मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

शून्यगुणको आत्मा इन्फिनिटी गुणको परमात्माको एक अभौतिक भाग।

आत्मा शून्य हो भने परमात्मा अनन्त:

नारायण घिमिरे

जति बेला तपाई आफै बसेको काठको कुर्ची निर्मित काठ कसरी बन्यो भन्ने सोच्नु हुन्छ त्यति वेला त्यो कुर्ची रुख निर्मित रहेको सहजै अनुमान हुन्छ। रुखले त्यो काठ कसरी बनायो त ? सहज उत्तरमा रुखले जमिन वाट लिएको पानी, मल, जल वाट काठको निर्माण गरेको धेरैको गट फिल अर्थात् मनको उत्तर भेटिने गर्दछ। जब तपाईँ आफ्नो बुद्धिमत्ताको प्रयोग गर्नु हुन्छ र के यो कुरो सही हो त भनी चिन्तन गर्नु हुन्छ तब तपाईँ फरक नतिजामा पुग्नु हुने छ। विज्ञानको सहारामा मूल्याङ्कन गर्दा सूर्यको किरणको उपस्थितिमा क्लोरोफिल भनिने हरितकणले हावामा हुने कार्बन डाइअक्साइड सोसेर लिने र जराले जमिन वाट लिने पानीको भूमिका काठ निर्माणको कारक भएको सङ्केत गर्दछ।

6CO2 +12H2O + photons ➔ C6H12O6 + 6O2 + 6H2O

(carbon dioxide + water + light energy ➔ glucose + oxygen + water)

 

दिउसोको समयमा प्राप्त हुने सूर्यको प्रकाशको उपस्थितिमा हुने प्रकाश संश्लेषणको क्रममा, हावा वाट आएको कार्बनडाइअक्साइड (CO2), माटो बाट आएको (H2O) पानी बिरुवाको हरित कणको कोष भित्र लगिन्छ र पानी अक्सिडाइज भएर अर्थात् पानीले आफ्नो इलेकट्रोनहरू गुमाउने र कार्बन डाइअक्साइडले त्यो इलेकट्रोन प्राप्ति गरेर तिनीहरू बिचको अनौठो नयाँ संयोजन तैयार गर्दछ। त्यो गठ जोडको क्रममा पानीलाई अक्सिजनमा र कार्बन डाइअक्साइडलाई ग्लुकोजमा परिणत गर्न सूर्यको किरणले मद्दत गर्दछ। यसरी मूलतः हावामा भएको कार्बन डाइअक्साइड वाट ग्लुकोज बनेको हुन्छ।

 

काठ सामान्यतया कार्बोहाइड्रेट बाट बनेको हुन्छ। साधारण सुगर देखि तिनै सुगरको जटिल संयोजन बाट काठको निर्माण सम्भव हुने गर्दछ। काठ निर्माणमा ग्लुकोज वाट स्टार्च, स्टार्च वाट सेल्युलोज बन्ने र सामान्य कार्बोहाइड्रेट भनिने यी तिनै ग्लुकोज, स्टार्च र सेल्युलोजको फरक फरक मिश्रण वाटनै काठको निर्माण हुने गर्दछ। सेल्युलोज यथार्थमा ग्लुकोजका असङ्ख्य अणुहरूको लामो चेनहरूबाट बनेको हुन्छन। ती चेनहरू अधिकांश लामो धागोको रेसाको रूपमा विकास हुँदै त्यसको अत्यन्त बलियो गरी बाटिएको संरचना सुक्दा काठको संरचनामा विकास भएको हुन्छ।

 

हावा वाट ग्लुकोज बन्ने प्रक्रिया लाई फोटोसेन्थेसिस अर्थात् सूर्यको किरण द्वारा हुने निर्माण कार्यको (संश्लेषण) चरण भनिन्छ। हरितकणको फोटो सिस्टम भनिने प्रोटिनको कम्प्लेक्समा यथार्थमा क्लोरोफिलद्वारा अवशोषित सूर्यको किरणबाट प्राप्त ऊर्जा रासायनिक ऊर्जामा परिणत हुँदै इलेकट्रोनहरू उपलब्ध गराउने काम गरिरहेको हुन्छ। यस प्रतिक्रियाको अन्तिम उत्पादनको रूपमा एटिपी (ATP) र एनएडिएचपि (NADHP) बन्दछ। जसमा उत्पादित एटिपीले प्रकाशको अनुपस्थितिमा जरुरी हुने ऊर्जा उपलब्ध गराउने गर्दछ। को कारण इलेकट्रोन चेन नियमित जारी रहन सम्भव बन्दछ।

 

एनएडिएचपिले फोटोसेन्थेसिसमा जरुरी हुने इलेकट्रोन र हाइड्रोजन नियमित उपलब्ध गराउने श्रोतको भूमिका खेल्दछ। यसरी नियमित रूपमा सूर्यको प्रकाशको शक्ति लिएर हावामा रहेको कार्बन डाइअक्साइड वाट रुख बाँच्ने र काठ बन्ने प्रक्रिया सुचारु भई रहेको हुन्छ। त्यसैको उत्पादन रुपी खाना मार्फत बिरुवा र खानको लागि अन्ततः वनस्पतिमा आश्रित हुने मानिसको समेत जीवन धानिएको हुन्छ।

 

यो तथ्यले तपाईँलाई बिरुवाले सास फेर्ने क्रमको उपजको रूपमा काठको निर्माण भएको र तपाई बसेको काठको कुर्चीको काठ मूलतः हावा बाट बनेको यकिन हुन्छ। काठ बन्ने प्रक्रियाको लागि बिरुवाले प्रमुख शक्ति सूर्यको किरण वाट प्राप्त गरेको तत्त्व बोध तपाईँ लाई तपाइकै बुद्धिमत्ता वाट प्राप्त हुन्छ। यो सबै दृष्टान्तले हाम्रो भौतिक बस्तुहरू निर्माणको क्रमको बारे अनुभूतिहरू तपाईँ हामीलाई दिने गर्दछन्।

 

सम्पूर्ण भौतिक जगतको निर्माणको कारक सूर्यको प्रकाश रहेको भन्ने वेदको सूर्य सिद्धान्तमा उल्लेखित यथार्थको तत्त्व बोध यसैमा अडिएको छ। कालान्तरमा विज्ञानको सहयोगमा त्यो बारे सहज रूपमा बुझ्ने र आफ्नै पारामा अनुभूति गरेर विश्वास गर्ने सौभाग्य हामीलाई प्राप्त भयो। भौतिक शरीरको सञ्चालनमा जरुरी हुने शक्ति उपलब्ध गराउन सूक्ष्म रूपमा नियमित सञ्चालनमा रहने रासायनिक र भौतिक पक्ष बारे ज्ञान लिन समेत यसले सहयोग गर्‍यो।

 

वेदको नजरमा सांसारिक भौतिक बस्तुहरूको संरचना र तिनको पूर्वाधारहरू कसरी सम्भव भए त्यस बारे वेदमा उल्लेखित यथार्थहरूको पक्ष निकै रोचक छ। जसरी हामी बसेको काठको कुर्ची हावा बाट बनेको हुन्छ, त्यस्तै वेदले तपाइको चेतना वा कन्ससनेसले तपाइको भौतिक शरीर निर्माण गर्ने सम्पूर्ण अभौतिक सूक्ष्म तत्त्वहरू निर्माण गरेको यकिनका साथ भन्दछ। साथै कसरी, कुन र कस्तो रोड म्याप अनुरूप त्यसरी निर्मित अभौतिक सूक्ष्म तत्त्वहरू मार्फत भौतिक सूक्ष्म तत्त्वहरू पदार्थको रूपमा निर्माण सम्भव हुन पुग्यो त्यसको विस्तृत विवरण समेत वैदिक कालिन विज्ञानको सहारामा वेदमा विवेचना भएको भेटिन्छ।

 

आजको आधुनिक विज्ञानको पारामा वेदको अवधारणालाई डि-कोडिङ गरेर गरेर भन्ने हो भने वैदिक कालिन विज्ञानको क्वान्टम मेटाफिजिक्स वारेको अभौतिक सूक्ष्म तत्त्वहरूको विस्तृत पक्ष र क्वान्टम फिजिक्समा आधारित भौतिक सूक्ष्म तत्त्वहरूको सबै पक्षको सहज व्याख्या र पुष्टि वेदमा प्रस्तुत भएको छ।

 

वैदिक कालिन समयमा क्वान्टम फिजिक्स र क्वान्टम मेटाफिजिक्सका गहिरा पक्ष बारे कुरा भएको, अङ्क गणितको शून्य र अनन्त:को (इन्फिनिटी) अवधारणा वैदिक कालमै विकास गरिएको यथार्थ कतिलाई अचम्म लाग्दो र हजम नहुने तथ्य बन्न सक्छ। तर यथार्थ यथार्थ नै हो र त्यो एक दिन प्रमाणित हुन्छ भन्ने यथार्थ आज साबित बनेको छ। वैदिक कालिन यथार्थ के हो भने क्वान्टम फिजिक्स र क्वान्टम मेटाफिजिक्सका गहिरा पक्ष तत्कालिन समयमा फिलोसोपी अन्तर्गत राखेर अध्ययन अध्यापन गराइने गरिन्थ्यो।

 

क्वान्टम फिजिक्स र क्वान्टम मेटाफिजिक्सका व्यवहारिक पक्ष वैदिक डि-कोडिङ गरेर त्यसको अन्तिम सारलाई एक ग्र्याजुएट स्तरमा (बिए-एम-एस) अध्ययन गरिने सुश्रुत, चरक आदि जस्ता संहिताहरू, निघण्टुहरू जस्तै धन्वन्तरि निघण्टु, अष्टाङ्ग निघण्टु, राजा निघण्टु, भवप्रकाश निघण्टु, सिद्ध योग सङ्ग्रह, बसवराजीयम आदिको अध्ययनमा सहजता दिन सत्त्व गुण, रजस गुण र तमस गुण जस्ता भौतिक गुणहरु तथा संरचनागत निर्माणको संयोजनमा सन्तुलन र सद्भाव (हार्मोनी) आधार निर्माण गर्ने मेटाफिजिकल गुणहरुलाई कफ, पीत र वात जस्ता त्रि-दोषमा विभक्त गरि आयुर्विज्ञानलाई सहजीकरण गरी त्यसको ज्ञान पुस्तान्तरण गर्ने उपाय सुझाइएको थियो।

 

प्राचिन वैज्ञानिकहरूको रूपमा रहेका ऋषिहरूले भौतिक शास्त्रका आधारभूत नियमहरू प्रतिपादन गर्दा त्यसलाई व्यवहारिक शब्द सत्त्व गुण, रजस गुण र तमस गुण भन्ने नाम दिए। जुन पदार्थ निर्माण गर्ने संरचनाको गुणगत पक्ष थियो। ब्रह्माण्डको पहिलो गुणको सिद्धान्तको रुपमा स्थापित उक्त सिद्धान्त सत्त्व, रजस र तमस नै थियो। कुनै बस्तु निर्माणको बारे क्वान्टम फिजिक्सको पक्षको गहिराइ वेदमा यसै भित्र समेटेर सहजीकरण र सरलीकृत गरिएको छ। जसमा सत्त्वले बुद्धिमत्ता, प्रकाश; रजसले गति, प्र-वेग (एसिलरेसन), गतिविधि (कर्म); तथा तमसले विश्राम, जडता, अन्धकार आदि वैज्ञानिक पक्षको प्रतिनिधित्व गर्दछ।

 

वैदिक अवधारणा अन्तर्गतको सिकाइमा अ, आ, ई, ई बाट सुरु भएर क ख हुँदै ज्ञ मा पुग्ने हाम्रो जीवनको ज्ञान “अ” वाट आउने अज्ञान चिर्ने प्रयास वाट सुरु भएर सानो विषयको ज्ञान प्राप्तिको “ज्ञ” मा पुगेर सकिन्छ। उता शून्य वाट सुरु हुने हाम्रो प्रयोगात्मक गणित इन्फिनिटी अर्थात् अनन्त: मा पुगेर सकिन्छ। गहिरिएर हेर्ने हो भने शून्य आफैमा समान विपरीत प्रकृतिका बस्तुहरूको गठ जोडको नतिजा हो। धनात्मक एक र ऋणात्मक एक भन्नुस् वा धनात्मक कुनै एक विशाल अङ्क र ऋणात्मक त्यही विशाल अङ्क दुवैको गठ जोड शून्य हुन्छ। शून्य वाट शून्य घटाउनुस् वा त्यसमा शून्य जोड्नुस् वा शून्यले गुणा गुणा गर्नुस् नतिजा शून्य आउँछ। जब तपाईँ शून्य लाई शून्यले भाग गर्नु हुन्छ त्यसको नतिजा त्यहाँ अनन्त: निस्कन्छ। शून्य लाई अनन्त: ले भाग गर्दा पनि नतिजा अनन्त: आउँछ।

 

शून्यलाई जति सुकै सानो वा ठुलो भौतिक अङ्कले भाग वा गुणा गर्नुस् त्यो शून्य हुन्छ। तर शून्यमा जोडिएको कुनै सकारात्मक भौतिक अङ्कमा कुनै परिवर्तन देखिँदैन। शून्यमा घटाइएको जतिसुकै मात्राको होस् नकारात्मक अङ्कले त्यो अङ्कको परिणाम आफू जति छ त्यति नै रहने गरी त्यसलाई सकारात्मक वा धनात्मक बनाइदिने गर्दछ। त्यसैले वेदले शून्य लाई आत्माको सूक्ष्म स्वरूप मान्दछ।

 

शून्य जस्तै अर्को अङ्क छ अनन्त: अर्थात् इन्फिनिटी। यो शून्य भन्दा केही फरक छ। इन्फिनिटीमा जति सुकै जोड्नुस्, घटाउनुस्, जतिसुकैले भागा गर्नुस् वा गुणा गर्नुस् त्यसको नतिजा इन्फिनिटी नै हुन्छ। यति सम्म कि इन्फिनिटी वाट इन्फिनिटी नै घटाउनुस् वा त्यसमा  इन्फिनिटी नै जोड्नुस् वा इन्फिनिटीले नै गुणा गर्नुस् वा इन्फिनिटीले भगा नै गर्नुहोस् त्यसको नतिजा इन्फिनिटी आउँछ।

 

इन्फिनिटी एउटा यस्तो विशालता हो जसको जसरी सुकै संसर्गमा आउने हरेक चिज स्वयम इन्फिनिटी बन्छ। स्वयम इन्फिनिटी समेत इन्फिनिटीमा मिसिदा वा त्यस वाट छुटिँदा इन्फिनिटीमा नै परिवर्तन हुन्छ। वेदले इन्फिनिटीलाई परमात्मा अर्थात् सम्पूर्ण आत्माहरुको सागर मान्दछ। जीवनमा हामी शून्य र अनन्त: बिचमै हराउने गर्दछौ। शून्य वाट सुरु गरिएको  जीवनको अनन्त: तर्फको यात्रा लाई आत्मा ज्ञान र अध्यात्मको यात्रा भनिन्छ। अनन्त: वास्तवमै अनन्त: रहेको बोध गरी धन्यता पूर्ण आनन्दित जीवन जिउने क्षमता  ग्रहण गर्न सफल बन्नु लाई मोक्ष प्राप्ति भनिन्छ।

 

हाम्रो जीवनमा जीवन्त शक्तिको रुपमा रहने भनिएको आत्मा शून्यको गुण बोकेको  इन्फिनिटी भित्रको एक अभौतिक तत्त्व हो। शून्यको निर्माण हुन हरेक अभौतिक  तत्त्व वा अङ्क त्यसको ठिक विपरीत स्वभावको अभौतिक  तत्त्व वा अङ्कको सामूहिक जोडको चेतना बोकेको हुनु अनिवार्य छ। त्यस्तो गठ जोडले दुई पारस्परिक विपरीत ध्रुवको द्वन्द्वात्मक शक्तिको अस्तित्व लाई एक सन्तुलित द्वैत अस्तित्वमा ल्याएर सक्रिय अस्तित्वहरू लाई निश्चित हार्मोनिमा सञ्चालन हुन सहज पारिदिन्छ।

 

जसरी हाम्रा संरचनाका भौतिक कण र अङ्ग प्रत्यङ्गहरू क्वान्टम फिजिक्सको सिद्धान्त निर्मित हुन्छ त्यस्तै हाम्रा अभौतिक अवयवहरुको निर्माण र गठ जोड क्वान्टम मेटाफिजिक्सको नियम अनुरूप भएका हुन्छन्। विज्ञानको हालको क्षमताको परिधि बाहिर रहेको कतिपय त्यस्ता क्वान्टम मेटाफिजिक्सको विषय बस्तुहरू वेदमा उल्लेखित वैदिक सिद्धान्तहरूको सहारा वाट सहजता पूर्वक बुझ्न सकिन्छ। यस लेख पछि प्रकाशन हुने अर्को लेखमा क्वान्टम मेटाफिजिक्स र क्वान्टम फिजिक्समा आधारित वेदमा उल्लेखित विस्तृत पक्षको सार प्रस्तुत गरिने छ।

 

(प्रस्तुत लेखका लेखक खाद्य तथा औषधि विज्ञ घिमिरे हाल क्वान्टम मेटाफिजिक्समा विद्यावारिधि गरिरहेका छन्)

(ई-कागज वाट साभार)

17Shares

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE

%d bloggers like this: