मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कोरोना वार्ता: खोप उत्कृष्ट छ। भान्साको जडीबुटी पनि नबिर्सौँ।

लेखक-पत्रकार राजकुमार बानियाँले कोरोना महामारी, खोपको विकास अनि आयुर्वेदिक र एलोपेथिक उपचार पद्धतिबारे सर्वसाधारणको मनका केही जिज्ञासा राखेका छन्, प्रभावशाली वैज्ञानिक नारायण घिमिरेलाई ।

१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन्। उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन् ।

 

कोरोनाभाइरसविरुद्ध लड्न औषधि विज्ञान कतिको सफल भएको मान्नु हुन्छ ?

सबैभन्दा पहिले के नबिर्सौं भने हामी मानव हौं । हामीलाई हाम्रो वरपरको सृष्टिका तथ्यबारे अत्यन्त थोरै यथार्थहरूको ज्ञान छ। हामी कतिपय त ईश्वर सर्वज्ञानी रहेको र सर्वज्ञानी ब्रह्माले ४.३ बिलियन वर्ष आयु रहेको पृथ्वीको सृष्टि गरेको ठान्ने गर्दछौं । सूर्य सिद्धान्त अनुरूप पृथ्वीलाई आजको रूपसम्म विकसित गर्न स्वयं सर्वज्ञानी ब्रह्मालाई १.९५ अर्ब वर्ष लागेको हिसाब निकाल्दछौं। कोरोनाले आतङ्क मच्चाएको एक वर्षको अन्तरालमा कोरोनाभाइरस विरुद्धको खोप बनी तपाईं हाम्रो पाखुरामा हाल्न पाउनुलाई म सफलता मात्र हैन, चमत्कार नै ठान्दछु । त्यो पनि यति ठूलो प्रभावकारिता र लगभग शून्य साइड इफेक्टसहित ।

 

भाइरसको विरुद्ध औषधि विज्ञान क्षेत्र अन्तर्गतको आयुर्वेदिक र एलोपेथिक चिकित्सा दुवै ओखती हैन, सुईको माध्यमबाट मानव जीवनको सुरक्षा गर्न सफल भएको छ । यसको पछाडि अत्यन्त गहिरो कारणहरु छन्। सामान्यतयः तपाईंलाई दैनिक तिन पटक भोक लाग्दछ । तपाईंको भोक लाग्ने समस्या समाधानार्थ यदि नियमित खाना बाहिरबाट दिने उपाय रोजियो भने तपाईंको जीवन पद्धति दिक्कलाग्दो मात्र हुँदैन, एकातर्फ महँगो, अर्कोतर्फ ‘म माग्छु गुन्द्रुक, सासू दिन्छिन्’ सागको हालतमा पुर्‍याइदिन्छ । उच्च सन्तुष्टि समेत कायम रहन सक्दैन ।

 

दैनिक खाना दिनुको सट्टा तपाईंलाई खाना पकाउने टेक्निक र प्रविधि सिकाउन सकियो भने तपाईं आफूलाई चाहेका बेला चाहेको कुरा बनाएर खान सक्नु हुन्छ । त्यसो गर्दा तुलनात्मक रूपमा सन्तुष्टिको हद मात्र बढ्दैन, किफायती, व्यावहारिक र प्रभावकारी समेत बन्दछ । सबैभन्दा ठूलो राहत दैनिकको खाना आफ्नो स्वतन्त्र इच्छा अनुरूप खाने स्वच्छन्दता प्राप्त हुन्छ ।

 

संक्रमणकारी भाइरसको उपचारमा ओखतीभन्दा सुईको विकल्प उत्तम हुनुमा यस्तै यस्तै अवस्थाको समेत भूमिका रहेको छ ।

 

हुन त हालसम्म कोरोना भाइरसको न त आयुर्वेदिक न त एलोपेथिक औषधि नै बनेको छ । कथम् आज ओखती बनेकै अवस्थामा हामी भएको भए तापनि द्रुत गतिमा आफ्नो प्रजाति बदल्ने क्षमता राख्ने भाइरसलाई नियमित ओखती दिने प्रक्रिया सामान्य हुने थिएन ।

 

त्यसको बदलामा वर्षको एक पटक शरीरको प्रतिरक्षामा काम गर्ने इम्युन सेलहरूलाई कोरोनाको संक्रमणविरुद्ध कसरी लड्ने भन्ने तालिम दिएर सक्षम बनाउने हालको खोप प्रविधि अत्यन्त कम कष्टकर, कम खर्चिलो र प्रभावकारी देखिएको छ ।

 

आज औषधि विज्ञानले त्यो सक्षमता प्राप्त गरेकाले प्रगति सन्तोषजनक मानेको हुँ । खोप बनिसके पछिको समस्या वैज्ञानिक रहेन। मात्र जनस्तरमा खोपको उपलब्धताको जस्ता प्राविधिक पक्ष बाँकी रहे। त्यो व्यवस्थापकीय प्रकृतिको समस्या हो। जुन केही समय लाग्ने तर निश्चित रूपमा सुल्झाउन सकिने कुरा भयो।

 

कोरोना भाइरसको खोपजस्तो सहजै किन ओखती बन्न सकेन ?

 

कोरोनाको मात्र हैन, सामान्य भाइरसको कारण हुने रुघाखोकीको उपचारमा समेत आजको आयुर्वेद भन्नुस् वा एलोपेथिक उपचार पद्धतिले गरिरहेको उपचार भनेको सहयोगी हेरचाह मात्र हो । उपचाका क्रममा गरिने सहयोगी हेरचाह योजना अन्तर्गतको उपचार पद्धतिले मानिसको जिन्दगी बचाउन सक्दछ भन्ने निश्चित नभए पनि प्रभावकारी भने हुने गरेको अनुभव चिकित्सा क्षेत्रसँग छ ।

 

किनकि यसले एकातर्फ शरीरको तत्कालीन युद्ध लड्न जरुरत भएको भौतिक र जैविक आवश्यकताहरू पूर्ति गरिरहेको हुन्छ । मनोबैज्ञानिक तर्फ आफ्नो युद्धमा सहयोगी हातहरू देख्दा रोगीको मनले पाउने भरोसा, आश्वासन र बिकल्पहरु उसको आत्मबल ह्वात्तै बढाउन सफल बनिदिन्छ। अनुभवी विषयविज्ञहरू मेरो सहयोगमा छन्, अब यिनीहरूले मलाई कम्तीमा मर्न दिने छैनन् भन्ने विश्वास बिरामीमा जागृत हुन पुग्दा इम्युन सिस्टमको रोग प्रतिरोधी क्षमतामा अकल्पनीय सुधार आएको महसुस गर्न पाइन्छ।

 

सहयोगी हेरचाह योजना अन्तर्गतको उपचार पद्धतिअन्तर्गत यथार्थमा संक्रमणकारी भाइरसलाई सीधै मारिदिने कुनै ओखती संलग्न भएका हुँदैनन् । अधिक भाइरसहरूको उपचारको समयमा हुने जस्तैः कोरोना भाइरस विरुद्धको उपचारमा समेत भाइरसलाई प्रत्यक्ष आक्रमण गर्ने र मारिदिने खुबी भएको कुनै औषधि समावेश गरिएको हुँदैन। त्यसको स्थानमा संक्रमणले तत्काल विकास गरेको लक्षणहरूको उपचार गर्दै मानवको प्रतिरक्षा प्रणालीलाईनै भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न पर्याप्त समय उपलब्ध गराउन हर सम्भव कोसिस गरिएको हुन्छ ।

 

आज भाइरसविरुद्ध प्रभावकारी ओखतीहरू विकास नहुनुको पछाडि धेरै हदमा जीवविज्ञानको जटिलता र केही हदमा यसमा लाग्ने खर्च समेत कारक बनेको देखिन्छ । हुन त औषधि कम्पनीहरूले विगत केही दशकहरूमा एचआइभी र फ्लुजस्ता भाइरसहरूको उपचारमा औषधिहरूको विकास गरेको छ ।

 

जसरी ब्याक्टेरियाहरूको उपचारका एन्टिबायोटिकहरूको विकास गर्ने तरिका प्रभावकारी रह्यो, त्यसको तुलनामा भाइरसविरुद्ध लड्ने ओखतीहरू अर्थपूर्ण र प्रभावकारी रहन सकेनन्। भाइरस ब्याक्टेरियाभन्दा धेरै अर्थमा पृथक् रहेकाले ब्याक्टेरियाहरूको उपचारमा प्रयोग हुने एन्टिबायोटिकहरूले भाइरसको नियन्त्रणमा सहयोग गर्न आशा गरिएको थिएन । यथार्थमा गर्न पनि सकेन ।

 

संरचनागत रूपमा हेर्दा भाइरस एक जीवित पार्टिकल हैन, न त पूरा मृत पदार्थ नै । मानव कोशिका भित्रको मेसिनरीमा पूर्ण निर्भर रहने गरी यसले आफ्नो सङ्ख्या वृद्धि गर्ने गर्दछ। भाइरस हानिकारक प्रकृतिको परेमा वितण्डा मच्चाउँछ।

 

रोग लाग्दा ओखती प्रयोग गरी भाइरस मार्नका लागि त्यसको जीवन चक्रको कुनै न कुनै भागलाई लक्षित गरी औषधिको विकास गर्न अनिवार्य हुन्छ। बिरामीको रोग निको होस् तर उपचारका कारण बिरामीको स्वस्थ झन् बिग्रने स्थिति नरहोस् भन्ने लक्ष्य रहेको उपचार पद्धति विकास गरिनुपर्छ। यसको लागी भाइरसको कुनै निश्चित गतिविधि जुन भाइरसले मात्र गरिरहेको हुन्छ त्यो लोकेट गर्नु पर्दछ। यसरी उपयुक्त बिन्दु पहिचान गरी त्यसैमा हिर्काउने नियतको ओखतीको विकास जरुरी पर्छ।

 

कोरोना भाइरस विरुद्धको उपचारको ओखती बनाउन भाइरस मात्रको एकल गतिविधिको बिन्दु लोकेट गर्न र उक्त बिन्दुमा भाइरसलाई मात्र एक्लाएर ठोक्ने क्षमताको ओखती पहिचान गरी विकास गर्न कठिनाइ परिरहेको छ। कतिपय पहिचान भएका ओखतीहरू जरुरतको स्तरमा प्रभावकारी हुन नसक्नु भाइरस विरुद्ध ओखती बन्न नसक्नुको मुख्य कारण बनिदिएको छ। कतिपय निर्माण गरिएका त्यस्ता औषधिहरू परीक्षणमा टार्गेट गरिएको भाइरसलाई भन्दा बिरामीको सेललाई अत्यधिक धेरै हानि पुर्‍याइरहेको भेटिएको आयुर्वेदिक र एलोपेथिक औषधि विज्ञानको अनुभव छ ।

 

कतिपय अवस्थामा फरक फरक भाइरसहरूले प्रयोग गर्ने केही इन्जाइमहरू मानिसका इन्जाइमहरू भन्दा फरक प्रकृतिको भेटिएको छ । त्यो अवसरलाई उपयोग गर्ने गरी विकास गरिएको औषधिहरू परीक्षणमा बिरामीलाई हानि नगरी लक्षित भाइरसहरूले प्रयोग गर्ने इन्जाइमहरूलाई मात्र टार्गेट गरी नियन्त्रण गर्न सफल भएको छ। जस्तैः एचआइभीविरुद्ध काम गर्ने एन्टिभाइरल ड्रग्स। भाइरसको इन्जाइमहरूलाई टार्गेट गरी बनेका उक्त प्रकारका ओखतीहरू भाइरसलाई मार्ने वा भाइरसलाई शरीर बाहिर हटाउने क्षमताको नभएर भाइरसको सङ्ख्या वृद्धिमा केही हदसम्म नियन्त्रणमा राख्न मात्र सफल बनेकाले कोरोनाको हकमा खासै प्रभावकारी हुन सकेको छैन।

 

भाइरसको नियन्त्रण गर्ने औषधिको विकास गर्ने क्रममा आइलागेको हदैसम्मको जटिल अर्को समस्या भाइरसको अधिक विविधताको गुण रहेको छ। जस्तैः ब्याक्टेरियाको औषधिको विकासको सन्दर्भमा कम्तीमा टाढाबाट भए पनि प्रायः ब्याक्टेरियाहरू एक अर्कासँग कुनै न कुनै रूपमा सम्बन्धित भेटिन्छन। एक अर्का बिच केही साझा विशेषताहरू बोकेका हुन्छन्। जस्तै प्रायः सबै नै ब्याक्टेरियाहरूको सेल वाल हुने गर्दछ । जब हामीले ब्याक्टेरियाको सेल वाल भत्काएर त्यसलाई ठेगान लगाउन सक्ने औषधिको विकास गर्न सक्छौं, तब एउटा ब्याक्टेरिया तह लगाउन बनाएको ओखती काममा आएको ओखती अर्को प्रकारको ब्याक्टेरिया तह लगाउन समेत काममा आउने अधिक सम्भावना हुन्छ।

 

बनाएको ओखती अर्को ब्याक्टेरिया तह लगाउन सक्षम नभएको अवस्थामा धेरै जसो फर्मुलेसनमा सामान्य हेराफेरीबाट अर्को प्रकारको ब्याक्टेरिया तह लगाउन सक्षम बनाउन सम्भव हुने गर्दछ। यही कारणबाट ब्रोड-स्पेक्ट्रम एन्टिबायोटिक बनाउन सफलता हासिल भएको हो। ब्रोड-स्पेक्ट्रम एन्टिबायोटिकको अधिक दुरुपयोगबाट एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरियाहरू विकास भएका छन् । तर तिनीहरूको विरुद्ध प्रभावकारी ओखती बनाउन समेत प्रायः त्यस्तो महाभारत आइलाग्ने स्थिति बिरलै रहन्छ।

 

भाइरसको हकमा भने एउटा भाइरसको प्रजाति अर्को वर्गको भाइरस भन्दा मौलिक रूपमै फरक रहन्छन् । यतिसम्म कि कुनैले आनुवांशिक कोडको रूपमा आरएनए प्रयोग गर्दछन् भने कुनैले डिएनए प्रयोग गरेको भेटिन्छ । कुनैमा बाहिरी तहमा एउटा खामजस्तो घेराले घेरिएको संरचना निर्मित हुन्छन् भने कुनैमा उक्त खाम नै नहुने समेत हुन्छ । यस्तो विविधताको स्थितिमा हरेक असम्बन्धित गुणका भाइरसको लागि नयाँ विशिष्ट औषधि विकास गर्न जरुरत पर्दछ।

 

जसले नयाँ समय, स्रोत र संसाधनहरूको नयाँ प्रतिबद्धता माग गर्दछ । त्यो भनेको अथाह पैसाको जरुरत हुन्छ । यसरी विकसित गरेको ओखतीले काम गर्छ भन्ने समेत ग्यारेन्टी नहुने, ब्याक्टेरियाको सन्दर्भमा जस्तो एउटा औषधिले धेरै वर्गको भाइरस रोगको ओखती हुने सम्भावना समेत नहुने परिस्थिति निर्माण गरिदिन्छ। त्यो अवस्था व्यापार मैत्री नरहेको हुँदा औषधि कम्पनीहरूका लागि त्यति आकर्षक क्षेत्र हुन सकिरहेको छैन।

 

मौलिक रूपमै एउटा वर्गको भाइरस अर्को वर्गको भाइरसभन्दा फरक हुने गुणका कारण कोरोना भाइरसको खोप पनि त फरक फरक निर्माण गर्न जरुरत पर्ला नि ?

 

त्यो त पर्न पनि सक्छ । आजको स्थिति फरक वर्गको भाइरसभन्दा पनि उही स्रोतको भाइरसको जिनमा परिवर्तन वा उत्परिवर्तन भएर बनेको भाइरसका भेरियन्टहरू देखापरेको भन्ने छ । त्यति हुँदा समेत ‘हालको खोपले नयाँ भेरियन्टमा काम त गर्छ’ भन्ने प्रश्नको उत्तर खोज्न खोपका उत्पादक कम्पनीहरूले अनुसन्धान गरिरहेको अवस्था छ। सबै जना ‘काम गर्ने’ नतिजा आउने आशामा फिंगर क्रस गरी पर्ख र हेरको स्थितिमा रहेका छन्। हालको भाइरस आरएनए भाइरस रहेको र भौगोलिक पृथकीकरणका कारण आनुवांशिक रूपमा भिन्न प्रकारको उत्परिवर्तित भाइरसको सजिलै विकास भएको गर्ने वानी युक्त रहेको ठानिएको छ ।

 

अन्य भाइरस जस्तै कोरोना भाइरस महामारीमा समेत नयाँ भेरियन्टहरू आउने अपेक्षित नै थियो। किनकि प्राय: सबै आरएनए भाइरसहरू समयको साथ परिवर्तन हुने गर्दछन् । कुनै एक अर्को भन्दा अलि धेरै नै परिवर्तित बनिदिन्छन्। कुनै कुनै भने हदै सम्मको क्षति दिने असुरपन देखाउने बनिदिन्छ। त्यसैको कारण  हरेक वर्ष हामी नयाँ फ्लुको खोप लिने गर्दछौं ।

 

खोपले पहिले कुरा भए जस्तै हाम्रो शरीरको इम्युन सेलहरूलाई नै कोभिड-१९ विरुद्ध लड्न तालिम दिने र रोग प्रतिरोधी शक्ति बढाउने मोडलमा काम गर्ने हुनाले हरेक वर्ष नयाँ कोभिड-१९ को खोप लगाउने गरी भेरियन्टको नियन्त्रण गर्न सकिएला भन्ने भन्ने विश्वास हो।

 

निचोडमा बताउँदा कोरोना भाइरसहरू एक पटक देखिइसकेपछि सदैव हाम्रो वातावरणमा रहि रहने छन्। अन्य फ्लुमा जस्तै लाग्दै जान्छ, पचाउँदै गइन्छ भन्ने स्तरसम्म खोपमार्फत कोरोना भाइरसहरू सँगै साथमा रहेर सजिलै जिउन सक्ने गरि हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता निर्माण गर्न सकिन्छ भन्ने मान्यता हो। त्यो संगै आयुर्वेदले खुट्टाएको रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय समेत हामीसँग छँदै छ ।

 

कोरोना भाइरस विरुद्धको हालको लडाइमा आयुर्वेदको देन के रह्यो ?

 

आजको यथार्थ के हो भने कोरोनाभाइरसबाट आज हाम्रा नजिकका प्रियजन र हितैषीहरू गम्भीर लक्षणहरूसहित अस्पतालमा भर्ना भएर जीवन र मृत्युको दोसाँधमा सङ्घर्षरत छन् । हाम्रा नर्स, डाक्टर र वैद्यहरू आफ्नो जीवन नै जोखिममा राखेर ज्वरो घटाउने औषधी र शरीर हाइड्रेटेड राख्नका लागि तरल पदार्थ दिइरहेका छन्। सामान्यतया नलीका ट्युबहरूद्वारा नुन, चिनी, पानी जस्ता इलेक्ट्रोलाइट, खाना र ओखतीयुक्त तरल पदार्थ दिने गरिएको छ। केही बिरामीहरूलाई यान्त्रिक उपकरण भेन्टिलेटरमार्फत अक्सिजन उपलब्ध गराई सास फेर्न सहजता पुर्‍याउने कोसिस निरन्तर जारी छ ।

 

हामीसँग उपलब्ध आयुर्वेदिक चिकित्साको उपयोग गर्ने कुरा होस् वा एलोपेथिक औषधि विज्ञानको उपाय दुवैमा रोगको हैन, त्यसले विकास गरेको लक्षणको विरुद्ध उपचार गरिने काइदा हामीले अँगालेका छौ। त्यसका लागि आयुर्वेदिक र एलोपेथिक चिकित्साको आफ्नै ढर्राको र विशेष गुणयुक्त ओखतीहरू उपलब्ध छन्।जसको   सफलतापूर्वक प्रयोग समेत भइरहेको छ ।

 

त्यो भन्दा गहन पक्ष भाइरल महामारीको समयमा हामीले गर्ने भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास नै हो । रोगको संक्रमण नभइसकेको अवस्थामा भाइरसहरूले सजिलै शरीरलाई आक्रमण गरी हानि पुर्‍याउन नसकोस् भन्ने उद्देश्य र कोरोना लागिसकेको अवस्थामा उक्त भाइरस विरुद्ध शरीरको लड्ने क्षमता बढाउनु नै वैज्ञानिक उपाय हो ।

 

रोग प्रतिरोधात्मक क्षमता विकासमा आयुर्वेद चिकित्सा प्रणाली अत्यन्त अब्बल रहेको यथार्थ बारे खासै धेरै बोल्नु जरुरी छैन । सबैमा अवगत भएकै तथा विज्ञान वाट समेत प्रमाणित बनेको विषय हो ।

 

आज संसारमा सफलता पूर्वक कोरोनाभाइरस विरुद्धको खोप बने पनि सबैको पहुँचमा खोप पुगिसकेको छैन। कोरोनाभाइरस संक्रमित बिरामीका लागि न आयुर्वेदिक, न त एलोपेथिक औषधि नै विकास हुन सकिरहेको छ।

 

आजको मितिसम्म कोरोना निको पार्ने आयुर्वेदिक वा एलोपेथिक औषधि बन्यो भन्ने जस्ता सबै दाबी गलत ठान्नु पर्दछ। यसको अर्थ खोपबाहेक आयुर्वेदिक वा एलोपेथिक औषधिको कोरोना विरुद्ध लडाई गर्ने क्षमता  वा भूमिका नभएको भन्ने चाहिँ होइन।

 

तुलनात्मक रूपमा ठुलो सङ्ख्यामा आयुर्वेदिक र एलोपेथिक औषधिहरू कोरोना भाइरस संक्रमित बिरामीमा देखिएको रोगको लक्षणको उपचारमा प्रभावकारी बनिरहेका छन्। वास्तवमा आयुर्वेदिक र एलोपेथिक दुवै औषधिहरूको संयुक्त उपयोग वाट भाइरसको संक्रमण  हुँदा मानवको जीवन अति कष्टकर हुनबाट जोगाउन उपयोगी बनिरहेको छ।

 

महामारीको समयमा जनस्वास्थ्यको मापदण्ड अपनाउँदै भौतिक दूरी कायम गर्ने र गृहमै एकान्त वास वा होम आइसोलेसनमा बस्ने तरिका संक्रमित नभएकाहरूलाई भाइरसको पहुँचबाट आफूलाई टाढा राख्ने र संक्रमित बनेकाहरूको हकमा भने आफू संक्रमित भाइरसबाट अरूलाई थप संक्रमण हुन नदिने प्राकृतिक उपाय हो।

 

आफ्नै परम्परा र चलनबारे ज्ञान नभएका हाम्रै समुदायका कतिपय मानिसहरूमा सेल्फ आइसोलेसनमा बस्ने, सामाजिक दूरी कायम गर्ने जस्ता तरिका कोरोना कहरपछि मात्र मानिसले सिकेको मान्यता विकास भएको देखिन्छ।

 

यथार्थमा यी कुराहरू हाम्रा परम्परागत रीतिरिवाजहरूको एक अमूल्य भाग थिए । आज पनि छन् तर औपचारिकतामा सीमित थिए । समयले तपाईं-हामीलाई हाम्रा पुराना प्रभावशाली चालचलनहरूको जरो कहाँ थियो भन्ने परिचित गराउँदै यसको सामाजिक मूल्यको पहिचान गराइदिएको छ ।

 

आफू सरुवा रोगवाट संक्रमित रहँदा आफ्ना समुदायका अन्यलाई बचाउन सेल्फ आइसोलेसनमा बस्ने, सामाजिक दूरी कायम गर्ने जस्ता संस्कारहरू यथार्थमा कमिला, चमेरो, झिँगे-माछा (लोब्स्टर), माछा, मुसाजस्ता समूहमा बस्ने पशु र किरा आदिको जीवन जिउने पद्धतिको अनिवार्य संस्कृतिका रूपमा विकसित हुने रहेको वैज्ञानिक अनुसन्धानहरूबाट प्रमाणित भएको छ ।

 

त्यो नै संस्कार मानिसले समेत परम्परागत रूपमा अँगालेकाले वेद, उपनिषद् आदिले कर्मकाण्डहरूमा अनिवार्य रूपमा आइसोलेसनमा रहन, सामाजिक दूरी कायम गर्न सल्लाह मात्र दिएन, नमस्कारजस्ता पद्धतिको विकास गरेको यथार्थ तपाईं हाम्रो सामु प्रस्ट नै छ । आयुर्वेदले संसारलाई दिएकामध्ये यो पनि एउटा उत्तम संस्कारको उपहार रहेको छ ।

 

 

आयुर्वेदको अवधारणा के खोप निर्माणमा समेत समावेश भएको देखिन्छ त ?

 

कोभिड-१९ को खोप बनाउने टेक्निक लाई पुनरावलोकन गर्दा  खोप बनाउन पहिला सार्स-कोभ-२ भाइरसको आरएनएमा भेटिने जेनेटिक कोडहरू झिकियो। उक्त कोड़हरूबाट कोभिड-१९ को संक्रमण हुँदा मानव कोशिकाको झिल्लीलाई प्वाल पारेर भित्र छिर्न सघाउने सार्स-कोभ-२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिनहरू बनाउन चाहिने निर्देशन रहेका जेनेटिक कोडको टुक्रा छुट्टाएर निकालियो । निकालिएको टुक्रालाई अत्यन्त सानो बोसोको न्यानो पार्टिकल भित्र प्याक गरी कैद गरी दिएर ल्याबमा निर्मित सेन्थेटिक आरएनए बनाइयो ।

 

यसरी बनेको सेन्थेटिक आरएनएको न्यानो पार्टिकल जब हाम्रो शरीरभित्र खोपमार्फत दिइन्छ, त्यो बेला उक्त सानो बोसोको न्यानो पार्टिकल हाम्रो शरीरको इन्जाइमले टुक्राउन सक्दैन र सजिलै कोशिका भित्र पुग्न सक्छ । सेन्थेटिक आरएनए जब कोशिका भित्र पुग्दछ, उक्त सेन्थेटिक आरएनएमा रहेको सूचना अनुसार मानव कोशिकालाई सार्स-कोभ-२ भाइरसको रौँ जस्ता स्पाइक प्रोटिन बनाउने निर्देशन प्राप्त हुन्छ ।

 

निर्देशन अनुरूप मानव कोशिकाले सेलभित्र कोभिड-१९ भाइरसको स्पाइक प्रोटिन निर्माण गर्छ। स्पाइक प्रोटिनको उपस्थितिले शरीरको प्रतिरक्षा प्रणालीलाई स्पाइक प्रोटिन पहिचान गर्न र नष्ट गर्न सक्रिय बनाइदिन्छ।

 

यो क्रम जब दोहरिन्छ, तब शरीरको प्रतिरक्षा प्रणालीलाई कोभिड-१९ भाइरस विरुद्ध लड्ने तालिम उपलब्ध हुन्छ । जसले गर्दा कुनै उल्लखनीय हानिरहित रूपले हाम्रो प्रतिरक्षा प्रणाली कोभिड(१९ को विरुद्ध लड्न सक्षम बनाउन सकिन्छ।

 

एक पटक कोभिड-१९ भाइरस पहिचान गर्न र नष्ट गर्न सफल बनेको प्रतिरक्षा प्रणालीले वास्तवमै कोभिड-१९ को संक्रमण हुँदा त्यसलाई तह लगाउने चतुरता प्राप्त गरिसकेको हुन्छ। जसले गर्दा कोभिड-१९ भाइरसको संक्रमण हुँदा त्यसलाई नष्ट गर्न हाम्रो शरीरको क्षमताको विकास भैसकेको हुन्छ। खोप आफ्नो उद्देश्यमा सफल भएको ठानिन्छ।

 

सारांशमा बताउँदा खोपको अन्तिम उद्देश्य हानिरहित रूपले हाम्रो प्रतिरक्षा प्रणालीलाई कोभिड-१९ पहिचान गर्न र नष्ट गर्न तालिम दिई सक्षम बनाउने रहेकाले यो आयुर्वेदिक मान्यता समेत पालन हुने गरी विकास भएको देखिन्छ। तापनि आयुर्वेदको नभएर एलोपेथिक औषधि विज्ञानको सक्रिय सहभागितामा नै कोभिड-१९ भाइरसको सफल खोप बनेको मेरो बुझाइ छ।

 

हाम्रो नेपाली भान्सामा पाइने विभिन्न जडीबुटीहरू को सेबन र परम्परागत जीवन पद्दति अपनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक क्षेत्रको निकै धेरै सल्लाहहरू आउने गर्दछ। सारांशमा ती सल्लाहहरूको वैज्ञानिक आधार के छ ?

 

आयुर्वेद क्षेत्रले भन्ने गरेको बिहान उठ्ने बित्तिकै प्राणायाम गरी मनलाई शान्त बनाउनु भन्ने सल्लाहमा १५ मिनेट जति लामो सास लिने, जति सक्दो रोक्ने, त्यसपछि सास फाल्ने गतिविधि सिफारिस गरेको देखिन्छ । यसले हाम्रो श्वास लिने नली सफा गर्ने, शरीरमा अक्सिजनको मात्रा बढाउने कार्यमा सहयोग गर्ने देखिन्छ। नेपालको काठमाडौँ जस्तो सहरमा बिहानको हावाभन्दा ११ देखि २ बजेको हावामा अक्सिजन धेरै हुने बुझिएकाले अन्यत्र बिहानै हुने काम काठमाडौँमा दिउँसो गर्दा उपयुक्त हुन सक्छ ।

 

शरीरको फिजियोलोजीको हिसाबबाट हेर्ने हो भने सामान्यतया घाम अस्ताउन थाल्दै गर्दा मानिसमा मेलाटोनिनको मात्रा बढ्ने र रातमा उच्च हुन गई हामीलाई निद्रा लगाउन सहयोग गर्दछ । बिहान सबेरै हुँदै गर्दा मेलाटोनिनको मात्रा अत्यन्त कम हुन पुग्दा हामी निद्राबाट ब्युँझिने गर्दछौं । बिहान ब्युझँदै गर्दाको समयमा हाम्रो शरीरले एड्रेनालिन र नोराड्रीनालिन हर्मोनहरू रगतमा पठाएर रगतमा चिनीको मात्रा बढाउने र रक्त चाप बढाउने गर्दछ।

 

नित्य कर्म समाप्ति गर्दै गर्दा मेलाटोनिनबाट छुटकारा, रक्तचाप सामान्य बन्ने र नित्यकर्मपछिको शरीरमा हुने आनन्दबीच हुने कपालभाँती, प्राणायाम, योग जस्ता कार्यहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने निश्चित बन्दछ। बिहानको घाम, खाली खुट्टाबाट पृथ्वीमा छोएर गरिने अर्थिङ आदिको समेत भूमिका यसमा थप प्रभावकारिता थप्ने विषय हुने कुराहरू वैज्ञानिक रूपमै प्रमाणित भएका छन् ।

 

पुदिनामा रहने मेन्थोलले श्वास प्रश्वास खुला गराउने वा डिकन्जस्टेन्टको काम गर्दछ । फुलेका नाकमा झिल्लीलाई ठिक गरी सास फेर्न सजिलो पार्ने, फोक्सोमा जमेको र्‍याल पातलो गरी हटाउन मद्दत गर्दछ । कतिपय अवस्थामा सामान्य ज्वरो समेत रोक्दछ । पुदिनाले मूलतः हाम्रो शरीरलाई फोलेट, क्याल्सियम, भिटामिन बी-१२ र पोटासियम उपलब्ध गराउँदछ।

 

तुलसीको पात स्वाइन फ्लु, मधुमेह, रुघाखोकी, टाउको दुख्ने, ज्वरो, तनाव, पेट दुखाइ, कानको दुखाइ आदिमा औषधिका रूपमा प्रयोग हुन्छ । लामखुट्टे धपाउने धूपदेखि छालाको दादको समेत उपचारमा आउने तुलसी पत्तामा मूलतः लिनालोल, युजिनोल, चेविकोल जस्ता पोलिफिनोल र भिटामिन, मिनिरल र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो। तुलसीको पातमा हुने ओरिएनटिन र भिस्निनेर नामक एन्टिअक्सिडेन्टहरूले कोशिकाको संरचना, डिएनए र छाला जीर्ण हुने प्रक्रिया घटाउने र इम्युन बुस्टरको काम गर्ने गर्दछ ।

 

एन्टिइन्फ्लेमेटरी प्रभावहरूको संसारभर परिचित बेसारमा हुने कर्क्युमिन एक शक्तिशाली इम्युनोमोडुलेटर एजेन्टका रूपमा स्थापित मसला हो। बेसारले हाम्रो शरीरको टी कोषहरू, बी कोषहरू, म्याक्रोफेजहरू, न्युट्रोफिलहरू, नेचुरल किलर सेल र डेन्ड्रिटिक कोशिकाहरूलाई सक्रिय तुल्याउन सक्ने पदार्थहरूले भरपुर रहेकाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बुस्टरका रूपमा यसलाई चिनिएको हो।

 

कम मात्रामा सेवन गर्दा बेसारले दिने एन्टिबडी गुणका कारण बाथको रोग, एलर्जी, दम, एथेरोस्क्लेरोसिस, हृदयरोग, अल्जाइमर, मधुमेह र क्यान्सर जस्ता रोगमा यसले लाभदायक प्रभाव दिन सकेको छ। कोभिड-१९ जस्तो दर्दभरि रोगमा यो मसला एन्टिइन्फ्लेमेटरी गुणका लागि समेत सहयोगी हुने गरेको छ ।

 

फोक्सोका एलभिओलाई अथवा रगतसँग अक्सिजन मिसाउने र रगतमा भएको कार्बनडाइअक्साइड बाहिर फाल्ने रक्तकोशिकाहरू अवरुद्ध हुने क्रममा मानिसको रगतमा अक्सिजनको कमी देखिन्छ। उक्त अवस्थामा रगतमा बढ्न जाने अम्लीयपनका कारण अक्सिजन घुल्ने क्षमता घट्ने र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनिदिने गर्दछ।

 

कोभिड-१९ जस्तो भाइरसका लागि रोगसँग लड्ने क्षमतालाई सन्तुलन गर्न खानपानबाट शरीरलाई क्षारीय बनाउने र रगतमा अक्सिजन घुल्ने वातावरण पैदा गर्ने तरिका शरीरको प्रतिरक्षा प्रणाली सक्रिय पार्ने विकल्पलाई उत्तम विकल्पका रूपमा उपयोग गर्न सकिन्छ । वैज्ञानिक रूपमा हेर्दा हाम्रा भान्छामै पाइने बेसार, अदुवा, जाइफल, ज्वानो, ल्वाङ्ग, तुलसी, टिम्मुर, मरीच, पिप्पली, दालचिनी, अमला, कागती, जिरा, लसुन, मह, अलैँची, सुकुमेल, ल्वाङ, खुर्सानी आदिले रगतलाई क्षारीय बनाउन सम्भव तुल्याइदिन्छ ।

 

चित्रक हरितकी, महासुदर्शन चूर्ण, गुर्जो, बोझो, असुरो, सुठो लगायतका प्राकृतिक रूपमा आउने आयुर्वेदिक जडीबुटीको सेवन, अश्वगन्धा, गुडुची-जेठीमधु र त्रिकुटु (सुठो, मरिच, पिप्ला), पाती, चिराइतो, करेलो आदिको तातो सुप वा चिया शरीरको इम्युनिटी पावर वढाउन सहयोगी हुने कुरा वैज्ञानिक परीक्षणबाट समेत प्रमाणित भएको छ ।

 

मात्रा मिलाएर र रोगको लक्षण अनुरूपको उपयुक्त ओखती खाँदा मात्र आयुर्वेदिक औषधिले साइड इफेक्टरहित प्रभावकारी नतिजा दिन सक्छ । आयुर्वेदिक औषधि जति सेवन गरे पनि समस्या हुन्न भन्ने गलत मान्यता विकास भएका कतिपय मानिसहरू जथाभावी आयुर्वेदिक औषधि सेवन गरिदिने गरेको भेटिन्छ । जसले स्वास्थ्य जटिल देखिएको घटना प्रशस्त छन्।

 

शुद्ध चुर्ण वा धुलो मात्र समावेश रहेको ओखती भन्दा पनि आयुर्वेदिक रसयुक्त औषधिहरू जथाभावी सेवन गर्नेको कलेजो, मिर्गौला, मुटु, पित्त जस्ता अङ्गहरूलाई हानि पुर्‍याएको भेटिन्छ। औषधि भन्ने जिनिस आयुर्वेदिक होस् वा एलोपेथिक, विशेषज्ञ डाक्टरको अनिवार्य सल्लाहमा मात्र सेवन गर्नु जरुरी हुन्छ।

0Shares

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: