मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्विज्ञान: वात दोष

आयुर्विज्ञान: क्वान्टम आयुर्वेद

मोनो-भौतिक वात दोष

नारायण घिमिरे

आकाश तत्त्व र बायु तत्त्वको सङ्कुचन भई निर्मित गुणको प्रभावका कारण उत्पन्न हुने कार्य पद्धतिले वात दोषको निर्माण गर्दछ। आकाश तत्त्वको चिसोपन/सर्दी, हल्कापन, सुख्खा पन, बायु तत्त्वको उतार चढाव पन, गतिशीलता, आकार विहीनता र पारदर्शीपन वात दोषका प्रकृति हुन। वात दोषको कुरा गर्दा वात दोषको कारण शरीरको तन्तुहरुमा (धातु) पैदा हुने रोगको बारेमा ध्यान दिने गरिन्छ।

 

अधिक रूपमा आकाश र बायु तत्त्वको संयोजन बाट बनेको शरीर दुब्लो, पातलो र हल्का प्रकृतिको हुने गर्दछ। मनोवैज्ञानिक रूपमा भने सन्तुलित रहदा उत्सुक, उत्पादन मूलक, तीक्ष्ण र प्रतिक्रियात्मक रहन्छ। असन्तुलनको बेला अधिक-चाहत युक्त, चिन्तित, दोधारे र असुरक्षित महसुस गर्ने बानीको हुन्छ।

 

 

वात दोष अन्तर्गत विभिन्न प्रकारका महत्त्व पूर्ण गतिबिधिहरु पर्दछ। जस्तै उत्सुकता (उत्साह), श्वास-प्रश्वास जसमा हुने श्वास लिने (उच्चाश्वा),  श्वास फाल्ने (निश्वास), गतिशीलता (सिस्टा), सामान्य मेटाबोलिक रियाक्सन (समधातुगति) र काम नलाग्ने पदार्थहरूको दिशा, पिसाब, पसिना आदिको उपयुक्त विसर्जन (सम मोक्ष) आदि पर्दछ।

 

मानिसमा नित्य रूपमा पैदा हुने इच्छा र नित्य कार्य जुन दबाउनु शरीरको लागि हानिकारक ठानिन्छ ती सबै वात अन्तर्गत पर्दछ। जस्तै पाद, डकार, दिशा गर्ने मन, पिसाब गर्ने मन, हाच्यु आउने, तिर्खा, भोक, निन्द्रा, खोकी, थकेलाग्दा फेरिने लामो लामो श्वास, हाइ आउने, आशु आउने, बान्ता हुने, स्वप्न दोष हुने आदि। वात दोषले मानिसमा हुने यस्ता प्राकृतिक इच्छा र नियमित आफै पैदा हुने गतिबिधिहरुको व्यवस्थापन गर्दछ।

 

वात दोष लाई गहिरिएर बुझ्न यसलाई  महत्त्व पूर्ण पाँच सहायक दोषहरूमा विभक्त गरी हेर्न सकिन्छ। जस्तै दोषको शरीर भित्रको बहाव वा प्रवाह लाई प्राण वायु भनिन्छ। जसमा  श्वास लिने, हेर्ने, सुन्ने, वासना लिने, स्वाद लिने, स्पर्श महसुस गर्ने आदि पर्दछ।

 

प्राण वायुले शरीरमा निश्चित अनुभव र भावना आदिको ग्रहण गर्न सहयोग गरिरहेको हुन्छ। प्राण वायुको शरीर भित्रको बहावले मानिसमा उत्साह, चाहना, श्वास प्रश्वास, शरीर र दिमाग बिचको समन्वय, बोलीचाली, दिशा पिसाबको इच्छा जगाउन, दिशा पिसाब गर्न, तन्तुहरूको (धातुहरू) सामान्य सञ्चालन गर्न र सम्पूर्ण इन्द्रियहरूको कार्य सम्पन्न गर्न जिम्मेवार रहन्छ। इन्द्रियहरू मार्फत जस्तै स्पर्श वाट, सुनेर, देखेर, गन्ध र वासनाका कारण, स्वादका कारण दिमागमा विचारहरू पैदा गर्न समेत  प्राण वायु जिम्मेवार रहन्छ।

 

श्वास लिने प्रक्रियामा हावा भित्र र तल जाने क्रममा फोक्सोको सबै भाग भरिने गर्दछ (पुराण)। जसका कारणले फोक्सोको एलभिओलाइमा अक्सिजनको आपूर्ति हुन्छ। त्यो अक्सिजन नै अन्ततः कोसीकामा अक्सिजन उपलब्ध गराई एडिपि लाई एटिपिमा परिवर्तन गर्ने सेलुलर श्वास-प्रश्वासमा सहयोग पुर्याउछ। शरीरको लागि जरुरत हुने शक्ति सञ्चय गर्ने एटिपि बन्दै गर्दा कार्बनडाईअक्साईड र पानी सह-उत्पादनको रूपमा निस्कन्छ। एटिपि शरीरको कोशीकाहरुलाई नियमित सञ्चालन गर्न जरुरी हुने शक्तिको श्रोत हो।

 

वात दोषको शरीर भित्र वाट माथि र बाहिर तर्फको बहाव वा प्रवाह लाई उदान वायु भनिन्छ। श्वास फाल्ने प्रक्रिया प्रमुख मानिने उदान वायुलाई सबै वायु मद्धे उत्तम वायु मानिन्छ। स्वर, बोली, गीत आदि समेत उदान वायुले निर्माण गर्दछ। मानिसको घाटी र टाउकोको रोगहरू प्राय: उदान वायु सँग सम्बन्धित रहन्छ। बोली, उत्सुकता र तागतलाई उदान वायुको उपहार मानिन्छ। विभिन्न अनुभूति, सोचाइ, दिमागमा सञ्चित स्मृति आदिका आधारमा हुने अनुभव र महसुसको संयोजन मार्फत विभिन्न सोचाई र बिचारहरूको उत्पादन गर्ने काम समेत  उदान वायुले गर्दछ।

 

दोषको शरीर भित्र समानान्तर वा लिनियर रूपमा हुने बहाव वा प्रवाह लाई समाना वायु भनिन्छ। आमाशय र आन्द्रा भित्र हुने हावाको रेखीय प्रवाह लाई मुलत समाना वायु मानिन्छ। आमाशयमा हुने पाचन जुस र इन्जाइम (जसलाई डाईजेष्टिब फाएर अथवा पाचन अग्नि भनिन्छ) जस्तै हाइड्रो-क्लोरिक एसिड, पेप्सिन, रेनिन आदि सँग मिलेर समाना वायुले खाना पचाउन सहयोग गर्दछ। समाना वायुले डाईजेष्टिब फायर (जसलाइ जथारअग्नि समेत भनिन्छ) चालु गर्न आगो बाल्दा पङ्खाले छिटो छिटो बाल्न सहयोग गरे जस्तो उत्प्रेरित गर्ने गर्दछ।

 

समाना बायुकै कारण आमाशय र आन्द्राको खुम्चने र फुक्ने प्रवृत्ति (जसलाई पेरेस्टीलाइसिस मुभमेन्ट भनिन्छ) सम्भव बन्दछ। उक्त खुम्चने र फुक्ने गतिविधिका कारण खानको पचेको सार तत्त्व खानको नपचेको भाग वाट  छुट्टाउने, खानामा हुने मुख्य तत्त्व (सार तत्त्व) शरीरको तन्तुहरू (धातुहरू) सँग मिलाउन सहयोग पुग्दछ। नपचेको शरीरलाई उपयोग नहुने फोहर तत्त्व (जसलाई कित्ता वा माला) दिशाको रूपमा छुट्टाउन र गुदद्वार तर्फ धकेल्न समेत  समाना वायु कै भूमिका रहन्छ।

 

वात दोषको शरीर भित्र वाट तल र बाहिर तर्फको बहाव वा प्रवाह लाई अपना वायु भनिन्छ। संस्कृतमा अप शब्द अधः शब्द वाट आएको हो। जसको अर्थ तल्लो भन्ने लाग्दछ। अपना वायु आन्द्राको हकमा आन्द्राको तल्लो भागमा सक्रिय रहेर दिशालाई तल लैजाने र बाहिर फाल्न सहयोग गर्ने हो। अपना वायुले पिसाब बाहिर फाल्न, वीर्य, राजस्वकला हुँदाको रगत र योनिरसहरु समेत बाहिर फाल्ने काम गर्दछ। जन्मने क्रममा गर्भाशयमा गर्वलाई तल लैजाने र जन्म दिने काममा समेत अपना वायुले मद्दत पुर्याउदछ।

 

कुनै निश्चित प्रकृतिको गतिमा शरीर भर सञ्चार हुने व्याना वायुले पाचन प्रक्रिया बाट प्राप्त लिम्फ र इमलसीफाईड फ्याट रहेको खानाको सार तत्त्व शरीरभर पुर्‍याउने कार्य गर्दछ। रक्त सञ्चार प्रक्रिया पुरागर्न रगतलाई मुटु बाहिर शरीर भर पुर्याउन व्याना वायुले भूमिका खेल्छ। व्याना वायुका विभिन्न प्रकारका प्रवाह / गतिबिधिहरु रहन्छन। जस्तै मुटुको धड्कन (खुम्चने र फुक्ने गतिविधि) शरीर भर रक्त सञ्चारको लागि जरुरी छ। माम्शपेशीहरुको गतिशीलता, आँखाको परेला झिम्कने, आँखाको नानीको गतिशीलता आदि व्याना वायुका कारण सम्भव बन्ने गर्दछ। शरीरमा पसिना निकाल्ने काम समेत व्याना वायुको हो।

 

समग्र मानव शरीर जम्मा जम्मी सात धातुहरू वा तन्तुहरू वाट बनेको हुन्छ। दोषहरूको मानव शरीरमा हुने भूमिका बारे गहिरिएर बुझ्न दोषहरूले  धातु / तन्तु प्रणालीमा पुर्‍याउने प्रभाव बारे गहिरो जानकारी राख्न जरुरी हुन्छ। वात दोषको प्रभाव सुरुमा ठुलो आन्द्रा वाट प्रारम्भ हुने देखिन्छ। पित्त सानो आन्द्रा वाट सुरु हुने गर्दछ। कफ भने आमाशय वाट प्रारम्भ हुन्छ।

 

मानिसको वरिपरिको वातावरण, खाना, जीवन पद्दति वा भोक आदिका कारण ठुलो आन्द्रामा जब सुक्खा पन, हल्कापन, चिसोपन, गतिशीलता वा पारदर्शिता जस्ता गुणहरू थुप्रिन पुग्दछ त्यहाँ समस्या उत्पन्न हुन्छ। जस्तै चिसोको वृद्धिले गोटा पर्ने वा कब्जियत हुने हुनसक्छ। चिसो सँगै सुक्खापन समेत मिसिन पुग्दा शरीरको तल्लो भागमा दुख्न सुरु गर्दछ। जब कब्जियतको सुरुवात हुन्छ वात गतिशील प्रकृतिको हुने हुँदा यो सजिलै रस धातुमा फैलिन थाल्छ। रस धातुमा प्लाज्मा र लिम्फ तन्तु पर्दछ।

 

हाम्रो शरीर भित्र जसरी आमाशयमा रहेको अग्निले बाहिर वाट आएको हानिकारक जीवाणुहरू लाई नष्ट गर्दछ, त्यस्तै रस धातुले समेत हानिकारक जीवाणुहरू लाई नष्ट गर्ने काम गर्दछ। रस धातुमा रहेको अग्निले तन्तुहरू बिच सन्तुलन कायम गर्ने र रोग प्रतिरोधी क्षमता बढाउने गर्दछन्।

 

रस धातुको वरिपरि फैलिएको वात दोष आफ्नो पारदर्शी गुणका कारण प्लाज्मा र लिम्फ भित्र छिर्न सफल बन्दछ। वात दोषको आफ्नै हल्का पन र सुक्खा पनको गुण हुने गर्दछ। जसका कारण रस प्लाज्मा र लिम्फ भित्र छिरेको वात दोषले प्लाज्मामा पानीको कमी वा डिहाईड्रेसन निम्ताउँछ।

 

पानी गुमाएर प्लाज्माको आयतन घट्न पुग्छ। जसको कारण रगतको आयतन/ मात्रा घट्न जाने, हाइपर-टेन्सनको विकास हुने, मुटुको धड्कन बढाउने र अक्सिजन आपूर्तिमा अवरोध पैदा गराउँदछ । अर्को तर्फ प्लाज्माको डिहाइड्रेसनले छाला सुख्खा गर्ने हुँदा सुख्खा, खस्रो, कत्ला वा स्केल युक्त छालाको विकास गरिदिन्छ। बच्चालाई दूध खुवाउने आममा दूध घटाउने काम गर्दछ। रजस्वला हुने महिलामा रजस्वला हुँदा रगत बाक्लो गरी समस्यामा पारिदिन्छ। रगतमा अक्सिजनको कमीले एनिमिया समेत देखिन सक्दछ।

 

सुक्खा, चिसोपन, गतिशील चरित्र र पारदर्शी बनावटको वात दोष प्लाज्मा सँगै रगतमा समेत प्रवेश गर्न सक्दछ। जसका कारण मानिसमा चिसो रगतको सञ्चार हुने, हात चिसो हुने, पैताला चिसोहुने हुन सक्दछ। गतिशील वात दोष रगत सँगै मुटुमा प्रवेश गर्ने हुँदा मुटुको मुख्य रगत पम्प गर्ने च्यामबर लेफ्ट भेनट्रीकलको सुन्निने सम्म हुन सक्दछ। त्यति बेला मुटुको धड्कन बढेको महसुस हुने गर्दछ।

 

गतिशील वात दोष जब मांस धातुमा प्रवेश गर्दछ यसले मासु बाउँडिने, काँप्ने, फरफराउने गर्दछ। यसको सुक्खा प्रवृत्तिले मेद वा बोसो भित्र सुख्खा गरी यसलाई कडा पार्ने, यसको चिप्लोपन घटाएर लुब्रीकेसन नष्ट पारिदिने र दुवै मासु र चिल्लोपन घटाई दिएर मानिसलाई दुब्लो बनाइ दिन्छ।तरल पदार्थको लुब्रीकेसन पन घट्न जाँदा अस्थि वा हड्डी चर्कने, बाहिर निस्कने र कतिपय अवस्थामा स्थान परिवर्तन समेत हुने गर्दछ।

 

वात दोष मज्जा धातु वा स्नायु तन्तुमा प्रवेश गर्दा यसको गतिशील र पारदर्शी गुनका कारण मासुको तन्तु लाटो (नमः) हुने, स्नायु सञ्चार मा ट्राफिक जाम भएजस्तो इरिटेसन हुने, झर्को लाग्ने, के के दुखेजस्तो महसुस हुने, स्नायु बिग्रँदा महसुस हुने भित्री स्नायु प्रणालीको लाइनिङ्गमा पोले जस्तो दर्द हुने आदि गर्दछ।

 

जसमा मुख्यतय अनुहारको स्पर्श महसुस गर्ने ट्राइजेमिनल नर्भमा दर्द हुने गरेको भेटिन्छ। महिला र पुरुषको प्रजनन अङ्गहरू जस्तै पुरुष प्रजनन अङ्ग शुक्र र महिला प्रजनन अङ्ग अर्थवा मा यसले पुरुषमा नपुंसकता र महिलामा रजस्वला घटाउने, अण्डकोष पैदा गर्न समस्या गर्ने, सुख्खा पनले गर्दा योनि रस र पुरुष वीर्य रस समेत घटाउन भूमिका खेल्छ।

 

छाला सुक्खा र खस्रो प्रकृतिको हुने हुँदा छिटै चाउरी पर्ने, धेरै सुख्खा पनका कारण छाला सजिलै चिरा पर्ने हुन्छ। कपाल घुम्रिएर स्पन्ज जस्तो लाग्ने तर सुख्खा हुने, बतास र चिसो हावाले ओठहरू सुक्खा र खस्रो पारिदिने हुँदा छिटै फुट्ने गर्दछ। गुदद्वारको म्युकोसल भाग खस्रो हुन गई चर्कने, फिस्टुला / घाऊ बढ्ने आदि हुन्छ। आँखा प्राय: सानो गाठिको यता उता हेरि रहने चञ्चल हुन्छ। अनुहार पनि कमै सलक्क परेको हुने गर्दछ।

 

अद्भुत चेतनाको स्तर विकास हुन सक्ने सम्भावना बोकेको वात गुणको मानिसहरू ऊर्जावान्, गतिशील र तुरुन्तै परिवर्तन हुने रज गुण युक्त भेटिन्छन। यो गुणले गर्दा जब सन्तुलित हुन्छ यसले मनमा शान्ति र शीतलता प्रधान गर्ने हुँदा आनन्द पैदा गरिदिन्छ। असन्तुलनको बेला भने चिन्ता, डर, बेचैनी, दुबिधा आदि पैदा गरिदिने हुँदा दर्दयुक्त अवस्थाको पैदा गरिदिन्छ।

 

चिसोपन/सर्दी, सुख्खा पन, उतार चढाव पन, गतिशीलता आदि गुणका कारण पाचन प्रक्रियामा गडबडी भई राख्ने, कब्जियत हुने, पेट काट्ने, सुल उठ्ने, पाद आउने आदि हुन्छ। शरीर लाई चिसोले छिटै समात्ने, हड्डीका जोर्नीहरू दुख्ने, सुन्निने, चर्कने, ओस्टियोपोरोसिस हुने आदि देखिन सक्छ।

 

कान झ्याउ झ्याउ गर्ने, झनझनाउने, टाउको हल्का हुने, चक्कर लाग्ने, बेहोस होला जस्तो लाग्ने, शरीरको तौल घट्ने, शरीर पातलो र लच्याक्क लुचुक हुने खालको देखिने, सानो सानो कुराले पनि ध्यान खिच्ने, दिमाग चनाखो हुने जसले गर्दा सजिलै निन्द्रा नपर्ने आदि हुनसक्छ। यसले चिन्ता बढाउने, डर पैदा गर्ने, आफूलाई असुरक्षित महसुस गराउने गर्दछ। चकचके बानी हुने हुँदा वात दोषको मानिसमा मासु काँप्ने, बाउँडिने, काम्ने आदि समस्या हुनसक्छ।

 

वात प्रकारको विकृतिमा गरिने उपचार पद्धतिमा शरीर लाई चिसो वाट बचाउन  तातो न्यानो राख्ने, सुख्खा खस्रोपन बाट मुक्त गर्न  चिल्लो रसिलो बनाउने र हल्का तौलको उपचारको लागि खाना मार्फत तौल बढाउन शरीरमा पोषण तत्त्व बढाउने उपाय अपनाइन्छ। जस्तै शरीर तातो न्यानो राख्नको लागि दालचिनी (सिन्कौली), अलैँची, सुकुमेल, अदुवा, मरीच, तोरीको गेडा आदि जस्ता मसलाहरू सेवनमा जोड दिइन्छ। शरीर लाई चिल्लो रसिलो बनाउन घिउ खान र तेल आदिको नियमित मालिस गर्न सल्लाह दिइन्छ। तौल वृद्धिको लागि बटर वा घिउ दलेको रोटी, घिउ हालेको बासमतीको चामलको भात, खिर, जाइफल हालेको दूध आदि खाने सल्लाह दिइन्छ।

 

(खाद्य तथा औषधि विज्ञ)

28Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: