मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेदको विज्ञता भित्र छिरेको आधुनिक विज्ञानको सहारा वेद नै हुने !!

वेदमा रहेछ

सिमुलेशन हाइपोथेसिस।

दुर्लभ उपलब्ध सूचनाहरूको अभिलेख।

अथर्ववेदाचार्य नारायण घिमिरे।

 

विज्ञानको आधारमा अन्वेषण मार्फत  हाम्रो ब्रह्माण्ड लाई गहिरिएर बुझ्ने प्रयास गर्दै गर्दा हालका विज्ञानका लगभग सबै प्रयासहरूले अन्वेषक र वैज्ञानिकहरूलाई प्रविधि (टेक्नोलोजी) र दर्शनको दोबाटोमा लगेर उभाइदिने गरेको छ। यौटा यस्तो दोबाटो जहाँ एकतातर्फ वाट उन्नत भनिएका सैद्धान्तिक भौतिकीका पक्षको बाटो अर्को तर्फ वाट आएको गहिरो मेटाफिजिकल जिज्ञासा युक्त बाटाहरू संग मिलेर एकल बाटो निर्माण गरिदिएको हुन्छ।

 

व्यवहारिक प्रकृतिको उच्च वैज्ञानिक अनुसन्धानको चरणमा काम गरिरहेका हरेक वैज्ञानिकले अनिवार्य रूपमा साक्षात्कार गर्ने त्यो दोबाटोको विन्दुमा पुग्दै गर्दा उ आफै संग उसको आफ्नै मनको गहिरो प्रश्न ठोकिन आउँछ। के हामी वास्तव मै सिमुलेशनमा त बाँचिरहेका छैनौ ? अर्थात् हामी वास्तविक यथार्थता भन्दा फरक चिजलाई यथार्थ मानी सोही भ्रममा त बाँची रहेका छैनौ?

 

विज्ञानमा सिमुलेशन मोडेलहरूको प्रयोग गरि वास्तविक विश्व प्रक्रियाहरू वा प्रणालीहरूको सञ्चालनको विधिको नक्कल गरिन्छ। तिनीहरु कसरी सञ्चालन भइरहेको छ भनी व्याख्या वा प्रस्तुत गर्ने कोसिस गरिन्छ। सिमुलेशन हाइपोथिसिस आफैमा एउटा यस्तो अवधारणा हो जसले वैज्ञानिक र दार्शनिक दुवै पक्षलाई समान रूपान्तरण गरी कुनै वस्तु, प्रक्रिया वा प्रणालीको वास्तविकता बारे प्रस्टता थप्न एक कृत्रिम भौतिक वा डिजिटल निर्माण सम्भव पार्दछ।

 

उन्नत डिजिटल सिमुलेशन जुन यथार्थमा प्राप्ति भइसकेको छैन तर प्राप्ति हुँदाको समयमा त्यसको मोडल वा प्रकृति कस्तो हुनेछ भन्ने एक कृत्रिम भौतिक वा डिजिटल अवधारणा प्रस्तुत गर्नु, कतिपय सन्दर्भमा प्रोटोटाइप बनाउनु, भर्चुयल रियालिटी आदिमा सिमुलेशन मोडेलहरू उपयोग हुन सक्दछ।

 

सिमुलेटेड रियालिटीको एकरूप रहेको भर्चुअल रियालिटी (VR) अन्तर्गत भर्चुअल वास्तविकतामा एक सिमुलेटेड वातावरण सिर्जना गर्न कम्प्युटर टेक्नोलोजीको प्रयोग गरिन्छ। सिमुलेटेड रियालिटीको कम्प्युटर टेक्नोलोजीले प्रयोगकर्ताको संवेदी अङ्ग (Sensory Organ) सित अन्तरक्रिया गरी भर्चुअल रूपमा डिजाइन गरिएको अनुभव, अनुभूति, भावना र चेतनाहरू उपलब्ध गराउने गर्दछ।

 

संसारका वास्तविक वातावरणका पक्षहरूको अनुभूति दिलाउन वा पूर्णतया काल्पनिक संसारहरू सिर्जना गर्न डिजाइन गरी इच्छाइएको अनुभूति दिने नियतले सिमुलेटेड वातावरण पैदा गर्न प्रयोगकर्ताहरूलाई विशेष भर्चुअल रियालिटी उपकरणहरू जस्तै: हेडसेट र गति नियन्त्रकहरू आदि उपलब्ध गराइने गरिन्छ।

 

भर्चुअल रियालिटीको अनुभवमा व्यक्तिहरूले कम्प्युटरले उत्पन्न गरेको वातावरणमा डुबेको महसुस गर्न सक्छन्।  जसमा दृश्य, श्रवण, र कहिलेकाहीँ स्पर्शात्मक संवेदनाहरू पनि समावेश गरिएको हुन्छ। मूलतः मनोरञ्जन, शिक्षा, प्रशिक्षण वा अन्य उद्देश्यका लागि सिर्जना गरिएको भर्चुअल रियालिटी नियत बस डिजाइन गरिएको नियन्त्रित सिमुलेशन विधि हुने गर्दछ।

 

विज्ञानमा अत्यन्त धेरै प्रयोग हुने डिजिटल सिमुलेशनमा प्रकृतिका चाख लाग्दा सिमुलेटेड प्रोटोटाइप वा अवधारणाहरूको विकास गर्ने गरिन्छ। जसको आधार वा जराको रूपमा निश्चित वैज्ञानिक दर्शन वा सैद्धान्तिक आदर्श रहने गर्दछ। त्यस्ता वैज्ञानिक हाइपोथेसिसहरुले परिकल्पना गरेको सिमुलेटेड वातावरणको प्राप्ति आधुनिक वैज्ञानिक खोजहरूमा आधारित उन्नत प्रविधिको उपयोग मार्फत सम्भव तुल्याइने नीति अवलम्बन गरिन्छ।

 

डिजिटल सिमुलेशनको क्रममा विकास गरिने वैज्ञानिक हाइपोथेसिसहरुले गरेका परिकल्पनाहरूको ठोस वैज्ञानिक आधारमा पुष्टि गर्न सकिन्छ भन्ने निश्चित नरहेता पनि सिमुलेशनको प्रयोजनको लागि परिकल्पना गरिने मोडेलहरू वैज्ञानिक रूपमा अधिक प्रशंसनीय हुने गर्दछन्।

 

यथार्थमा आज हामी निकै फरक प्रकृतिको वैज्ञानिक दुनियाँमा रहेका छौ। जहाँ  विशेष गरी एलोन मस्क जस्ता विज्ञानका ज्ञाता, सफल अन्वेषक तथा इनोभेटरको रूपमा अत्यन्त उच्च-प्रोफाइलमा रहेका प्रसिद्ध व्यक्तिहरू लगायतका केही मानिसहरूले हाम्रो दैनिक वास्तविकता “साँचो” वास्तविकता हुने सम्भावना धेरै उच्च देखिँदैन भन्ने विचारहरू फरक फरक सन्दर्भमा पटक पटक दोहराई रहेको भेटिने गर्दछ। हामीले हाम्रो आधारभूत वास्तविकताको भनि विश्वास गरिरहेको वैज्ञानिक वास्तविकताहरू समेत “साँचो” वास्तविकता हुने सम्भावना एकदम कम रहेको भन्ने जस्ता विचारहरू स्थापित सफल वैज्ञानिकहरू वाट नियमित खुलासा हुने गरेको भेटिन्छ।

 

कम्प्युटरको कोडिङ विकास गर्ने क्रममा सैद्धान्तिक भौतिक शास्त्री डा. जेम्स गेट्सले सुपरसिमेट्रीको समीकरणको विशेष कोडहरू बनाउन सफल वने। यी कोडहरू कम्प्युटर प्रणाली मार्फत हुने सूचना सम्प्रेषणको क्रममा हुने त्रुटिहरू सच्याउने कोडहरू रहेकाले कम्प्युटर प्रणालीहरू मार्फत प्राप्त हुने सूचना प्रणालीको विश्वसनीयतामा सुदृढ गरी कम्प्युटर लाई राम्रोसँग काम गर्न यसले सक्षम बनायो।

 

उक्त कोडहरूको विकास गरिसके पछि डा. जेम्स गेट्सले निकै गहकिलो भनाइ बाहिर ल्याए। जसमा उनले उल्लेख गरे कि हाम्रो ब्रह्माण्डको आधारभूत संरचनाले काम गर्ने समीकरणहरू अर्थात् तरिकाहरू लाई वर्णन गर्ने अनौठा ‘कम्प्युटर कोडहरू’ फेला परेका छन्। यो एउटा यस्तो खोज हो जसले मलाई हरेक कुराको यथार्थ वास्तविकता बारे प्रश्न गर्न बाध्य तुल्याएको छ। किनकि यसले एउटा यस्तो संसारको रहस्य उजागर गरेको छ जहाँ जीवविज्ञान, भौतिक विज्ञान, गणित र सूचना सिद्धान्तहरू एकै विन्दुमा मिलन हुन्छ। जुन मैले यो भन्दा पहिले कहिल्यै कल्पना समेत गर्न सकेको थिइनँ।

 

