मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गति र गुरुत्वाकर्षणको सिद्धान्त न्युटन भन्दा पहिले ऋषि कणादले प्रतिपादन गरेका थिए।

नारायण घिमिरे

सर-आईज्याक न्युटन अत्यन्त प्रसिद्ध नाम हो। संसारमा यो नाम नसुन्ने निकै कम होलान्। आधुनिक विज्ञानको भौतिक शास्त्रको गतिका प्रमुख तिन नियमहरू र गुरुत्वाकर्षणको प्राकृतिक सिद्धान्तको प्रतिपादन गर्ने व्यक्तिका नाममा न्युटनले प्रसिद्धि पाएका हुन्।

 

प्राचिन वैदिक विज्ञानलाई ओझेलमा पारेर हेर्दा यी कुराहरू सत्य देखिन्छन। तर जब तपाई वैदिक ज्ञानका पुराना सङ्ग्रहहरू खोतल्नु हुन्छ र तिनीहरू बारे गहन अध्ययन गर्नु हुन्छ तपाईँ लाई फरक तथ्य हाता लाग्ने छ।

 

वैदिक परम्परागत विज्ञान बारे सङ्ग्रह गरिएका विभिन्न श्रुतिहरू वेद र उपनिषदका रूपमा हाल सम्म समेत सङ्गृहीत छन्।  जस अन्तर्गत ऋषि  कणादको केही  प्राचीन सिद्धान्तहरू उल्लेख छ। ती सिद्धान्तहरू बारे जब तपाईँ पढ्नु हुने छ तपाईलाई नयाँ वास्तविकता र यथार्थले चकित पार्ने निश्चित छ।  यहाँ त्यही कुराहरू बारे चर्चा गरिने छ।

 

आजको सूचनाको युगमा पुग्दै गर्दा गतिको सिद्धान्तको प्रतिपादकको रूपमा महान् वैदिक वैज्ञानिक कणाद र भौतिक विज्ञानका वैज्ञानिक सर-आइजक न्युटन (१६४३ -१७२७) बारे सर्वत्र चर्च व्यापक भई रहेको छ।

 

विज्ञानको प्रभाव सर्वत्र व्यापक भएको हालको अवस्थामा न्युटनका ल अफ मोसन को रूपमा प्रतिपादित सिद्धान्त उनको फिलोसोफि उनी द्वारा ५ जुलाई १६८७ मा प्रकाशित नेचुरालिस प्रिन्सीपीया मैथेमेटिकामा अभिलेख गर्दै संसार सामु प्रेषित गरिए।

 

पुरातन वैदिक विचार धारा मध्ये एक वैज्ञानिक विचारधारा वैशेषिक दर्शन हो। जुन ऋषि कणादले प्रतिपादन गरेका थिए। वैदिक कालका वैज्ञानिक सिद्धान्तहरूको अन्वेषण र खोजी गर्ने क्रममा न्युटन भन्दा २५०० बर्ष पहिलै ई.पू. ६०० मा  वैदिक वैज्ञानिक तथा दार्शनिक कणादको वैशेषिक सूत्रमा  बल र गति बिचको सम्बन्ध बारे वर्णन गर्दा उक्त कुराहरू उल्लेख भएको देखियो। यथार्थमा कणादको वैशेषिक सूत्रहरूमा आणविक सिद्धान्त, गतिको सिद्धान्त, गुरुत्वाकर्षणको सिद्धान्त जस्ता सिद्धान्तहरू सबै अटाएको देख्न पाइन्छ। उक्त कुराहरु प्रस्ट सँग बुझ्नको लागि ऋषि कणादको वैशेषिक सूत्रको अध्ययन र व्याख्याको जरुरी हुन्छ।

 

गतिको सिद्धान्त (Law of Motion) वारे कणादको वैशेषिक सूत्र

कणाद द्वारा रचित वैशेषिक सूत्रहरू अत्यन्त जटिल छन्। विषयको क्रममा समेत नियमितता नरहेको र प्रस्तुति संक्षेपमा भएकोले त्यसको प्रस्ट विषयगत व्याख्याको जरुरत महसुस गरी प्रशस्तपादले प्रस्ट व्याख्या सहित वैशेषिक सूत्रहरूको क्रमगत व्याख्या सहित  ‘पदार्थ धर्मसंग्रह’ नामक ग्रन्थ तैयार गरे। प्रशस्तपादलाइ वैशेषिक दर्शनको प्रवक्ताको उपाधि दिँदै उनले  तैयार गरेको पदार्थ धर्मसंग्रह लाई वैशेषिक दर्शनको मूल पाठको रूपमा मान्यता दिइयो। पदार्थ धर्मसंग्रहमा महर्षि प्रशस्तपादले वैशेषिक दर्शनको  उल्लेख गर्दै लेख्छन् :

 

।। वेगो पञ्चसु द्रव्येषु निमित्त-विशेषापेक्षात्‌ कर्मणो जायते नियतदिक्‌ क्रिया प्रबंध हेतु: स्पर्शवद्‌ द्रव्यसंयोग विशेष विरोधी क्वचित्‌ कारण गुण पूर्ण क्रमेणोत्पद्यते

 

भावार्थ: ठोस, तरल वा ग्यास अवस्थामा रहेको पन्च तत्वको  वेग अथवा मोसन त्यस माथि पर्ने निमित्त वा विशेष बलको कारणले उत्पन्न हुने गर्दछ। उक्त बल पदार्थको वेगको प्रतिकुल (संयोग विशेष) दिशामा वा अनुकूल दिशामा हुने कारण वाट नष्ट हुने वा उत्पन्न हुने गर्दछ।

[Meaning, action on objects generates motion. The external action being direction causes the motion to be directional. An equal and opposite action can neutralize the motion.]

कणाद द्वारा प्रतिपादित वैशेषिक सूत्रहरू क्रमगत वैशेषिक दर्शनको रूपमा प्रशस्तपादले संयोजन गरेको माथिको भाष्य वा व्याख्या लाई तलको तीन भागमा विभक्त गरी हेर्दा  समान अर्थ र भाव लाग्ने गरी न्युटनको गति सम्बन्धका चर्चित तिन नियमहरू सँगै हुबहु मिल्ने देखिन्छ।

 

॥ वेगः निमित्तविशेषात कर्मणो जायते। वेगः निमित्तापेक्षात कर्मणो जायते नियतदिक क्रियाप्रबन्धहेतु। वेगः संयोगविशेषविरोधी॥

 

वैशेषिक दर्शन : प्रथम सूत्र

।।वेगः निमित्तविशेषात कर्मणो जायते।

[ Vegah Nimitta Visheshat Karmano Jayate].

 

अर्थ: कुनै पनि बस्तुको गतिको परिवर्तनको कारण त्यसलाई प्रभावित पार्ने शक्तिको हुने गर्दछ। [Change of motion is due to impressed force.]

 

भावार्थ: अन्य प्रभावशाली शक्तिको उपस्थिति नहुँदा सम्म स्थिर रहेको बस्तु स्थिर र कुनै दिसामा गतिशील रहेको बस्तु त्यही दिशामा गतिशील  नै रहन्छ।

 

वैशेषिक दर्शन : द्वितीय सूत्र

।।वेगः नियतदिक क्रियाप्रबन्धहेतु।

[Niyatdik Kriya Prabandha Hetu].

 

अर्थ: प्रभावशाली शक्तिको  अनुपातमा प्रभावी शक्तिकै दिसा उन्मुख हुने गरी कुनै पनि बस्तुको गतिमा परिवर्तन आउँछ। [Change of motion is proportional to the impressed force and is in the direction of the force.]

 

भावार्थ: कुनै पनि  बस्तुको गतिशीलता त्यसमा पर्न गएको बाहिरी शक्तिको हदले निश्चय गर्दछ। जुन दिसामा बाहिरी शक्तिको प्रभाव पर्ने गर्दछ सोही दिशामा उक्त बस्तु गतिशील बन्ने गर्दछ।

 

वैशेषिक दर्शन : तृतीय सूत्र

।।वेगः संयोगविशेषविरोधी।

[Vegah Sanyog Vishesh Virodhi].

 

अर्थ: क्रिया तथा प्रतिक्रिया सदैव बराबर तर विपरीत दिसामा हुने गर्दछ। [Action and reaction are equal and opposite.]

भावार्थ: हरेक क्रियाले उक्त क्रिया बराबरकै तर विपरीत दिसामा प्रतिक्रिया पैदा  गर्दछ।

 

 

गुरुत्वाकर्षणको सिद्धान्त (Law of Gravity) वारे कणादको वैशेषिक सूत्र

वैदिक वैज्ञानिक तथा दार्शनिक कणादको वैशेषिक सूत्र  दुई भागहरू (अहिकास) सहित १० अध्यायमा विभाजन गरिएको छ। वैशेषिक सूत्रमा ३७३  श्लोकहरू छन्। जस मद्धे पाँचौँ अध्यायको ५.१.७ श्लोकले गुरुत्वाकर्षणको लागि संस्कृत शब्द गुरुत्वाबारे बोल्दछ।

 

संयोग नै मानु पर्छ न्युटनको गुरुत्वाकर्षणको नियम जसले बयान गर्दछ कि ब्रह्माण्डमा रहेको पदार्थको कुनै पनि कणले अरूलाई आकर्षण गर्दछ। उक्त आकर्षणको हद पदार्थको पिण्ड सँग प्रत्यक्ष र बिचको दूरीको वर्ग सँग व्युत्क्रम (इन्भर्स) को सम्बन्धमा हुने गर्दछ। उक्त नियमहरू समेत कणादको वैशेषिक सूत्रमा नै वर्णन गरिएको भेटिन्छ।

 

वैशेषिक दर्शन : सूत्र ५.१.७

।।संयोगाभावे गुरुत्वात् पतनम् ॥

saṃyogābhāve gurutvāt patanam || 5.1.7 ||

 

शब्दार्थ:

संयोगाभावे (संयोग अभावे) = संयोजनको अभावमा

गुरुत्वात् = गुरुत्वाकर्षण द्वारा

पतनम् = खस्ने गर्दछ

 

भावार्थ: कुनै पनि बस्तुलाई समातेर राख्ने अवरोधक शक्तिको अभावमा गुरुत्वाकर्षणको बल द्वारा त्यो बस्तु खस्ने गर्दछ।

[In the absence of conjunction, falling (results) from gravity.]

 

व्याख्या: यस सूत्रमा प्रयोग भएको संयोजन शब्दले हरेक प्रकारको बाधा अड्चन तर्फ सङ्केत गर्दछ। अवरोधहरूको अभावमा उत्पन्न हुने गैर-संयोजनात्मक  परिस्थितिमा गुरुत्वाकर्षणको प्रभावले हरेक भौतिक पदार्थ तल झर्ने गर्दछ। जस्तै रुखमा टाँसिएर रहेको फलमा गुरुत्वाकर्षणको साथ साथै बाधाको समेत संयोजन रहन्छ। चरा आदि उड्ने क्रममा पखेटाले पैदा गर्ने हावाको माथि तर्फको चापको कारण पैदा हुने प्रतिक्रिया पतनको लागि काम गर्ने गुरुत्वाकर्षणको बाधाको रूपमा उपस्थित रहन्छ। उडान सम्भव हुन्छ।

 

वैशेषिक दर्शन : सूत्र ५.२.३

 

।।अपां संयोगाभावे गुरुत्वात् पतनम् ॥

apāṃ saṃyogābhāve gurutvāt patanam || 5.2.3 ||

 

शब्दार्थ:

अपां (अपाम) = पानी (बर्सादको पानीको अर्थमा)

संयोगाभावे (संयोग अभावे) = संयोजनको अभावमा

गुरुत्वात् = गुरुत्वाकर्षण द्वारा

पतनम् = खस्ने गर्दछ

 

भावार्थ: समातेर राख्ने अवरोधक शक्तिको अभावमा गुरुत्वाकर्षणको बल द्वारा बर्सादको पानी खस्ने गर्दछ।

[The falling of waters, in the absence of conjunction, is due to gravity.]

 

व्याख्या: यस सूत्रमा आकाशमा जरुरत अनुरूपको अवरोधक शक्तिको अभावले पैदा गर्ने गैर-संयोजनात्मक  परिस्थिति बिच गुरुत्वाकर्षणको प्रभावले पानी बर्सादको पानीको रूपमा तल झर्ने गर्दछ भनिएको छ।

 

ऋषि कणादको वैशेषिक दर्शन अन्तर्गत वेगको सूत्र वैदिक गणितिज्ञ आर्यभट्टले प्रतिपादन गरेको  शून्य तथा अर्का वैदिक गणितिज्ञ भास्कराचार्यले प्रतिपादन गरेको असङ्ख्य वा इन्फिनिटी भन्दा पनि पहिलेको समयमा भएको देखिन्छ।

 

त्यसको फरक पृष्ठ भूमिमा सर-आईज्याक न्युटनको समय तुलनात्मक रूपमा धेरै आधुनिक बनिसकेको र प्रतिपादित सूत्रहरुलाई गणितको फर्मुलामा व्याख्या वैदिक गणितिज्ञहरुले ऋषि कणादको जीवनकाल पछि प्रतिपादित गरिदिएका नम्बर र नम्बर वारेका शून्य र असङ्ख्य (इन्फिनिटी) जस्ता विशिष्ट तथा अचुक मान्यताहरु उपलब्ध थियो।

 

जसले गर्दा न्युटनको लागि ती कुराहरू संयोजन गरी गणितको सूत्रमा समेत लिपिबद्ध गरी प्रस्तुति गर्ने अवसर प्राप्त भएको सहजै अनुमान गर्न सकिन्छ।

 

कणादको वैशेषिक सूत्रमा आणविक सिद्धान्त

परमाणु बम भनेर सबैलाई अवगत भएको आणविक बमका आविष्कारक जे रोबर्ट ओपेनहाइमर हुन। वैज्ञानिक जे रोबर्टको नेतृत्वमा धेरै वैज्ञानिकहरूले १९३९ देखि  १९४५ सम्म काम  गरे। सन् १६ जुलाई १९४५ एटम बमको पहिलो सफल परीक्षण गरियो। यद्यपि जोन डाल्टन  (६ सेप्टेम्बर १७६६ – २७ जुलाई १८४४) लाई आधुनिक विज्ञानले परमाणु सिद्धान्त र हतियारको पिता मान्ने गर्दछ। तर वैदिक विज्ञानको ज्ञाता हरू सबैलाई उनी भन्दा करिब ९१३ वर्ष पहिले नै अगाडि ऋषि कणादको वेदमा लेखिएका सूत्रको आधारमा परमाणु सिद्धान्तको प्रतिपादन गरेको कुरामा कुनै सन्देह देखिँदैन।

 

ईसापूर्वक दोस्रो शताब्दीमा कणको अर्थ सम्भब भए सम्मको सबै भन्दा सानो सूक्ष्म कण र कणादको शाब्दिक अर्थमा कणहरुको वारेको विज्ञ। त्यसैले उक्त समयमा सूक्ष्म कणका ज्ञाता “याटम-ईटर” भनेर चिनिन्थे ऋषि कणाद। आज वैदिक विज्ञानका ज्ञाताले कणाद लाई आणविक सिद्धान्तको पिता मान्ने गर्दछन्।

 

कणादको वैशेषिक सूत्रहरूले परमाणुहरूको  सूक्ष्मरूपलाई समेट्ने काम मात्र नगरेर भौतिक ब्रह्माण्डमा रहेका सबै वस्तुहरू परमाणुको सूक्ष्म कणहरू निर्मित रहेको यथार्थता समेत व्याख्या गर्छ। उनका अनुसार ब्रह्माण्डमा रहेका सबै वस्तुहरू अन्ततः परमाणुको सूक्ष्म कणमा सीमित रहने गर्छ। जुन आधुनिक विज्ञानको आजको निचोड सँगै मिल्दछ।

 

बहुलवादी यथार्थ स्विकार्ने वैशॆषिक मान्यतामा हरेक बस्तुको भित्री वास्तविक यथार्थ बाहिरी रूपमा देखिने यथार्थ भन्दा फरक रहने  गर्दछ। वैशॆषिका विचारधारामा आध्यात्मिक पदार्थहरू आत्मा, ईश्वर (परमात्मा), कर्मको फल आदिलाई स्वीकार गरिन्छ।

 

प्राकृतिक दर्शनमा परमाणुवाद भनेको यो सिद्धान्त हो कि ब्रह्माण्डमा भएका सबै वस्तुहरू अत्यन्त साना, अदृश्य, अविनाशी निर्माणका सूक्ष्म कणहरू निर्मित परमाणु र परमाणु निर्मित अणुहरू मिलेर बनेको हुन्छ।

 

परमाणु शब्द पुरानो ग्रीक शब्द एटोमसबाट आएको हो। जसको अर्थ त्यो टुक्रा जसलाई त्यो भन्दा सानो टुक्रा गर्न सकिन्न भन्ने लाग्दछ। आजको दिन सम्म विकसित बिचार धारामा त्यसको अर्थ सबै भन्दा  सूक्ष्म कण क्वान्टम पार्टिकल (कणादि) भन्ने नै लाग्दछ।

 

वैशॆषिका वैशेषिक दर्शन अन्तर्गतको परमाणुवाद (कणादि सिद्धान्त) तसर्थ केवल भौतिकवाद नभई  आध्यात्मिकता  र भौतिकवादलाई सह-अस्तित्वमा राख्ने गरी जोड्ने सेतु वारेको यथार्थको जानकारी गराउने ज्ञान हो।

 

जस अनुशार एकातर्फ सबै भन्दा  सूक्ष्म कण क्वान्टम पार्टिकलको (कणादि) संयोजन मार्फत भौतिक निर्माण सम्भव बन्दछ। अर्को तर्फ तिनै क्वान्टम पार्टिकलहरूको गुण, चरित्र, खुबी र संयोजन तथा बिखन्डन प्रणालीले समग्रमा आध्यात्मिकताको पाटोको परि-पूर्णता गर्ने भूमिका खेल्दछ।

 

सबै भौतिक चीजहरू जो अस्तित्वमा छन् र अनुभूति समेत गर्न सकिन्छ तिनीहरूलाई पदार्थको नाम दिइयो। पदार्थ शब्दको अर्थ अनुभवका वस्तुहरू भन्ने हुन्छ। सजिलोको लागि अनुभवका वस्तुहरूलाई कणादले द्रव्य (पदार्थ), गुन (गुण), कर्म (गतिविधि), सामान्य (सामान्य), विशेष (विशिष्ट) र समवाय (अन्तर्निहित वा जन्मजात) गरी छ रूपमा वर्गीकृत गरे। त्यसमा श्रीधर, उदयण र  शिबदित्यले पछिल्लो समयमा अभाव (अनुपस्थिति) रूप  थपी सात रूपमा बर्गिकरण गरे।

 

कणादले पहिलो तीन रूप द्रव्य (पदार्थ), गुन (गुण), कर्म (गतिविधि) जसको निश्चित उद्देश्य रहने गर्छ साथै महसुस समेत गर्न सकिने प्रकृतिको छ तिनीहरूलाई अर्थ अन्तर्गतका विषय बस्तुको रूपमा परिभाषित गरे। अन्तिम तीन सामान्य (सामान्य), विशेष (विशिष्ट) र समवाय (अन्तर्निहित वा जन्मजात) रूप जुन बौद्धिक विभेदको कारक रहने गर्दछन् तिनीहरू तार्किक अन्तर्गतका विषय बस्तुको रूपमा परिभाषित भयो।

 

द्रव्य अथवा पदार्थ अन्तर्गत पृथ्वी (धर्ती), अप (पानी), तेज (आगो), वायु (हावा), आकाश (ईथर), काल (समय), स्पेस (अन्तरिक्ष वा स्थान), आत्मा (स्वयं वा म) र मानस (मन) गरी नौ चिजहरु समावेश गरे। इन्द्रियहरूले महसुस गर्न सकिने गरी आफ्नो केही विशिष्ट गुणहरू प्रदान गर्ने पहिलो पाँच तत्त्व पृथ्वी, जल, तेज, वायु र आकाश लाई भूत भनियो। समग्रमा पन्च महाभूत नामकरण भयो। समय, स्थान, आत्मा र मनलाई पाँच इन्द्रियहरू (कान, आँखा, छाला, जिब्रो र नाक) भन्दा फरक रुपमा अनुभूति वा महसुस गर्न सकिने पदार्थ अन्तर्गत राखियो।

 

गुण अन्तर्गत कणादले १७ गुणहरू समावेश गरे। कणादले उल्लेख गरेका १७ गुणहरू अन्तर्गत (१)रूप (colour) (२) रस (taste) (३) गन्ध (smell) (४) स्पर्श (touch), (५) सङ्ख्या (number) (६) परिमाण-इकाई (size/dimension/quantity) (७) पृथकत्व (seprateness or individuality) (८) संयोग (conjunction/accompaniments) (९) विभाग (disconjunction) (१०) परत्व (priority/largeness) (११) अपरत्व(posteriority smallness) (१२) बुद्धि (cognition/knowledge) (१३) सुख (pleasure) (१४) दुःख (pain) (१५) इच्छा (desire) (१६) द्वेष (aversion) (१७)प्रयत्न(efforts/voliation) पर्दछ। पछि प्रशस्तपादले अरू ७ गुण थपेर जम्मा २४ गुणहरू बनाए। जस अन्तरगत (१८) गुरुत्व (gravity/heaviness) (१९) द्रवत्व (cohesion/fludity) (२०)स्नेहत्व (adhesion/viscosity) (२१) धर्म (merit/cosmic order) (२२) अधर्म (demerit/cosmic degeneracy/ entropy)  (२३) शब्द वृत्ति (sound/wave aspect) (२४) संस्कार (faculty) – [ यान्त्रिक (mechanical), स्थिति स्थापक (elastic), एवं वेगात्मक (emotional) शक्ति (force) ] पर्दछ।

पदार्थको आफ्नै छुट्टै स्वतन्त्र अस्तित्व रहन सक्ने तर पदार्थ बिना गुणको आफ्नै स्वतन्त्र अस्तित्व रहन नसक्ने परिभाषा गरियो। कर्मको समेत पदार्थ बिना आफ्नो छुटै अस्तित्व रहन नसक्ने यकिन बन्यो।

 

कर्म (activities/motion) अन्तर्गत (१) उत्क्षेपण (motion against gravity), (२) अव क्षेपण (motion along gravity), (३) आकुञ्चन (motion causing shear stress), (४) प्रसारण (motion causing tensile stress), (५) गमन (linear motion) राखियो। आकाश, समय, स्पेस, आत्मा भने पदार्थ रहेता पनि कर्म विहीन पृथक् पदार्थ रहेको परिभाषित गरियो। सामान्य (generality) अन्तर्गत (१) पर सामान्य (universal set), (२) परापर सामान्य (subset), (३) अपर सामान्य (element) परे।जब एकै चिजहरू धेरै पदार्थहरूमा रहेको फेला पर्दछ तब त्यसलाई सामान्य भनिन्छ।सामान्य पदार्थहरू प्राय बहुलताको गुण युक्त हुने भएकोले तिनीहरूको पदार्थहरू सँग व्यापक अन्तर सम्बन्ध कायम रहने गर्दछ।

 

विशेष (particularity) अन्तर्गत (१) परमाणु (quantum; finite) (२) विभु (continuum, intinite) उपश्रेणि बन्यो। विशेषको माध्यम एक पदार्थ लाई अर्का पदार्थ भन्दा फरक महसुस गर्न सकिन्छ। हरेक पदार्थको अन्तिम रूप क्वान्टम कण युक्त असङ्ख्य परमाणुहरू रहने गर्दछन्। जुन पदार्थको आफ्नै विशेषता हो।

 

एक पदार्थको एक वा सो भन्दा धेरै अन्य पदार्थ सँग अन्तर घुलित जटिल सम्बन्ध लाई समवायको (inherence / concomitance) रूपमा चिनिन्छ। कणादले परिभाषित गरे अनुरूप  समवाय कारण र उक्त कारणले पैदा गरेको प्रभाव बिचको अन्तर-सम्बन्ध हो। प्रशस्तपादले यसलाई एक निश्चित दायरामा एक अर्काको सामीप्यमा रहेर अविभाज्य रूपमा रहने पदार्थहरू बिचको अन्तर-सम्बन्धको रूपमा परिभाषित गरेका छन्। पदार्थहरू बिचको समवाय सम्बन्ध प्रत्यक्ष अनुभूति गर्न नसकिने भएता उनीहरू बिचको अविभाज्य संयोजन वा लगावको आधारमा अनुमान गर्न सम्भव बन्छ।

 

चाखलाग्दो कथा अनुसार एकदिन कणाद आफ्नो हातमा खाना लिएर हिँड्दै थिए।अनायास उनले आफ्नो हातमा भएको खानामा माडमुड पारेर साना साना कणहरूमा विभक्त गर्न पुगे। जब उनले त्यसलाई झन् सूक्ष्म कणमा विभक्त गर्न खोजे निश्चित आकार भन्दा सानो हुने गरी उनले त्यसलाई विभाजित गर्न सकेनन्। यसरी पदार्थलाई कुनै निश्चित कणको आकार भन्दा सानो हुने गरी विभाजित गर्न नसकिने हुनु पर्छ भन्ने विचारले उनको दिमागमा डेरा जमायो।

 

उनले गहन चिन्तन मन मार्फत उक्त अविभाज्य पदार्थ सूक्ष्म कण क्वान्टम पार्टिकलको (कणादि) मार्फत परमाणु, परमाणु मार्फत अणु र अणु मार्फत पदार्थ बनेको राज सम्म पुग्न सफल बने। त्यही समयमा उनले यो पनि भेउ पाए कि कणादिहरु दुई गुण युक्त हुन्छन्। एउटा पूर्ण आरामको स्थिर अवस्था र अर्को गतिशील अवस्था। साथै उनले तिनै स्थिर र गतिशील  कणादिहरुका कारण भौतिक शरीर र आध्यात्मिक अस्तित्वमा रहेको समेत निचोड निकाले।

 

कणाद आफूले  सिधान्त प्रतिपादन गर्ने क्रममा उदाहरणहरू मार्फत त्यसको औचित्य प्रमाणित गर्ने गर्दथे। जस्तै उदाहरणको लागि कणादका प्राचीन वैशॆषिका ग्रन्थहरूमा पन्च महाभूत अन्तर्गतका चार भूतहरू पृथ्वी, जल, तेज र वायुहरू अविभाज्य कणादि बाट बनेको छ भनेर प्रमाणित गर्न पाठ्यक्रममा निम्न सन्दर्भहरू उल्लेख / प्रस्तुत गरिएको छ।

मान्नुहोस् कि यो ढुङ्गा अविभाज्य कणादि निर्मित छैन र यो निरन्तर चलिरहेको छ। अब यो ढुङ्गा लिनुहोस्। कसैले यसलाई सीमित रूपमा तर धेरै टुक्राहरूमा विभाजन गर्न सक्दछ। किनकि यसमा पदार्थहरू निरन्तर रहेको हुन्छ।

 

अब हेर्नुहोस् हिमालयका पहाड र शृङ्खलाहरूमा पनि धेरै यस्तै ढुङ्गाका सीमित टुक्राहरू छ। तसर्थ एक जनाले सीमित ढुङ्गाका यस्तै टुक्राहरू एक टुक्रा लाई अर्को टुक्रामा जोडेर अर्को हिमालयको पहाडको शृङ्खला बनाउन सम्भव हुन्छ। त्यसको सङ्ख्या अधिक रहेता पनि निश्चित भने हुने छ।

 

उक्त पहाडको जत्रै पहरा निर्माण कार्य एउटा सानो ढुङ्गाबाट सुरु हुँदै विशाल हिमालयको पहराको रूपमा परिवर्तन भएर समाप्त हुन्छ। जुन एउटा व्यवहारिक रूपमा आफैमा विरोधाभास व्याख्या जस्तो देखिने तर आफैमा राम्रोसँग स्थापित  सत्य हो।

 

त्यसैले हाम्रो मूल अवधारणा यो यो निरन्तर चलिरहेको छ भन्ने तर्क गलत हुनुपर्दछ। साथै यसले ढुङ्गा आफैमा समेत सीमित सङ्ख्याको अविभाज्य कणादि निर्मित हुनु पर्दछ भन्ने तर्क तर्क सही रहेको पुष्टि गर्दछ।

 

प्राचीन वैशॆषिका दर्शन अनुसार सानो झ्यालको प्वालबाट आउँदै गरेको घामको किरणका सूक्ष्म कणहरू देख्न सकिन्छ। त्यो सबैभन्दा सानो अनुभूत गर्न सकिने कण (महत) हो। उक्त कण आफैमा त्र्यणुक अथवा तीन गुण युक्त (पोजिटिब, नेगेटिभ र चार्ज विहीन कणादि) सूक्ष्म कणहरू बाट बनेका छ। हरेक त्र्यणुक दुई गुण युक्त कणादिहरु संकल्पित रूपमा एक बनेको डायाड (म्याटर र एन्टी म्याटर्स कणादि) निर्मित छ।

 

यहाँ त्र्यणुक शब्दले तीन दिव्य (अलौकिक दैविक) शक्तिको संयोजनलाई जनाउँछ। सर्वशक्तिमान् ईश्वरको रचनात्मक इच्छाको कारण कणादिमा पहिलो पटक गति उत्पन्न हुन्छ। दुई कणादिको संयोजनबाट डायाडको (द्व्यणुकाय) सृजना हुन्छ। तीन डायाडको संयोजनको परिणाम स्वरूप ट्रायडको (त्र्यणुक) गठन हुन्छ। कणादिहरु अविभाज्य र अनन्त छन्। प्रत्येक कणादि सँग आफ्नै विशिष्ट चरित्र हुन्छ। ती न त सिर्जना गर्न सकिन्छ। न त नष्ट नै गर्न सकिन्छ। अनुभूत गर्न नसकिने सबैभन्दा सानो कण रुपी कणादि वाट नै समग्रमा अनुभूत गर्न सकिने सबैभन्दा सानो कण (महत) परमाणु निर्मित हुने गर्दछ।

(खाद्य तथा औषधि विज्ञ)

792Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: