गाँजा खेती तत्काल कानुनी गर्न नसक्दा राज्यले ठुलो अवसर गुमाउने निश्चित।
गाँजाको तत्काल गैर–अपराधीकरण गर।
नारायण घिमिरे
आज संसार भरमा झन्डै ३.८ प्रतिसत प्रतिशत भन्दा धेरैले गाँजा प्रतिबन्ध गरियोस वा नगरियोस त्यसको पूर्ण बेवास्ता गर्दै गाँजाको नियमित वा सामाजिक पर्वहरूमा वा सामाजिक भेटघाटहरूमा गाँजा सेवन गर्ने अवस्था रहेको संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क छ। नेपालमा गाँजाले अन्य उद्योग धन्दाले भन्दा चाँडो कम खर्चमा रोजगारी सिर्जना गर्ने छ। खेर गइरहेका जमिनमा सम्भव हुने गाँजाको उब्जनी युवाहरूको उच्च आकर्षण विषय बन्ने छ। प्रयोगशालामा भएको १० हजारभन्दा धेरै अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थबाट बनेको जसमा सयभन्दा बढी त औषधीय क्यानाबिनोइड रहने प्रमाणित गरिदिएको छ । आज अन्दाजी ७ सयभन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने तथा हजारौँ हजार औषधिहरूमा उपयोग हुने अवस्था आएको छ ।
औषधि बाहेक मालिस गर्ने क्रिम, तेलहरू, कस्मेटिकलगायत मनोरञ्जनात्मक गैर-औषधीय पदार्थ धूमपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिङ्कमा आदि समेतमा गाँजा उपयोगमा आउन थालेको छ । निकै छिट्टै संसारभर गाँजा रक्सीजस्तै नियन्त्रित तर खुला बिक्रीवितरण हुने पदार्थ बन्दै छ। नेपालमा गाँजा खेती गर्न र प्रशोधन गर्न कानुनी स्वीकृति दिनुले संसारमा हुने मध्येको उच्च गुणस्तरमा नेपालमा उत्पादन हुने गाँजाको आफ्नो प्राविधिक र आर्थिक हैसियत अनुसारको नेपालले फाइदा उठाउन सक्ने छ। जस्तै: गाँजाको कोपिला, पात, ड़ाठ, जरा र चोप तथा तिनीहरूको एक्सट्रेक, चूर्ण, लोक्ता, सिठा तथा तरल र ठोस उत्पादन बेच्ने, गाँजाको बिरुवा, बिउ, कलमी गरेको बिरुवा, हाइब्रिड बिरुवा आदि बेच्ने।
मुलुककै दुर्भाग्य मान्नु पर्दछ जति बेला आधुनिक औषधि विज्ञानले आफ्नो दशौँ हजार परीक्षणहरू बाट शताब्दियौं अघि वेद र आयुर्वेदमा लेखिएका तथ्यहरु सत्य रहेको प्रमाणित गरी कानुनी रूपमै औषधीय र मनोरञ्जनात्मक प्रयोजनमा गाँजा ल्याई रहदा नेपालमा भने गाँजाको खेती र कारोबारी लाई तस्करी ठानी पुलिस प्रशासनले नियन्त्रण गरिरहेको छ। राजनैतिक रूपमा सक्रिय रहेका मुलुकका नेतागणहरू लाई ग्रामिण किसान र गरिव जनताहरुको पीडाबोध हुन सकिरहेको छैन।
धार्मिक सस्कृतीमा गाँजा सेवन जोडिएको नेपाल जस्तो मुलुकमा आफ्नो जीवनमा कम्तीमा एक पटक गाँजा सेवन गरेको मानिसहरुको सङ्ख्या उल्लेखनीय रूपमा निकै धरै रहनु कुनै अचम्मको विषय रहेन। जसका कारणले नेपालमा गाँजाको नियन्त्रणमा अथाह धनराशि खर्च हुने, गाँजाको कारोबार कै कारण पुलिस र स्थानीय नेताहरू भ्रष्ट बन्ने तथा मात्र निजी रिसिबी साध्ने नियतले पुलिस प्रशासनले आफूलाई रिस उठेको पात्रलाई कानुनीरुपमा निषेधित लागूपदार्थ सेवन गरेको कसुरमा फसाएर प्रतिशोध साध्ने अवस्था बिधमान रहेको देखिन्छ। नेपालमा आज पनि गाँजा जन्य चिज मिली बनेका औषधी पनि लागु औषधकै श्रेणीमा पर्छन् । त्यसको अर्थ गाँजा प्रयोग हुने १९१ भन्दा बढी प्राचीन आयुर्वेदिक औषधी सेवन गरिरहेका बिरामी, जोखिमपूर्ण छारे रोगको औषधी सेवन गर्दै गरेका बालबालिका, क्यान्सरको रोगबाट मुक्ति पाउन घर र अस्पतालमा चरम दर्द घटाउने औषधी र पेन किलरका रुपमा गाँजाको तेलको मालिस लिइरहेका आफन्त, युद्ध वा यातनापूर्ण कारबाहीको दर्द घटाउन गाँजाको प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडित मानिसलाई समेत लागुऔषध नियन्त्रण ऐन, २०३३ ले अपराधी करार गरिरहेको छ। गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध छ। प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास समेत गरिरहेको छ।
२०१९ मा प्रकाशित बिश्वो ड्रग रिपोर्ट अनुसार २०१७ मा संसारमा ५०१९ टन सुकेको गाँजा, ११६१ टन चरेस, ९-टन केटामाइन ३.५ टन गाँजाको नसादायक हेलोसिनोजिन उत्पादन भएको र १८८ मिलियनले गाँजा सेवन गर्ने गरेको भेटियो। जसमा विगत वर्ष भन्दा २०१७ मा सुकेको गाँजाको सेवन गर्ने ७% ले बढेको हुँदाहुँदै नसादायक हेलोसिनोजिन खानेहरू सात गुनाले बढेको देखिन्थ्यो। अर्को तर्फ केटामाइन खाने ३४% र चरेस लगायतका गाँजाको रेजिन सेवन गर्नेहरू ३१% ले घटेको डाटा छ।
संसारभर भएका वैज्ञानिक अध्यनहरुको निष्कर्ष, गाँजालाई गैर अपराधीकरण गरी औषधि तथा मनोरञ्जन पूर्ण काममा खुला गरिएका देशको अनुभव बारे गरिएको अनुसन्धानको निचोडहरूले के भन्दछ त्यसको सामान्य पुनरावलोकन समेत नगरी अनुमानका भरमा नेपालमा आज पनि कति मान्छे र पूर्व प्रहरी प्रशासकहरू लगायत तत्कालीन अनुशन्धानहरुको बिना अध्ययन मात्र प्राक्टिसमा लिन भएका सीमित मेडिकल डाक्टरहरू आदि समेत हचुवामै नेपालजस्तो देशमा गाँजा, चरेस खुला गर्दा दुर्व्यसनी बढ्छ, मुलुक बस्न लायकै रहँदैन त्यसैले यसको प्रतिबन्ध झन् कडा रूपमा हुनुपर्दछ समेत भन्न भ्याएको समेत भेटिएका छन्। समाजका कतिपय सिधा सादा वर्गमा तिनकै कुराले हो कि त भन्ने भ्रममा समेत परेको यथार्थता हामी सँग छ।अनुसन्धानबाट भने रक्सी र सुर्तीभन्दा गाँजा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ। प्रस्ट रूपमा भन्दा विभिन्न अनुशन्धानहरुले चुरोट, रक्सीभन्दा गाँजा सेवन हजारौँ गुना उत्तम रहेको निचोडमा पुगेको भेटिन्छ।
इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सका अनुसार आनन्दका लागि सुर्ती खाने सिकारुमा ३२ प्रतिशत सुर्तीको अम्मली बनेको भेटियो। रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो। गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजाको वास्तविक अम्मली बन्ने गरेको पाइयो। अन्य अनुसन्धानमा सुर्ती वा रक्सी धेरै खाएर मान्छेको मृत्यु भएको पाइए पनि गाँजा धेरै खाएर कसैको मृत्यु भएको रेकर्ड भेटिएन। उल्टै गाँजा प्रतिबन्ध लगाउँदा वास्तविक तथ्यका आधारमा भन्दा भावनात्मक प्रभावमा बहेर यसको असरबारे निकै बढाइचढाइ गरिएको यथार्थ बाहिरियो। अनुसन्धानले गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सुर्ती र रक्सी लगायत अन्य अम्मलभन्दा अत्यन्त कम रहेको पनि प्रमाणित गरिदियो। गाँजा प्रयोगकर्ता रक्सीका अम्मलीजस्तो सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको पनि खासै भेटिएन।
यथार्थमा आज रक्सी र सुर्तीभन्दा धेरै सुरक्षित प्रमाणित भएको छ गाँजा। हामीकहाँ भने रक्सी र सुर्ती अपराध नियन्त्रण अभिभारा पाएको निकायकै कार्यालयमा विभिन्न पार्टी र सम्मेलनको नाममा आरामले चल्दै आएको छ। ती अम्मलहरू भन्दा हजारौँ गुणा किफायती औषधीय मूल्यको गाँजा कसैले रोपेको वा कुरा मात्रै गरेको भेटे तिनै निकायका प्रमुख हरू मानिसको पता फर्काउन र गोर्खे लौरी लगाउन पाउँदा आफू मुलुकको सेवक बनेको भ्रममा मक्ख बन्दछन्। नेपाल कम हानिकारक वस्तु सेवन अपराधीकरणमा हुने तर बढी हानिकारक रक्सी, चुरोट र सुर्ती जस्ता अम्मल सम्भ्रान्त वर्गको सान ठानिने सुकुलगुन्डा तन्त्रले राज गरेको मुलुक बनेको छ।
आयुर्वेदमा १३ फरक डोजेज फर्ममा १९१ (आन्तरिक १८७ फर्मुला र बाहिरी ४ फर्मुला) भन्दा धेरै ओखतीहरूमा गाँजाको प्रयोग भएको भेटिन्छ। त्यसमा पनि मुख्य तय १११ हर्बल -मिनिरल – मेटल हाली बन्ने प्रकृतिका रस प्रकृतिका ओखती, ३० थरी ट्याब्लेट वा गुटिका, १७ थरी पाउडर वा चुर्ण, ०९ थरी मिठाई जस्तो अवलेह, ४ थरी रक्सी – तेल मिश्रित अश्म, ०३ थरी डिकोकसन मतलब कभाथा र ग्रथ, एक अल्कोहोलिक वा अरिस्ट, एक मोदका वा बोलस, एक सत्तावा (एसेंस), एक लौह (फलाममा आधारित) तथा अन्य उत्पादनहरू भएका देखिन्छन।
गाँजा ओखतीको रूपमा प्रयोग गर्दा सफा गरेर वा शुद्धीकरण पश्चात् मात्र प्रयोग हुने गर्थ्यो। जसमा मुलत तिन विधि अपनाउने गरिन्थ्यो। पहिलोमा गाँजाको पातलाइ सिरकको खोल हुने मस्लिमक्लथ कपडाले बाँधेर पानीमा हरियो नआउन्जेल हातले मिची मिची (पात नभत्कने गरी) सफा गरिन्थ्यो।त्यसपछि घाम नभएको ओझेलमा राखी सुकाएर सुकेपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो।
दोस्रो तारिकमा गाँजाको पातलाइ पानीमा सफा गरिन्थ्यो, हातले दबाएर पनि तारे पछि सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउमा भुटिन्थ्यो। घिउमा भुटिएको गाँजा त्यसपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो। तेस्रो तारिकमा गाँजाको पातलाइ लगभग तिन घण्टा गाइको दूधमा डुबाएर यसमा हुने स-साना बैजनी पदार्थ हटाइन्थ्यो र त्यसपछि पानीले सफा गरिन्थ्यो। जसलाई सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउमा भुटिन्थ्यो। घिउमा भुटिएको दूध पानी मा नुहाएको (सभेदाना वा फोमेन्टेसन) गाँजा त्यसपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो। चौथो तरिकामा खयरको बोक्रा लाई ३०-४० मिनेट पानीमा उम्लेर बनेको पनि (डिकोक्सन) मा मनतातो अवस्थामा गाँजाको पातलाइ लगभग १२ मिनेट जति भिजाएर सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउसँग मिसाएर पाउडर वा चुर्ण बनाइन्थ्यो। घिउसहितको सुकेको गाँजाको पाउडर ओखतीमा हाल्न तैयारी चुर्ण बन्दथ्यो।
परम्परागत रूपमा गाँजा रहेको ओखतीमा गाँजा हाल्न यसरी तैयारी हुने गर्थ्यो। आज मर्करी अथवा पारो र कतिपय हेभी मेटल जस्तै फलाम आदिको खरानी आदि ओखतीमा हाल्नुको स्वास्थ्यको फाइदा थाहा हुन नसकेको तर तिनीहरू हानिकारक बनेका केही प्रमाणहरू देखिएकाले स्वास्थ्यको हित हुने निश्चित नभएको पदार्थ छोडेर अन्य पदार्थ वाट हाम्रो परम्परागत औषधि विज्ञान र आधुनिक औषधि विज्ञानको ज्ञान मिलाएर आज हामीलाई नयाँ मानव कल्याण गर्ने स्वस्थ वर्धक ओखती र पूरक खाना निर्माण गर्ने क्षमता प्राप्त भएको छ। यो अवसर लाई समयमै सदुपयोग गर्न जरुरी देखिन्छ।
आज नेपालमा गाँजालाई गैर अपराधीकरण गर्नको लागि समय परिपक्व बनिसकेको छ। बिश्वो ड्रग रिपोर्ट २०१९ को डाटाको आधारमा नेपालले गाँजा खेती बाट सम्भव हुने प्रभावकारी मुनाफा र प्रतिफल लिन एकातर्फ स्तरीय गाँजा उत्पादनमा जोड दिन जरुरी छ। अर्को तर्फ कार्बनडाई अक्साइड प्रयोग गरी गाँजाको सार तत्त्व निकालिने अहिले सम्म कै सबैभन्दा ग्रिन तथा अर्गानिक प्रविधि सुपर क्रिटिकल एक्सट्रेक्सन प्रोसोधन अवलम्बन गर्न अनिबार्य देखिन्छ।
हाल औद्योगिक स्तरमा सुपर क्रिटिकल एक्सट्रेक्सन प्रोसोधन प्रविधिमा काम गर्ने प्लान्टको सुरुको मूल्य सवा तिन करोड देखि चार करोडको हाराहारीमा पर्ने गर्छ। नेपाल जस्ता मुलुकले यस्ता आधुनिक प्रविधिका मेसिनहरू खरिदमा अन्य मुलुकले जस्तो ८०-८५ % सम्म उद्योग हरूलाई मेसिन खरिदमै अनुदान, मेसिन आयातमा कर छुट हुने गरी वास्तविक नेपाली उद्यमीको हातमा यो उच्च प्रविधि र आधुनिक उधम्सिलता पुर्याउन जरुरी छ।
नेपाल गाँजा जस्ता आफ्नै रैथाने संसारमै पाइने मध्येका उत्कृष्ट गुणस्तरका सार तत्त्व दिने लगभग ७ हजार हर्बलहरूको सुन्दर स्थान हो। नेपालका डाँडा पखेरामा असरल्ल फालिएर बसेका ती औषधीय र सुगन्ध दिने वनस्पति मध्ये झन्डै ३०० गाँजा जस्तै जताततै सजिलै हुने पाइन्छ। जस्तै क्यान्सरको ओखती बन्ने तिते पाती, डिप्रेसन र एञ्जाइटिको ओखती बन्ने घोड-टाप्रे, काउसो, कण्टकारी, असुरो, बेथे, मेपल फ्लेभर सिरप बन्ने मेथी र टाप्रे, लिकोराइस भनिने जेठी मधु आदि। गाँजा जस्ता बस्तुहरू कानुनी रूपमा प्रशोधन हुँदा गाँजा प्रशोधन प्रक्रियाको तापक्रम र प्रेसर मात्रमा सामान्य हेरफेर गरी हाल कमर्सियल स्केलमा उत्पादन नभई रहेका अन्य ३०० भन्दा धेरै उच्च मूल्यका जडीबुटीको पनि प्रशोधन र वजरिकरणले मुलुकको कायापलट गर्ने छ।
नेपालले वैधानिक रूपमा गाँजा खुला गर्न आफ्नो आन्तरिक कानुन संशोधन गर्नुपर्छ। दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बागलुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रुपन्देही, नवलपरासी, चितवन, सुर्खेत लगायत जिल्लामा किसानहरूको जीविकोपार्जन सहज गर्न र सरकारले जनताको लागि केही गर्छ भन्ने सन्देश दिन पनि वर्तमान सरकारले तुरुन्त अध्यादेश मार्फत नेपालमा औषधीय प्रयोजनको लागि गाँजा प्रयोग गर्न तथा विदेशमा निर्यात गर्ने सन्दर्भमा भने औषधीय, खाद्य तथा मनोरञ्जनको लागि समेत गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातमा गैर–अपराधीकरण गर्न जरुरी छ।
संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट औषधीय प्रयोजनको लागि प्रयोग गर्न छुट हुने गरी गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातलाई गैर–अपराधीकरण गतिविधि करार गरी जोखिमपूर्ण नार्कोटिक ड्रग्सको सूचीबाट हटाइ सकेको छ। नेपालले त्यस वाट फाइदा लिन तुरुन्तै अध्यादेश ल्याएर गाँजाजन्य कारोबार गैर–अपराधीकरण गर्ने र सो को जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ। नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए पनि नेपालले भने गाँजाजन्य औषधिमा समेत बन्देज लगाउने गरी हस्ताक्षर गरेको छ। जुन नेपाली किसान माथि गाम्बिर अपराध थियो। हरेक जन उत्तरदायी सरकारको विगतको गलत निर्णयका कारण हुन गएको जनता माथिको घात तुरुन्त सच्याउनु नैतिक र राजनैतिक जिम्मेवारी रहेकाले यो घातलाई तुरुन्त सच्चाएर अरू क्षति हुन वाट मुलुकलाई जोगाउन तुरुन्त अध्यादेश आउन जरुरी देखिएको हो।
विगतको गाम्बिर जनघाती निर्णयका कारण हाम्रा छिमेकहरूमा औषधीय प्रयोजनमा कहिल्यै प्रतिबन्ध नभएको गाँजा हाम्रो मुलुकमा सधै प्रतिबन्धित रहयो। मुलुक भित्र गाँजाजन्य औषधी बनाउन समेत गाँजाको खेती गरी व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातमा गैर–अपराधीकरण गर्न सकिएन। यसलाई सच्चाउन औपचारिक रूपले कानुन वनाएर गाँजाको वैधानिक उत्पादन, प्रशोधन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो नेपालले पनि पछ्याउनु निकै ढिलो भई सकेको छ। मान्नुस नमान्नुस् नेपालले हिजै मुख्यतः दुई उद्देश्य लाई प्राथमिकतामा राखेर गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन, प्रयोग, बेचबिखन तथा निर्यात कार्य लाई गैर–अपराधीकरण गरी वैध बनाउन जरुरी थियो।
पहिलो, गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने। गाँजाले समाजमा पुर्याउन सक्ने सामाजिक विकृतिको नियन्त्रण गर्ने, यसका मानवीय फाइदाका गुणहरू बाट नेपाली समाज र विश्वलाई लाभ पुर्याउने। तस्करीमा हुने गरेको रकमको विनिमय तस्करी उन्मुलन मार्फत आयकरको दायरामा ल्याएर मुलुकको आम्दानी सुनिश्चित गर्ने। दोस्रो, किशोर किशोरीमा यसको उपलब्धता वा पहुँच घटाएर शून्य प्रायः बनाउने । अर्थात औषधिको प्रयोजनबाहेक मनोरञ्जन वा नसाका रूपमा युवा अवस्थाका किशोर किशोरीहरूको उपलब्धता वा पहुँच पूर्ण नियन्त्रण गर्ने । गैर कानुनी हुँदा युवा वर्गमा बढ्ने दुर्व्यब्सनीको हद घटाएर युवाको हातमा लुकी लुकी चिलिम का चिलिम गाँजा पुग्ने स्थितिको अन्त गर्ने।
जब कानुनबाट नै संरक्षण प्राप्त हुने गरी नियन्त्रित रूपमा गाँजा खेती सुरु गरिन्छ तब यो क्षेत्रमा नयाँ प्रविधि र सीप हस्तान्तरण गर्न सम्भव बन्छ। यसका प्रशोधन, गाँजायुक्त औषधि, गाँजाजन्य खाद्य तथा पेय र धूम्रपान, ई भेप जस्ता उद्योगको स्थापना हुन्छ। मुलुक भित्रै विविध क्षेत्रका उत्पादन मुलुक संस्कार भित्रन्छ। ग्रामीण क्षेत्र केन्द्रित हुने नव-प्रवर्तनिय संस्कारका विकासका कारण कम्पनीहरू आफैले संसारको माग पूर्ति गर्ने धेरै इनोभेटिब प्रविधि र फर्मुलेसनहरू समेत विकास गर्न सफल बन्छन। त्यसको लागि धेरै कुर्न सकिने अवस्था आज विद्यमान छैन। समयमै हिरा फोर्न र परिस्थिति जन्य समयको सदुपयोग गरी मुलुकको संवृद्धिका लागि तुरुन्त अध्यादेश ल्याएर नेपाललाई आफ्नो आन्तरिक कानुन संशोधन गरी गाँजा कारोबार गैर–अपराधीकरणको बाटो सरकारले तुरुन्त अवलम्बन गरोस।
WRITE COMMENTS FOR THIS ARTICLE