डा. जेम्स गेट्सको यो भनाइले ब्रह्माण्डमा लुकेको कोड रहन्छन् भन्ने धारणा तर्फ सङ्केत गर्दछ। यसले मानिसहरूलाई हामीले देखिरहेको हाम्रो ब्रह्माण्ड समेत एक सिमुलेशन ब्रह्माण्ड हुने अधिक सम्भावना रहेको बारेमा सचेत हुन र त्यस दिसामा आफ्नो अनुसन्धान र अन्वेषण गर्न समेत गर्न अन्य वैज्ञानिकहरूलाई प्रेरित गरेको छ।

 

आज विशेष गरी भर्चुअल वास्तविकता र कृत्रिम बुद्धिमत्ताले हामीले सोचे भन्दा र वैज्ञानिकहरूले यकिन गरे भन्दा पनि अत्यन्त तीव्र गतिमा प्रगति गरिरहेको छ। यो परिपेक्षमा भविष्यमा विज्ञानले विकास गर्ने सिमुलेशनहरू वास्तविकताको यति नजिक हुने छन् कि तिनीहरू वास्तवमै वास्तविक हुन् वा सिमुलेटेड हुन् भनेर वैज्ञानिक आफैले बताउन सक्षम हुने छैनौँ भन्ने कुरामा निकै ठुलो वैज्ञानिक समुदायले विश्वास गर्दछ।

 

विज्ञानको धर्म अनुरूप वैज्ञानिक विधिले विचारहरू प्रमाणित हुनको लागि पहिलो सर्तको रूपमा तिनीहरू विज्ञानको परीक्षणको खुबीको दायरा भित्र  परीक्षणयोग्य हुन आवश्यक पर्दछ। त्यसो हुन नसक्दा तिनीहरू सत्य छन् वा छैनन् भनी विज्ञानको विश्वास योग्य परीक्षण विधि वाट प्रमाणित भएको मानिँदैन। जस्तै: आइन्स्टाइनले दाबी गरेका आज सम्म पनि विज्ञानको परीक्षणको खुबीको दायरा भित्रको विश्वास योग्य वैज्ञानिक परीक्षण विधिवाट प्रमाणित हुन नसकेको प्रकाशको गति वारेको तथ्य।

 

विज्ञानको विश्वास योग्य परीक्षण विधि वाट प्रमाणित हुन नसकेको विषयहरूलाई विज्ञान वाट सत्य रहेको वा नरहेको भनी प्रमाणित नभएका सिद्धान्तको रूपमा लिँदै वैज्ञानिक रूपमा साबित हुन नसकेको सिद्धान्त वा अवधारणा वा हाइपोथेसिस वा कन्भेन्सन अन्तर्गत उल्लेखित गरिन्छ।

 

विज्ञानमा एउटा भनाइ छ “ब्रेन इन ए भ्याट”। “ब्रेन इन ए भ्याट” अन्तर्गत तपाईँलाई कुनै वैज्ञानिक ल्याबमा कुनै सम्भाव्यता बारे कल्पना गर्न भनिन्छ। उक्त समयमा तपाईँको  मस्तिष्क विशेष प्रकारको कम्प्युटर प्रोग्राममा जोडिएको हुन्छ। जसले बाहिरी संसारका सम्पूर्ण अनुभवहरूलाई पूर्ण रूपमा अनुकरण (सिमुलेशन) गर्न सक्छ।

 

उपलब्ध सिमुलेशटेड वातावरण भित्र छिरे पछि तपाईँलाई जुन सम्भाव्यता बारे कल्पना गर्न भनिएको हो त्यो यथार्थमा नै सम्भव बनिरहेको तपाइले अनुभूति गर्न थाल्नु हुन्छ। उक्त सिमुलेशटेड वातावरणको कम्प्युटर प्रोग्रामले तपाईँको दिमागलाई नै ह्याक गरी वास्तवमै तपाईँको कल्पना यथार्थमा परिणत भइरहेको अनुभूति तपाईँलाई गराई दिन्छ।

 

वैज्ञानिक क्षेत्रमा अत्यन्त ठुलो प्रशंसा पाएको यस प्रकारको अनुभूति निर्माण गर्ने  सिमुलेशन हाइपोथेसिसले आजको तत्कालीन समयमा विज्ञान कै निकै ठुलो चुनौतीको सामना गर्दै अघि बढिरहेको छ। किनभने यो “ब्रेन इन ए भ्याट” विचारको अर्को आकर्षक संस्करण बनिदिएको छ।

 

पुरानो वैदिक दर्शनका कतिपय सूचनाहरू जुन आजसम्म पनि विज्ञानको परीक्षण क्षमता बाहिर रहेकोले प्रमाणित हुन नसकेको तर मानिसले अनुभूति गर्न सक्ने भए जस्तै सिमुलेशन हाइपोथेसिस विज्ञानको परीक्षण क्षमता बाहिरको विषय बनिदिएकोले उक्त परिकल्पनालाई परीक्षण गर्ने कुनै वास्तविक प्रमाण वा तरिका नभएकोले त्यो अनुमानको श्रेणीमा मात्र रहन पुगेको छ।

 

सिमुलेशन विधिलाई मानिसले प्रस्ट संग अनुभूति गर्न सक्ने भएकोले वैज्ञानिक क्षेत्रमा विज्ञानले प्रमाणित गरेको होस् वा नहोस् त्यसको बेवास्ता गर्दै वैज्ञानिक समुदायकै अत्यन्त ठुलो प्रशंसा प्राप्त गरी त्यसका नियमित सुधारका कामहरू तीव्र गतिमा अघि बढिरहेको छ। सिमुलेशन प्रविधिले आश्चर्यजनक प्रगति समेत गरिरहेको छ।

 

स्विडिस दार्शनिक तथा अक्सफोर्ड विश्वविद्यालयको फ्यूचर अफ ह्युमनिटी इन्स्टिच्युटका संस्थापक निर्देशक  निक बोस्ट्रम उनको अस्तित्वको जोखिम, मानव शास्त्रीय सिद्धान्त, मानव  नैतिकता वृद्धि, सम्पूर्ण मस्तिष्कको अनुकरण वा सिमुलेसन, सुपरइन्टेलिजेन्सका जोखिम तथा रिभर्सल परीक्षण जस्ता अत्यन्त गहिरा विषयको सन्दर्भमा उनले गरेको काम र उपलब्धिका कारण विश्वभरका वैज्ञानिक समुदायहरू बिच चर्चित र परिचित छन्।

 

निक बोस्ट्रमले अनुमान गरे अनुसार आजको सिमुलेशनको ट्रेन्डको सङ्केत अनुरूप भोलिको उन्नत समाजले अत्यन्त धेरै सिमुलेशनहरू सिर्जना गर्नसक्ने सम्भावना प्रबल छ। यदि त्यो सम्भव भयो भने त्यहाँ व्यक्तिहरूका वास्तविक दिमागको तुलनामा अत्यधिक धेरै सिमुलेटेड दिमागहरू अस्तित्वमा रहने छन्। त्यसो हुँदै गर्दा सांख्यिकीय रूपमा (Statistically) हामी आफै आफ्नो वास्तविक दिमागी रूपमा रहन सम्भव हुने छैन। आफ्नै दिमाग र सिमुलेशन दिमाग मिली बनेको सम्पूर्ण दिमागी परिवेश भित्रको सानो, सीमित तर अर्थपूर्ण अंश मात्र रहेको दिमागधारी मूलतः सिमुलेटेड दिमाग वा बौद्धिकताले भरिएको मानिसको हैसियतमै हामी आफै परिवर्तित हुन जाने सम्भावना यसले थप गरिदिएको छ।

 

निक बोस्ट्रमको शब्दमा भन्दा भोलिका मानिसहरूले (पोस्टह्युमनस) यदि आफ्नो विकासको इतिहासका आफ्नै प्राकृतिक बौद्धिकता (Intellect) र अनुभूति (Cognition) प्रक्रियाहरु महत्त्वपूर्ण सङ्ख्यामा समावेश गरी भविष्यका सिमुलेशनहरूको विकास गर्न सकेनन् भने सम्भवतः हामी सिमुलेटेड बौद्धिकता युक्त दिमागी वातावरणमा बाँचिरहेको प्राणीमा सीमित हुने छौ।

 

क्वान्टम मेकानिक्समा भइरहेको अन्वेषणहरूले हामीलाई एउटा यस्तो संसार देखाइसकेको छ जहाँ आपसमा इनट्याङ्गल रहेका कणहरू अत्यन्त लामो असीमित दूरीहरूमा रहेर पनि आपसमा अल्झेर वा कुनै सम्पर्क मध्यम विना नै जोडिएर रहने सुपरपोजिसनमा रहन सक्दछ।

 

ब्रह्माण्डका कणहरू अवलोकन कर्ताको उपस्थितिमा मात्र कणको रूप देखाउने तर अवलोकन कर्ता अनुपस्थित रहँदा तिनीहरू वेब वा तरङ्गको रूपमा रहने जस्ता क्वान्टम विषमता र जटिल अन्तरसम्बन्धका वैज्ञानिक गुणहरू सामान्य विज्ञानका म्याक्रोस्कोपिक ज्ञान, सुझाव र मान्यता आदि भन्दा पृथक् रहेको खुलासा भएको छ। उल्लेखित नयाँ वैज्ञानिक तथ्यहरूले चेतना के हो? यथार्थमा वास्तविकता के हो? भन्ने जस्ता गहन प्रश्नहरू हाम्रो दिमागमा जन्माई दिने गर्दछ।

 

आणविक विखण्डनको आधारभूत सिद्धान्तहरूको व्याख्या गर्न निल्स बोहर सँग क्वान्टम मेकानिक्समा काम गरेका अमेरिकन फिजिसिष्ट जोन आर्किबाल्ड व्हीलर बिसौँ शताब्दीको चर्चित सैद्धान्तिक भौतिक शास्त्रीको रूपमा रिलेटीभिटी (सामान्य सापेक्षता), गुरुत्वाकर्षण आदि क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति हुन्। व्हीलर ब्ल्याक होल र खगोलीय घटनाहरूको अध्ययनमा समेत अत्यन्त अग्रणी  मानिन्थे।

 

जोन आर्किबाल्ड व्हीलरको अवधारणा अनुरूप ब्रह्माण्ड निर्माणको सबैभन्दा आधारभूत मुख्य निर्माण ब्लक (Sbstratum) कुनै पदार्थ र ऊर्जा जस्ता चीजहरू नभएर सूचनाहरू (Informations) हुन।

 

व्हीलरको सोच अनुरूप हाम्रो वरिपरि हामीले देख्ने प्रकृतिका सबै चीजहरू त्यसमा मूलतः ब्रह्माण्डका प्राकृतिक चीजहरू र ती चीजहरूले आपसमा कसरी काम गर्दछ भन्ने प्राकृतिक नियमहरू सबै तिनै सूचनाहरू (Informations) निर्मित छन्।

 

सूचनाहरू निर्मित प्राकृतिक ती चीजहरू र प्राकृतिक नियमका सिद्धान्तहरू आपसमा संयोजित भएर आधारभूत कम्प्यूटेशनल सब्सट्रेट निर्माणगरी ब्रह्माण्डका चीजहरूमा भौतिक गुणहरूको निर्माण गर्दछ। जसले गर्दा सम्पूर्ण ब्रह्माण्डले एक विशाल कम्प्युटरको जस्तै काम गर्दछ। ब्रह्माण्डमा हामीले अवलोकन गर्ने चीजहरू, घटना र परिघटनाहरू त्यहाँ रहेका सूचनाहरूको प्रशोधनको उपजको परिणाम हुने गर्दछ।

 

ब्रह्माण्ड एक विशाल कम्प्युटर सिमुलेशन जस्तै हुन सक्ने सम्भावना अधिक रहेको डिजिटल फिजिक्सको यो तर्कहरूले सिमुलेशन परिकल्पनाको तैयार गर्ने निक बोस्ट्रम जस्ता दार्शनिकहरू गहिरो रूपमा प्रभावित बने पछि यो तर्क डिजिटल फिजिक्सको विशेष मान्यताको पक्षको रूपमा सबैको ध्यान खिच्न सफल लोकप्रिय विचारको रूपमा स्थापित बन्न पुग्यो।

 

प्रमाणित गर्ने विज्ञानको क्षमताको अभावमा आज सम्म पनि प्रमाणित वैज्ञानिक तरिकावाट प्रमाणित भई नसकेको व्हीलरको यो विचार हाल अत्यन्त चाख लाग्दो अप्रमाणित हाइपोथेसीसको रूपमा सूचीकृत रहेको छ।

 

व्हीलरको अवधारणा अनुरुप यदि सम्पूर्ण ब्रह्माण्डले उल्लेखित कम्प्युटेसनको सिद्धान्तहरूमा आधारित रहेर एक विशाल कम्प्युटर जस्तै काम गर्दछ भने कम्प्युटेसनको क्षेत्रमा एल्गोरिदमहरू मार्फत लेख्न सकिने विशेष नियमका निर्देशन लेख्ने विधिहरू पछ्याएर भौतिक ब्रह्माण्ड (वास्तविक ब्रह्माण्ड) र सिमुलेट गरिएको क्षेत्र (बनाइएको ब्रह्माण्ड) बिचमा हाल देखिएको भिन्नता निकै हदसम्म हटाउन सम्भव हुन गइ दुवै बिच सहज सहकार्य हुने बिन्दु प्राप्त गर्न सम्भव हुन सक्दछ। त्यसो हुन सक्दा कम्प्युटर सिमुलेशनले (बनाइएको ब्रह्माण्ड) काम गर्ने तरिका वास्तविक ब्रह्माण्डले कार्य गर्ने तरिका जस्तै हुन सक्दछ।

 

तपाईँलाई तल उल्लेखित वेद वारेको सूचना पड्दा आश्चर्य लाग्न सक्दछ। किनकि यो संसारको सृष्टि बारे वैदिक विज्ञान अन्तर्गत निकै धेरै समय खर्च गरिएको छ। त्यसको चुरो कुराहरू निकालेर बुझ्दा तपाइले माथि लेखिएका विज्ञानका  डिजिटल सिमुलेशन र कम्प्युटेसनको सिद्धान्तहरू वारेका विवरणहरू  वेदका सूचना हरुको सार पढिरहेको अनुभूति हुन सक्दछ। जस्तै:  ऋग्वेदको  नासदीय सूक्तमा १०:१२९ मा उल्लेख भएका ब्रह्माण्ड र ब्रह्माण्डको उत्पत्ति बारे चर्चामा माथिका कतिपय कुराहरूको उल्लेख छ। उक्त सूक्तका ७ मन्त्रहरूको संक्षिप्त व्याख्या एक पटक यहाँ हेरौँ। 

 

नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत् ।

किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ॥ १॥

 

यो संसारको उत्पत्ति हुनुभन्दा पहिले न केही न कसैको अस्तित्व थियो। न केही, न कसैको अनस्तित्व नै थियो। शून्य (Nothings) बाट यो संसारको सुरु भएको हो। संसारको सुरुवातमा न आकाश, न हावा, न त्यो भन्दा परका अन्य केही कुरा हरू नै थिए। सर्वत्र सागरजस्तै गहिरो र गम्भीर अन्धकार बाहेक केही थिएन।

 

 

न मृत्युरासीदमृतं न तर्हि न रात्र्या अह्न आसीत्प्रकेतः ।

आनीदवातं स्वधया तदेकं तस्माद्धान्यन्न परः किञ्चनास ॥२॥

 

त्यस बेला न त मृत्यु थियो। न अमरता नै थियो। न त अनादि पदार्थमा (पृथ्वी तत्त्व) जीवन थियो। न अमर मानिसहरू (स्वर्गमा रहने भनी व्याख्या गरिने)  नै थिए। त्यो बेला न त दिन थियो। न त रात । त्यहाँ  मात्र एउटा शाश्वत पदार्थ  (जसलाई प्रकृति भनिन्छ) थियो। जसको न कुनै आरम्भ वा प्रारम्भको विन्दु थियो। त्यो सदैव नियमित चल्दै आएको छ।

 

तम आसीत्तमसा गूहळमग्रे प्रकेतं सलिलं सर्वाऽइदम् ।

तुच्छ्येनाभ्वपिहितं यदासीत्तपसस्तन्महिनाजायतैकम् ॥३॥

 

 

 

प्रारम्भमा घना अन्धकार गुणी अँध्यारोले लपेटेको पानी जस्तै अनन्त पदार्थको (तम गुणी Dark Matters)  कुनै रूप थिएन। आफ्नो स्वरूप (शाश्वत सत्य रूप) परिवर्तन नगरी आफ्नो गुणमा परिवर्तन गर्न सक्ने शाश्वत पदार्थ (प्रकृति) थियो। सृष्टिकर्ताको रूपमा रहेको उक्त अनन्त अखण्ड शाश्वत पदार्थको तपस्याले (अव्यक्तको व्यक्त हुने प्राकृतिक आत्मा बल) सृष्टिको आधारभूत मुख्य निर्माण ब्लक (Substratum) अर्थात् सृष्टि निर्माणको सबैभन्दा सूक्ष्म कण तत्त्व ब्रह्माण्ड चेतनाको (परम आत्मा / परमात्मा अर्थात् युनिभर्सल कन्ससनेस) उत्पत्ति (प्रकट) भयो।

 

कामस्तदग्रे समवर्तताधि मनसो रेतः प्रथमं यदासीत् ।

सतो बन्धुमसति निरविन्दन्हृदि प्रतीष्या कवयो मनीषा ॥४॥

 

सृष्टिकर्तामा सर्वप्रथम ब्रह्माण्ड सिर्जना गर्ने  इच्छा शक्ति (चाहना / विचार / भावना / इरादा) देखियो। जुन सृष्टिको पहिलो बीज (ब्रह्माण्डीय आत्मबल वा पुरुष) थियो। जसको कारण सृष्टिकर्ताको अव्यक्त अस्तित्व र व्यक्त अस्तित्व बिचको खाडल पूर्ति गर्ने चाहना पुरा भयो। अव्यक्त अस्तित्व व्यक्त अस्तित्वमा प्रकट हुन् सम्भव बन्यो।

 

(नोट: वैदिक अवधारणामा प्रकृतिले आधारभूत ब्रह्माण्ड सामग्रीहरू लाई जनाउने गर्दछ। जुन जुन तम गुणी अन्धकार हो। सृष्टि कर्ता हो। सम्पूर्ण व्यक्त, अव्यक्त  निर्माण ब्लक (Substratum) तथा सबै सजीव र निर्जीव चिजहरूको मुख्य उत्पत्तिको श्रोत हो। पुरुषले सम्पूर्ण व्यक्त,अव्यक्त तथा सबै सजीव र निर्जीव  चिजहरूको जीवन र वास्तविकता लाई नियन्त्रण गर्ने ब्रह्माण्ड चेतनाको (ब्रह्माण्ड आत्मा वा परमात्मा) रुपी ऊर्जालाई जनाउँछ। ब्रह्माण्डीय अस्तित्वमा रहने पुरुष समेत प्रकृति जस्तै समय र स्थान दायरा भन्दा बाहिर गुणको रूपमा रहन्छ। प्रकृति निर्मित पुरुष सँग मिलेर प्रकृतिले आफ्नो अव्यक्तता लाई व्यक्त गर्ने इच्छा अनुरूप व्यक्त संसारको सृष्टि गर्दछ।)

 

तिरश्चीनो विततो रश्मिरेषामधः स्विदासीदुपरि स्विदासीत् ।

रेतोधा आसन्महिमान आसन्त्स्वधा अवस्तात्प्रयतिः परस्तात् ॥५॥

अव्यक्त प्रकृतिको व्यक्त रूपमा प्रकट हुने इच्छाले (ब्रह्माण्ड चेतना वा ब्रह्माण्डको आत्मा वा परमात्मा) शाश्वत पदार्थ (प्रकृति) र पुरुष निर्मित सृष्टिको आरम्भ गर्ने बीजको भूमिका खेल्यो। जसले गर्दा प्रकृति गुण र पुरुष गुण संयोजित भएर प्राकृतिक नियमको सिद्धान्त र सृष्टि निर्माणको सूचनाको (ब्रह्माण्डीय आधारभूत कम्प्यूटेशनल सब्सट्रेट) गुण निर्माण सम्भव बन्यो। अव्यक्तता व्यक्त गर्ने क्षमता बोकेको उक्त आधारभूत ब्रह्माण्डीय सूचना सञ्जालको  ब्रह्माण्डीय बुद्धिमत्ता बाट सूर्यको किरण आदि लगायतका ऊर्जाका लहरहरू सर्वत्र प्रकट हुन् सम्भव बन्यो।यसरी प्रकृति र पुरुष निर्मित अ व्यक्तता व्यक्त भएर सृष्टिको आरम्भ हुने कार्य सम्भव हुन गयो।

 

को अद्धा वेद क इह प्र वोचत्कुत आजाता कुत इयं विसृष्टिः ।

अर्वाग्देवा अस्य विसर्जनेनाथा को वेद यत आबभूव ॥६॥

 

आजको वर्तमानमा यो विविध प्रकारको सृष्टिको उत्पत्ति कहिले र कसरी भयो भन्ने यकिनका साथ सम्पूर्ण सत्यता ठ्याक्कै मिल्ने गरी कसैले पनि भन्न असम्भव प्राय छ। किनकि विद्वानहरू आफैँ संसारको सृष्टि पछि संसारमा आएका हुन्। तसर्थ सृष्टि हुनुभन्दा पहिले के थियो र सृष्टिको कारण यकिनका साथ यही थियो भनेर अहिले कसैले दाबी त गर्न सक्लान् तर त्यो वर्णन यथार्थ वास्तविकता भएको निश्चय हुन सक्दैन।

 

इयं विसृष्टिर्यत आबभूव यदि वा दधे यदि वा न ।

यो अस्याध्यक्षः परमे व्योमन्त्सो अङ्ग वेद यदि वा न वेद ॥७॥

 

त्यसैले हे सम्पूर्ण विद्वानहरू हो, सृष्टिको स्रोत के हो? यसको निर्माता को हो? ब्रह्माण्डको नियन्त्रक (प्रमुख शक्ति वा देवता) को हुनु हुन्छ, उहाँ  कहाँ  के गर्दै हुनुहुन्छ जस्ता कुराहरू तपाइले पहिचान गर्ने कोसिस गर्नुहोस्। तपाईँले तपाइको आफ्नै चेतनाको सहयोगले यसलाई पहिचान गर्न सक्नु भएन भने अरूले तपाईँलाई वहाँसँग कसरी परिचित गराउन सक्छ र?

 

हाम्रो लागी अत्यन्त चाखलाग्दो पक्ष के छ भने उल्लेखित बाहेकका अन्य धेरै सन्दर्भहरूमा समेत जब हामी वेद तथा वेदमा आधारित कथाहरूमा उल्लेख भएका विभिन्न दर्शन, ऋचा, भजन, कविता, सङ्गीत आदिमा रहेको वैज्ञानिक दृष्टिकोण बारे गहिरिएर अनुभूति गर्ने प्रयास गर्दछौ तब हामीले त्यहाँ आधुनिक सैद्धान्तिक भौतिकी तथा सिमुलेशन वारेका परिकल्पनाहरूको प्रस्ट सङ्केत रहेको, हालको आधुनिक विज्ञानका चिन्तनहरूको समकक्षी चिन्तनहरू समेत प्रस्तुत भएको भेटिन्छ।

 

वेद तथा वेदमा आधारित कथाहरूमा हाम्रो अगाडी देखिने वास्तविकताहरूका विभिन्न स्तर र तहहरूसँग तुलना गरिएको छ। हामीले देखिरहेको संसार वास्तविक संसार  हो वा त्यो एक सिमुलेशन हो (लामो सपना) हो ? के हामी सिमुलेशन (लामो सपना ठानिने जाग्रत् अवस्था) लाई जीवनको वास्तविकता मानी बाँची रहेका त छैनौ ? हामीले देखेको संसार वा वास्तविकता यथार्थ नरहेर सिमुलेशन (लामो सपना) त होइन ? सिमुलेशन (लामो सपना) हुने सम्भावना कस्तो छ भन्ने जस्ता क्षेत्रको आधुनिक विज्ञानको सांसारिक वास्तविकता र  सिमुलेशन विषयमा भई रहेका खोजी उन्मुख दर्शन, हाइपोथेसिस र डिजिटल सिमुलेशन कार्यमा हुँदै गरेका चर्चाहरूको समानान्तर चित्रणहरू समेत वेद तथा वेदमा आधारित कथाहरूमा भेटिने गर्दछ।

 

त्यसको केही पक्ष बुझ्न अथर्ववेदीय माण्डूक्योपनिषदमा उल्लेख भएको हाम्रो चेतनाले कसरी काम गर्छ भन्ने कुराको संक्षिप्त व्याख्या एक पटक हेरौँ।

 

ओमित्येतदक्षरमिदं सर्वं तस्योपव्याख्यानं भूतं भवद्‌भविष्यदिति सर्वमोङ्कार एव।

यच्चान्यत्‌त्रिकालातीतं तदप्योङ्कार एव ॥ माण्डूक्योपनिषद १॥

 

व्यक्त अव्यक्त अविनाशी ब्रह्माण्डलाई समग्रमा ॐ शब्दले व्यक्त गर्दछ। भूत, वर्तमान र भविष्यमा जे थियो, जे छ, जे हुनेछ तथा भूत, वर्तमान र भविष्यमा विभक्त भएको समयको सीमाभन्दा बाहिर रहेको सम्पूर्ण अस्तित्व समेतको समग्रतालाई  सङ्केत गर्ने शब्द ॐ हो।

 

[नोट: यी पङ्क्तिहरूले आदिम ध्वनिको रूपमा ॐ रहेको अवधारणा दिएको छ। ॐ ध्वनि वास्तवमै अस्तित्वमा समेत रहेको छ। ॐ ध्वनिले  समग्रताको प्रतिबिम्बित गर्ने अवधारणा यहाँ प्रस्तुत छ। ॐ ध्वनिले  ब्रह्माण्डमा अन्तर्निहित एकल वास्तविकतालाई सङ्केत गर्ने कुरा समेत प्रस्ट गरिएको छ। जसलाई सिमुलेशनको आधारभूत कोड सँग तुलना गर्न सकिन्। सिमुलेशनको आधारभूत कोडहरू प्रयोग गरी विज्ञानमा सीमित डिजिटल सिमुलेशन सम्भव बनिरहेको हालको परिप्रेक्ष्यमा ॐ ध्वनिले सङ्केत गरेको आधारभूत कोडहरू विकास गर्न सक्दा हाल विज्ञानले गर्न सकेको सीमित डिजिटल सिमुलेशनलाइ प्रकृतिको वास्तविक यथार्थ नजिकको हदको सम्पूर्ण अनुभवहरू उत्पन्न गर्न सक्ने डिजिटल सिमुलेशन सम्भव रहने हाइपोथेसिस माण्डूक्योपनिषद-१ मा रहेको देखिन्छ।]

 

सर्वं ह्येतद्ब्रह्मायमात्मा ब्रह्म सोऽयमात्मा चतुष्पात् ॥ माण्डूक्योपनिषद २ ॥

 

सम्पूर्ण ब्रह्माण्ड एक अनन्त-ब्रह्म हो। आत्मा ब्रह्म हो। आत्मा चतुष्पति (चार पक्षको) छ। यसको भावार्थ हुन्छ: ब्रह्माण्ड शाश्वत ब्रह्म हो। स्वयम् सनातन हो। आत्मा ब्रह्म सर्वत्र रहने ब्रह्म सत्य र पूर्ण वास्तविकता हो। आत्मा स्वयम् पनि ब्रह्म हो। परम यथार्थ हो। आत्मा र आत्मा ब्रह्म सबैको चार पक्षहरू छन् । जस द्वारा आत्मा र आत्मा ब्रह्म सञ्चालित हुन्छन्।

 

[नोट: माण्डूक्योपनिषदको दोस्रो मन्त्रले आत्मालाई चतुष्पति वा चार चौथाइ पदको रूपमा वर्णन गर्दछ। पहिलो तीन चौथाइलाई जागृत, स्वप्न र सुषुप्ति (गहिरो निद्रामा पुगेको र सपना समेत नदेखेको) तीन अवस्थाहरूको रूपमा परिचित गराउने गर्दछ। जसलाई क्रमशः विश्व, तैजस र प्रज्ञा अवस्था भनिएको छ। विश्व, तैजस र प्रज्ञा तीन अवस्थालाई पार गर्ने (Transcends) चौथो अवस्थालाई तुरिया अवस्था भनिएको छ। तुरियाको अर्थ चतुर्थ अर्थात् चौथो भन्ने लाग्दछ।

 

तुरिया अवस्था आत्मा वा चेतनाको वास्तविक प्रकृति हो। आत्मा वा चेतनाको वास्तविक प्रकृति तुरिया अवस्था जागृत, सपना र सुषुप्तिको अवस्थाहरूमा संलग्न हुने विविध प्रकृतिका लगावहरूले (Attachments – एट्याचमेन्टहरू) पैदा गर्ने सीमितताहरूको कारण दर्द युक्त (सफर गर्नु पर्ने – Suffering) अवस्थामा पुग्दछ। जीवन दर्द युक्त (सफरिङ्गका विषय वस्तुहरू थोपरिदिने) पारिदिने एट्याचमेन्टको पक्षहरू वाट आत्मालाई मुक्त गर्न सक्दा मात्र परम आनन्द वा आत्माको तुरिया अवस्था प्राप्त गरी जीवनमा मुक्ति प्राप्त गर्न सकिन्छ।]

 

जागरितस्थानो बहिःप्रज्ञः सप्ताङ्ग एकोनविंशतिमुखः स्थूलभुग्वैश्वानरः प्रथमः पादः ॥ माण्डूक्योपनिषद ३ ॥

 

पहिलो पक्ष वैश्वानर अर्थात् संसार-पुरुष भनिने जाग्रत् अवस्था हो। जुन बाह्य जगतको बारे जानकारी राख्दछ। त्यसको लागि ऊसँग सात अङ्गहरू र उन्नाइस उपायहरू (ढोका) छन्। त्यसले स्थूल वस्तुको (भौतिक संसार) भोग गर्दछ। भौतिक संसारको भोगको अनुभूति र आनन्द लिन्छ।

 

[व्याख्या: जब आत्माले जागृत अवस्थाको अनुभव गर्छ र स्थूल अर्थात् देखिने बाह्य वस्तुहरूमा आफूलाई जोड्दछ तव त्यसलाई वैश्वानर भनिन्छ। वैश्वानर शब्द अर्थ “त्यो प्राणी हो जसले जागृत संसारको अनुभव गर्छ र सबैले अनुभव गरेको समानतामा भाग लिन्छ” भन्ने लाग्दछ। वैश्वानर शब्द मानव अवतारमा मात्र सीमित नभई संसारलाई कुनै पनि अर्थमा देख्ने सबै मूर्त प्राणीहरूका लागि प्रयोग गरिन्छ। वैश्वानरले व्यक्तिलाई सम्पूर्ण विश्व वा जागृत अवस्थाको ब्रह्माण्डको अनुभव गराउन नेतृत्व दिन्छ। किनभने यो अवस्थामा आत्माले आफैँलाई गलत पहिचान गरी जागृत वस्तुहरूसँग गहिरो लगाव (Attachment – एट्याचमेन्ट) गाँस्न पुग्दछ। त्यस्तो परिस्थितिले आत्मालाई पूर्ण रूपमा बाह्यता तर्फ वा सांसारिक वस्तुहरूमा उन्मुख पारिदिन्छ। भौतिक जीवन, विज्ञानमा र अविद्यामा रमाउने गर्दछ। आत्माले आफूलाई थाहा पाउने अवसर गुमाउँछ। भौतिक जीवन, विज्ञानमा र अविद्याको क्षेत्र वाट अघि बढेर आत्मा ज्ञान र विद्याको क्षेत्रमा आफूलाई पुर्‍याउन मेसो पाउँदैन।  यसलाई उपनिषदिक मन्त्र ३ ले बहिष्प्रज्ञाको रूपमा वर्णन गरेको छ। जसको अर्थ यो बाह्य वस्तुहरूसँग बाँधिएको छ। आत्माको संसारसँगको यो सम्पूर्ण लगाव युक्त सम्बन्धले बन्धन निम्त्याउने गर्दछ।  देखेको र अनुभव र अनुभूति गरेको चीजहरू लाई आत्माले गलत रूपमा बुझेर तिनै संग बलिष्ठ रूपमा बाँधिएको देखिन्छ। यद्यपि आत्माले ती बस्तुहरूलाई गरेको पहिचान वास्तविक नरहेर अल्पकालीन तर अनिवार्य भ्रम वा मायावी खेल हुने गर्दछ। स्वयं वारेको ज्ञानको अभाव वा आत्म अज्ञानताको कारणले वैश्वानर अवस्थामा आत्मा आफैँलाई बाह्य वस्तुहरूसँग पहिचान, गर्ने, तिनै संग भुतुक्कै हुने गरी  आफ्नो लगाव (Obsession) विकास गरी आफ्नो जीवनकाल व्यतीत गर्न पुग्दछ।]

 

[वैश्वानरका स्थूल वस्तु अनुभूति गर्ने उन्नाइस वटा उपायहरू (मार्गहरू) रहेको भनिन्छ।  त्यसमा पर्ने पाँच ज्ञानेन्द्रियहरूमा (बुद्धि इन्द्रियहरू) नाक, कान, जिब्रो, आँखा, छाला; पाँच कर्मेन्द्रियमा मुख (वाणी), हात (ग्रहण), गोडा (गति), गुदद्वार (उत्सर्जन) र उपस्थ (गुह्यद्वारा – उत्पत्ति) पर्दछ। त्यस्तै  पाँच श्वास अन्तर्गत  बाहिर फालिएको श्वास (प्राण), भित्र लिइने आगमन श्वास (अपान), वितरणात्मक श्वास (व्यान), तरल पदार्थमा घुलिएर फैलिने श्वास (उदान) र डकार आदि जस्ता स्वतन्त्र शरीर वाट बाहिरिने वायु (समान) पर्दछ। अन्त करणमा  समावेश हुने मन (Mind), बुद्धि (Brain i.e., Intellect), अहङ्कार (Ego) र चित्त (स्मरण, स्मृति वा Memmory) समेत स्थूल शरीरको भाग अन्तर्गत पर्दछ।  पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच श्वास अर्थात् प्राण तथा चार अन्त करण गरी उन्नाइस तरिकालाई स्थूल शरीरको स्थूल संसारको भोग गर्ने उपाय वा उन्नाइस द्वारहरू भनिन्छ।

 

त्यसको लागि शरीरले मूलतः सात विशिष्ट अङ्गहरू (सप्ताङ्ग) नाक, कान, जिब्रो, आँखा, छाला (यौन अङ्ग), मस्तिष्क (मन,बुद्धि, अहङ्कार र चित्त) तथा तिनीहरूको व्यवस्थापन संयोजन गर्ने अभौतिक अवलोकन कर्ता आत्मा गरी सात अङ्गहरू मानिन्छ। मात्र अवलोकन कर्ताको रूपमा रहने आत्मा द्वारा संयोजन नहुँदा जीव जीवित नरहने हुँदा पहिलो तह वैश्वानरको  स्थूल वा भौतिक संसारको भोग गर्न उपयोग हुने अङ्गहरूमा अप्रत्यक्ष अङ्गको रूपमा आत्माको पनि समावेश जरुरी भएको हो।

 

वैश्वानरलाई आत्मा ब्रह्मको चार पक्षहरू मध्येको पहिलो एक चौथाइ तह किन मानिएको हो भने विराट स्थूल शरीरको समग्रताबाट यो पक्ष भिन्न छैन। पहिले वैश्वानरको प्राप्ति पछि मात्र अन्य तिन तहको प्राप्ति सम्भव रहने हुँदा वैश्वानर लाई प्रथम चतुर्थांश (प्रथम पद) भनिन्छ।

विज्ञानको दृष्टिमा सात इन्द्रियमा नाक (Smell), कान (Hearing), जिब्रो (Taste), आँखा (Sight) र छाला (Touch) को पाँच चेतना, भेस्टीभुलरको (Vestibular) बाह्य चेतन (गुरुत्वाकर्षण, चाल र सन्तुलनको अनुभूति) र प्रोप्रियोसेप्शनको (Proprioception) बाह्य चेतन (शरीरको भागहरूको सापेक्ष स्थितिको र तिनीहरू लाई चलाउन पर्दा प्रयोग गरिने उचित दबाब वा शक्तिको अनुमान) लाई मानिन्छ। जुन औषधि विज्ञान गहिरिएर पूर्ण यथार्थको ज्ञान लिन नसक्दाको अवस्थाको आंशिक सत्यता हो।]

[ब्रह्माण्डको हकमा सात अङ्गको अवधारणा छान्दोग्योपनिषद् ५.१८.२ मा भेटिन्छ। ब्रह्माण्डको शिर उसको स्वर्ग हो। सूर्य उसको आँखा हो।  वायु उसको सास हो। आगो उसको हृदय हो। पानी उसको पेट हो। पृथ्वी उसको खुट्टा हो। आकाश (अन्तरिक्ष) उसको शरीर हो। वैदिक सामाजिक कार्यहरूमा अग्निहोत्र यज्ञको तीन अग्नि मध्येको एक आहवानी अग्नि अर्थात् बलिदानको रूपमा अर्पण गरिने यज्ञको अग्निलाई ब्रह्माण्डको मुखको रूपमा लिने गरिन्छ।]

 

स्वप्रस्थानोऽन्तःप्रज्ञः सप्ताङ्ग एकोनविंशतिमुखः प्रविविक्तभुक्तैजसो द्वितीयः पादः ॥ माण्डूक्योपनिषद ४ ॥

 

दोस्रो पक्ष सपनाको अवस्था हो। स्वप्नले भित्री जगत र अन्तर्मनको ज्ञानीको सम्बन्धको सूचना वा जानकारी दिन्छ। सूक्ष्म वस्तुको अनुभूति मार्फत सपनाले आनन्दको अनुभूति गराउने गर्दछ। स्वप्नको अनुभूति गर्ने सात अङ्गहरू छन् । जसले उन्नाइस उपायहरू (द्वार वा पथहरू) वाट सूक्ष्म जगत बारेको जानकारी राख्दछ। सपना मानिसको उज्ज्वल अर्थात् तेजोमय मनमा निवास गर्दछ।

 

[व्याख्या: माण्डूक्य उपनिषदको मन्त्र ४ ले तैजसको बारेमा विस्तृत अवधारणा दिन्छ। तैजसको अर्थ स्वयंको सपनाको संसार भन्ने रूपमा यहाँ लिइएको छ। चार भागमा विभक्त आत्माको दोस्रो भाग मानिने स्वप्नमा जागृत अवस्थामा सङ्कलन भएका  भौतिक संसारका छापहरू वास्तविकता मै मूर्त भएको अनुभव सपनामा हुने गर्दछ। सपनाले कुनै अभौतिक छाप वा कल्पना आदि लाई वास्तविक वस्तुहरूको भौतिक रूपमै आत्मालाई अनुभूति गर्ने अवसर उपलब्ध गराउने गर्दछ। अभौतिक छाप वा कल्पना आदि लाई सपनामा भौतिक वस्तुको रूपमा अनुभव गर्ने आत्मालाई तैजस भनिन्छ।

 

जागृत अवस्था जागृत अवस्थाको अवलोकन कर्ता अर्थात् ज्ञानी र जागृत संसार बिच विभिन्न अन्तरक्रिया हुन्छ।  हाम्रो दिमागले वरपरको संसारसँग अन्तरक्रिया गर्छ। हामीलाई ती चीजहरू, व्यक्तिहरू र विचारहरूसँग जोडिदिन्छ। हाम्रो मस्तिष्कले वास्तविकता मै संसारसँग भइरहेको अन्तरक्रिया अनुरूप काम गरी त्यसको अनुभूति कसरी लिने र दिने, ती चीजहरू कसरी गर्न सकिन्छ र उपकरणहरू कसरी प्रयोग गर्न सक्छौँ भन्ने बारे सोच्दछ।

 

त्यसको प्रभाव आदिको हामीमा अभौतिक छाप वा कल्पना विकास गरिदिने गर्दछ। जब हामी सपना देख्छौँ, त्यहाँ विशेष तरिकाको केही त्यस्तै समान अनुभूति हामीलाई हुन्छ। हाम्रा सपनाहरूले एउटा संसार सिर्जना गर्दछ, जुन हामीलाई वास्तविक लाग्दछ। यद्यपि ती वास्तविक होइनन्। तर स्वप्न अवस्थामा हाम्रो मस्तिष्कले संसारको एक अद्वितीय संस्करण बनाउँछ जुन हामीले हामी जागृत अवस्थामा रहेको जस्तै त्यसलाई देख्न र छुन र यथार्थ मै प्राप्ति गरेको अनुभूति लिन सक्छौँ।सपनाको अवस्थामा केही अनौठो तरिकामा पुनः उत्पादन गरिएका बाहिरी मूर्त देखिने संसारको सिर्जना हुन्छ।

 

जब हाम्रो दिमाग चल्दछ (स्पन्दन) तिनीहरूले हामीलाई चीजहरू देखाउँछन्। यी चीजहरू भौतिक रूपमै त्यहाँ छन् जस्तो देखिन्छ, तर तिनीहरू वास्तवमा केवल दिमागका गतिविधिहरू मात्र हुने गर्दछ। तर पनि भौतिक रूपमै आफूले तिनीहरूको अनुभूति लिएको छापहरू हाम्रा दिमागमा रहिदिन्छन्।

 

हाम्रो दिमागले सपनामा अज्ञानता बस आफ्नो अविद्या (भौतिक ज्ञान), त्यसको प्राप्तिको  चाहना वा इच्छा (काम तथा लगाव) र कर्म (सिमुलेसन कार्य) मार्फत हामीलाई वास्तविक रूपमै आफूले प्राप्ति गरेको लाग्ने चीजहरूको सिर्जना गर्दछ। यहाँ कार्यले हामी ब्युँझँदा देखिने वा स्मरणमा रहने छापहरू बनाउनेलाई जनाउने गर्दछ। हामी सपनाको अवस्थामा रहेको दिमागको अज्ञानताले हाम्रो आफ्नै इच्छा लाई प्रबल गर्दछ। उक्त इच्छा प्राप्तिको चाहनाले इच्छाएको कार्य पुरा गर्न  तर्फ हामीलाई डोर्‍याउँछ, र उक्त कर्मले हामीमा उक्त कार्य प्राप्ति भएको छाप छोड्न भूमिका खेल्दछ।

 

हामी ब्युँझिएकै अवस्थाको प्रभावहरूका कारण हाम्रा दिमागहरूले सपना देख्छन् मानौँ तिनीहरू जागा अवस्थामा नै छन्। एउटा क्यानभासमा काम गर्ने कलाकारले जस्तै जागृत संसारको सानो टुक्रा सपनाहरूमा देखिन्छ। यथार्थमा हाम्रो दिमागले जागृत अवस्थाको प्रभावलाई सपनाहरूमा पुनः प्ले गर्दछ, जसले गर्दा हामी सपना देख्दा पनि हामी जागा छौँ जस्तो महसुस गराउँछ। फलतः सपनीमा हामी सिमुलेटेड जागृत  अवस्थाको अनुभूति लिइरहेका हुन्छौ।

 

जागृत अवस्थामा हामी संग मन थियो। सपनाको अवस्थामा जागृत अवस्थामा मनले बनाएको अनुभवको स्मरण (चित्त) निर्मित छापबाट उत्पन्न चित्त वृत्तिले सपनीमा सिमुलेटेड बिपनी स्थापित गर्ने अवधारणा माण्डूक्य उपनिषदको मन्त्र ४ मा उद्धृत छ।]

 

यत्र सुप्तो न कञ्चन कामं कामयते न कञ्चन स्वप्नं पश्यति तत्सुषुप्तम् ।

सुषुप्तस्थान एकीभूतः प्रज्ञानघन एवान्दमयो ह्यानन्दभुक्चेतोमुखः प्राज्ञः तृतीयः पादः ॥ माण्डूक्योपनिषद ५ ॥

गहिरो निद्राको सुषुप्तिको अवस्थामा सुत्नेले न कुनै सुखद कुराको चाहना राख्दछ न कुनै दुखको नै अनुभूति गरिरहेको हुन्छ। आत्माको जम्मा चार तहको तेस्रो अंश (पद) प्रज्ञा हो। सुषुप्त अवस्थामा अवलोकन कर्ता भेद भाव विहीन द्रष्टाको रूपमा एकीभूत: (पूर्ण रूपमा एकमात्र अस्तित्वमा) रहन्छ।

 

[व्याख्या: न कुनै कामना, न कुनै इच्छाको लालसा, न कुनै सपना देखेको अबस्थामा सुतेको अबस्था पूर्ण निद्राको अवस्था हो। पूर्ण निन्द्राको अवस्थालाई सुषुप्तिको अबस्था भनिन्छ।  सुषुप्तिको अबस्थामा  प्रज्ञाघन अर्थात् ज्ञान समेत संकुचित भएर  अविच्छिन्न चेतना संग एकीकृत हुन पुग्दछ। जसले गर्दा त्यहा मात्र निर्मम शान्ति र केवल परम आनन्द (Just Bliss) मात्र बाँकी रहन्छ।

 

प्रज्ञा चेतना सङ्कुचित भएर बनेको अत्यन्त गाडा घनत्वको उक्त प्रज्ञानघनः (Prajñānaghanaḥ) सुषुप्त अवस्थामा आनन्दको अनुभूति गर्दै (ānandabhuk) आनन्दमय (Blissful – ānandamayaḥ) अवस्थामा पुग्दछ। सपना र जागृत अवस्थाको अनुभव गर्ने द्वार (cetomukhaḥ) सुषुप्ति हुने गर्दछ। ]

 

[माण्डूक्य उपनिषद्ले सुषुप्तिको अवस्थालाई जाग्रत् र स्वप्नको दुवै अवस्थाहरू भन्दा फरक मान्दछ। किन भने  सुषुप्तिको अवस्थामा न त सपना अवस्थाको सपनाका संसार र वस्तुहरूको अनुभूति हुन्छ न त जाग्रत् अवस्थामा हुने जस्तै सांसारिक भोगको अनुभूति हुने गर्दछ। जाग्रत् समयमा बाहिरी स्थूल वस्तुहरूको भोगको अनुभूति हुन्छ। सपनाको समयमा स्मरणले पैदा गर्ने  कल्पनाको संसारको उत्पादनको भित्री सूक्ष्मताको अनुभवका अनुभूतिहरू प्राप्त हुन्छ।

 

न त बाहिरी संसारको भोग, न त भित्री संसारको अनुभूति गर्दै गरेको सुषुप्त अवस्था एउटा यस्तो विशेष अवस्था हुने गर्दछ जसमा विभेद रहित एकीकृत चेतनाको मात्र उपस्थिति रहन्छ। स्वप्नको अवस्था वाट गुज्रिएको समय र सुषुप्तिको अवस्था वाट गुज्रिएको समय जाग्रत् अवस्थामा आउँदा समेत अनुभूतिको रूपमा बस्दछ। सपना देखेको र भुसुक्कै निदाएको दुवै अनुभूतिहरू हाम्रो सूचनामा रहने गर्दछ। यो परिघटनाहरूले सुषुप्तिको अवस्थामा भुसुक्कै निदाएको सूचना राख्ने तथा सपना देखेको समेत सूचना राख्ने कुनै अवलोकनकर्ता अस्तित्वमा रहेको पुष्टि गर्दछ।

 

सुषुप्ति अवस्थाको चेतनालाई प्रज्ञा भनिएकोले प्रज्ञालाई विभेद रहित रूपमा आनन्द संग रहने अवलोकन कर्ता मानिन्छ। त्यसको प्रकृति शान्त र मौन हुन्छ। त्यसैले अवलोकन कर्ताले समेत आनन्दमय अवस्थामा गुज्रिएको अनुभूतिको सूचना राख्दछ।

 

जागृत अवस्थाको तुलनामा गहिरो निद्राको सुषुप्त अवस्था अत्यन्त छोटो र अस्थायी हुने  व्यवहारिक छाप व्यक्तिमा परेको हुन्छ। त्यो जीवित अवस्थाको अनुभवमा आधारित अनुभूति हो। वैदिक अवधारणा अनुसार आत्मा परम सत्य रूपको हुने र त्यसको वास्तविक स्वरूप आनन्दमय सुषुप्त अवस्थाको रहने हुँदा सुषुप्त अवस्थाको आत्माको लगाव जब बाहिरी संसारका स्थूल बस्तुहरूको भोगमा लिप्त हुन्छ तव त्यहाँ जागृत अवस्था उत्पन्न हुन्छ। जब  आत्मा आन्तरिक कल्पनाको संसारको उत्पादन रुपी भित्री दुनियाँको सूक्ष्मताको अनुभूति गर्न अल्पकालीन रूपमा पुग्दछ तव त्यहाँ स्वपन अवस्था उत्पन्न हुन्छ।]

 

एषः सर्वेश्वर एष सर्वज्ञ एषोऽन्तर्याम्येष योनिः सर्वस्य प्रभवाप्ययौ हि भूतानाम्

 ॥ माण्डूक्योपनिषद ६॥

 

प्रज्ञा नै सर्वज्ञानी सबैको अवलोकन कर्ता हो। सबै जीवको जीवितताको कारण र अन्तिम सत्य पनिहो। सर्वत्र सबै भित्र वास गर्ने सम्पूर्ण जगतको पालन कर्ता अर्थात् मालिक हो।

 

नान्तःप्रज्ञं न बहिःप्रज्ञं नोभयतःप्रज्ञं न प्रज्ञानघनं न प्रज्ञं नाप्रज्ञम् ।

अदृष्टमव्यवहार्यमग्राह्यमलक्षणमचिन्त्यमव्यपदेश्यमेकात्मप्रत्ययसारं प्रपञ्चोपशमं शान्तं शिवमद्वैतं चतुर्थं मन्यन्ते।

स आत्मा स विज्ञेयः ॥ माण्डूक्योपनिषद ७ ॥

 

चेतनाको वास्तविक अवस्था बाह्य अनुभव (External World) वा आन्तरिक विचार र भावनाहरू (बाह्य संसार वा भित्री छापहरू Inward Impressions) दुबैमा निर्भर हुँदैन। चेतना हामीले दैनिक जीवनमा अनुभव गर्ने सामान्य चेतनशीलता ( शुद्ध चेतना Pure Consciousness) होइन। न त यो हामीले गर्ने पूर्ण बेहोशी को अनुभवको (अचेतनको Unconsciousness) अवस्था नै हो। हामीले अनुभूति समेत गर्न नसकिने (Imperceptible), हाम्रा कुनै कुरा संग समेत सम्बन्धित नरहेको (Unrelated), कुनै तरिका वाट समेत प्राप्त गर्न नसकिने (Unachievable Through Any Action) चेतना; सामान्य कारण र प्रभावका सम्बन्ध भन्दा पनि बाहिर (beyond the usual cause-and-effect relationships ) छ। यसलाई कुनै   चिन्ह वा विशेषताहरू वाट (Devoid of Any Insignia) समेत परिभाषित गर्न सकिँदैन। हाम्रो भाषाको दायरा र विचारको दायराको उपयोग गरेर (Beyond Contemplation, Indescribable) यसलाई बुझ्न वा वर्णन गर्न समेत ( Transcends the limits of conceptualization ) सकिँदैन।

 

हामीले बुझ्नको लागि प्रयोग गर्ने सापेक्ष तुलनाहरूको कुनै परिभाषामा समेत (Beyond All Relative Definitions) यसको व्याख्या हुन सक्दैन। चौथो चरण वा खण्डको विशुद्ध अद्वैत चैतन्य स्वरूपको आत्म-चेतन (Purely self-conscious) अर्थात् आत्मा (Atman) आनन्दमय र शान्त अवस्थामा (Blissful Stillness) अवस्थित हुन्छ। आनन्दमय शान्त अवस्थामा अवस्थित आत्म-प्राप्ति (Achieving a deep and profound level of self-awareness, beyond the usual bounds of conscious and unconscious experiences) नै हाम्रो जीवनको अन्तिम (Ultimate goal of self-realization) लक्ष्य  हुने गर्दछ।

 

सरल शब्दहरूमा उल्लेख गर्दा आत्म-जागरूकताको गहिरो र अद्भुत स्तर  (Achieving a deep and profound level of self-awareness) सचेत र अचेतन दुवै अनुभवको सीमाभन्दा बाहिरको (Beyond the usual bounds of conscious and unconscious experiences) सन्तुष्टि र तृप्तिको स्थिति (Leads to a state of contentment and fulfillment) उन्मुख हुन्छ।

 

सोऽयमात्माध्यक्षरमोंकारः।

अधिमात्रं पादा मात्रा मात्राश्च पादा अकार उकारो मकार इति ॥ माण्डूक्योपनिषद ८॥

 

मौखिक रूपमा व्यक्त गरिने अ, उ र म तीन वटा ध्वनिहरू मिलेर बनेको शब्द ॐ (ओम्) कार अर्थात् ओमकार (Om-maker) ध्वनी लाई आत्माको प्रतीकको रूपमा लिने गरिन्छ।

 

जागरितस्थानो वैश्वानरः अकारः प्रथमा मात्राप्तेरादिमत्त्वाद्वा ।

आप्नोति ह वै सर्वान् कामानादिश्च भवति य एवं वेद ॥ माण्डूक्योपनिषद ९॥

 

मानिसको आत्म वा आत्म-अस्तित्वको सार (The Self or self-existent essence of human beings) लाई वैश्वानर (Vaishvanar) भनिन्छ। वैश्वानर एक विश्वव्यापी प्राकृतिक ऊर्जा (Universal Aspect or Universal Energy) प्रतिनिधित्व गर्ने शब्द हो। आध्यात्मिक परम्पराहरूमा ॐ लाई एक पवित्र ध्वनिको रूपमा लिने गरिन्छ। ॐ को पहिलो ध्वनी ‘अ’ ले वैश्वानरको प्रतिनिधित्व गर्दछ। जुन विश्वव्यापी रूपमा (Universal or Divine) कम्पनको रूपमा (Vibrational Mode) सदा सर्वदा सर्वत्र (Omnipresent)  रहन्छ।

 

पूर्णरूपमा जागा र सचेत (Fully Awake and Aware) रहँदाको (जाग्रत् अवस्थामा – State of Wakefulness) हरेक व्यक्ति विश्वव्यापी प्राकृतिक वा ईश्वरीय  शक्ति सँग जोडिन खोजिरहेको हुन्छ। जाग्रत् अवस्थामा विश्वव्यापी कम्पन संग (Universal Being) नियमित जोडिएर आफ्नो जीवन यापन सम्पन्न गर्न सफल बन्ने (प्राकृतिक नियम मैत्री जीवनयापन रोज्ने) व्यक्तिहरू आफ्ना जीवनका लक्ष्यहरू प्राप्त गर्दै आध्यात्मिक क्षेत्रमा महत्त्वपूर्ण स्थान प्राप्त गर्न सफल बन्ने (Fulfill their desires and attain a high or significant position in their spiritual journey or life) गर्दछन्।

 

स्वप्नस्थानस्तैजस उकारो द्वितीया मात्रोत्कर्षादुभयत्वाद्वा ।

उत्कर्षति ह वै ज्ञानसंततिम् ।

समानश्च भवति ।

नास्याब्रह्मवित्कुले भवति य एवं वेद ॥ माण्डूक्योपनिषद १०॥

 

आफूलाई ईश्वरीय वा आध्यात्मिक उपस्थितिसँग जडान गर्न खोजिरहेका व्यक्तिहरू आफ्नो उज्ज्वल भविष्य उन्मुख हुने गर्दछन्। ॐ को मध्य ध्वनी ‘उ’ ले  उज्ज्वल (Radiant) वा भित्री ऊर्जा (Inner Energy) को प्रतिनिधित्व गर्दछ। भित्री उज्ज्वल ऊर्जा (Inner Radiant Energy) अधिक शक्तिशाली र उत्कृष्ट तेजस (Taijasa) शक्ति हो।

 

भित्री उज्ज्वल ऊर्जाको खोजी गर्नेहरू परम आध्यात्मिक वास्तविकता (Ultimate Spiritual Reality) बाट अनभिज्ञ वा विच्छेदन (Ignorant of or disconnected) रहने स्थिति हुँदैन। उत्कृष्ट भित्री ऊर्जाको सँगको नियमित सक्रियताको कारण व्यक्तिले जीवनलाई सन्तुलित र संयोजित तरीकामा सञ्चालन गर्ने (Attain Equanimity of Conduct) कुशल बुद्धि (Achieve Increased inflow of Wisdom or Knowledge) तथा ज्ञान प्राप्त गर्दछ।

 

बुद्धि प्राप्त गर्न, सन्तुलित जीवन बिताउन र आफ्नो परिवारमा आध्यात्मिक समझको स्थापनाको सुनिश्चितता गर्न व्यक्तिलाई भित्री उज्ज्वल ऊर्जा (Inner radiant energy) अर्थात् तेजसको (Taijasa) जरुरत पर्दछ। जुन आत्मा ज्ञानवाट  प्राप्त हुन्छ।

 

सुषुप्तस्थानः प्राज्ञो मकारः तृतीया मात्रा मितेरपीतेर्वा ।

मिनोति ह वा इदं सर्वमपीतिश्च भवति य एवं वेद ॥ माण्डूक्योपनिषद ११॥

 

ॐ को अन्तिम ध्वनि ‘म’ ले प्रज्ञालाई जनाउने गर्दछ। आफूलाई चेतनाको शुद्ध अवस्था (Undiluted Pure Consciousness) सँग निरन्तर रूपमा जोड्न चाहने गुण र चरित्रलाई प्रज्ञा (Prajna) भनिन्छ। प्रज्ञा अवस्थाले आध्यात्मिक ज्ञान प्राप्तिको उच्चतम स्तर (Highest level of Spiritual Attainment) को प्रतिनिधित्व गर्दछ। प्रज्ञा अवस्थाले अविच्छिन्न चेतना (प्रज्ञा) को खोजी (Seeks Uninterrupted Undiluted Pure Consciousness) गर्दछ। अविच्छिन्न चेतनाको खोजी पूर्ण ज्ञान प्राप्त (Gain complete Wisdom) भएर मात्र रोकिन सक्छ। जसले व्यक्तिको समझलाई सर्वव्यापी (All-encompassing) वा समावेशी (All Inclusive) बनाउने गर्दछ।

 

अमात्रश्चतुर्थोऽव्यवहार्यः प्रपञ्चोपशमः शिवोऽद्वैतः ।

एवमोंकार आत्मैव ।

संविशत्यात्मनात्मानं य एवं वेद ॥ माण्डूक्योपनिषद १२॥

 

चेतनाको गहन अवस्था लाई “चौथो राज्य” भनेर चिनिन्छ। चौथो राज्य ध्वनि भन्दा निकै परको (Not limited to sound) एकात्मक क्षेत्र हो। एउटा अद्वैत राज्य जहाँ हाम्रो आफ्नै व्यवहारहरू सामान्य व्यवहारहरू भन्दा परको (Beyond the grasp of conduct) फरक चरित्रमा परिवर्तन (Transcends normal behavior) भइरहेको हुन्छ।

 

संसारका अभूतपूर्व मापदण्डहरू रहितको (Devoid of all phenomenal parameters) अवस्था जति वेला “ॐ”  ध्वनि आनन्दमा विलय (Union of Bliss and ॐ)  बनिरहेको हुन्छ। जहाँ आफ्नो अस्तित्व (Ego) समेत परम अस्तित्वमा (Ultimate Being) विलय (Merged) हुन्छ।

 

त्यसको अनुभूतिमा हामीले हाम्रो आफ्नो अस्तित्व समेत बिर्सेर परम आनन्दको अनुभूति गरिरहेको हुन्छौ। जसले यो परम अनन्दको अवधारणालाई गहन रूपमा अनुभूति (Truly Comprehends It) गरिरहेका हुन्छन् (Who Knows) तिनीहरूले नै त्यस्तो परम आनन्दको अनुभूति वास्तवमै गरिरहेका हुन्छन्।

 

अथर्ववेदीय माण्डूक्योपनिषदमा उल्लेख भएको हाम्रो चेतनाले कसरी काम गर्छ भन्ने संक्षिप्त व्याख्यामा मानिस आफ्नो भौतिक जगत रुपी सिमुलेटेड जगत वाट तथा सिमुलेटेड स्वप्नको अवस्था वाट सांसारिक यथार्थ वा अन्तिम सत्यको कसरी पहिचान गरी अनुभूति गर्न सक्दछ भन्ने विधि उल्लेख छ।

 

वेदमा रहेको उक्त सिमुलेशन हाइपोथेसिस विधिलाई रिभर्स इञ्जिनियरिङ्ग गर्न सक्दा आधुनिक विज्ञानका अन्वेषक र वैज्ञानिकहरूलाई  वास्तविक यथार्थता लाई फरक यथार्थ मानिरहेको हालको विज्ञानको समस्या समाधान तर्फ जान र वास्तविक विश्व प्रक्रियाहरू वा प्रणालीहरूको सञ्चालनको विधिको नक्कल गरी निर्माण गर्न खोजिएको कृत्रिम भौतिक वा डिजिटल निर्माण रुपी उन्नत डिजिटल सिमुलेशन लाई वास्तविक यथार्थको सिमुलेशनको हदमा पुर्‍याउन सम्भव हुने बलियो आधार दिन्छ।

 

मायां तु प्रकृतिं विद्यान्मायिनं च महेश्वरम्‌।

तस्यावयवभूतैस्तु व्याप्तं सर्वमिदं जगत्‌॥ श्वेताश्वतरोपनिषद ४.१०॥

 

श्वेताश्वतरोपनिषदको यो मन्त्र भन्दछ तपाईँ यो जान्नुहोस् कि माया प्रकृति हो। महान् भगवान् मायन (मन्त्रिक) हुन्। तिनीहरू वाट निर्मित संसार र समग्र संसार सृष्टिकर्ता (उनका) अङ्गहरू र सम्पूर्ण शरीर हो। यसको भावार्थ हुन्छ माया (सिमुलेशन) प्रकृतिको उपज हो। ब्रह्माण्डमा सबै प्रकारका प्राकृतिक शक्तिहरू (शक्तिशाली ३३-कोटी भगवानहरू) मन्त्रिक (व्यवस्थित र व्यापक रूपमा लागू भएको सिद्धान्त, प्रणाली, विधि, प्रविधि र अभ्यास रुपी मन्त्र मार्ग) जादुगरको भूमिकामा रहेका छन्। तिनीहरूले सृजना गरेको सम्पूर्ण मायावी अवयवहरूको समग्र संसार (सिमुलेशन भएको दुनियाँ) वाट मायावी ब्रह्माण्ड रुपी विराट शरीर (समयको सीमितताको बन्धनमा रहेको सिमुलेटेड अस्थायी शरीर) देखा परेको हो।

 

समग्रमा वेदले हामीलाई हाम्रो र संसारको अस्तित्व वारेको अत्यन्त फराकिलो दृष्टिकोण वारेको प्रस्ट अवधारणा प्रस्तुत गरेको छ। वेदमा प्रस्तुत भएका अवधारणाहरू लाई आफ्नो क्षमता र  व्यावहारिकताको दायरामा परीक्षण गरी अनुभूति गरेर र विश्वस्त रहेर मात्र अँगाल्न सबै वैज्ञानिक, दार्शनिक र बौद्धिक समुदायलाई वेदले प्रोत्साहन गर्दछ। वेदका ऋचा तथा कथाहरूमा उल्लेख गरिएको प्रकृति, चेतना र सांसारिक वास्तविकताहरू हाम्रो इन्द्रिय मार्फत हामीले बारम्बार गर्ने अनुभूतिका तथ्यमा आधारित भएर पुष्टि भएर आएका विषय रहेको कुरा सबैमा अवगत रहेकै हो।

 

आधुनिक विज्ञानले समेत प्रकृति, चेतना र सांसारिक वास्तविकता सम्बन्धका दैनिक जस्तो उजागर गर्दै गरेको धेरै जटिल र रहस्यमय वास्तविकताहरू समेत वेदमा प्रस्तुत हाइपोथेसिसहरु संग लगभग समान रूपका देखिन थालेको वर्तमान परिवेशमा वेदमा उल्लेखित ऋचाहरू वैदिक कालिन विज्ञानका प्रमाणित हाइपोथेसिसका सङ्ग्रह रहेको पुष्टि गर्ने दिसा उन्मुख बनेको छ। जुन संसारकै लागि अत्यन्त चाख लादो र उत्साहवर्धक परिस्थिति हो।

अव को यस दुनियाँमा वेदको विज्ञता भित्र छिरेको आधुनिक विज्ञानको सहारा वेद नै हुने छ। 

 

(अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत छन्।)

63Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: