन लाई प्राकृतिक प्रणालीसँगको हार्मोनीमा पुर्‍याएर स्वस्थ गर्ने अचुक उपायको वातावरण मैत्री उपायहरू अवलम्बन गरिएको भेटिन्छ ।

 

हामीले समय समयमा भोग्‍ने गरेको महामारी वारेको अवधारणा आयुर्वेद र सिद्धमा राम्रोसँग परिभाषित भएको छ । महामारीमा के गर्ने के नगर्ने भन्‍ने स्थापित आयुर्वेदिक उपचार पद्धति समेत रहेको छ । आयुर्वेदका महान् चिकित्सक आचार्य चरकको (१५०० बिसी – ४०० एडि) जनपद ध्वंस शीर्षकमा महामारीको अवस्थालाई उल्लेख गरेको भेटिन्छ ।

 

एको रोगो रुजा करण सामर्त्थ्यात् इति भार्गवः । (काश्यप संहिता)

रोगत्वं एक विधं भवति रुक् सामान्यात् । (चरक सूत्र २०/३)

एकम् एव रोगानीकं दुःख सामान्यात् । (चरक विमान ६/३)

 

लगभग सबै रोगको सङ्क्रमणको समयमा हाम्रो शरीरले दिने प्रमुख अभिव्यक्तिको समान प्रकारको हुने गर्दछ । दुखाइ वा/र शोक । शोकको अभिव्यक्ति शारीरिक वा मानसिक पीडा हुने गर्दछ । शरीरले दिने अभिव्यक्तिका आधारमा सबै रोगहरू दुखाइ वा/र शोक दिने श्रेणीमा राख्न सकिन्छ । चरकको भन्दछन् सबै रोगको कारक कर्मको फल हुने गर्दछ । अर्थात् सबै प्रकारको रोगको उत्पत्तिको कारक हाम्रा पुर्खाले उनको जीवन कालमा गरेका वा हामीले आफ्नो जीवन कालमा गरेका निजी र सामूहिक कर्म वा कर्मको प्रतिफल नै हो ।

 

आचार्य चरकका अनुसार देश (स्थान) र काल (समय) अनुरूप जल (पानी) र वायु (हावा) जस्ता मानिसको जीवन पद्धतिबाट पृथक् रहन नसक्ने वातावरणीय संरचनाहरूमा हुने प्रदूषण र दोहन वा विकृतिहरू महामारी र विपत्ति सिर्जना गर्ने, सरुवा रोगहरू उत्पादन गर्ने कारक तत्त्व हुन् भनी यकिनका साथ उल्लेख गरेका छन् । आजको आधुनिक विज्ञानको तर्क समेत यो भन्दा पृथक् छैन ।

 

नेपालकै देवघाट वरपर जन्मिएका आयुर्वेदिक चिकित्साका पिता भनिने संसारकै पहिलो प्लास्टिक सर्जन आचार्य सुश्रुतले (१५०० बिसी – ४०० एडि) महामारी लाई औपसर्गिक रोग अर्थात् घातक सरुवा रोग अन्तर्गत राखी त्यस्ता रोगहरूको स्पष्ट रूपमा परिभाषित मात्रै गरेका हैनन् त्यस विरुद्ध लड्ने विधि समेत उल्लेख गरेका छन् । उनले हाम्रै गाऊ घरमा सहजै पाइने जडीबुटी र जडीबुटीमा आधारित सारतत्वको सदुपयोग मार्फत रोग र महामारीको भवितव्यमा उपचारको कायदा वारेको ज्ञान हाम्रो लागि सञ्चय गरिदिएका छन् ।

 

बेलको चोप ओखती हो । बेलको फलबाट सर्बत र विभिन्‍न परिकार बन्दछ । बेलपत्र हाम्रो पूजा आजा, काज क्रियामा चाहिन्छ । व्रतबन्ध र विवाह आदि मण्डप, जग्गियामा अनिवार्य खोजिन्छ । त्यो भन्दा बाहिर गएर हेर्ने हो भने आयुर्वेदिक ओखती बिल्वादिको मुख्य सारतत्व बेल हो ।

 

बेल्वादी चूर्ण (बिल्वादि चूर्ण) ०.२७ ग्राम बेलको गुदी र गेडा मिसाएर बनाएको पल्पको पाउडर, ०.२७ ग्राम कलिलो सिमलको जराको पाउडर, ०.२७ ग्राम अदुवाको सुठोको पाउडर, ०.२७ ग्राम सुकेको गाँजाको पातको धुलो, ०.२७ ग्राम सुकेको धयरिको फुलको पाउडर, ०.५५ ग्राम धानियो गेडाको पाउडर र १.१० ग्राम सौफको गेडाको पाउडर मिसाएर बनाइन्छ ।

 

बेलको चोपमा बायो एक्टिब पदार्थ लेक्टीन हुन्छ । लेक्टीनले सिजेल्ला ब्याक्टेरियाको विरुद्ध काम गर्दछ । सिजेला ब्याक्टेरियाले सिजेलोसिस भनिने सङ्क्रमण निम्त्याउँछ । सिजेला सङ्क्रमण भएका अधिकांश मानिसहरूलाई पखाला (कहिलेकाहीँ रगत), ज्वरो र पेट दुख्‍ने, अपच हुने हुन्छ ।

 

यो पखालाको ओखती, अपच र अमनको ओखती, ग्यास हुने रोगको ओखती र दिसामा धेरै र्‍याल हुने समस्याको ओखतीमा समेत प्रयोग हुन्छ । ओखतीको रूपमा लिनुपर्दा ३ ग्रामको एक चूर्ण बनाएर दिइने बेल्वादी चूर्ण (बिल्वादि चूर्ण) खाना खाएपछि मनतातो पानीमा दिनको एउटा खान सल्लाह दिइन्छ । बेल्वादी चूर्णमा गाँजामा हुने नसा नलाग्‍ने तत्व सिबिडीको उपस्थितिबिना बेलको चोपले आफ्नो औषधीय गुण खुलेर दिन सक्दैन ।

 

भारतमा औषधिको रूपमा गाँजाको सारतत्व राख्न पाइने हुँदा बिल्वादि चूर्ण प्रभावशाली छ । नेपाली उद्यमीले भने गाँजाको सारतत्व औषधिमा राख्न नपाउने हुँदा त्यसलाई हिङ आदिबाट प्रतिस्थापन गर्नुपर्दा उनीहरूको ओखती भारतीय जत्तिको प्रभावकारी हुन सकेको छैन । आफ्नै सरकारको नीतिबाट आफ्नै बजारमा आफ्नै उत्पादनको ओखती नबिक्ने बनाएर विदेशी ओखतीको लागि एकाधिकार बजार निर्माण गरिरहेको छ ।

 

सानोमा कसैले चित्त दुख्ने गरी हकारे भने हाम्रा कक्षाका केटा केटीहरू धुर्सेलीको पात च्यातेर आँसु पुछ्ने गर्दथे । जङ्गलको बाटो हिँडेर स्कुल जान पर्दा बिचमा पाइखाना जानु परे झाडीमा लुकेर काम फत्ते गरेपछि टट्टी पुछ्न त्यही धुर्सेलीको पातको प्रयोग हुन्थ्यो । धुर्सेलीको पात (Colebrookea oppositifolia Sm.) जडीबुटीको रूपमा पेटको परजीवी जुका चुर्ना मार्न प्रयोग हुन्छ ।

 

हाम्रा गाउँ घरमा गाइ-भैँसी र चौपायाको आँखामा फुलो पर्दा धुर्सेलीको रस हाली हाली निको पार्ने गरिन्थ्यो । आधुनिक विज्ञानले प्रशोधित धुर्सेलीको रसको सार तत्त्वबाट आँखाको पारदर्शी बाहिरी सुरक्षा झिल्ली कोर्नियल अपारदर्शिता हुने वा केराटो – कन्जन्क्टिभाइटिसको उपचारमा उपयोगमा ल्याएको छ । मोतिबिन्दुको ओखतीको रुपमा विकास गरेको छ ।

 

परम्परागत रुपमा आँखाको समस्यामा धुर्सेलीको रसको तैयार झोल छानेर प्रशोधित गरी २-३ थोपा ड्रपरको सहयोगले वा हातले आँखामा हाल्दा कोर्नियल अस्पष्टताको कारण धमिलो देखिने निको पारिन्थ्यो । उक्त झोल भाइरल वा व्यक्टेरियल सङ्क्रमण वा रोग प्रतिरोधी क्षमतामा भएको रास वा विषाक्तता वा एलर्जीले कोर्निया दुख्ने कन्जन्क्टिवाइटिसको घरेलु उपचारमा समेत प्रयोगमा आउने गर्दथ्यो ।  । लगभग २५ देखि ३० मिली लिटर जति झोल धेरैमा २-३ दिनको लागि दैनिक एक पटक खाने गर्दा पेटमा परेको जुका चुर्ना मर्दथ्यो ।

 

उहिले हाम्रो बाजेको पनि बाजेको वेलामा आफूलाई मन परेको केटीको चुल्ठोमा प्रेम पूर्वक धुर्सेलीको फुल सिउरिदिने चलन थियो रे । परम्परागत आयुर्वेदिक चिकित्सा प्रणालीले औषधीय गुणको लागि छारे रोग, पिसाबको समस्या, झाडा पखाला, पेप्टिक अल्सर र कलेजो दुख्ने रोग हेपाटाइटिसको निको गर्न धुर्सेलीको प्रयोगमा ल्याउने गर्दछ । धुर्सेलीको रस एन्टीमाइक्रोबियल एजेन्टको रूपमा समेत प्रयोग हुन्छ ।

 

धुर्सेलीको बिरुवाबाट निकालिने तेल फङ्गिटोक्सिक अर्थात् ढुसी लाई मार्ने गुणको हुन्छ । परम्परागत रूपमा घर घरमा मोर्चा (इष्ट) बनाउन धुर्सेलीको पात प्रयोग हुने गर्दथ्यो । रक्सी पार्ने इष्ट बढ्न दिने तर रक्सी बिगार्ने ब्याक्टेरिया र ढुसी उम्रन नदिने यसको गुणले उत्कृष्ट रक्सी पार्ने मोर्चा बनाउन धुर्सेलीको पातले सहयोग गर्दथ्यो । धरै जसो समयमा धुर्सेली सँगै भीमसेन पातीको पात र सेतो चितुको जरा पनि हालिन्थ्यो । फलतः त्यसरी बनेको मोर्चामा एन्टीक्यान्सर र एन्टीबायोटिक गुण युक्त समेत बन्दथ्यो । घ्याम्पोमा हालिएको जाँड उच्च गुणस्तरीय बन्दथ्यो ।

 

धुर्सेलीको बिरुवाको सबै भागहरू जस्तै जरा, डाँठ र पात समेत लाई व्यापक रूपमा छारे रोग निको गर्ने, काटेर वा अन्य कारणले रगत बगेको ठाममा रगत जमाउने, सुन्‍निएको छाला उपचार गर्ने, घाउ ड्रेसिङ गर्ने, नाकबाट रगत बगेको निको गर्ने र कलिलो पात मिचेर बनाएको लेदो घाउमा दलेर निको गर्न सकिन्छ । धुर्सेलीको तेल पातीको तेल जस्तै अत्यन्त धेरै समस्याको उपचार हुने उत्कृष्ट ओखती समेत हो ।

 

पुरानो कोभिडको भाइरसले (धेरै सर्ने डेल्टा) फोक्सोको सेलमा असर गर्थ्यो – हालको ओमिक्रोंनले फोक्सोको नली जसलाई ट्र्याकिया भनिन्छ त्यसको र्‍यालमा असर गर्छ । यो नलीमै हुर्कने बढ्ने हुँदा सामान्य रुवा खोकीको लक्षण र यसमा फरक पाउन गाह्रो हुन्छ । ओमिक्रोंन डेल्टा भन्दा ७० गुणा छिटो सन्तान वृद्धि गर्ने हुँदा र सास फेर्दा तुरुन्तै बाहिर पुग्‍ने हुँदा अति चाडै सर्दछ । तपाइलाई लागेको थाहा हुनु पहिले तपाईँबाट अर्को लाई ओमिक्रोंन सरिसकेको हुन्छ ।

 

फोक्सोको कोशिकामा डेल्टाले भन्दा १० गुणाले कम सङ्क्रमण गर्ने ओमिक्रोंन डेल्टाले भन्दा लगभग त्यस्तै अनुपातमा कम सङ्ख्याको रोगीलाई मात्रा आइसियुमा पुग्‍ने गरी सिकिस्त गरेको भेटिएको छ । ओमिक्रोन सेल भित्र नपुग्दै ट्राकियाको र्‍यालमा हुर्कने, असर देखाउने र अर्कोमा सर्ने हुँदा कतिपय कोभिडको दुवै खोप र बुस्टर समेत लिएकालाई समेत लाग्‍न सक्छ ।

 

किनकि दुवै खोप र बुस्टरले शरीरको प्लाज्मा आदिमा रहेको इम्युन सेललाई भाइरस विरोधी शक्ति उत्पन्‍न गर्न सक्षम हुने गरी तालिम दिएको भएता पनि र्‍यालमा इम्युन नहुन सक्छ । तर कोभिडको दुवै खोप र बुस्टर समेत लगाएको मानिस लाई सिकिस्त पार्न ओमिक्रोन सेल भित्र पुग्दै गर्दा मानिसमा खोपको कारण विकसित इम्युनले सिकिस्त हुनबाट रोकेको दरिलो र भरपर्दो तथ्य हामी सामु छ ।

 

हामी सबैलाई थाहा भएकै कुरा हो की कोरोना भाइरसको Coronavirus-2 (SARS-CoV-2) 3-chymotrypsin-like protease (3CLpro) नामक इन्जाइमले उक्त भाइरसको रिप्लिकेसन वा सन्तान वृद्धि गराउने गर्दछ । हालको ओमिक्रोन भाइरसको मुखवाट खाने ओखतीमा हुने प्रोटिएज इन्जाइमले ओमिक्रोन लाई विभाजन हुनबाट रोकेर ओमिक्रोन भाइरसको परिवार नियोजन गरे जस्तै गरि सन्तान वृद्धि रोकी ओमिक्रोनको सङ्क्रमणमा ओखतीको काम गर्छ ।

 

ओमिक्रोन विरुद्ध फाइजर लगायतका कम्पनीको बिक्रीको लागि स्वीकृति पाएका उल्लेखित विधि र प्रक्रियाले काम गर्ने एन्टीभाइरल पिल्स जस्तै ओखती हुने जडीबुटी को खोजी गर्ने क्रममा गन्दे झारको बोट, स्टार फ्रुटको पात, मेवाको पात, फल गेडा र गाँजाको हेम्प प्रजातिमा पाइने सिबिडिमा ओमिक्रोन कोरोना भाइरस विरुद्ध लड्न सहयोगी हुने भेटिएको छ ।

 

नेसनल इन्ष्टिच्युट अफ बायोटेक्नोलोजी मलेसियाले एक अनुशन्धान अन्तर्गत स्टार फ़्रुटको पात र नरम गन्दे झारको माटो माथिको सम्पूर्ण भागको मिथानोलिक ऐयाक्ट्रयाक अर्थात प्रोटिएज इन्जाइम सार तत्त्वको रुपमा निकाल्यो । परिक्षणमा एक हजार माइकोग्राम प्रति मिललिटर प्रोटिएज इन्जाइमले कोरोना भाइरसको इन्जाइम लाई वृद्धि हुनबाट ५० प्रतिशत रोक्ने गरिदियो ।

 

अनुसन्धानले आयुर्वेदिक जडीबुटी गन्देको झारमा हुने प्राकृतिक सारतत्व क्रोमिंन मुख्य रूपमा भाइरसको प्रोटिएज इन्जाइमलाई अवरोध गर्ने मुख्य तत्त्व रहेको यकिन गर्‍यो । पुनः गरिएको परीक्षणबाट मेवाले ३१%, स्टार फ्रुटले ६९% र गन्दे झारले ८३% Coronavirus-2 (SARS-CoV-2) 3-chymotrypsin-like protease (3CLpro) प्रतिरोधी काम गर्ने प्रमाणित गर्‍यो । उक्त परीक्षणको सम्पूर्ण विवरणको रिपोर्ट २० सेप्टेम्बर २०२१ को एल्सेविएरमा प्रकाशित गरियो ।

 

ओरेगन स्वास्थ्य र विज्ञान विश्वविद्यालयका वैज्ञानिकहरूसँगको सहकार्यमा ओरेगन राज्यको ग्लोबल हेम्प इनोभेसन सेन्टरमा गरिएको अनुसन्धानले नेपालमा समेत प्रशस्त पाइने क्यनबिस सेटिभा नामक हेम्प नामक गाँजाको प्रजातिमा प्रचुर मात्रामा हुने क्यानाबिनोइड सिबिडि क्यानाबिजिरोलिक एसिड र क्यानाबिडिओलिक एसिडले कोभिडको पुरानो र नयाँ उत्परिवर्तित भाइरसलाई समेतको शरीरको कोशिकामा छिर्नबाट रोकिदिने कुरा प्रमाणित गरिदिएको छ ।

 

जर्नल अफ नेचुरल प्रडक्टमा प्रकाशित अनुसन्धानको निचोड लाई चर्चित पत्रिका फोवसले समेत ११ जनवरी २०२२ मा छापेको छ । अनुशासनको निचोड अनुसार गाँजाको औषधीय तत्त्व सिविडि कोरोना प्रतिरोधी मात्र हैन कोभिडको सङ्क्रमण विरुद्ध लड्ने ओखतिय मूल्यको पदार्थ समेत रहेको प्रमाणित बनेको भनिएको हो ।

 

हिलोमा फुल्ने हिन्दुको देवी तथा देवताहरूको प्रिय ठानिने कमल एक महत्त्वपूर्ण र प्रसिद्ध औषधीय बिरुवा हो । कमलको सार तत्त्व लाई आयुर्वेद र सिद्ध प्रणालीमा मधुमेह, पिडा तथा दर्द, कलेजो सम्बन्धी, पिसाब सम्बन्धी, महिनावारी हुने क्रममा सात दिन भन्दा धेरै रगत बग्‍ने, गोनोरिया (यौन रोग) आदि रोगकोको उपचारमा प्रयोग हुन्छ । यसलाई कामोत्तेजना दिलाउने भियग्राको रूपमा तथा तीतो स्वादको टनिकको रूपमा समेत प्रयोग गरिन्छ ।

 

परम्परागत रूपमा औषधीय उपचार र टनिकको रूपमा प्रयोग हुने कमलको बिरुवा आधुनिक विज्ञानको अनुसन्धानको प्रयोगात्मक अवलोकनले यसका सार तत्त्वहरू कलेजोलाई बिग्रनबाट जोगाउने (हेपाटोप्रोटेक्टिभ), शरीर दुखेको निको गर्ने (एन्टि-इन्फ्लेमेटरी) र मधुमेहको ओखती (एन्टि-डायबेटिक) रहने निश्चित गरिदिएको छ ।

 

वेदान्तमा उल्लेख गरिएको र परम्परागत रूपमा कमलको फूल मधुमेहको ओखती हुने (एन्टिडायबेटिक) दाबी लाई आधुनिक विज्ञानले कमलको फूलहरू बाट सार तत्त्वको रूपमा निकालिएको स्टेरोइडहरू (Nymphayol) मधुमेहको उपचारमा प्रयोग गरी निको गराएर वैज्ञानिक रूपमा सही रहेको साबित गरेको छ ।

 

परीक्षणबाट उक्त स्टेरोइडहरूले इन्डोक्राइन ग्रन्थीको क्षति ग्रस्त तन्तु लाई पुनर्निर्माण गरी इन्सुलिन उत्पादन गर्न नसक्ने अवस्थामा पुगेका बिटा-कोषहरू लाई इन्सुलिन उत्पादन गर्न उत्तेजित गरी नियमित इन्सुलिनको उत्पादन गर्न सक्ने बनाएर मधुमेहको स्थिति लाई उल्टाइदिने र बिरामीलाई ठिक पारेर देखाउन सफल भएको छ ।

 

मधुमेह एक पटक लागे पछि निको गर्न सकिन्‍न र जिन्दगी भर ओखती खानुपर्छ भन्‍ने आधुनिक विज्ञानको मान्यतालाई आयुर्वेदिक प्रकृतिको कमलको सारतत्व निम्फायोल जस्ता ओखतीले गलत साबित गरिदिन सफल बनेका छन् । आधुनिक विज्ञानको मान्यता विपरीत आयुर्वेदिक ओखतीको चामत्कारिक कामले संसारको ध्यान खिच्न सकेकाले सके सम्म सम्पूर्ण ओखती नै प्राकृतिक ओखतीबाट प्रतिस्थापन गर्ने तर्फ आधुनिक औषधि विज्ञान समेत हाल प्रयासरत बनेको छ ।

 

आयुर्वेदिक औषधिहरू अशोकारिष्ट, अरविन्दासव, उसिरासव, चन्दनासव, कल्याणक घृत, समंगडी चूर्ण, कनक तेल, जत्याडी तेल, तुङ्गद्रुमाडी तेल, मञ्जेसथडी तेल, कन्दनदी लौह, र त्रिफला घृत आदिमा हाल पनि कमलको सार तत्त्व हालिएको छ ।

 

श्रीलङ्कामा कमलको बिरुवाको गाना राम्रो स्टार्चको श्रोत भएकोले उसिनेर, पोलेर वा भुटेर खाने गरिन्छ । यसको फल, पात, जरा, फूल, कन्दमूल र बीउ सबै खानको रूपमा प्रयोग हुन्छ । तरकारी बनाएर पनि खाने चलन छ । फुल भने सुकाएर चिया जस्तै वा त्यसलाई धुलो पारी चूर्ण बनाएर औषधिको रूपमा ग्रहण गरिन्छ ।

 

हाम्रा पुर्खाले उनको जीवन कालमा गरेका केही सामान्य प्राकृतिक दोहन र हामीले आधुनिक हुने सपनामा आफ्नो जीवन कालमा गरेका निजी र सामूहिक रूपको प्राकृतिक विनाश, वातावरण र पर्यावरण माथि गरिएका अनैतिक कार्य वा अधर्मको प्रतिफलमा हामीले आज महामारी भोगी रहेका छौ । आज हामी महामारीबाट उम्कने पथउन्मुख समेत बनिरहेका छौँ । यति हुँदै गर्दा के हामी यो घटनाबट पाठ सिकेर मुलुकका लागि कुनै उत्तम कार्य गर्दै छौ त ? हामीले भोगेको रोग र महामारी हाम्रो पुस्ताले भोग्‍नु नपरोस् भनी वातावरणीय सुरक्षा र आफ्नै जडीबुटी मार्फत सम्भव हुने उपचारको कायदाको सदुपयोग तर्फ लाग्‍न सकेका छौ ।

 

हाम्रा गाउँ घर बन पखेरामा हुने माथि उल्लेखित जडीबुटीहरू त मात्र हाम्रा प्रतिनिधि मुलुक उदाहरणहरू हुन् । हामीसँग त्यस्ता लगभग तिन हजार उच्च मूल्यका यस्तै उच्च व्यवहारिक महत्त्वका जडीबुटी हाल सम्म पहिचान बनेको अवस्था छ । रुन आउँदा आँसु पुछ्न र टट्टी आउँदा आची पुछ्नबाहेक अन्य प्रयोजनमा हाम्रा यी बहुमूल्य खजानाहरू हामीले उपयोग गर्न नसकिने स्थितिमै के आज हाम्रो मुलुक पुगिसकेको हो र ?

(घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् )।

|इकागज  माघ २५, २०७८ वाट साभार|

5Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: